प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ११/८ पृ. ११-१५
  • बाल्यकालदेखि नै परमेश्‍वरलाई प्रेम गर्न सिकाइएको

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाल्यकालदेखि नै परमेश्‍वरलाई प्रेम गर्न सिकाइएको
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कम्युनिस्टहरूद्वारा शोषित
  • निर्वासनमा पठाइयो
  • अलि बढी स्वतन्त्रता
  • हाम्रो सेवकाईलाई विस्तार गर्दै
  • नयाँ चुनौतीहरू
  • रिहा अनि काजकस्तानमा बसाइँ सराइ
  • छोराछोरीको पालनपोषण र अरूको सेवा गर्दै
  • अप्रत्याशित निमन्त्रणा
  • आज हाम्रो परिवार
  • मेरो प्रमुख चासो—वफादार रहनु
    ब्यूँझनुहोस्‌!—२०००
  • साइबेरियामा निर्वासित!
    ब्यूँझनुहोस्‌!—१९९९
  • कम्युनिष्ट सरकारको प्रतिबन्धमा ४० वर्षभन्दा बढी बिताएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “हामी हरेस खाँदैनौँ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ११/८ पृ. ११-१५

बाल्यकालदेखि नै परमेश्‍वरलाई प्रेम गर्न सिकाइएको

एनाटोली मेलनिकको वृत्तान्तमा आधारित

धेरैले मलाई माया गरेर हजुरबुबा भन्छन्‌। यस शब्दले मेरो भित्री कोमल भावनालाई छुन्छ किनभने यसले मेरो आफ्नै हजुरबुबाको सम्झना दिलाउँछ, जसलाई म औधी माया गर्थें र उहाँप्रति म अति नै ऋणी पनि छु। आउनुहोस्‌, म तपाईंहरूलाई उहाँको बारेमा र उहाँ अनि हजुरआमाले कसरी आफ्नो परिवारका सदस्यहरू लगायत अन्य थुप्रैको जीवनमा गहिरो प्रभाव पार्नुभयो, त्यसबारे बताउँछु।

मेरो जन्म हाल मोल्डोभाa भनेर चिनिने देशको उत्तरमा पर्ने हलिना गाउँमा भएको थियो। सन्‌ १९२० को दशकमा पिलग्रिम्स्‌ भनेर चिनिने परिभ्रमण सेवकहरू सीमा पार रोमानियाबाट हाम्रो सुन्दर पहाडी राज्यमा आए। मेरी आमापट्टिका हजुरबुबा र हजुरआमाले बाइबलबाट सुनाइएको सुसमाचार तुरुन्तै स्वीकार्नुभयो। सन्‌ १९२७ मा उहाँहरू बाइबल स्टुडेन्ट्‌स हुनुभयो, त्यतिबेला यहोवाका साक्षीहरू त्यस नाउँले चिनिन्थे। सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु होउन्जेलसम्ममा हाम्रो सानो गाउँमा यहोवाका साक्षीहरूको एउटा मण्डली स्थापना भइसकेको थियो।

सन्‌ १९३६ मा अर्थात्‌ म जन्मेको साल अर्थोडक्स चर्च जानुहुने मेरो बुबाबाहेक मेरा सबै नातेदारहरू यहोवाका साक्षीहरू भइसकेका थिए। दोस्रो विश्‍वयुद्धको दौडान उहाँले जीवनको उद्देश्‍यबारे गम्भीरतापूर्वक सोच्न थाल्नुभयो र अन्तमा उहाँले हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरप्रतिको आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिनुभयो। हाम्रो परिवारको आध्यात्मिक प्रगतिमा मेरो हजुरबुबाले निकै ठूलो योगदान पुऱ्‍याउनुभयो। उहाँ बाइबललाई औधी माया गर्नुहुन्थ्यो र बाइबलका सयौं शास्त्रपदहरू उहाँलाई कण्ठ थिए। उहाँ कुनै पनि कुराकानीलाई बाइबलतर्फ मोड्‌न सक्नुहुन्थ्यो।

म अक्सर हजुरबुबाको काखमा बस्थें र उहाँ मलाई बाइबलका कथाहरू सुनाउनुहुन्थो। उहाँले मेरो मनमा परमेश्‍वरप्रतिको प्रेम जगाइदिनुभयो। त्यसको लागि म उहाँप्रति अत्यन्त कृतज्ञ छु! आठ वर्षको उमेरमा म पहिलो चोटि हजुरबुबासित प्रचारमा गएँ। बाइबल चलाएर हामीले सँगी गाउँलेहरूलाई यहोवा को हुनुहुन्छ र कसरी उहाँको नजिक जान सकिन्छ भन्‍ने कुरा बुझायौं।

कम्युनिस्टहरूद्वारा शोषित

सन्‌ १९४७ मा कम्युनिस्ट नीति र अर्थोडक्स चर्चको दबाबमा परेर अधिकारीहरूले मोल्डोभाका यहोवाका साक्षीहरूलाई सताउन थाले। पछि के जि बी  भनी नामाकरण गरिएका एजेन्ट तथा स्थानीय प्रहरीहरू हाम्रो घरमा आउँथे र प्रचारकार्यमा कसले नेतृत्व लिइरहेको छ, कहाँबाट साहित्य आउँछ र उपासनाको लागि हामी कहाँ भेला हुन्छौं भनेर सोधखोज गर्थे। यहोवाका साक्षीहरूको गतिविधिलाई रोक्न लागिरहेका छौं भनेर तिनीहरूले भने। यहोवाका साक्षीहरूले “देशमा साम्यवाद फस्टिन दिंदैनन्‌” भन्‍ने तिनीहरूको दाबी थियो।

यतिबेलासम्ममा सुशिक्षित मेरो बुबाले पनि बाइबल सत्यलाई गहिरोसित प्रेम गर्न थालिसक्नुभएको थियो। केरकार गर्ने अधिकारीहरूले सोद्धा हाम्रा मसीही भाइबहिनीहरूलाई धोका नदिई कसरी जवाफ दिनुपर्छ भन्‍ने कुरा उहाँ र आमापट्टिको हजुरबुबा दुवै जनालाई थाह थियो। उहाँहरू दुवै जना साहसी र सँगी विश्‍वासीहरूको हितको ख्याल राख्ने मायालु व्यक्‍तिहरू हुनुहुन्थ्यो। उहाँहरूजस्तै आमा पनि सधैं शान्त रहनुका साथै आफूलाई सँभालेर राख्नुभयो।

सन्‌ १९४८ मा बुबालाई गिरफ्तार गरेर लगियो। उहाँ विरुद्ध लगाइएका अभियोगहरूबारे हामीलाई कहिल्यै जानकारी दिइएन। उहाँलाई कडा सुरक्षा व्यवस्था भएको झ्यालखानामा सात वर्ष कैद सजायका साथै थप दुई वर्ष निर्वासनमा पठाइयो। अन्तमा उहाँलाई रूसको सुदूर उत्तरपूर्वी मागादान प्रान्तमा पठाइयो, जुन ठाउँ हाम्रो घरदेखि ७,००० किलोमिटरभन्दा टाढा थियो। नौ वर्षसम्म हामीले एक-अर्कालाई भेट्‌न पाएनौं। बुबाविनाको जीवन साह्रै गाह्रो थियो तर मेरो लागि हजुरबुबा ठूलो आड हुनुहुन्थ्यो।

निर्वासनमा पठाइयो

सन्‌ १९४९, जून ६ को रात दुई जना सैनिक तथा एक जना अफिसर हाम्रो घरमा घुसे। घर छोडेर तिनीहरूको गाडीमा बस्ने दुई घण्टा समय मात्र छ भनेर तिनीहरूले बताए। त्योभन्दा बढी केही भनेनन्‌। हामीलाई निर्वासनमा पठाइँदैछ र कहिल्यै फर्किन पाउनेछैनौं मात्र भनियो। त्यसैले, आमा, हजुरबुबा, हजुरआमा र सँगी विश्‍वासीहरू सँगसँगै मलाई पनि साइबेरिया पठाइयो। त्यतिखेर म केवल १३ वर्षको थिएँ। केही हप्तापछि हामी घना जङ्‌गलबीचमा भएको टाइगाको दलदले भूमिमा आइपुग्यौं। अत्यन्त माया लाग्ने आफू जन्मेको ठाउँ र यस ठाउँबीच आकास-जमिनको फरक थियो! कहिलेकाहीं हामी रुन्थ्यौं। यद्यपि, यहोवाले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन भन्‍ने कुरामा हामी विश्‍वस्त थियौं।

हामीलाई लगिएको सानो गाउँमा रूखको मुढाले बनाएका दसवटा झुप्रा थिए। अन्य साक्षीहरूलाई टाइगाका विभिन्‍न गाउँहरूमा निर्वासित गरियो। स्थानीय मानिसहरूलाई त्रसित पार्न र उनीहरूलाई हामी विरुद्ध पूर्वाग्रह राख्न लगाउन अफिसरहरूले साक्षीहरू नरभक्षीहरू हुन्‌ भने। तथापि, यो झूटो कुरा हो र हामीसित डराउनु पर्दैन भनेर मानिसहरूले चाँडै थाह पाए।

हामी आएको दुई महिनासम्म हामीलाई एउटा पुरानो झुप्रोमा राखियो। तर हिउँदको कठाङ्‌ग्रिने मौसम सुरु हुनुभन्दा अघि नै हामीले एउटा उपयुक्‍त बस्ने ठाउँ बनाइहाल्नुपरेको थियो। आधा जमिनमाथि, आधा जमिनमुनि भएको एउटा साधारण बस्ने ठाउँ बनाउन हजुरबुबा र हजुरआमाले म अनि मेरी आमालाई मदत गर्नुभयो। हामी त्यही घरमा तीन वर्षभन्दा बढी बस्यौं। अनुमतिविना गाउँ छोड्‌न मनाही थियो र अनुमति पाउने पनि कुरै थिएन।

समयको अन्तरालमा मलाई स्कूल जान दिइयो। स्कूलमा मेरो धार्मिक विचारधारा अरूको भन्दा फरक भएको कारण शिक्षक-शिक्षिका तथा सँगी विद्यार्थीहरूले मलाई अक्सर प्रश्‍नहरू सोध्थे। घर आएर आफ्नो विश्‍वासबारे बताउन सफल भएको कुरा हजुरबुबालाई सुनाउँदा उहाँ खुसीले दङ्‌ग पर्नुहुन्थ्यो।

अलि बढी स्वतन्त्रता

सन्‌ १९५३ मा तानाशाही स्टालिनको मृत्युपछि हाम्रो जीवनस्तरमा अलिकति सुधार आयो। हामीलाई गाउँ छोडेर जाने अनुमति दिइयो। यसले गर्दा हामी सँगी विश्‍वासीहरूसित सरसंगत गर्न र अन्य साक्षीहरू निर्वासित भएका गाउँहरूमा हुने सभाहरूमा उपस्थित हुन सक्यौं। अरूको ध्यान नखिच्न हामी सानो-सानो समूहमा भेला हुन्थ्यौं। त्यहाँसम्म पुग्नको लागि हामी ३० किलोमिटरसम्म हिंड्यौं। कहिलेकाहीं त हामी माइनस ४० डिग्री तापक्रम भएको घुँडासम्म आउने हिउँमा हिंड्यौं। भोलिपल्ट घर फर्किन हामी निकै लामो यात्रा गर्थ्यौं। बाटोमा हामी काँक्रोको अचार र चिनीका केही डल्लाहरू खान्थ्यौं। यद्यपि, पुरातन समयका दाऊदजस्तै हामी अत्यन्त खुसी थियौं!—भजन १२२:१.

सन्‌ १९५५ मा यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिंदै मैले बप्तिस्मा लिएँ। बप्तिस्मा लिनुभन्दा केही समयअगाडि नजिकैको गाउँमा मण्डलीको सभा भएको बेला मैले एउटी भद्र अनि कालो कपाल भएकी लिडियालाई भेटेको थिएँ। हामीजस्तै तिनी र तिनको परिवार पनि साक्षीहरू थिए र उनीहरूलाई मोल्डोभाबाट निर्वासित गरिएको थियो। तिनको स्वर सुरिलो थियो र तिनलाई त्यतिबेला प्रयोग गरिने गीतिपुस्तकका ३३७ वटा गीतमध्ये प्रायः सबै कण्ठ थिए। यसले मलाई प्रभावित पाऱ्‍यो किनभने मलाई पनि हाम्रो संगीत तथा गीत असाध्यै मन पर्थ्यो। सन्‌ १९५६ मा हामीले विवाह गर्ने निर्णय गऱ्‍यौं।

बुबालाई मागादानमा निर्वासित गरिएको छ भन्‍ने कुरा थाह भएको कारण मैले बुबालाई चिठी लेखें र उहाँको स्वीकृति नपाउन्जेल हामीले विवाहलाई अलि पछि साऱ्‍यौं। त्यसको केही समयपछि नै बुबालाई रिहा गरियो र निर्वासनमा हामी जहाँ बसिरहेका थियौं उहाँ त्यहीं आउनुभयो। परमेश्‍वरको मदतद्वारा आफू र सँगी मसीहीहरू श्रम शिविरको अत्यन्तै दयनीय अवस्थाहरूमा बाँच्न सफल भएको कुरा उहाँले हामीलाई सुनाउनुभयो। यस्ता वृत्तान्तहरूले हाम्रो विश्‍वासलाई सुदृढ बनायो।

बुबा फर्कनुभएको केही समयपछि आमाले रङ-रोगन तथा बार्निस गर्दा प्रयोग गरिने तेल तयार गरिरहनुभएको बेला एउटा साह्रै नराम्रो दुर्घटना भयो। उम्लिएको तेलको ठूलो भाँडो खै कसरी हो घोप्टिएर आमाको जीउभरि पोखियो। अस्पतालमा उहाँको मृत्यु भयो। हामी शोकमा डुब्यौं। पछि बुबाले आफूलाई सँभाल्नुभयो र केही समयपछि उहाँले नजिकैको गाउँको एउटी साक्षी टाट्यानासँग विवाह गर्नुभयो।

हाम्रो सेवकाईलाई विस्तार गर्दै

सन्‌ १९५८ मा लिडिया र म, हामी बसिरहेको किजाक गाउँदेखि करिब १०० किलोमिटर टाढा पर्ने लबाइयी भन्‍ने अझ ठूलो गाउँमा सऱ्‍यौं। अन्य मुलुकका मसीहीहरूले घर-घरमा प्रचार गर्छन्‌ भन्‍ने कुरा हामीले पढेका थियौं। त्यसैकारण हामीले पनि आफ्नो नयाँ ठाउँमा यसै गर्ने जमर्को कस्यौं। हुन त हो, प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌!-माथि प्रतिबन्ध लगाइएको थियो तर अन्य ठाउँहरूबाट लुकाइछिपाइ भित्र्याइएका पत्रिकाहरू हामीले प्राप्त गऱ्‍यौं। अबदेखि उसो रूसी भाषामा मात्रै पत्रिकाहरू उपलब्ध हुनेछन्‌ भनेर हामीलाई जानकारी गराइयो। त्यतिबेलासम्म त हामीले मोल्डोभियाली भाषामा पनि पत्रिकाहरू पाइरहेका थियौं। त्यसैकारण रूसी भाषा राम्रोसित सिक्न हामीले कडा परिश्रम गऱ्‍यौं। आजसम्म पनि मलाई ती लेखहरूका शीर्षकहरू मात्र होइन तर लेखहरूमा भनिएका कुराहरू याद आउँछ।

जीविका चलाउन लिडियाले अन्‍न ओसार्ने लिफ्टमा काम गरिन्‌ भने मैले चाहिं मालवाहक गाडीहरूबाट काठहरू झार्ने काम गरें। काम निकै थकाइलाग्दो थियो तर ज्याला भने असाध्यै कम। लगनशील वा कर्तव्यनिष्ठ कामदारहरूको रूपमा साक्षीहरूको कदर गरिए तापनि हामीले भत्ता वा बिमाशुल्क पाएनौं। अफिसरहरू हाकाहाकी यसो भन्थे: “साम्यवादी समाजमा यहोवाका साक्षीहरूको लागि कुनै स्थान छैन।” यद्यपि, आफ्ना अनुयायीहरूको विषयमा येशूले भन्‍नुभएका शब्दहरू हाम्रो सन्दर्भमा साँचो साबित भएकोमा हामी आनन्दित थियौं: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!”—यूहन्‍ना १७:१६.

नयाँ चुनौतीहरू

सन्‌ १९५९ मा हाम्री छोरी भ्यालेन्टीनाको जन्म भयो। त्यसको लगत्तैपछि सतावटको नयाँ लहर सुरु भयो। दी इन्साइक्लोपीडिया ब्रिटानिका यस्तो टिप्पणी गर्छ: “सन्‌ १९५९-१९६४ सम्ममा प्रधानमन्त्री निकिता ख्रुश्‍चेभले धर्मविरोधी नयाँ अभियान सुरु गरे।” सोभियत सरकारको लक्ष्य भनेको सम्पूर्ण धर्म, त्यसमा पनि अझ विशेष गरी यहोवाका साक्षीहरूलाई निमिट्यान्‍न पार्नु हो भनेर के जी बी-का सदस्यहरूले हामीलाई बताए।

भ्यालेन्टीना त्यस्तै एक वर्षकी हुँदा मलाई सैन्य सेवाको लागि बोलाइयो। म जान नमानेपछि तटस्थ रहेकोमा मलाई पाँच वर्षको जेल सजाय सुनाइयो। लिडिया मलाई भेट्‌न आएको बेला के जी बी-का एक जना कर्नेलले उनलाई यसो भने: “क्रेमलिनबाट हामीले सूचना पाएका छौं कि दुई वर्षभित्रमा सोभियत संघमा भएका सबै यहोवाका साक्षीहरूलाई सखाप पारिनेछ।” त्यसपछि तिनले यस्तो चेतावनी दिए: “तिमीले आफ्नो विश्‍वासलाई त्याग्नै पर्छ, नत्र तिमीलाई पनि झ्यालखानामा हालिनेछ।” कर्नेललाई यस किसिमको धम्कीले स्त्रीहरूलाई चुप गराउनेछ भन्‍ने लागेको थियो किनभने तिनी यस्तो दाबी गर्थे: “स्त्रीहरू भनेका कमजोर जाति हुन्‌।”

धेरै समय नबित्दै अधिकांश साक्षी पुरुषहरूलाई झ्यालखाना तथा श्रम शिविरहरूमा हालियो। तरैपनि, साहसी मसीही स्त्रीहरूले प्रचारकार्य जारी राखे। अनि ठूलो जोखिम उठाउँदै झ्यालखाना तथा श्रम शिविरहरूमा भएका भाइहरूका लागि उनीहरूले लुकाइछिपाइ साहित्यहरू ल्याइदिन्थे। लिडियाले यस्ता परीक्षाहरूको सामना गर्नुपऱ्‍यो र मेरो अनुपस्थितिको फाइदा उठाउन खोज्ने पुरुषहरूले पनि अक्सर उनीसित नाजायज सम्बन्ध बढाउन खोज्थे। त्यति मात्र होइन, म कहिल्यै पनि रिहा हुनेछैन भनेर पनि उनलाई कुरा लगाइदिन्थे। तर म रिहा भएँ!

रिहा अनि काजकस्तानमा बसाइँ सराइ

सन्‌ १९६३ मा मेरो कानुनी मुद्दामाथि पुनर्विचार गरियो र झ्यालखानामा तीन वर्ष बिताइसकेपछि म रिहा भएँ। तर हामीले कतै पनि बसोबास गर्ने अनुमति-पत्र नपाएको कारण मैले काम पाउन सकिनँ। राज्यको विधानमा यस्तो नियम थियो: “कुनै व्यक्‍ति राज्यको स्थायी बासिन्दा होइन भने उसले काम पनि पाउँदैन।” हामीले व्यग्र प्रार्थनामा मदतको लागि यहोवालाई पुकाऱ्‍यौं। त्यसपछि हामीले काजकस्तानको उत्तरतिर पर्ने पेट्रोभल भन्‍ने ठाउँमा सर्ने निर्णय गऱ्‍यौं। तथापि, स्थानीय अधिकारीहरूले हाम्रो विषयमा पहिल्यै खबर पाइसकेका रहेछन्‌। त्यसैकारण तिनीहरूले हामीलाई त्यहाँ बस्न र काम गर्न दिएनन्‌। त्यस सहरमा भएका करिब ५० जना साक्षीले त्यस्तै किसिमको सतावट भोगे।

अर्का साक्षी दम्पतीसित हामी सुदूर दक्षिणमा पर्ने सुचुचिन्स्क्‌ भन्‍ने सानो सहरमा सऱ्‍यौं। त्यहाँ अरू साक्षीहरू थिएनन्‌ र स्थानीय अधिकारीहरूलाई पनि हाम्रो प्रचारकार्यबारे केही थाह थिएन। एक हप्तासम्म इभान र म, दुई जना पतिले काम खोज्यौं र हाम्रा पत्नीहरू चाहिं राती हामी सुत्ने ठाउँ, रेल स्टेसनमै बसे। अन्ततः हामीले सिसा कारखानामा काम पायौं। दुवै परिवारको लागि हामीले दुईवटा पलङ मात्र अटाउने एउटा सानो कोठा भाडामा लियौं तरैपनि हामी सन्तुष्ट थियौं।

इभान र मैले लगनशील भई काम गरेको कारण हाम्रा हाकिमहरू निकै खुसी थिए। सैन्य सेवामा मलाई फेरि पनि बोलाएको समयसम्ममा बाइबल-प्रशिक्षित मेरो अन्तस्करणले मलाई सैन्य प्रशिक्षणमा भाग लिन दिंदैन भन्‍ने कुरा कारखानाका म्यानेजरले थाह पाइसकेका थिए। कस्तो अचम्म, म्यानेजरले सेना प्रमुखसित कुरा गरेर इभान र म एकदमै दक्ष कामदारहरू हौं र हामीविना कारखानै चल्दैन भनेर तिनलाई भनिदिए। यस प्रकार हामी जानु परेन।

छोराछोरीको पालनपोषण र अरूको सेवा गर्दै

सन्‌ १९६६ मा हाम्री अर्की छोरी लेल्याको जन्म भयो। एक वर्षपछि हामी उज्वेकिस्तानको सीमा नजिकै पर्ने दक्षिणी काजकस्तानको बाइली भोडीमा सऱ्‍यौं, जहाँ साक्षीहरूको एउटा सानो समूह थियो। चाँडै मण्डली खडा भयो र म मण्डलीको अध्यक्ष नियुक्‍त भएँ। सन्‌ १९६९ मा छोरा ओलेग र दुई वर्षपछि कान्छी छोरी नतासाको जन्म भयो। छोराछोरी यहोवाले दिनुभएका हक हुन्‌ भन्‍ने कुरा लिडिया र मैले सधैं मनमा राख्यौं। (भजन १२७:३) यहोवालाई प्रेम गर्न उनीहरूलाई सिकाउन के-के गर्नु आवश्‍यक छ भन्‍ने विषयमा हामी सँगै बसेर छलफल गर्थ्यौं।

सन्‌ १९७० को दशकसम्ममा पनि अधिकांश पुरुष साक्षीहरू अझै पनि श्रम शिविरहरूमै थिए। थुप्रै मण्डलीहरूलाई परिपक्व निरीक्षण तथा डोऱ्‍याइको आवश्‍यकता थियो। त्यसैकारण लिडियाले छोराछोरीको पालनपोषण गर्ने काममा कहिलेकाहीं आमा र बुबा दुवैको रूपमा महत्त्वपूर्ण भूमिका निभाइन्‌ र मैले चाहिं परिभ्रमण निरीक्षकको रूपमा सेवा गरें। मैले काजकस्तानका मण्डलीहरूका साथसाथै छिमेकी सोभियत गणतन्त्रहरू ताजकिस्तान, उज्वेकस्तान र तुर्कमेनिस्तानको भ्रमण गरें। त्यसै समयमा मैले परिवार पाल्न काम पनि गरें र लिडिया अनि छोराछोरीले खुसीसाथ सहयोग गरे।

कहिलेकाहीं म हप्तौंसम्म घरदेखि टाढा हुने भए तापनि मैले छोराछोरीलाई बुबाको माया देखाउने र तिनीहरूको आध्यात्मिक प्रगतिमा उनीहरूलाई मदत गर्ने प्रयास गरिरहें। हाम्रा छोराछोरीलाई मदत गर्नुहोस्‌ भनेर म र लिडिया सँगै यहोवालाई व्यग्र प्रार्थना गर्थ्यौं र मानिसको डरमाथि कसरी विजयी हुने र परमेश्‍वरसित कसरी घनिष्ठ सम्बन्ध विकास गर्ने भन्‍ने सन्दर्भमा हामी उनीहरूसित छलफल गर्थ्यौं। मेरी प्रिय पत्नीको निःस्वार्थ सहयोग नपाएको भए परिभ्रमण निरीक्षकको रूपमा मैले आफ्नो काम पूरा गर्न सक्ने थिइनँ होला। लिडिया तथा हाम्रा अन्य बहिनीहरू सैन्य अधिकारीले दाबी गरेझैं “कमजोर जाति” कदापि थिएनन्‌। उनीहरू त बलियो—आध्यात्मिक तवरमा साँच्चै असामान्य शक्‍ति भएका व्यक्‍तिहरू थिए!—फिलिप्पी ४:१३.

सन्‌ १९८८ मा मेरा सबै छोराछोरी हुर्किसकेपछि नियमित परिभ्रमण निरीक्षकको रूपमा मलाई नियुक्‍त गरियो। मेरो क्षेत्रमा मध्य एसियाका प्रायजसो देशहरू पर्थे। सन्‌ १९९१ मा भूतपूर्व सोभियत संघमा यहोवाका साक्षीहरूको प्रचारकार्य कानुनी रूपमा दर्ता भएपछि अन्य योग्य तथा आध्यात्मिक तवरमा परिपक्व पुरुषहरूले भूतपूर्व सोभियत संघका एसियाली गणतन्त्रहरूमा सेवा गर्न थाले। आज यी देशहरूमामा १४ जना परिभ्रमण निरीक्षकहरू छन्‌, जहाँ गत वर्ष ५०,००० भन्दा बढी मानिसहरू प्रभुको मृत्युको स्मरणार्थमा उपस्थित भए।

अप्रत्याशित निमन्त्रणा

सन्‌ १९९८ को प्रारम्भमा यहोवाका साक्षीहरूको रूसस्थित शाखा कार्यालयबाट मलाई एउटा अप्रत्याशित फोन आयो। “एनाटोली, के तपाईं र लिडियाले पूर्ण-समय सेवा गर्ने विषयमा सोच्नुभएको छ?” भनेर मलाई सोधियो। निस्सन्देह, हामीले हाम्रा छोराछोरीको लागि यस्तो सुअवसरबारे सोचेका थियौं। साँच्चै भन्‍ने हो भने, हाम्रो छोरा ओलेगले रूस शाखा कार्यालयमा सेवा गरेको पाँच वर्ष भइसकेको थियो।

हामीलाई दिइएको निमन्त्रणाबारे मैले लिडियालाई बताउँदा उनले यस्तो प्रश्‍न गरिन्‌: “तर हाम्रो घर, हाम्रो फूलबारी अनि हाम्रा सरसामानहरू के गर्ने?” प्रार्थना तथा छलफल गरिसकेपछि हामीले आफूलाई उपलब्ध गराउने निधो गऱ्‍यौं। अन्तमा हामीलाई विशाल सहर, अल्मा-अटा नजिकै पर्ने इस्क्‌, कजाकस्तानस्थित यहोवाका साक्षीहरूको धार्मिक केन्द्रमा सेवा गर्न आमन्त्रित गरियो। यहाँ त्यस क्षेत्रभरि बोलिने चारवटा भाषामा हाम्रो बाइबल साहित्य अनुवाद हुनेगर्छ।

आज हाम्रो परिवार

आफ्ना छोराछोरीलाई बाइबल सत्य सिकाउने सन्दर्भमा परमेश्‍वरको मदत पाएकोमा हामी उहाँप्रति अत्यन्तै कृतज्ञ छौं! हाम्री जेठी छोरी, भ्यालेन्टिनाले विवाह गरेर सन्‌ १९९३ मा आफ्नो पतिसित जर्मनीको इन्जलिममा बसाइँ सरिन्‌। उनीहरूका तीन जना छोराछोरी छन्‌ र उनीहरू सबै यहोवाका बप्तिस्माप्राप्त साक्षीहरू हुन्‌।

हाम्री माइली छोरी लिल्याको पनि परिवार छ। तिनी तथा बाइली भोडी मण्डलीका प्राचीन तिनको पतिले आफ्ना छोराछोरीलाई परमेश्‍वरलाई प्रेम गर्न सिकाउँदै तिनीहरूको लालनपालन गरिरहेका छन्‌। ओलेगले मस्कोकी एक मसीही बहिनी, नतासालाई विवाह गरे र सेन्ट पिटर्सबर्ग नजिकैको रूस शाखा कार्यालयमा उनीहरू सँगै सेवा गर्छन्‌। सन्‌ १९९५ मा हाम्री कान्छी छोरी नतासाको विवाह भयो र उनी आफ्नो पतिसित जर्मनीको एउटा रूसी मण्डलीमा सेवा गरिरहेकी छिन्‌।

कहिलेकाहीं हामी ठूलो पारिवारिक पुनर्मिलनको लागि एक ठाउँ भेला हुन्छौं। “आमा” र “पापा”-ले कसरी यहोवाको कुरा सुन्‍नुभयो र साँचो परमेश्‍वर यहोवालाई प्रेम गर्न र उहाँको सेवा गर्न आफ्ना छोराछोरीलाई हुर्काउनुभयो भन्‍ने विषयमा हाम्रा छोराछोरीले उनीहरूका आफ्ना छोराछोरीलाई अनुभव सुनाउने गर्छन्‌। यस्ता छलफलले हाम्रा नातिनातिनालाई आध्यात्मिक रूपमा बढ्‌न मदत गर्छ भन्‍ने कुरा म बुझ्न सक्छु। हाम्रो सबैभन्दा कान्छो नातिको उमेरमा म पनि ऊजस्तै थिएँ। कहिलेकाहीं ऊ मेरो काखमा बसेर मलाई बाइबलको कथा सुनाउन लगाउँछ। अक्सर हजुरबुबाको काखमा बसेको र उहाँले कसरी मलाई हाम्रो महान्‌ सृष्टिकर्तालाई प्रेम गर्न र उहाँको सेवा गर्न मदत गर्नुभयो भन्‍ने कुरा सम्झँदा मेरो गहभरि आँसु उर्लेर आउँछ। (g04 10/22)

[फुटनोट]

a मोल्डोभिया वा सोभियत रिपब्लिक अफ मोल्डोभियाजस्ता पुराना नाउँहरूको सट्टा अहिले प्रयोग गरिने देशको नाउँ, मोल्डोभा यस लेखभरि प्रयोग गरिनेछ।

[पृष्ठ ११-मा भएको चित्र]

बुबा झ्यालखानामा पर्नुभन्दा केही समय अगाडि मोल्डोभामा हाम्रो घरबाहिर आमाबाबुसित

[पृष्ठ १२-मा भएको चित्र]

निर्वासनमै छँदा सन्‌ १९५९ मा लिडियासित

[पृष्ठ १३-मा भएको चित्र]

म झ्यालखानामा छँदा हाम्री छोरी भ्यालेन्टीनासित लिडिया

[पृष्ठ १५-मा भएको चित्र]

आज लिडियासित

[पृष्ठ १५-मा भएको चित्र]

हाम्रा छोराछोरी तथा नातिनातिनाहरू, हामी सबैले यहोवाको सेवा गरिरहेका छौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने