अध्याय ३७
एउटी विधवाको दुःखलाई येशूले हटाइदिनुहुन्छ
सैनिक अफिसरको दासलाई निको पारेको केही समयपछि कफर्नहुमबाट ३२ किलोमिटर दक्षिण-पश्चिम पर्ने नाइन सहरमा येशू जानुहुन्छ। उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा जान्छन्। उहाँहरू नाइन नजिक पुग्नुहुँदा सायद साँझ परिसकेको हुन्छ। त्यहाँ उहाँहरूले एउटा लास लगिंदै गरेको देख्नुहुन्छ। एक जना युवकको लास गाड्नका लागि सहरबाट बाहिर लगिंदैछ।
आमाको अवस्था अत्यन्तै दयनीय छ किनभने ऊ विधवा छे र त्यो उसको एक मात्र छोरा हो। उसको लोग्ने मर्दा छोरा त छ भन्दै उसले सन्तोष मान्न सकेकी थिई। उसको आशा, इच्छा र आकाङ्क्षाहरू सबै नै छोराको भविष्यसँग गाँसिएको थियो। तर अब सन्तोष मान्ने कुनै ठाउँ नै रहेन। सहरका मानिसहरू ऊसित जसै मुर्दा गाड्ने ठाउँसम्म जान्छन्, ऊ अति नै शोक गर्छे।
येशूको नजर त्यस स्त्रीमाथि जान्छ। उसको घोर दुःख देखेर उहाँको मन दयाले भरिन्छ। उसलाई कोमलता साथ ढाडस दिंदै उहाँ भन्नुहुन्छ: “नरोऊ।” उहाँको तौरतरिका र गतिविधिले भीडको ध्यान खिच्छ। त्यसैकारण उहाँ नजिक गएर मुर्दा राखेको अर्थी छुनुहुँदा त्यसलाई उठाउने मानिसहरू टक्क अडिन्छन्। उहाँले अब के गर्नुहुने हो भनी सबै सोचमा पर्छन्।
यो साँचो हो कि येशूका साथमा हुनेहरूले बिरामी परेका धेरै मानिसहरूलाई उहाँले चमत्कारपूर्वक निको पार्नुभएको देखेका छन्। तर कुनै पनि मरेका मानिसलाई उहाँले ब्यूँताउनुभएको कहिले पनि देखेका छैनन्। के यसप्रकारको काम उहाँले गर्न सक्नुहुनेछ? मुर्दालाई सम्बोधन गर्दै येशू आज्ञा दिनुहुन्छ: “ए युवक, म तिमीलाई भन्छु, उठ!” तब जो मरेको थियो, ऊ उठेर बस्छ! ऊ बोल्न थाल्छ र येशूले उसलाई आमाको जिम्मा लगाइदिनुहुन्छ।
त्यस युवक साँच्चै जीवित भएको देख्दा मानिसहरू भन्न थाल्छन्: “हाम्रो बीचमा एक जना महान् भविष्यवक्ता खडा हुनुभएको छ।” कोही भन्छन्: “परमेश्वरले आफ्ना जनहरूतर्फ ध्यान दिनुभएको छ।” यो अद्भुत खबर तुरुन्तै सारा यहूदिया र वरपरका सबै इलाकामा फिंजिन्छ।
बप्तिस्मा गराउने यूहन्ना अझै झ्यालखानामा नै छन् र येशूले गर्नुभएका कामहरूबारे तिनी अझ बढी जान्न चाहन्छन्। यूहन्नाका चेलाहरूले यी चमत्कारहरूबारे तिनलाई भन्छन्। तिनको प्रतिक्रिया कस्तो हुन्छ? लूका ७:११-१८.
▪ येशू नाइन नजिक पुग्दा के भइरहेको छ?
▪ येशूले त्यहाँ जे देख्नुहुन्छ त्यसले उहाँमाथि कस्तो प्रभाव पार्छ र उहाँले के गर्नुहुन्छ?
▪ येशूले गर्नुभएको चमत्कारप्रति मानिसहरूले के-कस्तो प्रतिक्रिया व्यक्त गर्छन्?