प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • uw अध्या. १ पृ. ४-११
  • उपासनामा एकता–तपाईंका लागि त्यसले के अर्थ राख्नु पर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपासनामा एकता–तपाईंका लागि त्यसले के अर्थ राख्नु पर्छ?
  • एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यो कसरी प्राप्त हुन्छ
  • एकताबद्ध गराउनमा कुन्‌-कुन्‌ कुराले योगदान दिन्छ?
  • फूट उत्पन्‍न गराउने प्रभावहरूबाट अलग्ग रहनुहोस्‌
  • हाम्रो समयमा उपासनामा एकता—यसको अर्थ के हो?
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • एकता—साँचो उपासनाको चिनारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ख्रीष्टियान एकताले परमेश्‍वरको महिमा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
uw अध्या. १ पृ. ४-११

अध्याय १

उपासनामा एकता–तपाईंका लागि त्यसले के अर्थ राख्नु पर्छ?

१, २. (क) उपासनासम्बन्धी साँचो एकता आज कुन आधारमा कायम गरिंदै छ? (ख) आज भइरहेका कुराहरूको वर्णन बाइबलले कसरी गर्दछ?

उपासनामा एकताबद्ध हुनका निम्ति विश्‍वभरि एउटा सनसनीपूर्ण चेष्टा भईरहेको छ। सारा जाति र कुल र भाषाहरूका मानिसहरूलाई यसले एकसाथ तानी रहेको छ। तिनीहरूको एकता आफ्नो विश्‍वासको कुनै सम्झौताको प्रतिफल होइन। परमेश्‍वरको वचनसङ्‌ग मेल नखाने जीवन-शैलीहरूको आलोचना नगरेर त्यो एकता प्राप्त भएको होइन। त्यसो भए यो एकताको कारण के हो? हर प्रकारको संस्कृतिका मानिसहरूले यहोवा एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर बुझेपछि उहाँकै धार्मिक मार्गहरू अनुरूप आफ्नो जीवन बिताउन राजी भएकाले नै यो एकता कायम हुन सकेको हो।—प्रकाश १५:३, ४ सङ्‌ग तुलना गर्नुहोस्‌।

२ केही २,७०० वर्षअघि मीका अगमवक्‍ताले गरेको भविष्यवाणीको यो पूर्ति हो। “पछिल्ला दिन”-हरूलाई सङ्‌केत गर्दै तिनले लेखे: “धेरै जातिहरू आएर भन्‍नेछन्‌, ‘आओ, हामीहरू परमप्रभुको [यहोवाको, न्यु व.] पहाड़, याकूबका परमेश्‍वरको भवनमा जाऔं, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुन्छ र हामी उहाँको मार्गमा हिड़नेछौं।’” (मीका ४:१, २)a के तपाईं त्यो भइरहेको देख्नुहुन्छ?

३, ४. (क) “राष्ट्रहरू” यहोवातिर फर्किदै छन्‌ भन्‍ने कुरा कसरी सत्य साबित भएको छ? (ख) हामीले आफैलाई के प्रश्‍नहरू सोध्नु पर्दछ?

३ कुनै पनि “राष्ट्रका” जम्मै मानिसहरू यहोवाका आत्मिक घरमा उपासनाका लागि हाजिर भएका छैनन्‌। तर यी राष्ट्रहरूका केही व्यक्‍तिहरूले चाहिं सो गरिरहेका छन्‌। यहोवाको प्रेमपूर्ण उद्देश्‍य र ह्रदयग्राही व्यक्‍तित्वबारे सिक्दा तिनीहरू हृदयदेखि उत्प्रेरित हुन्छन्‌। परमेश्‍वर तिनीहरूबाट के चाहनु हुन्छ, त्यसको तिनीहरू नम्रतापूर्वक खोजी गर्दछन्‌। तिनीहरूले पनि एक जना विश्‍वासी व्यक्‍ति, दाऊदले झैं यसप्रकार प्रार्थना गर्छन्‌: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।”—भजन. १४३:१०.

४ यहोवाका उपासकहरूको त्यो विशाल भीडमा के तपाईं आफूलाई देख्नुहुन्छ? तपाईंले पाउनु भएका निर्देशनहरूको स्रोत यहोवा नै हुनुहुन्छ भन्‍ने कुराको के तपाईं मूल्याङ्‌कन गर्नुहुन्छ? के यो मूल्याङ्‌कनको प्रमाण ती निर्देशनहरूप्रति तपाईंले व्यक्‍त गर्नुहुने प्रतिक्रियामा देख्न सकिन्छ? तपाईं कुन हदसम्म ‘उहाँका मार्गहरूमा हिंड्‌नु’ हुँदैछ?

यो कसरी प्राप्त हुन्छ

५. (क) अन्ततोगत्वा, उपासनामा एकता कुन हदसम्म प्राप्त हुनेछ? (ख) अहिले नै यहोवाको उपासक हुनु किन अत्यन्त जरुरी छ, र सोही गर्न अरूहरूलाई पनि हामीले कसरी मद्दत दिन सक्‍तछौं?

५ सोच्ने क्षमता भएका सारा सृष्टि एकताबद्ध भएर उपासना गरून्‌, कोही पनि असत्यताको शिकार नहोउन्‌ अथवा जीवनको सही अर्थको खोजीमा कसैलाई पनि असफल हुन नपरोस्‌—यही नै यहोवाको उद्देश्‍य हो। हामी त्यो दिन हेर्न कति इच्छुक छौं जब बाँच्ने सबैले एक मात्र साँचो परमेश्‍वरलाई धन्य भन्‍नेछन्‌! (भजन. १०३:१९-२२) तर त्यसो हुनुभन्दा पहिले यहोवाले उहाँका मायालु राज्याधिकारलाई तिरस्कार गर्ने मानिसहरू र अर्काको जीवन बिगार्नमा जोर गर्नेहरूलाई उहाँको सृष्टिबाट हटाउनै पर्छ। तर आफूले गर्नुहुने कुराको उहाँले दयापूर्वक अग्रिम सूचना दिनुहुन्छ। हरेक ठाउँका मानिसहरूलाई आफ्नो जीवन पद्धतिमा परिवर्तन ल्याउने मौका छ। अतः, हाम्रै समयमा यो अत्यावश्‍यक आह्वान विश्‍व-व्यापी रूपमा गरिंदै छ: “परमेश्‍वरसङ्‌ग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत्‌ गर।” (प्रकाश १४:६, ७) के तपाईंले त्यो निमन्त्रणा स्वीकार गर्नु भएको छ? छ भने, यहोवाको सङ्‌गठनसित मिलेर यही निमन्त्रणा अरूहरूलाई पनि स्वीकार गर्न मद्दत दिने सुअवसर अब तपाईंलाई पनि छ।

६. बाइबलका आधारभूत शिक्षाहरू सिकी सकेपछि अझ के प्रगति गर्न हामीले उत्कट प्रयत्न गर्नु पर्दछ?

६ यहोवामाथि विश्‍वास गर्दछौं र पार्थिव प्रमोदवनमा बस्न चाहन्छौं चाहिं भन्‍ने तर आफ्नो स्वार्थपूर्ण उद्देश्‍यमा लागिरहने व्यक्‍तिहरूलाई आफ्नो सङ्‌गठनमा ल्याउने परमेश्‍वरको उद्देश्‍य छैन। मानिसहरूले “उहाँको इच्छाको ज्ञान” लिएको र त्यो ज्ञान तिनीहरूको जीवनमा प्रतिबिम्बित भएको उहाँ चाहनुहुन्छ। (कल. १:९, १०) हृदयमा मूल्याङ्‌कनको भाव भएका व्यक्‍तिहरूले बाइबलका मौलिक शिक्षाहरू सिकेपछि तिनीहरू मसीही परिपक्वतातर्फ बढ्‌न चाहन्छन्‌। यहोवालाई नजिकबाट चिन्‍न, उहाँको वचनको गहिरो र विस्तृत ज्ञान लिन, र त्यसलाई आफ्नो जीवनमा अझ पूर्ण रूपले प्रयोग गर्न तिनीहरू इच्छुक हुन्छन्‌। तिनीहरू स्वर्गमा हुनुहुने आफ्ना पिता सरह हुन चाहन्छन्‌। तिनीहरू आफ्नो जीवनमा उहाँका गुणहरूलाई प्रयोगमा ल्याउन र उहाँकै जस्तो दृष्टिकोण अपन्याउन चाहन्छन्‌। अतः, हाम्रा दिनमा जुन काम उहाँले यस पृथ्वीमा गराउँनु हुँदै छ, त्यही काममा हर तरिकाले सक्दोभर भाग लिने प्रयास गर्न तिनीहरू प्रेरित हुन्छन्‌। के तपाईं पनि त्यसै गर्नु हुँदैछ?—एफि. ५:१; हिब्रू ५:१२–६:३; १ तिमो. ४:१५.

७. अहिले पनि साँचो एकता कुन कुन ढङ्‌गमा सम्भव छ, र यो कसरी कायम गर्न सकिन्छ?

७ यहोवालाई सेवा गर्नेहरू सबै एकताबद्ध हुनु पर्दछ भनी बाइबलले देखाउँछ। (एफि. ४:१-३) हामीहरू आज एउटा विभाजित संसारमा बसेर आफ्नो असिद्धताहरूसित अझै पनि सङ्‌घर्ष गरिरहेको भए तापनि यो एकता कायम नै हुनु पर्दछ। आफ्ना चेलाहरू साँचो एकताको आनन्द उठाउँदै एक हुन सकून्‌ भनी येशूले एकाग्रचित्तसाथ प्रार्थना गर्नुभयो। तिनीहरू यसप्रकार एक हुनुको अर्थ के थियो? सर्वप्रथम, यहोवा र उहाँका पुत्रसङ्‌ग तिनीहरूले एउटा राम्रो सम्बन्ध कायम राख्नु परेको थियो। साथै तिनीहरू आपसमा एक अर्कासित एकताबद्ध हुनु परेको थियो। (यूह. १७:२०, २१) यसप्रकारको एकता आज कायम हुँदै छ किनकि तिनीहरूले यहोवाको “घरमा” पाएका निर्देशनहरूलाई प्रयोगमा ल्याइरहेका छन्‌।

एकताबद्ध गराउनमा कुन्‌-कुन्‌ कुराले योगदान दिन्छ?

८. (क) हामीलाई असर पार्ने खालका प्रश्‍नहरूका उत्तरहरूबारे तर्कानुसार छलफल गर्दा बाइबललाई हामीले व्यक्‍तिगत रूपमा प्रयोग गर्‌यौं भने हामी आफूमा के को विकास गर्दछौं? (ख) माथि उल्लिखित प्रश्‍नहरूको उत्तर दिंदै मसीही एकतामा सहयोग पुर्‌याउने कारणहरूको विश्‍लेषण गर्नुहोस्‌।

८ एकताबद्ध गराउनुमा योगदान दिने केही मुख्य कुराहरू तल दिइएका छन्‌। त्यसपछि उल्लिखित प्रश्‍नहरूको जवाफ दिनु हुँदा यहोवा र सङ्‌गी मसीहीहरू सितको तपाईंको सम्बन्धमा ती प्रत्येकले के असर पार्दछन्‌ विचार गर्नुहोस्‌। त्यहाँ उल्लेख गरिएका शास्त्र पदहरूका आधारमा यी बुँदाहरूमाथि मनन गर्नाले ईश्‍वर सम्बन्धी विषय-वस्तुबारे तपाईंको सोच्ने शक्‍ति र विवेक बढ्‌न सक्छ र यी गुणहरू आखिर हामी सबैका लागि आवश्‍यक छन्‌। (हितो. ५:१, २; फिलि. १:९-११) अतः यी कुराहरूलाई अब एक-एक गरी विचार गर्नुहोस्‌:

(१) हामी सबै यहोवाको उपासना गर्दछौं र असल के हो र खराब के हो, सो तोकिदिने अधिकार उहाँकै हो भनी स्वीकार्दछौं।

कुनै विषयमा यहोवाले दिनु भएको सल्लाहलाई हामीले सानो कुरा ठानेर त्यसको अवहेलना गर्‌यौं भने यहोवाले यसलाई कुन दृष्टिकोणले हेर्नु हुनेछ? (लूका १६:१०; मलाकी १:६-८ सङ्‌ग तुलना गर्नुहोस्‌।)

यहोवाका आज्ञाहरूलाई हामीले सधैं मान्‍ने गरेनौं भने के यसको प्रभाव अरूहरू माथि पनि पर्न सक्छ? (रोमी ५:१२ सङ्‌ग तुलना गर्नुहोस्‌; यहोशू ७:२०-२६; १ राजाहरू १४:१६।)

(२) हामीहरू संसारमा जहाँ भए तापनि हामीलाई निर्देशन दिन हामीसित परमेश्‍वरको वचन छ।

हामीले कुनै कुराको निर्णय गर्दा आफूलाई जे “ठीक लाग्छ” त्यसैको आधारमा फैसला गर्नुमा के खतरा छ? (यर्मि. १७:९; हितो. १४:१२)

कुनै कुरामा बाइबलले के सल्लाह दिन्छ भनी हामीलाई थाहा छैन भने हामीले के गर्नु पर्दछ? (हितो. २:३-५)

(३) एकै प्रकारको आध्यात्मिक भोजन खुवाउने कार्यक्रमबाट हामी सबैले लाभ उठाउँदछौं।

आत्मिक भोजन खुवाउने यहोवाको प्रबन्धको मूल्याङ्‌कन नगर्नेहरूको माझमा कुन प्रकारका स्थितिहरू विद्यमान हुन्छन्‌? (यशैया १:३; ९:१६; ६५:१४ सङ्‌ग तुलना गर्नुहोस्‌।)

(४) हाम्रो नेता कुनै मानव होइन, येशू हुनुहुन्छ र हामी सबै उहाँद्वारा नै यहोवाको उपासना गर्दछौं।

व्यक्‍तिगत रूपमा हामी एकअर्काभन्दा श्रेष्ठ छौं भनी ठान्‍ने ठोस कारण हामीमध्ये कसैसित छ र? (रोमी ३:२३, २४; १२:३; मत्ती २३:८-१०)

(५) हामीहरू जहाँ बसे तापनि परमेश्‍वरको राज्य नै मानिस जातिका निम्ति एक मात्र आशा हो भनी विश्‍वास गर्दछौं।

फूट उत्पन्‍न गराउने प्रभावहरूबाट यसले हामीलाई कसरी सुरक्षित राख्तछ? (मत्ती ६:९, १०; मीका ४:३)

(६) यहोवाका उपासकहरूमा पवित्र आत्माले मसीही एकताका निम्ति चाहिने महत्त्वपूर्ण गुणहरू उत्पन्‍न गराउँछ।

पवित्र आत्माको फल उत्पन्‍न गराउन हामीहरूले परमेश्‍वरको आत्माका निम्ति कसरी बाटो खोल्दछौं? (भजन. १:२; हितो. २२:४; प्रकाश ३:६; प्रे. ५:३२)

हामीमा आत्माको फल हुँदा, यसले यहोवासितको र भाइहरूसितको हाम्रो सम्बन्धमा कसरी असर पार्दछ? (गला. ५:२२, २३)

(७) परमेश्‍वरको राज्यको सुसमाचार प्रचारगर्ने जिम्मावारी हामी सबैको हो।

अरू सङ्‌गी मसीहीहरूसित मिलेर यो प्रचार कार्यमा व्यस्त रहनाले तिनीहरूबारे हाम्रो धारणामा के प्रभाव पर्न सक्‍तछ? (कलस्सी ४:७, ११ सङ्‌ग तुलना गर्नुहोस्‌।)

९. यी सत्य कुराहरूलाई आफ्नो जीवनमा साँच्चै नै प्रयोग गर्दा यसको असर के हुन्छ?

९ यी तथ्यहरूलाई स्वीकार गर्नु एउटा कुरा हो। तर ती अनुसार जीवन सञ्चालन गर्नमा अझै धेरै कुराको आवश्‍यकता पर्दछ। त्यसप्रकार जीवन सञ्चालन गर्दा यहोवासितको हाम्रो आत्मीयता बढ्‌दछ। सङ्‌गी विश्‍वासीहरू सितको हाम्रो सङ्‌गत पनि आरामदायी हुन जान्छ। भजनसंग्रह १३३:१-मा भने जस्तै: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!” संसार र त्यसको सारा स्वार्थपनाबाट उम्केर यहोवालाई साँचो प्रेम गर्नेहरूका सभाहरूमा उपस्थित हुनु कति आरामदायक हुन सक्छ भन्‍ने कुरा के तपाईं आफैले अनुभव गर्नु भएको छैन र?

फूट उत्पन्‍न गराउने प्रभावहरूबाट अलग्ग रहनुहोस्‌

१०. स्वतन्त्रताको भावनाबाट अलग्ग बस्न हामी किन होसियार हुनु पर्दछ?

१० त्यो अनमोल एकतालाई नबिगार्नका निम्ति फूट उत्पन्‍न गराउने प्रभावहरू​बाट हामीहरू अलग्ग रहनु पर्दछ। यी प्रभावहरूमध्ये मुख्यतः स्वतन्त्रताको भाव हो। यस प्रभावको प्रवर्तक, शैतान अर्थात्‌ दियाबलको पर्दाफास गर्नु भएर यहोवाले हामीलाई यसबाट अलग्ग बस्ने मद्दत दिनुहुन्छ। परमेश्‍वरले भन्‍नुभएको कुराको उपेक्षा गर्दै आफ्ना लागि आफैले निर्णय गर्नमा फायदा छ भन्‍ने सोचाइ हव्वाको मनमा हालिदिएर उसलाई ठग्ने यही शैतान हो। त्यो विद्रोही मार्गमा आदमले पनि उसलाई साथ दियो। यसको परिणाम तिनीहरू र साथै हाम्रालागि समेत विपत्तिजनक हुन गयो। (उत्प. २:१६, १७; ३:१-६, १७-१९) स्वतन्त्रताको भावनाले सम्पूर्णतया ओतप्रोत भएको संसारमा हामी बाँची रहेका छौं। अतः हामी आफैमा पनि त्यस भावनालाई दबाउन आवश्‍यक पर्नु सक्छ र सो गर्ने मद्दत यहोवाले प्रेमपूर्वक आफ्नो सङ्‌गठनद्वारा हामीलाई सल्लाहको रूपमा दिनुहुन्छ।

११. परमेश्‍वरको धार्मिक नयाँ संसारमा जीवन बिताउनका निम्ति हामी साँच्चै नै तयारी गरिरहेका छौं कि छैनौं भनेर केले देखाउने छ?

११ वर्तमान वातावरणलाई हटाएर “धार्मिकताले बास गर्ने” एउटा नयाँ स्वर्ग र एउटा नयाँ पृथ्वी स्थापित गर्ने यहोवाको महान प्रतिज्ञाबारे त्यस सङ्‌गठनद्वारा हामीहरूले सिकेका छौं। (२ पत्रु. ३:१३) चाँडै नै यो दुष्ट संसारको अन्त भएर यो पृथ्वी एउटा प्रमोदवनमा परिणत हुनेछ भन्‍ने आशामा हामी पुलकित हुन्छौं। तर धार्मिकता नै दिनहुँ व्यवहारमा ल्याइने संसारमा बस्नका लागि हामी साँच्चै नै तयार भइरहेका छौं भनी के हाम्रो जीवनशैलीले देखाउँदछ? बाइबलमा स्पष्ट रूपले भनिएको छ: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन।” (१ यूह. २:१५) यो साँचो हो कि यस संसारमा धेरै कुराहरू यस्ता छन्‌ जसलाई हामी कसैले पनि मन पराउँदैनौं। तर हाम्रो आफ्नो जीवनको आनन्दलाई प्रत्यक्ष रूपमा बाधा दिने कुराहरूलाई मात्र हामीले मन नपराएको हो कि? अथवा के हामी संसारको भाव—अर्थात्‌ त्यसको स्वतन्त्र मनोवृत्ति र आफ्नै बारे अत्यधिक चासो राख्ने झुकावलाई पनि परित्याग गर्छौं? आफ्नो शरीरमा प्रतिकूल झुकावहरू हुँदाहुँदै पनि, के हामी यहोवालाई सुन्‍ने र उहाँको आज्ञा हृदयबाट नै पालन गर्ने बानी बसाल्दैछौं? हामी जहाँ बसे तापनि, जे गरे तापनि हाम्रो सोचाइ र हाम्रो नियत परमेश्‍वरमा केन्द्रित छ भन्‍ने कुरा हाम्रो सारा जीवन पद्धतिद्वारा प्रमाणित हुनु पर्दछ।—हितो. ३:५, ६.

१२. (क) यहोवाका मार्गहरूलाई सिक्ने र आफ्नो जीवनमा तिनीहरूको अनुसरण गर्ने मौका आज नै छोप्नु किन महत्त्वपूर्ण छ? (ख) अनुच्छेदमा उल्लिखित पदहरूले हाम्रा लागि व्यक्‍तिगत रूपमा के अर्थ राख्तछन्‌?

१२ यस दुष्ट रीतिरिवाज र त्यसलाई मन पराउने सबैलाई नष्ट गर्ने यहोवाको समय आएपछि उहाँले अबेर गर्नु हुनेछैन। आफूलाई अझै संसारसितै टाँसिराख्नेहरू, वा आधा मनले मात्र परमेश्‍वरको इच्छा सिक्न र त्यसलाई प्रयोगमा ल्याउन चाहनेहरूका लागि उहाँले त्यस समयलाई नता स्थगित गर्नु हुनेछ, न आफ्ना स्तरहरू बदलनु हुनेछ। जे गर्नु छ, सो गर्ने बेला अहिले नै हो! (लूका १३:२३, २४; १७:३२; २१:३४-३६) अतः, “ठूलो भीड़”-का मानिसहरूले यो अनमोल अवसरको फायदा उठाउँदै यहोवाले आफ्नो मायालु सङ्‌गठन​द्वारा दिइरहनु भएका निर्देशनहरूलाई उत्सुकतासाथ खोजी गरेर उहाँको बाटोमा एकताबद्ध भएर हिंडेको देख्दा हृदय आनन्दले गद्‌गद्‌ हुन्छ!

[फुटनोट]

a यस पुस्तकमा उद्धृत गरिएका पदहरू न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स, १९८१-को संस्करणबाट लिइएका हुन्‌।

पुनरावलोकन एवं छलफल

• उपासनाको सम्बन्धमा यहोवाको उद्देश्‍य के छ?

• बाइबलका आधारभूत शिक्षाहरूको ज्ञान सिकी सकेपछि अझ के थप प्रगति गर्ने उत्कट प्रयास हामीले गर्नु पर्दछ?

• एकता कायम गर्नमा योगदान दिने जुनजुन कुराहरूको हामीले छलफल गर्‌यौं, ती कुराहरूको प्रभाव हाम्रो जीवनमा पर्न दिनका लागि हामीले व्यक्‍तिगत रूपमा के गर्नु पर्छ?

[पृष्ठ ४-मा भएको पृष्ठभरिको चित्र]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने