प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००१ | नोभेम्बर ८
    • एउटा विश्‍वव्यापी समस्या

      “आत्महत्या एउटा गम्भीर जनस्वास्थ्य समस्या हो।”—डेविड साचर, सं.रा-का वरिष्ठ शल्यचिकित्सक, सन्‌ १९९९.

      उक्‍त अभिव्यक्‍तिद्वारा इतिहासमै पहिलो पटक संयुक्‍त राज्यका वरिष्ठ शल्यचिकित्सकले आत्म-हत्यालाई जनचासोको विषयको रूपमा औंल्याए। अहिले त्यस देशमा अरूको हातबाट हत्या हुनेहरूको संख्याभन्दा आत्महत्या गर्नेहरूको संख्या बढी छ। सं.रा.-को सिनेटले आत्महत्या उन्मूलनलाई राष्ट्रिय प्राथमिकताको प्रमुख विषय भनी घोषणा गर्नु कुनै अचम्मलाग्दो कुरा होइन।

      तथापि, १९९७ मा प्रकाशित संयुक्‍त राज्यको आत्महत्या दर, प्रत्येक १,००,००० मा ११.४ थियो। यो सन्‌ २००० मा विश्‍व स्वास्थ्य संगठनले प्रकाशित गरेको विश्‍वव्यापी आत्महत्या दर अर्थात्‌ १,००,००० मा १६ भन्दा कम छ। गत ४५ वर्षभित्रमा विश्‍वव्यापी रूपमा ६० प्रतिशतले आत्महत्या दर बढेको छ। अहिले वर्षेनी झन्डै दश लाख मानिसहरूले आफ्नो ज्यान आफै लिन्छन्‌। त्यसको मतलब, प्रत्येक ४० सेकेन्डमा झन्डै एक जना व्यक्‍तिले आत्महत्या गर्छ।

      यद्यपि, तथ्यांकहरूले सबै तथ्य विवरण बताउन सक्दैनन्‌। धेरैजसो घटनामा मृतकका परिवारका सदस्यहरूले नै आत्महत्या भएको हो भनी मानिलिंदैनन्‌। यसबाहेक, १० देखि २५ वटा आत्महत्या गर्ने प्रयासमा एउटा मात्र सफल हुन्छ भन्‍ने अनुमान लगाइएको छ। एक सर्वेक्षणअनुसार संयुक्‍त राज्यमा उच्च माध्यामिक विद्यालयमा पढ्‌ने २७ प्रतिशत विद्यार्थीहरूले गत वर्षको दौडान आत्महत्या गर्ने विषयमा गम्भीरतासाथ सोचेको कुरा स्वीकारे; ८ प्रतिशतले आत्महत्या गर्ने असफल प्रयास गरेका थिए। अन्य अध्ययन अनुसन्धानहरूद्वारा ५ देखि १५ प्रतिशत वयस्कहरूको मनमा कुनै न कुनै समय आत्महत्या गर्ने विचार आएको तथ्य पत्ता लागेको छ।

      सांस्कृतिक भिन्‍नता

      आत्महत्यासम्बन्धी मानिसहरूको धारणा निकै फरक-फरक छन्‌। कसै-कसैले यसलाई अपराध ठान्छन्‌ भने अरू कतिपयले चाहिं यसलाई कातरपन ठान्छन्‌। अरू कतिले चाहिं यो आफ्नो भूल स्वीकार्ने सम्मानित तरिका हो भन्छन्‌। अरू कतिले त यो आफ्नो सिद्धान्त वा आन्दोलनलाई समर्थन गर्ने मर्यादित तरिका हो भनेर पनि मानिलिन्छन्‌। किन यस्तो फरक-फरक दृष्टिकोण? यसमा संस्कृतिले ठूलो भूमिका खेल्छ। वास्तवमा, द हार्वड मेन्टल हेल्थ लेटर-ले दिएको सुझाउअनुसार संस्कृतिले पनि “आत्महत्या गर्न सुऱ्‍याउनसक्छ।”

      मध्य युरोपेली देश, हंगेरीलाई विचार गर्नुहोस्‌। डा. जल्टन रिमर, हंगेरीमा वृद्धि भइरहेको आत्महत्या दरको मूल कारण नै हंगेरीको “दुःखलाग्दो ‘संस्कार’ ” हो भनी औंल्याउँछन्‌। हंगेरीको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका निर्देशक, बेला बुडाको भनाइअनुसार हंगेरीवासीहरू सजिलैसित आत्महत्या गर्न तयार हुन्छन्‌। उनीहरूलाई आत्महत्या गर्न कुनै जायज कारणै चाहिंदैन। “उसलाई क्यान्सर रोग लागेको छ। आफ्नो त्यो अवस्थाको अन्त कसरी गर्ने भनेर उसलाई थाह छ।” बुडाका अनुसार अक्सर मानिसहरूका यस्तै प्रतिक्रिया हुन्छन्‌।

      एकताक भारतमा पनि सती नामक एउटा धार्मिक प्रथा थियो। आफ्नो पतिको चितामा विधवा आफै होमिने यस्तो प्रचलन निषेध गरिएको धेरै भइसके तापनि यो प्रथा पूर्णतया हटेको छैन। जब एउटी स्त्रीले साँच्चै यसरी आत्महत्या गरे, त्यतिबेला अधिकांश स्थानीय जनताहरूले त्यस दुःखद घटनाको जोडदार तारिफ गरे। इन्डिया टुडे-अनुसार आत्महत्या गर्ने उक्‍त स्त्रीको क्षेत्रमा २५ वर्षभित्रमा २५ जना स्त्रीहरू आफ्नो पतिको चितामा जलेको पाइयो।

      उल्लेखनीय कुरा त के छ भने, जापानमा सवारी दुर्घटनाबाट भन्दा तीन गुणा बढी मानिसहरू आत्महत्याद्वारा मर्ने गर्छन्‌। जापान—एन इलुस्ट्रेटेड इन्साइक्लोपीडिया यसो भन्छ, “आत्महत्याको कहिल्यै भर्त्सना नगर्ने जापानको परम्परागत संस्कार, तरवारले आफ्नो भुँडी रोपेर आफ्नो आन्द्राभुँडी आफै निकाल्ने (सेपुकु वा हारा-किरी) संस्कार एउटा उच्च धार्मिक एवम्‌ संस्थागत संस्कारको रूपमा चिरपरिचित छ।”

      इनजो निटोबे जो पछि गएर राष्ट्र संघका उप-सचिव भए, उनले आफ्नो पुस्तक बुसिडो—द सोल अफ जापान-मा यस संस्कारले मृत्युप्रति मानिसहरूको मोहलाई झल्काउँछ भनी व्याख्या गरे। उनले यस्तो लेखे, “मध्य युगको आविष्कार, [सेपुकु]-द्वारा योद्धाहरूले आफ्नो अपराधको प्रायश्‍चित गर्न, गल्तीको क्षमा याचना गर्न, बेइज्जतीबाट बच्न, आफ्नो मित्रलाई कुनै समस्याबाट मुक्‍त गर्न वा आफ्नो निष्कपटता प्रमाणित गर्न सक्थे।” यो धार्मिक आत्महत्या विगतको कुरा भइसकेको भए तापनि सामाजिक दबाउले गर्दा अहिले पनि कसै-कसैले यसको साहारा लिने गर्छन्‌।

      अर्कोतिर, मसीहीजगत्‌मा आत्महत्यालाई धेरै समयसम्म पनि एउटा अपराधको रूपमा हेरिन्थ्यो। छैटौं र सातौं शताब्दीमा आत्महत्या गर्नेहरूलाई चर्चबाट बहिष्कार गरिनुका साथै धार्मिक विधिअनुसार तिनीहरूको अन्त्येष्टि गर्नसमेत अस्वीकार गरिन्थ्यो। कुनै-कुनै ठाउँमा, धर्मप्रतिको संवेदनशीलताले आत्महत्यासम्बन्धी अनौठा प्रचलनहरूलाई जन्म दियो। जस्तै, आत्महत्या गर्ने व्यक्‍तिहरूको लासलाई काठमा झुन्ड्याउने र लासको मुटुबाट काठलाई वारपार छेड्‌ने आदि।

      विरोधाभासपूर्ण कुरा त के छ भने, आत्महत्या गर्न प्रयास गर्ने व्यक्‍तिहरूलाई प्राणदण्ड दिन सकिन्थ्यो। आफ्नो घाँटी रेटेर मर्न खोज्ने १९ औं शताब्दीका एक जना बेलाइतीलाई फाँसीको सजय दिइएको थियो। यसरी मानिस आफैले गर्न नसकेको काम सरकारी अधिकारीहरूले पूरा गरिदिन्थे। वर्षौंको दौडान आत्महत्या गर्न प्रयास गर्ने व्यक्‍तिहरूलाई दिने दण्डमा परिवर्तन आए तापनि बेलाइतको संसद्‌ले १९६१ मा आत्महत्या अनि आत्महत्याको प्रयास गर्नु अपरोध होइन भनी घोषणा गरिसकेपछि मात्र यसमा परिवर्तन आयो। आयरल्याण्डमा १९९३ सम्म पनि यसलाई अपराधै मानिन्थ्यो।

      आज, केही साहित्यकारहरू आत्महत्यालाई एउटा विकल्पको रूपमा मानिलिन्छन्‌। सन्‌ १९९१ मा प्रकाशित एउटा पुस्तकले प्राणघातक रोग लागेकाहरूलाई आत्महत्या गर्न मदत गर्ने विभिन्‍न उपायहरूबारे बताउँछ। पछि, प्राणघातक रोग नलागेका अधिकांश व्यक्‍तिहरूले पनि सुझावित उपायहरूमध्ये एउटा उपाय भने अपनाए।

      के आत्महत्या नै कुनै पनि व्यक्‍तिको समस्याको समाधान हो त? वा बाँच्ने कुनै उपयुक्‍त कारणहरू छन्‌? यस प्रश्‍नमाथि विचार गर्नुअघि आउनुहोस्‌, हामी सबैभन्दा पहिला मानिसहरूलाई आत्महत्या गर्न प्रेरित गर्ने तत्त्वहरू के-के हुन्‌, जाँचौं। (g01 10/22)

      [पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

      विश्‍वभर एक वर्षमा दस लाख मानिसहरूले आत्महत्या गर्छन्‌। त्यसको अर्थ, प्रत्येक ४० सेकेन्डमा एक व्यक्‍तिको मृत्यु हुन्छ!

  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१ | नोभेम्बर ८
    • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌

      “मानिसहरूले आत्महत्या गर्नुको पछाडि आ-आफ्नै कारण हुन्छन्‌: नितान्त निजी, अज्ञात अनि डरलाग्दो।”—के रेडफिल्ड जेमिसन, मनोचिकित्सक।

      “बाँच्नु साह्रै पीडादायी छ।” २० औं शताब्दीका जापानका लोकप्रिय लेखक रिउनोस्के अकुतागावाले आत्महत्या गर्न केही छिनअघि उक्‍त शब्दहरू लेखे। यद्यपि, उनले उक्‍त शब्दहरू लेख्नुअघि यस्तो लेखे: “हो, म मर्न चाहन्‍नँ, तर . . . ”

      मनोविज्ञानका एक जना प्राध्यापकको भनाइअनुसार अकुतागावाजस्तै आफ्नो ज्यान आफै लिने अधिकांश मानिसहरू वास्तवमा मर्न चाहँदैनन्‌ तर तिनीहरू “विद्यमान परिस्थितिको अन्त गर्न” चाहन्छन्‌। आत्महत्या गर्नुअघि छोडिने चिठीमा प्रायः पाइने शब्दहरूले यी कुराहरूलाई संकेत गर्छ। ‘अहँ! मैले यो सहनै सकिनँ’ वा ‘अब पनि किन बाँचिरहने?’ जस्ता वाक्यहरूले जीवनका तीता वास्तविकताहरू देखि भाग्ने तीव्र इच्छालाई प्रकट गर्छ। तर एक जना मनोवैज्ञानिकविद्‌ले बताएझैं आत्महत्या गर्नु भनेको “रुघा निको पार्न आणविक बम प्रयोग गर्नु बराबर हो।”

      मानिसहरूले आत्महत्या गर्नुको कारण फरक-फरक भए तापनि जीवनका केही टार्न नसकिने परिस्थितिहरूले मानिसलाई आत्महत्या गर्न उत्साहित गर्छन्‌।

      उत्साहित गर्ने परिस्थितिहरू

      अरूको दृष्टिमा सानो देखिने कुराहरूले गर्दासमेत हरेस खानु अनि आत्महत्या गर्नु किशोर किशोरीहरूको लागि सामान्य कुरा हो। जब तिनीहरूले मानसिक पीडा महसुस गर्छन्‌ र केही गर्न सक्दैनन्‌, त्यतिखेर युवाहरूलाई, आफूलाई चोट पुऱ्‍याउने व्यक्‍तिसित बदला लिने तरिका नै आफ्नो मृत्यु हो जस्तो लाग्नसक्छ। जापानमा आत्महत्या गर्न चाहने व्यक्‍तिहरूलाई सम्हाल्ने विशेषज्ञ, हिरोसी इनामुराले यस्तो लेखे: “केटाकेटीहरूले आफ्नो मृत्युद्वारा आफूलाई चोट पुऱ्‍याउने व्यक्‍तिलाई सजाय दिने आफ्नो भित्री चाहना पूरा गरिरहेका हुन्छन्‌।”

      बेलाइतमा हालै लिइएको सर्वेक्षणअनुसार जब केटाकेटीहरू निकै नराम्रो दुर्व्यवहारको सिकार हुन्छन्‌, त्यतिबेला तिनीहरूले आत्महत्या गर्नसक्ने सम्भावना झन्डै सात गुणा बढी हुन्छ। यस्ता केटाकेटीहरूले भोग्ने भावनात्मक चोट वास्तविक हुन्छन्‌। झुन्डिएर मर्ने १३ वर्षीय केटाले आफूलाई सताउने अनि पैसा लुट्‌ने पाँच जना व्यक्‍तिहरूको नाउँ लेखेर एउटा चिठी छोडिराखे। चिठीमा उनले यस्तो लेखे, “बिन्ती छ, अरू केटाकेटीहरूलाई बचाउनुहोस्‌।”

      अरू कतिपयले चाहिं कानुन भंग गर्दा वा स्कूलमा कुनै समस्या पर्दा, आफ्नो रोमान्सको अन्त हुँदा, परीक्षामा आशा गरेजस्तो परिणाम हासिल नगर्दा, परीक्षाको बेला तनाउ महसुस गर्दा, भविष्यको अचाक्ली चिन्ताले ग्रस्त हुँदा आफ्नो ज्यान आफै लिने कोसिस गर्नसक्छन्‌। ठूल-ठूला उपलब्धिहरू हासिल गर्ने किशोर किशोरीमा निकै प्रतिस्पर्धात्मक भावना आउनसक्छन्‌। पछाडि परिएला वा असफल होला जस्तो देखिएमा वा साँच्चै त्यस्तै हुँदा आत्महत्या गर्ने सम्भावना हुन्छ।

      वयस्कहरूलाई अक्सर आत्महत्या गर्न उत्साहित गर्ने परिस्थितिहरूमध्ये आर्थिक वा कामसित सम्बन्धित समस्याहरू हुन्‌। जापानमा धेरै वर्षसम्मको न्यून आर्थिक अवस्थापछि आत्महत्या गर्नेहरूको संख्या वर्षमा ३०,००० भन्दा बढी पुग्यो। मेनीचि डेली न्यूज-का अनुसार आत्महत्या गर्नेहरूमध्ये झन्डै एक तिहाइ अधबैंसे पुरुषहरूले “ऋण तिर्न नसक्दा, व्यापार असफल हुँदा, गरिबी अनि बेरोजगारले गर्दा” आफ्नो ज्यान आफै लिए। पारिवारिक समस्याहरूले पनि आत्महत्या गर्न उत्साहित गर्छ। फिनल्याण्डको एक खबरपत्रिकाले यस्तो रिपोर्ट दियो: “हालसालै छुटानाम गरिसकेका अधबैंसे पुरुषहरू” खतराको सूचीमा पर्ने समूह हुन्‌। हंगेरीमा गरिएको एक अध्ययनमा आत्महत्या गर्न विचार गर्ने अधिकांश केटीहरू टुक्रिएको परिवारमा हुर्किएको पाइयो।

      विशेष गरी, वृद्धहरूका लागि अवकाश अनि शारीरिक अस्वस्थता पनि आत्महत्या गर्न उत्साहित गर्ने प्रमुख कारणहरू हुन्‌। रोग प्राणघातक हुनैपर्छ भन्‍ने छैन तर जब बिरामीलाई आफ्नो रोग असह्‍य हुन्छ त्यतिबेला उनीहरूले छनौट गर्ने एउटै समाधान अक्सर आत्महत्या नै हुन्छ।

      यद्यपि, यस्ता परिस्थितिहरूको सामना गर्दा सबैले आत्महत्या गर्दैनन्‌। यसको विपरीत, यस्ता तनाउग्रस्त परिस्थितिहरूको सामना गर्नुपर्दा अधिकांशले आफ्नो ज्यान आफै लिंदैनन्‌। त्यसोभए किन केहीले आत्महत्यालाई समाधानको रूपमा लिन्छन्‌ जब कि धेरैले भने त्यसो गर्दैनन्‌?

      आधारभूत कारणहरू

      जोन्स होप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनमा कार्यरत मानसिक रोग-विज्ञानका प्राध्यापक के रेडफिल्ड जेमिसन यसो भन्छिन्‌, “परिस्थितिलाई कुन दृष्टिले हेरिन्छ, त्यसैमा आत्महत्या गर्ने कि नगर्ने भन्‍ने निर्णयहरू भर पर्छन्‌।” उनी अझै यसो भन्छिन्‌: “मानसिक अवस्था स्वस्थ हुने प्रायजसो मानिसहरूले कुनै पनि परिस्थितिलाई आत्महत्या गर्न योग्य ठान्दैनन्‌।” सं.रा. राष्ट्रिय मानसिक स्वास्थ्य प्रतिष्ठानमा कार्यरत इभ के. मसचिट्‌सकीका अनुसार धेरै महत्त्वपूर्ण तर हतपत नदेखिने तत्त्वहरू एकै चोटि मिलेर आत्महत्याको गर्न उत्साहित गर्छ। यस्ता लुकेका तत्त्वहरूमा मानसिक असन्तुलन अनि कुलत, आनुवंशिक रचना र मस्तिष्कको बनौट समावेश छन्‌। आउनुहोस्‌, यीमध्ये केहीलाई विचार गरौं।

      यीमध्ये केही मुख्य तत्त्वहरू मानसिक असन्तुलन जस्तै, नैराश्‍य, बाइपोलार मूड डिसअडर (दुइरूपी मनस्थिति), स्किट्‌सेफ्रिनिया (भाव र क्रिया समन्वय नरहने मानिसक रोग) र मद्य वा लागूऔषध दुर्व्यसन हुन्‌। युरोप र संयुक्‍त राज्य दुवैबाट प्राप्त अनुसन्धानले देखाएअनुसार ९० प्रतिशतभन्दा धेरै आत्महत्याहरू यस्तै असन्तुलनहरूसित सम्बन्धित छन्‌। वास्तवमा, स्विडिस अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार यस्ता कुनै पनि असन्तुलन नहुने व्यक्‍तिहरूमा अत्महत्या दर १,००,००० मा ८.३ थियो भने निराशाले पिरोलिएका व्यक्‍तिहरूमा यो दर बढेर १,००,००० मा ६५० पुग्यो! विशेषज्ञहरूको भनाइअनुसार पूर्वीय देशहरूमा पनि आत्महत्या गर्न उत्साहित गर्ने कारणहरू यस्तायस्तै छन्‌। यद्यपि, आत्महत्या गर्न उत्साहित गर्ने परिस्थितिलगायत सबै प्रकारका नैराश्‍यहरूले समेत कुनै पनि व्यक्‍ति आत्महत्या गर्न बाध्य हुँदैनन्‌।

      एक चोटि आत्महत्या गर्न प्रयास गर्ने प्राध्यापक जेमिसन यसो भन्छिन्‌, “मानिसहरूमा परिस्थिति सुध्रने विश्‍वास भएसम्म तिनीहरूले नैराश्‍य सहनसक्छ।” यद्यपि, तिनले पत्ता लगाएअनुसार नैराश्‍यहरू बिस्तारै बढ्‌दै गएपछि यो असह्‍य हुन्छ फलतः आत्महत्या गर्ने इच्छालाई दबाउने मानसिक क्षमता बिस्तारै कमजोर हुँदै जान्छ। तिनी यस परिस्थितिलाई मोटरको ब्रेक थिच्दा-थिच्दा, खिया लागेर ब्रेकै नलाग्ने हुँदाको अवस्थासित तुलना गर्छिन्‌।

      यस्ता झुकाउहरू बुझ्नु नितान्त आवश्‍यक छ, किनकि नैराश्‍य हटाउन सकिन्छ। निस्सहाय छु भन्‍ने सोचमा परिवर्तन ल्याउन सकिन्छ। लुकेका कारक तत्त्वहरूलाई हटाउने प्रयास गर्दा आत्महत्या गर्न उत्साहित गर्ने पीडा वा तनाउप्रति मानिसहरूले बेग्लै प्रतिक्रिया देखाउन सक्छन्‌।

      कुनै पनि व्यक्‍तिको आनुवंशिक बनौट पनि अधिकांश व्यक्‍तिहरूले गर्ने आत्महत्याको मुख्य कारण हुनसक्छ। हो, कुनै पनि व्यक्‍तिको स्वभाव निर्धारण गर्न जीनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र अध्ययनहरूले देखाएअनुसार केही पारिवारिक वंशहरूमा अरूमा भन्दा आत्महत्याका घटनाहरू बढी घट्‌ने गर्छन्‌। जेमिसन यसो भन्छिन्‌, यद्यपि, “आत्महत्या गर्ने आनुवंशिक झुकाउ हुँदैमा आत्महत्या गर्नैपर्छ भन्‍ने छैन।”

      मस्तिष्कको बनौट पनि अर्को एउटा आधारभूत कारक तत्त्व हुनसक्छ। मस्तिष्कमा अरबौं न्युरोनहरूले विद्युतीय रसायनिक प्रक्रियाद्वारा सन्देश आदनप्रदान गर्छन्‌। स्नायुरेसाहरूमा केही खाली ठाउँ हुन्छन्‌, जसलाई सिन्याप्सेस्‌ भनिन्छ। सिन्याप्सेस्‌ हुँदै न्युरोट्रान्समिटरहरूले रसायनिक रूपमा जानकारीहरू लैजाने गर्छन्‌। कुनै पनि व्यक्‍तिको आत्महत्या गर्ने जैविक जोखिममा सेरोटोनिन अर्थात्‌ न्युरोट्रान्समिटरको मात्राले भूमिका खेल्नसक्छ। इन्साइड द ब्रेन नामक पुस्तक यस्तो व्याख्या गर्छ: “सेरोटोनिनको मात्रामा कमी . . . आएमा जीवनको खुसी हरण हुनसक्छ, बाँच्न मन नलाग्ने र नैराश्‍य अनि आत्महत्याको जोखिम बढ्‌नसक्छ।”

      यद्यपि, तथ्य कुरा के हो भने, कुनै व्यक्‍तिले आत्महत्या गर्छ नै भनेर पूर्व निर्धारित हुँदैन। करोडौं मानिसले पीडा अनि तनाउ सामना गर्छन्‌। कुनै पनि व्यक्‍तिलाई आत्महत्यातर्फ उन्मुख गर्ने वा नगर्ने भन्‍ने कुरा त त्यस व्यक्‍तिको मन अनि हृदयले कुनै पनि दबाउप्रति देखाउने प्रतिक्रिया-मा भरपर्छ। आत्महत्या गर्न उत्साहित गर्ने निकटतम कारक तत्त्वहरूलाई मात्र होइन तर लुकेका कारक तत्त्वलाई पनि सुल्झाउनैपर्छ।

      त्यसोभए, जीवनप्रति आशावादी दृष्टिकोण राख्न के गर्न सकिन्छ त? (g01 10/22)

      [पृष्ठ ६-मा भएको पेटी]

      लिंग अनि आत्महत्या

      संयुक्‍त राज्यमा गरिएको अध्ययनअनुसार महिलाहरूले पुरुषहरूभन्दा दुईदेखि तीन गुणा बढी आत्महत्या गर्ने प्रयास गर्छन्‌ जब कि पुरुषहरू महिलाहरूभन्दा चार गुणा बढी सफल हुन्छन्‌। महिलाहरू पुरुषहरू जत्तिकै कम्तीमा पनि दुई चोटि नैराश्‍यबाट पीडित हुनसक्ने सम्भावना हुन्छ। यसले धेरैभन्दा धेरै आत्महत्याका प्रयासहरू हुनसक्ने सम्भावनालाई स्पष्ट पार्छ। यद्यपि, महिलाहरूको नैराश्‍य त्यति पीडादायी नहुनसक्छ। त्यसैले, उनीहरूले त्यति डरलाग्दा उपायहरू नअपनाउन सक्छन्‌। अर्कोतिर, आफ्नो प्रयास सफल बनाउन पुरुषहरूले निकै घातक अनि निर्णायक उपायहरू अपनाउनसक्छन्‌।

      यद्यपि, चीनमा भने पुरुषहरूभन्दा महिलाहरू बढी सफल हुन्छन्‌। वास्तवमा, अध्ययनले देखाएअनुसार विश्‍वका महिला आत्महत्यामध्ये ५६ प्रतिशत त चीनको विशेष गरी ग्रामीण क्षेत्रमा हुने गर्छ। भनिन्छ, आवेगमा आएर महिलाहरूले गर्ने आत्महत्या सफल हुनुको एउटा कारण त्यस क्षेत्रमा घातक कीटनाशक औषधीहरू सजिलै उपलब्ध हुनु हो।

      [पृष्ठ ७-मा भएको पेटी/चित्र]

      आत्महत्या अनि एकाकीपन

      मानिसहरूलाई नैराश्‍य अनि आत्महत्यातिर उन्मुख गर्ने कारक तत्त्वहरूमध्ये एउटा एकाकीपन हो। फिनल्याण्डमा आत्महत्यासम्बन्धी अध्ययनमा नेतृत्व लिने योउको लोनक्विस्टले यसो भने: “अधिकांश [आत्महत्या गर्ने] व्यक्‍तिहरूको जीवन सधैं एक्लो थियो। तिनीहरूसित धेरै फुर्सत थियो तर सरसंगति थोरै थियो।” जापानको हामामात्सु युनिभर्सिटी अफ मेडिसिनका मनोचिकित्सक केनसिरो ओहाराले टिप्पणी गरेअनुसार त्यस देशमा अधबैंसे पुरुषहरूले बढी आत्महत्या गर्नुको पछाडि “भावनात्मक एक्लोपन” थियो।

      [पृष्ठ ५-मा भएको चित्र]

      वयस्कहरूको लागि, अक्सर आर्थिक वा कामसित सम्बन्धित समस्याहरू आत्महत्या गर्न उत्साहित गर्ने परिस्थितिहरू हुन्‌

  • तपाईं मदत पाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२००१ | नोभेम्बर ८
    • तपाईं मदत पाउन सक्नुहुन्छ

      ‘एउटा कपमा उनान्चासवटा निद्रा लाग्ने चक्की छन्‌। निलूँ कि ननिलूँ?’ भनेर स्वीट्‌जरल्याण्डका एक २८ वर्षीय युवकले आफैलाई सोधे। तिनकी पत्नी र छोराले तिनलाई छाडेर गएकाले तिनी असाध्यै निराश थिए। एक घुट्‌को निलिसकेपछि तिनले आफैलाई भने: ‘नाइँ। म मर्न चाहन्‍नँ!’ खुसीको कुरा, तिनी यो घटना बताउन बाँचे। आत्महत्या गर्ने इच्छाले सधैं मृत्युको मुखमा धकेल्दैन।

      किशोर किशोरीहरूले गर्ने आत्महत्याबारे अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा कार्यरत अलेक्स क्रोजवीले यसो भने: “आत्महत्या गर्न प्रयास गरिरहेकाहरूलाई केही घण्टा मात्र रोक्न सक्नुभयो भने पनि तपाईं त्यस व्यक्‍तिलाई आत्महत्या गर्नबाट बचाउन सक्नुहुन्छ। आत्महत्या गर्न चाहने व्यक्‍तिलाई रोकेर तपाईं आत्महत्या गर्नदेखि धेरैलाई बचाउन सक्नुहन्छ। तपाईं तिनीहरूको जीवन बचाउन सक्नुहन्छ।”

      प्राध्यापक हिसाशी कुरोसावाले जापान मेडिकल कलेजको जीवन रक्षा तथा आकस्मिक केन्द्रमा काम गर्दा आत्महत्या गर्न चाहने सयौं मानिसहरूमा पुनः बाँच्ने चाहना विकास गर्न मदत गरे। हो, आत्महत्या गर्ने प्रयासमा कुनै रोकावट ल्याएर कसैको जीवन बचाउन सकिन्छ। यसको लागि कस्तो मदतको आवश्‍यकता छ?

      आधारभूत समस्याहरूसित डट्‌नु आवश्‍यक छ

      अघिल्लो लेखमा बताइएझैं अनुसन्धानकर्ताहरूले भनेअनुसार आत्महत्या गर्ने ९० प्रतिशत व्यक्‍तिहरूमा मानसिक असन्तुलन वा दुर्व्यसनको समस्या पाइएको थियो। त्यसैकारण, अमेरिकी राष्ट्रिय मानसिक स्वास्थ्य प्रतिष्ठानमा कार्यरत इभ के. मोसचिकी यसो भन्छिन्‌: “सबै उमेरका मानिसहरूको मानसिक असन्तुलन अनि कुलत रोक्न सकेको खण्डमा उनीहरूलाई आत्महत्या गर्नदेखि रोक्न सक्ने ठूलो सम्भावना हुन्छ।”

      दुःखको कुरा, यस्ता असन्तुलनहरूबाट पीडित अधिकांश व्यक्‍तिहरू मदत खोज्नेतर्फ लाग्दैनन्‌। किन? “किनकि समाजमा ठूलो पूर्वाग्रह छ” भनी टोकियो महानगरपालिका मानसिक स्वास्थ्य प्रतिष्ठानमा कार्यरत योसिटोमो ताकाहासी टिप्पणी गर्छन्‌। उनी अझ थप्छन्‌, यसले गर्दा आफू अस्वस्थ छु भनेर अलिकता सचेत हुने मानिसहरूसमेत तुरुन्तै उपचार गर्न हिचकिचाउँछन्‌।

      यद्यपि, केही व्यक्‍तिहरू भने लाज मानेर बसिरहँदैनन्‌। जापानमा १७ वर्षसम्म टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने प्रसिद्ध टेलिभिजन प्रस्तोता हिरोशी ओगावाले सार्वजनिक रूपमा आफू निराश भएर आत्महत्या गर्ने अवस्थामा पुगिसकेको कुरा स्वीकारे। ओगावाले यसो भने, “नैराश्‍य मनमा लाग्ने एकप्रकारको रुघा हो।” उनी भन्छन्‌, जो कोहीलाई पनि यो लाग्नसक्छ तर यसलाई निको पार्न भने सकिन्छ।

      कसैसित कुरा गर्नुहोस्‌

      सुरुमा उल्लेखित हंगेरियन स्वास्थ्य अधिकृत बेला बुडा यसो भन्छन्‌, “कुनै व्यक्‍तिलाई समस्या परेको बेला जब ऊ एक्लो हुन्छ, त्यतिबेला अक्सर उसलाई आफ्नो समस्या निकै ठूलो र समाधान गर्नै नसकिने जस्तो लाग्छ।” यस भनाइले बाइबलमा लिपिबद्ध प्राचीन हितोपदेशको बुद्धिको महत्त्वलाई जोड दिन्छ: “अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्यसले सबै उचित ठहरको खुला विरोध गर्छ।”—हितोपदेश १८:१. नयाँ संशोधित संस्करण।

      ती बुद्धिका शब्दहरू सुन्‍नुहोस्‌। व्यक्‍तिगत समस्याहरूको महासागरमा एक्लै पौडिने कोसिस नगर्नुहोस्‌। आफूले विश्‍वास अनि भरोसा गर्न सक्ने कुनै व्यक्‍ति खोज्नुहोस्‌। ‘तर,’ तपाईं भन्‍नुहोला: ‘मैले भरोसा गर्न सक्ने कोही व्यक्‍ति नै छैन।’ पेसेवर मानसिक रोग चिकित्सक डा. नाओकी साटोका अनुसार धेरैको सोचाइ यस्तै हुन्छ। साटोले बताएअनुसार बिरामीले अरूलाई आफ्नो मनका कुराहरू नबताउनसक्छ, किनकि तिनीहरू आफ्नो कमजोरी अरूसमक्ष प्रकट गर्न चाहँदैनन्‌।

      आफ्नो कुरा सुनिदिने मानिस कहाँ पाउन सकिन्छ? धेरै ठाउँमा कुनै पनि व्यक्‍तिले आत्महत्या रोकथाम केन्द्र वा भावनात्मक समस्याहरूको समाधानका लागि सञ्चालन गरिरहेका हटलाइनहरूमा टेलिफोन गरेर वा भावनात्मक समस्याहरूको उपचार गर्ने कुनै पनि नाम चलेका चिकित्सकको मदत लिन सक्छन्‌। तर केही विशेषज्ञहरू मदतको अर्को एउटा स्रोतलाई पनि स्वीकार्छन्‌, त्यो हो धर्म। त्यसले कसरी मदत गर्नसक्छ?

      तिनीहरूले खोजेकै मदत पाए

      मारिन नाउँ गरेका बुल्गेरियाका एक जना अशक्‍त व्यक्‍तिले आत्महत्या गर्ने दृढ निश्‍चय गरिसकेका थिए। संयोगवश, एक दिन तिनले यहोवाका साक्षीहरूको प्रकाशन धार्मिक पत्रिका प्रहरीधरहरा पाए। तिनले यहोवाका साक्षीहरूद्वारा व्यक्‍तिगत तवरमा भेट्‌ने निमन्त्रणालाई स्वीकार्दै जवाफ लेखे। नतिजा कस्तो भयो, मारिन बताउँछन्‌: “मैले तिनीहरूबाट जीवन हाम्रो स्वर्गमा बस्नुहुने पिताले दिनुभएको उपहार हो र यसको हानि गर्ने वा आफ्नो इच्छाअनुसार अन्त गर्ने अधिकार हामीसित छैन भन्‍ने कुरा बुझें। यसरी, मैले आत्महत्या गर्ने मेरो पूर्व विचारलाई परिवर्तन गरें र फेरि जीवनलाई प्रेम गर्न थालें!” मारिनले मसीही मण्डलीबाट पनि मायालु सहयोग पाए। आफू अझै अशक्‍त भए तापनि तिनी यसो भन्छन्‌, “अहिले मेरा दिनहरू रमाइला र शान्तिपूर्ण छन्‌। आनन्ददायी कामकुरामा मेरा दिनहरू बित्छन्‌। मलाई समय नै पुग्दैन! यी सबै कुराहरूका लागि म यहोवा अनि उहाँका साक्षीहरूप्रति ऋणी छु।”

      माथि उल्लेखित स्वीट्‌जरल्याण्डवासी एक युवकले पनि यहोवाका साक्षीहरूबाट मदत पाए। आज तिनी, आफूलाई उनीहरूको घर लैजाने “मसीही परिवारको दया”-बारे चर्चा गर्छन्‌। तिनी थप्छन्‌: “पछि, [यहोवाका साक्षीहरूको] मण्डलीका सदस्यहरूले मलाई पालैपालो दिनहुँजसो खानको लागि निम्त्याए। मैले उनीहरूले मप्रति देखाएको आतिथ्यको आनन्द उठाउनुका साथै उनीहरूमध्ये कसैलाई आफ्नो मनको कुरा पोखाउन पाएको कारण ठूलो मदत पाएँ।”

      बाइबल अध्ययन गरेर र अझ विशेष गरी साँचो परमेश्‍वर यहोवाले मानिसजातिलाई गर्नुहुने प्रेमबारे सिकेर यो युवक निकै प्रोत्साहित भए। (यूहन्‍ना ३:१६) वास्तवमा, तपाईंले ‘उहाँको सामने आफ्नो हृदयको दुःख पोखाउनुहुँदा’ यहोवा परमेश्‍वरले ध्यान दिएर सुन्‍नुहुन्छ। (भजन ६२:८) “सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” मानिसहरूको गल्ती कोट्याउन होइन तर “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन।” (२ इतिहास १६:९) यहोवा हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सह्‍माल्नेछु।”—यशैया ४१:१०.

      परमेश्‍वरले गर्नुभएको नयाँ संसारको प्रतिज्ञाबारे त्यस स्वीट्‌जरल्याण्डवासी युवकले यसो भने: “यस प्रतिज्ञाले मेरो निराशाको बोझलाई निकै हल्का गर्न मदत गरेको छ।” “प्राणको लङ्‌गर” भनी व्याख्या गरिएको यस आशामा पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रतिज्ञा विथोलित छ।—हिब्रू ६:१९; भजन ३७:१०, ११, २९.

      तपाईंको जीवन अरूको लागि महत्त्वपूर्ण छ

      हो, तपाईंले यस्ता परिस्थितिहरूको सामना गर्नुपर्ला जसले तपाईंको मनमा आफू पूर्णतया एक्लो हुनुहुन्छ र आफ्नो मृत्युले कसैलाई केही फरक पार्ने छैन भन्‍ने भावनाहरू पैदा गर्नसक्छ। यद्यपि, एक्लो महसुस गर्नु र एक्लो हुनु-बीच ठूलो भिन्‍नता छ भन्‍ने कुरालाई नबिर्सनुहोस्‌। बाइबलकालीन समयमा अगमवक्‍ता एलिया आफ्नो जीवनदेखि धेरै विरक्‍त भएका थिए। तिनले यहोवालाई यसो भने: तिनीहरूले “तपाईंका अगमवक्‍तहरूलाई तरवारले मारे। केवल म मात्रै बाँकी रहेको छु।” हो, एलियाले बिलकुलै एक्लो महसुस गरे। यसरी एक्लो महसुस गर्नुमा तिनीसित जायज कारण थियो। तिनका धेरै समकालीन अगमवक्‍ताहरू मारिएका थिए। तिनलाई पनि मृत्युका धम्कीहरू आइरहेको थियो अनि तिनी आफ्नो ज्यान जोगाउन भाग्दै थिए। तर के तिनी साँच्चै एक्लो थिए? कदापि थिएन। तिनीजस्तै करिब ७,००० वफादार मानिसहरू त्यस अन्धकारमय समयमा साँचो परमेश्‍वर यहोवाको सेवा गर्न विश्‍वासीपूर्वक प्रयास गरिरहेका छन्‌ भनेर यहोवाले तिनलाई बताउनुभयो। (१ राजा १९:१-१८) तथापि, तपाईं नि? सायद तपाईं आफूले सोचेजति एक्लो हुनुहुन्‍न कि?

      तपाईंको चासो लिने व्यक्‍तिहरू छन्‌। तपाईं आफ्ना आमाबाबु, आफ्नो जीवनसाथी, आफ्ना छोराछोरी अनि मित्रहरूबारे सोच्न सक्नुहुन्छ। यति मात्र होइन अरू पनि छन्‌। तपाईं यहोवाका साक्षीहरूको मण्डलीमा आफ्नो चासो राख्ने, आफ्नो कुरा धैर्यतासाथ सुनिदिने, आफूसित बसेर र आफ्नो निम्ति प्रार्थना गरिदिने परिपक्व मसीहीहरू भेट्टाउन सक्नुहुन्छ। (याकूब ५:१४, १५) अनि सबै असिद्ध मानिसहरू यसो गर्न चुके तापनि तपाईंलाई कहिल्यै नत्याग्नुहुने एक जना व्यक्‍ति हुनुहुन्छ। पुरातन समयका राजा दाऊदले यसो भने: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सह्‍माल्नुहुनेछ।” हो, यहोवाले तपाईंको “फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:७) तपाईं यहोवाको दृष्टिमा मूल्यवान्‌ हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌।

      जीवन यहोवाले दिनुभएको उपहार हो। हो, कहिलेकाहीं जीवन उपहार होइन तर बोझजस्तो लाग्नसक्छ। यद्यपि, तपाईंले कसैलाई मूल्यवान्‌ उपहार दिनुभयो तर उपहार प्रयोग गर्नुभन्दा अगाडि नै त्यस व्यक्‍तिले त्यो फ्याँकिदिएमा तपाईंलाई कस्तो लाग्नेछ, के तपाईं कल्पना गर्नसक्नुहुन्छ? हामी असिद्ध मानिसहरूले बल्लतल्ल जीवनको उपहारलाई सदुपयोग गर्न थालेका छौं। वास्तवमा, बाइबलले संकेत गरेअनुसार हाल हामी बाँचिरहेको जीवन परमेश्‍वरको दृष्टिमा “साँच्चै[को] जीवन” होइन। (१ तिमोथी ६:१९) हो, निकट भविष्यमा हाम्रो जीवन अझै अर्थपूर्ण र खुसशीयालीले भरिपूर्ण हुनेछ। तर कसरी?

      बाइबल यसो भन्छ: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:३, ४) यी शब्दहरू पूरा हुँदा तपाईंको जीवन कस्तो होला, कल्पना गर्ने कोसिस गर्नुहोस्‌। हतार नगर्नुहोस्‌। आफ्नो मनमा त्यस पृथ्वीको पूरा अनि रंगीन चित्र ल्याउने प्रयास गर्नुहोस्‌। त्यो चित्र कुनै फोस्रो कल्पना होइन। विगतमा यहोवाले आफ्ना जनहरूसित कसरी व्यवहार गर्नुभयो भन्‍ने कुरा मनन गर्नुभयो भने यहोवाप्रतिको तपाईंको भरोसा बढ्‌नेछ र त्यो चित्र तपाईंको लागि अझ वास्तविक बन्‍नसक्छ।—भजन १३६:१-२६.

      तपाईंको बाँच्ने चाहनालाई पूर्णतया पुनर्जीवित पार्न केही समय लाग्नसक्छ। ‘हर सङ्‌कष्टमा हामीलाई सान्त्वना दिनुहुने सान्त्वनाका परमेश्‍वरलाई’ प्रार्थना गरिरहनुहोस्‌। (२ कोरिन्थी १:३, ४; रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७) यहोवाले तपाईंलाई आवश्‍यक बल दिनुहुनेछ। जीवन बाँच्न लायकको छ भनी उहाँले तपाईंलाई सिकाउनुहुनेछ।—यशैया ४०:२९. (g01 10/22)

      [पृष्ठ ९-मा भएको पेटी/चित्र]

      कसैले आत्महत्या गर्लाजस्तो देखिएमा तपाईं कसरी उसलाई मदत गर्न सक्नुहुन्छ ?

      यदि कसैले तपाईंलाई विश्‍वास गरेर आफू आत्महत्या गर्न चाहेको कुरा बताएमा तपाईंले के गर्नुपर्छ? सं.रा. रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सि डि सी) यस्तो सल्लाह दिन्छन्‌, “त्यस व्यक्‍तिको कुरा राम्ररी सुन्‍नुहोस्‌।” उसलाई आफ्नो मनका कुराहरू पोखाउन दिनुहोस्‌। यद्यपि, धेरैजसो परिस्थितिहरूमा आत्महत्या गर्न चाहने व्यक्‍तिहरू एक्लै र कोहीसित पनि कुराकानी गर्न नचाहने स्वभावका हुन्छन्‌। उसले भोगिरहेको पीडा अनि निराशा वास्तविक हुन्‌ भनी स्वीकार्नुहोस्‌। यदि तपाईंले त्यस व्यक्‍तिको आनीबानीमा देख्नुभएका केही परिवर्तनहरू मायालु ढंगमा बताउनुभयो भने, उसलाई खुलेर कुरा गर्न र आफूलाई विश्‍वास गर्न उत्प्रेरित गर्न सक्नुहुन्छ।

      उसको कुरा सुन्दा, सहानुभूति देखाउनुहोस्‌। सि डि सी यसो भन्छन्‌, “त्यस व्यक्‍तिको जीवन स्वयम्‌ तपाईं र अरूको लागि पनि महत्त्वपूर्ण छ भनी जोड दिनु अत्यावश्‍यक छ।” उसको मृत्युले तपाईंलगायत अरूलाई कत्तिको बरबाद पार्नसक्छ, उसलाई बुझाउनुहोस्‌। त्यस व्यक्‍तिलाई सृष्टिकर्ताले उसको कत्तिको ख्याल गर्नहुन्छ भनी बुझ्न मदत दिनुहोस्‌।—१ पत्रुस ५:७.

      आत्महत्या गर्न प्रयोग गर्नसक्ने कुराहरू विशेष गरी हातहतियारहरू हटाउन पनि विशेषज्ञहरू सल्लाह दिन्छन्‌। परिस्थिति निकै गम्भीर देखिएमा तपाईं उक्‍त व्यक्‍तिलाई चिकित्सकको मदत लिन प्रोत्साहित गर्न सक्नुहुन्छ। गम्भीर परिस्थितिहरूमा तपाईं आफैले कुनै विशेष प्रकारको आकस्मिक उपचार सेवालाई बोलाउनुबाहेक अन्य कुनै विकल्पै नहुनसक्छ।

      [पृष्ठ ११-मा भएको पेटी]

      ‘मेरो यस्तो भावनालाई के परमेश्‍वरले क्षमा गर्नुहुनेछ ?’

      यहोवाका साक्षीहरूसितको संगतिले धेरैलाई आत्महत्या गर्ने विचार त्याग्न मदत गरेको छ। यद्यपि, जीवनको तनाउग्रस्त परिस्थिति वा नैराश्‍यबाट आज कोही पनि मुक्‍त छैनन्‌। आफ्नो ज्यान लिने विचार गरेका मसीहीहरू यस्ता विचारहरूले गर्दा अक्सर दोषी भावनाले पीडित हुन्छन्‌। दोषी भावनाले केवल बोझ अझ थपिनसक्छ। त्यसैकारण यस्ता भावनाहरूलाई कसरी सम्हाल्न सकिन्छ?

      बाइबलकालीन समयमा केही विश्‍वासी पुरुष तथा स्त्रीहरूले जीवनप्रति गहिरो नकारात्मक भावना व्यक्‍त गरेका थिए भन्‍ने कुरालाई ध्यान दिनु बेस हुन्छ। कुलपिता इसहाककी पत्नी रिबेका एक चोटि पारिवारिक समस्याहरूले गर्दा यति साह्रो निराश भइन्‌ कि तिनले यसो भनिन्‌: “मैले बाँचेर के फायदा हुन्छ?” (उत्पत्ति २७:४६) आफ्नो छोराछोरी, स्वास्थ्य, सरसम्पत्ति तथा सामाजिक प्रतिष्ठा गुमाउने अय्यूबले यसो भने: “मेरो जीवनदेखि म विरक्‍त भएँ।” (अय्यूब १०:१) एक पटक मोशाले परमेश्‍वरसित चिच्च्याएर यसो भने: “बरू मलाई मारिदिनुहोस्‌।” (गन्ती ११:१५) परमेश्‍वरका अगमवक्‍ता एलिशाले एक पटक यसो भने: “बस भयो! हे परमप्रभु, अब मेरो प्राण लिनुहोस्‌।” (१ राजा १९:४) अनि अगमवक्‍ता योनाले धेरै पटक यसो भने: “मेरो निम्ति बाँच्नुभन्दा ता मर्नुनै निको छ।”—योना ४:८.

      यस्तो विचारधारा राखेकोमा के यहोवाले तिनीहरूको भर्त्सना गर्नुभयो? कदापि गर्नुभएन। उहाँले तिनीहरूका ती अभिव्यक्‍तिहरूलाई समेत बाइबलमा सुरक्षित राख्नुभयो। यद्यपि, यस्तो भावनाले तीमध्ये कुनै पनि विश्‍वासी व्यक्‍तिहरूलाई आत्महत्या गर्न बाध्य तुल्याएनन्‌ भन्‍ने कुरालाई ध्यान दिनु निकै महत्त्वपूर्ण छ। यहोवाले उनीहरूलाई मूल्यवान्‌ ठान्‍नुभयो; उहाँ उनीहरू बाँचेको चाहनुहुन्थ्यो। साँच्चै भन्‍ने हो भने, परमेश्‍वर दुष्टहरूको जीवनको पनि ख्याल राख्नुहुन्छ। उहाँ तिनीहरूलाई आफ्नो चाल त्यागेर “जिओस्‌ भन्‍ने” आग्रह गर्नुहुन्छ। (इजकिएल ३३:११) अतः उहाँको निगाह प्राप्त गर्न इच्छुक व्यक्‍तिहरू बाँचेको उहाँ कत्ति इच्छा गर्नुहुन्छ होला!

      परमेश्‍वरले आफ्नो पुत्रको छुडौतिको बलिदान, मसीही मण्डली, बाइबल र प्रार्थना गर्ने सुअवसर उपलब्ध गराउनुभएको छ। परमेश्‍वरसित सम्पर्क राख्ने टेलिफोन अर्थात्‌ प्रार्थनामा कहिल्यै पनि व्यस्त संकेत आउँदैन। उहाँलाई नम्र अनि निष्कपट हृदयले पुर्कानेहरूको पुकारा उहाँले सुन्‍नुहुनेछ र सुन्‍न सक्नुहुनेछ। “यसकारण अनुग्रहको सिंहासनको नजीक हामी निर्भयसँग आऔं, र कृपा पाऔं, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।”—हिब्रू ४:१६.

      [पृष्ठ १२-मा भएको पेटी]

      के तपाईंले आत्महत्याको कारण आफ्नो प्रियजन गुमाउनुभएको छ ?

      जब कसैले आत्महत्या गर्छ, त्यतिबेला परिवारका सदस्यलगायत घनिष्ठ मित्रहरूले निकै मानसिक पीडा खप्छन्‌। धेरैले यस दुःखद घटनाको जिम्मेवार आफूलाई ठान्छन्‌। तिनहरू प्रायः यसो भन्‍ने गर्छन्‌: ‘यदि मैले त्यो दिन उसित अलि बढी समय बिताएको भए,’ ‘मैले त्यो समय आफ्नो जिब्रोमा लगाम कसेको भए,’ ‘मैले उसलाई मदत गर्न अलि बढी प्रयास गरेको भए।’ भनाइको अर्थ, ‘यदि मैले यसो गरेको भए, त्यसो गरेको भए, मेरो प्रियजन अहिले बाँचिरहेको हुन्थ्यो होला’ भनेर संकेत गर्नु हो। तथापि, आफूलाई कसैको आत्महत्याको दोषी ठान्‍नु के व्यावहारिक छ?

      घटना घटिसकेपछि मात्र आत्महत्याका लक्षणहरू चिन्‍न निकै सजिलो हुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। घटना घट्‌नुअघि यस्ता लक्षणहरू चिन्‍न सजिलो हुँदैन। बाइबल यसो भन्छ, “मनको दुःख मनलेनै जान्दछ, औ त्यसको आनन्दमा अरूको भाग हुँदैन।” (हितोपदेश १४:१०) कहिलेकाहीं अर्को व्यक्‍तिको सोचाइ वा भावना बुझ्नु मात्र पनि असम्भव हुन्छ। साधारणतया, आत्महत्या गर्ने अधिकांश व्यक्‍तिहरूले आफ्ना भित्री भावनाहरू अरूलाई, परिवारका घनिष्ठ सदस्यहरूलाई समेत राम्ररी बताउन सक्दैनन्‌।

      गिभिङ सरो वर्डस्‌ नामक पुस्तकले आत्महत्या गर्नसक्ने मानिसहरूले देखाउने लक्षणबारे यसो भन्छ: “वास्तविकता के हो भने, यस्ता लक्षणहरू बुझ्न प्रायः सजिलो हुँदैन।” सोही पुस्तकअनुसार यदि तपाईंले सानोतिनो लक्षण थाह पाइहाल्नु भए तापनि तपाईंले आत्महत्या गर्नबाट बचाउन सक्नुहुन्छ भन्‍ने कुनै ग्यारेन्टी हुँदैन। आफैलाई मानसिक पीडा दिनुको सट्टा तपाईं राजा सुलेमानका यी शब्दहरूबाट ढाडस पाउन सक्नुहुन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) तपाईंको प्रियजनले नरकको आगोमा सास्ती भोगिरहेको छैन। अनि उसलाई आत्महत्या गर्न उत्प्रेरित गर्ने मानसिक अनि भावनात्मक पीडाको पनि अन्त भइसकेको छ। उसले कुनै पीडा भोगिरहेको छैन; उसले त केवल आराम गरिरहेको छ।

      अब तपाईंले आफूलगायत बाँचेकाहरूको हितमा ध्यान दिनु नै बेस हुन्छ। सुलेमानले फेरि यसो भने: बाँचुन्जेल “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर्‌।” (उपदेशक ९:१०) अनि आत्महत्या गर्ने व्यक्‍तिको भविष्य “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर” यहोवाको हातमा छ भनी तपाईं ढुक्क हुनसक्नुहुन्छ।—२ कोरिन्थी १:३.a

      [फुटनोट]

      a सेप्टेम्बर ८, १९९० को अवेक! अंकको “बाइबलको दृष्टिकोण: आत्महत्या—पुनरुत्थान?” शीर्षक लेखमा आत्महत्या गर्ने व्यक्‍तिहरूको भावी आशाबारे सुन्तुलित दृष्टिकोण पाउनु हुनेछ।

      [पृष्ठ ८-मा भएको चित्र]

      कसैसित कुरा गर्नुहोस्‌

      [पृष्ठ १०-मा भएको चित्र]

      तपाईंको जीवन अरूको लागि महत्त्पूर्ण छ

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने