-
हामीलाई मृत्युबाट छुटकारा किन आवश्यक छप्रहरीधरहरा—२०१५ | मार्च १
-
-
आवरण लेख | मृत्युबाट छुटकारा!—कसले दिन सक्छ?
हामीलाई मृत्युबाट छुटकारा किन आवश्यक छ?
“स्त्रीबाट जन्मेको मानिस अल्प-आयुका र अशान्तिले भरिएको हुन्छ, त्यो फूलझैं फक्रन्छ र ओइलाइहाल्छ। त्यो छायाँजस्तै हराइहाल्छ, रहँदैन।”—अय्यूब १४:१, २.
जवान र निरोगी भएर सधैंभरि बाँचिरहन पाए कत्ति राम्रो हुन्थ्यो भनेर मानिसहरूले सोचेको युगौं बितिसकेको छ। तर दुःखको कुरा मानिसहरू कोही पनि सधैंभरि बाँच्न सकेको छैन। हो, हामी मर्छौं। माथि उल्लेख गरिएका अय्यूबका शब्दहरू तीन हजार वर्षअघि लेखिएको भए तापनि ती कुराहरू आज पनि त्यत्तिकै सत्य छ।
मानिसहरूमा सधैंभरि बाँच्ने चाहना निकै प्रबल छ। परमेश्वरले नै मानिसहरूको हृदयमा अनन्तताको चाहना राखिदिनुभएको हो भनी बाइबलमा लेखिएको छ। (उपदेशक ३:११, NRV.) त्यसोभए मायालु परमेश्वरले पाउनै नसक्ने चाहना मानिसमा राखिदिनु सुहाउँछ र? सुहाउँदैन। परमेश्वरको वचनमा मृत्युलाई शत्रु भनी बताइएको छ र मृत्युलाई “अन्तमा नामेट” पारिनेछ भनेर पनि प्रतिज्ञा गरिएको छ।—१ कोरिन्थी १५:२६.
मृत्यु हाम्रो शत्रु हो भन्ने कुरामा कुनै शङ्का छैन। साधारणतया कोही पनि सद्दे मानिस मर्न चाहँदैन। खतरा आउने बित्तिकै हामी त्यसबाट जोगिने कोसिस गर्छौं, लुक्छौं वा भाग्छौं। हामी बिरामी भयौं भने पनि निको हुन अनेक उपाय अपनाउँछौं। आफूलाई मृत्युबाट जोगाउन हामी कुनै कसर बाँकी राख्दैनौं।
हाम्रो शत्रु मृत्युलाई नामेट पारिने कुरामा विश्वास गर्ने के कुनै आधार छ? छ। सृष्टिकर्ता यहोवा परमेश्वरले मानिसजातिलाई केही वर्ष बाँच्ने अनि मर्ने गरी बनाउनुभएको थिएन। मानिसहरू मरून् भन्ने परमेश्वरको उद्देश्य थिएन। बरु उहाँले मानिसहरूलाई पृथ्वीमा सधैंभरि बाँच्न सकून् भनेर बनाउनुभयो। उहाँले जुन उद्देश्य राख्नुहुन्छ त्यो पूरा पनि गर्नुहुन्छ।—यशैया ५५:११.
त्यसोभए मृत्युको अन्त कसरी हुन्छ त? इतिहासलाई केलाएर हेर्ने हो भने मानिसहरूले अमर रहनको लागि अनेक उपाय अपनाएका छन्। तर कोही पनि सफल भएका छैनन्। कोसिस अहिले पनि जारी नै छ। वैज्ञानिकहरूले रोग निको पार्ने औषधी र खोपहरूको आविष्कार गरेका छन्। जीवित प्राणीहरूको शारीरिक बनौटको गहिरो अध्ययन गरेका छन्। सय वर्षअघिको तुलनामा अहिलेका मानिसहरू लामो समयसम्म बाँचेको पाइन्छ। तर पनि मानिसले मृत्युलाई भने जित्न सकेको छैन। “सबै माटैमा मिल्नेछन्” भनेर बाइबलमा लेखिएको कुरा सत्य साबित भएको छ।—उपदेशक ३:२०.
तर खुसीको कुरा, मृत्युको अन्त गर्न हामी मानिसको बुद्धिमा भर पर्नु पर्दैन। यहोवा परमेश्वरले हामीलाई मृत्युबाट बचाउने प्रबन्ध मिलाइ सक्नुभएको छ। यस प्रबन्धमा येशू ख्रीष्टको मुख्य भूमिका छ।
-
-
येशूको मृत्यु र पुनर्जीवन—यसले हामीलाई कस्तो लाभ पुऱ्याउँछप्रहरीधरहरा—२०१५ | मार्च १
-
-
आवरण लेख | मृत्युबाट छुटकारा!—कसले दिन सक्छ?
येशूको मृत्यु र पुनर्जीवन—यसले हामीलाई कस्तो लाभ पुऱ्याउँछ?
“प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरमा हुनेहरूको उद्धार हुनेछ।”—प्रेषित १६:३१.
यी शब्दहरू प्रेषित पावल र सिलासले फिलिप्पीको म्यासिडोनिया सहरका जेलरलाई भनेका थिए। ती शब्दहरूको अर्थ के हो? मृत्युबाट छुटकारा पाउन येशूमा विश्वास गर्नु आवश्यक छ। तर यो कुरा बुझ्न पहिला मानिस किन मर्छन् भनी थाह पाउनु पर्छ। यसबारे बाइबलले के सिकाउँछ अब हामी विचार गरौं।
मानिसलाई मर्न सृष्टि गरिएको थिएन
“परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैंचामा त्यो गोड-गाड र हेरचाह गर्न राख्नुभयो। औ उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, ‘बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।’”—उत्पत्ति २:१५-१७.
परमेश्वरले पहिलो मानिस आदमलाई अदनको बगैंचामा राख्नुभयो। रूख-बिरुवाले भरिएको त्यो सुन्दर बगैंचामा थुप्रै जनावर थिए। त्यहाँ विभिन्न फल फल्ने रूखबाट आदमले विना रोकटोक खान सक्थे। तर एउटा विशेष रूखबाट चाहिं खान नहुने कुरा यहोवा परमेश्वरले आदमलाई स्पष्ट बताउनुभयो। त्यस रूखको फल खाएमा तिनी मर्ने थिए भनेर पनि उहाँले चेतावनी दिनुभयो।
के आदमले परमेश्वरले दिनुभएको चेतावनी बुझे? मृत्यु हुनु भनेको के हो, आदमलाई राम्ररी थाह थियो। किनभने तिनले जनावरहरू मरेको देखेका थिए। यदि आदमलाई मर्नकै लागि बनाएको भए त परमेश्वरले दिनुभएको चेतावनीको कुनै अर्थ रहने थिएन। परमेश्वरको आज्ञा मानेर त्यस निषेधित रूखको फल नखाएमा तिनी सधैंभरि बाँच्न सक्थे भनेर आदमलाई थाह थियो।
कोही-कोही भने निषेधित रूखले यौन सम्बन्धलाई बुझाउँछ भनेर विश्वास गर्छन्। तर त्यस्तो हुन सक्दैन। किनभने यहोवा परमेश्वरले आदम र हव्वालाई “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै” जाओ भनेर आशिष् दिनुभएको थियो। यसको मतलब आदम र हव्वाले सन्तान जन्माएर पृथ्वी भरेको उहाँ चाहनुहुन्थ्यो। (उत्पत्ति १:२८) त्यसैले निषेध गरिएको रूख वास्तविक रूख थियो। यहोवा परमेश्वरले त्यस रूखलाई “असल र खराबको ज्ञान दिने रूख” भन्ने नाम दिनुभयो। किनभने त्यस रूखले मानिसजातिको लागि के असल छ र के खराब छ भनेर तय गर्ने अधिकार परमेश्वरको हो भनेर बुझाउँथ्यो। त्यस रूखको फल नखाएर आदमले आज्ञाकारी भएको कुरा देखाउन सक्थे। साथै तिनलाई प्रशस्तै आशिष् अनि जीवन दिनुभएको सृष्टिकर्ताप्रति आभारी भएको कुरा पनि देखाउन सक्थे।
आदम अनाज्ञाकारी भएकोले मर्नु पऱ्यो
“आदमलाई [परमेश्वरले] भन्नुभयो: ‘मैले नखानू भनेको रूखको फल खाएको हुनाले . . . माटोमा नफर्कुञ्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस् र माटैमा फर्किजानेछस्।’”—उत्पत्ति ३:१७, १९.
आदमले निषेध गरिएको रूखको फल खाए। यो एउटा गम्भीर कुरा थियो। यहोवा परमेश्वरले गरिदिनुभएको असल कामको तिनले पटक्कै मोल नगरेको देखियो। यो विद्रोह थियो। त्यस रूखको फल खाएर आदमले यहोवा परमेश्वरलाई तिरस्कार गरे अनि आफूखुसी गर्ने बाटो रोजे; जसले गर्दा भयानक परिणाम निम्तियो।
परमेश्वरले आदमलाई “भूमिको माटोबाट” बनाउनुभएको थियो। अनि तिनको मृत्यु हुँदा ‘माटैमा फर्किजानेछ’ भनेर उहाँले बताउनुभयो। यहोवा परमेश्वरले चेतावनी दिनुभएझैं आदम मरे। मृत्युपछि आदमले कुनै रूप धारण गरेनन् न त तिनी अन्त कुनै लोकमा नै गए। तिनी जुन कुराबाट सृष्टि गरिएका थिए त्यहीं फर्के अर्थात् माटोजस्तै निर्जीव भए।—उत्पत्ति २:७; उपदेशक ९:५, १०.
आदमका सन्तान भएकाले हामी पनि मर्छौं
“त्यसैले, एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्।”—रोमी ५:१२.
आदम अनाज्ञाकारी भएकोले अर्थात् तिनको पापले गर्दा मानिसजातिले ठूलो क्षति भोग्नुपऱ्यो। तिनले ७०/८० वर्षको जीवन मात्र गुमाएनन्। बरु सधैंभरि बाँच्न पाउने अवसर नै गुमाए। तिनले त्रुटिरहित अवस्था गुमाउनुका साथै आफ्ना भावी सन्तानमा पनि पाप सारे।
हामी सबै आदमका सन्तान हौं। त्यसैले हामीले जन्मजातै त्रुटिपूर्ण शरीर पाएका छौं। त्यस्तो शरीरले हामीलाई पापतर्फ धकेल्छ अनि अन्तमा मृत्युमा पुऱ्याउँछ। पावलले हाम्रो दयनीय अवस्थालाई यसरी बुझाए: “म भने असिद्ध र पापमा बेचिएको छु। हाय, म कस्तो लाचार मानिस! मृत्युतर्फ धकेलिंदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला?” अनि पावल आफैले यस्तो जवाफ दिए: “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्!”—रोमी ७:१४, २४, २५.
हामी सधैंभरि बाँच्न सकून् भनेर येशूले आफ्नो जीवन दिनुभयो
“बुबाले आफ्नो छोरालाई यस संसारको उद्धारकको रूपमा पठाउनुभएको हो।”—१ यूहन्ना ४:१४.
पापको असर अनि मृत्युको सजायबाट छुटकारा दिन यहोवा परमेश्वरले एउटा प्रबन्ध गर्नुभयो। कसरी? उहाँले आफ्नो प्यारो छोरालाई स्वर्गबाट पृथ्वीमा पठाउनुभएर। येशू पृथ्वीमा आदमजस्तै त्रुटिरहित व्यक्तिको रूपमा जन्मनुभयो। आदमको ठीक उल्टो येशूले पृथ्वीमा हुनुहुँदा “एउटै पाप गर्नुभएन।” (१ पत्रुस २:२२) आफूमा कुनै पाप नभएको कारण उहाँ सधैंभरि बाँच्न सक्नुहुन्थ्यो।
तर यहोवा परमेश्वरले येशूलाई आफ्ना शत्रुहरूको हातबाट मारिन दिनुभयो। त्यसको तीन दिनपछि उहाँले येशूलाई मृत्युबाट ब्युँताउनुभयो। येशू स्वर्ग फर्कनको लागि आत्मिक व्यक्तिको रूपमा ब्युँतिनुभयो। स्वर्गमा उहाँले आफ्नो त्रुटिरहित जीवनको मूल्य परमेश्वरसामु टक्य्राउनुभएर आदमका सन्तानलाई पाप र मृत्युबाट छुटकाराको बाटो खोलिदिनुभयो। यहोवा परमेश्वरले येशूको बलिदान स्वीकार्नुभयो। जसले गर्दा येशूमा विश्वास गर्ने हरेकले अनन्त जीवन पाउन सम्भव भयो।—रोमी ३:२३, २४; १ यूहन्ना २:२.
आदमले गुमाएको कुरा येशूले पुनः हासिल गर्नुभयो। हामीले अनन्त जीवन पाओस् भनेर उहाँले आफ्नो जीवन बलिदान गर्नुभयो। बाइबलमा यस्तो लेखिएको छ: ‘उहाँले मृत्यु भोग्नुभएकोले . . . परमेश्वरको असीम अनुग्रहद्वारा उहाँले हरेक मानिसको लागि मृत्यु चाख्नुभयो।’—हिब्रू २:९.
यस प्रबन्धले हामीलाई यहोवा परमेश्वरबारे थुप्रै कुरा सिकाउँछ। वास्तवमा उहाँको न्यायको उच्च स्तरले गर्दा हामी जस्ता त्रुटिपूर्ण मानिसले आफैलाई पाप र मृत्युबाट छुटकारा दिन असम्भव थियो। तर यहोवा परमेश्वर मायालु र दयालु हुनुभएकोले आफ्नै छोरा दिनुभएर छुटकाराको मोलको प्रबन्ध गर्नुभयो। उहाँ आफैले ठूलो मोल चुकाउनुपरे तापनि न्यायको उच्च स्तर कायम राख्न पछि हट्नुभएन।—रोमी ५:६-८.
येशूलाई पुनर्जीवित गरियो र अरूलाई पनि गरिनेछ
“ख्रीष्ट मरेकाहरूबाट ब्युँताइनुभएको छ, जो मृत्युको चिर निद्रामा परेकाहरूमध्ये अगौटे फल हुनुहुन्छ। किनकि एकै जना पुरुषले गर्दा मृत्यु आयो, त्यसकारण मरेकाहरू पनि एकै जना पुरुषद्वारा पुनर्जीवित पारिनेछन्। जसरी आदमले गर्दा सबै मर्दैछन्, त्यसरी नै ख्रीष्टले गर्दा सबैलाई जीवित पारिनेछ।”—१ कोरिन्थी १५:२०-२२.
येशू ख्रीष्टले यस पृथ्वीमा जीवन बिताउनुभयो अनि मृत्यु भोग्नुभयो भन्ने कुरामा कुनै शङ्का छैन। तर उहाँ मृत्युबाट ब्युँतनुभएको के कुनै प्रमाण छ? सबैभन्दा ठूलो प्रमाण त येशू ब्युँतनुभएपछि थुप्रै मानिससामु विभिन्न अवसर र ठाउँहरूमा देखापर्नुभएको थियो। एकपटक उहाँ पाँच सयभन्दा धेरै मानिसहरूकहाँ देखापर्नुभयो। प्रेषित पावलले कोरिन्थीको मण्डलीलाई चिठ्ठी लेख्दा येशू ब्युँतनुभएको देख्ने मानिसहरू अझै जिउँदै छन् भनेर उल्लेख गरेका थिए। अनि तिनीहरूले देखेका र सुनेका कुराको बयान दिन सक्ने कुरालाई पनि इङ्गित गर्दै थिए।—१ कोरिन्थी १५:३-८.
पावलले ख्रीष्टलाई ब्युँताइकाहरूमध्ये “अगौटे फल” भनी लेख्दा वास्तवमा तिनले मृत्युबाट ब्युँतनेहरू अरू पनि हुनेछन् भनेर औंल्याउँदै थिए। येशू आफैले पनि ‘चिहानमा हुनेहरू सबै बाहिर निस्किआउने’ समयबारे कुरा गर्नुभएको थियो।—यूहन्ना ५:२८, २९.
अनन्त जीवन पाउन हामीले येशूमा विश्वास गर्नै पर्छ
“परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्वास गर्ने हरेक नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।”—यूहन्ना ३:१६.
मानिस किन मर्नुपऱ्यो अनि सुन्दर बगैंचा कसरी गुम्यो भन्ने विषयमा बाइबलका सुरुका पानाहरूमा लेखिएको छ। अनि अन्तिम पानाहरूमा भने मृत्यु सदाका लागि अन्त हुने अनि पृथ्वी फेरि सुन्दर बगैंचामा परिणत हुने विषयमा लेखिएको छ। त्यतिखेर मानिसहरूले सधैंभरि आनन्दित जीवन बिताउन सक्नेछन्। प्रकाश २१:४ मा यस्तो लेखिएको पाउँछौं: “मृत्यु हुनेछैन” अनि यो प्रतिज्ञा भरोसायोग्य छ भनी जोड दिन पद ५ मा यस्तो लेखिएको छ: “यी कुराहरू विश्वासयोग्य र सत्य छन्।” हो, आफूले गर्नुभएको प्रतिज्ञा यहोवा परमेश्वर पूरा गर्न सक्नुहुन्छ।
“यी कुराहरू विश्वासयोग्य र सत्य छन्” भनी के तपाईं विश्वास गर्नुहुन्छ? येशू ख्रीष्टबारे अझ धेरै सिक्नुहोस् र उहाँमा विश्वास गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंले यहोवा परमेश्वरको अनुमोदनका साथै अहिल्यै प्रशस्त आशिष् पाउनुहुनेछ। त्यति मात्र नभई भविष्यमा यस पृथ्वी सुन्दर बगैंचामा परिणत हुँदा तपाईं सधैंभरि बाँच्न पाउनुहुनेछ। त्यतिखेर “मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।”
-
-
येशूको मृत्युको दिनको सम्झना गरिने छ—कहाँ र कहिले?प्रहरीधरहरा—२०१५ | मार्च १
-
-
आवरण लेख | मृत्युबाट छुटकारा!—कसले दिन सक्छ?
येशूको मृत्युको दिन सम्झना गरिनेछ—कहाँ र कहिले?
आफ्नो मृत्युको अघिल्लो रात येशूले चेलाहरूलाई उहाँले चढाउनै लाग्नुभएको बलिदानको सम्झना गर्ने निर्देशन दिनुभयो। उहाँले यसो भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।”—लूका २२:१९.
यो वर्ष येशूको मृत्युको वार्षिकी शुक्रबार, अप्रिल ३, २०१५, सूर्यास्तपछि परेको छ। त्यस दिन येशूको मृत्यु हाम्रो लागि किन महत्त्वपूर्ण छ र यसले हामीलाई कस्तो लाभ पुऱ्याउँछ भन्ने विषयमा एउटा भाषण दिइनेछ। तपाईं र तपाईंका परिवारलाई यस सभामा उपस्थित हुन यहोवाका साक्षीहरू निम्तो दिन्छन्।
-