-
के परमेश्वरको उद्देश्य यही हो?बाइबलले वास्तवमा के सिकाउँछ?
-
-
के परमेश्वरको उद्देश्य यही हो?
अखबार पढ्नुहोस्, टिभी हेर्नुहोस् वा रेडियो सुन्नुहोस्; अपराध, युद्ध र आतङ्कवादकै समाचार पाउनुहुनेछ! तपाईंका आफ्नै समस्याबारे विचार गर्नुहोस् त। रोगबिमार वा प्रियजनको मृत्युले गर्दा सायद एकदमै दुःखी हुनुहुन्छ होला। तपाईं अय्यूब नाम गरेको असल मानिसजस्तै महसुस गर्नुहुन्छ होला, जसले आफू “कष्टमा झुकेको” छु भने।—अय्यूब १०:१५.
आफैलाई सोध्नुहोस्:
म र सबै मानिसजातिको लागि के परमेश्वरको उद्देश्य यही हो?
म कसरी आफ्ना समस्याहरूको सामना गर्न सक्छु?
के पृथ्वीमा कुनै दिन शान्ति छाएको हेर्न पाइएला?
बाइबलले यी प्रश्नको चित्तबुझ्दो जवाफ दिन्छ।
परमेश्वरले पृथ्वीमा यस्ता परिवर्तन गर्नुहुनेछ भनी बाइबल सिकाउँछ।
“उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।”—प्रकाश २१:४
“लङ्गडा मृगझैं उफ्रनेछ।”—यशैया ३५:६
“अन्धाहरूका आँखा खोलिनेछन्।”—यशैया ३५:५
‘चिहानमा हुनेहरू सबै निस्किआउनेछन्।’—यूहन्ना ५:२८, २९
“त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’”—यशैया ३३:२४
‘पृथ्वीमा प्रशस्त अन्न हुनेछ।’—भजन ७२:१६
बाइबलको शिक्षाबाट लाभ उठाउनुहोस्
अघिल्ला पानामा बताइएका कुराहरू अव्यावहारिक छन् र ती काल्पनिक हुन् भनेर नपन्छाउनुहोस्। परमेश्वरले ती कुराहरू पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँले ती प्रतिज्ञा कसरी पूरा गर्नुहुनेछ भनी बाइबल बताउँछ।
तर बाइबलले अरू थुप्रै कुरा पनि बताउँछ। तपाईं अहिले कसरी सुखी जीवन बिताउन सक्नुहुन्छ भनी बाइबलमा बताइएको छ। एकछिन आफ्ना चिन्ता-फिक्रीबारे सोच्नुहोस् त। जस्तै: पैसाको अभाव, पारिवारिक समस्या, बिग्रँदो स्वास्थ्य वा प्रियजनको मृत्यु। यी समस्याको सामना गर्न बाइबलले तपाईंलाई मदत गर्न सक्छ। साथै तल दिइएका प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाएपछि तपाईंले ढुक्क महसुस गर्नुहुनेछ:
हामी किन दुःखकष्ट भोग्छौं?
हामी कसरी जीवनका फिक्रीहरूको सामना गर्न सक्छौं?
हामी आफ्नो पारिवारिक जीवनलाई कसरी अझ सुखी बनाउन सक्छौं?
मरिसकेपछि हामीलाई के हुन्छ?
मरिसकेका प्रियजनहरूलाई के हामी फेरि भेट्न पाउनेछौं?
परमेश्वरले भविष्यको लागि गर्नुभएका प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनी हामी कसरी पक्का हुन सक्छौं?
तपाईंले यो किताब पढिरहेको कुराले नै तपाईं बाइबलले के सिकाउँछ भनी जान्न इच्छुक हुनुहुन्छ भनी देखाउँछ। यस किताबले तपाईंलाई बाइबलको कुरा बुझ्न मदत गर्नेछ। सबै अध्यायमा प्रत्येक अनुच्छेदको लागि प्रश्नहरू दिइएका छन्। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दा प्रश्न-उत्तर गरेर छलफल गर्ने तरिका थुप्रैले मन पराएका छन्। आशा छ, तपाईंलाई पनि यो तरिका रमाइलो लाग्नेछ। बाइबलले वास्तवमा के सिकाउँछ भनी बुझ्दै जाँदा अपार आनन्द र सन्तुष्टि पाउनुहुनेछ। तपाईंको यस्तो प्रयासमा परमेश्वरले आशिष् देऊन्।
-
-
परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?बाइबलले वास्तवमा के सिकाउँछ?
-
-
अध्याय एक
परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?
के परमेश्वरले तपाईंको साँच्चै चासो राख्नुहुन्छ?
परमेश्वर कस्तो हुनुहुन्छ? के उहाँको नाम छ?
के परमेश्वरसित नजिक हुन सकिन्छ?
१, २. प्रश्न सोध्नु किन राम्रो हो?
बच्चाहरू कसरी प्रश्न सोधिरहन्छन्, के तपाईंले याद गर्नुभएको छ? बोली फुटेदेखि धेरैजसो बच्चाले एकपछि अर्को प्रश्न सोध्न थाल्छन्। एकदमै उत्सुक भएर तिनीहरू यस्ता प्रश्न सोध्छन्: ‘त्यो के हो? त्यो कसरी भयो? किन त्यस्तो भएको?’ तर जवाफ दिन सधैं सजिलो हुँदैन। अनि जति नै चित्तबुझ्दो जवाफ दिए पनि फेरि अर्को प्रश्न सोधिहाल्छन्।
२ तर बच्चाहरूले मात्र प्रश्न सोध्दैनन्। ठूलो हुँदै जाँदा हामी पनि प्रश्न सोधिरहन्छौं। बाटो पत्ता लगाउन, खतराहरूबाट जोगिन वा जिज्ञासा मेटाउन हामी प्रश्न सोध्छौं। तर थुप्रैले सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै सोध्न छोडेजस्तो देखिन्छ। प्रश्न सोधिहाले पनि जवाफचाहिं खोज्दैनन्।
३. किन थुप्रैले महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउन प्रयासै गर्न छोड्छन्?
३ यस किताबको आवरणमा, तेस्रो र छैटौं पानामा अनि यस अध्यायको सुरुमा सोधिएका प्रश्नहरू विचार गर्नुहोस्। ती महत्त्वपूर्ण प्रश्न हुन्। तैपनि थुप्रै मानिसले ती प्रश्नको जवाफ पाउन प्रयासै गर्न छोडेका छन्। किन? के ती प्रश्नको जवाफ बाइबलमा पाइन्छ? कसै-कसैलाई ती प्रश्नको जवाफ बुझ्न असाध्यै गाह्रो लाग्छ। अरू भने यस्ता प्रश्न सोध्दा लाज वा अप्ठ्यारोमा परिएला भनेर चिन्ता गर्छन्। अनि अरू कोहीचाहिं यस्ता प्रश्न धर्मगुरुहरूलाई नै छोडिदिनु बेस ठान्छन्। तपाईं नि?
४, ५. हाम्रो मनमा कस्ता प्रश्नहरू आउँछन् र किन त्यसको जवाफ खोज्नुपर्छ?
४ तपाईं ती प्रश्नको जवाफ पाउन इच्छुक हुनुहुन्छ होला। तपाईंको मनमा कहिलेकाहीं यस्ता प्रश्न आउँछन् होला: ‘जीवनको उद्देश्य के हो? के जीवन यति नै हो? परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?’ यस्ता प्रश्न सोध्नु राम्रो हो र चित्तबुझ्दो अनि भरपर्दो जवाफ नपाएसम्म खोजिरहनुपर्छ। प्रख्यात शिक्षक येशू ख्रीष्टले यसो भन्नुभयो: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको लागि उघारिनेछ।”—मत्ती ७:७.
५ यस्ता प्रश्नको जवाफ ‘खोजिरहनुभयो’ भने तपाईंले आफ्नो मेहनतको इनाम पाउनुहुनेछ। (हितोपदेश २:१-५) अरूले जेसुकै भनून्, ती प्रश्नका जवाफहरू पक्कै पनि छन् र ती तपाईंले बाइबलमा भेट्टाउन सक्नुहुन्छ। अनि जवाफहरू बुझ्न गाह्रो पनि छैन। त्यस्तो जवाफले तपाईंलाई आशा दिन्छ अनि खुसी बनाउँछ। अनि यसले तपाईंलाई अहिले सुखी जीवन बिताउन पनि मदत गर्छ। सबैभन्दा पहिला, थुप्रैको मनमा खेलिरहेको प्रश्न विचार गरौं।
के परमेश्वर स्वार्थी र निष्ठुर हुनुहुन्छ?
६. थुप्रैलाई परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्न जस्तो किन लाग्छ?
६ थुप्रैलाई त्यस्तै लाग्छ। ‘भगवान्ले वास्ता गरेको भए संसारको हालत यस्तो हुन्थ्यो र?’ भनी तिनीहरू तर्क गर्छन्। हामी जताततै युद्ध, घृणा र दुःख मात्र देख्छौं। अनि हामी आफै पनि बिरामी हुन्छौं, दुःख भोग्छौं र मृत्युको कारण आफ्ना प्रियजन गुमाउँछौं। त्यसकारण थुप्रैले यसो भन्छन्, ‘भगवान्ले वास्ता गरेको भए यस्तो हुने थियो र?’
७. (क) धर्मगुरुहरूले परमेश्वर निष्ठुर हुनुहुन्छ भन्ने छाप कसरी पारिदिएका छन्? (ख) हामीमाथि आइपर्ने खराब कुराहरूबारे बाइबलले वास्तवमा के सिकाउँछ?
७ धर्मगुरुहरूले पनि परमेश्वर निष्ठुर हुनुहुन्छ भन्ने छाप पारिदिएका छन्। कसरी? दुःखकष्ट आइपर्दा तिनीहरू ‘सब दैवको लीला हो’ भन्छन्। वास्तवमा त्यस्ता धर्मगुरुहरू परमेश्वरलाई नै दोषी ठहऱ्याउँछन्। के यो कुरा साँचो हो? बाइबलले वास्तवमा के सिकाउँछ? याकूब १:१३ यस्तो जवाफ दिन्छ: “परीक्षामा पर्दा कसैले पनि यसो नभनोस्: ‘परमेश्वरले मेरो परीक्षा लिइरहनुभएको छ।’ किनकि कुनै खराब मनसायले परमेश्वरको परीक्षा लिन सकिंदैन न त उहाँ आफैले कुनै खराब मनसायले कसैको परीक्षा लिनुहुन्छ।” त्यसैले संसारमा भइरहेका खराब कुराहरूको स्रोत परमेश्वर कदापि हुनुहुन्न। (अय्यूब ३४:१०-१२) हो, उहाँले खराब कुराहरू हुन दिनुहुन्छ। तर कुनै कुरा हुन दिनु र गराउनु-बीच ठूलो फरक छ।
८, ९. (क) खराब कुरा हुन दिनु र गराउनुबीचको फरकलाई उदाहरणसहित बुझाउनुहोस्। (ख) मानिसहरू गलत बाटोमा लाग्दा पनि परमेश्वरले नरोक्नुभएकोमा किन उहाँलाई दोष दिन मिल्दैन?
८ उदाहरणको लागि, एक जना बुद्धिमान् र मायालु बुबाबारे विचार गर्नुहोस्। तिनको छोरा लक्का जवान भइसकेको छ। बुबाको कुरा नसुनी विद्रोही भएर छोराले घर छोड्ने निर्णय गर्छ। छोराले मनपरी जीवन बिताउन थाल्छ र समस्यामा फस्छ। के छोराको समस्याको कारण बुबा हो? होइन। (लूका १५:११-१३) त्यसैगरि मानिसहरूले परमेश्वरको कुरा नसुनी गलत बाटो रोजेका छन् र यसले गर्दा नतिजा नराम्रो भएको छ। के यसको कारण परमेश्वर हो? त्यसैले मानिसजातिले भोगिरहेका समस्याहरूको दोष परमेश्वरलाई दिन मिल्दैन।
९ मानिसहरू गलत बाटोमा लाग्दा पनि परमेश्वरले नरोक्नुका जायज कारणहरू छन्। उहाँ बुद्धिमान् र शक्तिशाली सृष्टिकर्ता हुनुभएकोले हामीलाई कारण बताइरहनु आवश्यक छैन। तर हामीलाई माया गरेकोले उहाँले कारण बताउनुभएको छ। यसबारे तपाईंले अध्याय ११ मा राम्ररी बुझ्नुहुनेछ। तर हामीले भोगिरहेका समस्याहरूका लागि परमेश्वर दोषी हुनुहुन्न भन्ने कुरामा चाहिं ढुक्क हुनुहोस्। बरु उहाँले नै हाम्रा समस्याहरू समाधान गर्नुहुनेछ!—यशैया ३३:२.
१०. खराब कुराको असरलाई परमेश्वरले सच्याउन सक्नुहुन्छ भनी हामी किन ढुक्क हुन सक्छौं?
१० परमेश्वर पवित्र हुनुहुन्छ। (यशैया ६:३) यसको अर्थ उहाँ शुद्ध र स्वच्छ हुनुहुन्छ। उहाँमा पटक्कै खराबी छैन। त्यसैले हामी उहाँमाथि पूरा भरोसा राख्न सक्छौं। मानिसहरूमाथि भने यत्तिको भरोसा राख्न सक्दैनौं किनभने तिनीहरू कहिलेकाहीं भ्रष्ट हुन सक्छन्। कुनै इमानदार मानिससित अख्तियार छ भने पनि उसले खराब मानिसहरूले पुऱ्याएको सबै हानिलाई अक्सर सच्याउन सक्दैन। तर परमेश्वर शक्तिशाली हुनुहुन्छ। खराब कुराको असरलाई उहाँले सच्याउन सक्नुहुन्छ र पक्कै सच्याउनु हुनेछ। परमेश्वरले सधैंभरिको लागि खराब कुराको अन्त गर्नुहुनेछ!—भजन ३७:९-११.
हामीले भोगिरहेको अन्याय परमेश्वरलाई कस्तो लाग्छ?
११. (क) हामीले भोगिरहेको अन्याय परमेश्वरलाई कस्तो लाग्छ? (ख) तपाईंले भोगिरहनुभएको दुःखकष्ट परमेश्वरलाई कस्तो लाग्छ?
११ अहिले संसारमा भइरहेका र तपाईंले भोगिरहेका नमीठा घटनाहरू परमेश्वरलाई कस्तो लाग्छ? पहिलो कुरा, परमेश्वर “इन्साफ प्रेम गर्नुहुन्छ” भनी बाइबल सिकाउँछ। (भजन ३७:२८) त्यसैले उहाँ अन्याय होइन, न्याय भएको चाहनुहुन्छ। उहाँ सबै प्रकारका अन्यायलाई घृणा गर्नुहुन्छ। त्यसैले प्राचीन समयमा संसार दुष्टताले भरिएको देख्दा उहाँ “मनमा साह्रै दुःखित हुनुभयो” भनी बाइबल बताउँछ। (उत्पत्ति ६:५, ६) उहाँ परिवर्तन हुनुभएको छैन। (मलाकी ३:६) संसारमा भइरहेको दुःखकष्ट देख्दा अहिले पनि उहाँलाई दुःख लाग्छ। मानिसहरूले दुःख पाएको परमेश्वर पटक्कै चाहनुहुन्न। बाइबल भन्छ, “उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.
यहोवा ब्रह्माण्डको मायालु सृष्टिकर्ता हुनुहुन्छ भनी बाइबल सिकाउँछ
१२, १३. (क) प्रेमजस्तो गुण हामीले कहाँबाट पायौं र संसारमा भइरहेको अन्याय देख्दा हामीलाई कस्तो लाग्छ? (ख) परमेश्वरले संसारमा भइरहेका समस्याहरू हटाउनुहुनेछ भनी तपाईं किन ढुक्क हुन सक्नुहुन्छ?
१२ मानिसहरूले दुःख पाएको परमेश्वरलाई पटक्कै मन पर्दैन भनेर कसरी पक्का हुन सक्छौं? यसबारे पक्का हुन सक्ने अर्को कारण छ। मानिस परमेश्वरकै स्वरूपमा बनाइएको थियो भनी बाइबल सिकाउँछ। (उत्पत्ति १:२६) त्यसकारण परमेश्वरसित भएका असल गुणहरू हामीसित पनि छन्। उदाहरणको लागि, निर्दोष मानिसहरूले दुःख भोगिरहेको देख्दा के तपाईंलाई नमजा लाग्दैन र? त्यस्ता अन्याय देखेर तपाईंलाई दुःख लाग्छ भने परमेश्वरलाई झन् कति दुःख लाग्छ होला!
१३ मानिसको एउटा राम्रो पक्ष भनेको प्रेम गर्ने क्षमता हो। यो पनि परमेश्वरको गुण हो। बाइबल भन्छ, “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) परमेश्वर प्रेम हुनुभएकोले हामीसित पनि त्यो गुण छ। त्यसैले त हामी संसारमा भइरहेको दुःखकष्ट र अन्यायको अन्त गर्न खोज्छौं नि, होइन र? तपाईंसित शक्ति भएको भए के तपाईंले त्यसो गर्नुहुने थिएन र? अवश्य गर्नुहुने थियो! त्यसकारण परमेश्वरले दुःखकष्ट र अन्यायको अन्त गर्नुहुनेछ भन्ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ। यस किताबको चौथो र पाँचौं पानामा उल्लेख गरिएका प्रतिज्ञाहरू केवल सपना होइनन्। ती प्रतिज्ञा अवश्य पूरा हुनेछन्! तर त्यसमा विश्वास गर्न तपाईंले ती प्रतिज्ञा गर्नुहुने परमेश्वरलाई अझ राम्ररी चिन्नुपर्छ।
-