प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “शैतानको विषयका गहिरा गहिरा कुराहरू”-का लागि घृणा
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १५. (क) जिजेबेलको कुप्रभावमा नलागेकाहरूलाई येशूले के भन्‍नुहुन्छ? (ख) सन्‌ १९१८ मा मसीही हुने दाबी गर्ने सबैलाई नै धर्मत्यागी मसीहीजगतले भ्रष्ट पार्न सकेको थिएन भनी हामी कसरी भन्‍न सक्छौं?

      १५ येशूले अब भन्‍नु हुने कुराले सान्त्वना दिन्छ। “तर तिमी थिआटायरामा भएका अरू बाँकीलाई, जस जसले यो शिक्षा ग्रहण गरेका छैनन्‌, तिनीहरूलाई म भन्दछु, म तिमीहरूमाथि अरू कुनै बोझ पार्दिनँ। त्यसो भए तापनि, जो तिमीहरूसँग छ, म नफर्कुञ्जेल त्यसलाई थामिराख।” ( प्रकाश २:२४, २५) थिआटायरामा विश्‍वासी जनहरू पनि छन्‌ जो जिजेबेलको प्रभावमा परेका छैनन्‌। यस्तैगरी १९१८ भन्दा ४० वर्षअघि र त्यसपश्‍चात मसीहीजगतमा व्याप्त अनैतिकता र भ्रष्टाचारलाई मसीही कहलाउने सबैले नै स्वीकृति दिएका छैनन्‌। मसीहीजगतका थुप्रै धर्मशिक्षाहरूको मूल गैरमसीही हो भनेर तत्कालीन बाइबल स्टुडेन्ट्‌स अर्थात्‌ वर्तमान यहोवाका साक्षीहरूले गिर्जाका सदस्यहरूलाई बुझ्न मदत दिने कोशिश गरे। धर्मत्यागी मसीहीजगतबाट प्राप्त समस्त बेबिलोनी विश्‍वास र रीतिथितिहरूलाई पनि ती साक्षीहरूले आफ्नो बीचबाट हटाउने कदम चाले। उपरोक्‍त धर्मविधिहरूमा “ती स्त्री जिजेबेलको” भ्रष्ट शिक्षा पनि समावेश छ।

      १६. येशू र प्रथम शताब्दीको परिचालक निकायले अरू कुनै बोझ नथपे तापनि कुन कुराहरूबाट चाहिं हामी अलग्ग बस्नु पर्छ?

      १६ यूहन्‍नावर्गकाहरूले पनि आफ्ना सङ्‌गीहरू अर्थात्‌ ठूलो भीडकाहरूलाई अनैतिक कुप्रभावहरूबाट अलग्ग बस्ने चेताउनी दिएका छन्‌। यस्तो एउटा कुप्रभाव चाहिं भ्रष्ट मनोरञ्जनको संसारबाट आउँछ। कुन कुन कुराबाट अलग्ग रहनु पर्ने हो सो सिक्ने अथवा नचाहिंदो सकसक लागेर भ्रष्ट कामकुरा हेर्ने वा अनुभव गर्ने कुनै खाँचो छैन। “शैतानका गहिरा, गहिरा कुराहरू”-बाट टाढा बस्नु नै बुद्धिमानीको मार्ग हो। किनकि येशूले पनि “म तिमीहरूमाथि अरू कुनै बोझ पार्दिनँ” भन्‍नु भएको छ। यहाँ हामीलाई प्रथम शताब्दीको मसीही परिचालक निकायले दिएको यो निर्देशनको स्मरण हुन्छ: “किनभने यी जरुरतका कुराहरू बाहेक अरू बढ़ता बोझ तपाईंहरूलाई नबोकाउनमानै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। तपाईंहरू मूर्तिहरूलाई बलि चढाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्‌, जुन कुराहरूबाट अलग रहनुभयो भने बढिया हुनेछ।” (प्रेरित १५:२८, २९) आध्यात्मिक सम्पन्‍नताका लागि झूटो धर्म, रगतको दुरुपयोग (जस्तो कि रक्‍तक्षेपण गर्दा गरिन्छ) र अनैतिकताबाट अलग रहनु होस्‌! यसो गर्नु भयो भने सम्भवतः तपाईंको शारीरिक स्वास्थ्यको पनि बचाव हुनेछ।

      १७. (क) शैतानले आज मानिसहरूलाई त्यसका “गहिरा गहिरा कुराहरू” द्वारा लोभ्याउने कोशिश कसरी गरेको छ? (ख) शैतानको सभ्य भनौंदो संसारका “गहिरा गहिरा कुराहरू” प्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

      १७ आज शैतानका अरू पनि “गहिरा” कुराहरू छन्‌। उदाहरणका लागि, मानिसको बौद्धिकतालाई फुर्काउने जटिल परिकल्पनाहरू र दर्शनहरू। यी कुराहरूमा छाडा तथा अनैतिक सोचाइबाहेक प्रेतवाद र विकासवाद पनि समाविष्ट छन्‌। तर यी “गहिरा” कुराहरू सर्वज्ञानी सृष्टिकर्ताको विचारमा कस्ता छन्‌? उहाँको विचारलाई प्रेरित पावलले यसप्रकार उद्धृत गर्छन्‌: “म ज्ञानीहरूको ज्ञानलाई नाश पार्नेछु।” शैतानका “गहिरा” कुराहरूको ठीक विपरीत “परमेश्‍वरका गहिरा गहिरा कुराहरू” चाहिं सरल, स्पष्ट र हृदयग्राही हुन्छन्‌। बुद्धिमान मसीहीहरूले शैतानको सभ्य भनौंदो संसारका “गहिरा” कुराहरूलाई तिरस्कार गर्छन्‌। किनभने “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ कोरिन्थी १:१९; किङ्‌गडम इन्टरलियर; २:१०; १ यूहन्‍ना २:१७.

      १८. अन्तसम्मै विश्‍वासी रहने अभिषिक्‍त मसीहीहरूलाई येशूले के कस्ता आशिषहरू दिने प्रतिज्ञा गर्नु भयो र ती पुनरुत्थान प्राप्त व्यक्‍तिहरूले आरमागेडोनमा के गर्ने विशेषाधिकार पाउनेछन्‌?

      १८ थिआटायराका ती मसीहीहरूलाई येशूले अब केही हृदयग्राही कुराहरू भन्‍नुहुन्छ। ती कुराहरू आजका अभिषिक्‍त मसीहीहरूका लागि पनि प्रोत्साहनदायी छन्‌। “औ जसले जित्छ, र मेरा कामहरूलाई आखिरसम्म कायम राख्छ, त्यसलाई म जाति जातिमाथि अख्तियार दिनेछु। र त्यसले फलामको डण्डाले कुमालेका भाँड़ाहरू टुक्रा टुक्रा पारेर फोरेझैं तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट पाएको छु।” ( प्रकाश २:२६, २७) यो वास्तवमा कति महान विशेषाधिकार हो! आफ्नो पुनरुत्थानपछि यी अभिषिक्‍त विजेताहरूले आरमागेडोनमा विद्रोही राष्ट्रहरूको विरुद्ध येशूसित “फलामको डण्डा” चलाउने अख्तियार पाउने छन्‌। ख्रीष्टले उहाँका दुश्‍मनहरूलाई माटाका भाँडालाई जस्तै टुक्रा-टुक्रा पार्नु हुँदा ती राष्ट्रहरूको आणविक शक्‍ति ज्यादा से ज्यादा एउटा भिजेको पटका जस्तो मात्र हुनेछ।—भजनसंग्रह २:८, ९; प्रकाश १६:१४, १६; १९:११-१३, १५.

      १९. (क) “बिहानको तारा” को हुनुहुन्छ र विजेताहरूले उहाँलाई कुन अर्थमा पाउनेछन्‌? (ख) ठूलो भीडलाई के प्रोत्साहन दिइएको छ?

      १९ येशू फेरि यसो पनि भन्‍नुहुन्छ: “औ म त्यसलाई बिहानको तारा दिनेछु।” ( प्रकाश २:२८) यो “तारा” के हो, सो येशू स्वयं नै यसो भन्दै वर्णन गर्नुहुन्छ: “म दाऊदको जरा र सन्तान, बिहानको चहकिलो तारा हुँ।” (प्रकाश २२:१६) हो, अनिच्छुक बालामद्वारा यहोवाले जबरजस्ती बोल्न लाउनु भएको निम्नलिखित भविष्यवाणी येशूले नै पूरा गर्नु हुनेछ: “याकूबबाट एउटा तारा उदय हुनेछ, र इस्राएलबाट एउटा राजदण्ड उठ्‌नेछ।” (गन्ती २४:१७) येशूले विजेताहरूलाई “बिहानको तारा” कसरी दिनु हुनेछ? उहाँले तिनीहरूसित सबैभन्दा नजिकको, सबैभन्दा घनिष्ठ सम्बन्ध कायम राख्नु हुनेछ। यसप्रकार उहाँले स्वयंलाई तिनीहरूको हातमा सुम्पनु भए झैं हुनेछ। (यूहन्‍ना १४:२, ३) यसले धैर्य धारण गर्ने कति ठूलो प्रेरणा दिन्छ! साथै, यो उज्यालो “बिहानको ताराले” पृथ्वीमा प्रमोदवन स्थापित गर्न चाँडै आफ्नो राज्याख्तियार चलाउनेछ भन्‍ने कुरा ठूलो भीडका लागि पनि निकै नै उत्साहवर्धक छ!

      निष्ठा कायम राख्नुहोस्‌

      २०. मसीहीजगतमा घटेका कुन कुन घटनाहरूले हामीलाई थिआटायराको मण्डलीका केही कमजोरीहरूको सम्झना गराउँछ?

      २० उक्‍त सन्देशले थिआटायराका मसीहीहरूलाई धेरै नै प्रोत्साहन दिएको हुनुपर्छ। एसो कल्पना गर्नुहोस्‌! स्वर्गबाट परमेश्‍वरको महिमावान पुत्रले थिआटायराका मसीहीहरूसित तिनीहरूका केही समस्याहरूबारे व्यक्‍तिगत रूपमा कुरा गर्नु भयो! यसप्रकारको मायालु हेरचाहप्रति मण्डलीका केही जनहरूले निश्‍चय पनि राम्रो प्रतिक्रिया देखाए होलान्‌। सात वटा सन्देशहरूमध्ये यो सबैभन्दा लामो सन्देश थियो र यसले हामीलाई आज साँचो मसीही मण्डली चिन्‍ने मदत पनि दिन्छ। येशू १९१८ मा यहोवाको मन्दिरलाई न्याय गर्न आउनु हुँदा मसीही भनौंदाहरूका अधिकांश सङ्‌गठनहरू मूर्तिपूजा र आत्मिक अनैतिकतामा बिटुलिएका थिए। (याकूब ४:४) तिनीहरूमध्ये कुनै कुनैको विश्‍वास त १९ औं शताब्दीमा देखा परेका कडा स्वभाव हुने केही महिलाहरूका शिक्षाहरूमा आधारित थियो। उदाहरणका लागि, सेवेन्थ डे एडवेन्टिस्टहरूकी एलेन ह्वाइट र क्रिश्‍चियन सायन्टिस्टहरूकी मेरी बेकर एडी। यसबाहेक हालै थुप्रै महिलाहरूले मञ्चबाट धार्मिक शिक्षा पनि दिने गरेका छन्‌। (१ तिमोथी २:११, १२ पनि तुलना गर्नुहोस्‌) क्याथोलिक धर्मका कुनै कुनै सम्प्रदायहरूमा चाहिं परमेश्‍वर र येशूलाई भन्दा मरियमलाई बढी श्रद्धा दिने गरिन्छ। तर येशूले त मरियमलाई यसप्रकारको श्रद्धा दिनु भएन। (यूहन्‍ना २:४; १९:२६) यस्तो अनुचित महिला प्रभावलाई मान्यता दिने सङ्‌गठनहरूलाई वास्तवमा मसीही भन्‍न मिल्छ र?

      २१. येशूले थिआटायरालाई दिनु भएको सन्देशबाट विभिन्‍न व्यक्‍तिहरूले के शिक्षा लिन सक्छन्‌?

      २१ यूहन्‍नावर्गका हुन्‌ वा ठूलो भीडका, सबै मसीहीहरूले यस सन्देशलाई व्यक्‍तिगत ध्यान दिएमा बेस हुनेछ। (यूहन्‍ना १०:१६) सम्भवतः कसै कसैले सजिलो बाटो पछ्याउन रुचाउलान्‌। जस्तो कि थिआटायराकी जिजेबेलका चेलाहरूले रुचाएका थिए। अर्कोतिर सम्झौता गर्ने प्रलोभन पनि आउन सक्छ। रगतद्वारा बनिएका खानेकुरा खाने-नखाने अथवा रक्‍तक्षेपण स्वीकार गर्ने-नगर्ने फैसला पनि गर्न आवश्‍यक पर्न सक्छ। कसै कसैले चाहिं क्षेत्र सेवकाईमा जोशिला भए अथवा भाषणहरू दिने गरे भने हिंसात्मक र अनैतिक सिनेमाहरू तथा भिडिओ टेपहरू हेर्ने वा अलिक ज्यादै मद्यपान गर्ने छुट पनि उनीहरूलाई मिल्छ भनी सोच्ने गर्छन्‌। तर त्यो गलत हो भनेर थिआटायराका मसीहीहरूलाई येशूले दिनु भएको चेताउनीबाट हामी सिक्छौं। थिआटायराका थुप्रै मसीहीहरू जस्तै हामी पनि सफा, एकाग्रचित्त र एकताबद्ध भएको यहोवा चाहनु हुन्छ।

      २२. ध्यानपूर्वक सुन्‍ने कान हुनु कतिको महत्त्वपूर्ण छ भनी येशूले कसरी जोड दिनुहुन्छ?

      २२ अन्तमा येशू यो घोषणा गर्नुहुन्छ: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।” ( प्रकाश २:२९) यो उत्साहवर्धक आह्वान येशूले यहाँ चौथो पटक गर्नुहुन्छ। उहाँले आफ्नो आउँदो तीनवटा सन्देशहरूलाई पनि यही आह्वानसाथ टुङ्‌ग्‌याउनु हुन्छ। के तपाईंको कानले पनि ध्यान दिएर सुन्‍ने गर्छ? सुन्‍ने गर्छ भने ध्यानपूर्वक सुनिरहनु होस्‌। परमेश्‍वरले उहाँको आत्मा र माध्यमद्वारा अझ उपदेशहरू दिनु हुनेछ।

  • के तपाईंको नाउँ जीवनको पुस्तकमा छ?
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. सार्डिसको मण्डलीको आध्यात्मिक स्थिति कस्तो छ र येशूले आफ्नो सन्देश कसरी सुरु गर्नुहुन्छ?

      महिमावान येशूको अब अर्को सन्देश सार्डिसको मण्डलीका लागि हो। यो ठाउँ आधुनिक अखिसार (थिआटायरा) देखि करीब ३० माइल दक्षिणतिर छ। छैटौं शताब्दी सा.यु.पू. मा यो शहर प्राचीन राज्य लिडियाको भव्य राजधानी थियो। अति नै धनवान राजा क्रिसस्‌को राजगद्दी पनि त्यहीं नै थियो। तर यूहन्‍नाको समयसम्म त त्यस शहरले धेरै नै आपद्‌विपद्‌ भोगिसकेको थियो। क्रिसस्‌कालीन रौनक ढलेर इतिहास भइसकेको थियो। यस्तैप्रकार त्यहाँको मसीही मण्डलीलाई पनि आध्यात्मिक गरीबीले छोपेको थियो। अतः येशूले यहाँ प्रथम पटक आफ्नो सन्देश प्रशंसासहित सुरु गर्नुहुन्‍न। उहाँ यसो भन्‍नुहुन्छ: “सार्डिसमा भएको मण्डलीका दूतलाई लेख। यी कुरा परमेश्‍वरका सात आत्मा, र सात तारा हुनेले भन्छ, तिम्रो काम मलाई थाह छ। तिमी जीवित छौ भन्‍ने नाउँ ता छ, तर मरेका छौ।”—प्रकाश ३:१.

      २. (क) येशूसित “सात आत्मा” हुनु सार्डिसका मसीहीहरूका लागि के अर्थ राख्तछ? (ख) बाहिरबाट सार्डिसको मण्डलीको कस्तो नाउँ चलेको थियो तर वास्तवमा त्यहाँ के भइरहेछ?

      २ येशूले आफूलाई “सात आत्मा” हुने व्यक्‍ति भनेर किन चिनाउनु हुन्छ? किनभने यी आत्माहरूले पूर्णतासाथ बग्ने यहोवाको पवित्र आत्मालाई प्रतिनिधित्व गर्छन्‌। पछिबाट यूहन्‍नाले ती सात आत्माहरूलाई “सातवटा आँखा” पनि भनेका छन्‌। किनभने परमेश्‍वरको पवित्र आत्माले येशूलाई तीब्र दृष्टि प्रदान गर्छ। (प्रकाश ५:६) यसले गर्दा येशूले कुनै पनि लुकेको स्थितिलाई बुझ्न र त्यसको समाधान गर्न सक्नुहुन्छ। (मत्ती १०:२६; १ कोरिन्थी ४:५) बाहिरबाट हेर्दा त सार्डिसको मण्डली जीवित र सक्रिय देखिन्छ। तर आत्मिक तवरमा त्यो मरिसकेको येशू देख्नुहुन्छ। स्पष्टतः त्यसका धेरैजसो सदस्यहरू मसीही हुनभन्दा अघि जस्तै सुस्त भएका छन्‌।—एफिसी २:१-३; हिब्रू ५:११-१४ तुलना गर्नुहोस्‌।

      ३. (क) येशूसित “सात तारा” छन्‌ भन्‍ने कुरालाई “सार्डिसको मण्डलीका दूतले” विशेष ध्यान किन दिनुपर्छ? (ख) येशूले सार्डिसको मण्डलीलाई के कडा सल्लाह दिनुहुन्छ?

      ३ “सात तारा” हुने पनि उहाँ नै हुनुहुन्छ भनेर येशूले “सार्डिसमा भएको मण्डलीका दूतलाई” सम्झना गराउनु हुन्छ। मण्डलीका ती प्राचीनहरू उहाँकै दाहिने हातमा छन्‌। तिनीहरूले मण्डलीको रेखदेख गर्दा तिनीहरूलाई निर्देशन दिने अधिकार उहाँसितै छ। तिनीहरूले मन लगाएर ‘आफ्ना बगाललाई राम्ररी चिन्‍ने’ प्रयास गर्नुपर्छ। (हितोपदेश २७:२३) तसर्थ येशूले अब के भन्‍नुहुन्छ, तिनीहरूले विशेष ध्यान दिएर सुन्‍नुपर्छ। “तिमी जागा रहने गर, र मर्नै लागेका तर बाँकी रहेका कुराहरूलाई पक्का गर। किनकि मैले तिम्रो कुनै काम पनि मेरा परमेश्‍वरको सामने पूरा भएको भेट्टाएको छैनँ। यसकारण तिमीले कसरी यो पायौ र सुन्यौ सो सम्झ। त्यसलाई पालन गर, पश्‍चाताप गर। यसकारण यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै गरी आउनेछु, र म कुन घड़ी तिमीकहाँ आउनेछु, सो तिमीले थाह पाउनेछैनौ।”—प्रकाश ३:२, ३.

      ४. पत्रुसका शब्दहरूले सार्डिसको मण्डलीलाई “बाँकी रहेको कुरालाई पक्का” गर्ने मदत कसरी दिने थियो?

      ४ सच्चाइ सिक्दा सुरु-सुरुमा अनुभव गरिएको आनन्द र आशिषलाई सार्डिसका प्राचीनहरूले सम्झनु परेको छ। किनकि अहिले तिनीहरू आफ्नो आध्यात्मिक गतिविधिबारे मरेतुल्य छन्‌। विश्‍वासका कामहरूको अभावले गर्दा तिनीहरूको मण्डलीको दियो धिपधिपाइ रहेकोछ। यूहन्‍नाको दर्शनका सातवटा आत्माहरू अर्थात्‌ “स्वर्गबाट पठाइनु भएको पवित्र आत्मा” द्वारा घोषित महिमावान सुसमाचारलाई मसीहीहरूले स्वीकारेका थिए। तर त्यस सुसमाचारप्रति मूल्याङ्‌कन बढाउनु पर्छ भनेर वर्षौंअघि प्रेरित पत्रुसले एसियाका मण्डलीहरूलाई (सम्भवतः यसमा सार्डिस पनि समावेश थियो) लेखेका थिए। यसबाहेक एसियाका ती मसीहीहरू ‘चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा थिए। तिनीहरूलाई अन्धकारबाट गजबको ज्योतिमा . . . बोलाउनेको सर्वश्रेष्ठता’ घोषित गर्न आवश्‍यक थियो। यी कुराहरू पनि पत्रुसले तिनीहरूलाई सम्झिराख्न लगाए। (१ पत्रुस १:१२, २५; २:९) यस्तै आध्यात्मिक सच्चाइहरूमाथि मनन गर्नाले सार्डिसको मण्डलीलाई पश्‍चाताप गर्ने र “बाँकी रहेका कुराहरू पक्का” गर्ने मदत मिल्ने थियो।—२ पत्रुस ३:९ तुलना गर्नुहोस्‌।

      ५. (क) सार्डिसका मसीहीहरूमा मूल्याङ्‌कनको भावलाई के भएको थियो? (ख) सार्डिसका मसीहीहरूले येशूको सल्लाह नमानेमा के हुनेछ?

      ५ तर हाल सच्चाइप्रति तिनीहरूको प्रेम र मूल्याङ्‌कन निभ्नै लागेको आगो जस्तै भएको छ। झल्याकझुलुक आगोका एकाध झिल्काहरू मात्र देखिन्छन्‌। यसकारण येशूले तिनीहरूलाई यी झिल्काहरू हम्काउने, आगोलाई पुनःदन्काउने, आफ्नो लापरवाहीको कारण गरिएका पापहरूको पश्‍चाताप गर्ने र फेरि आध्यात्मिक तवरमा जीवित र सक्रिय मण्डली हुने प्रोत्साहन दिनुहुन्छ। (२ तिमोथी १:६, ७ सङ्‌ग तुलना गर्नुहोस्‌।) नत्रभने येशू न्याय कार्यान्वयन गर्न एक्कासि “चोरझैं” आउनु हुँदा सार्डिसको मण्डली उहाँको सामने उभिन तयार हुनेछैन।—मत्ती २४:४३, ४४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने