-
“व्यर्थको” कुरापछि नलाग्नुहोस्राज्य सेवकाई—२००२ | सेप्टेम्बर
-
-
१ आज सञ्चारका प्रचलित माध्यमहरूमध्ये ई-मेल पनि एक हो। यस माध्यममार्फत आफ्नो परिवार तथा साथीभाइहरूसित व्यक्तिगत अनुभव तथा विचारहरू साटासाट गर्नु उचितै भए तापनि अचाक्ली ई-मेल प्रयोग गर्नुसित “व्यर्थको” कुराको के सम्बन्ध?—हितो. १२:११.
२ ई-मेलसम्बन्धी चेतावनीः कसै-कसैले ई-मेलमार्फत नयाँ-नयाँ जानकारीहरू प्राप्त गर्दा यहोवाको संगठनबारे धेरै कुरा थाह पाएको महसुस गर्लान्। यस्ता जानकारीहरूमा अनुभव, बेथेलमा घटेका घटनाहरूको टिपोट, विपत्ति वा सतावटका रिपोर्टहरूलगायत किङडम मिनिस्ट्री स्कूलमा घोषणा गरिएका गोप्य जानकारीहरूसमेत हुन सक्छन्। अन्य कति जनाचाहिं यस्तो जानकारी आफ्ना साथीलाई बताउने पहिलो व्यक्ति हुन आतुर देखिन्छन्।
३ कहिलेकाहीं, जानकारी तथा अनुभवहरू बंग्याइएका वा बढाइचढाइ गरिएका हुन्छन्। अथवा साधारण कुरालाई पनि सनसनीपूर्ण बनाउने कोसिस गर्दा कसै-कसैले झूटो प्रभाव पारेका छन्। यस्ता कुराहरू प्रकट गर्न हतारिने मानिसहरूलाई प्रायजसो सबै तथ्य कुरा थाह हुँदैन। (हितो. २९:२०) कुनै-कुनै अवस्थामा कुरा अपत्यारिलो हुँदासमेत यसलाई कौतूहलताको रूपमा प्रचार प्रसार गरिन्छ। यस्तो गलत वा भर्माउने किसिमका खबरहरू केवल “झूटा कथाहरू” हुन्, जसले साँचो ईश्वरीय भक्ति बढाउन कुनै योगदान पुऱ्याउँदैन।—१ तिमो. ४:६, ७.
४ तपाईंले प्रचार प्रसार गर्नुभएको जानकारी गलत साबित भयो भने, त्यसले निम्त्याउने दुःख वा अन्योलको जिम्मेवार पनि स्वयम् तपाईं नै हुनुहुनेछ। आफ्ना सबै छोराहरू मारिए भन्ने बढाइचढाइ गरिएको खबर जब दाऊदले सुने तब अति दुःखित भएर तिनले “आफ्नो लुगा च्याते।” तथापि, वास्तवमा तिनको एक जना छोराको मात्र मृत्यु भएको थियो। हुन त, त्यो कुरा दुःखलाग्दो थियो तर यसरी बढाइचढाइ गरिएको कुराले दाऊदको पीडा झनै बढायो। (२ शमू. १३:३०-३३) निस्सन्देह, हामी आफ्ना भाइहरूलाई भ्रममा पार्ने वा निरुत्साहित पार्ने त्यस्तो कुनै पनि काम गर्न चाहँदैनौं।
५ परमेश्वरद्वारा नियुक्त माध्यम: हाम्रो स्वर्गमा हुनुहुने पिताले नियुक्त गर्नुभएको सञ्चार माध्यम “विश्वासी र बुद्धिमान दास” छ भन्ने कुरा नबिर्सौं। विश्वासका घरानालाई “ठीक ठीक समयमा” कस्तो किसिमको जानकारी उपलब्ध गराएर बाँड्ने भनी तय गर्ने जिम्मेवारी उक्त “दास[को]” हो। यो आध्यात्मिक भोजन ईश्वरतान्त्रिक संगठनमार्फत मात्रै उपलब्ध हुन्छ। त्यसैकारण भरपर्दो जानकारीको लागि हामी सधैं परमेश्वरद्वारा नियुक्त माध्यममा भर पर्नुपर्छ, इन्टरनेट प्रयोग गर्नेहरूको नेटवर्कमा होइन।—मत्ती २४:४५.
६ इन्टरनेट वेब साइट: हाम्रो आधिकारिक इन्टरनेट वेब साइट हो: www.watchtower.org। यो साइट सर्वसाधारणलाई जानकारी उपलब्ध गराउन पर्याप्त छ। कुनै पनि व्यक्तिविशेष, समिति वा मण्डलीले यहोवाका साक्षीहरूको विषयमा वेब पेज बनाइरहनु आवश्यक छैन। कसै-कसैले सबै शास्त्रपद तथा सन्दर्भ सामग्रीलगायत प्रकाशनहरूको विषयवस्तु सबै खुलाएर वेब साइटमा हालेका हुन्छन् भने, कसै-कसैले चाहिं चन्दा लिने हिसाबले अधिवेशनका कार्यक्रमहरू अरूलाई दिएका पनि छन्। यसो गर्दा नाफा होस् या नहोस्, इलेक्ट्रोनिक माध्यमद्वारा यहोवाका साक्षीहरूका प्रकाशनहरू पुनः छापेर वितरण गर्नु प्रतिलिपि नियमको सरासर उल्लंघन गर्नु हो। कसै-कसैले यो भाइहरूको लागि गरेको भन्ठाने तापनि यसो गर्नु ठीक होइन र यसो गर्न बन्द गर्नुपर्छ।
७ इलेक्ट्रोनिक सञ्चार प्रयोग गर्ने सन्दर्भमा असल निर्णय गर्नुका साथै विवेकी भयौं भने, हाम्रो मन “दामी दामी र सुन्दर सुन्दर थोकहरूद्वारा सुसज्जित” हुने कुरामा कुनै सन्देह छैन।—हितो. २४:४.
-
-
पत्रिकाहरूबारे के भन्नेराज्य सेवकाई—२००२ | सेप्टेम्बर
-
-
पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! सेप्टे. ८
“अधिकांश मानिसहरूले जूवालाई सामाजिक रूपमै स्वीकार्य मनोरञ्जनको रूपमा हेर्छन्। कोही-कोहीचाहिं यसले परिवार तथा समाजलाई हानि पुऱ्याउँछ भन्ने महसुस गर्छन्। ब्यूँझनुहोस्!-को यस अंकले हालै प्रकाशित अनुसन्धानको आधारमा जूवाको विषयलाई केलाएको छ। यस सन्दर्भमा बाइबलको सिद्धान्त के छ, तपाईं पढ्न इच्छुक हुनुहुन्छ होला।” उदाहरणको लागि, १ तिमोथी ६:१० पढ्नुहोस्।
प्रहरीधरहरा सेप्टे. १५
“लाखौं मानिसहरू ‘सन्तहरू’-सित विशेष किसिमको शक्ति हुन्छ र उनीहरूमार्फत प्रार्थना गर्नु बेस हुनेछ भनी विश्वास गर्छन्। तपाईंलाई नि कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] येशू ख्रीष्टले के भन्नुभयो, यहाँ हेर्नुहोस् त। [यूहन्ना १४:६ पढ्नुहोस्।] यसले गर्दा कोही-कोही मानिसहरू ‘सन्तहरू’-मार्फत प्रार्थना गर्ने सन्दर्भमा वाल्ल पर्छन्। प्रहरीधरहरा-को यस अंकले यसै महत्त्वपूर्ण विषयमा छलछल गर्छ।”
ब्यूँझनुहोस्! सेप्टे. ८
“अधिकांश मानिसहरू बढ्दो हिंसा र आतंकवादको कारण एकदमै चिन्तित छन्। आजका मनोरञ्जनहरू; जस्तै: चलचित्र तथा खेलकुदहरू पूरै हिंसाले भरिएका हुन्छन्। तर यो परमेश्वरलाई कस्तो लाग्छ? [भजन ११:५ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। पृष्ठ १६ पल्टाएर देखाउनुहोस्।] यस ब्यूँझनुहोस्!-को यस अंकले परमेश्वरको दृष्टिकोणबारे छलफल गर्छ र मलाई आशा छ तपाईंलाई पनि यो रोचक लाग्नेछ।”
प्रहरीधरहरा अक्टो. १
“हाम्रो वरपर व्याप्त सबै समस्याहरू; जस्तै: युद्ध, हिंसालगायत डर-त्रासका अन्य कार्यहरूको अन्त होला कि नहोला भनेर धेरैले सोचेका छन्। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले यस्तो सान्त्वनादायी आश्वासन दिन्छ। [भजन ३७:१०, ११ पढ्नुहोस्।] परमेश्वरले अहिलेसम्म पनि दुष्ट तथा त्यसले निम्त्याएका दुःखकष्ट अन्त नगर्नुको कारण यस पत्रिकाले बताउँछ।”
-