-
परमेश्वरलाई प्रसन्न पार्ने पारिवारिक जीवनपरमेश्वर हामीबाट के चाहनुहुन्छ?
-
-
पाठ ८
परमेश्वरलाई प्रसन्न पार्ने पारिवारिक जीवन
परिवारमा पतिको स्थान के हो? (१)
पतिले पत्नीसित कस्तो व्यवहार गर्नुपर्छ? (२)
पिताका जिम्मेवारी के के हुन्? (३)
परिवारमा पत्नीले निर्वाह गर्नुपर्ने भूमिका के हो? (४)
आमाबाबु तथा छोराछोरीले के गरेको परमेश्वर चाहनुहुन्छ? (५)
पतिपत्नी अलग बस्ने वा पारपाचुकेबारे बाइबलको कस्तो दृष्टिकोण छ? (६, ७)
१. पति परिवारको शिर हो भनेर बाइबलले बताउँछ। (१ कोरिन्थी ११:३) पतिको एउटै मात्र पत्नी हुनुपर्छ। अनि तिनीहरूले कानुनअनुसार विवाह गरेको हुनुपर्छ।—१ तिमोथी ३:२; तितस ३:१.
२. पतिले पत्नीलाई आफू जत्तिकै माया गर्नैपर्छ। येशूले आफ्ना अनुयायीहरूसित जस्तो व्यवहार गर्नुभयो, पतिले पनि पत्नीसित त्यस्तै व्यवहार गर्नुपर्छ। (एफिसी ५:२५, २८, २९) पत्नीलाई कहिल्यै कुट्नु वा कुनै तरिकामा दुर्व्यवहार गर्नु हुँदैन। बरु, तिनको सम्मान र आदर गर्नुपर्छ।—कलस्सी ३:१९; १ पत्रुस ३:७.
३. आफ्नो परिवारको रेखदेख गर्न पिताले कडा मेहनत गर्नुपर्छ। उनले आफ्नी पत्नी तथा छोराछोरीका लागि भोजन, वस्त्र र घरको प्रबन्ध गर्नैपर्छ। पिताले परिवारको आध्यात्मिक आवश्यकताहरू पनि पूरा गर्नुपर्छ। (१ तिमोथी ५:८) परिवारका सबैलाई परमेश्वर र उहाँको उद्देश्यबारे सिक्ने मदत दिन उनले परिवारमा नेतृत्व लिनुपर्छ।—व्यवस्था ६:४-९; एफिसी ६:४.
४. पत्नी, पतिको असल सहयोगी हुनुपर्छ। (उत्पत्ति २:१८) आफ्ना छोराछोरीहरूलाई सिकाउने र प्रशिक्षण दिने सम्बन्धमा तिनले पतिलाई मदत गर्नुपर्छ। (हितोपदेश १:८) पत्नीले आफ्नो परिवारलाई मायालु व्यवहार गरेको यहोवा चाहनुहुन्छ। (हितोपदेश ३१:१०, १५, २६, २७; तितस २:४, ५) आफ्नो पतितर्फ तिनको गहिरो आदर हुनुपर्छ।—एफिसी ५:२२, २३, ३३.
५. केटाकेटीहरूले आफ्ना आमाबाबुको आज्ञा मानेको परमेश्वर चाहनुहुन्छ। (एफिसी ६:१-३) अनि आमाबाबुले चाहिं आफ्ना छोराछोरीलाई सिकाओस् र सुधारोस् भन्ने आशा गर्नुहुन्छ। आमाबाबुहरूले आफ्ना छोराछोरीसित समय बिताउनु अनि तिनीहरूसित बाइबल अध्ययन गर्नुका साथै तिनीहरूको आध्यात्मिक तथा भावनात्मक आवश्यकताहरू पूरा गर्नुपर्छ। (व्यवस्था ११:१८, १९; हितोपदेश २२:६, १५) आफ्ना छोराछोरीलाई कहिल्यै कठोर वा क्रूर अनुशासन दिनु हुँदैन।—कलस्सी ३:२१.
६. आपसमा मिल्न नसक्दा पतिपत्नीले बाइबलको सल्लाह लागू गर्ने कोसिस गर्नुपर्छ। बाइबलले हामीलाई प्रेम तथा क्षमा देखाउन आग्रह गर्छ। (कलस्सी ३:१२-१४) परमेश्वरको वचनले सानोतिनो समस्या उत्पन्न हुने बित्तिकै एकअर्कादेखि छुट्टिएर बस्न प्रोत्साहित गर्दैन। तर (१) पतिले परिवार पाल्न पटक्कै नमान्दा, (२) पत्नीको स्वास्थ्य र जीवन नै खतरामा पर्ने गरी मारपिट गरेमा वा (३) पतिको अचाक्ली विरोधले गर्दा यहोवाको उपासना गर्न असम्भव भएमा पत्नीले आफ्नो पतिलाई त्याग्ने विचार गर्नसक्छिन्।—१ कोरिन्थी ७:१२, १३.
७. पतिपत्नी आपसमा वफादार हुनुपर्छ। व्यभिचार गर्नु परमेश्वर अनि आफ्नो जीवनसाथीको विरुद्ध पाप हो। (हिब्रू १३:४) पारपाचुके गरेर अर्कोसित विवाह गर्न पाउने एउटै मात्र धर्मशास्त्रीय आधार, वैवाहिक सम्बन्धबाहिर राखिने यौन सम्पर्क हो। (मत्ती १९:६-९; रोमी ७:२, ३) धर्मशास्त्रीय कारणबिना पारपाचुके गरेर अर्कोसित विवाह गर्ने व्यक्तिलाई यहोवाले घृणा गर्नुहुन्छ।—मलाकी २:१४-१६.
[पृष्ठ १६, १७-मा भएको चित्र]
आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाओस् र सुधारोस् भन्ने आशा यहोवा गर्नुहुन्छ
[पृष्ठ १७-मा भएको चित्र]
मायालु पिताले आफ्नो परिवारको भौतिक तथा आध्यात्मिक आवश्यकता पूरा गर्छ
-
-
परमेश्वरका सेवकहरू स्वच्छ हुनैपर्छपरमेश्वर हामीबाट के चाहनुहुन्छ?
-
-
पाठ ९
परमेश्वरका सेवकहरू स्वच्छ हुनैपर्छ
हामी किन हर तवरमा स्वच्छ हुनुपर्छ? (१)
आध्यात्मिक तवरमा स्वच्छ रहनुको अर्थ के हो? (२)नैतिक तवरमा? (३) मानसिक तवरमा? (४) शारीरिक तवरमा? (५)
कस्तो प्रकारको फोहर बोलीवचनदेखि हामी अलग बस्नुपर्छ? (६)
१. यहोवा परमेश्वर स्वच्छ अनि पवित्र हुनुहुन्छ। आफ्ना उपासकहरू आध्यात्मिक, नैतिक, मानसिक र शारीरिक तवरमा स्वच्छ रहेको उहाँ चाहनुहुन्छ। (१ पत्रुस १:१६) परमेश्वरको दृष्टिमा स्वच्छ रहन हामीले अत्यन्तै मेहनत गर्नुपर्छ। किनभने हामी अशुद्ध संसारमा बाँचिरहेका छौं। साथै गलत काम गर्ने आफ्नै झुकाउसित पनि हामी निरन्तर लडिरहनुपर्ने हुन्छ। तर हामीले पटक्कै हार मान्नु हुँदैन।
२. आध्यात्मिक स्वच्छता: यहोवाको सेवा गर्न चाहन्छौं भने हामीले झूटो धर्मका शिक्षा तथा परम्पराहरूलाई च्वाट्टै छोड्नुपर्छ। झूटो धर्मलाई त्याग्नैपर्छ र त्यागेपछि त्यसलाई कुनै किसिमको समर्थन दिनु हुँदैन। (२ कोरिन्थी ६:१४-१८; प्रकाश १८:४) परमेश्वरबारे सत्य कुरा सिकेपछि झूटो कुरा सिकाउने मानिसको बहकाउमा नपर्न हामी असाध्यै होशियार हुनुपर्छ।—२ यूहन्ना १०, ११.
३. नैतिक स्वच्छता: आफ्ना उपासकहरूले सधैं साँचो मसीहीहरूले जस्तो व्यवहार गरोस् भन्ने इच्छा यहोवा गर्नुहुन्छ। (१ पत्रुस २:१२) हामीले गर्ने गोप्य कामहरूसमेत उहाँले देख्नुहुन्छ। (हिब्रू ४:१३) त्यसैकारण यो संसारको यौन अनैतिकता अनि अरू अशुद्ध चलनहरूदेखि हामी अलग बस्नुपर्छ।—१ कोरिन्थी ६:९-११.
४. मानसिक स्वच्छता: आफ्नो मनलाई स्वच्छ, शुद्ध विचारहरूले भऱ्यौं भने हाम्रो चालचलन पनि स्वच्छ हुनेछ। (फिलिप्पी ४:८) तर अशुद्ध कुराहरू मनमा खेलायौं भने चाहिं हाम्रो काम दुष्ट हुनेछ। (मत्ती १५:१८-३०) मनलाई भ्रष्ट पार्ने मनोरञ्जनहरूदेखि टाढै बस्नुपर्छ। बरु परमेश्वरको वचन अध्ययन गरेर हामी आफ्नो मन स्वच्छ विचारहरूले भर्नसक्छौं।
५. शारीरिक स्वच्छता: मसीहीहरू परमेश्वरका प्रतिनिधिहरू हुन्। त्यसैकारण तिनीहरू आफ्नो शरीर सफा राख्छन् अनि सफा लुगा लगाउँछन्। शौचालयबाट निस्केपछि, खाना खानु वा भोजन पकाउनुअघि हात धुनुपर्छ। घरमा ढल निकासको राम्रो प्रबन्ध छैन भने, शौचालयबाट निस्कने फोहरलाई राम्ररी पुर्नुपर्छ। (व्यवस्था २३:१२, १३) शारीरिक तवरमा स्वच्छ भयौं भने हामी स्वस्थ हुन्छौं। मसीहीको घर भित्र बाहिर चटक्क मिलेको र सफा हुनुपर्छ। छरछिमेकमा हाम्रो घर राम्रो उदाहरण हुनुपर्छ।
६. स्वच्छ बोलीवचन: परमेश्वरका सेवकहरूले सधैं सत्य बोल्नुपर्छ। फटाहाहरू परमेश्वरको राज्यमा प्रवेश गर्न पाउनेछैनन्। (एफिसी ४:२५; प्रकाश २१:८) मसीहीहरू फोहर बोली बोल्दैनन् न त फोहर चुट्किला, कथा सुन्ने वा भन्ने नै गर्छन्। स्वच्छ बोलीवचनले गर्दा तिनीहरू काम गर्ने ठाउँ, स्कूल वा छिमेकीका अरू मानिसहरूभन्दा भिन्न देखिन्छन्।—एफिसी ४:२९, ३१; ५:३.
[पृष्ठ १८, १९-मा भएको चित्र]
परमेश्वरका सेवकहरू हर तवरमा स्वच्छ हुनैपर्छ
-
-
परमेश्वरले घृणा गर्नुहुने बानीहरूपरमेश्वर हामीबाट के चाहनुहुन्छ?
-
-
पाठ १०
परमेश्वरले घृणा गर्नुहुने बानीहरू
परमेश्वरले खराब ठान्नुहुने कुराहरूलाई तपाईंले कुन दृष्टिले हेर्नुपर्छ? (१)
कस्ता यौन व्यवहारहरू गलत हुन्? (२)
झूट बोल्ने बानीलाई मसीहीले कुन दृष्टिले हेर्नुपर्छ? (३) जूवालाई? (३) चोरीलाई? (३) हिंसालाई? (४) प्रेतवादलाई (५) मतवालापनलाई (६)
खराब बानीहरू कसरी हटाउन सकिन्छ? (७)
१. परमेश्वरका सेवकहरू असल कुरा मन पराउँछन्। तर तिनीहरूले खराब कुरालाई घृणा गर्न पनि सिक्नुपर्छ। (भजन ९७:१०) त्यसको अर्थ परमेश्वरले घृणा गर्नुहुने केही बानीहरूदेखि हामी टाढै बस्नुपर्छ। त्यस्ता केही बानीहरू के हुन्?
२. करनी: विवाह गर्नुअघि नै यौनसम्बन्ध राख्नु, व्यभिचार गर्नु अनि पशुसित, आफ्नै नातेदारसित वा पुरुषले पुरुषसित अनि स्त्रीले स्त्रीसित यौनसम्बन्ध राख्नु परमेश्वर विरुद्ध गम्भीर पाप हो। (लेवी १८:६; रोमी १:२६, २७; १ कोरिन्थी ६:९, १०) स्त्री र पुरुष विवाह नगरिकन सँगै बसिरहेका छन् भने उनीहरू या त छुट्टिनुपर्छ नभए कानुनी रूपमा विवाहित हुनुपर्छ।—हिब्रू १३:४.
३. झूट बोल्ने बानी, जूवा, चोरी: यहोवा परमेश्वर झूट बोल्नुहुन्न। (तितस १:२) त्यसैकारण उहाँको अनुग्रह पाउन चाहने व्यक्तिले पटक्कै झूट बोल्नु हुँदैन। (हितोपदेश ६:१६-१९; कलस्सी ३:९, १०) सबै प्रकारको जूवामा लोभ लुकेको हुन्छ। त्यसैकारण मसीहीहरूले चिट्ठा किन्ने, घोडदौडमा बाजी थाप्ने वा बिंगोजस्ता कुनै पनि प्रकारको जूवामा भाग लिंदैनन्। (एफिसी ५:३-५) अनि मसीहीहरूले चोर्दैनन् पनि। चोरेको धनमाल तिनीहरू जानाजानी किन्दैनन्। साथै अनुमति नलिइकन अरूको सामान लैजाँदैनन्।—प्रस्थान २०:१५; एफिसी ४:२८.
४. रीसले काँप्नु, हिंसा: रीसलाई रोकेन भने हिंसात्मक कार्यहरू हुनसक्छन्। (उत्पत्ति ४:५-८) हिंसात्मक मान्छे परमेश्वरको मित्र हुनसक्दैन। (भजन ११:५; हितोपदेश २२:२४, २५) अरूले हाम्रो हानि गर्दा बदला लिनु वा खराबीको बदला खराबी गर्नु गलत हो।—हितोपदेश २४:२९; रोमी १२:१७-२१.
५. तन्त्रमन्त्र अनि प्रेतवाद: केही मानिसहरू रोगबिमार निको पार्न प्रेतात्मालाई पुकार्छन्। अरू चाहिं आफ्नो शत्रुलाई बिरामी बनाउन वा मार्नसमेत मन्त्र फुक्छन्। यी सबै प्रचलनहरूपछाडि शैतानको शक्तिले काम गरिरहेको हुन्छ। त्यसैकारण मसीहीहरूले त्यस्ता कुनै पनि कुराहरूमा पटक्कै भाग लिनु हुँदैन। (व्यवस्था १८:९-१३) यहोवासित घनिष्ठ भयौं भने अरूले जति नै मन्त्र फुके पनि हामीलाई केही हुँदैन।—हितोपदेश १८:१०.
६. मतवालापन: अलिकता दाखमद्य, जाँड वा अरू प्रकारको रक्सी पिउनु गलत होइन। (भजन १०४:१५; १ तिमोथी ५:२३) तर बेसरी पिउनु अनि मतवाला हुनु परमेश्वरको दृष्टिमा गलत कुरा हो। (१ कोरिन्थी ५:११-१३; १ तिमोथी ३:८) बेसरी पिउनाले तपाईंको स्वास्थ्य अनि परिवार बिग्रनसक्छ। साथै तपाईं अरू गलत कामहरूमा सजिलै फस्नसक्छ।—हितोपदेश २३:२०, २१, २९-३५.
७. परमेश्वरले गलत ठान्नुहुने काम गर्ने मानिसहरू “परमेश्वरको राज्यका हकवाला हुनेछैनन्।” (गलाती ५:१९-२१) तपाईं साँच्चै परमेश्वरलाई माया गर्नुहुन्छ, उहाँलाई प्रसन्न तुल्याउन चाहनुहुन्छ भने यस्ता खराब बानीहरू हटाउन सक्नुहुन्छ। (१ यूहन्ना ५:३) परमेश्वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्न सिक्नुहोस्। (रोमी १२:९) परमेश्वरलाई मन पर्ने बानी हुने मानिसहरूसित संगत गर्नुहोस्। (हितोपदेश १३:२०) परिपक्व मसीही मित्रहरूसित संगत गर्नुभयो भने तिनीहरूले तपाईंलाई मदत दिनसक्छन्। (याकूब ५:१४) तर सबैभन्दा ठूलो कुरा, प्रार्थनाद्वारा यहोवासित मदत माग्नुहोस्।—फिलिप्पी ४:६, ७, १३.
[पृष्ठ २०-मा भएको चित्र]
परमेश्वरले मतवालापन, चोरी, जूवा अनि हिंसालाई घृणा गर्नुहुन्छ
-
-
परमेश्वरलाई अप्रसन्न तुल्याउने विश्वास तथा प्रचलनहरूपरमेश्वर हामीबाट के चाहनुहुन्छ?
-
-
पाठ ११
परमेश्वरलाई अप्रसन्न तुल्याउने विश्वास तथा प्रचलनहरू
कुन प्रकारका विश्वास तथा प्रचलनहरू गलत हुन्? (१)
परमेश्वर त्रिएक हुनुहुन्छ भनेर के मसीहीहरूले विश्वास गर्नु हुन्छ? (२)
साँचो मसीहीहरूले किन क्रिसमस, इस्टर वा जन्मदिन मनाउँदैनन्? (३, ४)
मरिसकेका मानिसहरूले के जिउँदाहरूलाई हानि गर्नसक्छन्? (५)
के येशू क्रूसमा मर्नुभएको हो? (६)
परमेश्वरलाई प्रसन्न तुल्याउनु कत्तिको महत्त्वपूर्ण छ? (७)
१. सबै विश्वास र प्रचलनहरू खराब छैनन्। तर झूटो धर्मबाट सुरु भएको वा बाइबल शिक्षा विपरीतका विश्वास तथा प्रचलनहरूलाई परमेश्वरले मन पराउनुहुन्न।—मत्ती १५:६.
२. त्रिएक: के यहोवा त्रिएक अर्थात् तीन जना व्यक्तिहरू मिलेर बनेको परमेश्वर हुनुहुन्छ? अहँ, हुनुहुन्न! यहोवा, हाम्रो पिता, “एकमात्र सत्य परमेश्वर” हुनुहुन्छ। (यूहन्ना १७:३; मर्कूस १२:२९) येशू उहाँको जेठो पुत्र हुनुहुन्छ। उहाँ परमेश्वरको अधीनमा बस्नुहुन्छ। (१ कोरिन्थी ११:३) पुत्रभन्दा पिता महान् हुनुहुन्छ। (यूहन्ना १४:२८) अनि पवित्र आत्मा व्यक्ति होइन तर परमेश्वरको सक्रिय शक्ति हो।—उत्पत्ति १:२; प्रेरित २:१८.
३. क्रिसमस र इस्टर: येशू डिसेम्बर २५ तारिख जन्मनुभएको होइन। उहाँ अक्टोबर १ तारिखको आसपास जन्मनुभएको थियो, जुन बेला गोठालाहरू आफ्नो बगाललाई राती बाहिरै राख्थे। (लूका २:८-१२) येशूले मसीहीहरूलाई उहाँको जन्मदिन मनाउने आज्ञा कहिल्यै दिनुभएन। बरु आफ्ना चेलाहरूलाई उहाँको मृत्युको स्मरणार्थ मनाउने वा सम्झने आज्ञा दिनुभयो। (लूका २२:१९, २०) क्रिसमस र त्यससित सम्बन्धित प्रचलनहरू पुरातन झूटा धर्महरूबाट सुरु भएका हुन्। इस्टरसित सम्बन्धित प्रचलन, जस्तै फूल र खरायोको प्रयोग पनि त्यहींबाट सुरु भएको हो। पहिले पहिलेका मसीहीहरू क्रिसमस वा इस्टर मनाउँदैनन् थिए र आज साँचो मसीहीहरू पनि मनाउँदैनन्।
४. जन्मदिन: बाइबलमा दुइ जन्मदिनहरूबारे मात्र उल्लेख गरिएको छ र ती जन्मदिन मनाउने व्यक्तिहरू यहोवाका उपासकहरू थिएनन्। (उत्पत्ति ४०:२०-२२; मर्कूस ६:२१, २२, २४-२७) पहिले पहिलेका मसीहीहरू जन्मदिन मनाउँदैनन् थिए। जन्मदिन मनाउने प्रचलन पुरातन झूटा धर्महरूबाट सुरु भएको हो। साँचो मसीहीहरूले जन्मदिनबाहेक अरू नै दिन उपहार दिएर रमाइलो गर्छन्।
५. मरिसकेका मानिसहरूको डर: मरिसकेका मानिसहरू चलहल वा महसुस गर्नसक्दैनन्। हामी तिनीहरूलाई मदत गर्नसक्दैनौं न त तिनीहरूले हामीलाई हानि गर्नसक्छन्। (भजन १४६:४; उपदेशक ९:५, १०) प्राण मर्छ; त्यो मृत्युपछि बाँचिरहँदैन। (इजकिएल १८:४) तर कहिलेकाहीं दुष्ट स्वर्गदूतहरू जसलाई प्रेत पनि भनिन्छ, तिनीहरूले मरिसकेको मानिसको आत्माको ढोंग रच्छन्। मरिसकेको मानिसको डर वा उपासनासित सम्बन्धित जुनसुकै प्रचलनहरू गलत हुन्।—यशैया ८:१९.
६. क्रूस: येशू क्रूसमा मर्नुभएको थिएन। उहाँ ठाडो खम्बा वा शूलीमा मर्नुभएको थियो। थुप्रै बाइबलहरूमा “क्रूस” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ वास्तवमा लामो ठाडो काठ हो। क्रूसको प्रतीक प्रयोग गर्ने चलन पुरातन झूटा धर्महरूबाट सुरु भएको हो। पहिले पहिलेका मसीहीहरू क्रूसको प्रयोग वा उपासना गर्दैनन् थिए। त्यसोभए, हामीले उपासना गर्दा क्रूस चलाउनु ठीक होला त?—व्यवस्था ७:२६; १ कोरिन्थी १०:१४.
७. माथि भनिएका कुनै कुनै विश्वास तथा प्रचलनहरू त्याग्न असाध्यै गाह्रो हुनसक्छ। नातेदार अनि साथीहरूले तपाईंलाई आफ्नो विश्वास परिवर्तन गर्नु हुँदैन भनेर बुझाउन खोज्लान्। तर मानिसहरूलाई भन्दा परमेश्वरलाई प्रसन्न तुल्याउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।—हितोपदेश २९:२५; मत्ती १०:३६, ३७.
[पृष्ठ २२-मा भएको चित्र]
परमेश्वर त्रिएक हुनुहुन्न
[पृष्ठ २३-मा भएको चित्र]
क्रिसमस र इस्टर पुरातन झूटा धर्महरूबाट सुरु भएका हुन्
[पृष्ठ २३-मा भएको चित्र]
मरिसकेका मानिसहरूको उपासना गर्ने वा तिनीहरूसित डराउने कुनै कारण छैन
-
-
जीवन र रगतप्रति आदर देखाउनेपरमेश्वर हामीबाट के चाहनुहुन्छ?
-
-
पाठ १२
जीवन र रगतप्रति आदर देखाउने
हामीले जीवनलाई कुन दृष्टिले हेर्नुपर्छ? (१) गर्भपातलाई? (१)
मसीहीहरूले आफ्नो र अरूको सुरक्षाको कसरी ख्याल गर्छन्? (२)
के जनावरहरूलाई मार्नु गलत हो? (३)
जीवनप्रति आदर नदेखाउने केही बानी के के हुन्? (४)
परमेश्वरले रगतबारे के नियम दिनुभएको छ? (५)
के त्यसमा रक्तक्षेपण समावेश छ? (६)
१. यहोवा जीवनको स्रोत हुनुहुन्छ। सबै जीवित वस्तुहरूले परमेश्वरबाटै जीवन पाउँछन्। (भजन ३६:९) परमेश्वरको दृष्टिमा जीवन पवित्र छ। गर्भमा भएको बच्चालाई समेत यहोवा अमूल्य सम्झनुहुन्छ। गर्भभित्र हुर्कंदै गरेको बच्चाको जानाजानी हत्या गर्नु परमेश्वरको दृष्टिमा गलत हो।—प्रस्थान २१:२२, २३; भजन १२७:३.
२. साँचो मसीही आफ्नो अनि अरूको सुरक्षालाई ध्यानमा राख्छन्। तिनीहरू आफ्नो गाडी अनि घर सुरक्षित छ कि छैन, पक्का गर्छन्। (व्यवस्था २२:८) परमेश्वरका सेवकहरू आनन्द वा रोमाञ्चका लागि आफ्नो जीवनसित खेलवाड गर्दैनन्। त्यसैकारण जानाजानी अरूलाई हानि पुऱ्याउने हिंसात्मक खेलहरूमा तिनीहरू भाग लिंदैनन्। साथै हिंसा गर्न सुऱ्याउने मनोरञ्जनदेखि पनि अलग बस्छन्।—भजन ११:५; यूहन्ना १३:३५.
३. सृष्टिकर्ताको दृष्टिमा जनावरको जीवन पनि पवित्र छ। भोजन, वस्त्रका लागि अनि आफूलाई रोग वा खतराबाट जोगाउन मसीहीले जनावरहरू मार्नसक्छन्। (उत्पत्ति ३:२१; ९:३; प्रस्थान २१:२८) तर खेल वा आनन्दका लागि जनावरहरूलाई दुःख दिनु वा मार्नु चाहिं गलत हो।—हितोपदेश १२:१०.
४. मसीहीहरू आनन्दका लागि धूम्रपान गर्ने, सुपारी चपाउने अनि लागू पदार्थ सेवन गर्ने गर्दैनन्। त्यस्ता बानीहरू गलत हुन्। किनभने (१) त्यसले हामीलाई वशमा पार्छ, (२) हाम्रो शरीरलाई हानि गर्छ र (३) त्यसले हामीलाई फोहरी बनाउँछ। (रोमी ६:१९; १२:१; २ कोरिन्थी ७:१) त्यस्ता कुलतहरू त्याग्नु असाध्यै गाह्रो हुनसक्छ। तर यहोवालाई प्रसन्न तुल्याउन हामीले त्यस्ता कुलतहरू त्याग्नैपर्छ।
५. परमेश्वरको दृष्टिमा रगत पनि पवित्र छ। परमेश्वरले प्राणीको प्राण वा जीवन रगतमा हुन्छ भन्नुभएको छ। त्यसैकारण रगत खानु गलत हो। राम्ररी रगत ननिथारिएको जनावरको मासु खानु पनि गलत हो। घाँटी अँठ्याएर मारेको वा पासोमै मरेको जनावरको मासु पनि खानु हुँदैन। जनावरलाई भाला वा गोली हानेर मारेको हो भने मार्ने बित्तिकै त्यसको रगत बगाइएमा मात्र त्यसको मासु खान मिल्छ।—उत्पत्ति ९:३, ४; लेवी १७:१३, १४; प्रेरित १५:२८, २९.
६. के रक्तक्षेपण स्वीकार्नु गलत हो? नबिर्सनुहोस्, हामी रगतदेखि अलग बसोस् भन्ने यहोवा चाहनुहुन्छ। मतलब, हाम्रो शरीरभित्र अरू व्यक्तिको रगत कुनै तरिकामा पनि पठाउनु हुँदैन। आफ्नै रगत पहिल्यै संकलन गरेको छ भने पनि त्यो प्रयोग गर्नु हुँदैन। (प्रेरित २१:२५) त्यसैकारण साँचो मसीहीहरू रक्तक्षेपण स्वीकार्दैनन्। तिनीहरू रगत वा रगत भएको उपचारबाहेक अन्य सबै प्रकारका उपचार स्वीकार्छन्। तिनीहरू बाँच्न चाहन्छन् तर परमेश्वरको नियम उल्लंघन गरेर आफ्नो जीवन बचाउने कोसिस गर्दैनन्।—मत्ती १६:२५.
[पृष्ठ २५-मा भएको चित्र]
परमेश्वरलाई प्रसन्न तुल्याउन हामी रक्तक्षेपण, फोहर बानी अनि अनावश्यक खतरा मोल्नदेखि अलग बस्नैपर्छ
-