प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको स्वर्गीय सिंहासनको भव्यता
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २३. चार जीवित जीवातहरू “आँखाहरूले भरिएको” हुनुको अर्थ के हो र तिनीहरूको तीन तीन जोडा पखेटाले कुन कुरामाथि जोड दिन्छ?

      २३ यूहन्‍नाले आफ्नो वृत्तान्त कायम राख्दै यसो भन्छन्‌: “औ ती चारवटा जीवातहरूका छ छवटा पखेटा भएका वरिपरि र भित्रपट्टिसमेत जम्मै आँखाहरूले भरिएका थिए, र तिनीहरूलाई रातदिन ‘पवित्र, पवित्र, पवित्र, प्रभु परमेश्‍वर सर्वशक्‍तिमान हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ’ यसो भन्‍ना बाहेक फुर्सतै थिएन।” (प्रकाश ४:८) आँखाहरूको यो पूर्णताले दूरदर्शी दृष्टिलाई बोध गराउँछ। चार जीवित जीवातहरूले निरन्तर यस क्षमताको प्रयोग गर्छन्‌ किनकि तिनीहरूलाई निद्राको खाँचो पर्दैन। तिनीहरूले उहाँको अनुकरण गर्छन्‌ जसबारे यो लेखिएको छ: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) यतिका थुप्रै आँखाहरू भएको हुनाकारण ती करूबहरूले सबै ठाउँ हेर्न सक्छन्‌। कुनै कुरा पनि तिनीहरूबाट लुक्न सक्‍तैन। यसप्रकार तिनीहरू परमेश्‍वरका न्यायिक कार्यहरूमा सेवा गर्न तमतयार छन्‌। उहाँबारे यसो भनिएको छ: “परमप्रभुको नजर दुष्ट र असल दुवैलाई हेर्दै सर्वत्र रहन्छ।” (हितोपदेश १५:३) यसबाहेक, कुनै कुरामाथि जोड दिंदा बाइबलमा अङ्‌क तीनको प्रयोग गरिन्छ। अतः तीन जोडा पखेटाहरू हुनुको अर्थ ती करूबहरू बिजुलीको वेगसित एक ठाउँदेखि अर्को ठाउँ यहोवाको न्यायको घोषणा र कार्यान्वयन गर्न जान सक्छन्‌।

      २४. करूबहरूले यहोवाको जयजयकार कसरी गर्छन्‌ र यो पनि कुन कुराको एउटा प्रतीकात्मक व्याख्या हो?

      २४ सुन्‍नुहोस्‌! करूबहरूले गाइरहेका यहोवाको प्रशंसागान कति हृदयग्राही, कति सुमधुर छ: “ ‘पवित्र, पवित्र, पवित्र प्रभु परमेश्‍वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ।’ ” यहाँ फेरि अङ्‌क तीनले भावनाको गहिराइलाई सङ्‌केत गर्दछ। करूबहरूले यहोवा परमेश्‍वरको पवित्रताको बयान हृदयको गहिराइदेखि नै गर्छन्‌। उहाँ नै पवित्रताको स्रोत र सर्वोच्चस्तर हुनुहुन्छ। उहाँ सधैं “अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त” तथा “अनन्तको राजा” पनि हुनुहुन्छ। (१ तिमोथी १:१७; प्रकाश २२:१३) एकछिन पनि नरोकी ती करूबहरूले सारा सृष्टिको सामु यहोवाका अनुपम गुणहरू घोषणा गर्छन्‌।

      २५. यहोवाको उपासना गर्नमा जीवित जीवातहरू र २४ जना प्राचीनहरू कसरी सर्वसम्मत छन्‌?

      २५ यहोवाको जयजयकारले सारा स्वर्ग गुञ्जायमान हुन्छ! यूहन्‍नाले अझ यो व्याख्या गर्छन्‌: “औ जब ती जीवित जीवातहरूले त्यस सिंहासनमा र सदा सर्वदा विराजमान हुनुहुनेलाई महिमा र आदर र धन्यवाद चढाउँछन्‌, तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेका सामने घोप्टो पर्दछन्‌, र सदा सर्वदा जीवित रहनुहुनेलाई दण्डवत्‌ गर्छन्‌, र तिनीहरूका आफ्ना आफ्ना मुकुट सिंहासनको सामने यसो भनेर राख्छन्‌, ‘हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।’ ” (प्रकाश ४:९-११) सम्पूर्ण शास्त्रमा, यहोवा हाम्रो परमेश्‍वर र सर्वसत्ताधारी प्रभुलाई चढाइएको यो सर्वोत्कृष्ट अभिनन्दन हो!

      २६. ती २४ जना प्राचीनहरूले यहोवाको सामु किन आफ्नो मुकुट झिक्छन्‌?

      २६ येशूद्वारा प्रदर्शित मनोवृत्ति यी २४-जना प्राचीनहरूमा पनि छ। तिनीहरूले यहोवाको सामु आफ्नो मुकुट समेत झिक्छन्‌। परमेश्‍वरको सामु ठूलो हुन खोज्ने विचार तिनीहरूको मनमा पटक्कै छैन। तिनीहरूको राजत्वको एकमात्र उद्देश्‍य परमेश्‍वरलाई श्रद्धा र महिमा दिनु हो भनेर तिनीहरूले येशूलेझैं सधैं नै नम्रतापूर्वक स्वीकार्छन्‌। (फिलिप्पी २:५, ६, ९-११) तिनीहरूले अधीनताको भावसाथ आफ्नो तुच्छतालाई ध्यानमा राख्छन्‌। तिनीहरूको शासन यहोवाकै सार्वभौमिकतामाथि आधारित छ भनी तिनीहरू मानी लिन्छन्‌। सबै कुरा सृष्टि गर्नु हुने परमेश्‍वरकै जयजयकार र महिमा गर्नमा तिनीहरू करूबहरू र बाँकी विश्‍वासी सृष्टिसित हृदयबाटै सहमति जनाउँछन्‌।—भजन १५०:१-६.

      २७, २८. (क) यस दर्शनबारे यूहन्‍नाको व्याख्याले हामीमाथि के असर पार्नु पर्ने हो? (ख) यसपछि यूहन्‍नाले देख्ने र सुन्‍ने कुराहरूबारे के प्रश्‍नहरू उठ्‌छन्‌?

      २७ यूहन्‍नाद्वारा वर्णित यो दर्शन पढेर प्रभावित नहुने को होला? यो कति भव्य, कति शानदार छ! तर यसको वास्तविकता झन्‌ कस्तो होला? कृतज्ञ हृदय हुने कोही पनि व्यक्‍ति यहोवाको महानताले अनुप्राणित हुनेछ। उसले चार जीवित जीवातहरू र २४ जना प्राचीनहरूसित मिलेर प्रार्थना र परमेश्‍वरको नाउँको आम घोषणा गर्दै परमेश्‍वरको जयजयकार गर्नेछ। उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसको साक्षी हुने सुअवसर आज मसीहीहरूले पाएका छन्‌। (यशैया ४३:१०) नबिर्सनुहोस्‌, यूहन्‍नाको दर्शन प्रभुको दिनका लागि हो र सोही समयावधिमा आज हामी बाँचिरहेका छौं। हामीलाई निर्देशन र बल दिन “सात आत्माहरू” सधैं नै तयार छन्‌। (गलाती ५:१६-१८) पवित्र परमेश्‍वरको सेवा गर्दा हामीलाई पवित्र हुने मदत दिन परमेश्‍वरको वचन पनि आज उपलब्ध छ। (१ पत्रुस १:१४-१६) भविष्यवाणीका यी शब्दहरूलाई आवाज दिंदै पढ्‌न पाएकोमा हामी निश्‍चय नै आनन्दित छौं। (प्रकाश १:३) यिनीहरूले हामीलाई यहोवाप्रति विश्‍वासी हुने ठूलो प्रेरणा दिन्छ। यिनीहरूले हामीलाई सक्रिय भएर यहोवाको जयजयकार गर्न छाडेर संसारतिर अलमलिन दिंदैन!—१ यूहन्‍ना २:१५-१७.

      २८ स्वर्गमा खुला ढोकाबाट प्रवेश गर्ने निम्तो पाउँदा आफूले देखेका कुराहरूको मात्र यूहन्‍नाले अहिलेसम्म वर्णन गरेका छन्‌। उनले सर्वप्रथम यहोवा आफ्नो स्वर्गीय सिंहासनमा गौरव र वैभवसाथ विराजमान हुनु भएको वर्णन गर्छन्‌। उहाँलाई सबैभन्दा शक्‍तिशाली, भव्य र वफादार सङ्‌गठनले घेरेको छ। ईश्‍वरीय दरवार लागेको छ। (दानिएल ७:९, १०, १८) मानौं कुनै विशेष घटनाका लागि मञ्च तयार छ। तर त्यो घटना के हो र त्यसले आज हामीमाथि के असर पार्छ? दृश्‍य जसै अघि बढ्‌छ, हामी हेर्दै जानेछौं!

  • “त्यो पुस्तक खोल्न सक्ने को छ?”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. यूहन्‍नाको दर्शनमा अब के हुन्छ?

      आगोका बत्तीहरू, करूबहरू, २४ जना प्राचीनहरू र ऐनाजस्तै समुद्रको माझमा यहोवाको सिंहासनको प्रभावकारी दर्शन कति शान्तिप्रद छ! कति भयङ्‌कर! तर यूहन्‍ना, यसपछि तिमी के देख्छौ? त्यस स्वर्गीय दृश्‍यको केन्द्रबिन्दुमै एकटक लाएर हेर्दै यूहन्‍ना यसो भन्छन्‌: “अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा पुस्तक मैंले देखें, त्यसमा सातवटा छापले छाप लाएको थियो। औ एउटा बलवान स्वर्गदूतलाई ठूलो सोरले यसो भनिरहेको मैले देखें, ‘त्यो पुस्तक खोल्न र त्यसका छापहरू फुकाल्नसक्ने को छ?’ औ स्वर्गमा अथवा पृथ्वीमा अथवा पृथ्वीमनि त्यस पुस्तकको छाप खोल्ने अथवा त्यसमा हेर्नसक्ने कोही थिएन। औ कोही पनि त्यो पुस्तक खोल्न अथवा त्यसमा हेर्न योग्यको नपाइएका हुनाले म खूबै रोएँ।”—प्रकाश ५:१-४.

      २, ३. (क) पुस्तक खोल्न सक्ने कुनै न कुनै व्यक्‍ति फेला परोस्‌ भनेर यूहन्‍ना किन उत्सुक छन्‌ तर यो कतिको सम्भाव्य देखिन्छ? (ख) हाम्रो समयमा परमेश्‍वरका अभिषिक्‍त जनहरूले उत्सुकतापूर्वक कुन कुराको प्रतीक्षा गर्दै आएका छन्‌?

      २ सारा सृष्टिको सार्वभौम प्रभु यहोवाले नै त्यो पुस्तक हातमा लिइ राख्नु भएको छ। त्यो पुस्तक पक्कै पनि अत्यावश्‍यक जानकारीले भरिपूर्ण छ। त्यसको अघि र पछि अथवा दुवैपट्टि लेखिएको छ। त्यसले हामीमा नै उत्सुकता जगाइ सक्यो। त्यस पुस्तकमा के छ? यहोवाले यूहन्‍नालाई दिनु भएको यो निम्तो हामी फेरि सम्झन्छौं: “यतामाथि आऊ, र अब यसपछि हुनआउने कुराहरू म तिमीलाई देखाउनेछु।” (प्रकाश ४:१) ती हुनआउने कुराहरू सिक्न हामी भावोत्तेजक प्रतीक्षामा छौं। तर अफसोस्‌, त्यो पुस्तक ठ्याम्मै बन्द छ। त्यसमाथि सात वटा छाप लगाइएको छ!

      ३ त्यो पुस्तक खोल्ने योग्यको कुनै व्यक्‍ति के ती बलवान स्वर्गदूतले फेला पार्न सक्लान्‌? किङ्‌गडम इन्टरलिन्यर अनुसार त्यो पुस्तक यहोवाको “दाहिने बाहुलीमा” छ। अर्थात्‌ उहाँले त्यसलाई आफ्नो खुला हत्केलामा राख्नु भएको छ। तर त्यसलाई टिपेर खोल्ने योग्यको व्यक्‍ति स्वर्ग र पृथ्वीमा कतै पनि छैन जस्तो छ। पृथ्वीमनि रहेका परमेश्‍वरका विश्‍वासी मृत सेवकहरूमध्ये पनि यो ठूलो सम्मानको योग्य कोही छैन। त्यसैकारण त यूहन्‍ना स्पष्टतः विचलित छन्‌! सम्भवतः उनले अब “हुन आउने कुराहरू” सिक्न पाउने छैनन्‌। प्रकाशको पुस्तकमाथि यहोवाको ज्योति र सत्यताका लागि परमेश्‍वरका अभिषिक्‍त जनहरूले हाम्रो दिनमा पनि बडो उत्सुकतासाथ प्रतीक्षा गर्दै आएका छन्‌। तर आफ्ना मानिसहरूलाई “महान मुक्‍ति”-को मार्गमा डोऱ्‍याउनका लागि उहाँले भविष्यवाणी पूरा हुने समयमा मात्र सो ज्योति र सत्यता क्रमशः दर्साउनु भएको छ।—भजन ४३:३, ५ [ NW].

      योग्य व्यक्‍ति

      ४. (क) पुस्तक र त्यसका छापहरू खोल्ने योग्यको कुन्‌ चाहिं व्यक्‍ति फेला पर्छ? (ख) यूहन्‍नावर्ग र उनीहरूका सङ्‌गीहरू अब कुन पुरस्कार र विशेषाधिकारमा सहभागी हुन्छन्‌?

      ४ हो, त्यो पुस्तक खोल्न सक्ने एक जना व्यक्‍ति हुनुहुन्छ! यूहन्‍ना यसो भन्छन्‌: “औ धर्मगुरुहरूमध्ये एउटाले मलाई भने ‘नरोऊ, हेर, त्यो सिंह, जो यहूदाको कुलका हुन्‌, दाऊदका मूल, त्यो पुस्तक र ती सातवटा छापहरू खोल्नालाई विजयी हुनुभएको छ।’ ” (प्रकाश ५:५) यसकारण, यूहन्‍ना, तिमी आफ्नो आँसु पुछ! आज यूहन्‍नावर्ग र तिनीहरूका वफादार साथीहरूले पनि यो ज्ञान हासिल गर्नका लागि कैयौं दशकदेखि कठोर परीक्षाहरूको सामने धैर्य धारण गर्दै आएका छन्‌। तर अब भने त्यो दर्शन बुझ्न पाउनु एउटा सान्त्वनाप्रद पुरस्कार हो। त्यसमा उल्लिखित सन्देश अरूलाई घोषणा गर्दै सो भविष्यवाणीको पूर्तिमा भाग लिन पाउनु पनि कस्तो महान विशेषाधिकार हो!

      ५. (क) यहूदाबारे के भविष्यवाणी गरिएको थियो र यहूदाका सन्तानहरूले कहाँ राज्य गरे? (ख) शीलो को हुनुहुन्छ?

      ५ ओहो, “यहूदाका कुलको . . . सिंह!” यहूदी जातिको पुर्खा याकूबले आफ्नो काइँलो छोरो यहूदाबारे गरेको भविष्यवाणीसित यूहन्‍ना परिचित छन्‌: “यहूदा सिंहको डमरु हो, ए मेरो छोरा, शिकारबाट तँ उकालो आएको छस्‌, त्यो निहुरियो, र सिंहझैं लेटिरह्‍यो, अँ सिंहनीझैं, कसले त्यसलाई उठाउने आँट गर्छ? यहूदाको हातबाट राजदण्ड हट्‌नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाको बीचबाट हट्‌नेछैन, जबसम्म शीलो आउँदैन। औ मानिसहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌।” (उत्पत्ति ४९:९, १०) परमेश्‍वरका जनहरूको शाही घराना यहूदाको वंशबाट आएको थियो। दाऊदको समयदेखि बेबिलोनीहरूले यरूशलेमलाई नष्ट नपारुञ्जेलसम्म त्यहाँ राज्य गर्ने जम्मै राजाहरू यहूदाकै घरानाका थिए। तर तीमध्ये एक जना पनि याकूबले भविष्यवाणी गरेका शीलो चाहिं थिएनन्‌। शीलोको अर्थ हो “उनी जसको अधिकार छ।” भविष्यवाणीमा यस नाउँले येशूलाई औंलाइरहेको थियो। किनकि दाऊदको राज्यमाथि अब सदाका लागि येशू नै हकदार हुनुहुन्छ।—इजकिएल २१:२५-२७; लूका १:३२, ३३; प्रकाश १९:१६.

      ६. येशू कुन अर्थमा यस्सीको “ठुटा” र “दाऊदको मूल” हुनु हुन्थ्यो?

      ६ “दाऊदको मूल”-भन्‍नुको तात्पर्य यूहन्‍नाले तुरुन्तै बुझिहाल्छन्‌। प्रतिज्ञा गरिएको मसीहलाई भविष्यवाणीमा “यस्सीको [दाऊदको पिता] ठुटा [र] . . . बोट” भनेर सम्बोधन गरिएको छ। साथै, “यस्सीको जगलाई नै मानिसहरूले खोज्नेछन्‌” पनि भनिएको छ। (यशैया ११:१, १०) येशू यस्सीको ठुटा हुनुहुन्थ्यो किनभने यस्सीको पुत्र, दाऊदको शाही घरानामा येशूले जन्म लिनु भयो। साथै यस्सीको ठुटाको रूपमा उहाँले नै दाऊदको राज्यलाई फेरि पलाउन दिनु भयो। त्यसलाई सदाका लागि पुनःजीवन र बल प्रदान गर्नु भयो।—२ शमूएल ७:१६.

      ७. सिंहासनमा विराजमान हुनु हुनेको हातबाट पुस्तक थाप्न येशू के कारणले योग्य हुनुहुन्छ?

      ७ मुख्यतः येशूले एक जना सिद्ध मानवको रूपमा आफ्नो निष्ठा कायम राख्दै घोर दुःखको सामने पनि यहोवाको सेवा गर्नु भयो। उहाँले शैतानको चुनौतीलाई मुखभरिको जवाफ दिनु भयो। (हितोपदेश २७:११) त्यसैकारण त उहाँले आफ्नो बलिदानरूपी मृत्युअघिको रात “मैंले संसारलाई जितेको छु” भन्‍न सक्नु भयो। (यूहन्‍ना १६:३३) परिणामस्वरूप, यहोवाले येशूलाई उहाँको पुनरुत्थानपश्‍चात्‌ “स्वर्ग र पृथ्वीमा सारा अधिकार” दिनु भयो। परमेश्‍वरका जम्मै सेवकहरूमध्येबाट उहाँ एक जना मात्र त्यो पुस्तक थाप्न र त्यसमा भएका कुराको जानकारी अरूलाई दिने योग्यको हुनुहुन्छ।—मत्ती २८:१८.

      ८. (क) राज्यसम्बन्धी येशूको योग्यता कसरी प्रदर्शित हुन्छ? (ख) चौबीस जना प्राचीनहरूमध्येकै एक जनाले यूहन्‍नालाई पुस्तक खोल्ने योग्यको व्यक्‍ति देखाइ दिनु किन उचित हो?

      ८ हो, त्यो पुस्तक खोल्न वास्तवमा येशूलाई मात्र सुहाउँछ। उहाँ १९१४-देखि परमेश्‍वरको मसीही राज्यको राजाको हैसियतमा सिंहासनमा विराजमान हुनुहुन्छ। सोही राज्य र त्यसका उपलब्धिहरूबारे उक्‍त पुस्तकले निकै नै जानकारी दिन्छ। येशू पृथ्वीमा हुनु हुँदा उहाँले त्यस राज्यसम्बन्धी सत्यताको पक्षमा विश्‍वासिलो भएर साक्षी दिनु भयो। (यूहन्‍ना १८:३६, ३७) उहाँले आफ्ना अनुयायीहरूलाई त्यो राज्य आओस्‌ भनेर प्रार्थना गर्न सिकाउनु भयो। (मत्ती ६:९, १०) मसीही युगको प्रारम्भमा उहाँले राज्यको सुसमाचार प्रचार अभियान सुरु गर्नु भयो। साथै, अन्तको समयमा उपरोक्‍त प्रचारकार्यको समापनबारे पनि भविष्यवाणी गर्नु भयो। (मत्ती ४:२३; मर्कूस १३:१०) अतः ती बन्द छापहरू खोल्ने व्यक्‍ति पनि येशू नै हुनुहुन्छ भनेर यूहन्‍नालाई २४ प्राचीनहरूमध्ये एक जनाले बताउनु एकदम सुहाउँछ। किन? किनकि यी प्राचीनहरू पनि ख्रीष्टसितै साझे हकवालाहरू भएर सिंहासनहरूमा बस्छन्‌ र सिरमा मुकुट लाउँछन्‌।—रोमी ८:१७; प्रकाश ४:४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने