-
उत्साहईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
इस्राएलका शिक्षक एज्राबारे बाइबलले भनेअनुसार तिनले यहोवाको “व्यवस्था अध्ययन गर्न र पालन गर्न” अनि “सिकाउन मन दिएका थिए।” (एज्रा ७:१०) एज्राले जस्तै गऱ्यौं भने अर्थात् जानकारी दिने मात्र होइन, मन पनि दिएका छौं भने हृदयदेखि नै बोल्नेछौं। त्यसरी मनदेखि सत्य कुरा पोखाउँदा मानिसहरूमा सत्यप्रति साँचो प्रेम जगाउन सक्छौं।
श्रोताबारे सोच्नुहोस्। तपाईंले भन्ने कुरा श्रोताको लागि महत्त्वपूर्ण छ भन्ने महसुस भएकोले तपाईंले उत्साह देखाउनै पर्छ। यसको अर्थ आफ्नो प्रस्तुति तयार गर्दा महत्त्वपूर्ण जानकारी बटुल्ने मात्र होइन, श्रोतालाई फाइदा पुऱ्याउने गरी प्रस्तुति पेस गर्न डोऱ्याइका लागि यहोवालाई प्रार्थना पनि गर्नुपर्छ। (भज. ३२:८; मत्ती ७:७, ८) यो जानकारी श्रोताले किन पाउनुपर्छ, त्यसले तिनीहरूलाई कसरी लाभ पुऱ्याउँछ र तिनीहरूले त्यसको कदर गर्न सक्ने तरिकामा प्रस्तुति कसरी पेस गर्न सकिन्छ भनेर विचार गर्नुहोस्।
रोचक कुरा नभेट्टाएसम्म त्यो विषयवस्तु तयारी गर्न नछोड्नुहोस्। विषयवस्तु नै नयाँ हुनुपर्छ भन्ने छैन तर विषयवस्तुलाई तपाईं नयाँ तरिकामा पेस गर्न सक्नुहुन्छ। श्रोतालाई यहोवासितको सम्बन्ध बलियो पार्न, उहाँले गरेका प्रबन्धहरूको कदर गर्न, यस पुरानो युगमा जीवनका दबाब सामना गर्न सफल हुन वा प्रचारमा प्रभावकारी हुन मदत दिने किसिमले तयारी गर्नुभएको छ भने तपाईं उत्साहित भएर भाषण दिनुहुन्छ।
तपाईंले मानिसहरूसामु पढ्ने जिम्मा पाउनुभएको छ भने नि? उत्साहित भएर पढ्न शब्दहरू र वाक्यांश सही तरिकामा भन्न जानेर मात्र पुग्दैन। विषयवस्तु अध्ययन गर्नुहोस्। बाइबलको कुनै भाग पढ्दै हुनुहुन्छ भने त्यस भागबारे अनुसन्धान गर्नुहोस्। त्यस भागको अर्थ बुझ्नुहोस्। तपाईं र श्रोताका लागि त्यो भाग कसरी लाभकारी छ, विचार गर्नुहोस् र श्रोताले त्यो बुझ्नेगरि पढ्नुहोस्।
के तपाईं प्रचारमा जाने तयारी गर्दै हुनुहुन्छ? छलफल गर्ने विषय र बाइबल पद फेरि केलाउनुहोस्। मानिसहरूको मनमा के छ, त्यो पनि विचार गर्नुहोस्। अहिले के-कस्ता विषयमा समाचार दिइन्छ? मानिसहरूले के-कस्ता समस्या भोगिरहेका छन्? मानिसहरूलाई पिरोलिरहेको समस्याको समाधान परमेश्वरको वचनमा पाइन्छ भन्ने कुरा देखाउन तपाईंले तयारी गर्नुभएको छ भने त्यो कुरा बताउन तपाईं उत्सुक हुनुहुनेछ र स्वतः उत्साहित हुनुहुनेछ।
जीवन्त ढङ्गमा प्रस्तुत गरेर उत्साह देखाउनुहोस्। आफ्नो भाग जीवन्त ढङ्गमा प्रस्तुत गर्दा उत्साह प्रस्टै देखिन्छ। तपाईंको अनुहारको हावभावमा उत्साह देखिनुपर्छ। आफूले भनेको कुरामा तपाईं विश्वस्त देखिनुपर्छ, फूर्ति लगाएको जस्तो होइन।
उत्साह देखाउँदा सन्तुलित हुनुपर्छ। कसै-कसैको जुन कुरामा पनि उत्साहित भइहाल्ने बानी हुन्छ। कोही बनावटी सुनिन्छन् भने कोही भावनामा बहेर बोल्छन्। यसरी बोल्दा श्रोताको ध्यान तिनले भन्ने कुरातिर नभई तिनीतिर जान्छ। अर्कोतर्फ लजालु स्वभाव भएकाहरूलाई अझै खुलेर कुरा गर्न प्रोत्साहन दिनुपर्छ।
एक जना उत्साहित भयो भने बाँकी अरू पनि तुरुन्तै उत्साहित हुन्छन्। श्रोतासित राम्रो सम्पर्क कायम राख्नुभएको छ र भाषण दिंदा उत्साहित हुनुहुन्छ भने श्रोता पनि उत्साहित हुनेछन्। अपोल्लस उत्साहित भएर बोले र बाइबलमा तिनलाई बोल्नमा सिपालु भनेर बताइएको छ। परमेश्वरको शक्तिले भरिएर जोसिलो हुनुभयो भने तपाईंको जीवन्त प्रस्तुतिले श्रोतालाई केही गर्न जुर्मुऱ्याउनेछ।—प्रेषि. १८:२४, २५; रोमी १२:११.
विषयवस्तुलाई सुहाउने उत्साह: आफ्नो भाषणभरि एकैनासले उत्साह नदेखाउनुहोस्। त्यसो गर्दा श्रोता थकित हुन्छन् र तिनीहरूलाई कदम चाल्न उत्प्रेरित गर्न तपाईंले दिएको जुनसुकै सल्लाहलाई पनि तिनीहरूले राम्ररी ध्यान दिन सक्दैनन्। यसबाट प्रस्तुतिमा विविधता ल्याउनेगरि तयारी गर्नुपर्ने कुरा महत्त्वपूर्ण छ भनेर बुझिन्छ। तपाईंको प्रस्तुतिलाई भावशून्य पनि नबनाउनुहोस्। विषयवस्तु राम्ररी छान्नुभयो भने तपाईंलाई त्यो विषय निकै रोचक लाग्नेछ। तर केही बुँदा अन्य बुँदाभन्दा बढी उत्साहित भएर प्रस्तुत गर्नुपर्ने हुन्छ। यस्ता बुँदा भाषणभरि सिपालु ढङ्गमा गाँसिएको हुनुपर्छ।
खासगरि मुख्य बुँदा उत्साहसाथ प्रस्तुत गर्नुपर्छ। भाषणको निष्कर्ष वा सार हुनै पर्छ। निष्कर्ष वा सार भाषणको मुख्य बुँदा भएकोले प्रायः यस्ता बुँदाले नै श्रोतालाई जुर्मुऱ्याउँछ। श्रोतालाई विश्वस्त पारेपछि छलफल गरिएको कुरा लागू गर्दा के-कस्ता फाइदा हुन्छन् भनी देखाउन तपाईंले तिनीहरूलाई जुरुकजुरुक पार्नुपर्छ। तपाईंले देखाउने उत्साहले श्रोताको हृदय छुन मदत गर्छ। जीवन्त प्रस्तुति जबरजस्ती थोपर्ने कुरा होइन। जीवन्त प्रस्तुतिको लागि कुनै न कुनै कारण हुनुपर्छ र तपाईंको विषयवस्तुले तपाईंलाई त्यो कारण दिन सक्नेछ।
-
-
न्यानोपन र भावमयईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्
-
-
अध्याय ११
न्यानोपन र भावमय
भावना मानिसले मात्र व्यक्त गर्छ। भावना व्यक्त गर्दा मानिसले आफ्नो मनको कुरा र आफ्नो व्यक्तित्व जाहेर गर्नुका साथै अरू मानिस र वरपरको परिस्थिति कस्तो लाग्छ, त्यो प्रकट गरिरहेको हुन्छ। जीवनमा भोगेको तीतो अनुभवले गर्दा र कहिलेकाहीं त संस्कृतिले गर्दा मानिसहरू आफ्नो भावना मनभित्रै गुम्स्याउँछन्। तर यहोवा हामीलाई सद्गुण विकास गर्न र ती गुणलाई सुहाउँदो तरिकामा व्यक्त गर्न प्रोत्साहन दिनुहुन्छ।—रोमी १२:१०; १ थिस्स. २:७, ८.
बोल्दा प्रयोग गर्ने शब्दहरूबाट हामीले महसुस गरेको भावना दुरुस्त व्यक्त गर्न सक्छौं। तर व्यक्त गरिएको भावना र बोलिएको शब्दबीच तालमेल मिलेन भने श्रोतालाई हामी निष्कपट छौं जस्तो लाग्दैन। अर्कोतर्फ भावना र शब्दबीच तालमेल मिल्दा हाम्रो बोली मीठो हुन्छ र श्रोताको मन छुन सक्छौं।
न्यानोपन व्यक्त गर्ने तरिका: न्यानो भावना भन्ने बित्तिकै हामी अक्सर मानिसहरूलाई सम्झन्छौं। त्यसैले यहोवाका मनमोहक गुणहरूबारे कुरा गर्दा र उहाँको भलाइप्रति कृतज्ञता जाहेर गर्दा हाम्रो आवाज न्यानो हुनुपर्छ। (यशै. ६३:७-९) अरूसित कुरा गर्दा बोल्ने तरिकाबाट पनि न्यानोपन व्यक्त गर्नुपर्छ।
एक जना कुष्ठरोगीले आफूलाई निको पारिदिन येशूलाई बिन्ती गरे। येशूले “मसित इच्छा छ। तिमी शुद्ध भइजाऊ” भन्दा उहाँको स्वरमा व्यक्त भएको भाव कल्पना गर्नुहोस्। (मर्कू. १:४०, ४१) रगत बग्ने व्यथा लागेको १२ वर्ष भइसकेकी एउटी स्त्रीले बिस्तारै पछाडिबाट येशूको लुगाको किनारा छोएको दृश्य कल्पना गर्नुहोस्। अरूको नजरबाट लुक्न नसकेपछि उक्त स्त्री थरथर काम्दै येशूको पाउमा घोप्टो परिन्। उनले येशूलाई छुनुको कारण र आफू निको भएको कुरा पनि सबै मानिससामु बताइन्। येशूले उनलाई यसो भन्दा कस्तो भावना व्यक्त गर्नुभयो, विचार गर्नुहोस्: “नानी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ।” (लूका ८:४२ख-४८) ती अवसरमा येशूले देखाएको न्यानोपनले अहिलेसम्म हाम्रो मन छुन्छ।
-