वृद्धहरू नसुस्ताइकन प्रचार गर्छन्
१ उमेर ढल्किंदै गएपछि धेरैजसो मानिस आफ्नो जागिरबाट अवकाश लिने र बाँकी जीवन आनन्दसँग गुजार्ने विचार गर्छन्। आफूले जीवनभरि गर्नसम्म मेहनत गरिसकेकोले अब बाँकी समय आराम गर्नको लागि हो भनी तिनीहरू सोच्छन् अथवा बाँकी जीवन बेफिक्रीसँग बिताउन चाहन्छन्।—लूका १२:१९.
२ तर यहोवाका समर्पित सेवकहरूको हैसियतमा जीवनबारे हाम्रो भिन्नै दृष्टिकोण छ। परमेश्वरको कामबाट अवकाश लिन कहिल्यै मिल्दैन भनेर हामीलाई थाह छ। हाम्रो सकारात्मक धारणा छ किनभने “अनन्त जीवन[लाई]” हामी आफ्नो आँखाको सामने राख्छौं। (यहू. २१) वर्षौं-वर्षदेखि बटुलिएको बुद्धि र अनुभवले व्यक्तिविशेषको विवेक र अन्तरदृष्टि तिखार्नसक्छ। यसले उसलाई अझ बुद्धिमान् र अझ सन्तुलित बनाउनसक्छ अनि उसले जीवनको अझ गहिरो मूल्यांकन गर्नसक्छ। यी सबै गुणहरू व्यक्तिविशेषलाई सुसमाचारको योग्य सेवक बनाउने गुणहरू हुन्।
३ वृद्ध हुनु भनेको शारीरिक रूपमा बूढो हुनु मात्र होइन; यसमा व्यक्तिविशेषको मानसिक मनोवृत्ति पनि सम्मिलित छ। यदि तपाईं आफू बूढो देखिन चाहनुहुन्न र बूढो नदेखिने कोसिस गर्दै हुनुहुन्छ भने, केही हदसम्म तपाईं सफल हुनसक्नुहुन्छ। वृद्ध मानिसहरूले आध्यात्मिक ज्ञान बढाएर अनि त्यसलाई अरूसित बाँडेर आफ्नो जीवन मूल्यवान् बनाउनसक्छन्।—१ कोरि. ९:२३.
४ सत्य घटनामा आधारित उदाहरणहरू: झन्डै ८६ वर्ष पुगेकी एउटी बहिनीले यसो भनिन्: “मैले सत्य स्वीकारेको ६० वर्ष भइसक्यो। बितेका ती दिनहरू सम्झँदा परमेश्वरका ढाडस दिने प्रतिज्ञाहरूले मेरो मनै प्रफुल्लित हुन्छ। हो, भक्तसँग भक्त देखा पर्नुहुने यहोवाले हामीलाई अपार आनन्दको कटनी गर्न दिइरहनुभएको छ।” (भज. १८:२५) एउटा वृद्ध भाइलाई आफ्नो पत्नीको मृत्युको कारण गहिरो चोट लाग्यो। त्यसपछि उनको स्वास्थ्य नराम्रोसँग बिग्रियो। ती कुराहरू सम्झँदै उनले भने: “त्यस्तो अवस्थामा पनि यहोवाको अनुग्रहले गर्दा दुइ वर्षपछि आफूलाई सँभालेर अग्रगामी सेवामा सामेल हुन योग्यको बन्न सकें। प्रचारको काममा बढी समय बिताउँदा मेरो स्वास्थ्य सुधार भएकोमा म यहोवाप्रति एकदमै कृतज्ञ छु!”
५ स्वास्थ्य र ताकतले भ्याएसम्म नसुस्ताइकन प्रचारमा लागिरहने दृढ संकल्प भएका यस्ता वृद्धहरू साँच्चै प्रशंसाका योग्य छन्! निस्सन्देह, तिनीहरूसँग यसरी उद्गार गर्ने उचित कारण छ: “हे परमेश्वर, बाल्यकालदेखिनै तपाईंले मलाई शिक्षा दिनुभएको छ, र अहिलेसम्म पनि तपाईंको उदेकको कार्यहरू मैले घोषणा गरेको छु।”—भज. ७१:१७.