-
न्यायको दिन के हो?बाइबलले वास्तवमा के सिकाउँछ?
-
-
प्रेषित यूहन्नाले दर्शनमा “पुस्तकहरू खोलिएको” अनि “ती पुस्तकहरूमा लेखिएबमोजिम” ती मरिसकेका मानिसहरूको ‘कामअनुसार न्याय भएको’ देखे। के ती पुस्तकहरू तिनीहरूले विगतमा गरेका कामहरूको रेकर्ड हो? होइन, मर्नुअघि गरेका कामको आधारमा तिनीहरूको न्याय गरिनेछैन। हामी किन यसो भन्न सक्छौं? बाइबल यसो भन्छ: “जो मर्छ, ऊ आफ्नो पापबाट मुक्त हुन्छ।” (रोमी ६:७) भनौं भने पुनर्जीवित भएकाहरूले विगतमा गरेका सबै पापको क्षमा पाइसकेका हुनेछन्। त्यसैले ती पुस्तकहरूले परमेश्वरले दिनुहुने थप निर्देशनलाई बुझाउँछ। आरमागेडोन पार गर्ने र पुनर्जीवित हुने सबैले सधैंभरि बाँच्न परमेश्वरका आज्ञाहरू पालन गर्नुपर्नेछ। साथै यहोवाले हजार वर्षको दौडान दिनुहुने नयाँ निर्देशनहरू पनि पालन गर्नुपर्नेछ। त्यसकारण मानिसहरूले न्यायको दिनको दौडान जे गर्छन्, त्यसको आधारमा न्याय गरिनेछ।
न्यायको दिनमा अरबौं मानिसले पहिलो चोटि परमेश्वरको इच्छाबारे सिक्ने र त्यसअनुसार हिंड्ने मौका पाउनेछन्। यसको मतलब एउटा व्यापक शैक्षिककार्य हुनेछ। हो, “संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।” (यशैया २६:९) तर सबै जना परमेश्वरको इच्छाअनुसार हिंड्न इच्छुक हुनेछैनन्। यशैया २६:१० यसो भन्छ: “दुष्टमाथि निगाह रहे तापनि तिनीहरूले धार्मिकता सिक्नेछैनन्। धार्मिकताको राज्यमा त्यसले खराबीसित व्यवहार गर्नेछ, र परमप्रभुको वैभवलाई देख्नेछैन।” ती दुष्टहरूलाई न्यायको दिनमा सदाको लागि नाश गरिनेछ।—यशैया ६५:२०.
न्यायको दिनको अन्तसम्ममा मानिसहरू त्रुटिरहित अवस्थामा पुग्नेछन् र साँचो अर्थमा “जीवित” हुनेछन्। (प्रकाश २०:५) यसरी न्यायको दिनमा मानिसहरू सुरुको त्रुटिरहित अवस्थामा पुग्नेछ। (१ कोरिन्थी १५:२४-२८) त्यसपछि अन्तिम जाँच हुनेछ। सैतानलाई कैदबाट मुक्त गरिनेछ र त्यसले मानिसहरूलाई बहकाउने अन्तिम मौका पाउनेछ। (प्रकाश २०:३, ७-१०) त्यसको प्रतिरोध गर्नेहरूले बाइबलको यो प्रतिज्ञा पूरा भएको देख्नेछन्: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२९) हो, न्यायको दिन सबै वफादार मानिसको लागि आशिष् साबित हुनेछ!
-
-
सन् १९१४—बाइबल भविष्यवाणीमा एउटा महत्त्वपूर्ण वर्षबाइबलले वास्तवमा के सिकाउँछ?
-
-
अतिरिक्त लेख
सन् १९१४—बाइबल भविष्यवाणीमा एउटा महत्त्वपूर्ण वर्ष
सन् १९१४ भन्दा झन्डै ४० वर्ष अघिदेखि बाइबल विद्यार्थीहरूले त्यस वर्षमा उल्लेखनीय घटनाहरू हुनेछन् भनी घोषणा गर्दै आएका थिए। ती कस्ता घटना थिए र सन् १९१४ एउटा महत्त्वपूर्ण वर्ष हो भनी केले देखाउँछ?
लूका २१:२४ मा येशूले यसो भन्नुभयो: “राष्ट्रहरूलाई दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरूशलेमलाई कुल्चीमिल्ची गर्नेछन्।” यरूशलेम यहूदाको राजधानी थियो, जहाँबाट राजा दाऊदको घरानाका राजाहरूले शासन गर्थे। (भजन ४८:१, २) तिनीहरू अरू राष्ट्रका राजाहरूभन्दा फरक थिए। तिनीहरू परमेश्वरको प्रतिनिधिको रूपमा “परमप्रभुको सिंहासनमा” बस्थे। (१ इतिहास २९:२३) त्यसैले यरूशलेमले यहोवाको शासनलाई सङ्केत गर्थ्यो।
तर “ती राष्ट्रहरूले” कहिले र कसरी परमेश्वरको शासनमाथि “कुल्चीमिल्ची” गर्न थाले? ईसापूर्व ६०७ मा बेबिलोनीहरू यरूशलेममाथि विजयी हुँदा यस्तो भयो। यसरी “परमप्रभुको सिंहासन” खाली भयो र दाऊदको वंशबाट आएका राजाहरूको शासन अन्त भयो। (२ राजा २५:१-२६) के सधैंभरि “कुल्चीमिल्ची” भइरहने थियो? अहँ, थिएन। किनभने भविष्यवक्ता इजकिएलले यरूशलेमको अन्तिम राजा सिदकियाहबारे यसो भने: “पगरी हटा र शिरपेच उतारिदे। . . . जसको त्यसमाथि अधिकार छ, औ जसलाईनै म यो सुम्पिनेछु, ऊ नआइपुगुञ्जेल त्यसको नाउँ निशानै रहनेछैन।” (इजकिएल २१:२६, २७) दाऊदको वंशको शिरपेचको “अधिकार” भएको ख्रीष्ट येशू मात्र हुनुहुन्छ। (लूका १:३२, ३३) हो, येशू राजा भएपछि “कुल्चीमिल्ची” हुन बन्द हुने थियो।
यो उल्लेखनीय घटना कहिले हुने थियो? ती राष्ट्रहरूले निश्चित समयसम्म मात्र शासन गर्नेछन् भनी येशूले बताउनुभयो। त्यो समय कति लामो हुनेछ भन्नेबारे दानियल अध्याय ४ मा महत्त्वपूर्ण जानकारी पाइन्छ। त्यस विवरणमा बेबिलोनी राजा नबूकदनेसरले देखेको भविष्यसूचक सपनाबारे बताइएको छ। तिनले एउटा बडेमाको रूख ढालिएको सपना देखे। त्यसको ठुटा बढ्न सकेन किनभने त्यसलाई फलाम र काँसाको साङ्लाले बाँधिएको थियो। स्वर्गदूतले यस्तो घोषणा गरे: “सात काल त्यसमाथि त्यस्तै बितोस्।”—दानियल ४:१०-१६.
बाइबलमा कहिलेकाहीं रूखले शासनलाई बुझाउँछ। (इजकिएल १७:२२-२४; ३१:२-५) त्यसैले रूख ढालिनुले परमेश्वरको शासनको प्रतिनिधित्व गर्ने यरूशलेमका राजाहरूको शासनको अन्त हुने कुरालाई बुझाउँछ। तर उक्त सपनाअनुसार सधैंभरि ‘यरूशलेम कुल्चीमिल्ची’ हुने थिएन, “सात काल”-सम्म मात्र हुने थियो। त्यो समय कति लामो हुने थियो?
प्रकाश १२:६, १४ अनुसार साढे तीन समय भनेको “एक हजार दुई सय साठी दिन” हो। त्यसैले “सात काल” भनेको त्यसको दोबर अर्थात् २,५२० दिन हुन्छ। तर ती राष्ट्रहरूले यरूशलेमको पतनपछि २,५२० दिनसम्म मात्र परमेश्वरको शासनमाथि ‘कुल्चीमिल्ची’ गरेनन्। यस भविष्यवाणीले अझ लामो समयलाई ढाक्छ भनेर प्रस्ट हुन्छ। गन्ती १४:३४ र इजकिएल ४:६ अनुसार ‘एक दिनको एक वर्षको’ हिसाबले “सात काल” बराबर २,५२० वर्ष हुन्छ।
ईसापूर्व ६०७, अक्टोबर महिनामा बेबिलोनीहरूबाट यरूशलेम पराजित हुँदा र दाऊदको वंशलाई सिंहासनबाट हटाइँदा २,५२० वर्ष सुरु भयो। यो समय सन् १९१४ अक्टोबर महिनामा अन्त भयो। त्यतिबेला ती “राष्ट्रहरूलाई दिइएको समय” अन्त भयो र येशू ख्रीष्ट स्वर्गको राज्यको राजा हुनुभयो।a—भजन २:१-६; दानियल ७:१३, १४.
स्वर्गको राजाको रूपमा आफ्नो “उपस्थिति” हुँदा येशूले भविष्यवाणी गर्नुभएझैं संसारमा युद्ध, अनिकाल, भूकम्प र महामारी हुनु उल्लेखनीय छ। (मत्ती २४:३-८; लूका २१:११) यी घटनाहरूले सन् १९१४ मा स्वर्गमा परमेश्वरको राज्य स्थापना भयो र यस दुष्ट युगको “अन्तको दिन” सुरु भयो भनेर ठोस प्रमाण दिन्छ।—२ तिमोथी ३:१-५.
a ईसापूर्व ६०७ को अक्टोबरदेखि ईसापूर्व १ को अक्टोबरसम्म ६०६ वर्ष हुन्छ। ईसापूर्व १ को अक्टोबरदेखि इस्वी संवत् १ को अक्टोबरसम्म एक वर्ष हुन्छ। इस्वी संवत् १ अक्टोबरदेखि इस्वी संवत् १९१४ को अक्टोबरसम्म १,९१३ वर्ष हुन्छ। त्यसैले ६०६+१+१९१३=२,५२० वर्ष हुन्छ।
-
-
प्रधान दूत माइकल को हुन्?बाइबलले वास्तवमा के सिकाउँछ?
-
-
अतिरिक्त लेख
प्रधान दूत माइकल को हुन्?
माइकल नाम गरेका स्वर्गदूतबारे बाइबलमा धेरै चोटि उल्लेख गरिएको पाइँदैन। तर तिनीबारे उल्लेख गरिंदा तिनी कुनै न कुनै काममा सक्रिय भई लागिरहेका हुन्छन्। दानियलको किताबमा माइकल दुष्ट स्वर्गदूतहरूसित लड्दै गरेको विवरण पाइन्छ। यहूदाको पत्रमा तिनी सैतानसँग विवाद गर्दै गरेको अनि प्रकाशको किताबमा सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूसित लडाइँ गर्दै गरेको विवरण पाइन्छ। यहोवाको शासनको पक्षमा खडा हुँदै र उहाँका शत्रुहरूसित लड्दै माइकल आफ्नो नामअनुसारकै काम गर्छन्। तिनको नामको अर्थ हो, “परमेश्वरजस्तो को छ?” तर को हुन् माइकल?
कोही-कोही व्यक्ति धेरै नामले चिनिन्छन्। उदाहरणका लागि, कुलपिता याकूबलाई इस्राएल अनि प्रेषित पत्रुसलाई सिमोन पनि भनिन्थ्यो। (उत्पत्ति ४९:१, २; मत्ती १०:२) त्यसैगरि येशू ख्रीष्ट पृथ्वीमा आउनुअघि र स्वर्ग फर्केपछिको नाम माइकल हो भनी बाइबलले सङ्केत गर्छ। हामी यस्तो निष्कर्षमा किन पुग्न सक्छौं, बाइबलबाट केही प्रमाण जाँचेर हेरौं।
प्रधान दूत: परमेश्वरको वचनमा माइकललाई “प्रधान दूत” भनिएको छ। (यहूदा ९) याद गर्नुहोस्, बाइबलमा “प्रधान दूत” भन्ने शब्द बहुवचनमा नभई सधैं एकवचनमा मात्र प्रयोग गरिएको छ। यसबाट प्रधान दूत एक जना मात्र छ भनी स्पष्ट हुन्छ। साथै बाइबलमा येशू र प्रधान दूत एउटै हुनुहुन्छ भन्ने सङ्केत पाइन्छ। पुनर्जीवित भएका प्रभु येशू ख्रीष्टबारे १ थिस्सलोनिकी ४:१६ यसो भन्छ: “प्रभु स्वयम् ठूलो सोर, प्रधान दूतको आवाज अनि परमेश्वरको बिगुलको आवाजसहित स्वर्गबाट ओर्लनुहुनेछ।” यहाँ येशूको सोरलाई प्रधान दूतको आवाज भनिएको छ। त्यसकारण यस शास्त्रपदबाट येशू नै प्रधान दूत माइकल हुनुहुन्छ भनेर स्पष्ट हुन्छ।
-