-
घाम अडिरहन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ४९
घाम अडिरहन्छ
यहोशूलाई हेर! ऊ यसो भन्दैछ: ‘ए घाम, त जहाँ छस्, त्यहीं अडी!’ र घाम साँच्चै नै अडिरहन्छ। दिनभरि आकाशको बीचमा यहोवाले घामलाई अडाइराख्नुहुन्छ तर यहोशू किन घाम अडिरहेको चाहन्छ, हामी बुझौं।
कनान देशका पाँच जना खराब राजाले गिबोनीहरूसित लडाइँ गर्न थाल्दा गिबोनीहरूले यहोशूकहाँ मदत माग्न एक जना मान्छे पठाउँछन्। यो मान्छेले यहोशूलाई यसो भन्छ: ‘चाँडो आएर हामीलाई बचाउनुहोस्! हामी तपाईंका दासहरूसित लडाइँ गर्न पहाडी देशमा बस्ने जम्मै राजाहरू आएका छन्।’
यहोशू आफ्ना सिपाहीहरू लिएर तुरुन्तै जान्छ। उनीहरू रातभरि हिंड्छन्। उनीहरू गिबोन आइपुग्दा पाँच जना राजाका सिपाहीहरू डराएर भाग्न थाल्छन्। अनि यहोवाले आकाशबाट ठूल्ठूला असिनाहरू वर्षाउनुहुन्छ। यहोशूका सिपाहीहरूले मारेकोभन्दा पनि धेरै मान्छेहरू त असिनाको चोटले नै मर्छन्।
यहोशूले घाम अस्ताउन थालेको देख्छ। घाम अस्तायो भने त ती पाँच जना खराब राजाका धेरैजसो सिपाहीहरू उम्कनेछन्। त्यसकारण यहोशूले यहोवालाई प्रार्थना गर्छ अनि यसो भन्छ: ‘ए घाम, त जहाँ छस्, त्यहीं अडी!’ अनि घाम लागुन्जेल इस्राएलीहरूले लडाइँ सिध्याउन पाउँछन्।
कनानमा परमेश्वरका जनहरूलाई घृणा गर्ने अरू खराब राजाहरू पनि छन्। कनानका ३१ जना राजालाई हराउन यहोशू र उसको सेनालाई झन्डै छ वर्ष लाग्छ। यहोशूले त्यसपछि कनान देशलाई आफ्नो हिस्सा नपाउने कुलहरूलाई बाँड्छ।
धेरै वर्षपछि यहोशू ११० वर्षको उमेरमा मर्छ। यहोशू र उसका साथीहरू बाँचुन्जेल इस्राएलीहरूले यहोवाको आज्ञा मान्छन्। तर यी असल मान्छेहरू मरेपछि इस्राएलीहरूले खराब कुराहरू गर्न थाल्छन् र फेरि सकंटमा पर्छन्। यस्तो बेलामा उनीहरूलाई परमेश्वरको मदतको खाँचो पर्न थाल्छ।
-
-
दुइटी साहसी आइमाईबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ५०
दुइटी साहसी आइमाई
इस्राएलीहरू दुःख परेपछि यहोवालाई पुकार्थे। अनि यहोवाले उनीहरूलाई मदत गर्न साहसी नाइकेहरू पठाउनुहुन्थ्यो। यस्ता नाइकेहरूलाई बाइबलमा न्यायकर्ता भनिन्छ। सबैभन्दा पहिलो न्यायकर्ता यहोशू थियो। ऊ पछिका केही न्यायकर्ताहरूको नाउँ ओत्निएल, एहूद र शमगर थियो। तर इस्राएलीहरूलाई मदत गर्ने दुई जना आइमाईहरू पनि थिए। उनीहरूको नाउँ दबोरा र याएल थियो।
दबोरा अगमवादिनी थिई। यहोवाले उसलाई भविष्यमा हुने कुराहरू बताउनुहुन्थ्यो। त्यसपछि उसले अरूलाई यहोवाले भन्नुभएका कुरा बताउने गर्थी। दबोरा न्यायकर्ता पनि थिई। ऊ पहाडमा खजुरको रूखमुनि बस्थी। इस्राएलीहरू आ-आफ्ना समस्याहरू लिएर ऊकहाँ मदत माग्न आउँथे।
त्यतिबेला याबीन भन्ने मान्छे कनानको राजा थियो। ऊसित लडाइँ गर्न ९०० वटा रथ थिए। उसको सिपाही धेरै अनि बलियो भएकोले थुप्रै इस्राएलीहरू जबरजस्ती याबीनका दास बन्न बाध्य थिए। राजा याबीनको प्रधान सेनापतिको नाउँ सीसरा थियो।
एकदिन दबोराले न्यायकर्ता बाराकलाई बोलाएर यसो भन्छे: ‘यहोवाले तिमीलाई यस्तो आज्ञा गर्नुभएको छ: “आफूसित १०,००० मान्छेहरू लिएर ताबोर डाँडामा जा। त्यहाँ म सीसरालाई तेरो हातमा सुम्पिदिनेछु। म तँलाईं त्यो र त्यसको सेनामाथि विजयी गराउनेछु।” ’
तर बाराक दबोरालाई यसो भन्छ: ‘तपाईं मसित जानुभयो भने म जानेछु।’ दबोरा बाराकसित जान्छे। उसले बाराकलाई यसो पनि भन्छे: ‘तिमीले यो वीरताको कामबाट केही गौरव पाउने छैनौ। किनभने यहोवाले सीसरालाई एउटी आइमाईको हातमा सुम्पिदिनुहुनेछ।’ वास्तवमा त्यस्तै हुन्छ।
ताबोर डाँडाबाट ओर्लेर बाराक सीसराका सिपाहीहरूसित लड्न जान्छ। अचानक यहोवाले बाढी ल्याउनुहुन्छ र सीसराका थुप्रै सिपाहीहरू पानीमा डुबेर मर्छन्। तर सीसराचाहिं आफ्नो रथबाट ओर्लेर भाग्न थाल्छ।
केही समयपछि सीसरा याएलको पालनेर पुग्छ। याएलले उसलाई भित्र बोलाउँछे र दूध पिउन दिन्छे। दूध पिएपछि सीसरालाई झपक्क निद्रा लाग्छ र ऊ एकैछिनमा मस्त निदाउन थाल्छ। त्यसपछि याएलले पाल टाँग्ने कीला लिएर त्यो खराब मान्छेको टाउकोमा रोपिदिन्छे। पछि बाराक आउँदा याएलले मरिसकेको सीसरालाई देखाउँछे! हो, दबोराले भनेको कुरा साँचो भयो।
अन्तमा याबीन पनि मारिन्छ र केही समयका लागि इस्राएलीहरू शान्तिसित बस्न पाउँछन्।
-