-
बाइबल अध्ययन किन गर्नुपर्छ?प्रहरीधरहरा—२०१५ | अप्रिल १
-
-
आवरण लेख | बाइबल अध्ययन —सबैका लागि लाभदायी
बाइबल अध्ययन किन गर्नुपर्छ?
जीवनको उद्देश्य के हो?
मानिसहरू किन दुःखकष्ट भोग्छन् र मर्छन्?
हाम्रो भविष्य कस्तो होला?
के ईश्वरले मेरो ख्याल राख्नुहुन्छ?
यस्ता प्रश्नहरू तपाईंले कहिल्यै सोध्नुभएको छ? संसारभरिका थुप्रै मानिसले जीवनका यस्ता महत्त्वपूर्ण प्रश्नहरूबारे सोच्ने गर्छन्। तर के यी प्रश्नहरूको जवाफ पाउन सकिन्छ?
लाखौं मानिसको जवाफ यस्तो छ: “पाउन सकिन्छ।” तर तिनीहरूले किन यस्तो भन्न सके? किनकि तिनीहरूले यस्ता प्रश्नहरूको चित्तबुझ्दो जवाफ बाइबलमा भेट्टाएका छन्। बाइबलमा के-कस्ता कुराहरू बताइएको छ, तपाईं पनि जान्न चाहनुहुन्छ कि? मानिसहरूलाई बाइबलका कुराहरू बुझाउन यहोवाका साक्षीहरूले निश्शुल्क बाइबल अध्ययन गराउँछन्।a यस्तो प्रबन्धबाट तपाईंले पनि लाभ उठाउन सक्नुहुन्छ।
तर बाइबल अध्ययन गर्ने भन्ने बित्तिकै केही मानिसहरू हिचकिचाउँछन् र यस्तो भन्छन्: “म असाध्यै व्यस्त छु।” “बाइबल बुझ्न साह्रै गाह्रो छ।” “बाइबलअनुसारै जीवन बिताउन सकिंदैन कि जस्तो लाग्छ।” तर केही मानिसहरू भने फरक प्रतिक्रिया देखाउँछन्। बाइबलले के सिकाउँछ भनेर बुझ्ने मौकालाई तिनीहरू खुसीसाथ स्वीकार्छन्। केही उदाहरण विचार गरौं:
“मैले क्याथोलिक र प्रोटेस्टेन्ट चर्चहरू धाएँ, शिख मन्दिर र बौद्ध धर्मको गुम्बामा गएँ अनि विश्वविद्यालयमा धर्मको अध्ययन पनि गरें। तैपनि ईश्वरको बारेमा मैले उठाएका प्रश्नहरूको जवाफ पाउन सकिनँ। त्यसैबेला एक जना यहोवाका साक्षी प्रचारको क्रममा मेरो घरमा आए। तिनले बाइबलबाटै मेरा प्रश्नहरूको जवाफ दिएको देखेर म छक्क परें अनि बाइबल अध्ययनको प्रस्ताव स्वीकारें।”—जील, बेलायत।
“जीवनसम्बन्धी मेरा थुप्रै प्रश्न थिए। चर्चका पास्टरहरूले दिएको जवाफ मलाई चित्त बुझेन। तर मेरा प्रश्नहरूको जवाफ एक जना यहोवाका साक्षीले बाइबलबाटै दिए। तिनले बाइबलबारे अझै सिक्न चाहनुहुन्छ कि भनेर सोध्दा मैले खुसीसाथ स्वीकारें।”—कोफी, बेनिन।
“मरिसकेपछि के हुन्छ भनेर म बुझ्न चाहन्थें। मरेकाहरूले मानिसहरूलाई दुःख दिन्छ भन्ने मेरो विश्वास थियो तर बाइबलले यसबारे के बताउँछ भनेर पनि बुझ्न चाहन्थें। त्यसैले मेरो एक जना साथी जो यहोवाका साक्षी हुन् तिनीसितै मैले बाइबल अध्ययन सुरु गरें।”—जोसे, ब्राजिल।
“मैले बाइबल पढ्ने प्रयास गरें तर बुझ्नै सकिनँ। एक जना यहोवाको साक्षी मेरो घरमा आउँदा तिनले बाइबलका भविष्यवाणीहरू स्पष्टसित बुझाइदिए। म अझै बाइबलका अरू कुराहरू बुझ्न चाहन्थें।”—डेनिस, मेक्सिको।
“ईश्वरले मेरो ख्याल राख्नुहुन्छ कि राख्नुहुन्न भन्ने कुरामा म पक्का थिइनँ। त्यसैले बाइबलका ईश्वरलाई प्रार्थना गरें। त्यसको अर्को दिन एक जना यहोवाको साक्षीले मेरो घरको ढोका ढक्ढक्याए अनि तिनले बाइबल अध्ययनको प्रस्ताव राख्दा मैले स्वीकारें।”—अन्जु, नेपाल।
यस्ता अनुभवहरूले येशूले भन्नुभएका यी शब्दहरूको सम्झना गराउँछ: “आनन्दित हुन् ती मानिसहरू, जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्।” (मत्ती ५:३) मानिसलाई ईश्वरबारे बुझ्ने अर्थात् उहाँको मार्गनिर्देशनको आवश्यकतासहित सृष्टि गरिएको थियो। त्यो आवश्यकता ईश्वरले मात्र पूरा गर्न सक्नुहुन्छ अनि उहाँ आफ्नो वचन बाइबलद्वारा त्यसो गर्नुहुन्छ।
त्यसोभए बाइबल अध्ययन भनेको के हो? बाइबल अध्ययनले तपाईंलाई कस्तो फाइदा पुऱ्याउँछ? तपाईंले यसपछिका लेखहरूमा यी प्रश्नहरूको जवाफ पाउनुहुनेछ।
a बाइबलमा बताइएअनुसार परमेश्वरको नाम यहोवा हो।
-
-
सबैका लागि बाइबल अध्ययनको प्रबन्धप्रहरीधरहरा—२०१५ | अप्रिल १
-
-
आवरण लेख | बाइबल अध्ययन —सबैका लागि लाभदायी
सबैका लागि बाइबल अध्ययनको प्रबन्ध
यहोवाका साक्षीहरू बाइबलबाट सुसमाचार सुनाउने गर्छन् भनेर प्रायः सबैलाई थाह छ। तर हामी मानिसहरूसित बाइबल अध्ययन पनि सञ्चालन गर्छौं भनेर के तपाईंलाई थाह थियो?
सन् २०१४ मा हरेक महिना ८० लाख भन्दा धेरै यहोवाका साक्षीहरूले २४० देशमा ९५ लाख भन्दा धेरै व्यक्तिहरूसित बाइबल अध्ययन सञ्चालन गरेका थिए।a यस्ता लगभग १४० देशहरू छन् जहाँ यत्तिको जनसङ्ख्या पनि छैन।
मानिसहरूलाई बाइबलको शिक्षा दिन यहोवाका साक्षीहरूले हरेक वर्ष लगभग ७०० वटा भाषामा झन्डै १ अरब ५० करोड बाइबल, किताब, पत्रिका र अन्य बाइबल अध्ययन सामग्रीहरू प्रकाशित गरेका छन्। यसरी प्रकाशनहरू विभिन्न भाषामा प्रकाशित हुने भएकोले धेरै मानिसले आफ्नै भाषामा बाइबल अध्ययन गर्न पाएका छन्।
बाइबल अध्ययनको प्रबन्धबारे अक्सर सोधिने प्रश्नहरूको जवाफ
बाइबल अध्ययन कसरी गरिन्छ?
बाइबल अध्ययन गर्दा विभिन्न विषयहरूमध्ये एउटा छानेर त्यससित सम्बन्धित बाइबल पदहरू जाँचिन्छ। उदाहरणको लागि, बाइबलले यस्ता प्रश्नहरूको जवाफ दिन्छ: सृष्टिकर्ता को हुनुहुन्छ? उहाँ कस्तो हुनुहुन्छ? के उहाँको नाउँ छ? उहाँ कहाँ हुनुहुन्छ? के हामी उहाँसित घनिष्ठ हुन सक्छौं? बाइबलले यस्ता प्रश्नहरूको जवाफ दिन्छ। तर यी प्रश्नहरूको जवाफ बाइबलमा कहाँ भेट्टाउन सक्छौं?
यी प्रश्नका जवाफ सजिलै भेट्टाउन सकियोस् भनेर २२४ पृष्ठको बाइबलले वास्तवमा के सिकाउँछ? भन्ने किताब अध्ययनका लागि हामी प्रयोग गर्छौं।b मानिसहरूले बाइबलको आधारभूत शिक्षा सजिलै बुझ्न सकून् भनेर यो किताब प्रकाशित गरिएको हो। यस किताबमा विभिन्न विषयहरू समावेश गरिएका छन्। जस्तै: ईश्वर, येशू ख्रीष्ट, मानव दुःखकष्ट, पुनर्जीवन, प्रार्थना आदि।
बाइबल अध्ययन कहाँ र कहिले गरिन्छ?
तपाईंलाई पायक पर्ने ठाउँ र समयमा बाइबल अध्ययन गर्न सकिन्छ।
एक पटकको अध्ययन कति लामो हुन्छ?
धेरै जनाले हप्ताको एक पटक एक घण्टा बाइबल अध्ययनको लागि छुट्ट्याउँछन्। तर अध्ययनको समयतालिकामा छाँटकाँट गर्न सकिन्छ। तपाईंको सुविधा अनुसार हामी अध्ययन गराउनेछौं। कोही-कोहीले हरेक हप्ता १० देखि १५ मिनेट मात्र पनि अध्ययन गर्ने गरेका छन्।
बाइबल अध्ययनको लागि कति पैसा तिर्नुपर्छ?
बाइबल अध्ययन र त्यसका लागि प्रयोग गरिने अध्ययन सामग्रीको कुनै पैसा लाग्दैन। यहोवाका साक्षीहरूले येशू ख्रीष्टले दिनुभएको यो निर्देशन अनुरूप गरेका छन्: “तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।”—मत्ती १०:८.
कहिलेसम्म अध्ययन गर्नुपर्छ?
अध्ययन कहिलेसम्म गर्ने भन्ने कुरा तपाईंमा नै निर्भर हुन्छ। बाइबलले वास्तवमा के सिकाउँछ? भन्ने किताबमा जम्मा १९ वटा अध्यायहरू छन्। तपाईं कुनै एउटा वा सबै अध्याय आफ्नो समय र क्षमता अनुसार अध्ययन गर्न सक्नुहुन्छ।
अध्ययन गरेपछि के म एक जना यहोवाको साक्षी बन्नुपर्छ?
पर्दैन। कुन विश्वास अपनाउने भनेर छनौट गर्ने अधिकार हरेक व्यक्तिको आफ्नै हो भनेर हामीलाई थाह छ र हामी मानिसहरूले गर्ने विश्वासको आदर गर्छौं। तर बाइबलको शिक्षा हासिल गरेका कसै-कसैले भने सिके अनुसारै आफ्नो जीवनमा लागू गर्ने निर्णय पनि गर्न सक्छन्।
यसबारे थप जानकारी म कहाँ पाउन सक्छु?
हाम्रो वेबसाइट jw.org/ne मा यहोवाको साक्षीहरूको विश्वास र कामबारे सही जानकारी पाउन सक्नुहुन्छ।
बाइबल अध्ययन गर्न चाहन्छु भनेर कसरी अनुरोध गर्ने?
www.jw.org/ne मा अनलाइन फाराम भर्नुहोस्।
यस पत्रिकाको पृष्ठ २ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई नजिक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्।
-