हामीलाई सुसमाचार सुम्पिएको छ
१ परमेश्वरको सुसमाचार हामीलाई सुम्पिएकोमा हामी कत्ति कृतज्ञ छौं! (१ थिस्स. २:४) कसै-कसैले यस शक्तिशाली सन्देशलाई स्वीकार्न इन्कार गरे तापनि मीठो बास्नातर्फ मानिस आकर्षित भएझैं इमानदार हृदय भएका व्यक्तिहरू यस सन्देशतर्फ आकर्षित हुन्छन्। (२ कोरि. २:१४-१६) सुसमाचार स्वीकार्ने र त्यसलाई पालन गर्ने मानिसहरूको निम्ति यसको अर्थ उद्धार हो। (रोमी १:१६) हामीलाई सुम्पिएको यस सुसमाचारको हामीले कसरी हिफाजत गर्नुपर्छ?
२ येशू तथा प्रेरितहरू: येशूले सुसमाचार उद्घोषणा गर्ने कुरालाई प्राथमिकता दिनुभयो। (लूका ४:१८, ४३) आफू एकदमै थकित र भोकले भाउन्न छुटेको भएको बेला समेत मानिसहरूप्रतिको प्रेम र सन्देशप्रतिको सद्भावले उहाँलाई सुसमाचार सुनाउन उत्प्रेरित गऱ्यो। (मर्कू. ६:३०-३४) वचन तथा उदाहरणद्वारा उहाँले आफ्ना चेलाहरूको मनमा राज्य प्रचारकार्यको महत्त्व ठप्प बसाल्नुभयो।—मत्ती २८:१८-२०; मर्कू. १३:१०.
३ येशूको अनुकरण गर्दै प्रेरितहरूले जोसिलो भई राज्य सन्देश घोषणा गरे। पिटिंदा र प्रचार गर्न बन्द गर्नू भन्ने आदेश पाउँदा समेत तिनीहरूले “सुसमाचार सुनाउन बन्द गरेनन्।” (प्रेरि. ५:४०-४२) प्रेरित पावलले यस कामको लागि अथक प्रयास गरे। (१ कोरि. १५:९, १०; कल. १:२९) तिनले सुसमाचार सुनाउने सुअवसर भनेको सहमानवलाई तिर्नुपर्ने ऋणजस्तै हो भने र यो काम पूरा गर्न तिनी जस्तोसुकै व्यक्तिगत सुखसुविधाहरू त्याग्न पनि इच्छुक थिए।—प्रेरि. २०:२४; रोमी १:१४-१६.
४ आज हाम्रो सुअवसर: हामीलाई सुम्पिएको पवित्र सेवाप्रतिको मूल्यांकनले हामीलाई प्रचारकार्यमा अझ बढी भाग लिने तरिकाहरू खोज्न झकझकाउनेछ। (रोमी १५:१६) ह्विलचियरको सहारामा जीवन बिताउन बाध्य एड्वार्ड एउटा होटलको गेटमा बसेर पाहुनाहरूसित आफ्नो विश्वासबारे कुरा गर्थे। तथापि, सेवकाईमा अझ बढी गर्ने इच्छा भएको कारण तिनले पिकअप ट्रकमा एउटा विशेष प्रकारको कोठा बनाउन लगाए र यसै मोटरमार्फत हजारौं किलोमिटर यात्रा गरेर तिनले थुप्रै वर्ष अग्रगामी गरे। सुसमाचार फैलाउने काममा अझ बढी भाग लिन एड्वार्डजस्तै आज थुप्रैले आ-आफ्नो परिस्थिति छाँटकाँट गरेका छन्।
५ येशू तथा प्रेरितहरूको अनुकरण गर्दै आज हामी पनि सधैं आफ्नो जीवनमा प्रचारकार्यलाई प्राथमिकता देऔं। यसो गरेर हामी मानिसहरूप्रतिको हाम्रो प्रेम साथै हामीलाई सुम्पिएको सुसमाचारप्रति कृतज्ञता देखाउन सक्छौं।