-
ओबदिया, योना र मीकाको पुस्तकका विशेषताहरूप्रहरीधरहरा—२००७ | नोभेम्बर १
-
-
३:४—निनवेबासीहरूलाई प्रचार गर्न के योनाले अश्शूरीहरूको भाषा सिक्नुपऱ्यो? योनाले अश्शूरीहरूको भाषा पहिल्यै जानेको वा चमत्कारी ढंगमा त्यो भाषा बोल्ने क्षमता पाएको हुन सक्छ। अथवा तिनले आफ्नो सुस्पष्ट सन्देश हिब्रूमा बताएको र अरू कसैले उल्था गरिदिएको पनि हुन सक्छ। यदि तिनको सन्देश उल्था गरिएको हो भने तिनका शब्दहरूले मानिसहरूमा त्यो सन्देश बुझ्ने जिज्ञासा अझै बढाएको हुनुपर्छ।
हाम्रो लागि पाठ:
१:१-३. राज्य प्रचार गर्ने र चेला बनाउने काममा पूरापूर भाग नलिन जानाजानी अरू कामको लागि तालिका मिलाउनु भनेको गलत मनसायको संकेत हो। भन्ने हो भने, त्यसो गर्ने व्यक्ति परमेश्वरले दिएको कामबाट भागिरहेको हुन्छ।
१:१, २; ३:१०. यहोवाको कृपा एउटा राष्ट्र, जाति वा एउटा विशेष समूहमा सीमित छैन। “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्।”—भजन १४५:९.
१:१७; २:१०. योनाले माछाको पेटमा बिताएको तीन दिन, तीन रातले येशूको मृत्यु र पुनरुत्थानलाई भविष्यसूचक ढंगमा चित्रण गर्छ।—मत्ती १२:३९, ४०; १६:२१.
१:१७; २:१०; ४:६. यहोवाले योनालाई उर्लंदो समुद्रबाट बचाउनुभयो। साथै, परमेश्वरले “एउटा कुभिण्डोको रूख उमार्नुभयो, र योनाको शिरमा त्यो छाया होस् र तिनको दुःख हरण होस् भनेर त्यसलाई बढाउनुभयो।” वर्तमान समयका यहोवाका उपासकहरूले तिनीहरूलाई परमेश्वरले सुरक्षित राख्नुका साथै छुटकारा दिनुहुन्छ भनेर परमेश्वर र उहाँको करुणामा भरोसा राख्न सक्छन्।—भजन १३:५; ४०:११.
२:१, २, ९, १०. यहोवा आफ्ना सेवकहरूको प्रार्थना र बिन्ती सुन्नुहुन्छ।—भजन १२०:१; १३०:१, २.
३:८, १०. साँचो परमेश्वरले विपत्ति ल्याउने आफ्नो इच्छा ‘बदल्नुभयो’ र “उहाँले सो गर्नुभएन।” किन? किनभने निनवेबासीहरू “आफ्ना कुमार्गबाट फिरेर आए।” त्यस्तै गरी आज पनि पापीहरूले साँचो पश्चात्ताप गरेमा परमेश्वरको न्यायदण्डबाट बच्न सक्छन्।
४:१-४. कुनै मानिसले परमेश्वरको कृपालाई बाँधेर राख्न सक्दैन। परमेश्वरको कृपालु तरिकाहरूको आलोचना नगर्न हामी होसियार हुनुपर्छ।
४:११. यहोवाले १,२०,००० भन्दा धेरै निनवेबासीहरूप्रति धैर्य देखाएजस्तै आज पनि संसारभरि राज्यको सन्देश प्रचार गर्न लगाएर धैर्य देखाउनुभएको छ किनभने उहाँ ‘दाहिने र देब्रे हातै चिन्न’ नसक्ने मानिसहरूलाई टिठाउनुहुन्छ। के हामीले पनि आफ्ना इलाकाका मानिसहरूलाई टिठाउँदै राज्य प्रचार गर्ने र चेला बनाउने काममा जोसका साथ भाग लिनुपर्दैन र?—२ पत्रुस ३:९.
‘तिनीहरूका कपाल मुढाइनुपर्छ’
मीकाले इस्राएल र यहूदाको पाप पर्दाफास गर्छन् र तिनीहरूको राजधानीले भोग्ने विनाश र त्यसको पुनर्स्थापनाको प्रतिज्ञाबारे भविष्यवाणी गर्छन्। सामरिया “मैदानमा ढुङ्गाको थुप्रो” हुनेछ। मूर्तिपूजामा लागेको कारण इस्राएल र यहूदा ‘मुढाइन’ अर्थात् बेइज्जत हुन योग्यका छन्। तिनीहरूलाई कैदमा पठाएर तिनीहरूको “सबै कपाल मुढाएर गिद्धको झैं” बनाइने थियो। यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “हे याकूब, म निश्चयनै तिमीहरू सबैलाई भेला गर्नेछु।” (मीका १:६, १६; २:१२) भ्रष्ट नेता र झूटा अगमवक्ताहरूको कारण यरूशलेम पनि “भत्केको ढेर बन्नेछ।” तर यहोवाले “[आफ्ना जनहरूलाई] जम्मा” गर्नुहुनेछ। “बेतलेहेम एप्राता[बाट]” “एक जना निस्कनेछ, जो इस्राएलका शासक हुनेछ।”—मीका ३:१२; ४:१२; ५:२.
के यहोवाले इस्राएललाई पक्षपात गर्नुभएको हो? होइन। के उहाँले चाहेका कुराहरू एकदमै कडा छन्? अहँ, छैनन्। यहोवाले आफ्ना उपासकहरूलाई केवल “न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्वरसित नम्र भएर हिंड्नू” भन्नुभएको छ। (मीका ६:८) तर मीकाका समयका मानिसहरू यति खराब भएका थिए कि “तिनीहरूमध्येका सबैभन्दा असल चाहिं काँढाजस्तै . . . , सबैभन्दा सोझो चाहिं झाडीको काँढाभन्दा खराब” थिए जसले नजिक आउने जसलाई पनि हानि पुऱ्याउनुका साथै पीडा दिन्थे। तर अगमवक्ता यस्तो प्रश्न गर्छन्: “[यहोवा] जस्तो परमेश्वर को छ?” परमेश्वरले आफ्ना जनहरूलाई फेरि कृपा देखाउनुहुनेछ र ‘तिनीहरूका सबै पाप समुद्रको गहिराइमा फालिदिनुहुनेछ।’—मीका ७:४, १८, १९.
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
२:१२—‘इस्राएलका बचेकाहरूलाई जम्मा गर्ने’ भविष्यवाणी कहिले पूरा भयो? यस भविष्यवाणीको पहिलो पूर्ति ईसापूर्व ५३७ मा भयो जब बचेका यहूदीहरू बेबिलोनको निर्वासनबाट आफ्नो जन्मभूमि फर्के। आधुनिक समयमा चाहिं यस भविष्यवाणीको पूर्ति “परमेश्वरका इस्राएलमा” भएको छ। (गलाती ६:१६) सन् १९१९ देखि अभिषिक्त मसीहीहरू “गोठमा भेडा[झैं]” जम्मा गरिएका छन्। “अरू भेडा[को]” “ठूलो भीड[को]” साथ पाएर विशेष गरी सन् १९३५ देखि तिनीहरू “हल्ला गर्ने भीड” भएका छन्। (प्रकाश ७:९; यूहन्ना १०:१६) तिनीहरूले सँगसँगै साँचो उपासनालाई बढाउने काम गर्छन्।
४:१-४—“पछिल्ला दिनमा” यहोवाले कसरी “धेरै जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र टाढा टाढासम्मका सामर्थी जातिहरूको झगडाको फैसला गर्नुहुनेछ”? “धेरै जातिहरू” र “सामर्थी जातिहरू” भन्ने अभिव्यक्तिले राष्ट्रिय समूह वा राजनैतिक शक्तिलाई बुझाउँदैन। बरु, यी अभिव्यक्तिहरूले सबै राष्ट्रबाट आएका यहोवाको उपासक बनेका मानिसहरूलाई बुझाउँछ। यहोवाले आध्यात्मिक अर्थमा इन्साफ र झगडाको फैसला गर्नुहुनेछ।
हाम्रो लागि पाठ:
१:६, ९; ३:१२; ५:२. सामरियालाई मीकाकै जीवनकालमा अर्थात् ईसापूर्व ७४० मा अश्शूरीहरूले तहसनहस पारे। (२ राजा १७:५, ६) राजा हिजकियाहको शासनकालमा अश्शूरीहरू यरूशलेमसम्म आइपुगे। (२ राजा १८:१३) ईसापूर्व ६०७ मा बेबिलोनीहरूले यरूशलेमलाई जलाइदिए। (२ इतिहास ३६:१९) भविष्यवाणी गरेझैं “बेतलेहेम एप्राता[मा]” मसीहको जन्म भयो। (मत्ती २:३-६) यहोवाको भविष्यसूचक वचन कहिल्यै विफल हुँदैन।
२:१, २. परमेश्वरको सेवा गरेको दाबी चाहिं गर्ने तर “राज्य र उहाँको धार्मिकता खोजी” गर्नुको सट्टा धनको पछि लाग्नु कत्ति खतरनाक हुनेछ।—मत्ती ६:३३; १ तिमोथी ६:९, १०.
३:१-३, ५. यहोवा आफ्ना जनहरूमाझ जिम्मेवारी सँभाल्ने व्यक्तिहरू न्यायी तरिकामा चलेको चाहनुहुन्छ।
३:४. यहोवाले हाम्रो प्रार्थनाको जवाफ देऊन् भन्ने चाहन्छौं भने हामीले पाप गर्ने बानी बसाल्नु हुँदैन वा दोहोरो जीवन बिताउनु हुँदैन।
३:८. हामीलाई सुम्पिएको सुसमाचार प्रचार गर्ने काममा न्यायको सन्देश पनि छ र यो काम हामीले यहोवाको पवित्र आत्माको बल पाएमा मात्र पूरा गर्न सक्छौं।
५:५. मसीहबारेको भविष्यवाणीले हामीलाई के आश्वासन दिन्छ भने जब परमेश्वरका जनहरूलाई शत्रुहरूले आक्रमण गर्नेछन् “सात [पूर्णतालाई बुझाउँछ] गोठाला” र “आठ मुखिया” अर्थात् थुप्रै योग्य मानिसहरूलाई परमेश्वरका जनहरूमाझ अगुवाइ लिन खडा गरिन्छ।
५:७, ८. थुप्रै मानिसहरूका लागि अभिषिक्त मसीहीहरू “परमप्रभुबाट आएको शीत” अर्थात् परमेश्वरबाट पाएको आशिष् साबित भएका छन्। यस्तो हुनुको कारण के हो भने उहाँले राज्यको सन्देश घोषणा गर्न अभिषिक्त मसीहीहरूलाई चलाउनुहुन्छ। अभिषिक्त जनहरूलाई “अरू भेडा[ले]” प्रचारकार्यमा सक्रियता साथ सहयोग गरेर मानिसहरूलाई आध्यात्मिक स्फूर्ति दिन मदत गर्छन्। (यूहन्ना १०:१६) अरूलाई साँचो स्फूर्ति प्रदान गर्ने यस काममा भाग लिन पाउनु कत्ति ठूलो सुअवसर!
६:३, ४. हामीले यहोवा परमेश्वरको अनुकरण गर्दै अरूसित मिल्न नसक्ने वा आध्यात्मिक तवरमा कमजोर व्यक्तिहरूप्रति समेत दया र अनुकम्पा देखाउनुपर्छ।
७:७. यस दुष्ट रीतिरिवाजको अन्तमा समस्याहरूको सामना गर्दा हामी निराश हुनुपर्दैन। बरु, मीकाले जस्तै हामीले ‘परमेश्वरको बाटो हेर्नुपर्छ।’
७:१८, १९. यहोवा हाम्रा पापहरू क्षमा दिन इच्छुक हुनुभएकोले हामी पनि आफू विरुद्ध पाप गर्नेहरूलाई क्षमा दिन इच्छुक हुनुपर्छ।
‘परमेश्वरको नाउँमा हिंडिरहनुहोस्’
परमेश्वर र उहाँका जनहरू विरुद्ध लड्नेहरू ‘सदाको निम्ति नष्ट हुनेछन्।’ (ओबदिया १०) तर ईश्वरीय चेतावनी पालन गर्दै ‘कुमार्गबाट फिरेर’ यहोवाको रीसलाई रोक्न सक्छौं। (योना ३:१०) “पछिल्ला दिनमा” अर्थात् यी “आखिरी दिनमा” साँचो उपासना सबै झूटा धर्महरूभन्दा उच्च पारिंदैछ र आज्ञाकारीहरू यसतर्फ ओइरिएर आउँदैछन्। (मीका ४:१; २ तिमोथी ३:१) त्यसैकारण हामी ‘सदा सर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड्न’ कटिबद्ध होऔं।—मीका ४:५.
ओबदिया, योना र मीकाको पुस्तकले हामीलाई कस्तो अमूल्य पाठ सिकाउँछ! यी पुस्तकहरू २,५०० वर्षभन्दा अघि लेखिएको भए तापनि यसका सन्देशहरू अझै “जीवित र प्रबल” छन्।—हिब्रू ४:१२. (w 07 11/1)
-
-
“चाँदी मेरै हो, र सुन पनि मेरै”प्रहरीधरहरा—२००७ | नोभेम्बर १
-
-
“चाँदी मेरै हो, र सुन पनि मेरै”
ईसापूर्व छैटौं शताब्दीमा फारसका राजा कोरेसले परमेश्वरका जनहरूलाई बेबिलोनको कैदबाट छुटाए। तिनीहरूमध्ये हजारौं जना परमेश्वरको मन्दिर पुनर्निर्माण गर्न यरूशलेम फर्किए। मन्दिर ध्वस्त भएको थियो। फर्कि आउनेहरूको आर्थिक अवस्था दयनीय थियो अनि विरोधी छिमेकीहरूद्वारा पुनर्निर्माण कामको विरोध भयो। त्यसैले, पुनर्निर्माणको काममा लागेकाहरूमध्ये केहीले त, त्यो अति महत्त्वपूर्ण काम फत्ते गर्न सकिएला र भनेर पनि सोचे।
अगमवक्ता हाग्गै मार्फत यहोवाले पुनर्निर्माणको काममा जुटेकाहरूलाई आफू तिनीहरूको साथमा भएको आश्वासन दिनुभयो। उहाँले यसो भन्नुभयो: “सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।” पुनर्निर्माण कार्यमा लागेकाहरूको आर्थिक चिन्ताको बारेमा चाहिं हाग्गैले यस्तो सन्देश दिए: “चाँदी मेरै हो, र सुन पनि मेरै हो भनी सेनाहरूका परमप्रभु भन्नुहुन्छ।” (हाग्गै २:७-९) हाग्गैले यी प्रोत्साहनदायी शब्दहरू बोलेको पाँच वर्षभित्र पुनर्निर्माणको काम पूरा भयो।—एज्रा ६:१३-१५.
वर्तमान समयमा पनि हाग्गैका ती शब्दहरूले उहाँका सेवकहरूलाई परमेश्वरको उपासनासित सम्बन्धित ठूल-ठूला कामहरू गर्दा उत्प्रेरित गरेको छ। सन् १८७९ मा विश्वासी र बुद्धिमान् दास वर्गले त्यतिबेला जायन्स् वाच टावर एण्ड हेरल्ड अफ क्राइस्ट्स प्रेजेन्स भनिने यो पत्रिका प्रकाशित गर्न थाल्दा त्यहाँ यस्तो लेखिएको थियो: “हामीलाई विश्वास छ, ‘जायन्स् वाच टावरले’ यहोवाको साथ पाएको छ। यसैले सहयोगको लागि मानिसहरूसित कहिल्यै माग्ने वा हात फैलाउने छैनौं। ‘पहाडका सबै सुन र चाँदी मेरै हुन्’ भन्नुहुने परमेश्वरले जुटाइदिनुभएन भने छपाइसम्बन्धी काम बन्द गर्नुपर्ने बेला भएछ भनेर हामी बुझ्नेछौं।”
त्यसबेला देखि यो पत्रिका लगातार प्रकाशन हुँदै आएको छ। यसको पहिलो अंक जम्मा ६,००० प्रति छापिएको थियो, त्यो पनि अंग्रेजी भाषामा मात्र। आज यसको हरेक अंक १६१ भाषामा सरदर २,८५,७८,००० प्रति छापिन्छ।a प्रहरीधरहरा-को सहायक पत्रिका ब्यूँझनुहोस्! ८० भाषामा सरदर ३,४२,६७,००० प्रति छापिन्छ।
प्रहरीधरहरा-को उद्देश्य यहोवालाई ब्रह्माण्डको सर्वसत्ताधारी प्रभु मानेर उहाँलाई महिमित पार्नु अनि उहाँको राज्यको सुसमाचार घोषणा गर्नु हो र यहोवाका साक्षीहरूले यही उद्देश्यसहित थुप्रै काम गर्छन्। (मत्ती २४:१४; प्रकाश ४:११) आज साक्षीहरूको विश्वस्तता सन् १८७९ मा यस पत्रिकामा व्यक्त गरिएको जस्तै छ। आफूहरूले गरेको काममा परमेश्वरको साथ छ अनि उहाँको आशिष् भएका कामहरूका लागि खर्च उपलब्ध हुनेछ भनेर तिनीहरू विश्वास गर्छन्। तर साँच्चै भन्नुपर्दा, यहोवाका साक्षीहरूको क्रियाकलापमा लाग्ने खर्च कसरी बेहोरिन्छ? अनि संसारभरि सुसमाचार सुनाउनको लागि तिनीहरूले कस्ता कामहरू गर्दैछन्?
खर्च कसरी बेहोरिन्छ?
जनप्रचार कार्यमा भाग लिंदा मानिसहरूले यस्तो प्रश्न गरेको सुन्नु यहोवाका साक्षीहरूका लागि नौलो कुरा होइन: “यसको लागि तपाईंले पैसा पाउनुहुन्छ?” जवाफ हो, पाउँदैनन्। तिनीहरू स्वेच्छाले आफ्नो समय खर्च गर्छन्। यी प्रचारकहरूले यहोवा र उत्तम भविष्यबारे बाइबलमा गरिएको प्रतिज्ञा अरूलाई बताउन थुप्रै घण्टा बिताउँछन् किनभने तिनीहरू परमेश्वरप्रतिको कृतज्ञताले उत्प्रेरित छन्। परमेश्वरले तिनीहरूका लागि गरेका कुराको अनि सुसमाचारले तिनीहरूको आफ्नै जीवन र दृष्टिकोणमा ल्याएको ठूलो परिवर्तनको तिनीहरू मोल गर्छन्। त्यसैले, तिनीहरू यी असल कुरा अरूलाई पनि बाँड्न चाहन्छन्। यसो गर्दा, तिनीहरूले येशूले भनेको यो सिद्धान्त पालन गर्छन्: “सित्तैमा पायौ, सित्तैमा देओ।” (मत्ती १०:८) वास्तवमा, यहोवा र येशूको साक्षी बन्ने इच्छाले गर्दा नै तिनीहरू आफ्नो विश्वास मानिसहरूलाई बताउन आफ्नै गोजीबाट खर्च बेहोर्न उत्प्रेरित हुन्छन्, चाहे ती मानिसहरू टाढा-टाढा बस्ने नै किन नहून्।—यशैया ४३:१०; प्रेरित १:८.
व्यापक तवरमा प्रचार गर्न र यस कामलाई पूरा गर्न प्रयोग गरिने साधनहरू—जस्तै: छापाखाना, कार्यालय, सम्मेलन भवन, मिसनरी घर आदिको लागि धेरै खर्च चाहिन्छ। त्यो पैसा कहाँबाट आउँछ? स्वैच्छिक अनुदानबाट। यहोवाका साक्षीहरूले संगठनको कामकुराको लागि मण्डलीका सदस्यहरूबाट अनिवार्य रूपमा पैसा उठाउँदैनन्, नता प्रचारकार्यमा दिइने प्रकाशनहरूको दाम नै लिन्छन्। यदि कसैले यहोवाका साक्षीहरूको शैक्षिक कार्यलाई सहयोग गर्न अनुदान दिन चाहन्छन् भने त्यो तिनीहरू खुसीसाथ स्वीकार्छन्। आउनुहोस्, संसारभरि सुसमाचार प्रचार गर्न गरिएका प्रयासहरूको एउटा पक्षमा के-के समावेश छ, त्यो विचार गरौं। त्यो पक्ष हो—अनुवाद।
चार सय सैंतीस भाषामा प्रकाशनहरू
वर्षौंदेखि यहोवाका साक्षीहरूको प्रकाशनहरू संसारमा सबैभन्दा बढी अनुवाद गरिएका साहित्यहरूमध्ये पर्छन्। पर्चा, पुस्तिका, पत्रिका र किताब ४३७ भाषामा अनुवाद गरिएका छन्। सुसमाचार प्रचारसित सम्बन्धित अन्य क्रियाकलापमा जस्तै अनुवाद कार्यको लागि पनि निश्चय नै निकै स्रोतसाधनको आवश्यकता पर्छ। अनुवाद प्रक्रियामा वास्तवमा के-के हुन्छ?
यहोवाका साक्षीहरूको प्रकाशनहरूको सम्पादक-मण्डलले लेखहरू अंग्रेजीमा तयार पारिसकेपछि त्यसका प्रतिहरू इलेक्ट्रोनिक माध्यमद्वारा विश्वभरि छरिएर रहेका प्रशिक्षित अनुवादकहरूकहाँ पठाइन्छ। त्यसको अनुवाद गर्ने जिम्मा अनुवाद गरिने भाषाको अनुवाद टोलीले लिन्छ। कामको संख्या र अनुवाद गरिने भाषाको जटिलताको आधारमा यी
-