प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको अनुकरण गर्दै छोराछोरीलाई प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा—२००१ | अक्टोबर १
    • यहोवाको अनुकरण गर्दै छोराछोरीलाई प्रशिक्षण दिनुहोस्‌

      “बाबुले अनुशासन नगरेको कुनचाहिं छोरा हुन्छ र?”—हिब्रू १२:७.

      १, २. आज आमाबाबुलाई आफ्ना छोराछोरी हुर्काउन किन गाह्रो भइरहेको छ?

      केही वर्षअघि जापानमा गरिएको एउटा सर्वेक्षणका लागि अन्तरवार्ता लिएको आधाभन्दा बढी वयस्कहरूले आमाबाबु र छोराछोरीबीच कम कुराकानी हुने गरेको अनि आमाबाबुले आफ्ना छोराछोरीलाई धेरै नै पुलपुल्याएर राखेको महसुस गरेको कुरा बताए। सोही देशमा गरिएको अर्को सर्वेक्षणमा झन्डै एक चौथाइ मानिसहरूले आफ्ना छोराछोरीसँग कसरी व्यवहार गर्ने भनी थाह नभएको कुरा बताए। यस्तो समस्या पूर्वीय देशहरूमा मात्र सीमित छैन। द टोरोन्टो स्टार-ले दिएको रिपोर्टअनुसार “थुप्रै क्यानेडियाली आमाबाबुलाई असल आमाबाबु कसरी हुने भन्‍ने विषयमा केही थाह छैन।” जुनसुकै ठाउँका आमाबाबुलाई पनि छोराछोरी हुर्काउन गाह्रो भइरहेको छ।

      २ आमाबाबुलाई छोराछोरी हुर्काउन किन गाह्रो भइरहेको? मुख्य कारण त, हामी “आखिरी दिनमा” बाँचिरहेका छौं र ‘समय डरलाग्दो’ छ। (२ तिमोथी ३:१) यसबाहेक, “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ” भनी बाइबल उल्लेख गर्छ। (उत्पत्ति ८:२१) अनि जवानहरू विशेष गरी शैतानको आक्रमणसामु निस्साहय हुन्छन्‌ र त्यसले “गर्जने सिंहझैं” अपरिपक्वहरूलाई पासोमा पार्न खोज्छ। (१ पत्रुस ५:८) निश्‍चय पनि आफ्ना छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न चाहने मसीही आमाबाबुको निम्ति धेरै बाधाबिघ्नहरू छन्‌। (एफिसी ६:४) आमाबाबुले कसरी आफ्ना छोराछोरीलाई “खराब र असल” छुट्याउन सक्ने गरी यहोवाका परिपक्व उपासकहरू हुन मदत गर्नसक्छन्‌?—हिब्रू ५:१४.

      ३. छोराछोरीलाई सफलतासाथ हुर्काउन आमाबाबुको प्रशिक्षण र डोऱ्‍याइ किन अत्यावश्‍यक छ?

      ३ “बालकको हृदयभित्र मूर्खता गाड़िएको हुन्छ” भनी बुद्धिमान्‌ राजा सुलेमानले भने। (हितोपदेश १३:१; २२:१५) तिनीहरूको हृदयबाट त्यस्तो मूर्खता हटाउन छोराछोरीलाई आमाबाबुको मायालु अनुशासनको खाँचो पर्छ। तथापि, जवानहरूले अक्सर सहजै अनुशासन स्वीकार्दैनन्‌। वास्तवमा भन्‍ने हो भने, जवानहरूलाई जुनै व्यक्‍तिले अनुशासन दिए तापनि तिनीहरू अक्सर रिसाउने गर्छन्‌। तसर्थ, आमाबाबुले ‘बालकलाई ठीक बाटोमा लगाउन’ सिक्नुपर्छ। (हितोपदेश २२:६) अनि जब छोराछोरीले त्यस्तो अनुशासन स्वीकार्न थाल्छ तिनीहरूको निम्ति त्यो जीवन हुनसक्छ। (हितोपदेश ४:१३) आफ्ना छोराछोरीलाई प्रशिक्षण दिनुमा के के समावेश छ, त्यसबारे आमाबाबुले थाह पाइराख्नु एकदमै महत्त्वपूर्ण छ!

      अनुशासन—यसको अर्थ के हो

      ४. बाइबलमा प्रयोग गरिएको “अनुशासन” शब्दको मुख्य अर्थ के हो?

      ४ कोहीकोही आमाबाबु शारीरिक, मौखिक वा भावनात्मक दुर्व्यवहारको दोष लाग्ने डरले आफ्ना छोराछोरीलाई अनुशासन दिनदेखि पछि हट्‌छन्‌। हामीले त्यस्तो डर राख्नुपर्दैन। बाइबलमा प्रयोग गरिएको “अनुशासन” शब्दले कुनै प्रकारको दुर्व्यवहार वा क्रूरतालाई बुझाउँदैन। “अनुशासन” भनी अनुवाद गरिएको युनानी शब्दले मुख्यतया निर्देशन, शिक्षा, सुधार र कहिलेकाहीं कडा तर मायालु सजाय भन्‍ने बुझाउँछ।

      ५. यहोवाले आफ्ना जनहरूसँग गर्नुभएको व्यवहार बुझ्नु किन लाभकारी छ?

      ५ त्यस्तो अनुशासन दिने सन्दर्भमा यहोवा परमेश्‍वरले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। यहोवालाई मानव पितासँग तुलना गर्दै प्रेरित पावलले यस्तो लेखे: “बाबुले अनुशासन नगरेको कुनचाहिं छोरा हुन्छ र? . . . तिनीहरूले ता साँच्चिनै आफैले असल ठानेबमोजिम केही दिन हामीलाई अनुशासन गरे। तर उहाँले हामी उहाँको पवित्रताको सह-भागी हौं भनेर हाम्रो फायदाको निम्ति अनुशासन गर्नुहुन्छ।” (हिब्रू १२:७-१०) हो, यहोवाले आफ्ना जनहरू पवित्र वा शुद्ध होस्‌ भन्‍ने हेतुले उनीहरूलाई अन्तसम्मै अनुशासन दिनुहुन्छ। यहोवाले कसरी आफ्ना जनहरूलाई प्रशिक्षण दिनुभएको छ भनी विचार गरेर हामी निश्‍चय पनि आफ्ना छोराछोरीलाई अनुशासन दिने विषयमा धेरै कुरा सिक्नसक्छौं।—व्यवस्था ३२:४; मत्ती ७:११; एफिसी ५:१.

      प्रेम—उत्प्रेरणादायी शक्‍ति

      ६. आमाबाबुलाई परमेश्‍वरको प्रेम अनुकरण गर्न किन गाह्रो हुनसक्छ?

      ६ “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनी प्रेरित यूहन्‍नाले भने। त्यसैकारण, यहोवाले दिनुहुने प्रशिक्षण सधैं प्रेमद्वारा उत्प्रेरित हुन्छ। (१ यूहन्‍ना ४:८; हितोपदेश ३:११, १२) के यसको अर्थ आफ्ना छोराछोरीप्रति स्वाभाविक प्रेम भएका आमाबाबुलाई यहोवाको अनुकरण गर्न सजिलो हुन्छ भनेको हो? नहुन पनि सक्छ। परमेश्‍वरको प्रेम सैद्धान्तिक प्रेम हो। अनि एक जना युनानी शास्त्रविद्‌ले औंल्याएअनुसार त्यस्तो प्रेम “सधैं स्वाभाविक झुकाउहरूसँग मेल खाँदैन।” परमेश्‍वर भावनामा बहनुहुन्‍न। उहाँ सधैं आफ्ना जनहरूको निम्ति के उत्तम हुन्छ भनी विचार गर्नुहुन्छ।—यशैया ३०:२०; ४८:१७.

      ७, ८. (क) आफ्ना जनहरूसित व्यवहार गर्दा यहोवाले सैद्धान्तिक प्रेमको कस्तो उदाहरण बसाल्नुभयो? (ख) छोराछोरीलाई बाइबल सिद्धान्तहरू लागू गर्ने योग्यता विकास गर्न मदत दिन आमाबाबुले कसरी यहोवाको अनुकरण गर्नसक्छन्‌?

      ७ इस्राएलीहरूसँग व्यवहार गर्दा यहोवाले देखाउनुभएको प्रेमलाई विचार गर्नुहोस्‌। एउटा अत्यन्तै राम्रो उदाहरण प्रयोग गर्दै मोशाले यहोवाको भर्खरै स्थापित राष्ट्र इस्राएलप्रतिको प्रेमको व्याख्या गरे। हामी यस्तो लेखिएको पाउँछौं: “गुँड़लाई हल्लाएर आफ्ना बचेराहरूमाथि हावामा उड़िरहने, पखेटा फैलाई बचेराहरूलाई थाम्ने र आफ्नो प्वाँखमाथि [पखेटामाथि] ती बोक्ने गरुडले झैं परमप्रभु एकलै तिनलाई [याकूब] अगुवाइ गर्नुभयो।” (व्यवस्था ३२:९, ११, १२, नयाँ संशोधित संस्करण) आफ्नो बचेरालाई उड्‌न सिकाउन माउ गरुडले आफ्नो पखेटा फटफटाएर ‘गुँडलाई हल्लाउँछ’ र तिनीहरूलाई गुँडबाट निकाल्ने कोसिस गर्छ। जब बल्लतल्ल बचेरा गुँडबाट निस्कन्छ, जुन साधारणतया भिरालो ठाउँहरूमा हुन्छ, माउचाहिं ‘बचेराहरूमाथि हावामा उड़िरहन्छ।’ बचेरा जमिनमा खसेर बजारिनै लागेजस्तो देख्यो भने माउ तल आई आफ्नो ‘पखेटा फैलाएर बचेराहरूलाई थाम्छ।’ यहोवाले पनि त्यसै गरी मायालु ढंगमा भर्खरै स्थापित इस्राएल राष्ट्रको ख्याल राख्नुभयो। उहाँले आफ्ना जनहरूलाई मोशामार्फत व्यवस्था दिनुभयो। (भजन ७८:५-७) अनि यहोवाले आफ्नो राष्ट्रमाथि होसियारीसाथ नजर राख्नुभयो। आफ्ना जनहरू समस्यामा पर्दा उहाँ तिनीहरूलाई उद्धार गर्न सधैं तयार हुनुहुन्थ्यो।

      ८ मसीही आमाबाबुले कसरी यहोवाको प्रेम अनुकरण गर्नसक्छन्‌? पहिला त, तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्‍वरको वचनमा पाइने सिद्धान्त तथा स्तरहरू सिकाउनुपर्छ। (व्यवस्था ६:४-९) लक्ष्यचाहिं छोराछोरीलाई बाइबलको सिद्धान्तअनुरूप निर्णय गर्न मदत दिने हुनुपर्छ। यसो गर्दा लाक्षणिक शब्दमा भन्‍ने हो भने, मायालु आमाबाबुले हावामा उडेर छोराछोरीले आफूले सिकेका सिद्धान्तहरू कसरी व्यवहारमा उतारिरहेका छन्‌ भनी हेरिरहेका हुन्छन्‌। छोराछोरी ठूलो हुँदै गएपछि तिनीहरूलाई बिस्तारै स्वतन्त्रता दिइन थालेपछि मायालु आमाबाबु खतरा आइपर्ने बित्तिकै ‘आफ्ना बच्चाहरूलाई थाम्न पखेटा फैलाउँछन्‌।’ तर कस्तो प्रकारको खतरा?

      ९. मायालु आमाबाबु विशेष गरी कस्तो खतराबारे सजग हुनुपर्छ? व्याख्या गर्नुहोस्‌।

      ९ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई खराब संगतिको नतिजाबारे चेताउनी दिनुभयो। (गन्ती २५:१-१८; एज्रा १०:१०-१४) खराब व्यक्‍तिहरूसँग संगत गर्नु आज एउटा सामान्य खतरा भएको छ। (१ कोरिन्थी १५:३३) यस क्षेत्रमा मसीही आमाबाबुले यहोवाको अनुकरण गर्नुपर्छ। लिजा नाउँ गरेकी १५ वर्षीया केटी आफ्नो परिवारको जस्तै नैतिक र आध्यात्मिक मूल्यमान्यता नराख्ने एक जना केटाप्रति आकर्षित भइन्‌। लिजा भन्छिन्‌: “मेरा आमाबाबुले तुरुन्तै मेरो मनोवृत्तिमा आएको परिवर्तन याद गर्नुभयो र चिन्ता व्यक्‍त गर्नुभयो। कहिलेकाहीं उहाँहरूले मलाई सच्याउनुभयो भने अरू कति चोटि चाहिं मायालु प्रोत्साहन दिनुभयो।” उनीहरू लिजासँगै बसेर धैर्यतासाथ तिनको कुरा सुने र तिनको खास समस्या अर्थात्‌ साथीहरूले आफूलाई स्वीकारोस्‌ भन्‍ने तिनको इच्छा हटाउन मदत गरे।a

      खुलस्त भएर कुराकानी गर्नुहोस्‌

      १०. इस्राएलीहरूसँग कुराकानी गर्दा यहोवाले कसरी असल उदाहरण बसाल्नुभयो?

      १० आफ्ना छोराछोरीलाई प्रशिक्षण दिने काममा सफल हुन आमाबाबुले आफ्ना छोराछोरीसित खुलस्त भएर कुराकानी गर्ने प्रयास गर्नुपर्छ। यहोवालाई हाम्रो मनको सबै कुरा राम्ररीसँग थाह भए तापनि उहाँले हामीलाई उहाँसँग कुरा गर्न प्रोत्साहन दिनुभएको छ। (१ इतिहास २८:९) इस्राएलीहरूलाई व्यवस्था दिनुभएपछि यहोवाले तिनीहरूलाई निर्देशन दिन लेवीहरूलाई अह्राउनुभयो र उहाँले तिनीहरूसित तर्क गर्न र तिनीहरूलाई सच्याउन अगमवक्‍ताहरू पठाउनुभयो। अनि उहाँले तिनीहरूको प्रार्थना सुन्‍न पनि इच्छुकता देखाउनुभयो।—२ इतिहास १७:७-९; भजन ६५:२; यशैया १:१- ३, १८-२०; यर्मिया २५:४; गलाती ३:२२-२४.

      ११. (क) आमाबाबुले कसरी आफ्ना छोराछोरीसित राम्ररी कुराकानी गर्नसक्छन्‌? (ख) आफ्ना छोराछोरीसित कुरा गर्दा आमाबाबुले राम्ररी कुरा सुन्‍नु किन महत्त्वपूर्ण छ?

      ११ आफ्ना छोराछोरीसित कुराकानी गर्दा आमाबाबुले कसरी यहोवाको अनुकरण गर्नसक्छन्‌? सर्वप्रथम त, आमाबाबुले तिनीहरूलाई समय दिनुपर्छ। आमाबाबुले सोचविचारै नगरी यस्ता टिप्पणीहरू नगर्नु पनि बेस हुन्छ, जस्तै, “त्यति जाबो कुरा? अरू नै केही महत्त्वपूर्ण कुरा पो होला भन्ठानेको”; “कस्तो नचाहिंदो कुरा गऱ्‍या होला”; “तिमी अहिले केटाकेटी नै छौ, यो उमेरमा त्यस्तो त भइहाल्छ नि।” (हितोपदेश १२:१८) आफ्ना छोराछोरीलाई तिनीहरूको विचार पोख्ने प्रोत्साहन दिन बुद्धिमान्‌ आमाबाबुले राम्ररी सुन्‍ने प्रयास गर्नुपर्छ। छोराछोरी सानो छँदा उनीहरूलाई बेवास्ता गर्ने आमाबाबुलाई अक्सर छोराछोरीले पनि ठूलो भएपछि बेवास्ता गर्छन्‌। यहोवा आफ्ना जनहरूको कुरा सुन्‍न सधैं इच्छुक हुनुहुन्छ। प्रार्थनाद्वारा उहाँसँग कुरा गर्नेहरूको उहाँ सधैं कुरा सुन्‍नुहुन्छ।—भजन ९१:१५; यर्मिया २९:१२; लूका ११:९-१३.

      १२. आमाबाबुले कस्ता गुणहरू प्रदर्शित गर्दा छोराछोरीलाई तिनीहरूसँग कुरा गर्न सजिलो हुनसक्छ?

      १२ परमेश्‍वरको व्यक्‍तित्वका केही पक्षहरूले गर्दा उहाँलाई नहिचकिचाई उहाँका जनहरूलाई पुकार्न कसरी सजिलो भयो, त्यो पनि विचार गर्नुहोस्‌। उदाहरणका लागि, पुरातन इस्राएलका राजा दाऊदले बेतशेबासँग अनैतिक सम्बन्ध राखेर गम्भीर पाप गरे। असिद्ध मानिस भएको कारण दाऊदले आफ्नो जीवनमा अरू पनि गम्भीर पाप गरेका थिए। यद्यपि, तिनले सधैं यहोवालाई पुकारेर माफी र ताडना मागे। निस्सन्देह, परमेश्‍वरको अनुग्रह र कृपाको कारण दाऊदलाई उहाँकहाँ फर्कन सजिलो भयो। (भजन १०३:८) अनुकम्पा र कृपाजस्ता ईश्‍वरीय गुण प्रदर्शित गर्दै आमाबाबुले छोराछोरीले गल्ती गर्दा समेत खुलस्त भएर कुराकानी गर्न मदत गर्नसक्छन्‌।—भजन १०३:१३; मलाकी ३:१७.

      व्यावहारिक हुनुहोस्‌

      १३. व्यावहारिक हुनुमा के समावेश छ?

      १३ आफ्ना छोराछोरीको कुरा सुन्दा आमाबाबु व्यावहारिक हुनुपर्छ र ‘माथिबाटको ज्ञान’ झल्काउनुपर्छ। (याकूब ३:१७) “तिमीहरूको सहनशीलता [“व्यावहारिकता,” NW] सबै मानिसहरूलाई थाह होस्‌” भनी प्रेरित पावलले लेखे। (फिलिप्पी ४:५) व्यावहारिक हुनुको अर्थ के हो? “व्यावहारिक” भनी अनुवाद गरिएको युनानी शब्दको एउटा अर्थ “व्यवस्थामा जिद्दी नगर्नु” हो। नैतिक तथा आध्यात्मिक स्तरहरूलाई फितलो नबनाईकन आमाबाबु कसरी व्यावहारिक हुनसक्छन्‌?

      १४. लूतसँग व्यवहार गर्दा यहोवाले कसरी व्यावहारिकता देखाउनुभयो?

      १४ व्यावहारिक हुने सन्दर्भमा यहोवा उल्लेखनीय उदाहरण हुनुहुन्छ। (भजन १०:१७) उहाँले लूत र तिनको परिवारलाई सर्वनाश हुन लागेको सदोम शहर छोड्‌न आग्रह गर्नुहुँदा लूतले “आले-टाले गरिरहे।” पछि, यहोवाका स्वर्गदूतहरूले तिनलाई पहाडतिर भाग्नु भन्दा लूतले यसो भने: “म पहाड़तिर भाग्नसक्‍तिनँ . . . हेर्नुहोस्‌, उ त्यो शहर [सोअर] भाग्नलाई नजीकै छ, र त्यो सानो पनि छ। मलाई त्यहीनै भाग्नदिनुहोस्‌—त्यो शहर सानो छ?” यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले यसो भन्‍नुभयो: “हेर्‌, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको शहरलाई चाहिं म भस्म गर्नेछैनँ।” (उत्पत्ति १९:१६-२१, ३०) यहोवा लूतको बिन्तीअनुसार गर्न तयार हुनुहुन्थ्यो। हो, आमाबाबुले यहोवा परमेश्‍वरले उहाँको वचन बाइबलमा औंल्याउनुभएका स्तरहरू पालन गर्नुपर्छ। तथापि, बाइबलको सिद्धान्त उल्लंघन हुँदैन भने केटाकेटीका इच्छाहरूबारे पनि विचार गर्नु सम्भव हुनसक्छ।

      १५, १६. यशैया २८:२४, २५ मा पाइने दृष्टान्तबाट आमाबाबुले कस्तो पाठ सिक्नसक्छन्‌?

      १५ व्यावहारिक हुनुमा छोराछोरीको हृदयलाई सल्लाहहरू स्वीकार्न तयार पार्नु पनि समावेश छ। दृष्टान्तको रूपमा यशैयाले यहोवालाई किसानसँग तुलना गरे र यसो भने: “के हलो जोत्नेले बिउ छर्न निरन्तर जोत्दै रहन्छ? के उसले आफ्नो जमीन निरन्तर खनेर डल्ल फोर्दै रहन्छ? जब उसले जमीन खनेर तयार गरिसक्छ तब के उसले सूँप र जीरा छर्दैन? औ गहुँ लहर गरी रोप्दैन? र जौ त्यसको नियत स्थानमा रोप्दैन? औ कठिया गहुँ आली आलीमा रोप्दैन?”—यशैया २८:२४, २५.

      १६ यहोवाले ‘बिउ छर्न हलो जोत्नुहुन्छ’ र ‘निरन्तर खनेर डल्लो फोर्नुहुन्छ।’ यसप्रकार, उहाँले तिनीहरूलाई अनुशासन दिनुअघि तिनीहरूको हृदयलाई तयार गर्नुहुन्छ। आफ्ना छोराछोरीलाई सच्याउँदा आमाबाबुले कसरी आफ्नो सन्तानको हृदय ‘खन्‍नसक्छन्‌?’ एक जना बुबाले आफ्नो चार वर्षको छोरालाई सच्याउँदा यहोवाको अनुकरण गरे। तिनको छोराले छिमेकीको छोरालाई हिर्काउँदा बुबाले पहिला छोराको त्यस केटालाई हिर्काउनुका कारणहरू धैर्यतासाथ सुने। अनि आफ्नो छोराको हृदय ‘खन्‍नको’ निम्ति उक्‍त बुबाले छोरालाई एक जना बदमास मान्छेले गर्दा असाध्यै दुःख खप्नुपरेको सानो केटाको कथा सुनाए। कथा सुनेपछि छोराले त्यस बदमास मान्छेलाई सजाय दिनुपर्छ भने। त्यसरी ‘खन्दा’ छोराको हृदय सल्लाह सुन्‍न तयार भयो र छिमेकी साथीलाई हिर्काउनु पनि गलत हो र त्यसो गर्नु दादागिरी गर्नु जत्तिकै हो भनी बुझ्न तिनलाई सजिलो भयो।—२ शमूएल १२:१-१४.

      १७. यशैया २८:२६-२९ मा आमाबाबुले दिने अनुशासनबारे कस्तो पाठ पाइन्छ?

      १७ यशैयाले यहोवाको अनुशासनलाई खेतीपातीसित सम्बन्धित अझ अर्को काम वा दाइँ गर्नुसित तुलना गरे। किसानले अन्‍नको खोस्टा कत्तिको बाक्लो वा कडा छ हेरेर, त्योअनुसार दाइँ गर्न विभिन्‍न यन्त्रहरू चलाउँछ। सुँप लौरोले र जीरा लट्ठीले छाँटिन्छ तर बाक्लो खोस्टा भएका अन्‍नहरूलाई चाहिं गाडाको पाँग्रा चलाएर दाइँ गरिन्छ। तर कसैले पनि ती बाक्लो खोस्टा भएका अन्‍नहरू धूलोपीठो हुने गरी दाइँ गर्दैनन्‌। त्यसै गरी, यहोवाले पनि आफ्ना जनहरूका केही नराम्रा गुणहरू हटाउन आवश्‍यकता र परिस्थिति हेरेर व्यवहार गर्नुहुन्छ। उहाँ कहिल्यै कठोर व्यवहार वा शोषण गर्नुहुन्‍न। (यशैया २८:२६-२९) कोहीकोही केटाकेटीलाई आमाबाबुले आँखा तरेर हेर्दा मात्र पनि पुग्छ। अरूलाई बारम्बार सम्झाइ रहनुपर्छ भने अरू कतिलाई चाहिं कडिकडाइसाथ सम्झाउनु आवश्‍यक पर्नसक्छ। व्यावहारिक आमाबाबुले आफ्नो छोराछोरीको आवश्‍यकता हेरेर सच्याउनेछन्‌।

      पारिवारिक छलफललाई आनन्ददायी बनाउनुहोस्‌

      १८. आमाबाबुले कसरी नियमित पारिवारिक अध्ययनको लागि समय निकाल्नसक्छन्‌?

      १८ आफ्ना छोराछोरीलाई निर्देशन दिने सबैभन्दा उत्तम तरिकाहरूमध्ये केही नियमित पारिवारिक बाइबल अध्ययन र दिनहुँ धर्मशास्त्रको जाँच हुन्‌। पारिवारिक अध्ययन नियमित छ भने त्यो सबैभन्दा प्रभावकारी हुन्छ। आफूलाई मन लाग्दा मात्र वा कुनै योजनाविना अपर्झट अध्ययन गर्ने गऱ्‍यो भने अध्ययन अनियमित हुने सम्भावना धेरै हुन्छ। त्यसैकारण, आमाबाबुले अध्ययनको लागि ‘समयको सदुपयोग’ गर्नुपर्छ। (एफिसी ५:१५-१७) सबैलाई मिल्ने निर्दिष्ट समय निकाल्नु चुनौतीपूर्ण हुनसक्छ। एक जना बुबालाई आफ्ना छोराछोरी हुर्कंदै गएपछि तिनीहरू प्रत्येकको तालिकाअनुसार पूरा परिवारको समय मिलाउन अत्यन्तै गाह्रो भयो। यद्यपि, उक्‍त परिवारका सदस्यहरू मण्डलीका सभाहरू भएको दिनको बेलुकी चाहिं सधैं घरमै हुन्थे। त्यसकारण, त्यस घरको बुबाले ती बेलुकीहरूमध्ये एक बेलुकी पारिवारिक अध्ययन गर्ने प्रबन्ध मिलाए। यो प्रबन्ध प्रभावकारी साबित भयो। अहिले तिनका तीनै जना छोराछोरीहरू यहोवाका बप्तिस्माप्राप्त सेवकहरू भइसकेका छन्‌।

      १९. पारिवारिक अध्ययन गर्दा आमाबाबुले कसरी यहोवाको अनुकरण गर्नसक्छन्‌?

      १९ तथापि, अध्ययनको दौडान केही धर्मशास्त्रीय विषयवस्तुहरू ढाक्नु मात्र पर्याप्त छैन। यहोवाले पुनर्स्थापित इस्राएलीहरूलाई सिकाउन पूजाहारीहरूलाई चलाउनुभयो, जसले “व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ बुझाइदिए” र “जे पढ़िएको थियो त्यसबाट तिनीहरूलाई शिक्षा दिए।” (नहेम्याह ८:८) आफ्ना सातै जना छोराछोरीलाई, यहोवालाई प्रेम गर्न सिकाउन सफल एक जना बुबाले सधैं पारिवारिक अध्ययनअघि आफ्नो कोठामा गएर प्रत्येक छोराछोरीको आवश्‍यकताअनुसार विषयवस्तु तयार गर्थे। तिनले आफ्ना छोराछोरीको निम्ति अध्ययन रमाइलो बनाए। तिनको एक जना हुर्किसकेका छोरा यसो भन्छन्‌: “अध्ययन सधैं रमाइलो हुन्थ्यो। हामी बाहिर बल खेलिरहेका हुन्थ्यौं तर अध्ययनको निम्ति बोलाउँदा हामी तुरुन्तै बल खेल्न छोडेर भित्र आउँथ्यौं। हप्ताकै सबैभन्दा रमाइलो साँझ अध्ययनको बेला हुन्थ्यो।”

      २०. छोराछोरी हुर्काउने सन्दर्भमा आइपर्ने कुन सम्भाव्य समस्यालाई विचार गर्नुपर्छ?

      २० भजनरचयिताले यस्तो उद्‌घोषणा गरे: “हेर, छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌, गर्भको फलचाहिं उहाँको इनाम हो।” (भजन १२७:३) हाम्रा छोराछोरीलाई प्रशिक्षण दिन समय र प्रयास चाहिन्छ तर राम्ररी सिकाउँदा हाम्रा छोराछोरीले अनन्त जीवन पाउनसक्छन्‌। त्यो कस्तो उत्तम इनाम हुनेछ! अतः आफ्ना छोराछोरीलाई प्रशिक्षण दिंदा उत्सुकतासाथ यहोवाको अनुकरण गरौं। तथापि, आमाबाबुलाई “प्रभुको शिक्षा र चेलाउनीमा पालन-पोषण ग[र्ने]” जिम्मेवारी सुम्पिए तापनि तिनीहरू यसमा पूर्णतया सफल हुनेछन्‌ भन्‍ने कुनै ग्यारेन्टी भने छैन। (एफिसी ६:४) जस्तोसुकै राम्रो हेरचाह गरे तापनि छोराछोरी विद्रोही हुनसक्छन्‌ र यहोवालाई सेवा गर्न छाड्‌नसक्छन्‌। अनि त्यतिबेला के गर्ने? यसबारे अर्को लेखमा छलफल गरिनेछ।

      [फुटनोट]

      a यो तथा अन्य लेखमा दिइएका अनुभवहरू तपाईंको भन्दा भिन्‍न संस्कृति भएका देशहरूबाट प्राप्त भएका हुनसक्छन्‌। तर यसमा समावेश गरिएका सिद्धान्तहरू बुझ्ने र तपाईंको संस्कृतिअनुसार त्यसलाई लागू गर्ने कोसिस गर्नुहोस्‌।

      तपाईं कस्तो जवाफ दिनुहुन्छ?

      • व्यवस्था ३२:११, १२ मा वर्णन गरिएको यहोवाको प्रेम आमाबाबुले कसरी अनुकरण गर्नसक्छन्‌?

      • यहोवाले इस्राएलीहरूसँग गर्नुभएको कुराकानीबाट तपाईंले के सिक्नुभयो?

      • यहोवाले लूतको बिन्ती सुन्‍नुभएको कुराले हामीलाई कस्तो पाठ सिकाउँछ?

      • यशैया २८:२४-२९ बाट छोराछोरीलाई दिइने अनुशासनबारे के पाठ सिक्नुभयो?

      [पृष्ठ ८, ९-मा भएको चित्र]

      यहोवाले आफ्ना जनहरूलाई दिनुहुने प्रशिक्षणलाई मोशाले गरुडले आफ्ना बचेरालाई गर्ने हेरचाहसित तुलना गरे

      [पृष्ठ १०-मा भएका चित्रहरू]

      आमाबाबुले छोराछोरीको निम्ति समय निकाल्नुपर्छ

      [पृष्ठ १२-मा भएको चित्र]

      “हप्ताकै सबैभन्दा रमाइलो साँझ अध्ययनको बेला हुन्थ्यो”

  • तपाईं कसरी “उड़न्ता” छोरा वा छोरीलाई मदत गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा—२००१ | अक्टोबर १
    • तपाईं कसरी “उड़न्ता” छोरा वा छोरीलाई मदत गर्न सक्नुहुन्छ?

      “आनन्द मनाउनु . . . किनकि [त्यो] . . . हराएको थियो, पाइयो।”—लूका १५:३२.

      १, २. (क) केही युवाहरूले मसीही सच्चाइप्रति कस्तो प्रतिक्रिया देखाएका छन्‌? (ख) त्यस्तो परिस्थिति सामना गरिरहेका आमाबाबु तथा छोराछोरीले कस्तो महसुस गर्नसक्छन्‌?

      “म सच्चाइ छोड्‌दैछु!” आफ्ना छोराछोरीलाई मसीही मार्गमा हुर्काउन कडा मेहनत गरिरहेका आमाबाबुलाई यस्ता शब्दहरू सुन्‍नुपर्दा साँच्चै छाँगोबाट खसेझैं हुन्छ! अन्य कतिपय युवाहरूचाहिं आफ्नो मनसाय स्पष्ट नबताई ‘तर्केर जान्छन्‌।’ (हिब्रू २:१) यस्ता थुप्रै व्यक्‍ति येशूको दृष्टान्तको उडन्ता पुत्रसँग मिल्दोजुल्दा छन्‌, जो आफ्नो पिताको घर छोडेर टाढा देश गए र आफूसँग भएका सबै सरसम्पत्ति उडाए।—लूका १५:११-१६.

      २ प्रायजसो यहोवाका साक्षीहरूसित यस्तो समस्या नभए तापनि, यस्तो समस्या भएकाहरूलाई जस्तोसुकै सान्त्वना दिए तापनि त्यसले तिनीहरूको वेदना पूर्णतया हटाउन सक्दैन। अनि बरालिएका युवा जनहरू आफैले अनुभव गर्ने दुःख त अझ छँदैछ। आफ्नो अन्तस्करणले तिनलाई घोच्नसक्छ। येशूको दृष्टान्तमा उडन्ता पुत्रको आखिरमा ‘होश खुल्यो’ र तिनको पिता पनि आनन्दित भए। आमाबाबु र मण्डलीका अन्य सदस्यहरूले उडन्ता छोरा वा छोरीलाई “होश[मा]” आउन कसरी मदत गर्नसक्छन्‌?—लूका १५:१७.

      कसैकसैले किन सच्चाइ छोड्‌ने निर्णय गर्छन्‌

      ३. युवाहरूले मसीही मण्डली छोड्‌ने निर्णय गर्नुका केही कारणहरू के हुन्‌?

      ३ मसीही मण्डलीमा आनन्दित भएर यहोवाको सेवा गर्ने हजारौं युवाहरू छन्‌। त्यसोभए, किन कसैकसैले सच्चाइ छोड्‌छन्‌ त? तिनीहरूलाई आफूले संसारका

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने