प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    राज्य सेवकाई—१९९६ | जनवरी
    • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌

      १ अखबार पसलमा तपाईं के देख्नुहुन्छ? पत्रिकाहरू। सडकको पेटीमा कुन कुराले तपाईंलाई आकर्षित गर्छ? पत्रिकाहरूले। कुन कुराको थुप्रो बोकेर हुलाकीहरूको ढाडै भाँचिएलाजस्तो हुन्छ? पत्रिकाहरू। त्यसोभए, अधिकांश मानिसहरू के पढ्‌छन्‌? पत्रिकाहरू। सर्वेक्षणअनुसार १० देखि १८ वर्षसम्मका १० जना किशोरकिशोरीहरूमध्ये ९ जनाले प्रत्येक महिना कम्तीमा एउटा पत्रिका पढ्‌छन्‌ र वयस्कहरूबारे पनि त्यसै भन्‍न सकिन्छ। अधिकांश मानिसहरू पत्रिकाप्रति सजग छन्‌।

      २ के हामी इमानदार हृदय भएका मानिसहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरूप्रति सजग बनाउनसक्छौं? सक्छौं, यदि हामी प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरूप्रति सजग छौं भने अवश्‍य सक्छौं। हामीलाई कुन कुराले मदत दिनसक्छ? यी सुझावहरूलाई ध्यान दिनुहोस्‌:

      ▪ पत्रिकाहरू पढ्‌नुहोस्‌: एक परिभ्रमण निरीक्षकको प्रतिवेदनअनुसार तिनको क्षेत्रमा औसतन हरेक ३ मध्ये १ प्रकाशकले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! सुरुदेखि अन्तसम्म पढ्‌छन्‌। के तपाईं पनि त्यसरी नै पढ्‌नुहुन्छ? प्रत्येक लेख पढेपछि आफैलाई सोध्नुहोस्‌, ‘आमा, अज्ञेयवादी, व्यापारी र जवानमध्ये कसले यो जानकारी रुचाउलान्‌?’ तपाईंले पत्रिका प्रस्तुत गर्दा चलाउनसक्ने एक दुइटा बुँदा आफ्नो व्यक्‍तिगत प्रतिमा चिन्ह लगाउनुहोस्‌। त्यसपछि एक दुइटा वाक्य मात्र बताएर पनि कसरी चासो जगाउन सकिएला, सोच्नुहोस्‌।

      ▪ निश्‍चित मात्रामा पत्रिकाहरू अर्डर गर्नुहोस्‌: प्रत्येक अंक कति प्रति चाहिने हो, व्यवहारिक भएर निधो गर्नुहोस्‌। त्यसपछि पत्रिका सँभाल्ने भाइलाई आफ्नो अर्डर दिनुहोस्‌। यसो गर्नुभयो भने तपाईं र तपाईंको परिवारले नियमित तवरमा पर्याप्त पत्रिकाहरू पाउनुहुनेछ।

      ▪ नियमित तवरमा पत्रिका दिनको तालिका बनाउनुहोस्‌: अधिकांश मण्डलीहरूले पत्रिका साक्षीका निम्ति अलग्गै एक दिन छुट्टाएका हुन्छन्‌। के तपाईं मण्डलीले प्रबन्ध गरेको पत्रिका दिनमा भाग लिन सक्नुहुन्छ? सक्नुहुन्‍न भने, प्रचार जाँदा, बेलाबेलामा केही समय सडकमा उभिएर पत्रिकाद्वारा साक्षी दिनुका साथै ढोका-ढोका तथा पत्रिका रूटमा पनि व्यक्‍तिगत तवरमा पत्रिका बाँड्‌ने प्रयास गर्नुहोस्‌।

      ▪ “प्रहरीधरहरा” तथा “ब्यूँझनुहोस्‌!”-प्रति सजग हुनुहोस्‌: यात्रा गर्दा वा बजार जाँदा केही प्रति पत्रिकाहरू बोक्नुहोस्‌। सहकर्मी, छिमेकी, सहपाठी वा शिक्षकहरूसित कुराकानी गर्दा त्यसलाई प्रस्तुत गर्नुहोस्‌। प्रायः यात्रा गरिरहने एक दम्पतीले ताजा पत्रिकाबाट एक दुइटा बुँदा चलाएर सहयात्रीसित कुरा सुरु गर्छन्‌। यसो गरेर तिनीहरूले निकै रमाइला अनुभवहरू बटुलेका छन्‌। केही केटाकेटीहरूले आफ्ना शिक्षकहरू वा सहपाठीहरूलाई चासो लाग्नसक्ने लेखहरू सधैं स्कूलमा लैजान्छन्‌। आफ्नै टोलमा पसल जाँदा पनि पत्रिकाहरू बोक्ने गर्नुहोस्‌ र किनमेल गरिसकेपछि पसलेलाई देखाउनुहोस्‌। हामीमध्ये धेरैजसो नियमित तवरमा पेट्रोल भर्न जान्छौं। त्यसोभए पेट्रोल पम्पमा काम गर्ने कर्मचारीहरूलाई पत्रिका दिए कसो होला? नातेदारहरू भेट्‌न आउँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा वा कसैको प्रतीक्षा गर्दा पत्रिका आफूसित राख्नुहोस्‌। यसबाहेक अन्य कुनै उपयुक्‍त मौकाहरू सम्झन सक्नुहुन्छ कि?

      ▪ पत्रिका प्रस्तुत गर्न छोटो प्रस्तुति तयार पार्नुहोस्‌: थोरै तर राम्ररी भन्‍ने योजना बनाउनुहोस्‌। उत्साही हुनुहोस्‌। हृदय छुनुहोस्‌। अनि घुमाएर कुरा नगर्नुहोस्‌। लेखबाट कुनै एउटा बुँदा छान्‍नुहोस्‌ र थोरै शब्दमा पत्रिका प्रस्तुत गर्नुहोस्‌। प्रस्तुति तयार गर्ने सबैभन्दा राम्रो तरिका, चाखलाग्दो प्रश्‍न गरेर त्यसको शास्त्रीय जवाफ दिने लेख देखाउनु हो। यो कसरी गर्न सकिन्छ, केही उदाहरणहरू हेर्नुहोस्‌:

      ३ बढ्‌दो अपराध दरबारे बताउने लेखमाथि प्रकाश पार्दै हुनुहुन्छ भने तपाईं यसरी सोध्न सक्नुहुन्छ:

      ▪“कुनै अपराधको डरबिना राती ढुक्क भएर सुत्न के कस्तो व्यवस्था हुनुपर्छ जस्तो तपाईंलाई लाग्छ?” परिस्थिति सुध्रिएला जस्तो नलागेकोले घरधनी निराश भएका होलान्‌। थुप्रै मानिसहरू पनि त्यस्तै महसुस गर्छन्‌ भनेर तपाईं जवाफ दिन सक्नुहुन्छ र तिनलाई चाखलाग्ने केही जानकारी आफूसित छ भनेर पनि थप्न सक्नुहुन्छ। त्यसपछि, लेखबाट उपयुक्‍त बुँदा देखाउनुहोस्‌।

      ४ पारिवारिक जीवनसित सम्बन्धित लेख प्रस्तुत गर्दा तपाईंले यसो भन्‍नुभए हुन्छ:

      ▪“अधिकांश मानिसहरूलाई आजभोलि जीवन धान्‍न र परिवार चलाउन धौधौ परिरहेको छ। यस विषयमा थुप्रै कितापहरू लेखिए तापनि हाम्रा समस्याहरूको समाधानबारे विशेषज्ञहरू आफै सहमत छैनन्‌। त्यसोभए अरू कुनै भरपर्दो स्रोत छ कि?” यति भनेपछि पत्रिकाबाट त्यससित सम्बन्धित टिप्पणी देखाउनुहोस्‌।

      ५ सामाजिक समस्याबारे बताउने लेख प्रस्तुत गर्दा तपाईंले यसो भन्‍न सक्नुहुन्छ:

      ▪“आज प्रायजसो मानिसहरू दबाबमा परेका छन्‌। हामी यसरी बाँचोस्‌ भनेर परमेश्‍वरले कहिल्यै चाहनुभएको थिएन।” यति भनेपछि लेखमा दिइएको जानकारीले अहिले कसरी जीवनका समस्याहरूसित जुझ्न मदत गर्छ अनि भावी स्थायी समाधानबारे के आशा दिन्छ, देखाउनुहोस्‌।

      ६ सडक साक्षी प्रभावकारी हुन्छ: प्रकाशकहरूलाई पत्रिकाद्वारा सडकमा साक्षी दिन हरेक हप्ताको एक दिन छुट्याउने प्रोत्साहन जनवरी, १९४० को इन्फोर्मेन्ट-मा (हाम्रो राज्य सेवकाई) पहिलो चोटि दिइएको थियो। के तपाईं बेला बेलामा सडक साक्षी कार्यमा भाग लिनुहुन्छ? लिनुहुन्छ भने, के तपाईंको साक्षी दिने तरिका साँच्चै प्रभावकारी छ? ओहरदोहर गरिरहेका थुप्रै मानिसहरूलाई वास्ता नगरेर व्यस्त सडकमा सडक साक्षी दिन उभिएका केही प्रकाशकहरू आपसमा गफ गर्न मस्त भएको देखिएको छ। पत्रिका हातमा लिएर दुइ जना सँगै उभिनुको साटो एकअर्कादेखि टाढा बसेर मानिसहरूलाई भेट्‌नु अझ प्रभावकारी हुन्छ। एक्लो व्यक्‍ति कुरा गर्न आउँदा अपरिचित मानिसहरूले केही बेर रोकेर सुन्‍नसक्छन्‌। तर गफमा मस्त भइरहेको झुन्डको कुरा सुन्‍न कमै मानिसहरू अग्रसर होलान्‌। सडकमा उभिंदा हामीले धेरै मानिसहरूको ध्यानाकर्षण गर्ने हुँदा हाम्रो कोरीबाटी, लुगाफाटा परमेश्‍वरको सेवक भन्‍न सुहाउने खालको हुनु असाध्यै खाँचो छ।—१ तिमो. २:९, १०.

      ७ ढोकामा पत्रिका वितरण गर्ने: पत्रिका दिने एउटै मात्र तरिका सडक साक्षी कार्य होइन। घर-घरको सेवकाईमा पनि पत्रिकाहरू प्रस्तुत गर्न सकिन्छ र गर्नु पनि पर्छ। मानिसहरूको घरमा गएर कुरा गर्दा सामान्यतः हामी तीनदेखि आठ मिनेट कुरा गर्ने, एक दुइटा शास्त्रपद देखाउने अनि त्यसपछि उपरोक्‍त महिनामा पुस्तक, पुस्तिका प्रस्तुत गर्नुपर्ने हो वा पत्रिकाको ग्राहक बनाउनुपर्ने हो, त्यसै गर्छौं। तर मण्डलीले पत्रिका वितरण गर्न कुनै एक दिन छुट्याउँदा (प्रायः मण्डलीहरूले हरेक शनिबार गर्ने गर्छन्‌) तपाईंले अपरान्ह सडक कार्यमा जाने तर बिहान चाहिं पत्रिका मात्र चलाएर घर-घरमा प्रचार गर्ने योजना गर्नु भए हुन्छ। यसरी ढोका-ढोकामा पत्रिका कार्य गर्दा हाम्रो प्रस्तुति छोटो अर्थात्‌ ३० सेकेण्डदेखि ६० सेकेण्ड मात्र लामो हुनेछ र सामान्यतः कुनै शास्त्रपद प्रयोग नगरी हामी पत्रिका प्रस्तुत गर्नेछौं। अनि कसैले चासो देखाएमा उसको नाउँ, ठेगाना टिपेर पछि फेरि भेट्‌न जानुपर्छ। अथवा कुनै अर्को समय मिलाएर त्यही इलाकामा जानसक्छौं र त्यस महिना कुन साहित्य प्रस्तुत गर्नुपर्ने हो, त्यसलाई चलाएर बिस्तारै प्रचार गर्नसक्छौं। तर घर-घरमा छिटोछिटो पत्रिका वितरण गर्ने कार्यलाई कहिल्यै कम महत्त्वको सम्झनु हुँदैन। वास्तवमा, सडक साक्षी दिनुभन्दा ढोका-ढोकामा पत्रिका प्रस्तुत गर्दा पछि निम्न कुराहरू गर्न सजिलो हुन्छ:

      ८ पत्रिका रूट: कुनै इलाकामा नियमित तवरले प्रचार भइरहेको छ भने पनि त्यहाँ पत्रिका रूट हुने भाइबहिनीहरूले थुप्रै पत्रिका वितरण गर्छन्‌। पत्रिका रूट छ भने गृह बाइबल अध्ययन सुरु गर्ने धेरै सम्भावनाहरू हुन्छन्‌।

      ९ पत्रिका पुऱ्‍याउन नियमित तवरले पुनःभेट गर्दा तपाईंले आफू र घरधनीबीच घनिष्ठता बढ्‌दै गएको पाउनुहुनेछ। तपाईं घरधनीसित जति बढी घनिष्ठ हुनुहुन्छ, त्यति नै तपाईंलाई धर्मशास्त्रबाट छलफल गर्न सजिलो हुनेछ। फलस्वरूप फलदायी गृह बाइबल अध्ययन सुरु हुनसक्छ। पुनःभेट गर्दा घरधनीले पत्रिकाको साँच्चै मूल्यांकन गरेको स्पष्ट देख्नुभयो भने, ग्राहक बन्‍ने प्रस्ताव राख्नुहोस्‌। अनि नबिर्सनुहोस्‌, हरेकपल्ट घरधनीलाई भेट्‌नु हुँदा तपाईंले त्यसलाई पुनःभेटको रूपमा रिपोर्ट गर्न सक्नुहुन्छ।

      १० एउटी बहिनी नियमित तवरमा एउटी महिलालाई पत्रिका दिने गर्थिन्‌। यो महिलाले पत्रिका स्वीकारेर सधैं यसो भन्‍ने गर्थिन्‌: “मलाई तपाईंको कुरा विश्‍वास लाग्दैन।” पछि एक पटक तिनलाई भेट्‌न जाँदा उक्‍त मसीही बहिनीले लोग्ने चाहिंलाई भेटाइन्‌। तिनीसित मित्रैलो कुराकानी गरेपछि बाइबल अध्ययन सुरु गर्ने प्रबन्ध मिलाइयो। अध्ययन गर्दै जाँदा मसीही बहिनीले तिनका तीन छोराहरूलाई साथी बनाइन्‌। पछि, आमा र तीनै जना छोराहरूले यहोवालाई जीवन समर्पण गरेर बप्तिस्मा लिए। अहिले त्यस परिवारका ३५ जना सदस्यहरूले सच्चाइ स्वीकारिसकेका छन्‌। त्यो मसीही बहिनीले पत्रिका रूट सुरु गरेकोले यो सबै हुनगयो!

      ११ पत्रिका रूट सुरु गर्ने थुप्रै तरिकाहरू छन्‌। कुन कुन घरमा पत्रिका दिनुभयो त्यसको रिकर्ड राखेर हरेक दुइ हप्तामा ताजा पत्रिका लिएर पुनःभेट गर्नुभयो भने मात्र पनि तपाईंको पत्रिका रूट सुरु हुनसक्छ। पुनःभेट गर्न “हाम्रो आउने अंकमा” भन्‍ने शीर्षकअन्तर्गत दिइएका जानकारी चलाउन सकिन्छ। अनि पछि भेट्‌न जाँदा गत हप्ता तपाईंले उल्लेख गर्नुभएको लेख आइपुग्यो भनेर घरधनीलाई बताउन सक्नुहुन्छ। अथवा पुनःभेट गर्दा तपाईंले यसो भन्‍न सक्नुहुन्छ: “यो लेख पढ्‌दा तपाईंलाई पनि यस विषयमा चाख लाग्ला कि भन्‍ने सोचेर म आएको . . . ।” त्यसपछि लेखबारे केही छोटो टिप्पणी गरेपछि पत्रिका दिनुहोस्‌। घरधनीसित कुरा गरिसकेपछि घर-घरको रिकर्ड पर्चीमा निम्न पाँच सरल बुँदाहरू लेख्नुहोस्‌: (१) घरधनीको नाउँ, (२) घरधनीको ठेगाना, (३) घरधनीलाई भेटेको मिति, (४) घरधनीलाई दिनुभएको पत्रिकाको अंक र (५) प्रस्तुत गर्नुभएको लेख। केही प्रकाशकहरूले निकै सफलतासाथ पत्रिका रूट सुरु गरेका छन्‌ र ४० वा त्योभन्दा धेरै मानिसहरूको नाउँ संकलन गरेका छन्‌!

      १२ व्यापारिक इलाका: व्यापारिक इलाकामा काम गर्ने प्रकाशकहरूले थुप्रै पत्रिकाहरू वितरण गर्छन्‌। के तपाईंले कहिल्यै पसल-पसलमा पत्रिका दिने कोसिस गर्नुभएको छ? प्राप्त विवरणअनुसार केही मण्डलीहरूले यस पक्षमा निकै कम मात्रामा भाग लिएका छन्‌। व्यापारीहरूसित कुरा गर्न सुरु-सुरुमा केही प्रकाशकहरू डराउँछन्‌। तर दुइ तीन चोटि कोसिस गरिसकेपछि त्यसरी कुरा गर्दा चाखलाग्दो अनि फलदायी भएको पाउँछन्‌। व्यापारिक इलाकामा काम थाल्न तपाईंले पनि अनुभवी प्रकाशक वा अग्रगामीसित मदत मागे कसो होला?

      १३ पसल पसलमा काम गर्दा निकै फाइदाहरू हुन्छन्‌। व्यापार गर्ने समयमा प्रायः सबै आफ्नो पसल वा कार्यालयमै हुन्छन्‌। व्यापारीहरू वा पसलेहरू आफूलाई खास त्यति चासो नलागे पनि प्रायः शिष्ट व्यवहार नै गर्छन्‌। सबेरै सुरु गर्नुहोस्‌। त्यसो गर्दा तिनीहरूले तपाईंलाई राम्ररी स्वागत गर्नेछन्‌। परिचय दिएपछि तपाईंले भन्‍न सक्नुहुन्छ, व्यापारीहरूलाई अक्सर घरमा नभेटिने हुँदा म तपाईंहरूको पसल, अफिसमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाको ताजा अंकहरू दिन एक छिन भेट्‌न आएको हुँ। व्यापारीहरू विश्‍वघटनाहरूबारे नवीनतम जानकारी राख्न रुचाउने तर आफूसित पढ्‌ने समय कम भएको हुँदा प्रायजसोले हाम्रो पत्रिकाको मूल्यांकन गर्छन्‌ भनेर बताउनुहोस्‌। हाम्रो पत्रिका धार्मिक, राजनैतिक वा व्यापारिक कुरामा निष्पक्ष हुनुका साथै यसले विचारोद्दीपक जानकारीलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्छ भनेर पनि बताउनुहोस्‌। व्यापारिक इलाकामा भेटिएका जिज्ञासुहरूसित पत्रिका रूट सुरु गर्न सकिन्छ।

      १४ परिवार मिलेर तयार गहोस्‌: ताजा पत्रिकाहरूको कुन चाहिं लेख तपाईंको इलाकालाई उपयुक्‍त हुनसक्छ, त्यसबारे छलफल गर्न तपाईंले पारिवारिक अध्ययनको दौडान केही समय छुट्याउन सक्नुहुन्छ। केटाकेटीलगायत परिवारको सबैले पालैसित आफ्नो प्रस्तुतिका साथै “म व्यस्त छु,” “हाम्रो आफ्नै धर्म छ,” वा “मलाई चासो छैन” जस्ता मानिसहरूले सामान्यतया व्यक्‍त गर्ने प्रतिक्रियाको जवाफ कसरी दिने हो, त्यो अभ्यास गर्नसक्छन्‌। सबैले एकअर्कोलाई सहयोग गरेमा पूरै परिवारले नियमित रूपले पत्रिका वितरणमा भाग लिनसक्छ।

      १५ पुस्तक अध्ययन सञ्चालकहरूले मदत गर्नसक्छन्‌: पत्रिका वितरण गर्ने दिनमा पूरै मण्डलीलाई राज्य भवनमा भेला गराउनुको साटो व्यवहारिक भएसम्म पुस्तक अध्ययन केन्द्र वा प्रचार इलाका नजीकै पर्ने प्रकाशकको घरमा क्षेत्र सेवा सभा गर्नुपर्छ। क्षेत्र सेवा सभा सञ्चालन गर्ने भाइले आफ्नो समूहका लागि खास सुझावहरू राम्ररी तयार गरेको हुनुपर्छ। त्यस्ता सुझावहरूमा नमुना प्रस्तुति र स्थानीय मानिसहरूको चासो जगाउन ताजा पत्रिकाहरूबाट चलाउन मिल्ने एक दुइटा बुँदाहरू समावेश गर्न सकिन्छ। समूहलाई प्रचार कार्यका लागि छुट्याउन लाग्ने समयलगायत सम्पूर्ण क्षेत्र सेवा सभा १५ मिनेटभन्दा लामो हुनु हुँदैन। क्षेत्र सेवकाईको दौडान समूहका सबैलाई पुग्ने इलाका छ वा छैन, अध्ययन सञ्चालकले पहिल्यै निश्‍चित गर्नुपर्छ।

      १६ पत्रिकाहरूप्रति मूल्यांकन देखाउनुहोस्‌: जुलाई १९९३ को हाम्रो राज्य सेवकाई-मा प्रकाशित “प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को सदुपयोग गर्ने” लेखमा यो महत्त्वपूर्ण टिप्पणी गरिएको थियो: “प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! महिना, दुइ महिना पछिसम्म वितरण भइसकेको छैन भने पनि, त्यसको मूल्य घट्‌दैन। त्यसमा भएको जानकारी समय बित्दै जाँदा कम महत्त्वपूर्ण हुने होइन। . . . यद्यपि, पुराना पत्रिकाहरू थुपारेर कहिल्यै प्रयोग नगर्नु चाहिं यी मूल्यवान्‌ साधनहरूको मूल्यांकन नगर्नु हो। पुराना अंकहरूलाई एकतर्फ पन्छाएर बिर्सनुको साटो जिज्ञासु व्यक्‍तिहरूलाई वितरण गर्ने विशेष यत्न गर्नु बेस होइन र?”

      १७ अहिले सच्चाइ खोज्ने इमानदार हृदय भएका मानिसहरू थुप्रै छन्‌। हाम्रो एउटा पत्रिकामा भएको जानकारीले तिनीहरूलाई सच्चाइमा आउन मदत गर्नसक्छ! यहोवाले हामीलाई रोमाञ्चकारी समाचार घोषणा गर्न दिनुभएको छ र हाम्रा पत्रिकाहरूले यी समाचार अरूसम्म पुऱ्‍याउने निर्णायक भूमिका निर्वाह गर्छन्‌। के तपाईंले भविष्यमा अझ सजग भई पत्रिका वितरण कार्यमा भाग लिनुहुनेछ? के तपाईं दिइएका सुझावहरू यही सप्ताहन्तमै प्रयोग गर्नुहुनेछ? त्यसो गर्नुभयो भने तपाईंले प्रशस्त आशिष्‌ पाउनुहुनेछ।

      व्यवहारिक सुझावहरू:

      ▪ पहिल्यै पत्रिका पढेर लेखहरूसित परिचित हुनुहोस्‌।

      ▪ तपाईंको समुदायमा सबैलाई चासो लाग्ने साधारण विषयसित सम्बन्धित लेख छान्‍नुहोस्‌।

      ▪ पुरुष, महिला अथवा किशोरकिशोरीजस्ता सबै खालका मानिसहरूलाई सुहाउने प्रस्तुति तयार गर्नुहोस्‌। पत्रिकाको विषयवस्तु घरधनीलाई किन उपयुक्‍त छ र कसरी पूरै परिवारले त्यसबाट लाभ उठाउनसक्छ, देखाउनुहोस्‌।

      ▪ अधिकांश मानिसहरूलाई घरैमा भेट्टाउन सकिने समयमा क्षेत्र सेवामा व्यस्त हुने योजना बनाउनुहोस्‌। केही मण्डलीहरूले साँझपख पत्रिका प्रयोग गरेर साक्षी कार्य गर्ने प्रबन्ध मिलाएका हुन्छन्‌।

      ▪ आफ्नो प्रस्तुतिलाई छोटो मीठो र चट्ट बुझ्न सकिने बनाउनुहोस्‌।

      ▪ हतारेर नबोल्नुहोस्‌। चासो नभएको व्यक्‍तिलाई हतारेर सुनाउँदा केही फाइदा हुँदैन। नआत्तिनुहोस्‌ र घरधनीलाई जवाफ दिने मौका दिनुहोस्‌।

      घर-घरमा पत्रिका प्रस्तुत गर्ने:

      ▪ मित्रैलो तरिकामा मुसुक्क हाँस्नुहोस्‌ र मीठो स्वरमा बोल्नुहोस्‌।

      ▪ पत्रिकाहरूको विषयमा उत्साही हुनुहोस्‌।

      ▪ स्पष्ट बुझ्नेगरि बिस्तारै बोल्नुहोस्‌।

      ▪ एउटा मात्र विषयमा कुरा गर्नुहोस्‌; छोटो कुरा गरेर चासो जगाउनुहोस्‌ र पत्रिकाको महत्त्व घरधनीलाई बुझाउनुहोस्‌।

      ▪ एउटै लेखमा मात्र जोड दिनुहोस्‌।

      ▪ एउटा पत्रिका मात्र देखाउनुहोस्‌ र अर्को पत्रिका चाहिं साथी पत्रिकाको रूपमा प्रस्तुत गर्नुहोस्‌।

      ▪ घरधनीलाई पत्रिका दिनुहोस्‌।

      ▪ तपाईं फेरि भेट्‌न चाहनुहुन्छ भनेर घरधनीलाई अवगत गराउनुहोस्‌।

      ▪ पत्रिका लिन अस्वीकार गरेमा मित्रैलो र सकारात्मक बिदावारी गर्नुहोस्‌।

      ▪ जिज्ञासुहरू र तिनीहरूले वितरण गरेको साहित्य घर-घरको रिकर्ड पर्चीमा राम्ररी टिपोट गर्नुहोस्‌।

      पत्रिकाहरू प्रस्तुत गर्न पाइने मौकाहरू:

      ▪ घर-घरको साक्षी कार्य

      ▪ सडक साक्षी कार्य

      ▪ पसल-पसल कार्य

      ▪ पत्रिका रूट

      ▪ सन्ध्याकालीन साक्षी कार्य

      ▪ पुनःभेट गर्दा

      ▪ पुराना बाइबल विद्यार्थीलाई भेट्‌न जाँदा

      ▪ यात्रा, किनमेल गर्दा

      ▪ आफन्त, सहकर्मी, छिमेकी, सहपाठी तथा शिक्षकशिक्षिकाहरूसित कुराकानी गर्दा

      ▪ सार्वजनिक सवारी साधनमा यात्रा गर्दा, प्रतीक्षालयमा कसैलाई कुर्दा

  • कम्प्युटर प्रविधिप्रति सन्तुलित दृष्टिकोण कायम राख्नु
    राज्य सेवकाई—१९९६ | जनवरी
    • कम्प्युटर प्रविधिप्रति सन्तुलित दृष्टिकोण कायम राख्नु

      १ प्रेरित पावलले प्रथम शताब्दीका मसीहीहरूलाई “समय कम भएको” हुँदा नअल्मलिन आग्रह गरे। (१ कोरि. ७:२९) यस रीतिरिवाजको अन्त नजिकिंदै जाँदा हामीले ‘पहिले परमेश्‍वरको राज्य र धार्मिकता खोजी गर्नु’ र ‘समयको अवसरलाई विचार गर्नु’ नितान्त आवश्‍यक छ! समय बहुमूल्य छ।—मत्ती ६:३३; एफि. ५:१५, १६.

      २ निकै समय बचत हुने भएकोले वैज्ञानिक प्रविधिको गुनगान गरिन्छ। उदाहरणका लागि, कम्प्युटरको एउटै मात्र स्विच थिच्दा पनि त्यस कम्प्युटर प्रयोग गर्ने व्यक्‍तिले विभिन्‍न जानकारीहरूका भण्डार तत्कालै खोलिएको पाउँछ। अरू माध्यमबाट घण्टौं वा हप्तौं लाग्ने कुराहरू कम्प्युटरमा केही सेकेण्डभित्रै पूरा गर्न सकिन्छ। उचित तरिकाले चलाइएको खण्डमा ती मदतकारी औजार साबित हुनसक्छन्‌।

      ३ के यसले साँच्चै समय बचत गर्नेछ?: अर्कोतिर हेर्ने हो भने, यस्ता प्रविधिहरू एकमुष्ठ रकम वा निकै समय खर्च नगरी त्यसै प्रयोग गर्न सकिन्‍न। कम्प्युटरलाई कुनै कुनै काम कसरी गराउने हो, त्यो सिक्न घण्टौं लाग्नसक्छ। यसको अतिरिक्‍त यसप्रकारको प्रविधिमै लग्गू हुने मानिसले अन्य असल काममा खर्च गर्नुपर्ने समय पनि बरबाद गरिरहेको हुनसक्छ। त्यसकारण ‘बुद्धिमान मानिसले जस्तो समयको अवसरलाई विचार गरेर’ हिंड्‌न प्रेरित पावलले दिएको सल्लाहमा बिथोलित सिद्धान्तलाई ध्यानमा राख्ने हो भने हामी सन्तुलित हुनैपर्छ।—हेर्नुहोस्‌ १ कोरिन्थी ७:३१.

      ४ मण्डलीको अभिलेख राख्न राम्रै विचारधारा लिएर केही व्यक्‍तिहरूले कम्प्युटर कार्यक्रमहरू निर्माण गरेका छन्‌। हुन त आफ्नो कम्प्युटरको प्रयोग कसरी गर्ने, त्यो निर्णय व्यक्‍ति स्वयंको हो। तथापि, मण्डलीको अभिलेख राख्न फारामहरू नै उपलब्ध गराइएका छन्‌। यसकारण केटाकेटी वा अख्तियारप्राप्त नभएका मानिसहरूले पनि कम्प्युटरहरू चलाउने भएको हुँदा ती अभिलेखहरू कम्प्युटरहरूमा राख्नु हुँदैन। मण्डलीका सम्पूर्ण अभिलेखहरू—लेखा रिपोर्ट, मण्डलीका प्रकाशक अभिलेख कार्ड तथा त्यस्तै अन्य अभिलेखहरू सोसाइटीले उपलब्ध गराएको फारामहरूमा राख्नुपर्छ र मण्डलीका यी फारामहरूसम्बन्धी कुनै पनि जानकारी कम्प्युटरमा थन्काएर राख्नु हुँदैन। यसप्रकार मण्डलीका गोप्य अभिलेखहरू सुरक्षित हुनेछन्‌।

      ५ जिम्मेवार निरीक्षकहरूले ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला र सेवा सभाको लागि निर्दिष्ट कार्यभार बनाउँदा विवेकी हुनुपर्छ। कुन चाहिं विशेष भागमा कस्तो विषयवस्तु ढाक्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु खाँचो छ। उदाहरणका लागि, पाठशालामा कुनै कुनै विषयवस्तु जुनसुकै विद्यार्थीलाई गर्न लगाउनु उचित नहुनसक्छ। त्यो विषयवस्तु प्रस्तुत गर्नुको उद्देश्‍य, व्यक्‍तिविशेषको योग्यता र त्यसको प्रकृतिलाई विचार गर्नुपर्ने हुन्छ। यसको निर्णय कम्प्युटरले गरोस्‌ भनेर चुपो लागेर बस्नु हुँदैन।

      ६ एक जना भाइलाई मण्डलीको सभामा कुनै भाग तयार गरेर प्रस्तुत गर्न दिइएको छ भने अरूले तयार पारिदिएको विषयवस्तुमाथि भर पर्नु हुँदैन। एक जना भाइसित कम्प्युटर छ भने तिनले त्यसमा रूपरेखाको विषयवस्तु अनुसन्धान गर्न छिटो तथा सफासित टाइप पनि गर्नसक्छन्‌। तर यसो हुँदैमा आफैले समय लगाएर अनि प्रयत्न गरेर तयार गर्नुपर्ने निर्दिष्ट कार्यभार त्यस भाइलाई गरिदिन आग्रह गर्नु हुँदैन। जिम्मेवार मसीहीहरूले आफ्नो मण्डलीका वा अन्य मण्डलीहरूका कसैको निम्ति बाइबल भाषणहरू अथवा सभामा प्रस्तुत गर्नुपर्ने कुनै भाग तयार पारिदिने र ती उपलब्ध गराउने दुस्साहस गर्दैनन्‌। तथापि, थोरै समयमै बहुमूल्य अनुसन्धान गर्न कम्प्युटर र सीडी-रममा सोसाइटीको वाचटावर लाइब्रेरी (प्रहरीधरहरा पुस्तकालय) हुनु प्रभावकारी औजार हुनसक्छ।—अप्रिल २२, १९९४ अवेक! मा पृष्ठ २३ को पेटी हेर्नुहोस्‌।

      ७ कम्प्युटर कार्यक्रम, सूची तथा त्यससित सम्बन्धित कागजपत्र पुनः उत्पादन गरेर भाइबहिनीहरूलाई वितरण गर्नु अनि सेवा सभा तथा ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा पाएको भाग पनि विद्युतीय प्रणाली वा अन्य तरिकाबाट तयार गरेर वितरण गर्नुभन्दा स्थानीय लाभलाई विचार गर्दै भाइहरूले आफ्नो विषयवस्तु आफैले तयार गर्नु अक्सर उत्तम हुन्छ। (१ तिमो. ४:१३, १५) अनि जस्तोसुकै परिस्थितिमा पनि मण्डलीय प्रबन्धहरूलाई आर्थिक लाभको लागि प्रयोग गर्नु हुँदैन।

      ८ प्रहरीधरहरा अध्ययन वा मण्डली पुस्तक अध्ययनमा प्रयोग गरिएका शास्त्रपदहरू पनि कम्प्युटरबाट छापेर वितरण गर्ने सन्दर्भमा के भन्‍न सकिन्छ? बाइबल र अध्ययन गर्ने प्रकाशनहरूमा कुनै कुनै प्रकाशकहरूले आफ्नो व्यक्‍तिगत टिपोट लेख्न तथा रुजू चिन्ह लगाउन चाहलान्‌। प्रकाशनहरूमा धर्मशास्त्रबाट उद्धरण गरिएका शास्त्रपदहरू कम्प्युटरबाट छापिएका छन्‌ भने सभामा बाइबलबाट ती शास्त्रपदहरू खोज्न मन नलाग्ने हुन्छ। बाइबल अध्ययन वा मण्डलीको सभाको दौडान शास्त्रपद खोज्नु हामीले प्राप्त गर्ने तालिमको भाग हो र यसो गऱ्‍यौं भने क्षेत्र सेवकाईमा अझ प्रभावकारी रूपमा बाइबल प्रयोग गर्न हामी सक्षम हुनेछौं। अक्सर विशेषगरि लामा उद्धरणहरूको सन्दर्भमा बाइबलबाट सोझै पढ्‌नु झनै प्रभावकारी हुन्छ। श्रोताहरूलाई पनि बाइबल पल्टाएर सँगसँगै पढ्‌ने प्रोत्साहन दिंदा विशेषगरि यो सही साबित भएको छ।

      ९ अन्य गम्भीर पासोहरू: कम्प्युटरलाई नेटवर्कमा जोड्‌ने हो भने त्यसले गम्भीर आध्यात्मिक खतरालाई निम्त्याउँछ भनेर अगस्त १, १९९३ अंकको प्रहरीधरहरा, पृष्ठ १६ ले उल्लेख गरेको थियो। एक जना बेइमान मानिसले नेटवर्कको माध्यमबाट भाइरस पठाउनसक्छ अर्थात्‌ कम्प्युटरमा भएका फाइलहरूलाई भद्रगोल गर्छ र बिगार्छ, त्यसरी नै नैतिक तवरमा वा कुनै अरू तरिकाले भद्रगोल गर्न खोज्ने धर्मत्यागी, पादरी तथा अरू मानिसहरूले सजिलै तिनीहरूका विषालु विचारहरू त्यस्तो नेटवर्क मार्फत फैलाउनसक्छन्‌। यसले कम्प्युटर प्रयोग गर्ने मसीहीहरूलाई “खराब संगत[मा]” फस्न निम्त्याउनसक्छ। (१ कोरि. १५:३३) आध्यात्मिक कुराहरूमा मात्र नभई खराब सल्लाहहरू दिन, गफ तथा झूटो जानकारी फैलाउन, थाहै नपाई नकारात्मक विचारहरू मनमा पसाउन, कसै कसैको विश्‍वास पतन गराउने खालका प्रश्‍नहरू मनमा खडा गराउन, बाइबलको व्यक्‍तिगत अर्थ खुलाएर प्रचार प्रसारमा ल्याउन पनि कम्प्युटर नेटवर्कको प्रयोग गरिएको रिपोर्टहरू सोसाइटीले पाएको छ। धर्मत्यागीहरू तथा पादरीहरूका प्रकाशन र पत्रिकाहरूले पनि त्यसै गर्न खोज्छन्‌। बाहिरबाट झट्ट हेर्दा चाखलाग्दो र ज्ञानवर्धक जानकारीजस्तो देखिए तापनि त्यसको सम्पर्क विषालु तत्त्वहरूसित हुनसक्छ। सामयिक आध्यात्मिक आहार र स्पष्टीकरणको लागि मसीहीहरू “विश्‍वासी र बुद्धिमान दास[लाई]” कुर्छन्‌। (प्रहरीधरहरा जुलाई १, १९९४, पृष्ठ ७-१० हेर्नुहोस्‌।) आफ्नो विश्‍वासलाई सम्पूर्ण भ्रष्ट प्रभावहरूबाट जोगाउने गम्भीर दायित्व मसीहीहरू स्वयंको हो। र त्यस आधारभूत दायित्वमा आफूले कोसित संगत गरिरहेको छ सधैं थाह पाउनुपर्छ।—मत्ती २४:४५-४७; २ यूह. १०, ११.

      १० त्यही प्रहरीधरहरा लेखले सर्वाधिकारसम्बन्धी नियमको आदर गर्नुपर्ने महत्त्वबारे पनि जोड दिएको थियो। कम्प्युटर कार्यक्रम तयार पार्ने तथा बिक्री गर्ने अधिकांश कम्पनीहरूले ती कार्यक्रमहरूलाई सर्वाधिकार सुरक्षित गर्छन्‌ र कानुनी तवरमा तिनको प्रयोग कसरी गर्न सकिन्छ भनेर लेखिएको अनुमतिपत्र पनि उपलब्ध गराउँछन्‌। कार्यक्रमको प्रतिलिपि बनाएर अरूलाई वितरण गर्न पाइने छैन भनेर त्यस्ता अनुमतिपत्रहरूमा उल्लेख गरिएको हुन्छ। भनौं भने, अन्तरराष्ट्रिय सर्वाधिकार सुरक्षित नियमले कानुनी तवरमा यसो गर्न निषेध गरेको हुन्छ। तर धेरैजसो लोभी मानिसहरूलाई नियम उल्लंघन गर्न कुनै संकोच लाग्दैन। यद्यपि, मसीहीहरू जे सिजरका हुन्‌ सिजरलाई दिएर कानुनी कामकुराप्रति सजग हुनुपर्छ।—मत्ती २२:२१; रोमी १३:१.

      ११ कुनै पनि प्रविधि प्रयोग गर्नुअघि त्यसले ल्याउनसक्ने सम्भाव्य खतराहरूको अनुमान लगाउनुपर्छ। टेलिभिजनको सदुपयोग गर्न सकिन्थ्यो तर त्यसले आज मानवजातिमाथि पारेको अस्वस्थ्यकर असरबारे सांसारिक स्रोतहरूले समेत गम्भीर चिन्ता व्यक्‍त गर्न थालेका छन्‌। कम्प्युटर नेटवर्क संसारभरि फैलिएको छ र यसले घर तथा कार्यस्थलमा असीमित बहुमूल्य जानकारीहरू ओइराउनसक्छ। आज द्रुत गतिमा अघि बढ्‌दै गरेको यस समाजमा व्यक्‍तिगत वा व्यापारिक कुराहरूमा चासो राख्ने व्यापार तथा संगठनहरूका साथै मानिसहरू छन्‌। तिनीहरूलाई चाहिने अत्यावश्‍यक सेवाहरू कम्प्युटर प्रविधिले उपलब्ध गराएको छ। तर यसको साथै कम्प्युटर कार्यक्रमहरूले अश्‍लील साहित्य तथा चलचित्रहरू, मतभेद खडा गर्ने अफवाह मात्र नभई कुटिल तथा दुष्ट कार्यहरू कसरी पूरा गर्ने हो त्यस विषयमा पनि विस्तृत जानकारीहरू ओइराएका छन्‌।

      १२ मसीहीले कम्प्युटर प्रविधिप्रति सन्तुलित दृष्टिकोण राख्नुपर्ने महत्त्वपूर्ण कारणहरू धेरै छन्‌। सोसाइटीले कम्प्युटर डिस्केटमा उपलब्ध गराएको न्यु वर्ल्ड ट्रान्सलेशन (नयाँ विश्‍व अनुवाद), इन्साइट (अन्तरदृष्टि) खण्डहरू र गेटभर्स-जस्ता (बाइबल पद निकाल्नु) कार्यक्रमबाट निकै व्यक्‍तिहरूले आनन्द उठाइरहेका छन्‌। अहिलेलाई सोसाइटीले यो भारतमा वितरण नगरेको भए तापनि कसै कसैले थप अनुसन्धान गर्न सकिने सीडी-रममा भएको वाचटावर लाइब्रेरी (प्रहरीधरहरा पुस्तकालय) व्यक्‍तिगत तवरले विदेशबाट मगाएका छन्‌। खास प्रविधिको महत्त्वलाई बुझेर त्यस्ता अत्याधुनिक प्रविधिहरूबाट लाभ उठाउन चाहनेहरूले आफू र अरूलाई कुनै पनि नकारात्मक पक्षहरूबाट जोगाउनुपर्छ। अहानिकारक प्रविधिले समेत हाम्रो समर्पित समय निकै मात्रामा खानसक्ने भएको हुँदा हामी सन्तुलित हुनैपर्छ। अन्यथा यसले हामीलाई हाम्रो प्रमुख कार्य तथा लक्ष्यहरूबाट तर्काउनसक्छ।—मत्ती ६:२२; २८:१९, २०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने