कसरी सत्यले हामीलाई स्वतन्त्र तुल्याउँछ
१ येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई एक चोटि यसो भन्नुभयो: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूह. ८:३२) उहाँले कुनै पनि नागरिक स्वतन्त्रताभन्दा उच्च, धनी होस् या गरिब, शिक्षित होस् या अशिक्षित सबैको लागि उपलब्ध स्वतन्त्रताबारे कुरा गरिरहनुभएको थियो। सत्यले पाप र मृत्युको दासत्वदेखि स्वतन्त्र तुल्याउनेछ भनी येशूले सिकाउनुभयो। किनभने येशूले यसो भन्नुभयो: “पाप गर्ने प्रत्येक पापको दास हो।” (यूह. ८:३४) त्यसैकारण हामी सबै आज्ञाकारी मानिसजातिले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउने” समयको उत्कट प्रतीक्षा गर्छौं!—रोमी ८:२१.
२ येशू तथा परमेश्वरको उद्देश्य पूरा गर्न उहाँले खेल्नुहुने भूमिकाबारे सत्यले यस्तो स्वतन्त्रता प्रदान गर्छ। यसमा हाम्रो खातिर उहाँले दिनुभएको छुडौतीको बलिदानको ज्ञान समावेश छ। (रोमी ३:२४) बाइबल सत्य स्वीकारेर आज्ञाकारी भई त्यसैअनुरूप चल्दा अहिले पनि त्यसले हामीलाई डर, निराशा अनि विभिन्न प्रकारका हानिकारक बानीदेखि केही हदसम्म भए पनि स्वतन्त्र हुन मदत गर्छ।
३ डर तथा निराशाबाट स्वतन्त्रता: संसारको अवस्था देखेर हामी निराश हुनु पर्दैन किनभने दुष्ट कुराहरू हुनुका कारण र चाँडै यसलाई पृथ्वीबाट नामोनिसान नरहने गरी हटाइनेछ भन्ने कुरा हामीले बुझेका छौं। (भज. ३७:१०, ११; २ तिमो. ३:१; प्रका. १२:१२) यसबाहेक, सत्यले हामीलाई मरेका व्यक्तिको अवस्थाबारे झूटा शिक्षाहरूबाट पनि स्वतन्त्र तुल्याउँछ। मरेका मानिसहरूले हामीलाई केही हानि गर्न सक्दैनन्, तिनीहरूले अनन्त सास्ती भोगिरहेका छैनन् र परमेश्वरले आफूसित आत्मिक संसारमा लैजान मानिसहरूलाई मर्न दिनुहुन्न भन्ने कुरा हामीलाई थाह छ।—उप. ९:५; प्रेरि. २४:१५.
४ यस्तो सत्यले दुर्घटनामा परेर आफ्नो छोराको मृत्यु हुँदा एक जना बुबा र आमालाई ढाडस दियो। आमा भन्छिन्, “हाम्रो जीवनमा एक प्रकारको शून्यता छाएको छ र आफ्नो छोरालाई पुनरुत्थानमा नभेटुन्जेल यस्तै भइरहनेछ। तर यो दुःख क्षणिक मात्रै हो।”
५ हानिकारक आनीबानीट स्वतन्त्र: बाइबल सत्यले मानिसको सोचाइ तथा व्यक्तित्व परिवर्तन गर्न सक्छ र कतिपय समस्याहरूबाट स्वतन्त्र तुल्याउँछ। (एफि. ४:२०-२४) इमानदारी र परिश्रम गर्ने बानीले गरिबी कम गर्न सहयोग पुऱ्याउँछ। (हितो. १३:४) आत्मत्यागी प्रेम देखाउँदा अरूसितको सम्बन्ध सुमधुर हुन्छ। (कल. ३:१३, १४) मसीही शिरत्वको आदर गर्दा पारिवारिक कठिनाइहरू कम हुन्छन्। (एफि. ५:३३—६:१) मतवालापन, यौन अनैतिकता, सुर्ती र मादक पदार्थबाट टाढै बस्दा स्वस्थ रहन मदत पाउँछौं।—हितो. ७:२१-२३; २३:२९, ३०; २ कोरि. ७:१.
६ एक जना जवान मानिस लागूपदार्थको कुलतमा फसेको नौ वर्ष भइसकेको थियो र त्यसबाट छुटकारा पाउन सकिरहेका थिएनन्। एक दिनको कुरा हो, तिनले सडक साक्षी दिइरहेकी प्रकाशकलाई भेटे। तिनले साहित्य स्वीकारे र तिनलाई घरमा फेरि भेट्ने प्रबन्ध मिलाइयो। बाइबल अध्ययन सुरु भयो। दुई महिनापछि त्यस मानिसले लागूपदार्थ सेवन गर्न चट्टै छोडिदिए र अध्ययन गरेको आठ महिनापछि बप्तिस्मा लिए। तिनले लागूपदार्थको कुलत त्यागेको देखेर तिनका दाइ र भाउजूले पनि बाइबल अध्ययन गर्न थाले।
७ अरूलाई वतन्त्र हुन मदत गर्नुहस्: आजीवन झूटो शिक्षाको बन्धनमा जकडिएका मानिसहरूलाई परमेश्वरको वचनले प्रदान गर्ने स्वतन्त्रता बुझ्न गाह्रो लाग्न सक्छ। उनीहरूको हृदयसम्म पुग्नको लागि बाइबल शिक्षा सिकाउने व्यक्तिले विशेष मेहनत तथा राम्रो तयारी गर्नुपर्ने हुन सक्छ। (२ तिमो. ४:२, ५) यो ‘कैदमा परेकाहरूलाई . . . छुटकाराको घोषणा गर्ने’ काममा ढिलासुस्ती गर्ने समय पटक्कै होइन। (यशै. ६१:१) मसीही स्वतन्त्रता अमूल्य छ। यसलाई प्राप्त गर्नु भनेको अनन्त जीवन हो।—१ तिमो. ४:१६.