-
रूथ र नाओमीबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ५१
रूथ र नाओमी
बाइबलमा रूथ नाउँ गरेको एउटा किताब छ। त्यो किताबमा न्यायकर्ताहरूको समयमा भएको एउटा परिवारको कथा छ। रूथ मोआब देशकी तरुनी थिई। ऊ परमेश्वरका जन इस्राएली थिइन। तर साँचो परमेश्वर यहोवालाई चिनेपछि रूथले उहाँलाई धेरै माया गर्न थाल्छे। नाओमीचाहिं बूढी आइमाई हुन्। उसले रूथलाई यहोवाबारे धेरै कुरा सिकाउँछे।
नाओमी इस्राएली थिई। इस्राएलमा अनिकाल परेको बेला नाओमी, उसका पति र दुई छोरा मोआब देशमा सरेका थिए। तर एकदिन नाओमीको पति मर्छ। पछि नाओमीका छोराहरूले दुइटी मोआबी केटीहरूसित बिहे गर्छन्। उनीहरूको नाउँ रूथ र ओर्पा हो। तर लगभग १० वर्षपछि नाओमीका दुई छोरा पनि मर्छन्। त्यसपछि नाओमी र ती दुइटी केटीहरू असाध्यै दुःखी हुन्छन्! अब नाओमीले के गर्छे?
नाओमी आफ्नै देश फर्कने फैसला गर्छे। रूथ र ओर्पा नाओमीसित बस्न चाहन्छन्। यसकारण उनीहरू पनि नाओमीसितै जान्छन्। तर बाटोमा अलिकता टाढा पुगेपछि नाओमी ती केटीहरूतर्फ फर्केर यसो भन्छे: ‘तिमीहरू घर फर्केर आफ्नै आमाहरूसित बस।’
नाओमीले ती दुवै केटीहरूलाई म्वाइँ खाएर बिदा गर्छे। त्यतिमै उनीहरू रुन थाल्छन्। किनभने उनीहरू नाओमीलाई धेरै माया गर्छन्। उनीहरू यसो भन्छन्: ‘होइन! हामी तपाईंसितै तपाईंका मान्छेहरूकहाँ जानेछौं।’ तर नाओमी यसो भन्छे: ‘मेरा छोरीहरू, तिमीहरू माइती फर्कनै पर्छ। तिमीहरूलाई माइतीमै राम्रो हुन्छ।’ यसकारण ओर्पा आफ्नो माइती फर्कन्छे। तर रूथचाहिं जाँदिन।
नाओमी रूथतिर फर्केर भन्छे: ‘ओर्पा त गइहाली। तिमी पनि ऊसितै फर्क।’ तर रूथ यस्तो जवाफ दिन्छे: ‘तपाईंलाई छोडेर जान मलाई कर नगर्नुहोस्! तपाईं जहाँ जानुहुन्छ, म पनि त्यहीं जानेछु, र तपाईं जहाँ बस्नुहुन्छ, म पनि त्यहीं बस्नेछु। तपाईंका मान्छेहरू मेरा मान्छेहरू हुनेछन्, तपाईंका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीं मर्नेछु र म पनि त्यहीं गाडिनेछु।’ रूथले यसो भनिसकेपछि नाओमीले फेरि उसलाई माइती पठाउने कोसिस गर्दिन।
अन्तमा ती दुइटी आइमाई इस्राएल पुग्छन्। उनीहरू त्यहीं बस्छन्। रूथ तुरुन्तै खेतमा काम गर्न थाल्छे। किनभने त्यतिखेर जौ काट्ने बेला भइसकेको थियो। बोअज नाउँ भएको एक जना मान्छेले रूथलाई उसको खेतमा जौ काट्न दिन्छ। बोअजकी आमा को हो, तिमीलाई थाह छ? यरीहो सहरकी राहाब बोअजकी आमा हो।
एकदिन बोअजले रूथलाई यसो भन्छ: ‘मैले तिम्रो विषयमा सबै कुरा सुनिसकेको छु। तिमीले नाओमीलाई कति दया देखायौ र तिमी कसरी आफ्नो आमाबाबु र आफ्नो देश छाडेर पहिले कहिल्यै नचिनेका मान्छेहरूबीच बस्न आयौ, सबै मलाई थाह छ। यहोवाले तिम्रो भलो गरून्।’
रूथले यसो भनेर जवाफ दिई: ‘हजुर, तपाईंले पनि मलाई धेरै दया देखाउनुभएको छ। मसित यति राम्ररी बोल्नुभएकोले मलाई धेरै नै सजिलो लाग्यो।’ बोअजले रूथलाई धेरै मन पराउँछ र चाँडै उनीहरूको बिहे हुन्छ। यो देखेर नाओमी असाध्यै खुसी हुन्छे! रूथ र बोअजले जेठो छोरा ओबेद जन्माएपछि नाओमी झनै खुसी हुन्छे! पछि ओबेद दाऊदको बाजे बन्छ। दाऊदबारे हामी पछि अझ धेरै कुरा सिक्नेछौं।
रूथको पुस्तक।
-
-
गिदोन र उसका ३०० मान्छेबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ५२
गिदोन र उसका ३०० मान्छे
चित्रमा के हुँदैछ, हेर। यिनीहरू सबै इस्राएलका सिपाहीहरू हुन्। उनीहरू घोप्टो परेर पानी पिउँदैछन्। छेउमा उभिरहेको मान्छेचाहिं न्यायकर्ता गिदोन हो। आफ्ना सिपाहीहरूले कसरी पानी पिउँछन्, ऊ हेरिरहेको छ।
तिमी पनि मान्छेहरूले कसरी पानी पिउँदैछन् हेर त। केहीले पानीसम्मै मुख लगेर पिइरहेका छन्। एक जनाले चाहिं पानी आफ्नो हातमा लिएर पिउँदैछ। ऊ आफ्नो वरिपरि के भइरहेको छ भनेर पनि हेरिरहेको छ। यहोवाले वरिपरि हेर्दै पानी पिउने मान्छेहरू मात्र रोज्न लगाउनुहुन्छ। बाँकीलाई उहाँले घर फर्कन लगाउनुहुन्छ। किन तिमीलाई थाह छ?
इस्राएलीहरू फेरि ठूलो संकटमा परेका छन्। किनभने उनीहरूले यहोवाको आज्ञा पालन गरेनन्। इस्राएलीहरूभन्दा शक्तिशाली मिद्यानका मान्छेहरूले अहिले उनीहरूलाई दुःख दिइरहेका छन्। यसकारण इस्राएलीहरूले यहोवालाई पुकार्छन्। यहोवाले उनीहरूको पुकारा सुनेर मदत गर्नुहुन्छ।
यहोवाले गिदोनलाई फौज तयार गर्न लगाउनुहुन्छ। त्यसकारण गिदोनले ३२,००० मान्छे जम्मा गर्छ। तर इस्राएलीहरूसित लड्न भनेर १,३५,००० शत्रु सिपाहीहरू आइसकेका हुन्छन्। तैपनि यहोवाले गिदोनलाई यसो भन्नुहुन्छ: ‘तँसित धेरै मान्छे भयो।’ यहोवाले किन त्यसो भन्नुभएको होला?
किनभने इस्राएलीहरू धेरै भए भने उनीहरूले आफ्नै शक्तिले मिद्यानीहरूलाई जितेको भन्ठान्न सक्छन्। उनीहरूले यहोवाको मदत चाहिंदैन भनी सोच्न सक्छन्। त्यसकारण यहोवाले गिदोनलाई यसो भन्नुहुन्छ: ‘जस-जसलाई लडाइँ गर्न डर लागिरहेको छ, उनीहरू सबैलाई घर फर्कन भनिदे।’ गिदोनले त्यसो गर्दा २२,००० मान्छेहरू घर फर्कन्छन्। अब १,३५,००० मिद्यानी सिपाहीहरूसित लड्न गिदोनसित १०,००० मान्छे मात्र हुन्छन्।
तर यहोवाले फेरि यसो भन्नुहुन्छ: ‘तँसित अझ धेरै मान्छे भयो।’ उहाँले गिदोनलाई खोलामा इस्राएलीहरूलाई पानी पिउन लगाउन अह्राउनुहुन्छ। जस-जसले खोलासम्मै मुख लगेर पानी पिउँछ, उनीहरू जम्मैलाई यहोवाले घर फर्कन लगाउनुहुन्छ। त्यसपछि यहोवाले ‘यताउता हेर्दै पानी पिउने ३०० जना मान्छेद्वारा विजयी तुल्याउँछु’ भनेर गिदोनसित प्रतिज्ञा गर्नुहुन्छ।
गिदोनले आफ्ना ३०० जना सिपाहीहरूलाई तीन समूहमा विभाजित गर्छ। उसले हरेक सिपाहीलाई एउटा तुरही र एउटा गाग्रो दिन्छ। अनि उनीहरू सबैलाई गाग्रोभित्र बलिरहेको राँको बोक्न लगाउँछ। मध्यरातमा उनीहरूले शत्रुको छाउनीलाई चारैतिरबाट घेर्छन्। तब सबैले एकै चोटि आ-आफ्ना तुरही फुक्छन्, गाग्रो फुटाउँछन् र यसो भन्दै कराउँछन्: ‘यहोवाको निम्ति र गिदोनको निम्ति तरबार!’ सुतिरहेका शत्रु सिपाहीहरू अलमलमा परेर डराउँछन्। उनीहरू सबै भाग्न थाल्छन्। यसरी इस्राएलीहरूले मिद्यानीहरूलाई लडाइँमा हराउँछन्।
-