-
साहसी भई परमेश्वरको वचन सुनाइरहनुहोस्राज्य सेवकाई—२००५ | अक्टोबर
-
-
साहसी भई परमेश्वरको वचन सुनाइरहनुहोस्
१ हाम्रो प्रचार कार्यलाई सबैले स्वीकार्दैनन् भनेर हामी मसीहीहरूलाई थाह छ। (मत्ती १०:१४) तर मानिसहरूले जतिसुकै खराब प्रतिक्रिया देखाऊन् यसले सुसमाचार सुनाउनदेखि हामीलाई रोक्दैन। (हितो. २९:२५) साहसी भई परमेश्वरको वचन सुनाइरहन हामीलाई केले मदत गर्छ?
२ प्रेरित पावलले “ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठता[को]” मोल गरे। त्यसैले उनी परमेश्वरको वचन “ज्यादै आत्मविश्वासमा” नबोली बस्नै सकेनन्। (फिलि. ३:८; १ थिस्स. १:५) मानिसहरूले उनको सन्देश महत्त्वहीन ठाने तापनि यो ‘विश्वास गर्ने हरेकको निम्ति मुक्ति दिने परमेश्वरको शक्ति हो’ भनेर उनलाई राम्ररी थाह थियो। (रोमी १:१६) त्यसैले त जस्तोसुकै विरोध र सतावटहरू आए तापनि उनी यहोवाको ‘भरोसामा साहससित बोल्दैरहे।’—प्रेरि. १४:१-७; २०:१८-२१, २४.
३ हाम्रो बलको स्रोत: पावलले आफ्नै बल-बर्कतले यत्तिको साहसी भई साक्षी दिन सकेका होइनन्। आफू र सिलास साहसी हुन सक्नुको कारण पावल यसरी औंल्याउँछन्: “फिलिप्पीमा . . . दुःख पाई बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बोल्नालाई, अति विरोधमा पनि, हाम्रा परमेश्वरमा हामी निर्भय रह्यौं।” (१ थिस्स. २:२, छड्के अक्षर हाम्रो; प्रेरि. १६:१२, ३७) रोममा कैदी हुँदा “साहससित” निरन्तर सुसमाचार सुनाइरहन सकूँ भनेर आफ्नो निम्ति प्रार्थना गरिदिन तिनले अनुरोध समेत गरे। (एफि. ६:१८-२०) आफ्नै क्षमतामा होइन तर परमेश्वरमाथिको भरोसाले गर्दा पावल साहसी भई परमेश्वरको वचन बोलिरहन सके।—२ कोरि. ४:७; फिलि. ४:१३.
४ आज हामीले पनि साहस यहोवाद्वारै पाउँछौं। एक जना भाइलाई अफिसमा आफू यहोवाको साक्षी हुँ भनी चिनाउन र सहकर्मीहरूलाई प्रचार गर्न साह्रै गाह्रो लाग्थ्यो। तर उनले प्रार्थना गरे अनि साक्षी दिए। सुरुमा त एक जना सहकर्मीले ठाडै इन्कार गरे तर पुनरुत्थानको आशाबारे बताएपछि भने तिनी अध्ययन गर्न राजी भए। त्यसबेलादेखि उक्त भाइले प्रचार गर्ने कुनै पनि मौका खेर जान दिएनन्। पछि अर्को ठाउँमा काम गर्दा १४ वर्ष भित्रमा ३४ जना सहकर्मीहरूलाई बप्तिस्मा लिने हदसम्म उनले मदत गरे। ‘निर्भयतासाथ उहाँको वचन बोल्न’ यहोवाले हामीलाई पनि यसरी नै मदत गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।—प्रेरि. ४:२९.
-
-
दयाका कार्य गरेर अरूलाई साँचो चासो देखाउनुहोस्राज्य सेवकाई—२००५ | अक्टोबर
-
-
दयाका कार्य गरेर अरूलाई साँचो चासो देखाउनुहोस्
१ यहोवाका साक्षीहरूलाई पटक्कै मन नपराउने एउटी स्त्रीले पहिलो पटक एउटी यहोवाको साक्षीलाई भेट्दाको क्षण यसरी सम्झन्छिन्: “तिनले के-के भनिन्, त्यो त मलाई थाह छैन तर तिनको दयालुपन, आत्मियता र कोमल व्यवहारको अमेट छाप मेरो मनमा ताजै छ। हो, म साँच्चै तिनीप्रति आकर्षित भएँ।” यस भनाइले प्रचार गर्ने व्यक्तिलाई हामीले कत्तिको चासो देखाउनुपर्ने रहेछ भनेर जोड दिन्छ।—फिलि. २:४.
२ प्रेम दयालु हुन्छ: अरूलाई प्रेम देखाउने एउटा तरिका दयाका कार्य गरेर हो। (१ कोरि. १३:४) दयालु मानिसले सधैं अरूको हित चिताउँछ। ऊ अरूलाई मदत गर्न जागरूक हुन्छ। हुन त प्रचार कार्य नै एउटा दयाको कार्य हो। तर अरूलाई साँचो चासो देखाउन प्रचार गरेर मात्र पुग्दैन। मित्रैलोपन, कोमल व्यवहार, घरधनीको कुरा ध्यान दिएर सुन्नु, हामीले गर्ने कुराकानी, कुरा गर्ने शैली र हाम्रो अनुहारको भावले समेत हामी अरूको साँचो चासो राख्छौं भनेर देखिन्छ।—मत्ती ८:२, ३.
३ अरूलाई साँचो चासो देखाउँछौं भने हामी व्यावहारिक मदत गर्न अघि सर्छौं। एक जना भाइ घर-घरको प्रचार कार्य गर्दै थिए। यहोवाको साक्षी आएको थाह पाउने बित्तिकै एउटी वृद्धा विधवा हत्तपत्त पन्छिन खोजिन्। अग्रगामी भाइले ढोकाको घण्टी बजाउँदा भित्रैबाट उनले भान्छाको चिम फेर्न लागिरहेकी बताइन्। ती भाइले झट्टै जवाफ दिए, “लड्नु होला नि आमा, म मदत गरिदिऊँ कि।” उनले भाइलाई भित्र बोलाइन्। ती भाइले चिम फेरिदिए र खुरु-खुरु आफ्नो बाटो लागे। पछि आफ्नी आमाको हालखबर बुझ्न उनको छोरो आउँदा भर्खरैको घटना उनले तिनलाई बताइन्। छोरा साह्रै प्रभावित भए र भाइलाई आभार व्यक्त गर्न आतुर भए। पछि भाइलाई भटेर राम्रो कुराकानी भयो। अनि बाइबल अध्ययन गर्न राजी भए।
४ दयाका कार्य गरेर हामी अरूलाई यहोवा कत्तिको दयालु हुनुहुन्छ भनेर देखाइरहेका हुन्छौं र यसले राज्यसन्देशको शोभा पनि बढाउँछ। तसर्थ, सधैं ‘दयाका कार्यहरू गरेर आफूलाई परमेश्वरको सेवक जस्तो देखाऔं।’—२ कोरि. ६:४, ६.
-