पवित्र सेवामा आनन्दित हुने
१ तिनीहरू “आनन्दसाथ” फर्के। व्यापक प्रचारकार्यमा भाग लिएपश्चात् येशूकहाँ फर्कंदा ७० जना चेलाहरूले कस्तो महसुस गरे, बाइबल विवरणले बताउँछ। परमेश्वरको इच्छा पालन गर्दा तिनीहरूले भित्री आनन्द महसुस गरे। (लूका १०:१७) तपाईंले पनि पवित्र सेवामा त्यस्तै आनन्द कसरी प्राप्त गर्न सक्नुहुन्छ?
२ सकारात्मक मनोवृत्ति: तपाईंले मानिसहरूलाई यहोवाको महान् उद्देश्यबारे थाह दिने ईश्वरप्रदत्त सुअवसर पाउनुभएको छ। तपाईंको प्रचारकार्यले मानिसहरूलाई यस संसारका पतित चलनहरू र झूटा धर्मको बन्धनबाट स्वतन्त्र पार्न मदत गर्नसक्छ। अहिले जस्तो बेमेलरहित संसारमा बाँच्ने आशाबारे तपाईं मानिसहरूलाई बताउन सक्नुहुन्छ। ग्रहणशील मानिसहरूको हृदयमा सत्यको बीउ रोप्न सफल हुँदा यहोवाले कस्तो महसुस गर्नुहुन्छ होला, सोच्नुहोस् त। तनमनले सेवकाईमा लाग्दै आनन्दको फल फलाउन परमेश्वरको आत्मा माग्दा सकारात्मक हुनुहोस्।
३ व्यवहारिक प्रशिक्षण: येशूले ७० जना चेलाहरूलाई प्रचारकार्यमा पठाउनुअघि दिनुभएको निर्देशन आज आधुनिक समयको सेवा सभासित तुलना गरिन्छ। तिनीहरूले प्रभावकारी ढंगमा सेवकाई पूरा गर्न सकून् भनेर उहाँले प्रशिक्षण दिनुभयो। (लूका १०:१-१६) आज, सेवा सभाले पनि तपाईंलाई मानिसहरू भेट्ने, वार्तालाप सुरु गर्ने र गृह बाइबल अध्ययन सुरु तथा सञ्चालन गर्ने प्रशिक्षण दिन्छ। ती कुराहरू व्यवहारमा उतारेर प्रचार कलामा सुधार गर्दा तपाईंको अप्ठ्यारोपन वा आफू अयोग्य छु भन्ने जस्ता भावनाहरू कम भएको महसुस गर्नु हुनेछ र त्यसको बदलामा विश्वस्तता तथा आनन्द बढ्नेछ।
४ भविष्यमा ध्यानकेन्द्रित: येशूले थुप्रै दुःखकष्टहरू सहनु परे तापनि पवित्र सेवामा आनन्द प्राप्त गर्नुभयो। किन? किनभने उहाँले आफूअघि भएका आशिष् र सुअवसरहरूमा आफ्नो ध्यान पूर्णतया केन्द्रित गर्नुभयो। (हिब्रू १२:२) तपाईंले पनि यहोवाको नाउँ र परमेश्वरको नयाँ संसारमा पाइने आशिष्हरूमा आफ्नो मन अनि हृदय केन्द्रित गरेर त्यसै गर्न सक्नुहुन्छ। यसले तपाईंको सेवकाई अर्थपूर्णका साथै आनन्दमय बनाउनेछ।
५ अहिले तपाईंले पाउनसक्ने सबैभन्दा महान् सुअवसर नै यहोवालाई पवित्र सेवा चढाउनु हो। तसर्थ, तपाईंको वचन यस्तो होस्: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु।”—भजन ४०:८.