प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 अप्रिल पृ. १८-२२
  • “सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मण्डलीमा
  • यूसुफ अन्यायको सिकार भए
  • सबैभन्दा महत्त्वपूर्ण सम्बन्धलाई सधैं सम्झनुहोस्‌
  • “सारा पृथ्वीका न्यायकर्त्ता”-माथि भरोसा राख्नुहोस्‌
  • अन्याय कसरी सहने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूले वा अरूले अन्याय भोग्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 अप्रिल पृ. १८-२२
सदोम र गमोरालाई यहोवाले उचित न्याय गर्नुहुनेछ भन्‍ने कुरामा अब्राहामले भरोसा राखे

“सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुन्छ

“उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌।”—व्यव. ३२:४.

गीत: ११२, ८९

अन्याय भोग्नुपर्दा यी पदहरू सम्झनु किन मदतकारी हुन्छ?

  • मीका ७:७

  • हितोपदेश १९:३

  • मत्ती १८:१५

१. यहोवाले उचित न्याय गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क भएको अब्राहामले कसरी देखाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

“सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नुहुन्‍न र?” (उत्प. १८:२५) अब्राहामले यहोवामाथि शङ्‌का गरेर यो प्रश्‍न सोधेका थिएनन्‌। बरु उहाँले सदोम र गमोरालाई उचित न्याय गर्नुहुने कुरामा अब्राहाम ढुक्क थिए भनेर यस प्रश्‍नबाट देखिन्छ। यहोवाले “दुष्टको साथमा धर्मी जनलाई मार्ने” अन्यायपूर्ण काम कहिल्यै गर्नुहुनेछैन भनेर अब्राहाम विश्‍वस्त थिए। परमेश्‍वरले त्यस्तो अन्याय गर्नुहुने कुरा अब्राहाम सोच्न पनि सक्दैनथे। लगभग ४०० वर्षपछि यहोवाले आफूबारे यसो भन्‍नुभयो: “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यव. ३१:१९; ३२:४.

२. यहोवाले किन कहिल्यै अन्याय गर्नुहुनेछैन?

२ यहोवाले सधैं उचित न्याय गर्नुहुनेछ भनेर अब्राहाम किन ढुक्क हुन सके? किनभने उचित न्याय र धार्मिकताको सन्दर्भमा यहोवा उत्कृष्ट उदाहरण हुनुहुन्छ। त्यसैले “न्याय” र “धार्मिकता” भनेर अनुवाद गरिएका हिब्रू शब्दहरू हिब्रू धर्मशास्त्रमा अक्सर सँगसँगै प्रयोग गरिएका छन्‌। वास्तवमा भन्‍ने हो भने न्यायोचित कुरा र सही स्तरबीच खासै भिन्‍नता छैन। यहोवाको स्तर सही भएकोले उहाँले सधैं सही न्याय गर्नुहुनेछ। उहाँको लिखित वचनमा बताइएझैं “उहाँले धार्मिकता र न्यायलाई निको मान्‍नुहुन्छ।”—भज. ३३:५.

३. अहिलेको संसारमा भइरहेको एउटा अन्यायबारे बताउनुहोस्‌।

३ यो संसार अन्यायले भरिएको छ। तर यहोवाले सधैं उचित न्याय गर्नुहुन्छ भनेर थाह पाउँदा सोझो हृदय भएका मानिसहरूले सान्त्वना पाउँछन्‌। यस संसारमा मानिसहरू कहिलेकाहीं घोर अन्यायको सिकार हुन्छन्‌। उदाहरणको लागि, कोही-कोही झूटो अभियोगमा थुनिएका छन्‌। आजकल डिएनए परीक्षणले गर्दा सही प्रमाण भेटिन केही हदसम्म सम्भव भएको छ। यसले गर्दा झूटो अभियोगमा वर्षौंसम्म थुनिएका केही निर्दोष व्यक्‍ति जेलमुक्‍त भएका छन्‌। झूटो अभियोगमा जेल सजाय भोग्नुपर्दा मानिसहरू निराश अनि आक्रोशित हुन्छन्‌। तर यो भन्दा पनि अर्कै प्रकारको अन्याय सहन साँचो ख्रीष्टियनहरूलाई गाह्रो हुन सक्छ।

मण्डलीमा

४. कस्तो बेला हाम्रो विश्‍वासको जाँच हुन सक्छ?

४ साँचो ख्रीष्टियनहरूले मण्डलीबाहिर कुनै न कुनै प्रकारको अन्याय भोग्नुपर्ने अवस्था आउन सक्छ। तर मण्डलीभित्र कसैलाई अन्याय भएको वा आफूले अन्याय भोग्नुपरेको जस्तो लाग्यो भने हाम्रो विश्‍वासको जाँच हुन सक्छ। मण्डलीमा कुनै कुरा ठीकसित नभएको वा सङ्‌गी ख्रीष्टियनले तपाईंलाई अन्याय गरेको जस्तो लागेमा तपाईं के गर्नुहुन्छ? के त्यस्तो कारणले तपाईं ठेस खानुहुन्छ?

५. मण्डलीमा अन्याय भएको देख्दा वा आफैले अन्याय भोग्दा ख्रीष्टियनहरू किन छक्क पर्दैनन्‌?

५ हामी सबै त्रुटिपूर्ण छौं र गल्ती गर्छौं। त्यसैले मण्डलीमा हामी आफै अन्यायको सिकार हुने वा हाम्रो कारणले अरूले अन्याय भोग्नुपर्ने सम्भावना हुन्छ भनेर हामीले बुझेका छौं। (१ यूह. १:८) हुन त यस्तो विरलै हुने गर्छ। तर अन्याय भइहाल्यो भने पनि वफादार ख्रीष्टियनहरू छक्क पर्दैनन्‌ न त ठेस खान्छन्‌। सङ्‌गी उपासकहरूले गर्दा अन्याय भोग्नुपरेको अवस्थामा समेत निष्ठावान्‌ रहिरहन यहोवाले आफ्नो वचनमा व्यावहारिक सल्लाह दिनुभएको छ।—भज. ५५:१२-१४.

६, ७. एक जना भाइले कस्तो अन्याय भोगे? तिनलाई अन्याय सहन कस्ता गुणहरूले मदत गऱ्‍यो?

६ भाइ विली डेलको अनुभव विचार गर्नुहोस्‌। सन्‌ १९३१ देखि भाइ डेलले स्वीट्‌जरल्याण्डको बर्नस्थित बेथेलमा सेवा गरे। सन्‌ १९४६ मा तिनी अमेरिकाको न्यु योर्कमा सञ्चालन गरिएको गिलियड स्कुलको आठौं कक्षामा सामेल भए। त्यस स्कुलबाट स्नातक गरेपछि तिनलाई स्वीट्‌जरल्याण्डमा क्षेत्रीय निरीक्षकको काम गर्न खटाइयो। आफ्नो जीवनीमा भाइ डेलले यसो भने: “मैले विवाह गर्न लागेको कुरा बर्नस्थित शाखा कार्यालयलाई सन्‌ १९४९ को मे महिनामा खबर गरें।” जवाफ कस्तो आयो? “तपाईंले नियमित अग्रगामी सेवा मात्र गर्न पाउनुहुनेछ, अरू सुअवसरहरू हटाइनेछन्‌।” भाइ डेलले यसो पनि भने: “मलाई भाषण दिन रोक लगाइयो। . . . धेरैले हामीलाई अभिवादन गर्न छोडे, बहिष्कार भएको व्यक्‍तिलाई जस्तो व्यवहार गरे।”

७ यस्तो अवस्थामा भाइ डेलले के गरे? तिनले भने: “विवाह गर्नु धर्मशास्त्रविपरीत होइन भनेर हामीलाई थाह थियो। त्यसैले हामीले आफ्नो सबै दुःख प्रार्थनामा पोख्यौं अनि यहोवामा भरोसा राख्यौं।” विवाहप्रतिको गलत दृष्टिकोणले गर्दा हामीमाथि जुन अन्याय गरिएको थियो, पछि त्यो सच्याइयो। आफूले गुमाएका सबै सुअवसर भाइ डेलले फेरि पाए। यहोवाप्रति वफादार रहेकोले तिनले इनाम पाए।a हामीले आफूलाई यस्ता प्रश्‍नहरू सोध्नु बेस हो: ‘अन्याय भोग्नुपर्दा के मैले पनि भाइ डेलको जस्तै मनोवृत्ति देखाउनेछु? म धीरजी भई यहोवाको बाटो हेर्नेछु कि कामकुरा आफ्नै हातमा लिएर अन्यायविरुद्ध लड्‌न खोज्नेछु?’—हितो. ११:२; मीका ७:७ पढ्‌नुहोस्‌।

८. मण्डलीमा आफू वा अरू कोहीमाथि अन्याय भयो भन्‍ने गलत निष्कर्षमा पुग्नुको कारण के हुन सक्छ?

८ कहिलेकाहीं मण्डलीमा आफू वा अरू कोहीमाथि अन्याय भएको जस्तो लाग्न सक्छ। तर यस्तो निष्कर्ष गलत पनि हुन सक्छ। किन? किनभने हामी त्रुटिपूर्ण छौं र हामीलाई सबै कुरा राम्ररी थाह नहुन सक्छ। हाम्रो बुझाइ सही होस्‌ वा गलत, प्रार्थना गरेर यहोवामाथि भर पऱ्‍यौं र उहाँप्रति वफादार रहिरह्‍यौं भने “परमप्रभुको विरुद्धमा असन्तोष प्रकट” गर्नेछैनौं।—हितोपदेश १९:३ पढ्‌नुहोस्‌।

९. यो र यसपछिको लेखमा क-कसको उदाहरण विचार गर्नेछौं?

९ प्राचीन समयमा यहोवाका जनहरूमाझ भएको अन्यायको तीन वटा उदाहरण केलाऔं। यस लेखमा अब्राहामका पनाति यूसुफलाई तिनका दाइहरूले गरेको व्यवहारबारे चर्चा गर्नेछौं। यसपछिको लेखमा यहोवाले इस्राएलका राजा आहाबसित गर्नुभएको व्यवहार र सिरियाली एन्टिओकमा प्रेषित पत्रुसको अनुभवबारे विचार गर्नेछौं। विशेषगरि आफूले अन्याय भोग्नुपरेको जस्तो लाग्दा यहोवामा आफ्नो ध्यान केन्द्रित गर्न र उहाँसितको सम्बन्धलाई बिग्रन नदिन के गर्न सक्छौं, यी उदाहरणहरू छलफल गर्दा सिक्नेछौं।

यूसुफ अन्यायको सिकार भए

१०, ११. (क) यूसुफ कस्तो अन्यायको सिकार भए? (ख) झ्यालखानामा छँदा यूसुफले कस्तो मौका पाए?

१० यूसुफ यहोवाका वफादार सेवक थिए। तिनले नचिनेका मानिसहरूबाट होइन तर आफ्ना साक्खै दाइहरूबाट अन्याय भोगे। यूसुफ १७ वर्षको हुँदा तिनका दाइहरूले तिनलाई कुनै दयामाया नदेखाई दासको रूपमा बेचिदिए। त्यसपछि तिनलाई जबरजस्ती मिश्र लगियो। (उत्प. ३७:२३-२८; ४२:२१) त्यस विदेशी भूमिमा केही समय बसेपछि तिनलाई बलात्कार गर्न खोजेको झूटो आरोप लगाइयो र कुनै पुर्पक्षविना झ्यालखानामा थुनियो। (उत्प. ३९:१७-२०) तिनले दास र कैदीको रूपमा लगभग १३ वर्ष बिताए। हामीले सङ्‌गी उपासकबाट अन्याय भोग्नुपर्दा यूसुफको अनुभवबाट कस्तो पाठ सिक्न सक्छौं?

११ झ्यालखानामा छँदा यूसुफले आफ्नो अवस्थाबारे अर्को कैदीलाई बताउने मौका पाए। ती कैदी पहिला राजालाई मद्य टक्राउने काम गर्थे। झ्यालखानामा सँगै छँदा ती कैदीले एउटा सपना देखे। यूसुफले त्यस सपनाको अर्थ खोलिदिए। ती कैदीले फिरऊनको दरबारमा पहिलाकै काम गर्न पाउनेछन्‌ भनेर यूसुफले बताए। यूसुफले परमेश्‍वरको प्रेरणा पाएर ती कैदीको सपनाको अर्थ खोलेका थिए। अनि यही मौका छोपेर यूसुफले आफू झ्यालखानामा पर्नुको कारणबारे पनि ती कैदीलाई बताए। यस्तो अवस्थामा यूसुफले के भने र के भनेनन्‌ भन्‍ने कुरा विचार गर्दा हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।—उत्प. ४०:५-१३.

१२, १३. (क) यूसुफले मद्य टक्राउने कैदीलाई भनेको कुराबाट तिनले हार मानेका थिएनन्‌ भनेर कसरी देखिन्छ? (ख) यूसुफले मद्य टक्राउने कैदीलाई कुन कुरा बताएनन्‌?

१२ उत्पत्ति ४०:१४, १५ पढ्‌नुहोस्‌। यूसुफले आफूलाई “चोरी गरेर” अर्थात्‌ जबरजस्ती गरेर ल्याइएको हो भनेर बताए। जेहोस्‌, यूसुफ अन्यायको सिकार भए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। आफूलाई जुन आरोप लगाएर थुनियो, वास्तवमा आफू त्यो अपराधको दोषी होइन भनेर यूसुफले बताए। त्यसैले आफ्नो यो कुरा फिरऊनकहाँ पुऱ्‍याइदिन तिनले मद्य टक्राउने कैदीलाई बिन्ती गरे। तिनी के चाहन्थे? तिनले भने: “मलाई यस घरबाट निकालिदिनुहोला।”

१३ यूसुफका यी शब्दहरूबाट के तिनले हार मानेको जस्तो देखिन्छ? त्यसो त पक्कै होइन। आफूमाथि एउटा होइन, तीनथुप्रो अन्याय भएको छ भनेर तिनलाई राम्ररी थाह थियो। त्यसैले झ्यालखानाबाट निस्केपछि ती कैदीले आफूलाई मदत गर्न सक्ला कि भन्‍ने आशामा यूसुफले उनलाई आफूमाथि भएको सबै अन्यायबारे स्पष्टसित बताइदिए। तर याद गर्नुहोस्‌, आफूलाई जबरजस्ती गरेर ल्याउने व्यक्‍तिहरू आफ्नै दाइहरू हुन्‌ भनेर यूसुफले अरूलाई वा फिरऊनलाई बताए भनेर धर्मशास्त्रमा कतै उल्लेख गरिएको पाइँदैन। पछि यूसुफले आफ्ना दाइहरूलाई मिश्रमा फेरि भेट्‌दा फिरऊनले तिनीहरूलाई स्वागत गरे अनि मिश्रमै बसोबास गरेर “सबै असल-असल कुराहरू” उपभोग गर्न भने।—उत्प. ४५:१६-२०.

अरूको कुरा काट्‌दै हिंड्‌दा समस्या झनै चर्कन्छ

अरूको कुरा काट्‌दै हिंड्‌दा समस्या डढेलोजस्तै फैलन सक्छ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. अन्यायको सिकार भयौं भने पनि कुरा काट्‌दै नहिंड्‌न केले मदत गर्नेछ?

१४ आफू अन्यायको सिकार भएको जस्तो लाग्दा त्यसबारे भाइबहिनीलाई सुनाउँदै हिंड्‌नु राम्रो होइन। मण्डलीमा कसैले गम्भीर गल्ती गरेका छन्‌ भने एल्डरहरूको मदत माग्नु र त्यसबारे तिनीहरूलाई खबर गर्नु उचित हो। (लेवी ५:१) तर गम्भीर गल्ती नभएको प्रायजसो अवस्थामा अरू कसैलाई वा एल्डरहरूलाई समेत नभनी समस्या समाधान गर्न सम्भव हुन्छ। (मत्ती ५:२३, २४; १८:१५ पढ्‌नुहोस्‌) यस्तो अवस्थामा वफादार भई बाइबलको सिद्धान्तअनुरूप कामकुरा गरौं। आफूमाथि अन्याय भएको होइन रहेछ भनेर कहिलेकाहीं पछि मात्र थाह हुन सक्छ। सबै कुरा थाह नभएको बेला सङ्‌गी ख्रीष्टियनको निन्दा गरेनौं भने परिस्थिति अझै बिग्रन पाउँदैन। यसरी परिस्थिति बिग्रन नदिएकोमा हामी कत्ति खुसी हुनेछौं! यो कुरा नबिर्सनुहोस्‌, हामी सही होऔं वा गलत, अरूको कुरा काट्‌दै हिंड्यौं भने परिस्थिति सुध्रनुको साटो झनै बिग्रन्छ। यहोवा र हाम्रा सङ्‌गी भाइबहिनीप्रति वफादार रहँदा हामी यस्तो गल्ती गर्नेछैनौं। भजनहारले भने: ‘सोझो मनले हिंड्‌ने’ व्यक्‍तिले “आफ्नो जिब्रोले निन्दा गर्दैन, औ आफ्ना छिमेकीहरूको बेइज्जत गर्दैन।”—भज. १५:२, ३; याकू. ३:५.

सबैभन्दा महत्त्वपूर्ण सम्बन्धलाई सधैं सम्झनुहोस्‌

१५. यहोवाप्रति वफादार रहँदा यूसुफले कस्तो आशिष्‌ पाए?

१५ यहोवासित यूसुफको सम्बन्धबाट हामी अर्को एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। यूसुफले १३ वर्षसम्म अन्याय भोग्नुपर्दा पनि सधैं यहोवाको जस्तै दृष्टिकोण राखे। (उत्प. ४५:५-८) आफूले भोग्नुपरेको गाह्रो अवस्थाको लागि कहिल्यै यहोवालाई दोष दिएनन्‌। हुन त आफूले भोग्नुपरेको अन्याय तिनले बिर्सेनन्‌। तर त्यसैलाई सम्झेर मनमा रिस पालिराखेनन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, अरूको कमीकमजोरी र गलत कार्यले गर्दा तिनी यहोवादेखि टाढिएनन्‌, तिनी वफादार रहिरहे। त्यसैले यूसुफले आफूमाथि भएको अन्यायलाई यहोवाले हटाउनुभएको आफैले देखे। साथै आफू र आफ्नो परिवारलाई यहोवाले आशिष्‌ दिनुभएको पनि अनुभव गर्न पाए।

१६. अन्याय भोग्दा हामी किन यहोवासित अझ नजिक हुनुपर्छ?

१६ यूसुफले जस्तै हामीले पनि यहोवासितको सम्बन्धलाई कदर गर्नुपर्छ र त्यसलाई जोगाइराख्नुपर्छ। भाइबहिनीको कमीकमजोरीले गर्दा परमेश्‍वरदेखि कहिल्यै नटाढिऔं, जसलाई हामी प्रेम र उपासना गर्छौं। (रोमी ८:३८, ३९) बरु सङ्‌गी उपासकबाट अन्याय भोग्नुपर्दा यूसुफजस्तै होऔं र यहोवासित अझ नजिक होऔं। अनि सधैं यहोवाको जस्तै दृष्टिकोण राख्ने कोसिस गरौं। समस्या सुल्झाउन बाइबलको सिद्धान्तअनुसार आफूले सक्दो प्रयास गरेपछि बाँकी कुरा यहोवाको हातमा सुम्पौं। यहोवाले आफ्नो समयमा अनि आफ्नै तरिकामा त्यो समस्या सुल्झाउनुहुनेछ भनेर ढुक्क होऔं।

“सारा पृथ्वीका न्यायकर्त्ता”-माथि भरोसा राख्नुहोस्‌

१७. “सारा पृथ्वीका न्यायकर्त्ता”-माथि भरोसा राखेको कसरी देखाउन सक्छौं?

१७ यस दुष्ट संसारमा बाँचुन्जेल हामीले कुनै न कुनै प्रकारको अन्याय भोग्नुपर्ने हुन सक्छ। मण्डलीमा कहिलेकाहीं आफू वा अरू कसैमाथि अन्याय भएको जस्तो लाग्न सक्छ। तर यस्तो विरलै हुने गर्छ। यस्तो अवस्थामा परिहाल्नुभयो भने पनि ठेस नखानुहोस्‌। (भज. ११९:१६५) बरु परमेश्‍वरका वफादार सेवकहरूजस्तै उहाँप्रति वफादार रहौं अनि प्रार्थना गर्दै उहाँमाथि भरोसा राखौं। साथै आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकारौं। त्रुटिपूर्ण भएकोले आफूले ठीकसित कुरा नबुझेको पनि हुन सक्छ भनेर हामीलाई राम्ररी थाह छ। यूसुफको अनुभवबाट सिकेझैं अरूको कुरा काट्‌दै नहिंडौं। किनभने यसो गर्दा अवस्था सुध्रनुको साटो झनै बिग्रन्छ। अनि कामकुरा आफ्नो हातमा लिन खोज्नुको साटो वफादार रहिरहौं अनि समस्या सुल्झाउन धैर्य गर्दै यहोवाको बाटो हेरिरहौं। यसो गऱ्‍यौं भने यूसुफले जस्तै यहोवाको आशिष्‌ र अनुमोदन पक्कै पाउनेछौं। हो, “सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं किनभने “उहाँका सबै काम न्यायसंगत छन्‌।”—उत्प. १८:२५; व्यव. ३२:४.

१८. यसपछिको लेखमा के छलफल गर्नेछौं?

१८ प्राचीन समयमा यहोवाका जनहरूले अन्याय भोगेको अर्को दुई वटा उदाहरण यसपछिको लेखमा छलफल गर्नेछौं। अन्याय भोग्नुपर्दा नम्र र क्षमाशील भयौं भने कसरी यहोवाको जस्तै दृष्टिकोण राख्न सक्छौं, ती विवरणहरू केलाउँदा बुझ्नेछौं।

a नोभेम्बर १, १९९१ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) विली डेलको अनुभव हेर्नुहोस्‌। त्यसको शीर्षक हो, “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ, उहाँमा नै म भरोसा राख्छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने