-
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्नेराज्य सेवकाई—२००५ | फेब्रुअरी
-
-
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग ६: विद्यार्थीले प्रश्न सोध्दा के गर्ने
१ बाइबल अध्ययन सुचारुरूपले सञ्चालन भइसकेपछि कहिले कुन त कहिले कुन विषयमा छलफल गर्नुभन्दा सिलसिलेवार ढङ्गमा बाइबल शिक्षाहरू छलफल गर्नु अक्सर बेस हुन्छ। यसले विद्यार्थीलाई सही ज्ञानको जग बसाल्न अनि आध्यात्मिक तवरमा प्रगति गर्न मदत गर्छ। (कल. १:९, १०) तर अक्सर विद्यार्थीहरूले अध्ययनको दौडान विभिन्न विषयहरूमा प्रश्न सोध्छन्। यस्तो बेला के गर्ने?
२ विवेकशील हुनुहोस्: अध्ययन गरिरहेको विषयवस्तुसित सम्बन्धित प्रश्नहरूको जवाफ त अक्सर त्यति नै खेर दिन सकिन्छ। यस प्रश्नबारे यसै अध्ययन सामग्रीमा पछि छलफल गरिनेछ भने त्यो कुरा बताइदिए मात्र पुग्न सक्छ। तथापि, यो प्रश्न अध्ययन गरिरहेको विषयसित सम्बन्धित छैन वा ठीक जवाफ दिनको लागि अनुसन्धान गर्नुपर्नेछ भने अध्ययनपछि वा अर्को कुनै समयमा छलफल गर्नु बेस हुन सक्छ। कोही-कोही प्रकाशकहरूले के महसुस गरेका छन् भने, सोधिएको प्रश्नबारे टिपोट गर्दा विद्यार्थीलाई आफ्नो प्रश्न गम्भीरतापूर्वक लिइएको छ भनेर ढुक्क हुन्छ अनि अध्ययनलाई अर्कै बुँदातर्फ मोडिनदेखि पनि रोक्छ।
३ हाम्रा आधारभूत अध्ययन प्रकाशनहरूमा थुप्रै बाइबल शिक्षाहरूबारे छोटकरीमा मात्र छलफल गरिएको छ। विद्यार्थीलाई कुनै एउटा शिक्षा स्वीकार्न गाह्रो लागिरहेको छ वा कुनै झूटा शिक्षालाई अझै पनि छोड्न सकेका छैनन् भने के गर्ने? त्यस विषयमा बाइबलले के बताउँछ भनेर विस्तृत छलफल गरिएको थप विषयवस्तु छलफल गर्नु लाभकारी हुन सक्छ। विद्यार्थीलाई विश्वास गर्न अझै गाह्रो भइरहेको छ भने त्यो विषय अहिलेको लागि यत्तिकै छोडेर नियमित अध्ययनलाई अघि बढाउनुहोस्। (यूह. १६:१२) बाइबलको ज्ञानमा बढ्दै गएर आध्यात्मिक तवरमा प्रगति गरेपछि तिनी आफैले त्यो बाइबल शिक्षा बुझ्न पनि सक्छन्।
४ विनम्र हुनुहोस्: कुनै प्रश्नको जवाफ तपाईंलाई पक्का छैन भने आफ्नै व्यक्तिगत धारणा व्यक्त गर्ने प्रलोभनमा नफस्नुहोस्। (२ तिमो. २:१५; १ पत्रु. ४:११) यस विषयमा अनुसन्धान गरेर पछि जवाफ दिनेछु भन्नुहोस्। तपाईंले यही मौकामा विद्यार्थीलाई अनुसन्धान कसरी गर्ने भनेर सिकाउन पनि सक्नुहुन्छ। यहोवाको संगठनले प्रदान गरेका विभिन्न अनुसन्धान सामग्रीहरू कसरी चलाउने भनेर बिस्तारै-बिस्तारै देखाउनुहोस्। यसरी अन्ततः तिनले आफ्ना प्रश्नहरूको जवाफ आफै खोज्न सक्नेछन्।—प्रेरि. १७:११.
-
-
थप साक्षी पाउन तिनीहरूलाई मदत गर्नुहोस्राज्य सेवकाई—२००५ | फेब्रुअरी
-
-
थप साक्षी पाउन तिनीहरूलाई मदत गर्नुहोस्
१ सुसमाचार अरूलाई प्रचार गर्ने क्रममा हामी अक्सर हाम्रो इलाकामा नबस्ने वा साङ्केतिक भाषालगायत अर्कै भाषा बोल्ने मानिसहरू भेट्छौं। हामीले बाइबलसम्बन्धी राम्रो छलफल गरिरहेका व्यक्तिहरू अन्तै बसाइँ सर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले थप साक्षी पाऊन् भनेर हामी कसरी प्रबन्ध मिलाउन सक्छौं? प्लीज फलो अप (S-43) फाराम चलाएर।
२ आफ्नै मातृभाषामा सुसमाचार सुनाइँदा मानिसहरूले अक्सर बढी ध्यान दिएर सुन्छन्। (प्रेरि. २२:१, २) यसकारण प्रायजसो अवस्थामा, अर्कै भाषा बोल्ने व्यक्ति भेट्दा त्यस व्यक्तिले राज्य सन्देशप्रति चासो नदेखाए तापनि हामीले त्यो फाराम भर्नुपर्छ। तथापि, विदेशी भाषा बोल्ने मानिसहरूको संख्या अलि ठूलै भएको इलाकामा तिनीहरूको आफ्नै भाषामा नियमित तवरमा साक्षी दिइन्छ भने चासो नदेखाएको बेला यो फाराम भरिरहनु आवश्यक नहुन सक्छ।
३ फाराम भर्ने: चनाखो भएर त्यस व्यक्तिको नाउँ, ठेगाना र टेलिफोन नम्बर प्राप्त गर्ने प्रयास गर्नुहोस्। कत्तिको चासो देखाएको थियो, कहिले भेट्न सकिन्छ, कुन साहित्य दिइएको थियो वा कुन साहित्य मागेको थियो अनि तिनले सबैभन्दा सजिलै बुझ्ने भाषा कुन हो इत्यादि जानकारी उल्लेख गर्नुहोस्। फाराम भर्नुभएपछि मण्डलीको सचिवलाई तुरुन्तै बुझाइहाल्नुहोस् अनि तिनले उपयुक्त मण्डली वा समूहलाई पठाउनेछन्।
४ फाराम पठाउने: यो फाराम कुन मण्डली वा समूहलाई पठाउनुपर्ने हो वा त्यहाँको हुलाक ठेगाना सचिवलाई थाह छैन भने शाखा कार्यालयको टेरिटोरी डेस्कमा फोन गरेर तिनले आवश्यक जानकारी प्राप्त गर्न सक्छन्। यो फाराम पठाउने बेलामा अब उप्रान्त नगर निरीक्षकलाई खबर गरिरहनु आवश्यक छैन।
५ कुनै मण्डली वा समूहले पूरा भरिसकेको प्लीज फलो अप फाराम प्राप्त गरेपछि त्यस व्यक्तिकहाँ तुरुन्तै जाने प्रबन्ध मिलाउनुपर्छ। लगनशील भई हामीले आफ्नो काम गऱ्यौं भने “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[को]” हृदय यहोवाले खोलिदिनुहुनेछ भनेर हामी विश्वस्त हुन सक्छौं।—प्रेरि. १३:४८.
-