-
तपाईंको सृष्टिकर्ता—उहाँ कस्तो हुनुहुन्छ, सिक्नुहोस्प्रहरीधरहरा—१९९९ | जून १५
-
-
१७. लाजरसको पुनरुत्थानले कुन कुरा औंल्याउँछ?
१७ येशूका कार्य तथा शिक्षाहरूसित परिचित भएर कसरी सृष्टिकर्ताबारे सिक्नसक्छौं, अर्को उदाहरण विचार गरौं। यो घटना येशूको मित्र लाजरसको मृत्युसित सम्बन्धित छ। येशूले त्यसअघि मृतकलाई पुनर्जीवित गर्नसक्ने आफ्नो शक्ति देखाइसक्नुभएको थियो। (लूका ७:११-१७; ८:४०-५६) तथापि, लाजरसकी दिदी मरियम रोइरहेको देखेर येशूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो? येशू “आत्मामा अति विचलित भएर दुःखित हुनुभयो।” उहाँ भावशून्य हुनुभएन वा पन्छिनुभएन; उहाँ “रुनुभयो।” (यूहन्ना ११:३३-३५) अनि उहाँ भावनामा बहनुभएको मात्र थिएन। उहाँ ठोस कदम चाल्न उत्प्रेरित हुनुभयो र लाजरसको पुनरुत्थान गर्नुभयो। यसले उहाँका प्रेरितहरूलाई सृष्टिकर्ताका भावना र कार्यहरू बुझ्न कति मदत गऱ्यो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ। यसले हामी तथा अरूलाई पनि सृष्टिकर्ताको व्यक्तित्व र तौरतरिकाहरू बुझ्न मदत गर्नुपर्ने हो।
१८. मानिसहरूले बाइबल अध्ययनबारे कस्तो विचार राख्नुपर्छ?
१८ बाइबल अध्ययन गर्दा अनि हाम्रो सृष्टिकर्ताबारे अझ बढी सिक्दा लज्जित हुनुपर्ने कुनै कारण छैन। बाइबल कुनै अप्रचलित पुस्तक होइन। राम्ररी बाइबल अध्ययन गर्ने अनि येशूसित घनिष्ठ हुने एक जना व्यक्ति यूहन्ना हुन्। तिनले पछि यसो लेखे: “हामी जान्दछौं, कि परमेश्वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ, कि जो सत्यको हुनुहुन्छ उहाँलाई हामी चिन्छौं, र हामी उहाँमै छौं, जो सत्यको हुनुहुन्छ, अर्थात् उहाँको पुत्र येशू ख्रीष्टमा। सत्यको परमेश्वर र अनन्त जीवन उहाँनै हुनुहुन्छ।” (१ यूहन्ना ५:२०) ध्यान दिनुहोस्, “सत्यको परमेश्वर” अर्थात् सृष्टिकर्ताको ज्ञान हासिल गर्न “समझ” चलाउनाले “अनन्त जीवन[तर्फ]” डोऱ्याउनसक्छ।
तपाईं अरूलाई उहाँबारे सिक्न कसरी मदत गर्न सक्नुहुन्छ?
१९. शंकालु मानिसहरूलाई मदत गर्न कस्तो कदम चालिएको छ?
१९ हाम्रो चासो राख्नुहुने अनुकम्पापूर्ण सृष्टिकर्ता हुनुहुन्छ भनी विश्वास गर्न अनि उहाँ कस्तो हुनुहुन्छ भनेर बुझ्न केही मानिसहरूलाई थुप्रै प्रमाणहरू चाहिन्छ। सृष्टिकर्ताको अस्तित्वमाथि शंका गर्ने वा उहाँबारे बाइबलले बताउने भन्दा बेग्लै दृष्टिकोण राख्ने करोडौं मानिसहरू छन्। तपाईं तिनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? यहोवाका साक्षीहरूको सन् १९९८/९९ जिल्ला तथा अन्तरराष्ट्रिय अधिनेशनमा थुप्रै भाषाहरूमा एउटा प्रभावकारी साधन विमोचन गरियो। त्यो हो, के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? नामक पुस्तक।
२०, २१. (क) सृष्टिकर्ता पुस्तक कसरी सफलता साथ प्रयोग गर्न सकिन्छ? (ख) सृष्टिकर्ता पुस्तक कसरी प्रभावकारी साबित भएको छ, अनुभवहरू बताउनुहोस्।
२० यो प्रकाशनले सृष्टिकर्तामाथिको हाम्रो विश्वास बढाउन अनि उहाँको व्यक्तित्व तथा तौरतरिकाहरूको मूल्यांकन गर्न मदत गर्नेछ। किन यसबारे हामी यत्तिको ढुक्क हुनसक्छौं? किनभने यही उद्देश्यलाई ध्यान दिएर के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? नामक पुस्तक तयार पारिएको छ। सम्पूर्ण पुस्तकको मूल विषय “तपाईंको जीवनलाई कुन कुराले अझ अर्थपूर्ण बनाउनसक्छ?” भन्ने अध्यायले झल्काउँछ। यसका विषयवस्तुहरू निकै पढेलेखेका मानिसहरूलाई समेत चाखलाग्ने ढंगमा प्रस्तुत गरिएका छन्। यद्यपि, यसले हामी सबैको चाहनाहरू समेटेको छ। सृष्टिकर्ताको अस्तित्वमाथि शंका गर्ने पाठकहरूको निम्ति रोचक तथा सशक्त विषयवस्तु छ। यो पुस्तकले सृष्टिकर्तामाथि सबैको विश्वास हुन्छ जस्तो भान पर्ने गरी जानकारी प्रस्तुत गरेको छैन। आधुनिक वैज्ञानिक आविष्कार तथा धारणाहरूको प्रयोग गरिएको देखेर सृष्टिकर्तामाथि शंका गर्नेहरू आकर्षित हुनेछन्। ती तथ्यहरूले परमेश्वरमाथि विश्वास गर्नेहरूको विश्वास पनि अझ बलियो बनाउनेछ।
२१ यो नयाँ पुस्तक अध्ययन गर्दा यसको केही अंशमा परमेश्वरको व्यक्तित्व प्रकाश पार्ने बाइबल इतिहासको सारांश पाइन्छ जसले पाठकहरूलाई राम्ररी परमेश्वरलाई चिन्न मदत गर्नेछ। यसलाई पढिसकेका मानिसहरूले यो कुरा कसरी तिनीहरूको जीवनमा सत्य साबित भएको छ भनी बताएका छन्। (पृष्ठ २५-६ को लेख हेर्नुहोस्।) यो पुस्तकसित परिचित हुनुका साथै अरूलाई सृष्टिकर्ताबारे जान्न मदत दिन यसको सदुपयोग गर्नुहुँदा तपाईंमा पनि यो कुरा सत्य साबित हुन सकोस्।
-
-
‘हृदय र मनमा कौतूहल जाग्यो’प्रहरीधरहरा—१९९९ | जून १५
-
-
‘हृदय र मनमा कौतूहल जाग्यो’
“के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? पुस्तक पढ्दै जाँदा मैले अनुभव गरेको आनन्द र उत्सुकता शब्दहरूमा वर्णन गर्न सक्दिनँ। यसलाई पढ्न थालेपछि अझ बढी जान्ने इच्छा, ए होइन—आवश्यकता जगाउँछ। मेरो हृदय र मनमा कौतूहल जाग्यो। यसको लागि तपाईंहरूलाई धन्यवाद।”
सन् १९९८/१९९९ को “परमेश्वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशनमा वाचटावर सोसाइटीद्वारा विमोचित उक्त पुस्तकबारे सं.रा.अ.-स्थित उत्तर क्यारोलाइनाकी यहोवाको साक्षीले यस्तो अनुभव गरिन्। तपाईंसित यो पुस्तक नभए पनि निम्न प्रतिक्रियाहरूलाई ध्यान दिनुहोस्।
स.रा.अ.-स्थित क्यालिफोर्नियाको सान डिएगोमा सम्पन्न अधिवेशनमा उक्त पुस्तक पाएको केही दिनपछि एक पुरुषले यसो लेखे: “यो पुस्तकले विश्वासलाई दृढ बनाउँदो रहेछ। यहोवाको सृष्टिप्रति यसले मेरो हृदयमा गहिरो मूल्यांकन जगायो। मैले यो पुस्तक पृष्ठ ९८ सम्म पढिसकें र पढिसिध्याउन नपरोस् जस्तो लागिरहेछ! यो पुस्तक पढेर यस्तो सन्तोषजनक आनन्द प्राप्त हुन्छ।”
एउटी पूर्वीय महिलाले यसरी लेखिन्: “अधिवेशनमा वक्ताले ‘एउटा बेजोड पुस्तक’ भन्ने अभिव्यक्ति चलाएका थिए। यस पुस्तकको विषयवस्तुसित उक्त अभिव्यक्ति ठ्याक्कै सुहाउँछ। एउटा उल्लेखनीय पक्ष के हो भने, यस पुस्तकले पाठकहरूलाई परमेश्वरको अस्तित्वबारे जबरजस्ती विश्वास दिलाउनुको सट्टा तथ्य कुरा बताउँछ।”
ती तथ्यहरूमा ब्रह्माण्ड, जीवन र हामीबारे वैज्ञानिकहरूले गरेका आकर्षक खोजहरू समावेश छन्। यसले थुप्रैलाई प्रभावित पारेको छ। क्यालिफोर्नियाकी एउटी महिलाले लेखिन्, “यो सानो पुस्तकले मलाई यति प्रभाव गरेको छ कि वर्णन गर्न मसित शब्दहरू नै छैनन्। यस पुस्तकको हरेक पृष्ठमा हाम्रो ब्रह्माण्ड र यसमा भएका जीवनबारे पत्ता लागेका नयाँ नयाँ कुराहरू वर्णन गरिएको हुनाले यसलाई पढेको पढेकै गरें। साँच्चै, मैले धेरै कुरा सिकें! यो सानो पुस्तकलाई अनमोल धनजस्तै जोगाएर राख्नेछु र यथासम्भव थुप्रै मानिसहरूलाई यसका कुरा बताउनेछु।”
यस पुस्तकमा सृष्टिकर्ताको व्यक्तित्वलाई जोड दिंदै प्रस्तुत गरिएको बाइबलको सारांशलाई थुप्रैले मन पराएका छन्। एउटा राम्रो टिप्पणी यस्तो छ, “मैले पढेका विषयहरूमध्ये सबैभन्दा राम्रोचाहिं पुस्तक पछाडिको बाइबलको सारांश लाग्यो।” अधिवेशन सिद्धिनेबित्तिकै न्यू योर्क, स.रा.अ.-की अर्की स्त्रीले यसरी लेखिन्: “तपाईंहरूले प्रकाशित गर्नुभएका साहित्यहरूमध्ये यो नयाँ पुस्तक एकदमै आकर्षक छ। सृष्टिकर्ता हुनुहुन्छ भन्ने वैज्ञानिक प्रमाणहरू पढेर म रोमाञ्चित भएँ। बाइबलको सारांशले मात्र पनि त्यहाँ दिइएका बुँदाहरूलाई राम्ररी बुझाउनुका साथै अझ पढूँ पढूँ बनाउँछ।”
विज्ञानका बुझ्नसक्ने कुराहरू
सुरुका अध्यायहरूमा दिइएका वैज्ञानिक जानकारीहरू बुझ्न गाह्रो हुनसक्छ। तर राम्रा प्रतिक्रियाहरू यसप्रकार छन्।
क्यानाडाका एक व्यक्तिले यसो लेखे: “प्रभावशाली शब्दहरू चलाएर हामीलाई प्रभाव पार्न खोज्ने लेखकहरूका प्राविधिक पुस्तकहरूभन्दा यो भिन्नै छ। भौतिकशास्त्र, रसायनशास्त्र, डि एन ए, क्रोमोजम इत्यादि विषयहरू राम्ररी बुझाउन तपाईंहरूले प्रस्तुत गर्नुभएको जानकारी उल्लेखनीय छ। मैले विश्वविद्यालयमा छँदा तपाईंहरूले लेख्नुभएको पाठ्यपुस्तकहरू पढ्न पाएको भए!”
विश्वविद्यालयका रसायनशास्त्रका एक प्राध्यापकले यस्तो लेखे: “[यसले] कुनै पनि विषयलाई प्राविधिक विषयसँग नमुछिकन स्पष्टसित प्रस्तुत गरेको छ। यस पुस्तकले पाठकहरूसँग तर्क गरेको छ अनि थुप्रै अग्रज वैज्ञानिकका भनाइ उद्धृत गरेको छ। चाहे वैज्ञानिक होस् वा साधारण मानिस, ब्रह्माण्ड र जीवनको सुरुआतबारे चासो राख्नेहरूले यो ‘पढ्नै पर्ने पुस्तक हो।’ ”
नर्सिङ कोर्स गर्दै गरेकी एउटी युवतीले यसो भनिन्: “अध्याय ४ मा हामीले पढिरहेको पुस्तकबाट उद्धृत गरिएको देख्दा मलाई विश्वासै लागेन! मैले प्राध्यापकलाई यो पुस्तक दिएँ अनि उहाँलाई यसमा भएका जानकारीहरू स्फूर्तीदायी लाग्नेछ भनेर बताएँ। मैले उहाँलाई मस्तिष्कबारे पृष्ठ ५४ देखाएँ। उहाँले त्यो पढ्नुभएपछि भन्नुभयो, ‘यो त बडो चाखलाग्दो रहेछ! म पढ्छु।’ ”
बेल्जियमका एक सांसदले यसो लेखे: “एउटै मात्र ईश्वरको उपासना गर्नुपर्छ भन्ने बाइबलको दृष्टिकोण आधुनिक विज्ञानले विरोध गर्नुको सट्टा समर्थन गरेको देख्दा मलाई अचम्म त लाग्यो नै साथै म प्रभावित पनि भएँ। यो एकदमै उल्लेखनीय कुरा हो।”
सृष्टिकर्तालाई राम्ररी चिन्ने
थुप्रै मुलुकका मानिसहरूलाई परमेश्वर राम्ररी चिन्न अनि उहाँसित घनिष्ठ हुन यो पुस्तकले मदत गरेको छ। जापान, फुकाउका शहरका एक पाठकले यसो लेखे: “पहिलोपल्ट यहोवाबारे ध्यान केन्द्रित गरेको जस्तो लाग्यो। यो पुस्तक एकदमै पत्यारिलो छ। मैले पहिलेभन्दा बेग्लै दृष्टिकोणमा यहोवालाई बुझ्न सकें।” एल साल्भाडोरका एक व्यक्तिले यसरी लेखे: “परमेश्वर दयालु, कृपालु, रिस गर्नमा ढिलो अनि अनुग्रहमा प्रशस्त हुनुहुन्छ भनेर तपाईंहरूले सुस्पष्टसित बताउनुभएको छ। साँच्चै, उहाँ र उहाँको पुत्रसित नजिक हुन हामीलाई चाहिएको यही हो। यहोवाका भावनाहरू तथा उहाँको पुत्र येशूका मानव सोचाइहरूबारे बताउने यो पहिलो पुस्तक हो।” अनि जाम्बियाको एक पाठकले यसो लेखे: “यहोवालाई मैले बेग्लै दृष्टिकोणले हेर्न सकें।”
स्पष्टतः यहोवाका साक्षीहरू के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? पुस्तक अरूलाई वितरण गर्न खुसी छन्। एउटी महिलाले यसो भनिन्: “मैले अध्याय १० [“सृष्टिकर्ताले चासो राख्नुहुन्छ भने किन यतिका दुःखकष्ट?”] पढिसकेकी छु। मलाई एउटा कुराचाहिं नभनी चित्तै बुझ्दैन, ‘हामीलाई जापानमा चाहिएको पुस्तक यही हो।!’ म यस अध्यायका विषयवस्तुलाई राम्ररी सम्झेर क्षेत्र सेवकाईमा सक्दो प्रयोग गर्न चाहन्छु।” अर्की महिला एउटी युवतीसँग बाइबल अध्ययन गर्दैछिन्। यो युवतीका बुबा बौद्ध विहारका भिक्षु हुन् र तिनी त्यहीं हुर्केकी थिइन्। “सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार्न तिनलाई निकै गाह्रो भयो। यस पुस्तकमा दिइएका स्पष्टिकरण हठधर्मी होइन तर सत्य छन्। तसर्थ, मेरो विचारमा यो पुस्तक बौद्ध धर्मावलम्बीहरूले समेत नहिचकिचाइ पढ्न सक्छन्। यसले यहोवाको प्रेम अझ बढी महसुस गर्न पनि मदत गर्छ।”
बेलाइतबाट यस्तो मूल्यांकन प्राप्त भयो: “मैले भर्खरै सृष्टिकर्ता पुस्तक पढिसकें। अब फेरि दोहऱ्याएर पढ्न लागेकी छु। कस्तो अद्भुत पुस्तक! यो पुस्तक पढ्नेले यहोवालाई प्रेम गर्न सक्नेछन्। मैले एक प्रति छिमेकीलाई दिएकी छु। तिनले दुई अध्याय पढिसक्नासाथ यसो भनिन्, ‘म यसलाई पढेको पढेकै गर्नेछु। यो अति चाखलाग्दो रहेछ।’ यसले परमेश्वरलाई चिन्न र प्रेम गर्न मानिसहरूलाई मदत गर्नेछ भनेर म निश्चित छु।”
मेरिल्याण्ड, सं.रा.अ.-को एक पुरुषले यसो भने: “यसले मेरो आध्यात्मिकता तिखाऱ्यो! मैले काम गर्ने ठाउँका सबै मानिसहरूलाई यसको एक एक प्रति दिने विचार गरेको छु। यस्ता व्यस्त तथा शिक्षित व्यक्तिहरूलाई साक्षी दिन मलाई कहिलेकाहीं अप्ठ्यारो लाग्थ्यो। अब यस पुस्तकबाट घत लाग्दो अनि प्रभावकारी ढंगमा कुराकानी गर्न सक्नेछु।”
स्पष्टतः, के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? पुस्तकले विश्वभरिका मानिसहरूमा सकारात्मक प्रभाव पार्नेछ।
[पृष्ठ २५-मा भएको चित्रको स्रोत]
माथिको आवरण चित्र, Eagle Nebula: J. Hester and P. Scowen (AZ State Univ.), NASA
-