-
“अन्त” तर के को?प्रहरीधरहरा—२०१५ | मे १
-
-
आवरण लेख | अन्त के को र कहिले?
“अन्त” तर के को?
“अन्त नजिक छ!” भन्ने वाक्य सुन्दा तपाईंको मनमा के आउँछ? अन्तरिक्षबाट तारा खसेर पृथ्वी र मानिसजातिलाई सखाप पारेको दृश्य कल्पना गर्नुहुन्छ कि? अथवा कुनै प्रलय वा तेस्रो विश्वयुद्धले पृथ्वीलाई भस्म पारेको सोच्नुहुन्छ? यस्ता दृश्यहरूको कल्पनाले कोही-कोही चिन्तित हुन सक्छ भने कोही-कोहीलाई यस्ता कुराहरू वाहियात वा हाँसउठ्दो पनि लाग्न सक्छ।
तर बाइबलमा भने यस्तो लेखिएको छ: “यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) यही घटनाक्रमलाई “सर्वशक्तिमान् परमेश्वरको महान् दिन” र “हार-मागेडोन” वा “आरमागेडोन” पनि भनिन्छ। (प्रकाश १६:१४, १६) अन्तको विषयमा थुप्रै धर्मभित्र गोलमाल छ। साथै अनौठा र निराश पार्ने विचारधाराहरू पनि व्याप्त छन्। कुरा जेसुकै भए तापनि बाइबलमा अन्त भनेको के हो र के होइन भन्नेबारे स्पष्ट लेखिएको छ। साथै परमेश्वरको वचनमा अन्त कत्तिको नजिक छ भन्नेबारे पनि बताइएको छ। सबैभन्दा खुसीको कुरा त यस दिनबाट हामी कसरी बच्न सक्छौं भन्ने कुरा बाइबलमा पाइन्छ। तर पहिला हामी यस दिनबारे फैलिएका गलत धारणाहरू के-के हुन् अनि अन्त वास्तवमा के हो भनेर पत्ता लगाऔं। त्यसोभए बाइबलअनुसार “अन्त” भनेको के हो त?
अन्त भनेको यी कुराहरू होइनन्:
१. पृथ्वीको विनाश
बाइबलमा यस्तो लेखिएको छ: “पृथ्वी कहिल्यै नडग्मगाओस् भनेर त्यसलाई उहाँले जगमाथि स्थिर पार्नुभयो।” (भजन १०४:५, NRV) परमेश्वरले पृथ्वीको विनाश गर्नुहुन्न अनि अरूलाई विनाश गर्न पनि दिनुहुन्न भनेर बाइबलका अरू थुप्रै पदमा पनि उल्लेख गरिएको छ।—उपदेशक १:४; यशैया ४५:१८.
२. अन्धाधुन्ध आउने
परमेश्वरले अन्त हुने समय तोकिसक्नुभएको छ भनेर बाइबलमा बताइएको छ। हामी यस्तो लेखिएको पाउँछौं: “त्यस दिन वा समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र। सधैं सचेत रहो अनि जागा बस, किनकि परमेश्वरले तोक्नुभएको समय कुन हो, तिमीहरू जान्दैनौ।” (मर्कूस १३:३२, ३३) हो, बुबा अर्थात् परमेश्वरले अन्तको ‘समय तोकिसक्नुभएको’ छ भनेर यस पदले स्पष्ट पार्छ।
३. मानिसले ल्याउने वा अन्तरिक्षबाट केही खसेर हुने
अन्त कसरी हुन्छ त? प्रकाश १९:११ मा यस्तो लेखिएको छ: “त्यसपछि, मैले स्वर्ग उघ्रेको देखें अनि हेर, एउटा सेतो घोडा पनि देखें। त्यसमा सवार हुनेको नाम विश्वासी अनि सत्य रहेछ र तिनले परमेश्वरको स्तरबमोजिम न्याय गर्नुका साथै युद्ध गर्दा रहेछन्।” अनि पद १९ मा यस्तो लेखिएको छ: “अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें।” (प्रकाश १९:११-२१) यहाँ लेखिएका कुराहरू प्रतीकात्मक भए तापनि अन्तबारे हामी यो कुरा थाह पाउन सक्छौं: परमेश्वरले उहाँका शत्रुहरूलाई नाश गर्न स्वर्गदूतहरूको दल चलाउनुहुनेछ।
अन्तबारे बाइबलमा बताइएको सन्देश दुःखदायी नभई राम्रो समाचार हो
अन्त भनेको यी कुराहरू हुन्:
१. असफल मानव सरकारको अन्त
बाइबलमा यस्तो बताइएको छ: “स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, न त त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चकनाचुर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदासर्वदै रहिरहनेछ।” (दानियल २:४४) माथि ३ नम्बरको बुँदामा पनि उल्लेख गरिएझैं “घोडामा सवार हुने र तिनका सेनासित लडाइँ गर्न . . . एकसाथ भेला” भएका “पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू” अर्थात् मानव सरकारहरूको अन्त हुनेछ।—प्रकाश १९:१९.
२. युद्ध, हिंसा र अन्यायको अन्त
यसबारे बाइबलमा यस्तो लेखिएको छ: “पृथ्वीको अन्तसम्मै [परमेश्वरले] युद्धहरू रोक्नुहुन्छ।” (भजन ४६:९) “सोझाहरू पृथ्वीमा बास गर्नेछन् र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन् र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्।” (हितोपदेश २:२१, २२) “हेर, म सबै थोक नयाँ बनाउँदैछु।”—प्रकाश २१:४, ५.
३. परमेश्वरलाई अस्वीकार्य धर्महरूको अन्त
बाइबलमा यस्तो उल्लेख गरिएको छ: “अगमवक्ताहरू झूटा अगमवाणी कहन्छन्। औ पूजाहारीहरू आफ्नै आदेशमा शासन गर्छन्। . . . तर अन्त्यको समयमा तिमीहरू के गर्नेछौ?” (यर्मिया ५:३१) “त्यस दिन धेरैले मलाई यसो भन्नेछन्: ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईंको नाममा भविष्यवाणी गरेनौं र? तपाईंको नाममा दुष्ट स्वर्गदूतहरूलाई धपाएनौं र? अनि के हामीले तपाईंको नाममा थुप्रै शक्तिशाली काम गरेनौं र?’ अनि त्यतिबेला म तिनीहरूलाई प्रस्टै यसो भन्नेछु: ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन! हे कुकर्मीहरू हो, मबाट पर हटिहाल।’”—मत्ती ७:२१-२३.
४. संसारको अवस्थालाई बिगार्ने मानिसहरूको अन्त
येशूले यसो भन्नुभयो: “अब यस आधारमा न्याय हुन्छ, संसारमा ज्योति आएको छ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए, किनकि तिनीहरूका कामहरू दुष्ट थिए।” (यूहन्ना ३:१९) विश्वासी पुरुष नूहको समयमा भएको संसारको विनाशबारे पनि बाइबलमा लेखिएको छ। “त्यसबेलाको संसार जलप्रलय हुँदा डुबेर नाश भयो। त्यही वचनद्वारा अहिलेको आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ अनि भक्तिहीन मानिसहरूको न्याय र विनाश हुने दिनसम्मका लागि छुट्ट्याएर राखिएको छ।”—२ पत्रुस ३:५-७.
आउँदै गरेको “न्याय र विनाश हुने दिन”-लाई नूहको समयमा भएको “संसार”-को विनाशसित तुलना गरिएको छ। त्यतिखेर कस्तो संसारको विनाश भयो? हो, पृथ्वी त विनाश भएन। बरु परमेश्वरका शत्रुहरू अर्थात् “भक्तिहीन मानिसहरूको” अन्त भयो। त्यसैगरि अब आउने “न्याय”-को दिनमा पनि परमेश्वरका शत्रुहरूको विनाश हुनेछ। परमेश्वरले नूह र तिनका परिवारको सुरक्षा गर्नुभएजस्तै यस संसारको विनाशबाट उहाँले आफ्ना घनिष्ठ साथीहरूलाई पनि जोगाउनुहुनेछ।—मत्ती २४:३७-४२.
परमेश्वरले सबै दुष्टताको अन्त गर्नुभएपछि यस पृथ्वीको अवस्था कस्तो होला, कल्पना गर्नुहोस् त। अन्तबारे बाइबलमा बताइएको सन्देश दुःखदायी नभई राम्रो समाचार हो। तर तपाईंको मनमा यस्ता प्रश्नहरू उठ्छन् होला: ‘अन्त ठ्याक्कै कहिले आउँछ भनेर बाइबलमा बताइएको छ कि? के यो दिन नजिकै छ? म त्यस दिनबाट कसरी जोगिन सक्छु?’
-
-
अन्त कहिले हुनेछ?प्रहरीधरहरा—२०१५ | मे १
-
-
आवरण लेख
अन्त कहिले हुनेछ?
अहिले मानिसले मानिसमाथि हैकम जमाएर मानिसजातिको भविष्य नै खतरामा पारेको छ। तर परमेश्वरले सधैंभरि यस्तो भइरहन दिनुहुने छैन। शताब्दियौंदेखि संसारमा भइरहेको दुःख र अत्याचारको अन्त परमेश्वरले गर्नुहुनेछ भनेर हामीले पढिसक्यौं। उहाँले कदम चाल्नुहुने समय नजिक छ भनेर तपाईंले थाह पाएको सृष्टिकर्ता चाहनुहुन्छ। तर यस्तो रहस्य उहाँले कसरी खुलाउनुभएको छ?
एउटा उदाहरण विचार गर्नुहोस्: कुनै नयाँ ठाउँमा जानुअघि त्यो ठाउँमा कसरी पुग्ने भनेर तपाईं पहिला अरू मानिसहरूलाई सोध्नुहुन्छ होला वा नक्सा अनि लेखिएका निर्देशनहरू हेर्नुहुन्छ होला। यात्रा गर्दै जाँदा तपाईंलाई दिइएको निर्देशन र बाटोमा राखिएका चिन्हहरू मिल्यो भने तपाईंको गन्तव्य नजिक रहेछ भनेर तपाईं ढुक्क महसुस गर्नुहुन्छ नि, होइन र? त्यसैगरि परमेश्वरले पनि अन्त हुनुअघि संसारमा हुने ठूलाठूला परिवर्तनहरूबारे आफ्नो वचनमार्फत बताउनुभएको छ। जब यी घटनाहरू देख्छौं तब संसारको अन्त हुने समय नजिकै छ भन्ने कुरामा हामी विश्वस्त हुन्छौं।
अन्तको समयमा यो संसार एउटा निर्णायक घडीमा पुग्नेछ भनेर बाइबलमा लेखिएको छ। मानिसजातिको इतिहासमै नभएका घटनाहरू अनि परिस्थितिहरू देखापर्नेछ। यसबारे परमेश्वरको वचनमा लिपिबद्ध केही भविष्यवाणीहरू केलाऔं।
१. विश्वव्यापी रूपमा हुने उथलपुथल: बाइबलको मत्ती अध्याय २४ मा पृथ्वीमा हुने घटनाहरूको सूची उल्लेख गरेको पाइन्छ। यी घटनाहरूले “यस युगको आखिरी समयको चिन्ह” दिनुका साथसाथै त्यसपछि “यस युगको अन्त” हुनेबारे पनि बताउँछ। (पद ३, १४) बाइबलमा लेखिएका अन्तका चिन्हहरू यी नै हुन्: ठाउँ-ठाउँमा ठूलठूला युद्धहरू, अनिकाल, भूकम्प, दुष्टता बढ्ने अनि मानिसहरूबीचको प्रेम सेलाउने र कपटी धार्मिक नेताहरूले मानिसहरूलाई बहकाउने। (पद ६-२६) यस्ता घटनाहरू त सयौं वर्षदेखि हुँदै छ भनेर तपाईं भन्नुहोला। तर अन्त नजिकिंदै जाँदा यी सबै घटना एउटै समयमा हुनेछ। त्यति मात्र नभई तल दिइएका तीन वटा सङ्केतहरू पनि सँगसँगै हुनेछ।
२. मानिसहरूको स्वभाव: “अन्तको दिन” -को अर्को चिन्ह भनेको मानिसहरूमा फैलिने विकृति हो भनेर बाइबलमा लेखिएको छ। हामी यस्तो लेखिएको पाउँछौं: “मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्कारी, परमेश्वरको निन्दा गर्ने, आमाबाबुको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने हुनेछन्।” (२ तिमोथी ३:१-४) हुन त मानिसले एकअर्कालाई अनादर गर्नु कुनै नौलो कुरा त होइन। तैपनि “अन्तको दिन” -मा चाहिं मानिसहरूको यस्तो स्वभावले सीमा नाघ्नेछ त्यसैले यस समयलाई “कठिन समय” भन्न सकिन्छ। मानिसहरूको स्वभाव बिग्रँदै गएको तपाईं आफैले महसुस गर्नुभएको छ कि?
३. मानिसहरूले पृथ्वीको विनाश गर्ने: परमेश्वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ भनेर बाइबलमा लेखिएको छ। (प्रकाश ११:१८) तर कसरी मानिसहरूले पृथ्वीको विनाश गरिरहेका छन्? बाइबलमा नूहको समयबारे यसरी व्याख्या गरिएको छ: “परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो।” तब परमेश्वरले त्यो भ्रष्ट समाजबारे यस्तो भन्नुभयो: ‘म तिनीहरूलाई नाश गर्नेछु।’ (उत्पत्ति ६:११-१३) पृथ्वी हिंसाले भरिरहेको प्रमाण के तपाईं देख्दै हुनुहुन्छ? साथै यो संसार मानव इतिहासकै निर्णायक घडीमा आइपुगेको छ। कसरी? सारा मानिसजातिलाई नष्ट गरेर पूरै पृथ्वी विनाश गर्ने क्षमता पनि मानिसमा छ। किनभने तिनीहरूसित अहिले हरेक किसिमका हातहतियार छन्। मानिसहरूले अर्को तरिकामा पनि पृथ्वीको विनाश गर्दै छन्। मानिसहरूले प्रकृतिको दुरुपयोग गरेका कारण पृथ्वीमा जीवन सम्भव तुल्याउने प्रणालीहरूमा ठूलो क्षति पुगेको छ। जस्तै: समुद्र, वातावरण अनि जनावर र रूख-बिरुवाको जैविक प्रणाली बिस्तारै मासिंदै गइरहेको छ।
तपाईं आफैलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘के सय वर्षअघि मानिसहरूसित आफैलाई पूर्ण रूपमा विनाश गर्ने शक्ति थियो र?’ थिएन। तर अहिले मानिसले वातावरणलाई ध्वस्त पार्नुका साथै अत्याधुनिक हातहतियार बनाएकोले पृथ्वीलाई पूर्ण रूपमा विनाश गर्ने शक्ति तिनीहरूसित छ। प्रविधिको सन्दर्भमा कुरा गर्ने हो भने यसले ठूलो फड्को मारेको छ। तैपनि त्यसले ल्याएका डरलाग्दा नतिजाहरूलाई भने मानिसले बुझ्न सकेको छैन न त त्यसलाई नियन्त्रण नै गर्न सकेको छ। तर पृथ्वीमा भएका सबै जीवजीवात लोप हुनुअघि नै परमेश्वरले विनाशकारीहरूको विनाश गर्न कदम चाल्नुहुनेछ। त्यसैले पृथ्वीको भविष्य मानिसको हातमा छैन। पृथ्वीका विनाशकारीहरूलाई नाश गर्ने प्रतिज्ञा परमेश्वर आफैले गर्नुभएको छ।
४. विश्वव्यापी प्रचारकार्य: अन्तको दिनको अर्को एउटा चिन्हबारे पनि बाइबलमा भविष्यवाणी गरिएको थियो। त्यो हो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) यो प्रचारकार्य सयौं वर्षदेखि चलिरहेको धर्मपरिवर्तन जस्तो होइन। अन्तको दिनमा एउटा विशेष समाचारमा जोड दिइनेछ। त्यो हो, ‘राज्यको सुसमाचार।’ त्यस्तो समाचार फैलाइरहेका कुनै धार्मिक समूहलाई तपाईं चिन्नुहुन्छ? यस्तै समाचार फैलाउने कोही-कोही छन् होला तर के तिनीहरूले आफ्नै ठाउँमा मात्र प्रचार गर्दै छन्? या ‘सबै जातिलाई साक्षी दिनका लागि सारा पृथ्वीभरि प्रचार’ गरिरहेका छन्?
सयौं भाषामा संसारभरि परमेश्वरको राज्यको घोषणा हुँदै छ
www.jw.org वेबसाइटमा पनि ‘राज्यको सुसमाचार’ लाई नै जोड दिएको छ। यसमा ७०० भन्दा धेरै भाषामा राज्यको सुसमाचारलाई बुझाउने प्रकाशनहरू पाइन्छ। राज्यको सुसमाचार संसारभरि फैलाउन गरिएको यस्तो प्रयासबारे तपाईंलाई थाह छ? इन्टरनेट उपलब्ध हुनुभन्दा कयौं वर्षअघि देखि यहोवाका साक्षीहरूले परमेश्वरको राज्यको सुसमाचार फैलाउन गरेको प्रयासबारे प्रायः सबैलाई थाह छ। सन् १९३९ देखि नै प्रहरीधरहरा पत्रिकाको हरेक अङ्कको आवरणमा “यहोवाको राज्यको घोषणा गर्छ” भन्ने शब्दहरू लेखिएको पाइन्छ। धर्मबारे एउटा किताबमा यहोवाका साक्षीहरूको प्रचारकार्यबारे यस्तो लेखिएको छ: “तिनीहरूले तीव्र गतिमा व्यापक र विस्तृत रूपमा गरेको प्रचारकार्य अतुलनीय छ।”
संसारको इतिहासको निर्णायक समय
बाइबलमा उल्लेख गरिएका अन्तको दिनको चारवटा चिन्ह तपाईंको जीवनकालमै कसरी देखापरिरहेको छ भनेर के तपाईंले याद गर्नुभयो? यो पत्रिकाले सय वर्षभन्दा अघिदेखि नै पाठकहरूलाई संसारको घटनाबारे जानकारी दिएर तिनीहरूलाई अन्त कत्ति नजिक छ भन्ने कुरा जाँच्न मदत गरेको छ। तर केही आलोचकहरूले भने यस्ता प्रमाणहरू आ-आफ्नो विचारधारा मात्रै हुन् र यसलाई बङ्ग्याउन सकिन्छ भन्ने दाबी गर्छन्। तिनीहरूले जेसुकै भने तापनि हामी मानव इतिहासको विशेष समयमा बाँचिरहेका छौं भन्ने प्रमाणहरू यथेष्ट छन्।
पृथ्वीमा ठूलठूला परिवर्तनहरू हुनै लागेका छन् भनेर केही विशेषज्ञहरू मानिलिन्छन्। उदाहरणको लागि मानिसजातिको अस्तित्व नै खतरामा पार्न सक्ने कुराहरू छन् भनेर सन् २०१४ मा विज्ञान र सुरक्षा बोर्डको एउटा समाचारले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई चेतावनी दियो। ती वैज्ञानिकहरूले यसो भने: “मानिसजातिको अस्तित्वलाई खतरामा पार्ने कुराहरूलाई राम्ररी नियाल्दा प्रविधिले ल्याउने विपत्ति अझ डरलाग्दो हुन सक्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं।” संसारको इतिहासको निर्णायक घडीमा हामी पुगिसकेका छौं भन्ने कुरा थुप्रै मानिसले स्वीकारेका छन्। यस पत्रिकाका प्रकाशक र यसका थुप्रै पाठक अन्त सोचेभन्दा पनि नजिक छ भन्ने कुरामा विश्वस्त छन्। तर भविष्यको विषयमा चिन्तित हुनुभन्दा पनि अन्तपछि आउने समयबारे सोचेर हामी खुसी हुन सक्छौं। किन? किनभने तपाईं अन्तबाट बच्न सक्नुहुन्छ।
-
-
धेरैजना अन्तको विनाशबाट जोगिनेछन्-तपाईं पनि जोगिन सक्नुहुन्छप्रहरीधरहरा—२०१५ | मे १
-
-
आवरण लेख | अन्त के को र कहिले?
धेरैजना अन्तको विनाशबाट जोगिनेछन् तपाईं पनि जोगिन सक्नुहुन्छ
अन्तको विषयमा बाइबलमा यस्तो लेखिएको छ: “त्यतिखेर यस्तो महासङ्कष्ट हुनेछ, जो संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन। भनौं भने, ती दिन नघटाइने हो भने कोही मानिस बच्नेछैन।” (मत्ती २४:२१, २२) तर धेरै जना त्यस महासङ्कष्टबाट जोगिनेछ भनेर परमेश्वरको वचनमा यसरी लेखिएको छ: “संसार बितेर जाँदैछ . . . तर जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.
यस संसारको अन्तबाट बच्न र ‘सधैंभरि रहिरहन’ चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्छ? खानेकुराको बन्दोबस्त वा यस्तै अरू कुराको पो तयारी गर्नुपर्ने हो कि? होइन। हामीले आफ्नो जीवनमा प्राथमिकताहरू छुट्याउनुपर्छ भनेर बाइबलका यी सशक्त शब्दहरूले स्पष्ट पार्छ: “यी सबै कुराहरू यसरी पग्लने भएकोले तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच! तिमीहरू पवित्र आचरण भएका र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू गर्ने मानिस हुनुपर्छ।” (२ पत्रुस ३:१०-१२) पग्लने “यी सबै कुराहरू” मा आकाश र पृथ्वी पर्छन्। आकाश भन्नाले यो भ्रष्ट संसारका शासकहरू अनि पृथ्वी भन्नाले परमेश्वरको शासनलाई नभई मानिसहरूको भ्रष्ट शासनलाई समर्थन गर्नेहरू हुन्। त्यसैले भौतिक कुराहरू जम्मा गरेर त्यस विनाशबाट हामी बच्न सक्दैनौं।
वास्तवमा हामी यहोवा परमेश्वरप्रति समर्पित भएर; उहाँलाई मनपर्ने काम गरेर र शुद्ध आचरण देखाएर अन्तबाट जोगिन सक्छौं। (सपन्याह २:३) अधिकांश मानिसले गरेजस्तै अन्तको स्पष्ट प्रमाणलाई कहिल्यै बेवास्ता नगरौं। बरु ‘यहोवाको दिनको उपस्थितिलाई सधैं सम्झिरहौं।’ यो आउँदै गरेको भयानक दिनबाट तपाईं कसरी बच्न सक्नुहुन्छ भनेर यहोवाका साक्षीहरूले बाइबलबाटै देखाउन सक्छन्।
-