प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • re अध्या. १० पृ. ४७-५४
  • “शैतानको विषयका गहिरा गहिरा कुराहरू”-का लागि घृणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “शैतानको विषयका गहिरा गहिरा कुराहरू”-का लागि घृणा
  • प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “ती स्त्री जिजेबेल”
  • “जो तिमीहरूसङ्‌ग छ, त्यसलाई थामिराख”
  • निष्ठा कायम राख्नुहोस्‌
  • आत्माले के भन्छ सुन्‍नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • ईजेबेल—दुष्ट रानी ईजेबेल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • दुष्ट रानीलाई सजाय दिइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • प्रकाशको किताबले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
re अध्या. १० पृ. ४७-५४

अध्याय १०

“शैतानको विषयका गहिरा गहिरा कुराहरू”-का लागि घृणा

थिआटायरा

१. थिआटायरा अरू मण्डलीहरूदेखि कतिको टाढा वा नजिक थियो र त्यहाँको धार्मिक वातावरण कस्तो थियो?

बर्गामा (पर्गामम) देखि करीब ४० माइल दक्षिणपूर्वतिर अखिसार भन्‍ने समृद्धशाली तुर्की शहर छ। लगभग १,९०० वर्षअघि यो शहर बसालिएको ठाउँमै थिआटायरा थियो। त्यतिखेर पर्गाममदेखि मूलबाटो हुँदै कुनै पनि परिभ्रमण निरीक्षक थिआटायरासम्म पुग्न सक्थे। साथै, प्रकाश ३-मा उल्लिखित बाँकी मण्डलीहरू अर्थात्‌ सार्डिस, फिलाडेल्फिया र लाओडिसियाको भ्रमण पनि थिआटायराबाट नै उनले गर्न सक्थे। थिआटायरा, पर्गामममाजस्तै सम्राटपूजाको कुनै खास केन्द्र थिएन जस्तो देखिन्छ। तापनि त्यहाँ अन्य गैरमसीही देवताहरूलाई समर्पित पूजाथान र मन्दिरहरू चाहिं थिए। थिआटायरा मूलतः एउटा व्यापार केन्द्र थियो।

२, ३. (क) पछिबाट मसीही भएकी एउटी थिआटायरीबारे के लेखिएको छ? (ख) येशू “परमेश्‍वरको पुत्र” हुनुहुन्छ र उहाँका “आँखाहरू आगोको ज्वालाजस्ता” छन्‌ भन्‍ने कुराहरूले थिआटायराका मसीहीहरूका लागि के महत्त्व राख्तछ?

२ म्यासिडोनियामा प्रचार गरिरहेको बेला लिडिया नाउँ भएकी बैजनी लुगा बेच्ने थिआटायराकी एउटी आइमाईसित पावलको भेट भएको थियो। पावलद्वारा प्रचारित समाचारलाई लिडिया र तिनको सारा परिवारले खुशीसाथ ग्रहण गरे र विशेष आतिथ्य पनि देखाए। (प्रेरित १६:१४, १५) बाइबलको रेकर्डअनुसार सम्भवतः यिनी नै मसीही धर्म स्वीकार्ने प्रथम थिआटायरी थिइन्‌। केही समयपछि त्यस शहरमा पनि मसीहीहरूको एउटा मण्डली स्थापित भयो। येशूले आफ्नो सबैभन्दा लामो सन्देश त्यहाँकै मण्डलीलाई दिनु भयो: “अनि थिआटायरामा भएको मण्डलीका दूतलाई लेख। यी कुरा आगोका ज्वालाजस्ता आँखा भएका टल्काइराखेको पीतल जस्तो खुट्टा भएका, परमेश्‍वरको पुत्रले भन्दछ।”—प्रकाश २:१८.

३ “परमेश्‍वरको पुत्र” भन्‍ने अभिव्यक्‍ति प्रकाशको पुस्तकमा यो एक पटक मात्र देखिन्छ। हुनत येशूले यहोवालाई “मेरो पिता” भनेर अन्य ठाउँहरूमा सम्बोधन नगर्नु भएको होइन। (प्रकाश २:२७; ३:५, २१) तर “परमेश्‍वरको पुत्र” भन्‍ने अभिव्यक्‍तिले सम्भवतः थिआटायराका मसीहीहरूलाई येशू र यहोवाबीच रहेको आत्मीयताको सम्झना गराउँछ। यी पुत्रका आँखाहरू “आगोका ज्वालाजस्ता” छन्‌। तसर्थ मण्डलीलाई दूषित पार्ने हरेक कुराको विरुद्धमा उहाँको न्याय आगो जस्तै दन्कनेछ र थिआटायराका मसीहीहरूका लागि यो एउटा चेताउनी हो। आफ्नो झलझल बल्दो पीतलको खुट्टालाई दोस्रो पटक फेरि सङ्‌केत गर्नु हुँदै उहाँले पृथ्वीमा हुँदा आफूले कायम गर्नु भएको विश्‍वासिलोपनाको ज्वलन्त उदाहरणमाथि जोड दिनुहुन्छ। थियाटायराका मसीहीहरूले निस्सन्देह उहाँको सल्लाह पालन गरे र आज हामीले पनि गर्नुपर्छ।—१ पत्रुस २:२१.

४, ५. (क) येशूले थिआटायराका मसीहीहरूको सराहना किन गर्न सक्नुभयो? (ख) थिआटायराको मण्डली पनि आज यहोवाका साक्षीहरूका मण्डलीहरू जस्तै किन छ?

४ खुशीको अर्को कुरा के हो भने येशूले त्यहाँ थिआटायरामा बस्नेहरूको प्रशंसा गर्न सक्नुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “तिम्रा कामहरू, तिम्रो प्रेम र विश्‍वास, सेवा र धीरज, मलाई थाह छ, तिम्रा पछाडिका काम अघाडिका भन्दा बढता छन्‌।” ( प्रकाश २:१९) यी अभिषिक्‍त मसीहीहरू एफिसीहरूजस्ता छैनन्‌। यिनीहरूले यहोवाका लागि आफ्नो प्रथम प्रेम बिर्सेका छैनन्‌। यिनीहरूको विश्‍वास बलियो छ। यिनीहरूको काम पनि पहिलेको भन्दा बढी छ। साथै, अघिका तीन वटा मण्डलीहरूले जस्तै यिनीहरूले पनि धैर्य धारण गरिरहेका छन्‌। र आज पृथ्वीभरि यहोवाका साक्षीहरूका झन्डै १,००,००० मण्डलीहरूले पनि त्यस्तै गर्दैछन्‌! जताततै यहोवाका लागि प्रेम झल्किन्छ। सङ्‌गठनभरि सेवकाईको निम्ति जोशको भेल बगिरहेछ। यसको प्रवाहमा वृद्ध तथा जवान दुवै उत्साहित छन्‌। अग्रगामी सेवाका लागि अघि सर्नेहरूको सङ्‌खया बढ्‌दो छ। यी अग्रगामीहरूले परमेश्‍वरको आउने राज्यको महिमावान आशाको घोषणा गर्दै आफ्नो समयको सदुपयोग गर्छन्‌!—मत्ती २४:१४; मर्कूस्‌ १३:१०.

५ आफ्नो वरपरको संसार आशाहीन अन्धकारमा भासिंदै गए तापनि शेष अभिषिक्‍त जन र ठूलो भीड मिलेर कैयौं दशकदेखि परमेश्‍वरको सेवामा अनुकरणीय धैर्य धारण गर्दै आएका छन्‌। यसकारण हामी हिम्मत नहारौं! प्रकाशको पुस्तकले परमेश्‍वरका पहिलेका अगमवक्‍ताहरूले भनेको यस तथ्यलाई पुष्टि दिन्छ: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँडै आउँदैछ।”—सपन्याह १:१४; योएल २:१; हबकूक २:३; प्रकाश ७:९; २२:१२, १३.

“ती स्त्री जिजेबेल”

६. (क) अनेक प्रशंसनीय विशेषताहरूको बावजूद थिआटायराको मण्डलीमा तुरुन्तै ध्यान दिनु पर्ने अत्यावश्‍यक समस्या येशूले के देख्नुहुन्छ? (ख) जिजेबेल को थिइन्‌ र आफूलाई अगमवादिनी कहलाउने के तिनको कुनै ठोस आधार थियो?

६ येशूका अग्निमय आँखाहरूले अझ भित्री कुराहरू देखिसकेका छन्‌। तुरुन्तै सुधारको खाँचो भएको केही कुरा उहाँ देख्नु हुन्छ। उहाँले थिआटायराका मसीहीहरूलाई यसो भन्‍नुहुन्छ: “तर तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि आफैले आफैलाई अगमवादिनी हुँ भन्‍ने स्त्री जिजेबेललाई तिमी रहन दिन्छौ, औ त्यसले मेरा दासहरूलाई व्यभिचार गर्न, र मूर्तिलाई चढ़ाएका कुराहरू खान सिकाएर फकाँउछे।” ( प्रकाश २:२०) सा.यु.पू. दशौं शताब्दीमा बाल-पूजक राजा आहाबकी रानीले गरेको हत्या, व्यभिचार र अत्याचार सर्वविदित थियो। यहोवाका अभिषिक्‍त जन येहूले ती रानीलाई मार्ने आदेश दिए। (१ राजा १६:३१; १८:४; २१:१-१६; २ राजा ९:१-७, २२, ३०, ३३) ती मूर्तिपूजक जिजेबेलको आफूलाई अगमवादिनी कहलाउने अधिकार पटक्कै थिएन। तिनी इस्राएलकी विश्‍वासी अगमवादिनी मरियम र डेबोरा जस्ती थिइनन्‌। (प्रस्थान १५:२०, २१; न्यायकर्ता ४:४; ५:१-३१) वृद्धा हन्‍ना र सुसमाचारक फिलिपकी चार जना छोरीहरू परमेश्‍वरको आत्माद्वारा भविष्यवाणी बोल्न प्रेरित भएझैं जिजेबेल प्रेरित थिइनन्‌।—लूका २:३६, ३८; प्रेरित २१:९.

७. (क) “ती स्त्री जिजेबेल” को चर्चा गर्नु हुँदा येशूले स्पष्टतः कुन चाहिं कुप्रभावलाई सङ्‌केत गर्नु हुँदैछ? (ख) त्यहाँ सङ्‌गत गर्ने केही महिलाहरूले आफ्नो स्वेच्छाकृत गतिविधिलाई कसरी उचित साबित गर्ने कोशिश गरेको हुन सक्छ?

७ हो, आफूलाई अगमवादिनी ठान्‍ने “ती स्त्री जिजेबेल” स्पष्टतः एउटी ढोंगी हुन्‌। तिनीसित परमेश्‍वरको आत्मा छैन। तिनी खासमा को हुन्‌? तिनी एउटी आइमाई अथवा आइमाईहरूको समूह हुनुपर्छ जसको निर्लज्ज कुप्रभाव मण्डलीमा परिरहेको छ। मण्डलीसित सम्बन्धित केही आइमाईहरूले त्यहाँका कुनै कुनै व्यक्‍तिहरूलाई लैङ्‌गिक अनैतिकतामा फसाएको हुन सक्छ। आफ्नो छाडा गतिविधिलाई बल दिन तिनीहरूले शास्त्रपदहरूको लाजै नमानी दुरुपयोग गरेको हुनुपर्छ। तिनीहरू साँच्चै नै झूटो अगमवाणी बोलिरहेका थिए! तिनीहरूले आफूजस्तै अरूहरू पनि “व्यभिचार, अशुद्धपना, उद्वेग, खराब इच्छा र लोभ [अर्थात्‌] मूर्तिपूजा” मा फसेको देख्न चाहन्थे। (कलस्सी ३:५) मण्डलीका सदस्यहरूले एउटा अनैतिक र स्वार्थपूर्ण जीवनशैली अपनाएको तिनीहरू देख्न रुचाउथे। सोही प्रकारको जीवनशैलीलाई आज मसीहीजगतका धेरैजसो धर्महरूमा पनि छूट दिएको पाइन्छ।

८. (क) थिआटायरामा भएकी “जिजेबेल” बारे येशूले के न्याय-फैसला घोषणा गर्नुहुन्छ? (ख) आधुनिक समयहरूमा पनि महिलाहरूको अनुचित प्रभाव कसरी अनुभव गरिएको छ?

८ येशूले थिआटायराका प्राचीनहरूलाई अझ यसो भन्‍नुहुन्छ: “औ मैले त्यसलाई पश्‍चाताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारको पश्‍चाताप गर्न इच्छा गर्दिन। हेर, म त्यसलाई एउटा ओछ्यानमा र त्यससँग व्यभिचार गर्नेहरूलाई चाहिं, तिनीहरूले त्यसका कामहरूको पश्‍चाताप गर्दैनन्‌ भनेता ठूलो सङ्‌कष्टमा फालिदिन्छु।” ( प्रकाश २:२१, २२) प्राचीन जिजेबेलले आहाबमाथि हकदक जमाएकी थिइन्‌। तिनी परमेश्‍वरको कार्यान्वयनकर्ता येहूप्रति अटेर भएकी थिइन्‌। त्यस्तैगरी मण्डलीको यस महिला-कुप्रभावले पनि पति र प्राचीनहरूलाई आफ्नो इशारामा नचाउन खोजेको हुन सक्छ। थिआटायराका प्राचीनहरूले जिजेबेलको जस्तै उत्ताउलो प्रभावलाई सहेर बसेको जस्तो देखिन्छ। यसकारण येशूले यहाँ तिनीहरूलाई र साथै यहोवाका जनहरूको विश्‍वव्यापी मण्डलीलाई कडा चेताउनी दिनुहुन्छ। यस्तो कडा मिजास भएकी केही महिलाहरूले आधुनिक समयमा पनि आ-आफ्ना पतिहरूलाई धर्मत्यागी हुन उक्साएका छन्‌ र यहोवाका विश्‍वासी सेवकहरूको विरुद्धमा मुद्दाहरू समेत चलाएका छन्‌।—यहूदा ५-८ तुलना गर्नुहोस्‌।

९. (क) येशूले जिजेबेलबारे भन्‍नु भएका कुराहरू मण्डलीका सम्पूर्ण महिलाहरूमाथि किन लागू हुँदैन? (ख) कति बेला मात्र जिजेबेलको कुप्रभाव सुरु हुन्छ?

९ तर यसले गर्दा मसीही मण्डलीका विश्‍वासी आइमाईहरू लज्जित हुनु पर्ने केही कारण छैन। आजकल धेरैजसो साक्षी दिने काम विश्‍वासी बहिनीहरूले नै गरिरहेका छन्‌; तिनीहरूद्वारा सञ्चालित गृह बाइबल अध्ययनहरूले गर्दा भीडका भीड मानिसहरू मण्डलीमा ओइरिरहेका छन्‌। यस प्रबन्धमाथि स्वयं परमेश्‍वरकै आशिष छ भनेर भजनसंग्रह ६८:११ मा पनि यो सङ्‌केत पाइन्छ: “परमेश्‍वरले वचन दिनु हुन्छ। शुभ समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल हुन्छ।” पत्नीहरूको संयम र आदरपूर्ण आचरण “परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।” यसप्रकारको आचरणले पतिहरूमाथि राम्रो प्रभाव पार्न सक्छ। (१ पत्रुस ३:१-४) राजा लमुएलले सुयोग्य र परिश्रमी पत्नीको प्रशंसा गरेका छन्‌। (हितोपदेश ३१:१०-३१) स्त्रीजातिले लोग्नेमानिसहरूलाई खराब काममा फसाउँदा अथवा लोग्नेमानिसको अगुवाइलाई चुनौती वा उपेक्षा गर्दै अघि बढ्‌दा मात्र जिजेबेलको जस्तो कुप्रभाव सुरु हुन्छ।—एफिसी ५:२२, २३; १ कोरिन्थी ११:३.

१०. (क) जिजेबेल र उनका सन्तानले किन दण्ड भोग्छन्‌? (ख) जिजेबेलका सन्तान हुनेहरू कुन खतरनाक परिस्थितिमा छन्‌ र यस्ताहरूले के गर्नुपर्छ?

१० “ती स्त्री जिजेबेल” बारे येशूले अझ यसो भन्‍नुहुन्छ: “औ म त्यसका बालकहरूलाई रुढ़ीले मार्नेछु, र सबै मण्डलीहरूले थाह पाउनेछन्‌ कि म उही हुँ, जसले सबैको मन र हृदय खोतल्छ, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसारै दिनेछु।” ( प्रकाश २:२३) येशूले जिजेबेल र तिनको सन्तानलाई पश्‍चाताप गर्ने समय दिनु भएको छ। तापनि तिनीहरू आफ्नै अनैतिक मार्गहरू मै लागिरहन्छन्‌। यसकारण तिनीहरूको न्याय नगरी हुँदैन। यसमा मसीहीहरूका लागि आज एउटा गहकिलो सन्देश पाइन्छ। जिजेबेलले जस्तै अगुवाइ गर्ने र नैतिकतासम्बन्धी बाइबलका सिद्धान्तहरूप्रति अनाज्ञाकारी हुने अथवा जिद्दी भएर ईश्‍वरतान्त्रिक व्यवस्थाको उपेक्षा गर्ने लोग्नेमानिस होस्‌ वा स्वास्नीमानिस, सबै जिजेबेलका सन्तान बन्छन्‌। तिनीहरू सबै आध्यात्मिक तवरमा अति नै रोगी अवस्थामा हुन्छन्‌। तथापि, यस्तो स्थितिमा परेको व्यक्‍तिले उनका लागि प्रार्थना गरी दिन मण्डलीका प्राचीनहरूलाई बोलाउन सक्छन्‌। अनि “विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले [यहोवाले, NW] [उनलाई] उठाउनेछ।” तर यसका लागि उनले नम्रतापूर्वक प्रार्थनाअनुसारको काम गर्नु अत्यावश्‍यक छ। बाहिरबाट चाहिं सेवामा खूब जोश देखाउँदै आफ्ना अनैतिक कामहरूको ढाकछोप कसैले गर्न पाउने छैन। कसैले पनि यहोवा अथवा ख्रीष्टलाई धोका दिन सक्ने छैन।—याकूब ५:१४, १५.

११. अनुचित महिला प्रभावदेखि होसियार हुने मदत आज मण्डलीहरूले कसरी पाउँछन्‌?

११ तर हामी आनन्दसाथ भन्‍न सक्छौं, आज यहोवाका साक्षीहरूका अधिकांश मण्डलीहरू उक्‍त खतराबारे सतर्क छन्‌। गैरईश्‍वरतान्त्रिक प्रवृत्तिहरू र गलत कार्यहरूतिर लैजाने गतिविधिहरूबारे प्राचीनहरू होसियार छन्‌। खतराको बाटोमा हिंड्‌न लागेका लोग्ने मानिस तथा आइमाईहरूलाई मदद दिने प्रयास उनीहरू गर्छन्‌। अबेर हुन अगावै ती प्राचीनहरूले त्यस्ता व्यक्‍तिहरूलाई आध्यात्मिक तवरमा बलियो पार्ने अथवा तिनीहरूको सोचाइमा आवश्‍यक परिवर्तन ल्याउने कोशिश गर्छन्‌। (गलाती ५:१६; ६:१) प्रेम र दृढतासाथ यी मसीही निरीक्षकहरूले मण्डलीका महिलाहरूलाई महिला स्वतन्त्रता आन्दोलन जस्ता अभियानहरूलाई समर्थन गर्ने कुनै गतिविधि आयोजित गर्न दिंदैनन्‌। साथै, यहोवाका साक्षीहरूको प्रकाशनहरूद्वारा पनि समय समयमा सल्लाहहरू दिइ नै रहन्छन्‌।a

१२. येहूको जस्तै जोश आज यूहन्‍नावर्गकाहरूले पनि कसरी प्रदर्शित गर्छन्‌?

१२ तथापि, घोर अनैतिकता व्याप्त भएको खण्डमा अथवा कसैले त्यस्तो काम बारम्बार गरिरहेमा चाहिं अपश्‍चातापी पापीहरूलाई बहिष्कार गर्नुपर्छ। येहूले कति ठूलो जोशका साथ इस्राएलबाट जिजेबेलको कुप्रभावलाई जरैसमेत हटाएका थिए, सो हामीले बिर्सेका छैनौं र यूहन्‍नावर्गकाहरूले पनि आज त्यसैप्रकारको दृढ अडान लिने गर्छन्‌। यसरी उनीहरूले “योनादाब” जस्ता आफ्ना सङ्‌गीहरूका लागि राम्रो उदाहरण कायम गर्छन्‌। उनीहरू मसीहीजगतका फितलो नैतिकता अपनाउने पादरीहरूभन्दा एकदमै भिन्‍न छन्‌।—२ राजा ९:२२, ३०-३७; १०:१२-१७.

१३. महिलाहरूको गलत प्रभावमा पर्नेहरूलाई के हुनेछ?

१३ यहोवाको दूत र न्यायाधीशको हैसियतमा परमेश्‍वरको पुत्रले आधुनिक जिजेबेललाई राम्ररी चिन्‍नु भएको छ। उहाँले त्यसलाई उठ्‌नै नसक्नेगरी बिरामी तुल्याइदिनु हुनेछ। आखिर त्यसको आध्यात्मिक रोग पनि कहिल्यै निको हुनै नसक्ने खालको रोग हो। (मलाकी ३:१, ५) महिलाहरूको यस्तो कुप्रभावमा पर्नेहरू सबैले महासङ्‌कष्ट भोग्नेछन्‌। बहिष्कृत हुँदाको शोक तिनीहरूले अनुभव गर्नेछन्‌। मुर्दालाई जिउँदाहरूको बीचबाट हटाएझैं तिनीहरूलाई पनि मसीही मण्डलीबाट निष्काशन गरिदिइनेछ। पश्‍चाताप गर्दै आफ्नो गलत मार्गलाई नत्यागुन्जेलसम्म तिनीहरू मण्डलीमा पुनःस्वीकृत हुनेछैनन्‌। तिनीहरूले अहिले नभएपनि महासङ्‌कष्टमा चाहिं निश्‍चय “रुढी” भोग्नेछन्‌। तापनि हाल आफ्ना गलत कार्यहरूका लागि पश्‍चाताप गरेमा तिनीहरू पुनःस्वीकृत हुन सम्भव छ।—मत्ती २४:२१, २२; २ कोरिन्थी ७:१०.

१४. (क) जिजेबेलको कुप्रभावजस्ता केही समस्याहरू समाधान गर्न येशूले प्राचीनहरूलाई कसरी चलाउनु हुन्छ? (ख) यस्ता समस्याहरूबारे कारबाई गर्ने प्राचीनहरूलाई मण्डलीले कसरी सहयोग दिनुपर्छ?

१४ “सबै मण्डलीहरूले” थाह पाउनु पर्छ, येशूले “मन र हृदय” अर्थात्‌ मानिसका भित्री भावनाहरू अथवा लुकेका विचारहरू समेत खोतल्नु हुन्छ। यसो गर्न उहाँले आफ्ना विश्‍वासी ताराहरू अथवा प्राचीनहरूलाई प्रयोग गर्नुहुन्छ। कुनै कुनै मामिलाहरू सुल्झाउन यी प्राचीनहरूलाई नै चलाइन्छ। (प्रकाश १:२०) यसप्रकारको मामिलालाई राम्ररी जाँच गरेपछि प्राचीनहरूले कुनै एउटा न्यायिक फैसला पनि गर्छन्‌। तर सो फैसला ठीक भयो-भएन भन्दै अन्य व्यक्‍तिहरूले खोतल्नु चाहिं उचित होइन। प्राचीनहरूको फैसलालाई सबैले नम्रतापूर्वक स्वीकार गर्नुपर्छ र मण्डलीका यी ताराहरूको समर्थन गरी नै रहनुपर्छ। यहोवा र उहाँको सङ्‌गठनात्मक प्रबन्धप्रति वफादार रह्‍यौं भने हामी पुरस्कृत हुनेछौं। (भजनसंग्रह ३७:२७-२९; हिब्रू १३:७, १७) येशूले प्रत्येकलाई उसको कर्मअनुसारको फल दिनु हुँदा तपाईंको भागमा पनि आशिष नै परोस्‌।—गलाती ५:१९-२४; ६:७-९.

“जो तिमीहरूसङ्‌ग छ, त्यसलाई थामिराख”

१५. (क) जिजेबेलको कुप्रभावमा नलागेकाहरूलाई येशूले के भन्‍नुहुन्छ? (ख) सन्‌ १९१८ मा मसीही हुने दाबी गर्ने सबैलाई नै धर्मत्यागी मसीहीजगतले भ्रष्ट पार्न सकेको थिएन भनी हामी कसरी भन्‍न सक्छौं?

१५ येशूले अब भन्‍नु हुने कुराले सान्त्वना दिन्छ। “तर तिमी थिआटायरामा भएका अरू बाँकीलाई, जस जसले यो शिक्षा ग्रहण गरेका छैनन्‌, तिनीहरूलाई म भन्दछु, म तिमीहरूमाथि अरू कुनै बोझ पार्दिनँ। त्यसो भए तापनि, जो तिमीहरूसँग छ, म नफर्कुञ्जेल त्यसलाई थामिराख।” ( प्रकाश २:२४, २५) थिआटायरामा विश्‍वासी जनहरू पनि छन्‌ जो जिजेबेलको प्रभावमा परेका छैनन्‌। यस्तैगरी १९१८ भन्दा ४० वर्षअघि र त्यसपश्‍चात मसीहीजगतमा व्याप्त अनैतिकता र भ्रष्टाचारलाई मसीही कहलाउने सबैले नै स्वीकृति दिएका छैनन्‌। मसीहीजगतका थुप्रै धर्मशिक्षाहरूको मूल गैरमसीही हो भनेर तत्कालीन बाइबल स्टुडेन्ट्‌स अर्थात्‌ वर्तमान यहोवाका साक्षीहरूले गिर्जाका सदस्यहरूलाई बुझ्न मदत दिने कोशिश गरे। धर्मत्यागी मसीहीजगतबाट प्राप्त समस्त बेबिलोनी विश्‍वास र रीतिथितिहरूलाई पनि ती साक्षीहरूले आफ्नो बीचबाट हटाउने कदम चाले। उपरोक्‍त धर्मविधिहरूमा “ती स्त्री जिजेबेलको” भ्रष्ट शिक्षा पनि समावेश छ।

१६. येशू र प्रथम शताब्दीको परिचालक निकायले अरू कुनै बोझ नथपे तापनि कुन कुराहरूबाट चाहिं हामी अलग्ग बस्नु पर्छ?

१६ यूहन्‍नावर्गकाहरूले पनि आफ्ना सङ्‌गीहरू अर्थात्‌ ठूलो भीडकाहरूलाई अनैतिक कुप्रभावहरूबाट अलग्ग बस्ने चेताउनी दिएका छन्‌। यस्तो एउटा कुप्रभाव चाहिं भ्रष्ट मनोरञ्जनको संसारबाट आउँछ। कुन कुन कुराबाट अलग्ग रहनु पर्ने हो सो सिक्ने अथवा नचाहिंदो सकसक लागेर भ्रष्ट कामकुरा हेर्ने वा अनुभव गर्ने कुनै खाँचो छैन। “शैतानका गहिरा, गहिरा कुराहरू”-बाट टाढा बस्नु नै बुद्धिमानीको मार्ग हो। किनकि येशूले पनि “म तिमीहरूमाथि अरू कुनै बोझ पार्दिनँ” भन्‍नु भएको छ। यहाँ हामीलाई प्रथम शताब्दीको मसीही परिचालक निकायले दिएको यो निर्देशनको स्मरण हुन्छ: “किनभने यी जरुरतका कुराहरू बाहेक अरू बढ़ता बोझ तपाईंहरूलाई नबोकाउनमानै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। तपाईंहरू मूर्तिहरूलाई बलि चढाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्‌, जुन कुराहरूबाट अलग रहनुभयो भने बढिया हुनेछ।” (प्रेरित १५:२८, २९) आध्यात्मिक सम्पन्‍नताका लागि झूटो धर्म, रगतको दुरुपयोग (जस्तो कि रक्‍तक्षेपण गर्दा गरिन्छ) र अनैतिकताबाट अलग रहनु होस्‌! यसो गर्नु भयो भने सम्भवतः तपाईंको शारीरिक स्वास्थ्यको पनि बचाव हुनेछ।

१७. (क) शैतानले आज मानिसहरूलाई त्यसका “गहिरा गहिरा कुराहरू” द्वारा लोभ्याउने कोशिश कसरी गरेको छ? (ख) शैतानको सभ्य भनौंदो संसारका “गहिरा गहिरा कुराहरू” प्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

१७ आज शैतानका अरू पनि “गहिरा” कुराहरू छन्‌। उदाहरणका लागि, मानिसको बौद्धिकतालाई फुर्काउने जटिल परिकल्पनाहरू र दर्शनहरू। यी कुराहरूमा छाडा तथा अनैतिक सोचाइबाहेक प्रेतवाद र विकासवाद पनि समाविष्ट छन्‌। तर यी “गहिरा” कुराहरू सर्वज्ञानी सृष्टिकर्ताको विचारमा कस्ता छन्‌? उहाँको विचारलाई प्रेरित पावलले यसप्रकार उद्धृत गर्छन्‌: “म ज्ञानीहरूको ज्ञानलाई नाश पार्नेछु।” शैतानका “गहिरा” कुराहरूको ठीक विपरीत “परमेश्‍वरका गहिरा गहिरा कुराहरू” चाहिं सरल, स्पष्ट र हृदयग्राही हुन्छन्‌। बुद्धिमान मसीहीहरूले शैतानको सभ्य भनौंदो संसारका “गहिरा” कुराहरूलाई तिरस्कार गर्छन्‌। किनभने “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ कोरिन्थी १:१९; किङ्‌गडम इन्टरलियर; २:१०; १ यूहन्‍ना २:१७.

१८. अन्तसम्मै विश्‍वासी रहने अभिषिक्‍त मसीहीहरूलाई येशूले के कस्ता आशिषहरू दिने प्रतिज्ञा गर्नु भयो र ती पुनरुत्थान प्राप्त व्यक्‍तिहरूले आरमागेडोनमा के गर्ने विशेषाधिकार पाउनेछन्‌?

१८ थिआटायराका ती मसीहीहरूलाई येशूले अब केही हृदयग्राही कुराहरू भन्‍नुहुन्छ। ती कुराहरू आजका अभिषिक्‍त मसीहीहरूका लागि पनि प्रोत्साहनदायी छन्‌। “औ जसले जित्छ, र मेरा कामहरूलाई आखिरसम्म कायम राख्छ, त्यसलाई म जाति जातिमाथि अख्तियार दिनेछु। र त्यसले फलामको डण्डाले कुमालेका भाँड़ाहरू टुक्रा टुक्रा पारेर फोरेझैं तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट पाएको छु।” ( प्रकाश २:२६, २७) यो वास्तवमा कति महान विशेषाधिकार हो! आफ्नो पुनरुत्थानपछि यी अभिषिक्‍त विजेताहरूले आरमागेडोनमा विद्रोही राष्ट्रहरूको विरुद्ध येशूसित “फलामको डण्डा” चलाउने अख्तियार पाउने छन्‌। ख्रीष्टले उहाँका दुश्‍मनहरूलाई माटाका भाँडालाई जस्तै टुक्रा-टुक्रा पार्नु हुँदा ती राष्ट्रहरूको आणविक शक्‍ति ज्यादा से ज्यादा एउटा भिजेको पटका जस्तो मात्र हुनेछ।—भजनसंग्रह २:८, ९; प्रकाश १६:१४, १६; १९:११-१३, १५.

१९. (क) “बिहानको तारा” को हुनुहुन्छ र विजेताहरूले उहाँलाई कुन अर्थमा पाउनेछन्‌? (ख) ठूलो भीडलाई के प्रोत्साहन दिइएको छ?

१९ येशू फेरि यसो पनि भन्‍नुहुन्छ: “औ म त्यसलाई बिहानको तारा दिनेछु।” ( प्रकाश २:२८) यो “तारा” के हो, सो येशू स्वयं नै यसो भन्दै वर्णन गर्नुहुन्छ: “म दाऊदको जरा र सन्तान, बिहानको चहकिलो तारा हुँ।” (प्रकाश २२:१६) हो, अनिच्छुक बालामद्वारा यहोवाले जबरजस्ती बोल्न लाउनु भएको निम्नलिखित भविष्यवाणी येशूले नै पूरा गर्नु हुनेछ: “याकूबबाट एउटा तारा उदय हुनेछ, र इस्राएलबाट एउटा राजदण्ड उठ्‌नेछ।” (गन्ती २४:१७) येशूले विजेताहरूलाई “बिहानको तारा” कसरी दिनु हुनेछ? उहाँले तिनीहरूसित सबैभन्दा नजिकको, सबैभन्दा घनिष्ठ सम्बन्ध कायम राख्नु हुनेछ। यसप्रकार उहाँले स्वयंलाई तिनीहरूको हातमा सुम्पनु भए झैं हुनेछ। (यूहन्‍ना १४:२, ३) यसले धैर्य धारण गर्ने कति ठूलो प्रेरणा दिन्छ! साथै, यो उज्यालो “बिहानको ताराले” पृथ्वीमा प्रमोदवन स्थापित गर्न चाँडै आफ्नो राज्याख्तियार चलाउनेछ भन्‍ने कुरा ठूलो भीडका लागि पनि निकै नै उत्साहवर्धक छ!

निष्ठा कायम राख्नुहोस्‌

२०. मसीहीजगतमा घटेका कुन कुन घटनाहरूले हामीलाई थिआटायराको मण्डलीका केही कमजोरीहरूको सम्झना गराउँछ?

२० उक्‍त सन्देशले थिआटायराका मसीहीहरूलाई धेरै नै प्रोत्साहन दिएको हुनुपर्छ। एसो कल्पना गर्नुहोस्‌! स्वर्गबाट परमेश्‍वरको महिमावान पुत्रले थिआटायराका मसीहीहरूसित तिनीहरूका केही समस्याहरूबारे व्यक्‍तिगत रूपमा कुरा गर्नु भयो! यसप्रकारको मायालु हेरचाहप्रति मण्डलीका केही जनहरूले निश्‍चय पनि राम्रो प्रतिक्रिया देखाए होलान्‌। सात वटा सन्देशहरूमध्ये यो सबैभन्दा लामो सन्देश थियो र यसले हामीलाई आज साँचो मसीही मण्डली चिन्‍ने मदत पनि दिन्छ। येशू १९१८ मा यहोवाको मन्दिरलाई न्याय गर्न आउनु हुँदा मसीही भनौंदाहरूका अधिकांश सङ्‌गठनहरू मूर्तिपूजा र आत्मिक अनैतिकतामा बिटुलिएका थिए। (याकूब ४:४) तिनीहरूमध्ये कुनै कुनैको विश्‍वास त १९ औं शताब्दीमा देखा परेका कडा स्वभाव हुने केही महिलाहरूका शिक्षाहरूमा आधारित थियो। उदाहरणका लागि, सेवेन्थ डे एडवेन्टिस्टहरूकी एलेन ह्वाइट र क्रिश्‍चियन सायन्टिस्टहरूकी मेरी बेकर एडी। यसबाहेक हालै थुप्रै महिलाहरूले मञ्चबाट धार्मिक शिक्षा पनि दिने गरेका छन्‌। (१ तिमोथी २:११, १२ पनि तुलना गर्नुहोस्‌) क्याथोलिक धर्मका कुनै कुनै सम्प्रदायहरूमा चाहिं परमेश्‍वर र येशूलाई भन्दा मरियमलाई बढी श्रद्धा दिने गरिन्छ। तर येशूले त मरियमलाई यसप्रकारको श्रद्धा दिनु भएन। (यूहन्‍ना २:४; १९:२६) यस्तो अनुचित महिला प्रभावलाई मान्यता दिने सङ्‌गठनहरूलाई वास्तवमा मसीही भन्‍न मिल्छ र?

२१. येशूले थिआटायरालाई दिनु भएको सन्देशबाट विभिन्‍न व्यक्‍तिहरूले के शिक्षा लिन सक्छन्‌?

२१ यूहन्‍नावर्गका हुन्‌ वा ठूलो भीडका, सबै मसीहीहरूले यस सन्देशलाई व्यक्‍तिगत ध्यान दिएमा बेस हुनेछ। (यूहन्‍ना १०:१६) सम्भवतः कसै कसैले सजिलो बाटो पछ्याउन रुचाउलान्‌। जस्तो कि थिआटायराकी जिजेबेलका चेलाहरूले रुचाएका थिए। अर्कोतिर सम्झौता गर्ने प्रलोभन पनि आउन सक्छ। रगतद्वारा बनिएका खानेकुरा खाने-नखाने अथवा रक्‍तक्षेपण स्वीकार गर्ने-नगर्ने फैसला पनि गर्न आवश्‍यक पर्न सक्छ। कसै कसैले चाहिं क्षेत्र सेवकाईमा जोशिला भए अथवा भाषणहरू दिने गरे भने हिंसात्मक र अनैतिक सिनेमाहरू तथा भिडिओ टेपहरू हेर्ने वा अलिक ज्यादै मद्यपान गर्ने छुट पनि उनीहरूलाई मिल्छ भनी सोच्ने गर्छन्‌। तर त्यो गलत हो भनेर थिआटायराका मसीहीहरूलाई येशूले दिनु भएको चेताउनीबाट हामी सिक्छौं। थिआटायराका थुप्रै मसीहीहरू जस्तै हामी पनि सफा, एकाग्रचित्त र एकताबद्ध भएको यहोवा चाहनु हुन्छ।

२२. ध्यानपूर्वक सुन्‍ने कान हुनु कतिको महत्त्वपूर्ण छ भनी येशूले कसरी जोड दिनुहुन्छ?

२२ अन्तमा येशू यो घोषणा गर्नुहुन्छ: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।” ( प्रकाश २:२९) यो उत्साहवर्धक आह्वान येशूले यहाँ चौथो पटक गर्नुहुन्छ। उहाँले आफ्नो आउँदो तीनवटा सन्देशहरूलाई पनि यही आह्वानसाथ टुङ्‌ग्‌याउनु हुन्छ। के तपाईंको कानले पनि ध्यान दिएर सुन्‍ने गर्छ? सुन्‍ने गर्छ भने ध्यानपूर्वक सुनिरहनु होस्‌। परमेश्‍वरले उहाँको आत्मा र माध्यमद्वारा अझ उपदेशहरू दिनु हुनेछ।

[फुटनोट]

a उदाहरणका लागि, नोभेम्बर १, २००३ अंकको प्रहरीधरहरा-मा “विश्‍वासी मसीही स्त्रीहरू—परमेश्‍वरका बहुमूल्य उपासकहरू” शीर्षक भएको लेख हेर्नुहोस्‌।

[पृष्ठ ५१-मा भएको चित्र]

विनम्रतासाथ ईश्‍वरतान्त्रिक अख्तियारलाई समर्थन गर्दै आज विश्‍वासी बहिनीहरूले नै धेरैजसो साक्षी दिने काम गरिरहेका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने