प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पढ्‌ने काममा लागिरहनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • पढ्‌ने काममा लागिरहनुहोस्‌

      विश्‍वभरि ६ जनामध्ये १ जनालाई पढ्‌न आउँदैन। स्कूल जाने मौका नपाएकोले वा नियमित तवरमा स्कूल नगएकोले त्यसो भएको हो। तर पढ्‌न जान्‍नुभएको छ भने पत्रपत्रिका, पुस्तक आदि पढेर चिन्ता-फिक्री सामना गर्न व्यावहारिक ज्ञान पाउन सक्नुहुनेछ, देश-विदेश घुमेसरह र जीवनलाई अमूल्य बनाउने मानिसहरू भेटेसरह महसुस गर्न सक्नुहुनेछ।

      पृष्ठ २२-मा भएको चित्र

      तपाईंले छोराछोरीलाई पढेर सुनाएको कुराले तिनीहरूको व्यक्‍तित्व विकास गर्न मदत गर्छ

      केटीकेटीले जति पढ्‌न सिक्छन्‌, स्कूलमा सिकेको कुराबाट त्यत्ति नै फाइदा उठाउन सक्छन्‌। पछि जागिर खोज्दा कस्तो काम पाउने हो र कति घण्टा काम गर्नुपर्ने हो, त्यो उसको पढ्‌ने क्षमतामा भर पर्छ। राम्ररी पढ्‌न जान्‍ने गृहिणीले परिवारको पोषणमा र सरसफाइमा अझै ध्यान दिन सक्छिन्‌ भने परिवारलाई रोगबिमारबाट पनि जोगाउन सक्छिन्‌। राम्ररी पढ्‌न जान्‍ने आमाले छोराछोरीको बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्न सक्छिन्‌।

      पढ्‌न जानेकोले पाउन सक्ने सबैभन्दा ठूलो आशिष्‌ हो—‘परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्नु।’ (हितो. २:५) हामीले पढ्‌न जानेका छौं भने यहोवाको सेवामा निकै मदत मिल्छ। सभामा बाइबल र बाइबलआधारित साहित्य पढिन्छ। तपाईंको पढ्‌ने तरिकाले प्रचारमा तपाईं कत्तिको प्रभावकारी हुन सक्नुहुन्छ, त्यसमा निकै असर पार्छ। यी सबको लागि पढ्‌नुपर्ने हुन्छ। त्यसैले तपाईं कुन हदसम्म आध्यात्मिक प्रगति गर्नुहुन्छ, त्यो तपाईंको पढ्‌ने बानीमा भर पर्छ।

      मौकामा हीरा फोर्नुहोस्‌

      पृष्ठ २२-मा भएको चित्र

      मानिसहरूसामु पढ्‌दा भावसहित पढ्‌नुहोस्‌

      परमेश्‍वरबारे सिकिरहेकामध्ये केहीलाई थोरै मात्र पढ्‌न-लेख्न आउँछ। आध्यात्मिक प्रगति गर्न तिनीहरूलाई पढ्‌न सिकाउनुपर्ने हुन्छ। अथवा पढ्‌ने क्षमता बढाउन व्यक्‍तिगत रूपमै मदत दिनुपर्ने हुन्छ। त्यसकारण आवश्‍यकताअनुसार मण्डलीहरूले साक्षरता कक्षाको प्रबन्ध मिलाउन धेरै मेहनत गर्छन्‌। हजारौंले यस प्रबन्धबाट धेरै लाभ उठाएका छन्‌। राम्ररी पढ्‌न सक्नु महत्त्वपूर्ण भएको कारण केही मण्डलीले ईश्‍वरतान्त्रिक सेवा स्कूल सञ्चालन भइरहेकै बेला वा अरू कुनै समयमा साक्षरता कक्षाको प्रबन्ध गरेका छन्‌। यस्ता कक्षाको प्रबन्ध गरिएका छैनन्‌ भने पनि पढ्‌ने क्षमता कम भएको व्यक्‍तिले दिनदिनै आवाज निकालेर पढ्‌न केही समय छुट्ट्याएर अनि स्कूलमा भाग लिएर प्रगति गर्न सक्छन्‌।

      दुःखको कुरा चित्रकथा र टिभीले गर्दा धेरैजसो मानिस पढ्‌न त्यति रुचाउँदैनन्‌। टिभी हेर्ने र थोरै पढ्‌ने बानीले पढ्‌ने सीपमा, सोच्ने, तर्क गर्ने र राम्ररी विचार व्यक्‍त गर्ने क्षमतामा बाधा पुऱ्‍याइरहेको हुन्छ।

      “विश्‍वासी र बुद्धिमान्‌ दास”-द्वारा प्रकाशित साहित्यहरूले बाइबलको कुरा राम्ररी बुझ्न मदत गर्छन्‌। यिनमा महत्त्वपूर्ण आध्यात्मिक विषयवस्तुको भण्डार नै हुन्छ। (मत्ती २४:४५; १ कोरि. २:१२, १३) यी साहित्यले संसारमा भइरहेका महत्त्वपूर्ण गतिविधि र त्यसको अर्थ थाह दिन्छ, प्रकृतिमा भएका कुरालाई राम्ररी बुझ्न र समस्या समाधान गर्ने तरिका सिक्न मदत गर्छ। अझै महत्त्वपूर्ण, परमेश्‍वरलाई ग्रहणयोग्य हुने र उहाँले अनुमोदन दिनेगरि उहाँको सेवा गर्ने तरिका पनि यसले सिकाउँछ। यस्ता साहित्यहरू पढ्‌दा तपाईंले आध्यात्मिक व्यक्‍ति हुन मदत पाउन सक्नुहुन्छ।

      राम्ररी पढ्‌न सक्नु मात्र ठूलो कुरा होइन। यसको सदुपयोग गर्न पनि जान्‍नुपर्छ। जे-पायो त्यही नखाएझैं जे-पायो त्यही पढ्‌नुहुँदैन। हामी पोषण नै नदिने वा विष लाग्ने खाना खाँदैनौं नि, होइन र? त्यसो भए मन र दिमागलाई भ्रष्ट तुल्याउने पत्रपत्रिका, पुस्तक आदिचाहिं सरसरती मात्रै भए पनि किन हेर्ने? हामी कस्तो पत्रपत्रिका, पुस्तक आदि पढ्‌न सक्छौं, त्यो पत्ता लगाउन बाइबल सिद्धान्तले मदत गर्न सक्छ। के पढ्‌ने भनेर निर्णय गर्नुअघि नै उपदेशक १२:१२, १३; एफिसी ४:२२-२४; ५:३, ४; फिलिप्पी ४:८; कलस्सी २:८; १ यूहन्‍ना २:१५-१७ अनि २ यूहन्‍ना १० जस्ता पदहरू सम्झनुहोस्‌।

      सही मनसाय राखेर पढ्‌नुहोस्‌

      सही मनसाय राख्नु कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरा सुसमाचारका पुस्तकहरू जाँच्दा स्पष्ट हुन्छ। उदाहरणका लागि, धर्मगुरुहरूले सोधेका धूर्त प्रश्‍नहरूको जवाफ दिनुअघि येशूले तिनीहरूलाई “के तिमीहरूले पढेका छैनौ?” र “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ?” भनेर सोध्नुभएको विवरण मत्तीको सुसमाचारमा पाइन्छ। (मत्ती १२:३, ५; १९:४; २१:१६, ४२; २२:३१) यसबाट सिक्न सक्ने एउटा पाठ हो—पढ्‌ने मनसाय सही छैन भने हामी गलत निष्कर्षमा पुग्न सक्छौं अथवा कुरो फिटिक्कै बुझ्न सक्दैनौं। शास्त्र पढेमा अनन्त जीवन पाइन्छ भन्ठानेर मात्र फरिसीहरूले पढिरहेका थिए। येशूले औंल्याएझैं परमेश्‍वरलाई प्रेम नगर्नेहरू र मुक्‍तिको लागि उहाँले गरेको प्रबन्ध अस्वीकार गर्नेहरूलाई अनन्त जीवनको इनाम दिइँदैन। (यूह. ५:३९-४३) फरिसीहरूको मनसाय स्वार्थी थियो, त्यसैले तिनीहरूले प्रायः गलत निष्कर्ष निकाले।

      यहोवाको वचन पढ्‌ने सबैभन्दा शुद्ध मनसाय भनेको उहाँप्रतिको प्रेम हो। यस्तो प्रेमले हामीलाई परमेश्‍वरको इच्छा सिक्न जुरमुऱ्‍याउँछ किनभने प्रेम “सत्यमा खुसी हुन्छ।” (१ कोरि. १३:६) पहिला हामीलाई पढ्‌न झिंजो लाग्थ्यो होला। तर “सारा दिमागले” यहोवालाई प्रेम गरेकोले दिलोज्यान लगाएर उहाँको ज्ञान प्राप्त गर्ने प्रयास गर्छौं। (मत्ती २२:३७) प्रेमले गर्दा यहोवालाई चिन्‍ने चासो जाग्छ र यस्तो चासोले उहाँबारे सिक्न उत्प्रेरित गर्छ।

      गति विचार गर्नुहोस्‌

      पढ्‌नु र शब्द चिन्‍नु फरक-फरक कुरा भए पनि सँगसँगै गरिन्छ। अहिले पढ्‌दा पढ्‌दै पनि तपाईं शब्दहरू चिन्दै र अर्थ बुझ्दै हुनुहुन्छ। एउटै शब्दले दिने विभिन्‍न अर्थ बुझ्नुभएको छ भने पढ्‌ने गति बढाउन सकिन्छ। एउटा-एउटा शब्दको अर्थ के होला भनेर घोरिनुभन्दा शब्दहरूको समूहको अर्थ बुझ्ने प्रयास गर्नुहोस्‌। यस्तो क्षमता बढाउँदै लैजाँदा पढेको कुरा अझ स्पष्ट बुझ्न सक्नुहुन्छ।

      पृष्ठ २२-मा भएको चित्र

      सँगै मिलेर पढ्‌दा पारिवारिक सम्बन्ध बलियो हुन्छ

      तर गहिरो विषयवस्तु पढ्‌दा भने आफ्नो मेहनतको सक्दो फल पाउन भिन्‍नै तरिका अपनाउनुपर्छ। धर्मशास्त्र पढ्‌ने सम्बन्धमा यहोवाले यहोशूलाई यस्तो सल्लाह दिनुभयो: “व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्‌, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू।” (यहो. १:८) ध्यान अर्थात्‌ मनन गर्दा मानिस अक्सर गुनगुनाउँछ। त्यसैले “ध्यान गर्नू”-लाई हिब्रू भाषामा गुनगुनाउनु भनेर पनि अनुवाद गरिएको छ। (भज. ६३:६; ७७:१२; १४३:५) ध्यान गर्दा मानिसले एकाग्र भई गहिरिएर सोच्छ; हतार गर्दैन। मनन गर्दै पढ्‌दा परमेश्‍वरको वचनले हाम्रो मन अनि दिमागमा अमेट छाप पार्छ। बाइबलमा भविष्यवाणी, सल्लाह, हितोपदेश, कविता, ईश्‍वरीय न्यायदण्ड, यहोवाको उद्देश्‍यबारे विस्तृत जानकारीलगायत प्रशस्तै वास्तविक अनुभवहरू पाइन्छन्‌। यी सब यहोवाको मार्गमा हिंड्‌न चाहनेहरूको निम्ति अनमोल मोतीसरह हुन्‌। हाम्रो मन अनि दिमागमा गहिरो छाप पार्नेगरि बाइबल पढ्‌दा निकै फाइदा हुन्छ।

      एकाग्र हुन सिक्नुहोस्‌

      पृष्ठ २२-मा भएको चित्र

      पढ्‌ने बानीले तपाईंको आध्यात्मिक प्रगतिमा प्रभाव पार्छ

      बाइबल पढ्‌दै गर्दा प्रत्येक विवरणमा आफूलाई पनि समावेश गर्नुहोस्‌। उल्लेख गरिएका पात्रहरूको मुहार मनमा उतार्ने कोसिस गर्नुहोस्‌। तिनीहरूले भोगेको कुरा आफैले भोगेसरह महसुस गर्नुहोस्‌। पहिलो शमूएल १७ अध्यायमा दाऊद र गोल्यतको विवरण पढ्‌दा यसो गर्नु त सजिलै हुन्छ। तर प्रस्थान र लेवीमा बासस्थानको निर्माणसम्बन्धी दिइएका विवरण पढ्‌दा बासस्थानको उचाइ, चौडाइ अनि त्यहाँ प्रयोग गरिएका सर-सामानबारे कल्पना गर्ने कोसिस गर्नुभयो भने अथवा पुजारीको नियुक्‍ति र कामबारे पढ्‌दा धूपको, भुटेको अन्‍नको अनि होमबलि चढाइएका पशुपन्छीको बास्ना सुँघ्ने प्रयास गर्नुभयो भने यी विवरण पनि जीवन्त हुनेछन्‌। ओहो! पुजारीले कत्ति धेरै काम गर्नुपर्ने रहेछ! (लूका १:८-१०) पढ्‌ने बेला आफ्ना इन्द्रिय र भावनालाई पनि मुछ्‌दा पढेको कुराको महत्त्व बुझ्न सक्नुहुनेछ र ती सम्झिन पनि सजिलो हुनेछ।

      तर पढ्‌ने बेला होसियार हुनुभएन भने तपाईंको मन कता हो कता डुल्न सक्छ। आँखा त पानामै होला तर मन भने अन्तै उडिसकेको हुन्छ। कतै बाजागाजा पो बजिरहेको छ कि? टेलिभिजन पो चलिरहेको छ कि? परिवारका सदस्यहरू गफ गर्दैछन्‌ कि? सम्भव छ भने एकान्तमा बसेर पढ्‌नु बेस। तर ध्यान भङ्‌ग गर्ने कुरा त तपाईंको मनबाट पनि आउन सक्छ। सायद दिनभर निकै खट्‌नुभएको थियो होला। दिनभरिको गतिविधि दिमागमा सिनेमाजस्तै आउँछ होला। दिनभर गरेको कामलाई फेरि विचार गर्नु ठीकै हो तर पढ्‌ने बेलामा भने होइन। सायद पढ्‌न थाल्दा एकाग्रचित्त हुनुहुन्थ्यो होला वा प्रार्थना गरीवरी पढ्‌न थाल्नुभएको होला। तर पढ्‌दै गर्दा मन त विस्तारै उड्‌न पो थालेछ! त्यसो हो भने एकाग्र हुन फेरि प्रयास गर्नुहोस्‌। पढिरहेको कुरामा सारा ध्यान लगाउन मन बाँध्नुहोस्‌। यसो गर्नुभयो भने बिस्तारै आफ्नो प्रगति देख्न सक्नुहुनेछ।

      पढ्‌दा पढ्‌दै नबुझिने शब्दमा अड्‌कनुभयो कि? त्यस्ता केही शब्द लेखमै व्याख्या गरिएका हुन सक्छन्‌। अथवा सन्दर्भबाटै शब्दको अर्थ पत्ता लगाउन सक्नुहुन्छ होला। सक्नुभएन भने शब्दकोशमै अर्थ खोज्नुहोस्‌। तर शब्दकोश छैन भने पछि कसैलाई सोध्न उक्‍त शब्दमा चिनो लगाउनुहोस्‌। यसो गर्दा तपाईंको शब्द-भण्डार बढ्‌नेछ र पढ्‌दा अझ राम्ररी बुझ्न सक्नुहुनेछ।

      मानिसहरूसामु पढ्‌नुहोस्‌

      पृष्ठ २४-मा भएको चित्र

      मानिसहरूसामु पढ्‌ने काममा लागिरहनुहोस्‌

      पढ्‌ने काममा लागिरह भनेर तिमोथीलाई बताउँदा प्रेषित पावलले मानिसहरूसामु पढ्‌दा उनीहरूलाई हुने फाइदाबारे तोकेरै बताउँदै थिए। (१ तिमो. ४:१३) हुन पनि मानिसहरूसामु प्रभावकारी ढङ्‌गमा पढ्‌दा शब्द उच्चारण गरेर मात्र पुग्दैन; शब्दको अर्थ बुझ्नु र ती शब्दले बताउन खोजेको कुरा बुझ्नु पनि जरुरी छ। तिनले त्यसो गरेका छन्‌ भने मात्र सही विचार व्यक्‍त गर्न र ठीक भाव उत्पन्‍न गर्न सक्छन्‌। तर यसको लागि विस्तृत तयारी गर्नु र अभ्यास गर्नु आवश्‍यक छ। त्यसैकारण पावलले यस्तो सल्लाह दिए: “मानिसहरूसामु . . . पढ्‌ने . . . काममा लागिरह।” यो सीप तिखार्ने महत्त्वपूर्ण प्रशिक्षण ईश्‍वरतान्त्रिक सेवा स्कूलमा पाउन सक्नुहुन्छ।

      पढ्‌ने समय निकाल्नुहोस्‌

      “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्‍चय कङ्‌गाली हुन्छ।” (हितो. २१:५) पढ्‌ने इच्छुकताको सम्बन्धमा यो कुरा सोह्रै आना सही! “लाभ” उठाउन लगनशील भई योजना मिलाउनुपर्छ। यसरी योजना बनाउँदा अरू कुराले हाम्रो पढाइमा भाँजो हाल्न पाउँदैन।

      तपाईं कहिले पढ्‌नुहुन्छ? बिहान सबेरै पढ्‌दा फाइदा हुन्छ कि? अथवा दिउँसो बढी चनाखो महसुस गर्नुहुन्छ भने दिउँसो नै पढ्‌नुहुन्छ कि? जेहोस्‌ हरेक दिन पढ्‌नको लागि १५/२० मिनेट मात्र भए पनि छुट्ट्याउने गर्नुभएको छ भने कत्तिको सिध्याउनुभयो, त्यो देखेर दङ्‌ग पर्नुहुनेछ। कुरोको चुरो हो:- पढाइमा नियमित हुनु।

      किन यहोवाले आफ्ना महान्‌ उद्देश्‍य किताबमै लेखाउन रोज्नुभयो? मानिसहरूले उहाँको वचनमा सल्लाह खोज्न सकून्‌ भनेर। बाइबल पढेर तिनीहरू परमेश्‍वरका महान्‌ कार्यहरूबारे सोच्न, छोराछोरीलाई तीबारे बताउन र परमेश्‍वरका कार्यहरू सम्झिरहन सक्थे। (भज. ७८:५-७) त्यसैले उहाँले दिएको जीवनदायी वचन पढ्‌ने काममा लागिरहेर हामी यहोवा परमेश्‍वरको उदारताको कदर गर्छौं।

      तपाईं के-के पढ्‌नुहुन्छ?

      • बाइबल पढाइलाई प्राथमिकता दिनुहुन्छ?

      • प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! नछुटाई पढ्‌नुहुन्छ?

      • बाइबल अध्ययनको लागि तयार पारिएका नयाँ प्रकाशनहरू पाउनेबित्तिकै पढ्‌नुहुन्छ?

      • हाम्रो राज्य सेवा पाउनेबित्तिकै तपाईंलाई प्रचारमा मदत गर्ने लेखहरू पढ्‌नुहुन्छ?

      • यहोवाका साक्षीहरूले प्रकाशित गरेका पुराना प्रकाशनहरू कतिवटासम्म पढ्‌नुभयो?

  • अध्ययनको फल मीठो हुन्छ
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • अध्ययनको फल मीठो हुन्छ

      फलफूल छान्दा मानिसहरू के गर्छन्‌, याद गर्नुभएको छ? फल पाकेको छ कि छैन भनेर पत्ता लगाउन मानिसहरू फलको रङ्‌ग र आकार हेर्छन्‌। कोही-कोही भने फल सुँघ्छन्‌। कोही छाम्छन्‌ त कोही थिच्छन्‌ पनि। अझ कोही-कोही त कुनचाहिं धेरै रसिलो र भरिलो छ भनेर हातमा जोख्ने गर्छन्‌। यसरी फल छान्दा मानिसहरू के सोचिरहेका हुन्छन्‌? फल छान्दा तिनीहरू फलको स-साना कुरासमेत जाँच्छन्‌। यसअघि फल छानेको कुरा सम्झँदै तिनीहरू अहिले फल छान्छन्‌ र तुलना गर्छन्‌। धेरै ध्यान दिएर फल छानेकोले तिनीहरू मीठो फल खान पाउँछन्‌।

      परमेश्‍वरको वचन पढ्‌न हामी जति मेहनत गर्छौं, त्यसको नतिजा फलफूलभन्दा पनि कता हो कता मीठो हुन्छ। परमेश्‍वरको वचन गहिरिएर पढ्‌नुलाई महत्त्वपूर्ण ठान्यौं भने हाम्रो विश्‍वास बलियो हुन्छ, प्रेम अझै बढ्‌छ र अझै सिपालु भएर प्रचार गर्न सक्छौं। साथै हामीले गर्ने निर्णयमा समझशक्‍ति र परमेश्‍वरको बुद्धि छ भनेर पनि देखिन्छ। यस्ता आशिष्‌बारे हितोपदेश ३:१५ यसो भन्छ: “त्यो मूगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ, र तेरा सबै रत्नहरू त्यसको बराबरी हुनैसक्‍तैन।” के तपाईंले पनि यस्ता आशिष्‌ पाउनुभएको छ? तपाईं कसरी अध्ययन गर्नुहुन्छ, यो कुरा त्यसैमा भर पर्छ।—कल. १:९, १०.

      पृष्ठ ३०-मा भएको चित्र

      मनन गर्न समय निकाल्नुहोस्‌

      अध्ययन गर्नु भनेको के हो? खरखरती पढ्‌दैमा अध्ययन गरेको भन्‍न मिल्दैन। आफ्नो दिमाग लगाएर, समय लगाएर कुनै विषय राम्ररी जाँच्नु वा विस्तृत तवरमा केलाउनुलाई अध्ययन गर्नु भन्‍न सकिन्छ। तपाईंले पढिरहेको विषय जाँच्नु, तपाईंलाई पहिलादेखि थाह भएको कुरा र नयाँ जानकारीबीच तुलना गर्नु र जे भनिएको छ त्यसको लागि दिइएको कारणमा ध्यान दिनु पनि अध्ययन गर्नुमा समावेश छ। अध्ययन गर्दा तपाईंलाई ‘यो त नयाँ कुरा हो’ जस्तो लाग्छ भने त्यसबारे गहिरिएर सोच्नुहोस्‌। बाइबलआधारित सल्लाह तपाईं कसरी लागू गर्न सक्नुहुन्छ भनेर पनि ध्यान दिनुहोस्‌। यहोवाको साक्षी भएकोले अरूलाई मदत गर्न यो जानकारी प्रयोग गर्न  सकिने तरिका पनि सोच्नुहोस्‌। वास्तवमा मननबिना अध्ययन अधुरो हुन्छ।

      सही मनोवृत्ति राखेर अध्ययन गर्नुहोस्‌

      पृष्ठ ३०-मा भएको चित्र

      व्यक्‍तिगत अध्ययनबाट पूरापूर फाइदा उठाउन मन दिनुहोस्‌

      अध्ययन गर्ने तयारी गर्दा तपाईं बाइबल, पढ्‌न लागेको प्रकाशन, कलम वा सिसाकलम अनि सायद एउटा कापी पनि चट्ट अगाडि राख्नुहुन्छ होला। तर के तपाईं आफ्नो मन पनि तयार पार्नुहुन्छ? “एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न औ इस्राएलमा धर्म-विधि र धार्मिक विचार सिकाउन मन दिएका थिए” भनी बाइबल बताउँछ। (एज्रा ७:१०) मन दिनु अर्थात्‌ मन तयार पार्नुमा के-के समावेश छ?

      सही मनोवृत्ति राखेर परमेश्‍वरको वचन अध्ययन गर्न प्रार्थनाले हामीलाई सक्षम पार्छ। यहोवाले दिने निर्देशन हृदयको गहिराइसम्मै पुगेको हामी चाहन्छौं। त्यसकारण प्रत्येक पटक अध्ययन गर्न बस्दा सबैभन्दा पहिला यहोवासित पवित्र शक्‍तिको मदत माग्नुहोस्‌। (लूका ११:१३) आफूले पढेको कुराको अर्थ बुझ्न, त्यो कुरा उहाँको उद्देश्‍यसित कसरी सम्बन्धित छ, सही र गलत छुट्ट्याउन त्यसले तपाईंलाई कसरी मदत दिन सक्छ, उहाँका सिद्धान्तहरू आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ अनि त्यस कुराले यहोवासित तपाईंको सम्बन्धमा कसरी असर गर्छ, यी सबै बुझ्न यहोवासँग मदत माग्नुहोस्‌। (हितो. ९:१०) अध्ययन गरिरहँदा ‘परमेश्‍वरसित बुद्धि मागिरहनुहोस्‌।’ (याकू. १:५) आफूले सिकेको कुराको आधारमा खराब विचार र हानिकारक इच्छा त्याग्न यहोवाको मदत माग्दै इमानदार भई आफ्नो लेखाजोखा गर्नुहोस्‌। यहोवाले सिकाउने कुराको लागि ‘धन्यवाद दिएर उहाँको स्तुति गाउनुहोस्‌।’ (भज. १४७:७) यसरी प्रार्थना गरेर अध्ययन गर्दा यहोवाले आफ्नो वचनमार्फत भनेका कुरा सजिलै स्वीकार्ने भएकोले हामी यहोवाको झनै नजिक हुनेछौं।—भज. १४५:१८.

      यस्तो मनोवृत्तिले गर्दा नै यहोवाका जनहरू अरू मानिसभन्दा फरक छन्‌। परमेश्‍वरप्रति भक्‍तिभाव नै नभएका मानिसहरू बाइबलमा लेखिएका कुराहरूमा शङ्‌का गर्छन्‌ र औंला ठड्याउनसमेत पछि पर्दैनन्‌। तर हामी भने त्यसो गर्दैनौं। हामी यहोवा परमेश्‍वरमा भरोसा गर्छौं। (हितो. ३:५-७) कुनै कुरा बुझेनौं भने पनि पहिल्यै अनुमान गर्दै गलत निष्कर्ष निकाल्दैनौं। त्यस्तो बेला जवाफको खोजी गर्दै वा अनुसन्धान गर्दै हामी यहोवाको बाटो हेर्छौं। (मीका ७:७) अध्ययन गर्ने सम्बन्धमा एज्राको जस्तै हाम्रो मनसाय पनि सिकेको कुरा लागू गर्ने र अरूलाई सिकाउने हो। हामीसित पनि यस्तै मनोभाव छ भने अध्ययनको मीठो फल खान पाउँनेछौं।

      कसरी अध्ययन गर्ने?

      कुनै लेखको पहिलो अनुच्छेदबाट सुरु गरेर अन्तसम्म पढिहाल्नुभन्दा उक्‍त लेख वा अध्याय सरसरती हेर्नुहोस्‌। पहिला, शीर्षकमा प्रयोग गरिएका शब्द केलाउनुहोस्‌। त्यो शीर्षक नै तपाईंले पढ्‌न लागेको लेखको मूल-विषय हो। त्यसपछि उपशीर्षकहरू हेर्नुहोस्‌। प्रत्येक उपशीर्षक मूल-विषयसँग कसरी जोडिएका छन्‌, ध्यान दिनुहोस्‌। लेखमा दिइएका उदाहरण, चित्र, तथ्याङ्‌क, शिक्षण पेटी जस्ता कुरालाई जाँच्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘यसरी सरसरती हेर्दा लेखबाट के पाठ सिक्न सक्छु होला? यो विषय मेरो लागि कसरी उपयोगी होला?’ यसरी सोध्नुभयो भने कुन विषयमा अध्ययन गर्न लाग्नुभएको छ, त्यो थाह पाउन सक्नुहुन्छ।

      पृष्ठ ३०-मा भएको चित्र

      अनुसन्धान गर्न तपाईंले बुझ्ने भाषामा के-के उपलब्ध छन्‌, ती प्रयोग गर्न सिक्नुहोस्‌

      अब लेख केलाएर हेर्नुहोस्‌। प्रहरीधरहरा अध्ययन लेख र कुनै-कुनै किताबमा प्रश्‍नहरू दिइएका हुन्छन्‌। हरेक अनुच्छेद पढ्‌दा जवाफमा चिनो लगाउनु राम्रो हो। प्रश्‍न दिइएका छैनन्‌ भने पनि आफूले सम्झन चाहेको महत्त्वपूर्ण बुँदामा चिनो लगाउनुहोस्‌। कुनै शिक्षा नौलो लाग्छ भने त्यो शिक्षा राम्ररी बुझ्न थप समय लगाउनुहोस्‌। तपाईंले प्रचारमा वा भाषणमा प्रयोग गर्न सक्ने कुनै उदाहरण वा तर्क लेखमा छन्‌ कि भनेर ध्यान दिनुहोस्‌। आफूले पढिरहेको कुरा बाँड्‌दा क-कसको विश्‍वास बलियो हुन्छ, सोच्नुहोस्‌। आफूले प्रयोग गर्न चाहेका बुँदाहरूमा चिनो लगाउनुहोस्‌ र लेख पूरा पढिसकेपछि ती बुँदा फेरि दोहोऱ्‍याउनुहोस्‌।

      यसरी लेख केलाउँदा उल्लिखित शास्त्रपदहरू पल्टाएरै हेर्नुहोस्‌। प्रत्येक शास्त्रपद अनुच्छेदको मुख्य बुँदासित कसरी सम्बन्धित छ, विश्‍लेषण गर्नुहोस्‌।

      पढ्‌दै जाँदा एकचोटिमै नबुझिने कुनै बुँदा वा अझै अनुसन्धान गर्न चाहेको कुनै बुँदा भेट्टाउनुहोला। यसले गर्दा अलमलिनुको साटो पछि विचार गर्न उक्‍त बुँदा टिप्नुहोस्‌। पढ्‌दै जाँदा अक्सर पहिले नबुझेको कुरा प्रस्ट हुँदै जान्छ। प्रस्ट भएन भने थप अनुसन्धान गर्नुहोस्‌। के-कस्ता कुरा यसरी अनुसन्धान गर्न सक्छौं? सायद प्रस्ट बुझ्न नसकिएको कुनै पद उल्लेख गरिएको हुन सक्छ। अथवा छलफल गरिएको बुँदा कसरी लागू गर्ने झट्टै बुझ्न सक्नुभएन होला। वा लेखको कुनै बुँदा बुझ्न त बुझ्नुभयो तर अरूलाई बताउन भने सक्नुभएन होला। यस्ता कुरालाई बेवास्ता नगर्नुहोस्‌। अध्ययन गरिरहेको विषय पढिसिध्याएपछि थप अनुसन्धान गर्नु बुद्धिमानी हो।

      पृष्ठ ३०-मा भएको चित्र

      बाइबल पल्टाएरै हेर्नुहोस्‌

      प्रेषित पावलले हिब्रू ख्रीष्टियनहरूलाई विस्तृत विवरण खुलाएर पत्र लेखेका थिए। उक्‍त पत्रको बीचतिर एकछिन रोकिएर पावलले यसो भने: “मुख्य बुँदा यही हो।” (हिब्रू ८:१) के तपाईं पनि बेला-बेलामा आफूलाई त्यसरी नै सम्झाउनुहुन्छ? पावलले त्यसो गर्नुको कारण विचार गर्नुहोस्‌। हिब्रूहरूलाई लेखेको पत्रको अघिल्लो अध्यायमा पावलले परमेश्‍वरको प्रधान पुजारी ख्रीष्ट स्वर्गमा प्रवेश गरिसक्नुभयो भनेर बताइसकेका थिए। (हिब्रू ४:१४–५:१०; ६:२०) तैपनि पावलले ८ अध्यायको सुरुमा यो मुख्य बुँदालाई जोड दिएर उक्‍त कुराले पाठकहरूमा कस्तो असर पार्छ, त्यसबारे गहिरिएर सोच्न तिनीहरूको मन तयार पारिरहेका थिए। तिनीहरूको खातिर ख्रीष्ट परमेश्‍वरसामु देखा पर्नुभयो र तिनीहरूलाई पनि स्वर्गको “महापवित्रस्थानभित्र” पस्न सम्भव तुल्याउनुभयो भनेर पावलले उल्लेख गरे। (हिब्रू ९:२४; १०:१९-२२) यो पक्का आशाले तिनीहरूलाई यस पत्रमा दिइएको विश्‍वास, धैर्य अनि ख्रीष्टियन आचरणसम्बन्धी थप सल्लाह पालन गर्न उत्प्रेरित गर्ने थियो। त्यसैगरि पढ्‌ने बेला मुख्य बुँदामा ध्यान केन्द्रित गर्दा मूल-विषय कसरी विस्तार गरिएको छ, त्यो बुझ्ने मदत पाउँछौं। यसबाहेक मुख्य बुँदाअनुसार चल्नुपर्ने आवश्‍यकतालाई मनमा ठप्प बसाल्ने मदत पनि पाउनेछौं।

      व्यक्‍तिगत अध्ययनले के तपाईंलाई पनि काम गर्न जुरमुऱ्‍याउँछ? यो महत्त्वपूर्ण प्रश्‍न हो। केही कुरा सिक्दा आफैलाई सोध्नुहोस्‌: ‘यसले मेरो मनोवृत्ति र लक्ष्यहरूमा कस्तो असर पार्छ? समस्या सुल्झाउन, निर्णय गर्न वा लक्ष्यसम्म पुग्न यो जानकारी कसरी प्रयोग गर्न सक्छु? परिवारमा, प्रचारमा र मण्डलीमा यो बुँदा कसरी प्रयोग गर्न सक्छु?’ ‘यस्तै अवस्थामा परें भने सिकेको ज्ञान कसरी प्रयोग गर्न सकूँला’ भनेर सोच्दै यी प्रश्‍नहरूबारे प्रार्थनापूर्वक विचार गर्नुहोस्‌।

      एउटा अध्याय अथवा एउटा लेख पढिसकेपछि पढेको कुरा नबिर्सन छोटकरीमा दोहोऱ्‍याउनुहोस्‌। मुख्य बुँदा अनि त्यसलाई समर्थन गर्ने तर्कहरू सम्झन सक्नुहुन्छ कि सक्नुहुन्‍न, जाँच्नुहोस्‌। यसो गर्दा यो जानकारी पछि-पछि प्रयोग गर्ने बेला झट्टै सम्झन सक्नुहुन्छ।

      के अध्ययन गर्ने?

      यहोवाका जनहरू भएकोले हामीले पढ्‌नुपर्ने कुरा थुप्रै छन्‌। तर के पढेर सुरु गर्ने? हरेक दिन दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट बाइबल पद र छापिएको टिप्पणी पढ्‌नु बेस हुन्छ। हामी हरेक हप्ता सभाहरू जान्छौं र सभाको लागि तयारी गर्दा पढ्‌ने गरेका छौं भने निकै फाइदा उठाउन सक्नेछौं। यसबाहेक कोही-कोही भने आफूले सत्य सिक्नुभन्दा अघिका प्रकाशनहरू पढेर पनि लाभ उठाउँछन्‌। अनि अरू कतिपय भने आफूले हप्ता-हप्तामा पढ्‌नुपर्ने बाइबलका अंश पढ्‌ने र ती पदबारे गहिरिएर अनुसन्धान गर्ने गर्छन्‌।

      तर परिस्थितिले गर्दा हरेक हप्ता हुने सभाको लागि राम्ररी तयारी गर्न पढ्‌न भ्याउनुहुन्‍न भने नि? सब थोक एकै पटक पढ्‌न खोज्ने वा केही पनि पढ्‌न सकिन्‍नँ भन्ठान्दै पढ्‌दै नपढ्‌ने फन्दामा नपर्नुहोस्‌। बरु जति सकिन्छ, त्यति मात्र पढ्‌नुहोस्‌ र त्यो पनि राम्ररी पढ्‌नुहोस्‌। हरेक हप्ता पढ्‌ने बानी गर्नुहोस्‌। यसो गर्नुभयो भने समयमा सभाका अन्य भाग पनि तयारी गर्ने बानी बसाल्न सक्नुहुन्छ।

      ‘घरको प्रबन्ध मिलाउनुहोस्‌’

      परिवारको शिरले परिवारको पालन-पोषण गर्न अथक प्रयास गर्नुपर्छ भनेर यहोवा परमेश्‍वरले बुझ्नुभएको छ। हितोपदेश २४:२७ मा यस्तो लेखिएको छ: “सबैभन्दा पहिले घरका बाहिरका कुराहरू सम्हाल्‌। खेतमा सबै तयार गर्‌।” तैपनि परिवारको आध्यात्मिक आवश्‍यकतालाई बेवास्ता गर्न मिल्दैन। त्यसैकारण बाँकी पदमा अझै यस्तो लेखिएको छ: “त्यसपछि मात्र घरको प्रबन्ध मिला।” तर परिवारको शिरले कसरी त्यसो गर्न सक्छन्‌? हितोपदेश २४:३ यस्तो जवाफ दिन्छ: “समझशक्‍तिले [घरलाई] सुरक्षित राख्छ।”

      समझशक्‍तिले गर्दा तपाईंको परिवारलाई कस्तो लाभ पुग्छ? समझशक्‍ति भनेको सतही कुरा मात्र होइन तर गहिराइसम्म बुझ्न सक्ने क्षमता हो। भनिन्छ, परिवारको आवश्‍यकताबारे गहिरिएर विचार गरिसकेपछि मात्र प्रभावकारी ढङ्‌गमा पारिवारिक अध्ययन गर्न सकिन्छ। तपाईंको परिवारका सदस्यहरूको आध्यात्मिक प्रगति कस्तो छ? तिनीहरूसित कुराकानी गर्दा ध्यान दिएर सुन्‍नुहोस्‌। के तिनीहरू गुनासो गर्छन्‌? वा रिस देखाउँछन्‌? के तिनीहरूलाई धनसम्पत्ति कमाउनु नै मुख्य कुरा हो जस्तो लाग्छ? छोराछोरीलाई सँगै प्रचारमा लैजाँदा के तिनीहरू साथीहरूसामु आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउन सजिलो मान्छन्‌? परिवार मिलेर बाइबल पढ्‌दा वा अध्ययन गर्दा के तिनीहरू रमाइलो मान्छन्‌? के तिनीहरूले यहोवाका तौरतरिकाअनुसार जीवन बिताइरहेका छन्‌? परिवारको शिर भएकोले होसियारीसाथ अवलोकन गर्नुहोस्‌। त्यसो गर्नुभएको छ भने परिवारको प्रत्येक सदस्यले यहोवालाई मनपर्ने गुण खेती गर्न के गर्नु आवश्‍यक छ, त्यो थाह पाउन सक्नुहुन्छ।

      परिवारको खास आवश्‍यकताबारे प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मा छापिएका लेखहरू खोज्नुहोस्‌। त्यस लेखबारे परिवारलाई पहिल्यै बताउनुहोस्‌। यसो गर्दा तिनीहरूले अबको पारिवारिक अध्ययनमा के छलफल गरिनेछ त्यो पहिल्यै सोच्न सक्छन्‌। अध्ययनको वातावरण मायालु बनाउनुहोस्‌। तपाईंको पारिवारिक अध्ययन कसैलाई हप्कीदप्की दिएझैं वा लाजमा पारेझैं नहोस्‌। बरु छलफल गरिरहेको विषय किन महत्त्वपूर्ण छ, प्रस्ट पार्नुहोस्‌ र आफ्नो परिवारको आवश्‍यकताअनुसार कसरी लागू गर्न सकिन्छ, बताउनुहोस्‌। अध्ययनमा सबैलाई भाग लिन लगाउनुहोस्‌। यहोवाको वचन “निर्दोष” छ र यसले जीवन बिताउन वास्तवमा के चाहिन्छ, त्यो प्रबन्ध गर्न सक्छ भनेर बुझ्न प्रत्येकलाई मदत गर्नुहोस्‌।—भज. १९:७.

      मेहनतको फल मीठो हुन्छ

      परमेश्‍वरको आवश्‍यकता महसुस नगर्ने मानिसहरू ब्रह्‍माण्ड, विश्‍व परिस्थिति र आफैबारे गहिरिएर चिन्तन गर्न त सक्छन्‌ तर यी कुराको सही अर्थ भने बुझ्न सक्दैनन्‌। तर अर्कोतर्फ नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गर्नेहरूले भने उहाँको पवित्र शक्‍तिको मदत पाएर यी कुरामा परमेश्‍वरको हात रहेको, बाइबल भविष्यवाणी पूर्ति भएको र आज्ञाकारी मानिसहरूलाई उहाँले दिने आशिष्‌ कसरी पूरा हुँदैछ, प्रस्ट बुझ्न सक्छन्‌।—मर्कू. १३:४-२९; रोमी १:२०; प्रका. १२:१२.

      यो कुरा उदेकलाग्दो भए तापनि हामी घमन्डले फुल्नुहुँदैन। बरु परमेश्‍वरको वचन दिनदिनै पढ्‌दा नम्र भइरहन मदत पुग्छ। (व्यव. १७:१८-२०) यसले “पापको भ्रामक शक्‍ति”-बाट पनि जोगाउँछ किनभने परमेश्‍वरको वचन हाम्रो मनमा जीवित छ भने पापी कामलाई तिरस्कार गर्ने हाम्रो अठोटलाई पापको शक्‍तिले लडाउन सक्दैन। (हिब्रू २:१; ३:१३; कल. ३:५-१०) त्यसरी हामी ‘यहोवालाई पूरै प्रसन्‍न बनाउन सक्छौं, साथै हर किसिमको असल कामको फल फलाउँदै परमेश्‍वरको सही ज्ञानमा पनि बढ्‌दै जान्छौं।’ (कल. १:१०) परमेश्‍वरको वचन अध्ययन गर्नुको उद्देश्‍य यही नै हो। त्यसो गर्दा मीठो फल पाइन्छ।

      अत्यन्तै मीठो फल पाउन चाहनुहुन्छ भने

      • मन दिनुहोस्‌

      • लेख सरसरती हेर्नुहोस्‌

      • महत्त्वपूर्ण तथ्यहरूलाई जोड दिनुहोस्‌

      • जे भनिएको छ, त्यसको लागि बाइबलले दिएको कारणमा ध्यान दिनुहोस्‌

      • मुख्य बुँदाहरू फेरि दोहोऱ्‍याउनुहोस्‌

      • पढेको कुराले जीवनमा पार्ने प्रभावबारे मनन गर्नुहोस्‌

      • अरूलाई मदत गर्न पढेको कुरा प्रयोग गर्ने मौका खोज्नुहोस्‌

      लेखलाई कसरी सरसरती हेर्न सकिन्छ?

      • शीर्षकमा प्रयोग गरिएका शब्द केलाउनुहोस्‌

      • प्रत्येक उपशीर्षक मूल-विषयसँग कसरी सम्बन्धित छन्‌, ध्यान दिनुहोस्‌

      • लेखमा दिइएका उदाहरण, चित्र, तथ्याङ्‌क, शिक्षण पेटी जाँच्नुहोस्‌

  • अनुसन्धान गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • अनुसन्धान गर्ने तरिका

      राजा सुलेमानले “आफ्नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे। . . . ठीक-ठीक शब्दहरू खोजेर निकाले।” किन? किनभने तिनी “सत्य” “शब्दहरू” लेख्न चाहन्थे। (उप. १२:९, १०; NRV) लूकाले पनि ख्रीष्टको जीवनमा भएका घटना क्रमबद्ध रूपमा बताउन “सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता लगाए।” (लूका १:३) परमेश्‍वरका यी सेवकहरूले अनुसन्धान गरे।

      अनुसन्धान गर्नु भनेको के हो? कुनै खास विषयमा होसियारीसाथ खोजी गर्नु। व्यक्‍तिगत अध्ययनमा जस्तै अनुसन्धान गर्दा पनि पढ्‌नुपर्छ र पढेको कुरा प्रयोग गर्नुपर्छ। अनुसन्धान गर्दा मानिसहरूलाई सोधपुछ गर्नुपर्ने पनि हुन्छ।

      कहिले-कहिले अनुसन्धान गर्नुपर्छ? केही उदाहरण विचार गर्नुहोस्‌। व्यक्‍तिगत अध्ययन गर्दा वा बाइबल पढ्‌दा तपाईंको मनमा थुप्रै महत्त्वपूर्ण प्रश्‍न उठ्‌लान्‌। तपाईंले साक्षी दिएको व्यक्‍तिले सोधेको प्रश्‍नको जवाफ खोजेरै दिन चाहनुहोला। तपाईंले भाषण दिने जिम्मेवारी पाउनुभएको होला।

      भाषण दिने जिम्मेवारीलाई नै लिनुहोस्‌। तपाईंलाई आफ्नो विषय सामान्य जस्तो लाग्ला। उक्‍त विषयलाई कसरी स्थानीय तवरमा लागू गर्न सक्नुहुन्छ? अनुसन्धान गरेर त्यसको गुणस्तर बढाउनुहोस्‌। एउटा-दुइटा तथ्याङ्‌क थप्दा वा तपाईंको विषयसित र श्रोताको जीवनसित मेल खाने एउटा उदाहरण समावेश गर्दा सामान्य विषय पनि जानकारीमूलक र उत्प्रेरणा दिने खालको हुन्छ। तपाईंको विषय संसारभरका पाठकहरूका लागि प्रकाशित गरिएको होला। तर तपाईंले त्यसलाई व्याख्या गर्नुपर्ने हुन्छ, उदाहरणसहित बताउनुपर्ने हुन्छ र कुनै मण्डलीलाई वा कुनै व्यक्‍तिलाई ती बुँदा कसरी लागू हुन्छन्‌, त्यो बताउनुपर्ने हुन्छ। त्यसो भए अनुसन्धान कसरी थाल्ने?

      अनुसन्धान गर्न हतारिनुअघि आफ्ना श्रोतालाई विचार गर्नुहोस्‌। तिनीहरूलाई के-कति थाह छ र अब कति जानकारी दिनुपर्ने हो, निधो गर्नुहोस्‌। व्याख्या गर्नुपर्ने हो कि? विश्‍वस्त पार्नुपर्ने हो कि? खण्डन गर्नुपर्ने हो कि? वा उत्प्रेरित गर्नुपर्ने हो? व्याख्या गर्नु भनेको कुनै पनि बुँदा स्पष्ट पार्न थप जानकारी दिनु हो। आधारभूत बुँदा बुझे तापनि भनिएको कुरा कहिले वा कसरी गर्ने त्यसबारे बेलीबिस्तार लगाउनुपर्ने हुन्छ। विश्‍वस्त पार्नु भनेको कुनै कुराको कारण प्रमाणसहित प्रस्तुत गर्नु हो। खण्डन गर्न कुनै पनि विषयको पक्ष-विपक्ष दुवैबारे विस्तृत जानकारी हुनुका साथै प्रस्तुत गरिएको प्रमाणलाई होसियारीसाथ केलाउनुपर्छ। हामी जित्नलाई होइन तथ्यहरू प्रस्तुत गर्न नम्रतासाथ खण्डन गर्छौं। उत्प्रेरित गर्न हृदय छुनुपर्छ। त्यसको अर्थ आफ्ना श्रोतालाई जुरमुऱ्‍याउनु र छलफल गरिएको कुराअनुसार गर्ने इच्छा जगाइदिनु हो। गाह्रोसाह्रो अवस्थामा समेत त्यस्तो कदम चालेकाहरूको वास्तविक उदाहरण बताउँदा त्यसले श्रोताहरूको हृदय छुन सक्छ।

      अब अनुसन्धान गर्न थाले भयो त? अहँ, भएको छैन। तपाईंलाई कति जानकारी चाहिन्छ, विचार गर्नुहोस्‌। समयलाई पनि ध्यान दिनुहोस्‌। अरूलाई जानकारी दिन लाग्नुभएको छ भने त्यसको लागि कति समय दिइएको छ? पाँच मिनेट? तीस मिनेट? के सभामा जस्तै समय तोकिएको छ? अथवा बाइबल अध्ययन वा गोठालो भेटमा जस्तै समय तोकिएको छैन कि?

      अनुसन्धान गर्न तपाईंसित के-कस्ता सामग्री छन्‌? तपाईंसित जे-जति उपलब्ध छ त्योभन्दा धेरै सामग्री राज्यभवनको पुस्तकालयमा छ कि? लामो समयदेखि यहोवाको सेवा गरेका भाइबहिनीले उनीहरूसँग भएको अनुसन्धान गर्ने सामग्री तपाईंलाई पनि प्रयोग गर्न दिन्छन्‌ कि? तपाईंको इलाकामा सार्वजनिक पुस्तकालय छ भने आवश्‍यक जानकारी त्यहाँ पाउन सक्नुहुन्छ।

      अनुसन्धान गर्ने मुख्य किताब बाइबल प्रयोग गर्नुहोस्‌

      कुनै पदको अर्थबारे अनुसन्धान गर्दै हुनुहुन्छ भने सुरुमा बाइबलमा नै खोज्नुहोस्‌।

      सन्दर्भ जाँच्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘यो पदको कुरा वास्तवमा कसलाई भनिएको थियो? उक्‍त भनाइ किन भनियो वा सम्बन्धित व्यक्‍तिहरूको मनोवृत्तिबारे तलमाथिका पदले के जानकारी दिन्छ?’ यस्तो विवरणले अक्सर हामीलाई पद बुझ्न मदत गर्छ र उक्‍त विवरण प्रयोग गर्दा तपाईंको भाषण जीवन्त हुन्छ।

      उदाहरणको लागि हृदय छुन र जीवनमा प्रभाव पार्ने परमेश्‍वरको वचनको शक्‍तिबारे बताउन अक्सर हिब्रू ४:१२ उद्धरण गरिन्छ। सन्दर्भलाई विचार गर्दा परमेश्‍वरको वचनको शक्‍ति अझ राम्ररी बुझ्न सक्छौं। यहोवा परमेश्‍वरले अब्राहामलाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशमा प्रवेश गर्नुअघि इस्राएलीहरूले उजाडस्थानमा ४० वर्षसम्म गरेको अनुभवबारे उक्‍त पदको सन्दर्भले बताउँछ। (हिब्रू ३:७–४:१३) “परमेश्‍वरको वचन” अर्थात्‌ अब्राहामसित गरिएको करारबमोजिम इस्राएलीहरूलाई विश्राम दिने प्रतिज्ञा खेर गएको थिएन; त्यो जीवित थियो र त्यो पूरा हुनै लागेको थियो। यस प्रतिज्ञामाथि इस्राएलीहरू पूर्णतया विश्‍वास गर्न सक्थे। तर यहोवाले तिनीहरूलाई मिश्रबाट डोऱ्‍याउँदै सीनै पर्वतसम्म पुऱ्‍याउँदा र त्यसपछि प्रतिज्ञा गरिएको मुलुकतर्फ लैजाँदा तिनीहरूले यहोवामाथि विश्‍वास नगरेको कुरा बारम्बार देखाए। यहोवाले आफ्नो वचन पूरा गर्ने तरिकाप्रति तिनीहरूले देखाएको प्रतिक्रियाले तिनीहरूको हृदयको अवस्था प्रकट गऱ्‍यो। त्यसैगरि आज परमेश्‍वरको वचनमा लेखिएको उहाँको प्रतिज्ञाप्रति मानिसहरूले देखाउने प्रतिक्रियाले तिनीहरूको हृदयको अवस्था प्रकट गर्छ।

      सन्दर्भ बुझ्न दिइएका थप पद हेर्नुहोस्‌। कुनै-कुनै बाइबलमा सन्दर्भ बुझ्न थप पद (क्रस रिफरेन्स) दिइएको हुन्छ। तपाईंको बाइबलमा पनि छ? छ भने यस्ता पदले पनि मदत दिन सक्छन्‌। यसको राम्रो उदाहरण पवित्र बाइबल—नयाँ संसार अनुवाद हो। यसबाहेक नयाँ संशोधित संस्करण-मा पनि केही थप पद दिइएका छन्‌। नयाँ संशोधित संस्करण-को पहिलो पत्रुस ३:६ लाई यसको उदाहरणको रूपमा लिन सक्छौं। उक्‍त पदमा सारालाई ख्रीष्टियन पत्नीहरूले अनुकरण गर्नुपर्ने नमुनाको रूपमा प्रस्तुत गरिएको छ। साथै उत्पत्ति १८:१२ लाई थप पदको रूपमा दिएको छ र यसले १ पत्रुस ३:६ लाई अझै पुष्टि गरेको छ। किनकि उत्पत्ति १८:१२ मा साराले अब्राहामलाई “मनमनै” मेरा पति भनेर सम्बोधन गरेको कुरा उल्लेख छ। त्यसैले तिनी हृदयदेखि नै अब्राहामको अधीनमा रहन्थिन्‌ भनेर स्पष्ट हुन्छ। यसबाहेक थप पदले यस्तो विस्तृत जानकारी मात्र होइन, बाइबल भविष्यवाणीहरूको पूर्तिबारे र इस्राएलीहरूसित यहोवाले बाँधेको करारबारे पनि थप जानकारी दिन्छ। त्यसो भन्दैमा थप पदले सधैं यस्तो थप जानकारी दिने गर्दैन। कहिलेकाहीं थप पदमा उस्तै-उस्तै विवरण, जीवनसम्बन्धी विवरण वा भौगोलिक विवरणसम्बन्धी जानकारी पनि दिइएको हुन्छ।

      बाइबल अनुक्रमणिकामा खोज्नुहोस्‌। बाइबल अनुक्रमणिकामा (कन्कोर्डेन्स्‌) प्रयोग गरिएका शब्दहरू वर्णानुक्रमअनुसार राखिएको हुन्छ। अनुसन्धान गरिरहेको विषयसित सम्बन्धित पदहरू खोज्न यसले तपाईंलाई मदत गर्छ। ती पदहरू खोज्दा अन्य मदतकारी जानकारी पनि सिक्न सक्नुहुन्छ। परमेश्‍वरको वचनमा भएको सत्यको “नमुना”-को प्रमाण पनि पाउन सक्नुहुन्छ। (२ तिमो. १:१३) नयाँ संसार अनुवाद-मा “बाइबलका शब्दहरूको सूची” दिइएको छ। बृहत्‌ अनुक्रमणिका (अङ्‌ग्रेजी) निकै विस्तृत छ। यो किताब तपाईंले बुझ्ने भाषामा उपलब्ध छ भने बाइबलका मुख्य-मुख्य शब्द खोज्न तपाईंलाई सजिलो हुनेछ।

      अनुसन्धान गर्न उपलब्ध अरू सामग्री प्रयोग गर्न सिक्नुहोस्‌

      अनुसन्धान गर्न “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले उपलब्ध गराएको केही सामग्री यस किताबको पृष्ठ ३३ को पेटीमा उल्लेख गरिएको छ। (मत्ती २४:४५-४७) तपाईंले खास जानकारी पत्ता लगाउन सकोस्‌ भनेर यी सामग्रीमध्ये प्रायजसोमा विषयसूची दिइएको छ भने कतिपयमा शब्दसूची दिइएको छ। हरेक वर्षको अन्तमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकामा वर्षभरिका लेखहरूको विषयसूची दिइएको हुन्छ।

      यस्ता बाइबलआधारित प्रकाशनहरूमा के-कस्ता जानकारी दिइएका छन्‌, त्यो थाह छ भने छिटो-छिटो अनुसन्धान गर्न सकिन्छ। मानौं तपाईं बाइबल सिद्धान्त प्रयोग गर्नेबारे वा भविष्यवाणी, बाइबल शिक्षा, ख्रीष्टियन आचरण आदिबारे बुझ्न चाहनुहुन्छ। प्रहरीधरहरा-मा तपाईंले खोजेकै जानकारी पाउन सक्नुहुन्छ। ब्यूँझनुहोस्‌!-मा अहिले भइरहेका घटना, भोगिरहेका समस्या, धर्म, विज्ञान अनि विभिन्‍न ठाउँका मानिसबारे छलफल गरिएको हुन्छ। सुसमाचारको चारै पुस्तकका घटना विवरणलाई ऐतिहासिक क्रमअनुसार सबैभन्दा महान्‌ पुरुष किताबमा प्रस्तुत गरिएको छ। प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! जस्ता किताबहरूमा ती बाइबल पुस्तकहरूको पद-पद छलफल गरिएको छ। प्रचारमा अक्सर सोधिने बाइबलआधारित प्रश्‍नको चित्तबुझ्दो जवाफ धर्मशास्त्रबाट तर्क गर्ने (अङ्‌ग्रेजी) किताबमा पाउन सक्नुहुन्छ। अन्य धर्म, त्यसको शिक्षा र इतिहासबारे स्पष्ट जानकारी मानवजातिद्वारा परमेश्‍वरको खोज (अङ्‌ग्रेजी) किताबमा पाइन्छ। यहोवाका साक्षीहरूको आधुनिक इतिहासबारे विस्तृत जानकारी यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी) किताबमा दिइएको छ भने केही जानकारी यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? पुस्तिकामा हेर्न सक्नुहुन्छ। सुसमाचार प्रचार गर्ने सन्दर्भमा संसारभरिको विस्तृत विवरणबारे हालसालैको यहोवाका साक्षीहरूको वार्षिक पुस्तक (अङ्‌ग्रेजी) वा फेब्रुअरी महिनाको हाम्रो राज्य सेवा-मा हेर्नुहोस्‌। धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी) बाइबलसम्बन्धी ठूलो शब्दकोश नै हो र यसमा थुप्रै मानचित्र पनि छन्‌। बाइबलसित सम्बन्धित मानिस, ठाउँ, वस्तु, भाषा वा ऐतिहासिक घटनाबारे थप बुझ्न चाहनुहुन्छ भने यो किताब बहुमूल्य साबित हुन्छ।

      यहोवाका साक्षीहरूको प्रकाशन सूची: अहिले यो प्रकाशन २० भन्दा धेरै भाषामा प्रकाशित भइसक्यो। यसले हाम्रा प्रकाशनमा भएका विभिन्‍न विषयबारे थुप्रै जानकारी खोज्न मदत गर्छ। यहोवाका साक्षीहरूको प्रकाशन सूचीलाई विषयसूची र पदसूची गरी दुई भागमा विभाजन गरिएको छ। विषयसूचीअन्तर्गत दिइएका विषयमा तपाईंले अनुसन्धान गर्न चाहेको विषयसित सम्बन्धित शब्द भेट्टाउन सक्नुहुन्छ। पदसूचीअन्तर्गत दिइएका पदहरूमा तपाईंले अझै राम्ररी बुझ्न चाहेको पद भेट्टाउन सक्नुहुन्छ। वर्षभरि छापिएका लेख वा पदको सूची यो प्रकाशनमा दिइएको हुन्छ। यहोवाका साक्षीहरूको प्रकाशन सूची तपाईंले बुझ्ने भाषामा उपलब्ध छ भने तपाईंले बुझ्न चाहेको पद वा विषयबारे त्यसमा खोज्नुहोस्‌। त्यसमा प्रयोग गरिएका प्रकाशनहरू चिन्‍ने संक्षिप्त नाम सुरुका पृष्ठमा नै दिइएको हुन्छ र त्यसैबाट कुनचाहिं प्रकाशन उल्लेख गरिएको हो, थाह पाउन सक्नुहुन्छ। (जस्तै:- w९९ ३/१ १५ को अर्थ प्रहरीधरहरा, १९९९ मार्च १ पृष्ठ १५ हो।) “क्षेत्र सेवाका अनुभवहरू” र “यहोवाका साक्षीहरूको जीवनी” जस्ता मुख्य शीर्षकअन्तर्गत भएका जानकारी मण्डलीको लागि उत्थानदायी प्रस्तुति तयार गर्न मदतकारी साबित हुन्छ।

      अनुसन्धान गर्दा निकै रमाइलो हुने भएकोले अरू विषयतिर पनि आँखा दौडन सक्छ। त्यसैले होसियार हुनुहोस्‌! नत्र त कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं हुन्छ। दायाँबायाँ नलागी जुन विषयमा अनुसन्धान गरिरहनुभएको हो त्यसमै मात्र ध्यान लगाउनुहोस्‌। यहोवाका साक्षीहरूको प्रकाशन सूचीमा कुनै निश्‍चित प्रकाशनबारे सङ्‌केत दिइएको छ भने उक्‍त प्रकाशनको उल्लिखित पृष्ठ पल्टाउनुहोस्‌। त्यसपछि उपशीर्षक र अनुच्छेदको सुरुको वाक्यलाई आधार मानेर आवश्‍यक जानकारी खोज्नुहोस्‌। तपाईं कुनै बाइबल पदको अर्थ खोज्दै हुनुहुन्छ भने यहोवाका साक्षीहरूको प्रकाशन सूचीमा दिइएको प्रकाशनको पृष्ठ पल्टाएर सबैभन्दा पहिला उक्‍त पद खोज्नुहोस्‌। त्यसपछि त्यो पद वरपरका वाक्य जाँच्नुहोस्‌।

      सीडी रोममा उपलब्ध यहोवाका साक्षीहरूको पुस्तकालय: यदि तपाईं कम्प्युटर चलाउन सक्नुहुन्छ भने सीडी रोममा उपलब्ध पुस्तकालय प्रयोग गर्न सक्नुहुन्छ। त्यसमा हाम्रा प्रकाशनहरूको भण्डारै छ। यो पुस्तकालयमा कुनै पनि शब्द, शब्दहरूको समूह वा कुनै पनि पद सजिलै खोज्न सकिन्छ। त्यसको सदुपयोग गर्नुहोस्‌। तर तपाईंको भाषामा छैन भने पनि तपाईंले बुझ्ने भाषामा उपलब्ध यो पुस्तकालयबाट भरपूर फाइदा उठाउन सक्नुहुन्छ।

      अरू ईश्‍वरतान्त्रिक पुस्तकालय

      तिमोथीलाई लेखेको दोस्रो पत्रमा पावलले तिनलाई “मुठाहरू, विशेष गरी चर्मपत्रहरू” रोममा ल्याइदिनू भने। (२ तिमो. ४:१३) पावल त्यस्ता लेखोटलाई अनमोल ठान्थे र आफूसँगै राख्थे। तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। मण्डलीमा छलफल गरिसकेपछि पनि प्रहरीधरहरा, ब्यूँझनुहोस्‌! र हाम्रो राज्य सेवा जोगाएर राख्ने गर्नुभएको छ? छ भने तपाईंले जम्मा गरेका हाम्रा अन्य प्रकाशनबाट अनुसन्धान गरेझैं यी प्रकाशनबाट पनि अनुसन्धान गर्न सक्नुहुन्छ। धेरैजसो राज्यभवनमा हाम्रो सङ्‌गठनका प्रकाशनको पुस्तकालय हुन्छ। मण्डलीका सबै सदस्यले राज्यभवनमा नै यी प्रकाशन पढेर लाभ उठाउन सक्छन्‌।

      व्यक्‍तिगत फाइल बनाउनुहोस्‌

      अरूसित कुरा गर्न वा अरूलाई सिकाउन प्रयोग गर्न सकिने चाखलाग्दो कुरा खोज्नुहोस्‌। प्रचारमा प्रयोग गर्न सकिने खबर, तथ्याङ्‌क वा उदाहरण पत्रपत्रिकामा भेट्टाउनुभयो भने त्यस्तो जानकारी बटुल्नुहोस्‌। पत्रपत्रिकाको नाम, मिति र सकिन्छ भने लेखक वा प्रकाशकको नाम पनि लेख्नुहोस्‌। अरूलाई बाइबल सत्य व्याख्या गर्न मदत गर्ने तर्क र उदाहरण सभामा प्रस्तुत गरिएका छन्‌ भने ती पनि टिप्नुहोस्‌। तपाईंलाई एकदमै राम्रो उदाहरण थाह छ तर त्यसलाई प्रयोग गर्ने मौका पाउनुभएको छैन कि? त्यो उदाहरण लेख्नुहोस्‌ र फाइल गर्नुहोस्‌। ईश्‍वरतान्त्रिक सेवा स्कूलमा भाग लिएको केही समयमा तपाईंले थुप्रै प्रस्तुति प्रयोग गरिसक्नुभएको हुनेछ। आफ्नो प्रस्तुतिका टिपोटहरू नफाल्नुहोस्‌; जोगाएर राख्नुहोस्‌। तपाईंले गरेको अनुसन्धान पछि काम लाग्न सक्छ।

      मानिसहरूसित कुरा गर्नुहोस्‌

      मानिसहरूसित थुप्रै विषयमा जानकारी हुन्छ। प्राप्त प्रमाणअनुसार लूकाले प्रत्यक्षदर्शीलाई सोधेर नै थुप्रै विवरण सङ्‌कलन गरेर सुसमाचारको पुस्तक लेखे। (लूका १:१-४) तपाईंले मेहनत गरेर अनुसन्धान गरिरहेको विषयबारे सँगी ख्रीष्टियनले प्रस्ट पारिदिन सक्छन्‌। एफिसी ४:८, ११-१६ अनुसार ख्रीष्टले “वरदानको रूपमा पुरुषहरू” प्रयोग गरेर “परमेश्‍वरको छोराको सही ज्ञानको विषयमा” बढ्‌दै जान हामीलाई मदत गर्नुहुन्छ। वर्षौंदेखि परमेश्‍वरको सेवा गरिरहेकाहरूलाई सोध्दा पनि खोजिरहेकै जानकारी पाउन सकिन्छ। कुराकानी गर्दा अरूको सोचाइ बुझ्न सकिन्छ र यसले पनि हामीलाई आफ्नो प्रस्तुति उपयोगी बनाउन मदत दिन सक्छ।

      प्राप्त जानकारी केलाउनुहोस्‌

      गहुँ काटिसकेपछि अन्‍न र भुस छुट्ट्याउनुपर्छ। त्यसैगरि अनुसन्धान गरेर प्राप्त जानकारीलाई पनि केलाउनुपर्छ। प्राप्त जानकारी प्रयोग गर्नुअघि आवश्‍यक र अनावश्‍यक जानकारी छुट्ट्याउनुहोस्‌।

      प्राप्त जानकारी प्रयोग गर्दै हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘मैले प्रयोग गर्न खोजेको बुँदा मेरो प्रस्तुतिमा साँच्चै सुहाउँछ? अथवा जानकारी रोचक भए पनि त्यसले मुख्य विषयबाट श्रोताको ध्यान अन्तै मोडिदिने हो कि?’ यदि तपाईं भर्खरको कुनै घटना वा परिवर्तन भइरहने विज्ञान र औषधीका क्षेत्रका कुनै जानकारी प्रयोग गर्ने विचारमा हुनुहुन्छ भने त्यो सबैभन्दा नयाँ जानकारी हो कि होइन पक्का गर्नुहोस्‌। हाम्रै पुराना प्रकाशनमा भएका कुनै बुँदा पनि छाँटकाँट गरिएका हुन सक्छन्‌। त्यसैले उक्‍त विषयमा सबैभन्दा ताजा जानकारी के हो, त्यो पनि खोज्नुहोस्‌।

      बाहिरका अन्य स्रोतबाट जानकारी जम्मा गर्नुभएको छ भने तपाईं होसियार हुनै पर्छ। परमेश्‍वरको वचन सत्य हो भनेर कहिल्यै नबिर्सनुहोस्‌। (यूह. १७:१७) परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने सम्बन्धमा येशूको महत्त्वपूर्ण भूमिका छ। त्यसैले कलस्सी २:३ यसो भन्छ: “उहाँमै बुद्धि अनि ज्ञानका सारा खजाना होसियारीसाथ छिपाइएको छ।” यही कुरा मनमा राख्दै अनुसन्धान गरेर पाएको नतिजा केलाउनुहोस्‌। अन्य स्रोतबाट पाएका जानकारी प्रयोग गर्नुअघि आफैलाई सोध्नुहोस्‌: ‘यो जानकारीमा बढाइचढाइ गरिएको छ? अन्दाजमै भनिएको कुरा पो हो कि? पछिसम्मको कुरा विचार गरिएको छ कि छैन? स्वार्थ पूरा गर्न वा व्यापार बढाउन मात्र लेखिएको हो? कुनै आधिकारिक स्रोतले उक्‍त जानकारीलाई पुष्टि गरेको छ? सबैभन्दा महत्त्वपूर्ण कुरा उक्‍त जानकारी बाइबल सत्यसित मेल खान्छ?’

      हितोपदेश २:१-५ ले हामीलाई ज्ञान, समझशक्‍ति र विवेकलाई ‘चाँदीझैं खोजिरहन र गाडधनझैं खनिरहन’ प्रोत्साहन दिएको छ। उक्‍त पदमा खटिनुपर्ने र इनाम पाइने दुवै कुरा बताइएको छ। अनुसन्धान गर्न निकै मेहनत गर्नुपर्छ तर अनुसन्धान गर्दा कुनै पनि विषयमा परमेश्‍वरको विचार थाह पाउन, गलत धारणा सुधार्न र सत्यलाई बलियोगरि पक्रन मदत मिल्छ। यसले तपाईंको प्रस्तुतिलाई गहकिलो र जीवन्त बनाउने भएकोले आफ्नो विषय प्रस्तुत गर्दा तपाईंलाई आनन्द लाग्छ भने श्रोतालाई पनि रमाइलो हुन्छ।

      अनुसन्धान गर्न तपाईंसित के-कस्ता सामग्री छन्‌?

      • पवित्र बाइबल—नयाँ संसार अनुवाद

      • बृहत्‌ अनुक्रमणिका

      • प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!

      • धर्मशास्त्रबाट तर्क गर्ने

      • यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू

      • धर्मशास्त्रमा अन्तरदृष्टि

      • यहोवाका साक्षीहरूको प्रकाशन सूची

      • सीडी रोममा उपलब्ध यहोवाका साक्षीहरूको पुस्तकालय

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने