प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ९३
  • मानिसको छोरा प्रकट हुने बेलामा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसको छोरा प्रकट हुने बेलामा
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • मानिसको छोरा प्रकट हुनेछन्‌
    येसु—बाटो, सत्य र जीवन
  • परमेश्‍वरको राज्य कहिले आउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • के तपाईं यहोवाको दिनको लागि तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • नयाँ संसारमा प्रवेश पाउने छुटकाराको निम्ति तयारी गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ९३

अध्याय ९३

मानिसको छोरा प्रकट हुने बेलामा

येशू अझै उत्तरतर्फ (सामरियामा या गालीलमा) हुनुभएको बेला फरिसीहरूले राज्य आउनेबारे उहाँलाई सोध्छन्‌। तिनीहरूको विचारमा राज्य बडो धुमधामसित आउनेछ तर येशू भन्‍नुहुन्छ: “परमेश्‍वरको राज्य सबैले देख्ने गरी आउँदैन। न त मानिसहरूले ‘हेर, यहाँ छ!’ वा ‘त्यहाँ छ!’ भन्‍नेछन्‌। किनकि हेर, परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ।”

“तिमीहरूकै माझमा छ” भनी येशूले भन्‍नुभएका शब्दहरूलाई “तिमीहरूमा बास गर्छ” भनी कुनै-कुनै बेला अनुवाद गरिएको छ। अतः कसै-कसैको सोचाइअनुसार परमेश्‍वरको राज्य परमेश्‍वरका सेवकहरूका मनभित्र छ भनी येशूले भन्‍नुभएको हो। तर निश्‍चय पनि येशूले सम्बोधन गर्नुभएका ती अविश्‍वासी फरिसीहरूको मनमा परमेश्‍वरको राज्य हुन सक्दैन। तापनि परमेश्‍वरको राज्य तिनीहरूकै माझमा छ किनकि परमेश्‍वरको राज्यका निम्ति राजा नियुक्‍त हुनुभएका येशू ख्रीष्ट ठीक तिनीहरूकै माझमा हुनुहुन्छ।

सायद फरिसीहरू गइसकेपछि येशूले आफ्ना चेलाहरूसित आउनेवाला राज्यबारे अझ अरू कुरा गर्नुहुन्छ। विशेषगरि भविष्यमा राज्य-शक्‍तिसाथ हुने आफ्नो उपस्थितिलाई ध्यानमा राख्दै उहाँ यो चेतावनी दिनुहुन्छ: “मानिसहरूले तिमीहरूलाई ‘हेर, त्यहाँ छ!’ वा ‘हेर, यहाँ छ!’ भन्‍नेछन्‌। तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूको पछि-पछि नलाग। जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म देखिन्छ, मानिसको छोरा पनि त्यसरी नै प्रकट हुनेछ।” त्यसकारण जसरी बिजुली चम्कँदा विस्तृत क्षेत्रमा देखिन्छ त्यसैगरि राज्य-शक्‍तिसहित येशू उपस्थित हुनुभएको प्रमाण देख्न चाहनेहरूले स्पष्टसँग देख्नेछन्‌।

भविष्यमा हुने उहाँको उपस्थितिमा मानिसहरूको व्यवहार कस्तो हुनेछ भनी देखाउन येशू अब पहिले भएका घटनाहरूको उदाहरण दिनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “यसबाहेक, नूहको दिनमा जस्तो भएको थियो, मानिसको छोराको दिनमा पनि त्यस्तै हुनेछ . . . त्यसैगरि, लूतको दिनमा जस्तो भएको थियो, त्यतिखेर पनि त्यस्तै हुनेछ: तिनीहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, बेच्दै थिए, रोप्दै थिए, बनाउँदै थिए। तर जुन दिन लूत सदोमबाट निस्के, त्यही दिन आकाशबाट आगो र गन्धक वर्षेर तिनीहरू सबैलाई नाश गऱ्‍यो। मानिसको छोरा प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ।”

नूह र लूतका दिनमा खाने, पिउने, रोप्ने र बनाउनेजस्ता सामान्य दैनिक गतिविधिमा लागेकाले मानिसहरू नाश भएका हुन्‌ भनी येशूले भन्‍नुभएको होइन। नूह र लूतका परिवारहरूले पनि यी सबै कुरा गर्थे। तर अरूहरूचाहिं परमेश्‍वरको इच्छाप्रति ध्यानै नदिएर यी दैनिक गतिविधिमा व्यस्त रहन्थे। यसैकारण तिनीहरू नष्ट भए। यसै कारणले गर्दा यस युगमाथि आइपर्ने महासङ्‌कष्टको समयमा ख्रीष्ट प्रकाश हुँदा पनि मानिसहरू नष्ट हुनेछन्‌।

भविष्यमा राज्य-शक्‍तिसित उहाँको उपस्थितिको प्रमाण देख्दा तुरुन्तै क्रियाशील हुनुपर्ने कुराको महत्त्वलाई जोड दिंदै येशू भन्‍नुहुन्छ: “त्यो दिन कुनै मानिस कौसीमा छ र उसको मालसामान घरभित्र छ भने त्यो लिन ऊ तल नओर्लोस्‌। त्यसैगरि खेतमा भएको मानिस आफ्नो मालसामान लिन घर नफर्कोस्‌। लूतकी पत्नीलाई सम्झ!”

ख्रीष्टको उपस्थितिको प्रमाण देखा पर्दा तुरुन्तै आवश्‍यक कदम चाल्न भौतिक सम्पत्तिको मोहको कारण मानिसहरू रोकिनु हुँदैन। सदोमबाट बाहिर निस्कँदा छाड्‌नुपरेका सामानहरूको लोभ लागेकोले नै लूतकी पत्नीले पछाडि फर्केर हेरिन्‌ र तिनी नुनको खामा भइन्‌।

आफ्नो उपस्थितिको समयमा हुने परिस्थितिको वर्णन जारी राख्दै येशू चेलाहरूलाई भन्‍नुहुन्छ: “त्यस रात दुई जना पुरुष एउटै खाटमा हुनेछन्‌; एक जना लगिनेछ अनि अर्को छोडिनेछ। दुई जना स्त्री एउटै जाँतो घुमाइरहेका हुनेछन्‌; एक जना लगिनेछ अनि अर्को छोडिनेछ।”

लगिनेछ भन्‍ने कुराको समानान्तर, नूह आफ्ना परिवारका साथ जहाजमा प्रवेश गरेका अनि लूत र तिनको परिवार स्वर्गदूतहरूद्वारा सदोमबाट बाहिर लगिएका कुराहरूमा पाइन्छन्‌। लगिनेछ भन्‍नुको अर्थ मुक्‍ति हो। अर्कोतर्फ, छोडिनेको अर्थ नाश हुनु हो।

यतिबेला चेलाहरू सोध्छन्‌: “कहाँ, प्रभु?”

येशू जवाफ दिनुहुन्छ: “जहाँ लास हुन्छ, त्यहाँ चीलहरू पनि भेला हुनेछन्‌।” उद्धारका निम्ति “लगिनेहरू” ती दूरदर्शी चीलहरूजस्तै हुन्‌ किनकि तिनीहरू “लास” भएको ठाउँमा जम्मा हुन्छन्‌। लास भन्‍नाले राज्य-शक्‍तिसाथ साँचो ख्रीष्टको अदृश्‍य उपस्थिति र यहोवाले दिनुहुने भोज बुझिन्छ। लूका १७:२०-३७; उत्पत्ति १९:२६.

▪ फरिसीहरूका माझमा राज्य कसरी थियो?

▪ ख्रीष्टको उपस्थिति बिजुली चम्केको जस्तै किन हो?

▪ ख्रीष्टको उपस्थितिको समयमा आफ्ना गतिविधिहरूका कारण मानिसहरू किन नाश हुनेछन्‌?

▪ लगिनेछ भन्‍नुको अर्थ के हो र छोडिनेछ भन्‍नुको अर्थ के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने