प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईंलाई असर गर्ने एउटा उत्सव
    प्रहरीधरहरा—२००४ | मार्च १५
    • तपाईंलाई असर गर्ने एउटा उत्सव

      पृथ्वीमा छँदा, येशू ख्रीष्टले परमेश्‍वरको आदर हुने एउटा उत्सवको स्थापना गर्नुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई मनाउनू भनेर तोकेरै आज्ञा दिनुभएको एक मात्र धार्मिक उत्सव भनेकै यही मात्र थियो। यो प्रभुको साँझको भोज थियो, जसलाई अन्तिम रात्रिभोज पनि भनिन्छ।

      कल्पना गर्नुहोस्‌, तपाईं उक्‍त उत्सवसम्म डोऱ्‍याउने घटनाहरूको अदृश्‍य साक्षी हुनुहुन्छ। येशू तथा उहाँका प्रेरितहरू यहूदी निस्तार चाड मनाउन यरूशलेममा माथिल्लो कोठामा भेला भएका छन्‌। उनीहरूले चलन अनुसार निस्तार चाडको भोज भर्खरै खान सिध्याएका छन्‌ र यस भोजमा पाठोको पोलेको मासु, तीते साग, अखमिरी रोटी र रातो दाखमद्य खाइन्छ। अवफादार प्रेरित यहूदा इस्करयोतीलाई बाहिर पठाइसकिएको छ र उसले चाँडै आफ्नो गुरुलाई धोका दिनेछ। (मत्ती २६:१७-२५; यहून्‍ना १३:२१, २६-३०) आफ्ना ११ जना विश्‍वासी प्रेरितहरूसित येशू एक्लै हुनुहुन्छ। तीमध्ये एक मत्ती हुन्‌।

      प्रत्यक्षदर्शी मत्तीको विवरणअनुसार येशूले यसरी प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ: “येशूले रोटी [अखमिरी रोटी] लिएर आशीर्वाद गरी भाँच्नुभयो, र चेलाहरूलाई दिएर भन्‍नुभयो, ‘लेओ, खाओ, यो मेरो शरीर हो।’ तब [दाखमद्यको] कचौरा पनि लिएर धन्यवाद गरी उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, ‘तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्‍चितको लागि, बहाइन्छ।”—मत्ती २६:२६-२८.

      येशूले किन प्रभुको साँझको भोज स्थापना गर्नुभयो? यो भोज मनाउनुहुँदा उहाँले किन अखमिरी रोटी र रातो दाखमद्य प्रयोग गर्नुभयो? के ख्रीष्टका सम्पूर्ण अनुयायीहरूले ती प्रतीकहरूमा भाग लिनुपर्थ्यो? यो भोज कति चोटि मनाउनुपर्थ्यो? अनि के यसले तपाईंको लागि साँच्चै अर्थ राख्छ?

  • प्रभुको साँझको भोज कसरी मनाइयो?
    प्रहरीधरहरा—२००४ | मार्च १५
    • प्रभुको साँझको भोज कसरी मनाइयो?

      प्रभुको साँझको भोजको उत्सवबारे प्रकाश पार्दै मसीही प्रेरित पावल यस्तो लेख्छन्‌: “मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ, अर्थात्‌, जुन रात उहाँ पक्राउ पर्नुभयो त्यस रात प्रभु येशूले रोटी लिनुभयो, औ धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्‍नुभयो, ‘यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।’ त्यसैगरी खाइसक्नुभएपछि कचौरा लिएर यसो भन्‍नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू पिउँछौ मेरो सम्झनामा यो अक्सर गर्नेगर। किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।’ ”—१ कोरिन्थी ११:२३-२६.

      पावलले भनेझैं, यहूदा इस्करयोतीले यहूदी धार्मिक नेताहरूको हातमा ‘येशूलाई सुम्पेको रात’ येशूले स्मरणार्थको उत्सव स्थापित गर्नुभएको थियो र ती धार्मिक नेताहरूले ख्रीष्टलाई टाँग्नै पर्छ भनी रोमीहरूलाई दबाब दिइरहेका थिए। त्यो भोज बिहीबार साँझ, मार्च ३१ तारिख, सा.यु. ३३ मा मनाइएको थियो। शुक्रबार अपराह्न अप्रिल १ तारिखचाहिं येशू मर्नुभयो। यहूदी तिथिपत्र अनुसार एउटा साँझदेखि अर्को साँझसम्म एक दिन हुने भएकोले प्रभुको साँझको भोज र येशूको मृत्यु दुवै एकै दिन अर्थात्‌ नीसान १४, सा.यु. ३३ मै भयो।

      रोटी र दाखमद्यका सहभागीहरूले येशूको सम्झनामा ‘यो गरिरहनुपर्ने’ थियो। अर्को अनुवादअनुसार येशूले यसो भन्‍नुभयो: “मेरो स्मरणार्थको रूपमा यो गर।” (१ कोरिन्थी ११:२४, द जेरूशलेम बाइबल) प्रभुको साँझको भोजलाई ख्रीष्टको मृत्युको स्मरणार्थ पनि भनिन्छ।

      ख्रीष्टको मृत्यु किन मनाउने?

      यसको जवाफ येशूको मृत्युसित गाँसिएको कुरामा पाउन सकिन्छ। यहोवाको सार्वभौमिकतालाई उच्च पार्ने व्यक्‍तिको रूपमा येशू मर्नुभयो। यसरी मानिसहरूले आफ्नो स्वार्थको लागि मात्रै परमेश्‍वरको सेवा गर्छन्‌ भनी दाबी गर्ने शैतान अर्थात्‌ दियाबललाई उहाँले झूटा साबित गर्नुभयो। (अय्यूब २:१-५; हितोपदेश २७:११) सिद्ध मानवको रूपमा आफ्नो मृत्युद्वारा येशूले ‘धेरैको उद्धारको निम्ति आफ्नो प्राण पनि दिनुभयो।’ (मत्ती २०:२८) आदमले परमेश्‍वर विरुद्ध पाप गर्दा, तिनले सिद्ध मानव जीवन र यसका सबै प्रत्याशाहरू गुमाए। तर “परमेश्‍वरले संसारलाई [मानिसजाति] यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) निस्सन्देह, “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।”—रोमी ६:२३.

      यस प्रकार येशू ख्रीष्टको मृत्युमा प्रेमको दुइटा महान्‌ अभिव्यक्‍ति गाँसिएको पाइन्छ—आफ्नो पुत्रलाई मानिसजातिका लागि दिनुभएर यहोवाले देखाउनुभएको महान्‌ प्रेम र आफ्नो मानव जीवन मानवजातिका लागि खुसीसाथ अर्पण गर्नुभएर येशूले देखाउनुभएको आत्मत्यागी प्रेम। येशूको मृत्युको स्मरणार्थले प्रेमका यी दुई अभिव्यक्‍तिको महिमा गर्छ। हामीले यो प्रेम पाइरहेका हुनाले, के हामीले यसको लागि कृतज्ञता जाहेर गर्नुपर्दैन र? यसो गर्ने एउटा तरिका, प्रभुको साँझको भोजको उत्सवमा उपस्थित भएर हो।

      रोटी र दाखमद्यको अर्थ

      प्रभुको साँझको भोज स्थापना गर्नुहुँदा, येशूले प्रतीक वा चिह्नस्वरूप रोटी र एक कचौरा रातो दाखमद्य चलाउनुभयो। येशूले रोटी लिनुभयो र “धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्‍नुभयो, ‘यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।” (१ कोरिन्थी ११:२४) बाँडेर खानको लागि रोटी भाँच्नुपर्थ्यो किनभने यो सोडा वा खमिर नहालीकन पीठो र पानीले मात्र बनेको तुलनात्मक हिसाबले सजिलै टुक्रा पार्न सकिने किसिमको थियो। धर्मशास्त्रमा, खमिरले पापलाई सङ्‌केत गर्छ। (मत्ती १६:११, १२; १ कोरिन्थी ५:६, ७) येशू पापरहित हुनुहुन्थ्यो। त्यसैकारण उहाँको सिद्ध मानव शरीरले मानिसजातिको लागि उपयुक्‍त छुडौतीको बलिदानको रूपमा काम गऱ्‍यो। (१ यूहन्‍ना २:१, २) ख्रीष्टको पापरहित मानव शरीरलाई चित्रण गर्न प्रयोग गरिएको रोटी खमिररहित हुनु कत्ति उपयुक्‍त छ!

      कुनै किसिमको मसाला नहालेको रातो दाखमद्य हातमा लिएर येशूले धन्यवाद पनि चढाउनुभयो र यसो भन्‍नुभयो: “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो।” (१ कोरिन्थी ११:२५) कचौरामा भएको रातो दाखमद्यले येशूको रगतलाई चित्रण गर्छ। सा.यु.पू. १५१३ मा जसरी परमेश्‍वर र इस्राएल राष्ट्रबीच बाँधिएको व्यवस्थाको करार साँढे र बाख्राहरूको रगत बगाएर पक्का गरियो, त्यसरी नै नयाँ करार येशूको बगेको रगतद्वारा कायम भयो।

      क-कसले भाग लिनुपर्छ?

      स्मरणार्थका प्रतीकहरूमा क-कसले भाग लिनु उचित हो भन्‍ने कुरा पक्का गर्न, हामीले त्यो नयाँ करार के हो र यसमा क-कसले भाग लिन्छन्‌ भन्‍ने कुरा बुझ्नुपर्छ। बाइबल यसो भन्छ: “ ‘हेर, दिन आउँदैछ, जब म इस्राएलको घराना र याकूबको घरानासित एउटा नयाँ करार बाँध्नेछु, त्यो करार मैले तिनीहरूका पिता–पुर्खाहरूलाई हातमा समातेर मिश्र देशदेखि निकालेर ल्याएको बेलामा तिनीहरूसित बाँधेको करार हुनेछैन, जुन करार तिनीहरूले भङ्‌ग गरे, यद्यपि म तिनीहरूका स्वामी थिएँ,’ परमप्रभु भन्‍नुहुन्छ। तर ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्नेछु, त्यो यही हो, ‘म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु। औ म तिनीहरूका परमेश्‍वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्‌। . . . म तिनीहरूका अपराध क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ।’ ”—यर्मिया ३१:३१-३४.

      नयाँ करारले यहोवा परमेश्‍वरसित विशेष किसिमको सम्बन्ध गाँस्न सम्भव बनाउँछ। यसै करारमार्फत व्यक्‍तिविशेषहरूको एउटा खास समूह उहाँका जन हुन्छन्‌ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। यहोवाको व्यवस्था तिनीहरूभित्र, तिनीहरूको हृदयमा लेखिएको छ र शारीरिक रूपमा खतना नगरेका यहूदीहरू समेत परमेश्‍वरसित नयाँ करारको सम्बन्धमा गाँसिन सक्छन्‌। (रोमी २:२९) बाइबल लेखक लूका, ‘आफ्नो नाउँको निम्ति अन्यजातिहरूबाट एक जाति लिने’ परमेश्‍वरको उद्देश्‍यबारे लेख्छन्‌। (प्रेरित १५:१४) पहिलो पत्रुस २:१० अनुसार तिनीहरू ‘बितेका समयमा प्रजा थिएनन्‌, तर अहिले परमेश्‍वरका प्रजा भएका छन्‌।’ धर्मशास्त्रले तिनीहरूलाई “परमेश्‍वरका इस्राएल” अर्थात्‌ आध्यात्मिक इस्राएल भनेर पनि सङ्‌केत गर्छ। (गलाती ६:१६; २ कोरिन्थी १:२१) त्यसकारण, नयाँ करार यहोवा परमेश्‍वर र आध्यात्मिक इस्राएलबीचको करार हो।

      आफ्ना चेलाहरूसित बिताएको अन्तिम रात, स्वयम्‌ येशूले पनि तिनीहरूसित एउटा छुट्टै करार बाँध्नुभयो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो, “मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु।” (लूका २२:२९) यो राज्यको करार हो। असिद्ध मानिसजातिबाट छानेर राज्यको करारमा लगिएका व्यक्‍तिहरूको संख्या १,४४,००० हो। स्वर्गमा पुनरुत्थान गरिएपछि तिनीहरूले राजा र पुजाहारीहरूको हैसियतमा ख्रीष्टसँगै शासन गर्नेछन्‌। (प्रकाश ५:९, १०; १४:१-४) यसकारण, यहोवा परमेश्‍वरसित नयाँ करारमा बाँधिनेहरू येशू ख्रीष्टसित राज्यको करारमा पनि बाँधिन्छन्‌। तिनीहरूले मात्र प्रभुको साँझको भोजका प्रतीकहरूमा भाग लिनु उचित छ।

      स्मरणार्थका प्रतीकहरूमा सहभागी हुने अधिकार भएकाहरूलाई कसरी परमेश्‍वरसित अनुपम सम्बन्धमा बाँधिएका छौं र ख्रीष्टका साझे हकवालाहरू हौं भन्‍ने कुरा थाह हुन्छ? पावल यसरी उल्लेख गर्छन्‌: “हामी परमेश्‍वरका सन्तान हौं, भनी आत्मासँग [हाम्रो मनोभाव], [पवित्र] आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्‍वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दुःख भोग्छौं भनेता—उहाँसँगै महिमित पनि हुनेछौं।”—रोमी ८:१६, १७.

      उहाँको पवित्र आत्मा वा सक्रिय शक्‍तिमार्फत परमेश्‍वरले ख्रीष्टका साझे हकवालाहरूलाई नियुक्‍त गर्नुहुन्छ। उनीहरू राज्य हकवालाहरू हुन्‌ भन्‍ने कुरा यसैले उनीहरूलाई निश्‍चित गराउँछ। यसले अभिषिक्‍त मसीहीहरूको मनमा स्वर्गीय आशा उत्पन्‍न गर्छ। उनीहरूले स्वर्गीय जीवनबारे बाइबलले बताउने सम्पूर्ण कुराहरू व्यक्‍तिगत रूपमा लागू गर्छन्‌। त्यसबाहेक, पृथ्वीमा जीवन र सबै मानव सम्बन्धहरू लगायत पार्थिव जीवनसित सम्बन्धित सम्पूर्ण कुराहरू त्याग गर्न पनि उनीहरू राजी हुन्छन्‌। पार्थिव प्रमोदवनमा जीवन बिताउन पाउनु अद्‌भुत कुरा हुनेछ भन्‍ने कुरा आत्मा-अभिषिक्‍त मसीहीहरूलाई थाह भए तापनि यो उनीहरूको आशा होइन। (लूका २३:४३) गलत धार्मिक दृष्टिकोणले गर्दा नभई परमेश्‍वरको आत्माले काम गरेको कारण उनीहरूको अपरिवर्तनीय स्वर्गीय आशा छ र त्यसैकारण उनीहरूले स्मरणार्थका प्रतीकहरूमा भाग लिनु उचित छ।

      मानौं कुनै एक जना व्यक्‍ति आफू नयाँ करार र राज्य करारमा सहभागी छु कि छैनँ भन्‍ने कुरामा पूर्णतः पक्का छैनन्‌। ख्रीष्टसित साझे-हकवाला हो भन्‍ने सन्दर्भमा तिनमा परमेश्‍वरको आत्माको गवाहीको कमी पनि महसुस भयो भने नि? त्यसो भएमा तिनले स्मरणार्थका प्रतीकहरूमा भाग लिनु उचित हुनेछैन। साँच्चै, आफूलाई स्वर्गीय राजा र पूजाहारी हुने बोलावट छैन भन्‍ने कुरा थाह हुँदा-हुँदै पनि कुनै व्यक्‍तिले आफूलाई उक्‍त बोलावट भएजस्तो देखाएको खण्डमा परमेश्‍वर प्रसन्‍न हुनुहुनेछैन।—रोमी ९:१६; प्रकाश २२:५.

      कति चोटि मनाउने?

      के येशूको मृत्युको स्मरणार्थ उत्सव हरेक हप्ता वा दिनहुँ मनाउनुपर्छ? येशूले प्रभुको साँझको भोज स्थापना गर्नुभयो र उहाँ निस्तार चाडको दिन अन्यायपूर्ण ढङ्‌गमा मारिनुभयो। निस्तार चाड वर्षको एक पटक, नीसान १४ मा मात्र मनाइन्थ्यो र इस्राएलीहरूले त्यो चाड मिश्रको दासत्वबाट छुटकारा पाएकोमा मनाउँथे। (प्रस्थान १२:६, १४; लेवी २३:५) त्यसकारण, “हाम्रो निस्तार चाड, जो ख्रीष्ट हुनुहुन्छ” उहाँको मृत्युको स्मरणार्थ उत्सव हप्तावारी वा दिनहुँ होइन तर वर्षको एक पटक मात्र मनाउनुपर्छ। (१ कोरिन्थी ५:७) प्रभुको साँझको भोज मनाउँदा, मसीहीहरूले पनि ख्रीष्टले यो भोज स्थापना गर्दा अपनाउनुभएजस्तै प्रक्रिया अपनाउँछन्‌।

      त्यसोभए पावलका यी शब्दहरूको अर्थ के हो त: “जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ”? (१ कोरिन्थी ११:२६) यस पदमा पावलले “हरेक पटक जब” वा “जहिले” अर्थ लाग्ने शब्द चलाए। यसरी, जहिले-जहिले अभिषिक्‍त मसीहीहरूले प्रतीकहरूमा भाग लिन्छन्‌, उनीहरूले येशूको छुडौतीको बलिदानमा आफ्नो विश्‍वास घोषणा गर्नेछन्‌ भनी तिनले भन्‍न खोजिरहेका थिए।

      अभिषिक्‍त मसीहीहरूले ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव “उहाँ नआउञ्जेल” मनाउनेछन्‌। पुनरुत्थान गरेर आत्मिक जीवनमा आफ्ना अभिषिक्‍त अनुयायीहरूलाई स्वर्ग लैजान येशू आफ्नो “उपस्थिति[को]” दौडान नआउनुभएसम्म यो उत्सव मनाइनेछ। (१ थिस्सलोनिकी ४:१४-१७, NW) यो कुरा ख्रीष्टले ११ जना वफादार प्रेरितलाई भन्‍नुभएका शब्दहरूसित मेल खान्छ: “यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।”—यूहन्‍ना १४:३.

      स्मरणार्थले तपाईंको लागि कस्तो अर्थ राख्छ?

      येशूको बलिदानबाट लाभ उठाउन र पृथ्वीमा अनन्त जीवन प्राप्त गर्न के स्मरणार्थका प्रतीकहरूमा भाग लिनु जरुरी छ? छैन। पृथ्वीमा पुनरुत्थान भएपछि अब्राहाम, इसहाक, दाऊद, मोशा, नूह, सारा, यूसुफ र रिबेकाजस्ता ईश्‍वरभीरु व्यक्‍तिहरूले कुनै दिन ती प्रतीकहरूमा भाग लिनेछन्‌ भन्‍ने सङ्‌केत बाइबलमा कतै पनि पाइँदैन। यद्यपि, तिनीहरू तथा यस पृथ्वीमा अनन्त जीवन प्राप्त गर्न चाहने सबैले परमेश्‍वर अनि ख्रीष्टमा र यहोवाले प्रबन्ध गर्नुभएको येशूको छुडौतीको बलिदानमा विश्‍वास गर्नुपर्नेछ। (यूहन्‍ना ३:३६; १४:१) अनन्त जीवन पाउन तपाईंले पनि यस्तो विश्‍वास गर्नै पर्छ। ख्रीष्टको मृत्युको वार्षिक स्मरणार्थमा तपाईंको उपस्थितिले त्यो महान्‌ बलिदानको सम्झना गराउनुका साथै यसप्रति तपाईंको कृतज्ञतालाई अझ गहिरो बनाउनेछ।

      प्रेरित यूहन्‍नाले यसो भन्दा तिनले येशूको बलिदानको महत्त्वमाथि जोड दिए: “तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई [सँगी अभिषिक्‍त जनहरू] लेख्तछु। औ कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूहन्‍ना २:१, २) येशूको बलिदान आफ्नो पापको प्रायश्‍चित हो भनेर अभिषिक्‍त जनहरूले भन्‍नु उपयुक्‍त छ। तर यो सारा संसारको पापको निम्ति पनि बलिदान हो, जसले आज्ञाकारी मानिसजातिको लागि अनन्त जीवन सम्भव तुल्याइदिन्छ!

      के तपाईं येशूको मृत्युको स्मरणार्थ मनाउन अप्रिल ४, २००४ मा उपस्थित हुनुहुनेछ? आ-आफ्ना सभा स्थलहरूमा यहोवाका साक्षीहरूले विश्‍वव्यापी रूपमा यो उत्सव मनाउनेछन्‌। तपाईं उपस्थित हुनुभयो भने, एकदमै महत्त्वपूर्ण भाषण सुनेर तपाईंले लाभ उठाउनुहुनेछ। यहोवा परमेश्‍वर र येशू ख्रीष्टले हाम्रा लागि कति धेरै कुराहरू गर्नुभएको छ, ती सबैको तपाईंलाई सम्झना गराइनेछ। परमेश्‍वर अनि ख्रीष्ट र छुटकाराको लागि येशूले दिनुभएको बलिदानप्रति गहिरो श्रद्धाको भाव राख्ने व्यक्‍तिहरूसित भेला हुनु पनि आध्यात्मिक तवरमा इनामदायी हुनेछ। अनन्त जीवनतर्फ लैजाने परमेश्‍वरको अपार करुणाको पात्र हुने तपाईंको इच्छालाई त्यस अवसरले थप बल दिनेछ। कुनै पनि कुराले तपाईंलाई रोक्न नसकोस्‌। स्वर्गमा हुनुहुने हाम्रा पिता यहोवा परमेश्‍वरको आदर हुने र उहाँलाई प्रसन्‍न तुल्याउने यस हृदयस्पर्शी उत्सवमा उपस्थित हुनुहोला।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने