प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१५ पृ. २३-२६
  • पुर्तगालमा बाइबल सच्चाइ फैलाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुर्तगालमा बाइबल सच्चाइ फैलाउने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • धार्मिक झुकाउ हुने मानिसहरूलाई मदत गर्ने
  • नातेदारहरूलाई सच्चाइ बाँड्‌ने
  • “म तिनीहरूलाई लात र कोर्रा हानेर लघारिदिन्छु”
  • बारम्बार प्रचार गरिसकेको इलाकामा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१५ पृ. २३-२६

पुर्तगालमा बाइबल सच्चाइ फैलाउने

पुर्तगालको ८०० किलोमिटर लामो आन्द्र महासागरीय तटमा उत्तरको कामिन्या क्षेत्रदेखि दक्षिणको भिला रिआल दे सान्तु आन्तोन्योसम्म माछा मार्ने हजारौं रंगीबिरंगी डुंगाहरू छरिएका हुन्छन्‌। यहाँ मछुवाहरूले “जहाजमा समुद्रमा” गएर माछा मार्न थालेको सयौं वर्ष भइसक्यो। त्यसैले होला, थुप्रै पुर्तगालीहरूको मुख्य भोजन नै माछा भएको छ।—भजन १०७:२३.

यद्यपि, बितेको ७० वर्षदेखि पुर्तगालमा भिन्दै प्रकारको माछा मार्ने काम भइरहेको छ। पुर्तगालका हजारौं प्रतीकात्मक माछाहरूलाई सुसमाचार सुनाउन यहोवाका साक्षीहरू व्यस्त छन्‌। (मत्ती ४:१९) सन्‌ १९९५ मे महिनामा यस मुलुकमा राज्य प्रकाशकहरूको शिखर संख्या ४४,६५० पुगेको थियो। अनुपातमा हेर्ने हो भने, यो संख्याअनुसार २१० देशवासीहरूमध्ये १ जना साक्षी हुन्छ। अझ केही शहरहरूमा त झन्डै १०५ मध्ये १ साक्षी छन्‌।

कामदारहरू धेरै भएकोले थुप्रै इलाकाहरूमा लगभग हप्ता दिन बिराएर पुनः साक्षी दिइरहेको हुन्छ। त्यसैकारण पुर्तगाली साक्षीहरू अरूलाई बाइबलको आशा सुनाउन नयाँ नयाँ तरिकाहरू अपनाउन निकै उत्सुक छन्‌। हो, यथासम्भव सबै तरिकाबाट मानिसहरूलाई बाइबल सच्चाइसित परिचित गराउने महत्त्वलाई पुर्तगाली साक्षीहरूले राम्ररी बुझेका छन्‌।—१ कोरिन्थी ९:२०-२३.

धार्मिक झुकाउ हुने मानिसहरूलाई मदत गर्ने

सन्‌ १९९१ को गणनाअनुसार पुर्तगालमा १८ वर्ष वा त्योभन्दा बढी उमेरका ७० प्रतिशत मानिसहरूले आफू रोमन क्याथोलिक भएको दाबी गर्छन्‌। तथापि, यसको बावजूद मानिसहरूलाई बाइबलबारे असाध्यै कम ज्ञान छ। यसै कुरालाई लिएर झोर्नल दे नोटेस्यास नामक पत्रिकाले यस्तो टिप्पणी गऱ्‍यो: “मानिसहरूसित बाइबलको ज्ञान नहुनु क्याथोलिक संसारकै सबैभन्दा दुःखलाग्दो पक्ष हो!” तर किन यस्तो भएको? एसप्रेसो नामक पुर्तगाली पत्रिकाले त्यसको जवाफ दिन्छ। फतिमा भन्‍ने ठाउँमा भेला भएका ५०० पादरीहरूको विवरण दिंदै उक्‍त पत्रिका यसो भन्छ: “धर्माधिकारीअनुसार पादरीले आफूलाई थुप्रै क्रियाकलापबाट मुक्‍त गर्नुपर्छ। किनभने तब मात्र उसले ‘उद्‌घोषक[को]’ हैसियतमा गर्नुपर्ने काम पूर्णतया गर्नसक्छ। . . . पादरीले मनतनले सुसमाचार प्रचार गऱ्‍यो भने मात्र उसलाई अरू कुनै काम गर्ने फुर्सत हुनेछैन।”

यसको विपरीत पुर्तगालमा यहोवाका साक्षीहरू यथासम्भव सबै तरिकाले बाइबल सच्चाइ प्रचार गर्न व्यस्त छन्‌। फलतः थुप्रै निष्कपट क्याथोलिकहरूले बाइबलको ज्ञान पाइरहेका छन्‌।

कार्लोटा क्याथोलिक भक्‍त अनि युवा धार्मिक समूहका सदस्य थिइन्‌। तिनी पूर्व प्राथमिक स्कूलमा पढाउँथिन्‌ र त्यहीं आन्तोन्यो भन्‍ने साक्षी पनि काम गर्थे। आन्तोन्यो नियमित अग्रगामी वा पूर्ण-समय सेवक भएकोले खाजा खाने समयमा आफ्नो सहकर्मीहरूसित बाइबलबारे कुरा गर्न सधैं प्रयास गर्थे। एक दिन कार्लोटाले नरक र मरियमको उपासनाबारे तिनीसित प्रश्‍न गरेछिन्‌। बाइबलले ती विषयमा सिकाउने कुराहरू आन्तोन्योले देखाएपछि थुप्रै चोटि बाइबल छलफलहरू भए। स्थानीय राज्य भवनमा पहिलो पटक सभामा उपस्थित हुँदा कार्लोटा असाध्यै प्रभावित भइन्‌। तथापि, आफू पहिले जाने गरेको धार्मिक सभा र साक्षीहरूको सभाको समय एउटै परेछ। अतः तिनले निर्णय गर्नुपऱ्‍यो। अब के गर्ने?

कार्लोटाले युवा धार्मिक समूहका सबै सदस्यहरूलाई बोलाएर आफूले राजीनामा दिनुको कारण बाइबलबाट बताए। सबैले तिनको आलोचना गरे। तर स्टेला भन्‍ने एउटी जवान केटीले भने केही आलोचना नगरी ध्यान दिएर सुनिरहेकी थिइन्‌। कार्लोटाले पछि तिनीसित कुरा गर्दा जीवनको सुरुआत अनि उद्देश्‍यबारे तिनले थुप्रै प्रश्‍न गरिन्‌। कार्लोटाले तिनलाई लाइफ—हाउ डिड इट गेट हेयर? बाइ इभोलुसन अर बाइ क्रिएसन?a (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा?) (नेपालीमा उपलब्ध छैन) नामक पुस्तक दिए र बाइबल अध्ययन पनि सुरु गरे।

त्यसबीच कार्लोटाले राम्रो आध्यात्मिक प्रगति गरिन्‌ र जून १९९१ मा बप्तिस्मा लिइन्‌। छ महिनापछि तिनले नियमित अग्रगामीको सेवा थालिन्‌। सन्‌ १९९२ मे महिनामा तिनले आन्तोन्योसित विवाह गरिन्‌ र अहिले पतिपत्नी दुवै जना नजीकैको मण्डलीमा आवश्‍यकता धेरै भएकोले त्यहाँ अग्रगामी सेवा गरिरहेका छन्‌। अनि स्टेला? तिनले मे, १९९३ मा बप्तिस्मा लिइन्‌ र अहिले तिनी पनि नियमित अग्रगामीको सेवा गर्दैछिन्‌।

फ्रान्सिस्को भन्‍ने युवक धर्ममा निकै चासो लिन्थे। तिनी हरेक आइतबार बिहान मासमा र दिउँसो माला जप्न जान्थे। तिनी चर्चका उपासनासम्बन्धी सरसमाग्रीहरूको रेखदेख गर्थे र मासको बेला पादरीलाई मदत गर्थे। तिनले आफूलाई “सन्त” बनाइदिऊन्‌ भनेर परमेश्‍वरलाई प्रार्थनासमेत गरेका थिए।

फ्रान्सिस्कोलाई असाध्यै बाइबल पढ्‌न मन लाग्थ्यो र एक दिन तिनको मित्रले तिनलाई बाइबल दिए। बाइबलमा परमेश्‍वरको नाउँ यहोवा हो भनेर लेखेको पाउँदा तिनी छक्क परे। (प्रस्थान ६:३; भजन ८३:१८) अझ प्रस्थान २०:४, ५ मा परमेश्‍वरले मूर्तिहरूको प्रयोगलाई निषेध गर्नुहुन्छ भनेर पढ्‌दा तिनी तीन छक परे! चर्चभरि मूर्ति नै मूर्ति देखिरहेको हुँदा तिनले परमेश्‍वरलाई सही कुरा बुझ्न मदत गर्नुहोस्‌ भनेर व्यग्र प्रार्थना गरे। केही दिनपछि तिनले आफ्नो पुरानो सहपाठीलाई भेटे र रात्री कक्षामा उपस्थित नहुनुको कारण सोधे।

“अहिले म त्योभन्दा राम्रो रात्री स्कूलमा जाँदैछु,” तिनको मित्रले जवाफ दिए।

“कस्तो स्कूल हो त्यो अनि तिमी त्यहाँ के पढ्‌दैछौ?” फ्रान्सिस्कोले सोधे। त्यसपछि तिनको मित्रले जे भने, त्यो सुनेर तिनी असाध्यै छक्क परे।

तिनको साथीले भने, “म यहोवाका साक्षीहरूको राज्य भवनमा बाइबल अध्ययन गर्दैछु। तिमी पनि आऊ न।”

पहिलो चोटि सभा धाउँदा सबै जना मुस्कुराइरहेका, मानिसहरू एकआपसमा मित्रैलो अनि न्यानो अनुभूति लिएर कुरा गरिरहेका, केटाकेटीहरू आफ्ना आमाबाबुसित बसेर ध्यानपूर्वक सुनिरहेका देखेर फ्रान्सिस्कोलाई सपनाजस्तो लाग्यो।

“यहाँ म कसैलाई चिन्दिनँ, तैपनि मलाई आफू तिनीहरूकै सदस्यजस्तो लागिरहेको छ!” फ्रान्सिस्को छक्क परे। त्यहाँदेखि फ्रान्सिस्को नियमित तवरमा सभाहरू धाइरहेका छन्‌। अहिले फ्रान्सिस्को मण्डलीको प्राचीनको हैसियतले सेवा गर्छन्‌ र आफ्नी पत्नी, दुइ जना छोराछोरीसहित परमेश्‍वरको वचनको गौरवमय राज्य प्रतिज्ञाहरूमा रमाउँछन्‌।

नातेदारहरूलाई सच्चाइ बाँड्‌ने

लिस्बन क्षेत्रका नियमित अग्रगामी, मानुवेलाले अरूलगायत आफ्ना नातेदारहरूलाई समेत दयापूर्वक साक्षी दिन कहिल्यै पछि नहटेको हुँदा थुप्रै आध्यात्मिक माछाहरू समात्न पाएकी छिन्‌। तिनले समातेका माछाहरूमध्ये तिनको साख्खै भाइ जुझे एडवार्डु पनि हुन्‌। तिनले मार्शल आर्ट र हतियार चलाउने प्रशिक्षण लिएका थिए। तिनले निकै पटक कानुन विपरीत कामहरू गरे। अन्ततः २२ विभिन्‍न अभियोगमा तिनीमाथि मुद्दा लगाइयो र तिनले २० वर्षको जेल सजाय पाए। तिनी असाध्यै हिंस्रक थिए र सहकैदीहरूसमेत तिनीसित डराउँथे। तिनको त्यस्तो स्वभावले गर्दा तिनलाई असाध्यै कडा सुरक्षा व्यवस्था भएको कोठामा नजरबन्द गरिएको थियो।

सात वर्षसम्म मानुवेलाले धैर्यपूर्वक जुझे एडवार्डुलाई भेट्‌न गइन्‌ तर तिनले कहिल्यै बाइबलको समाचारलाई सुन्‍न मानेनन्‌। अन्ततः, लाइफ—हाउ डिड इट गेट हेयर? बाइ इभोलुसन अर बाइ क्रिएसन? (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा?) प्रकाशित भएपछि तिनले सो पुस्तक स्वीकारे र त्यसैबाट बाइबल अध्ययन पनि सुरु भयो। केही समय नबित्दै जुझेले आफ्नो बानीबेहोरा निकै सुधारे। एक हप्तापछि तिनले २०० कैदी अनि लगत्तै अर्को हप्ता ६०० कैदीहरूलाई साक्षी दिए। तिनले जेलका अन्य खण्डहरूका कैदीहरूलाई समेत भेट्‌ने अनुमति पाए। तिनको बानीबेहोरामा उल्लेखनीय परिवर्तन भएकोले तिनको सजाय घटाएर १५ वर्ष गरियो। दश वर्ष जेल सजाय भोगेपछि तिनलाई रिहा गरेर पाँच वर्षको परीक्षणकालमा राखियो। हेर्दाहेर्दै त्यो पाँच वर्ष पनि बित्यो र अहिले जुझे एडवार्डु यहोवाको बप्तिस्माप्राप्त साक्षी र स्थानीय मण्डलीको सहायक सेवकसमेत भइसकेका छन्‌। साँच्चै, तिनको अनुभवलाई ‘ब्वाँसो थुमासित’ बसेको भन्‍न सुहाउँछ!—यशैया ११:६.

उता आफ्नो परिवारलाई साक्षी दिने प्रयत्न कायमै राखेकी हुँदा मानुवेलाले आफ्नो पति र परिवारका अन्य चार सदस्यलाई यहोवाका सक्रिय सेवकहरू बन्‍न मदत गर्न सकिन्‌। तिनको पति अहिले सहायक सेवक भएका छन्‌।

“म तिनीहरूलाई लात र कोर्रा हानेर लघारिदिन्छु”

लिस्बन शहरको आसपासमा एकपल्ट साक्षीहरूले मारियो दु कार्मोलाई भेटे। आफूले सुनेको कुरा मन परेर तिनले घरमै बाइबल अध्ययन गर्न पाउँछु कि भनेर पति आन्तोन्योसित अनुमति मागिन्‌। तर तिनको पतिले यस्तो जवाफ दिए, “अध्ययन गर्ने कुरा परै जाओस्‌, यहोवाका साक्षीहरूले मेरो घरमा खुट्टा हाल्यो भने म तिनीहरूलाई लात र कोर्रा हानेर लघारिदिन्छु।” संयोगको कुरा, आन्तोन्यो कराँते निर्देशक थिए र तिनले तेस्रो दर्जाको ब्ल्याक बेल्ट हासिल गरिसकेका थिए। अतः मारियो दु कार्मोले अन्यत्रै बाइबल अध्ययन गर्ने निधो गरिन्‌।

पछि, आठ दिने कराँते तालिमका लागि आन्तोन्यो बेलाइत जानुपर्दा मारियो दु कार्मोले होशियारीपूर्वक बाइबलका कथाहरू भएको मेरो पुस्तकb नामक प्रकाशन तिनको सुटकेसमा पोका पारिन्‌। यात्राको दौडान आन्तोन्योसित निकै फुर्सत भएको हुँदा तिनले त्यो किताप पढे। तालिमपश्‍चात्‌ घर फर्कन हवाइयात्रा गरिरहेको बेला तुफानले हवाइजहाजलाई निकै जोरसँग हल्लायो। फलस्वरूप हवाइजहाजलाई जमीनमा उतार्न असाध्यै कठिन भयो। जीवनमा पहिलो पटक आन्तोन्योले यहोवालाई पुकारे।

घर पुगेपछि तिनकी पत्नीसित अध्ययन गर्ने साक्षीले आन्तोन्योलाई सभामा आउने निमन्त्रणा दिए। तिनले स्वीकारे र राज्य भवनमा सबै जनालाई असाध्यै मित्रैलो पाए। बाइबल अध्ययनको प्रबन्ध पनि मिलाइयो र केही समय नबित्दै आन्तोन्योले आफूले केही निर्णयहरू गर्नु परेको महसुस गरे। फलस्वरूप आफ्ना विद्यार्थीहरूलाई कराँते सिकाउनुको साटो तिनले अहिले अनि सधैंभरि शान्तिपूर्वक जीवन बिताउने तरिका सिकाउन थाले। तिनीहरूमध्ये एक, ब्ल्याक बेल्टधारी अहिले बप्तिस्माप्राप्त साक्षी भएका छन्‌।

आन्तोन्योले अप्रिल १९९१ मा बप्तिस्मा लिए र भोलिपल्टदेखि सहायक अग्रगामी सेवा पनि सुरु गरे। छ महिनापछि तिनले नियमित अग्रगामी गरे र चाँडै तिनको १२ वटा गृह बाइबल अध्ययनहरू भयो। पछि जुलाई १९९३ मा तिनलाई मण्डलीको सहायक सेवक नियुक्‍त गरियो।

बारम्बार प्रचार गरिसकेको इलाकामा

पुर्तगालको अधिकांश क्षेत्रमा प्रायः हप्ता दिनको अन्तरमा पुनः प्रचार गरिसकिएको हुन्छ। त्यसोभए साक्षीहरूले “माछा मार्ने” क्रियाकलापलाई कसरी फलदायी बनाएका छन्‌ त?

झ्वाउ प्रत्येक घरको प्रत्येक व्यक्‍तिसित भेट्‌ने कोसिस गर्छन्‌। एक पटक एउटी महिलालाई भेट्‌न जाँदा तिनले घरमा अरू कोही छ कि भनेर सोधे। त्यस महिलाले आफ्नो पति र दुइ छोरा बस्छन्‌ तर जागिरे भएकोले साँझपख मात्र घरमा भेटिन्छ भनेर जवाफ दिइन्‌। अतः झ्वाउ त्यही इलाकाका अन्य घरहरूमा गए। साढे एक घण्टापछि तिनले एक जना लोग्नेमान्छेलाई भेटे।

“तपाईंले मलाई भेट्‌न खोज्नुभएको थियो रे हो?” त्यो मान्छेले झ्वाउलाई सोध्यो। “किन भेट्‌न खोज्नुभएको हो, बताउन सक्नुहुन्छ कि?”

अपरिचित मान्छेले त्यसरी कुरा गर्न आएको देखेर झ्वाउ छक्क परे। तिनले भने, “माफ गर्नुहोला, मैले तपाईंलाई चिनिनँ। तपाईंको परिचय?”

“मेरो नाउँ आन्तोन्यो हो र मेरो घर यही सडकमा पर्छ। अघि तपाईंले मेरी आमालाई परिवारका बाँकी सदस्यहरूसित कुरा गर्न चाहन्छु भन्‍नुभएकोले तपाईंले के भन्‍न खोज्नुभएको हो भनेर बुझ्न आएको।”

त्यसपछि झ्वाउले आन्तोन्योलाई राम्ररी साक्षी दिए र बाइबल अध्ययन पनि सुरु गरे। दोस्रो पटक अध्ययन गर्दा आन्तोन्योले हप्तामा दुइ पटक अध्ययन गर्नु मिल्छ कि भनेर आग्रह गरे। चार महिना नबित्दै झ्वाउसँग मिलेर तिनले आफ्ना छिमेकीहरूलाई राज्य सुसमाचार सुनाउन थाले। त्यसको तीन महिनापछि आन्तोन्योले बप्तिस्मा लिए। हालै तिनकी आमाले पनि अध्ययन सुरु गरेकी छिन्‌। साँच्चै, सेवकाईमा जाँदा परिवारका सबै सदस्यहरूसित कुरा गर्न खोज्नु कति महत्त्वपूर्ण छ!

पुर्तगालमा अझ थुप्रै आध्यात्मिक माछा मार्न बाँकी नै छ भनेर यस्ता रोमाञ्चकारी अनुभवहरूले देखाउँछ। यहोवाले पुर्तगालका मेहनती साक्षीहरूलाई हजारौं प्रगतिशील बाइबल अध्ययनहरूद्वारा आशिष्‌ दिनुभएको छ। सबै मानिसहरूलाई बाइबलको सच्चाइसित परिचित गराउन अझ थुप्रै तरिकाहरू खोज्दै जाने यी साक्षीहरूले गर्दा प्रेरित पावलले फिलिप्पीका मसीहीहरूलाई लेखेका यी शब्दहरू आज हामी पुर्तगालमा साँच्चै पूरा भइरहेको देख्छौं: “हरेक किसिमले . . . ख्रीष्ट प्रचारिनुहुन्छ।”—फिलिप्पी १:१८.

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ २३-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

स्पेन

पुर्तगाल

[पृष्ठ २४,२५-मा भएको चित्र]

बाइबल सच्चाइबारे प्रचार गर्न पुर्तगालका साक्षीहरू कुनै अवसर चुकाउँदैनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने