प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबल पद ठीक ठाउँमा जोड दिएर पढ्‌नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • अध्याय २१

      बाइबल पद ठीक ठाउँमा जोड दिएर पढ्‌नुहोस्‌

      तपाईंले के गर्नुपर्छ?

      तपाईंले गरेको तर्कलाई प्रस्ट पार्ने शब्द वा वाक्यांशलाई जोड दिनुपर्छ। सुहाउँदो भावसहित पढ्‌नुपर्छ।

      यसो गर्नु किन महत्त्वपूर्ण छ?

      पद ठीकसित बुझ्न त्यसलाई ठीक ठाउँमा जोड दिएर पढ्‌नुपर्छ।

      परमेश्‍वरका उद्देश्‍यबारे अरूसित व्यक्‍तिगत रूपमा कुरा गर्दा वा मञ्चबाट बताउँदा तपाईंको कुरा परमेश्‍वरको वचनमा केन्द्रित हुनुपर्छ। यसो गर्नुमा साधारणतया बाइबल पद पढ्‌नु समावेश छ र पद राम्ररी पढ्‌नुपर्छ।

      ठीक ठाउँमा जोड दिन भावसहित पढ्‌नुपर्छ। भावसहित बाइबल पद पढ्‌नुपर्छ। केही उदाहरण विचार गर्नुहोस्‌। तपाईं भजन ३७:११ ठूलो स्वरले पढ्‌दै हुनुहुन्छ भने त्यस पदमा प्रतिज्ञा गरिएको शान्तिको सुखद प्रत्याशा तपाईंको आवाजमा झल्किनुपर्छ। दुःखकष्ट र मृत्युको अन्तबारे प्रकाश २१:४ पढ्‌दै हुनुहुन्छ भने त्यस पदमा भविष्यवाणी गरिएको आश्‍चर्यजनक छुटकाराप्रतिको हार्दिक कृतज्ञता तपाईंको आवाजमा झल्किनुपर्छ। पापमा डुबेको “महान्‌ बेबिलोन”-बाट बाहिर निस्कन प्रकाश १८:२, ४, ५ मा गरिएको आह्वानलाई अविलम्बी भावसहित पढ्‌नुपर्छ। तपाईंले देखाउने भाव हृदयदेखि नै निस्केको हुनुपर्छ, चाहिनेभन्दा बढी भाव देखाउनुहुँदैन। भाव कत्तिको देखाउने भन्‍ने कुरा पढ्‌ने पद र त्यसलाई प्रयोग गर्ने तरिकामा भर पर्छ।

      ठीक-ठीक शब्दमा जोड दिनुहोस्‌। कुनै पदबारे तपाईंले भन्‍ने कुरा त्यस पदको केही भागमा केन्द्रित छ भने तपाईंले त्यो भागलाई जोड दिएर पढ्‌नुपर्छ। उदाहरणका लागि मत्ती ६:३३ पढ्‌दा तपाईं “उहाँको राज्यलाई . . . पहिलो स्थान दिइरहो” भन्‍ने कुराको अर्थ खुलाउन चाहनुहुन्छ भने “उहाँको स्तरबमोजिमको असल कामलाई” र “यी सबै कुरा” भन्‍ने वाक्यांशहरूमा विशेष जोड दिनुहुँदैन।

      सेवा सभाको कुनै भागमा तपाईंले मत्ती २८:१९ पढ्‌ने विचार गर्नुभएको होला। त्यस पदमा तपाईंले कुन-कुन शब्दमा जोड दिनुपर्छ? गृह बाइबल अध्ययन सुरु गर्न लगनशील हुनुपर्छ भनेर प्रोत्साहन दिन चाहनुहन्छ भने “चेला बनाओ” भन्‍ने शब्दमा जोड दिनुपर्छ। अर्कोतर्फ अर्कै देशबाट बसाइँ सरेका मानिसहरूसित बाइबल सत्य बाँड्‌ने ख्रीष्टियन जिम्मेवारीबारे बताउने विचार गर्नुभएको छ भने वा कुनै प्रकाशकलाई आवश्‍यकता धेरै भएको ठाउँमा सरेर सेवा गर्न प्रोत्साहन दिन चाहनुहुन्छ भने तपाईंले “सबै जातिका मानिसहरूलाई” भन्‍ने वाक्यांशलाई जोड दिनुपर्छ।

      प्रायः कुनै प्रश्‍नको जवाफ दिंदा अथवा अरूले विवादास्पद ठानेका विषयमा तर्क गर्दा बाइबल पद प्रयोग गरिन्छ। पदमा भएका हरेक भावलाई एकैनासले जोड दिइयो भने श्रोताले तपाईंको कुरा र पदबीचको सम्बन्ध बुझ्न नसक्लान्‌। आफूले भन्‍न चाहेको कुरा तपाईंलाई स्पष्ट होला तर श्रोतालाई त्यो स्पष्ट हुँदैन।

      उदाहरणका लागि तपाईं बाइबलबाट परमेश्‍वरको नाम भएको प्रकाश ४:११ पढ्‌दै हुनुहुन्छ भने “तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य” भन्‍ने अंशमा पूरै जोड दिंदा घरधनीले परमेश्‍वरको व्यक्‍तिगत नाम छ भनेर स्पष्टसित बुझ्न सक्दैनन्‌। तपाईंले “यहोवा” नाममा जोड दिनुपर्छ। तर यहोवाको सार्वभौमिकताबारे छलफल गर्दा सोही पद पढ्‌दै हुनुहुन्छ भने तपाईंले मुख्यतया “तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य” भन्‍ने अंशमा जोड दिनुपर्छ। त्यसैगरि विश्‍वासका साथसाथै काम पनि गर्नुपर्छ भन्‍ने कुराको महत्त्व बुझाउन याकूब २:२४ पढ्‌दा तपाईंले “काम” शब्दमा जोड नदिई “परमेश्‍वरको नजरमा असल ठहराइनेछ” भन्‍ने अंशमा जोड दिनुभयो भने भन्‍न खोजेको कुरा श्रोताले बुझ्दैनन्‌।

      अर्को उदाहरण हामी रोमी १५:७-१३ मा पाउँछौं। यी पद यहूदीहरू र अन्यजाति दुवै मिलेर बनेको मण्डलीलाई प्रेषित पावलले लेखेको पत्रको एउटा अंश हो। अन्यजातिहरूले पनि “परमेश्‍वरले देखाउनुभएको कृपाको लागि . . . उहाँको प्रशंसा” गर्न सकून्‌ भनेर खतना भएका यहूदीहरूले मात्र होइन, अन्यजातिहरूले पनि येशूको सेवाको कामबाट लाभ उठाउन सक्छन्‌ भनी पावल तर्क गर्छन्‌। त्यसपछि पावल चारवटा पद उद्धरण गरेर अन्यजातिसामु रहेको त्यो मौकातर्फ ध्यान खिच्छन्‌। पावलले बताउन खोजेको कुरालाई जोड दिन तपाईंले पदका यी उद्धरणलाई कसरी पढ्‌नुपर्छ? जोड दिन तपाईं पद ९ को “अन्यजातिहरू,” पद ११ को “सबै मानिस,” पद १२ को “जाति-जातिमाथि” र पद ९-१२ को “जाति-जातिका मानिसहरू”-मा चिनो लगाउन सक्नुहुन्छ। यी शब्दमा जोड दिंदै रोमी १५:७-१३ पढ्‌नुहोस्‌। यसरी पढ्‌दा पावलले पेस गरेको तर्क स्पष्ट हुन्छ र बुझ्न सजिलो हुन्छ।

      जोड दिने विभिन्‍न तरिका: तपाईंले व्यक्‍त गर्न चाहेको कुरा प्रस्ट हुने शब्दलाई विभिन्‍न तरिकाले जोड दिन सकिन्छ। तर त्यो तपाईंले प्रयोग गर्ने पद र भाषणको भूमिकामा भर पर्छ। केही सुझाव तल दिइएका छन्‌।

      आवाजद्वारा: व्यक्‍त गर्न चाहेको कुरा प्रस्ट हुने शब्दलाई वाक्यको बाँकी भागभन्दा छुट्टै सुनिनेगरि आवाजद्वारा जोड दिनुपर्छ। आवाज ठूलो बनाएर वा सानो बनाएर जोड दिन सकिन्छ। थुप्रै भाषामा स्वरको तिखोपनमा घटबढ गरेर जोड दिन सकिन्छ। तर त्यसरी स्वरको तिखोपनमा घटबढ गर्दा कुनै-कुनै भाषामा अर्थ नै फरक पर्ने पनि हुन सक्छ। मुख्य विचारलाई बिस्तारै बताउँदा त्यो गहकिलो सुनिन्छ। तर आवाजद्वारा मुख्य विचारलाई जोड दिन नसकिने भाषामा भने त्यस भाषाको चलनअनुसार जसरी जोड दिइन्छ, त्यसै गर्दा चाहेको नतिजा हासिल गर्न सकिन्छ।

      रोकिएर: पदको कुनै भाग पढ्‌नुअघि वा पढिसकेपछि वा दुवै पटक एकछिन रोकिंदा जोड दिन सकिन्छ। मुख्य विचार भएको पद पढ्‌नुअघि एकछिन रोकिंदा श्रोतामा उत्सुकता जगाउन सकिन्छ भने पढिसकेपछि एकछिन रोकिंदा मुख्य विचार मनभित्रसम्म पुऱ्‍याउन मदत मिल्छ। तर पद पढ्‌दा घरीघरी रोकिनुभयो भने मुख्य बुँदा प्रस्ट हुँदैन।

      दोहोऱ्‍याएर: कुनै भाग पढ्‌दा पढ्‌दै बीचमै रोकिएर जोड दिन चाहेको शब्द वा वाक्यांशलाई फेरि पढेर जोड दिन सक्नुहुन्छ। प्रायजसोलाई पद पढिसकेपछि पदको मुख्य शब्द फेरि दोहोऱ्‍याउन मन पर्छ।

      इशारा गरेर: शरीरको वा अनुहारको हावभावद्वारा अक्सर कुनै शब्दलाई वा वाक्यांशलाई जोड दिन सकिन्छ।

      स्वरमा उतार-चढाव ल्याएर: कुनै-कुनै भाषामा स्वरमा उतार-चढाव ल्याएर पढ्‌दा अर्थ नै फरक पर्न जान्छ र त्यही अंशमा ध्यान खिचिन्छ। त्यसैले विशेषगरि व्यङ्‌ग्यात्मक वाक्य पढ्‌दा हामीले सोचविचार गरेर ठीक तरिकाले पढ्‌नुपर्छ।

      अरूले पद पढ्‌दा जोड दिनुहोस्‌। घरधनीले बाइबल पद पढ्‌दा तिनले कुनै पनि शब्दमा जोड नदिईकन वा गलत ठाउँमा जोड दिएर पढ्‌छन्‌। त्यतिबेला तपाईं के गर्न सक्नुहुन्छ? साधारणतया पदको उपयोगिता बताएर अर्थ खुलाउनु बेस हुन्छ। त्यसरी उपयोगिता बताइसकेपछि पदले भन्‍न खोजेको कुरा प्रस्ट पार्न सकिने शब्दतर्फ ध्यान खिच्नुहोस्‌।

      जोड दिने तरिका कसरी विकास गर्न सकिन्छ?

      • तपाईंले पढ्‌न चाहेको कुनै पनि पदबारे यसरी सोच्नुहोस्‌: ‘यी शब्दमा कस्तो भाव लुकेको छ? उक्‍त भाव म कसरी व्यक्‍त गर्न सक्छु?’

      • तपाईंले प्रयोग गर्न चाहेको पद केलाउनुहोस्‌। प्रत्येक पदबारे यस्तो सोध्नुहोस्‌: ‘यो पद पढ्‌नुको कारण के हो? पद पढ्‌नुको उद्देश्‍य हासिल गर्न कुन-कुन शब्दलाई जोड दिनुपर्छ?’

      अभ्यास गर्नुहोस्‌:- (१) तपाईंले प्रचारमा प्रयोग गर्न चाहेको पद केलाउनुहोस्‌। सुहाउँदो भावसहित पढेर अभ्यास गर्नुहोस्‌। बाइबल पदलाई जुन तरिकाले प्रयोग गर्ने योजना बनाउनुभएको छ, त्यही तरिकाले ठीक-ठीक शब्दमा जोड दिएर ठूलो स्वरमा पढ्‌नुहोस्‌। (२) अहिले अध्ययन गर्न प्रयोग गरिने कुनै पनि प्रकाशनबाट बाइबल पद उद्धरण गरिएको कुनै एउटा अनुच्छेद छान्‍नुहोस्‌। पदहरू कसरी प्रयोग गरिएका छन्‌, केलाउनुहोस्‌। विचार व्यक्‍त गर्ने शब्दमा चिनो लगाउनुहोस्‌। बाइबल पदको ठीक ठाउँमा जोड पर्नेगरि पूरै अनुच्छेद ठूलो स्वर निकालेर पढ्‌नुहोस्‌।

  • बाइबल पदको उपयोगिता बताउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • अध्याय २२

      बाइबल पदको उपयोगिता बताउनुहोस्‌

      तपाईंले के गर्नुपर्छ?

      पदको कुनै पनि उपयोगिता त्यसको सन्दर्भ र सम्पूर्ण बाइबलसित मेल खान्छ कि खाँदैन पक्का गर्नुपर्छ। साथै पदको उपयोगिता “विश्‍वासी र बुद्धिमान्‌ दास”-द्वारा प्रकाशित कुरासित मेल खाएको हुनुपर्छ।

      यसो गर्नु किन महत्त्वपूर्ण छ?

      अरूलाई परमेश्‍वरको वचनबारे सिकाउनु गम्भीर जिम्मेवारी हो। मानिसहरूले “सत्यको सही ज्ञान लिऊन्‌” भन्‍ने परमेश्‍वरको इच्छा छ। (१ तिमो. २:३, ४) त्यसकारण हामीले अरूलाई परमेश्‍वरको वचन ठीकसित सिकाउनै पर्छ।

      अरूलाई सिकाउनु भनेको बाइबल पद पढेर सुनाउनु मात्र होइन। प्रेषित पावलले आफ्ना सहकर्मी तिमोथीलाई यस्तो लेखे: “आफूलाई परमेश्‍वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्‍नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर।”—२ तिमो. २:१५.

      त्यसकारण हामीले बाइबल पदबारे व्याख्या गर्दा उक्‍त व्याख्या बाइबलले सिकाउने कुरासित मेल खाएको हुनै पर्छ। पदको मनपर्ने भाग छानेर आफ्नै तरिकाले व्याख्या गर्नुको सट्टा त्यो पदको सन्दर्भलाई विचार गर्नुपर्छ। अगमवक्‍ता यर्मियामार्फत यहोवाले त्यस्ता अगमवक्‍ताबारे चेतावनी दिनुभयो जसले “आफ्नै मनको दर्शनको कुरा” बताउँथे तर यहोवाको वचन बोलेको दाबी गर्थे। (यर्मि. २३:१६) प्रेषित पावलले परमेश्‍वरको वचनमा मानव दर्शन घुसाएर दूषित नपार्न ख्रीष्टियनहरूलाई यसरी चेतावनी दिए: “हामीले सरम मान्‍नुपर्ने छलकपट त्यागेका छौं। हामी धूर्त चालमा हिंड्‌दैनौं न त परमेश्‍वरको वचनलाई बङ्‌ग्याउँछौं।” त्यतिबेलाका बेइमान दाखमद्य व्यापारीहरू अझै पैसा कमाउन दाखमद्यमा पानी वा कमसल दाखमद्य मिसाउँथे। हामी परमेश्‍वरको वचनमा मानव दर्शन घुसाएर त्यसलाई बङ्‌ग्याउँदैनौं। पावलले यसो भने: “हामी परमेश्‍वरको वचनका व्यापारीहरू होइनौं तर हामी निष्कपटतासहित, हो, परमेश्‍वरबाट पठाइएकाहरूको नाताले परमेश्‍वरको नजरसामु, ख्रीष्टको साथमा हामी बोल्दैछौं।”—२ कोरि. २:१७; ४:२.

      कहिलेकाहीं कुनै सिद्धान्त प्रस्ट पार्न तपाईं कुनै पद उद्धरण गर्नुहुन्छ होला। विभिन्‍न अवस्थाको सामना कसरी गर्ने भन्‍ने विषयमा उपयुक्‍त सल्लाह दिने सिद्धान्त बाइबलमा प्रशस्त छ। (२ तिमो. ३:१६, १७) पदबारे तपाईंले बताउने उपयोगिता सही छ र तपाईं जे भन्‍न चाहनुहुन्छ त्यो पदले त्यही भन्‍न खोजेको भान पार्नेगरि पदको दुरुपयोग पनि गरेको छैन भनेर तपाईं पक्का हुनुपर्छ। (भज. ९१:११, १२; मत्ती ४:५, ६) पदबारे तपाईंले बताउने उपयोगिता यहोवाको वचन बाइबलभरि एकरूपतासित बताइएको उहाँको उद्देश्‍यसँग मेल खाएको हुनै पर्छ।

      “सत्यको वचन ठीकसित प्रयोग गर्ने” कोसिस गर्नुमा बाइबलले भन्‍न खोजेको कुराको भाव बुझ्नु पनि समावेश छ। बाइबल अरूलाई तर्साउन, धम्क्याउन प्रयोग गरिने “लट्ठी” होइन। येशू ख्रीष्टको विरोध गर्ने धार्मिक गुरुहरूले शास्त्रबाट उद्धरण गरे तर परमेश्‍वरले माग गरेको न्याय, कृपा र विश्‍वासीपन जस्ता व्यवस्थाका गहकिला कुराहरूप्रति तिनीहरू आँखा चिम्लिरहेका थिए। (मत्ती २२:२३, २४; २३:२३, २४) परमेश्‍वरको वचन अरूलाई सिकाउँदा येशूले आफ्नो बुबाको व्यक्‍तित्व झल्काउनुभयो। आफूले सिकाउने मानिसहरूलाई प्रेम गर्ने भएकोले नै येशू सत्यप्रति जोसिलो हुनुहुन्थ्यो। साथै सत्यप्रति जोसिलो भएकोले नै उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो। हामीले उहाँको यो उदाहरण पछ्याउन प्रयास गर्नुपर्छ।—मत्ती ११:२८.

      पदको उपयोगिता सही तरिकाले बताइरहेका छौं कि छैनौं कसरी पक्का गर्न सक्छौं? नियमित रूपमा बाइबल पढ्‌दा मदत पाउँछौं। “विश्‍वासी र बुद्धिमान्‌ दास” अर्थात्‌ परमेश्‍वरको पवित्र शक्‍तिद्वारा अभिषेक गरिएका ख्रीष्टियनहरूको समूहद्वारा उहाँका सबै विश्‍वासी सेवकहरूलाई आध्यात्मिक भोजन दिने प्रबन्ध यहोवाले मिलाउनुभएको छ। (मत्ती २४:४५) हामीले त्यसको कदर गर्नै पर्छ। व्यक्‍तिगत अध्ययन गरेर, सभामा नियमित उपस्थित भएर तथा भाग लिएर विश्‍वासी र बुद्धिमान्‌ दास वर्गमार्फत आउने निर्देशनबाट हामी लाभ उठाउँछौं।

      तपाईंसँग धर्मशास्त्रबाट तर्क गर्ने (अङ्‌ग्रेजी) किताब छ र त्यसलाई राम्ररी प्रयोग गर्न जान्‍नुभएको छ भने प्रचारमा धेरैजसो प्रयोग गरिने सयौं पदको उपयोगिता बताउने तरिका सजिलै भेट्टाउन सक्नुहुन्छ। अक्सर त्यति प्रयोग नगर्ने पद प्रयोग गर्ने विचार गर्दै हुनुहुन्छ भने आफ्नो सीमितता बुझ्दै थप अनुसन्धान गर्नै पर्छ। यसो गर्दा तपाईंले सत्यको वचनलाई ठीकसित प्रयोग गरिरहेको हुन्छ।—हितो. ११:२.

      उपयोगिता स्पष्ट पार्नुहोस्‌। तपाईंले छलफल गरिरहेको विषय र तपाईंले देखाइरहेको पदको सम्बन्ध श्रोताले स्पष्टसित बुझेको हुनै पर्छ। प्रश्‍न सोधेपछि पद पढ्‌दै हुनुहुन्छ भने पदले प्रश्‍नको जवाफ कसरी दिन्छ भनी श्रोताले प्रस्टै बुझ्नुपर्छ। कुनै विचारलाई समर्थन गर्ने पद पढ्‌दै हुनुहुन्छ भने त्यो कुरा विद्यार्थीले प्रस्ट बुझे कि बुझेनन्‌ पक्का गर्नुहोस्‌।

      बाइबल पद पढ्‌दैमा चाहे त्यो जोड दिएर पढिएको नै किन नहोस्‌, त्यतिले मात्र पुग्दैन। नबिर्सनुहोस्‌, एक साधारण व्यक्‍तिलाई बाइबलबारे खासै थाह हुँदैन र एक पटक पढ्‌दैमा तपाईंले भन्‍न खोजेको कुरा तिनले बुझ्न सक्दैनन्‌। पद पढेपछि तपाईंले छलफल गरिरहेको कुरासित सम्बन्धित भागतर्फ ध्यान खिच्नुहोस्‌।

      यसको लागि छलफल गरिएको कुरासित सोझै सम्बन्धित मुख्य शब्दहरू छुट्ट्याउनुपर्छ। यसो गर्ने सरल उपाय ती शब्दहरू दोहोऱ्‍याएर पढ्‌नु हो। कसैसित कुरा गर्दै हुनुहुन्छ भने मुख्य शब्दहरू चिन्‍न मदत गर्न तिनलाई तपाईं प्रश्‍न सोध्न सक्नुहुन्छ। मानिसहरूको समूहसित कुरा गर्दा केही वक्‍ता उस्तै अर्थ लाग्ने अर्को शब्द प्रयोग गरेर वा विचार दोहोऱ्‍याएर आफ्नो उद्देश्‍य हासिल गर्छन्‌। तपाईं पनि यसो गर्ने छनौट गर्नुहुन्छ भने छलफल गरिरहेको बुँदा र पदमा भएका शब्दको सम्बन्ध श्रोताले स्पष्ट बुझ्नेगरि छलफल गर्नुहोस्‌।

      मुख्य शब्दहरू छुट्ट्याएर तपाईंले राम्रो जग बसाल्नुभयो। अब त्यसैमा थप्दै जानुहोस्‌। कुनै पद पढ्‌नुअघि तपाईं त्यो पद किन पढ्‌दै हुनुहुन्छ स्पष्टसित बताउनुभयो? बताउनुभएको छ भने तपाईंले जुन बुँदातर्फ श्रोताको ध्यान खिच्नुभएको थियो ती बुँदा र तपाईंले जोड दिएका शब्दहरूबीचको सम्बन्ध स्पष्ट पार्नुहोस्‌। पद किन पढ्‌दै हुनुहुन्छ स्पष्टसित बताइएको छैन भने पनि त्यसरी व्याख्या गर्नु आवश्‍यक हुन्छ।

      फरिसीहरूले येशूलाई यस्तो प्रश्‍न गरे: “एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु के ठीक हो?” येशूले यसको जवाफ दिन सक्नुहुन्‍न जस्तो उनीहरूलाई लागेको थियो। उत्पत्ति २:२४ लाई आधार बनाएर येशूले जवाफ दिनुभयो। उहाँले त्यस पदको एउटा भागमा मात्र कसरी ध्यान खिच्नुभयो र त्यसको उपयोगिता कसरी स्पष्ट पार्नुभयो, याद गर्नुहोस्‌। पुरुष र तिनकी स्त्री एउटै शरीर हुनेछन्‌ भनेपछि येशूले निष्कर्षमा यसो भन्‍नुभयो: “त्यसकारण, जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”—मत्ती १९:३-६.

      कुनै पदको उपयोगिता स्पष्ट पार्न तपाईंले कतिसम्म व्याख्या गर्नुपर्छ? यो कुरा श्रोतामा र छलफल गरिएको बुँदा कत्तिको महत्त्वपूर्ण छ, त्यसमा भर पर्छ। सरल शब्द प्रयोग गर्ने र सीधै बताउने गर्नुहोस्‌।

      बाइबलबाट तर्क गर्नुहोस्‌। पावलले थिस्सलोनिकामा सेवा गर्दा “धर्मशास्त्रबाट तर्क गरे” भनी प्रेषित १७:२, ३ मा लेखिएको छ। यहोवाको प्रत्येक सेवकले यस्तो क्षमता विकास गर्ने प्रयास गर्नुपर्छ। उदाहरणका लागि पावलले येशूको जीवन र सेवासम्बन्धी सत्य-तथ्य बताए, तीबारे हिब्रू धर्मशास्त्रमा पहिल्यै भविष्यवाणी गरिएको थियो भनी देखाए र त्यसपछि यसो भन्दै सशक्‍त निष्कर्ष दिए: “यही ख्रीष्ट अनि येशूबारे म तपाईंहरूलाई प्रचार गर्दैछु।”

      हिब्रूहरूलाई लेखेको पत्रमा पावलले बारम्बार हिब्रू धर्मशास्त्रबाट उद्धरण गरे। कुनै बुँदालाई जोड दिन वा स्पष्ट पार्न तिनी प्रायजसो कुनै एउटा शब्दमा वा छोटो वाक्यांशमा ध्यान खिच्थे र त्यसको महत्त्व प्रकाश पार्थे। (हिब्रू १२:२६, २७) हिब्रू अध्याय ३ मा पावलले भजन ९५:७-११ बाट उद्धरण गरे। त्यसपछि तिनले ती पदको तीनवटा भाग व्याख्या गरेको याद गर्नुहोस्‌:- (१) तिनले मनबारे बताए (हिब्रू ३:८-१२), (२) “आज” भन्‍ने शब्दको महत्त्व देखाए (हिब्रू ३:७, १३-१५; ४:६-११) र (३) “तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌” भन्‍नुको अर्थ स्पष्ट पारे (हिब्रू ३:११, १८, १९; ४:१-११)। प्रत्येक पदको उपयोगिता स्पष्ट पार्दा पावलको यो उदाहरण पछ्याउने प्रयास गर्नुहोस्‌।

      लूका १०:२५-३७ मा पाइने विवरणमा येशूले धर्मशास्त्रबाट तर्क गर्दा त्यो कत्तिको प्रभावकारी भयो ध्यान दिनुहोस्‌। व्यवस्थामा पोख्त एक जना मानिसले उहाँलाई सोध्यो: “गुरुज्यू, के गरें भने म अनन्त जीवनको हकदार हुनेछु?” येशूले सबैभन्दा पहिले त्यस मानिसलाई आफ्नो विचार व्यक्‍त गर्न लगाउनुभयो र त्यसपछि परमेश्‍वरको वचनमा लेखिएबमोजिम गर्नु महत्त्वपूर्ण छ भनी जोड दिनुभयो। त्यस मानिसले कुरा नबुझेको प्रस्ट भएपछि येशूले त्यो पदको केवल एक शब्द “छिमेकी”-बारे समय लगाएर व्याख्या गर्नुभयो। उहाँले त्यो शब्दको अर्थ मात्र बताउनुभएन, बरु त्यस मानिसलाई सही निष्कर्षमा पुग्न एउटा दृष्टान्त पनि प्रयोग गर्नुभयो।

      प्रश्‍नको जवाफ दिंदा येशूले सीधै र स्पष्ट जवाफ दिने पद मात्र उद्धरण गर्नुभएन भन्‍ने कुरा प्रस्ट छ। उहाँले ती पदमा लेखिएका कुरा केलाउनुभयो र जवाफमा पदको उपयोगिताबारे बताउनुभयो।

      सदुकीहरूले पुनर्जीवनको आशाबारे प्रश्‍न गरेर निहुँ खोज्दा येशूले प्रस्थान ३:६ को एउटा खास भागमा ध्यान खिच्नुभयो। तर उहाँले त्यो पद उद्धरण मात्र गर्नुभएन। पुनर्जीवन परमेश्‍वरको उद्देश्‍यको भाग हो भनी उहाँले तर्क गरी स्पष्ट पार्नुभयो।—मर्कू. १२:२४-२७.

      बाइबलबाट सही र प्रभावकारी तरिकामा तर्क गर्न सिपालु हुनुभयो भने तपाईं दक्ष शिक्षक बन्‍न सक्नुहुन्छ।

      यो क्षमता कसरी विकास गर्न सकिन्छ?

      • दिनहुँ बाइबल पढ्‌नुहोस्‌। प्रहरीधरहरा ध्यान दिएर पढ्‌नुहोस्‌ र सभाको लागि राम्ररी तयारी गर्नुहोस्‌।

      • प्रयोग गर्न चाहेको पदका शब्दको अर्थ तपाईंले बुझेको हुनुपर्छ। पदले भन्‍न खोजेको कुरा ठीकसित बुझ्नेगरि ध्यान दिएर पढ्‌नुहोस्‌।

      • हाम्रा ख्रीष्टियन प्रकाशनहरूमा अनुसन्धान गर्ने बानी बसाल्नुहोस्‌।

      अभ्यास गर्नुहोस्‌:- दोस्रो पत्रुस ३:७ मा लेखिएका कुराको अर्थमाथि तर्क गर्नुहोस्‌। के यो पदअनुसार पृथ्वी आगोले नष्ट हुनेछ? (“पृथ्वी” शब्दको अर्थ खुलाउँदा “आकाश” शब्दले केलाई बुझाउँछ, त्यो पनि विचार गर्नुहोस्‌। “पृथ्वी” शब्द लाक्षणिक अर्थमा पनि प्रयोग हुन्छ भनेर कुन-कुन पदले देखाउँछ? पद ७ मा भनेजस्तै को-को नष्ट हुनेछन्‌ वा के-के नष्ट हुनेछ? पद ५ र ६ मा उल्लेख गरिएको नूहको दिनको घटनासित यो कुरा कसरी मेल खान्छ?)

  • व्यावहारिक महत्त्व प्रस्ट पार्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • अध्याय २३

      व्यावहारिक महत्त्व प्रस्ट पार्नुहोस्‌

      तपाईंले के गर्नुपर्छ?

      तपाईंले प्रस्तुत गर्ने विषयले प्रत्येक श्रोताको जीवनमा कस्तो असर पार्छ भनेर बुझ्न मदत गर्नुपर्छ वा उक्‍त विषयबाट लाभ उठाउन प्रत्येकले के गर्न सक्छन्‌, देखाउनुपर्छ।

      यसो गर्नु किन महत्त्वपूर्ण छ?

      तपाईंले भनेका कुराको व्यावहारिक महत्त्व मानिसहरूले बुझेनन्‌ भने तिनीहरू “मलाई चासो छैन” भन्‍न सक्छन्‌ वा मन अन्तै डुलाएर कान बन्द गर्न सक्छन्‌।

      तपाईं कुनै व्यक्‍तिसित कुरा गरिरहेको होस्‌ वा थुप्रै मानिससामु बोलिरहेको होस्‌, तपाईंलाई चासो लाग्ने विषयवस्तु श्रोतालाई पनि चासो लाग्छ भनेर सोच्नु बुद्धिमानी होइन। तपाईंले दिने सन्देश महत्त्वपूर्ण छ तर त्यसको व्यावहारिक महत्त्व प्रस्ट्याउन बिर्सनुभयो भने तपाईंले लामो समयसम्म श्रोताको ध्यान खिचिरहन सक्नुहुन्‍न।

      राज्यभवनमा आफ्नो विषय प्रस्तुत गर्दा पनि त्यही कुरा विचार गर्नुहोस्‌। श्रोताले पहिला कहिल्यै नसुनेको उदाहरण वा अनुभव बताउँदा तिनीहरूले चनाखो भएर सुन्लान्‌। तर तिनीहरूलाई पहिल्यै थाह भएको कुरा बताउन थाल्नुभयो र विशेषगरि त्यसबारे थप व्याख्या गर्नुभएन भने तिनीहरूलाई झ्याउँ लाग्न सक्छ। तपाईंले भन्‍ने कुरा तिनीहरूका लागि किन र कसरी फाइदाजनक छ, त्यो तिनीहरूलाई बुझाउनुपर्ने हुन्छ।

      बाइबल हामीलाई व्यावहारिक भएर सोच्न प्रोत्साहन दिन्छ। (हितो. ३:२१) मानिसहरूलाई ‘असल काम गर्नेहरूको बुद्धितर्फ’ डोऱ्‍याउन यहोवाले बप्तिस्मा गराउने यूहन्‍नालाई प्रयोग गर्नुभयो। (लूका १:१७) यो बुद्धि यहोवाप्रतिको स्वस्थकर भयमा आधारित बुद्धि हो। (भज. १११:१०) यस्तो बुद्धिको कदर गर्नेहरूले अहिले पनि जीवनमा आइपर्ने समस्यासित सफलतासाथ डट्‌न र साँच्चैको जीवन अर्थात्‌ भविष्यमा पाउने अनन्त जीवन पक्रिराख्न मदत पाउँछन्‌।—१ तिमो. ४:८; ६:१९.

      भाषण व्यावहारिक बनाउनुहोस्‌। भाषण व्यावहारिक हुने हो भने तपाईंले विषयवस्तुलाई मात्र होइन, श्रोतालाई पनि ध्यान दिनुपर्छ। तिनीहरू सबैलाई एउटै समूहको रूपमा नहेर्नुहोस्‌। त्यो समूह विभिन्‍न व्यक्‍ति र विभिन्‍न परिवार मिलेर बनेको हुन्छ। कुनै समूहमा केटाकेटी, कुनैमा किशोर-किशोरी, कुनैमा वयस्क त कुनैमा वृद्ध होलान्‌। चासो भएका नयाँ मानिसहरू र तपाईं जन्मनुभन्दा अघिदेखि नै यहोवाको सेवा गर्न थालेकाहरू पनि होलान्‌। कोही आध्यात्मिक रूपमा परिपक्व होलान्‌; अरूचाहिं संसारका खास मनोवृत्ति र आचरणद्वारा निकै प्रभावित भएका होलान्‌। आफैलाई सोध्नुहोस्‌: ‘मैले छलफल गर्ने विषयवस्तुले श्रोतालाई कसरी लाभ पुऱ्‍याउँछ? मुख्य कुरा बुझ्न म तिनीहरूलाई कसरी मदत गर्न सक्छु?’ तपाईंले यी समूहमध्ये एउटा वा दुइटालाई विशेष ध्यान दिएर भाषण प्रस्तुत गर्ने निर्णय गर्नुभएको हुन सक्छ। तर त्यसो भन्दैमा अरू समूहमा पर्ने श्रोतालाई पनि नबिर्सनुहोस्‌।

      तपाईंलाई बाइबलको कुनै खास शिक्षाबारे छलफल गर्ने जिम्मा दिइएको छ भने नि? पहिल्यैदेखि त्यस शिक्षामा विश्‍वास गर्ने श्रोतालाई लाभ पुग्नेगरि तपाईं कसरी आफ्नो विषय प्रस्तुत गर्न सक्नुहुन्छ? श्रोताको विश्‍वास अझै बलियो बनाउने प्रयास गर्नुहोस्‌। कसरी? त्यस शिक्षालाई समर्थन गर्ने धर्मशास्त्रीय आधार दिएर। साथै बाइबलको त्यस शिक्षाप्रति तिनीहरूको कदर पनि बढाउन सक्नुहुन्छ। उक्‍त शिक्षा बाइबलका अन्य सत्यसित र यहोवाको व्यक्‍तित्वसित कसरी मेल खान्छ भनी देखाएर तपाईं यसो गर्न सक्नुहुन्छ। छलफल गरिरहेको त्यो शिक्षा बुझेर मानिसहरूले कस्तो लाभ उठाए अनि भविष्यप्रति तिनीहरूको दृष्टिकोणमा कस्तो परिवर्तन आयो, त्यो बताउन उदाहरणहरू प्रयोग गर्नुहोस्‌। सकिन्छ भने यसबारे वास्तविक अनुभव बताउनुहोस्‌।

      भाषणको व्यावहारिक महत्त्वबारे समापनमा अलिकता मात्र बताएर पुग्दैन। भाषणको सुरुदेखि नै प्रत्येक श्रोताले ‘ओहो! यो त मेरै लागि रहेछ!’ भन्‍ने महसुस गर्न सक्नुपर्छ। यस्तो आधार बसालेपछि भाषणको बीचमा मुख्य-मुख्य बुँदा विस्तार गर्दा र भाषणको समापनमा पनि व्यावहारिक महत्त्वबारे बताउनुहोस्‌।

      व्यवहारमा लागू गर्ने तरिका बताउँदा बाइबल सिद्धान्तसित मेल खाने शैलीमा बताउनुहोस्‌। कसरी? मायालु र समानुभूतिशील भएर। (१ पत्रु. ३:८; १ यूह. ४:८) थिस्सलोनिकाको समस्याबारे कुरा गर्दा समेत प्रेषित पावलले त्यहाँका ख्रीष्टियन भाइबहिनीको सकारात्मक पक्ष अर्थात्‌ तिनीहरूको आध्यात्मिक प्रगतितर्फ ध्यान खिच्न बिर्सेनन्‌। साथै छलफल गरेको विषयअनुसारै ती भाइबहिनी सही कदम चाल्न इच्छुक हुनेछन्‌ भन्‍ने विश्‍वस्तता पनि तिनले व्यक्‍त गरे। (१ थिस्स. ४:१-१२) हामीले अनुकरण गर्न सक्ने कस्तो राम्रो नमुना!

      अरूलाई सुसमाचार प्रचार गर्न र सिकाउने काममा भाग लिन प्रोत्साहन दिने हेतुले पो भाषण दिंदै हुनुहुन्छ कि? प्रचार गर्ने सुअवसरप्रति श्रोताको उत्साह र कदर बढाउनुहोस्‌। तर त्यसो गर्दा हरेक व्यक्‍तिले प्रचारमा उत्तिकै मात्रामा भाग लिन सक्दैनन्‌ भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌ र बाइबलले पनि यो कुरा मानिलिन्छ। (मत्ती १३:२३) भाइबहिनीहरूलाई निराश वा दोषी महसुस नगराउनुहोस्‌। हिब्रू १०:२४ ले हामीलाई “एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित” बनाउन आग्रह गरेको छ। प्रेम गर्न उत्साहित बनाएका छौं भने अरूले असल मनसाय राखेर काम गर्नेछन्‌। ‘यसो गर्नै पर्छ’ भनेर आदेश नदिनुहोस्‌। हामीले ‘विश्‍वास देखाएर आज्ञाकारी बनेको’ यहोवा चाहनुहुन्छ भनेर मानिलिनुहोस्‌। (रोमी १६:२६) यो कुरा मनमा राखेर हामी आफ्नै र हाम्रा भाइबहिनीको विश्‍वास बलियो पार्ने कोसिस गर्छौं।

      हाम्रो सन्देशको व्यावहारिक महत्त्व बुझ्न अरूलाई मदत गर्नुहोस्‌। अरूलाई साक्षी दिंदा सुसमाचारको व्यावहारिक महत्त्वबारे जोड दिन नबिर्सनुहोस्‌। यसको लागि तपाईंको इलाकाका मानिसहरूले के विषयमा बढी सोच्छन्‌, विचार गर्नुपर्छ। तपाईं यो कुरा कसरी पत्ता लगाउन सक्नुहुन्छ? रेडियो र टिभीमा आउने समाचार सुन्‍नुहोस्‌। खबरपत्रिकामा छापिएका मुख्य समाचार हेर्नुहोस्‌। साथै मानिसहरूलाई आफ्नो कुरामा सामेल गराउने प्रयास गर्नुहोस्‌ र उनीहरूले बोल्दा ध्यान दिएर सुन्‍नुहोस्‌। उनीहरू जागिर, घर-भाडा, रोगबिमार, परिवारको कुनै सदस्यको मृत्यु, अपराध, अख्तियारमा भएका व्यक्‍तिबाट अन्याय, वैवाहिक सम्बन्ध टुट्‌नु, छोराछोरीलाई तह लगाउन नसक्नु र अन्य त्यस्तै गम्भीर समस्यासित जुझिरहेका होलान्‌। के बाइबलले तिनीहरूलाई मदत गर्न सक्छ? पक्कै सक्छ।

      सायद तपाईंले कुनै विषयलाई मनमा राखेर कुराकानी सुरु गर्नुभएको होला। तर तपाईंसित कुरा गर्ने व्यक्‍तिले आफूलाई अर्कै विषयमा चिन्ता लागिरहेको कुरा बताउँदा सक्नुहुन्छ भने त्यही विषयमा कुराकानी गर्ने जमर्को गर्नुहोस्‌। होइन भने ‘मदतकारी जानकारी लिएर अर्को पटक आउँछु’ भन्‍नुहोस्‌। हो, हामी “आफूसित सरोकार नभएका कुराहरूमा भने हस्तक्षेप” गर्दैनौं तर बाइबलले दिने व्यावहारिक सल्लाह मानिसहरूलाई बाँड्‌छौं। (२ थिस्स. ३:११) हुन पनि मानिसको जीवनसित सम्बन्धित सल्लाह बाइबलबाट दिनु जत्तिको प्रभावकारी अरू केही छैन।

      हाम्रो सन्देशले मानिसहरूलाई व्यक्‍तिगत रूपमा असर गर्छ भनेर तिनीहरूले बुझ्न सकेनन्‌ भने तिनीहरू तुरुन्तै कुरा टुङ्‌ग्याउँछन्‌। तिनीहरूले हामीलाई कुरा गर्न दिए तापनि हामीले विषयको व्यावहारिक महत्त्व देखाउन सकेनौं भने हाम्रो सन्देशले तिनीहरूको जीवनमा रत्तीभर असर गर्दैन। तर यसको ठीक विपरीत हाम्रो सन्देशको व्यावहारिक महत्त्व प्रस्ट बताएका छौं भने मानिसहरूको जीवनमा आमूल परिवर्तन हुन सक्छ।

      बाइबल अध्ययन सञ्चालन गर्दा छलफल गरिएको विषयको व्यावहारिक महत्त्वमाथि जोड दिनुहोस्‌। (हितो. ४:७) यहोवाको मार्गमा हिंड्‌न मदत गर्ने बाइबल सल्लाह, सिद्धान्त र उदाहरण बुझ्न बाइबल विद्यार्थीलाई मदत गर्नुहोस्‌। यसरी हिंड्‌दा पाइने फाइदामा जोड दिनुहोस्‌। (यशै. ४८:१७, १८) यसो गर्दा आफ्नो जीवनमा आवश्‍यक परिवर्तन गर्न विद्यार्थी उत्प्रेरित हुनेछन्‌। यहोवाप्रतिको प्रेम विकास गर्न र उहाँलाई खुसी पार्ने इच्छा जगाउन विद्यार्थीलाई परमेश्‍वरको वचनको सल्लाह लागू गर्न उत्प्रेरित गर्नुहोस्‌।

      यसो कसरी गर्न सकिन्छ?

      • भाषण तयार गर्दा विषयवस्तुबारे मात्र होइन श्रोतालाई पनि विचार गर्नुहोस्‌। श्रोताले धेरैभन्दा धेरै फाइदा उठाउन सक्ने तरिकामा भाषण प्रस्तुत गर्नुहोस्‌।

      • लागू गर्न सकिने कुरा भाषणको समापनमा मात्रै बताउनुहुँदैन; भाषणभरि नै बताउनुपर्छ।

      • साक्षी दिने तयारी गर्दा तपाईंको इलाकाका मानिसहरूले के विषयमा बढी सोच्छन्‌, विचार गर्नुहोस्‌।

      • साक्षी दिंदा अरूले भन्‍ने कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ र आफ्नो प्रस्तुति त्यसैअनुसार ढाल्नुहोस्‌।

      अभ्यास गर्नुहोस्‌:- तपाईंसित भएको हाम्रो राज्य सेवा-को कुनै अङ्‌कबाट तपाईंको इलाकामा ठ्याक्कै सुहाउने एउटा वा दुइटा प्रस्तुति छान्‍नुहोस्‌। त्यसलाई प्रचारमा लागू गर्ने प्रयास गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने