-
यिप्तहको भाकलबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ५३
यिप्तहको भाकल
के तिमीलाई कहिल्यै आफूले गर्छु भनेको कुरा पूरा गर्न गाह्रो भएको छ? यो चित्रमा तिमीले देखिरहेको मान्छेलाई एक चोटि त्यस्तै भएको थियो। हेर त, ऊ कत्ति दुःखी देखिन्छ। ऊ इस्राएलको वीर न्यायकर्ता यिप्तह हो।
यिप्तहको समयमा इस्राएलीहरूले यहोवाको उपासना गर्न छोडिसकेका थिए। उनीहरूले फेरि नराम्रो काम गरिरहेका थिए। यसकारण अम्मोनका मान्छेहरूले इस्राएलीहरूलाई दुःख दिंदा यहोवाले केही पनि गर्नुहुन्न। तर इस्राएलीहरू यहोवालाई यसो भन्दै पुकार्न थाल्छन्: ‘हामीले तपाईंको विरुद्धमा पाप गऱ्यौं। कृपया, हामीलाई बचाउनुहोस्!’
इस्राएलीहरू आफूले गरेका गल्तीहरूका लागि धेरै दुःखी छन्। उनीहरू फेरि यहोवाको उपासना गर्न थाल्छन्। यसकारण यहोवाले उनीहरूलाई फेरि दया देखाउनुहुन्छ।
खराब अम्मोनीहरूसित लडाइँ गर्न इस्राएलीहरू यिप्तहलाई रोज्छन्। यिप्तह यो लडाइँ जित्न यहोवाले मदत गरून् भनेर चाहन्छ। यसकारण उसले यहोवालाई यस्तो भाकल गर्छ: ‘अम्मोनीहरूलाई लडाइँमा हराउन मलाई मदत गर्नुभयो भने म घर फर्कंदा मेरो घरबाट मलाई भेट्न निस्कने पहिलो मान्छे तपाईंलाई दिनेछु।’
यहोवाले यिप्तहको भाकल स्वीकार्नुहुन्छ र उसलाई विजयी हुन मदत गर्नुहुन्छ। यिप्तह घर फर्कंदा उसलाई भेट्न सबैभन्दा पहिला को आउँछ, तिमीलाई थाह छ? उसको एक मात्र सन्तान, उसकी एक्ली छोरी। आफ्नी छोरीलाई देखेर यिप्तह रुन थाल्छ: ‘हे मेरी छोरी! तिमीले कस्तो कष्ट ममाथि ल्यायौ! किनभने मैले यहोवासित भाकल गरेको छु र त्यसलाई म टार्न सक्तिनँ।’
यिप्तहकी छोरी आफ्नो बुबाको भाकल थाह पाएपछि सुरुमा असाध्यै दुःखी हुन्छे। किनभने आफ्नो बुबाको भाकल पूरा गर्न उसले आफ्नो बुबा अनि सबैलाई छोडेर जानुपर्छ। उसले शिलो भन्ने ठाउँमा यहोवाको बासस्थानमा गएर आफ्नो बाँकी जीवन बिताउनुपर्छ। तर ऊ आफ्नो बुबालाई यसो भन्छे: ‘तपाईंले यहोवासित गर्नुभएको भाकल पूरा गर्नै पर्छ।’
यसकारण यिप्तहकी छोरी शिलो जान्छे र उसले यहोवाको बासस्थानमा सेवा गर्दै आफ्नो बाँकी जीवन बिताउँछे। इस्राएली केटीहरू हरेक वर्ष उसलाई भेट्न जान्छन् र त्यहाँ उनीहरू चार दिनसम्म रमाइलो गर्छन्। इस्राएलीहरू यिप्तहकी छोरीलाई माया गर्छन्। किनभने ऊ यहोवाको असल सेवक हो।
-
-
सबैभन्दा बलियो मान्छेबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ५४
सबैभन्दा बलियो मान्छे
संसारको सबैभन्दा बलियो मान्छेको नाउँ के हो, तिमीलाई थाह छ? उसको नाउँ शिमशोन हो। ऊ इस्राएलको न्यायकर्ता थियो। तर शिमशोनलाई यहोवाले बलियो बनाउनुभएको थियो। शिमशोन जन्मिनुअघि नै यहोवाले उसकी आमालाई यसो भन्नुभएको थियो: ‘चाँडै तिमीले एउटा छोरो जन्माउनेछौ। उसले इस्राएलीहरूलाई पलिश्तीहरूको हातबाट बचाउनेछ।’
पलिश्तीहरू कनानमा बस्ने खराब मान्छेहरू हुन्। उनीहरूसित थुप्रै लडाकू छन्। पलिश्तीहरूले इस्राएलीहरूलाई धेरै दुःख दिन्छन्। एकदिन शिमशोन पलिश्तीहरू बस्ने ठाउँतिर गइरहेको बेला एउटा ठूलो सिंह गर्जंदै आउँछ। तर शिमशोनले त्यो सिंहलाई आफ्नो हातैले मार्छ। उसले सयौं खराब पलिश्तीहरूलाई पनि मार्छ।
केही समयपछि, शिमशोनले दलीला नाउँ भएकी केटीलाई प्रेम गर्न थाल्छ। दलीलाले शिमशोन किन बलियो भएको हो, पत्ता लगाएर पलिश्तीहरूका मुखियाहरूलाई बताउन सकी भने हरेक मुखियाले उसलाई १,१०० चाँदीका टुक्राहरू दिने भाकल गरेका हुन्छन्। दलीला जम्मै पैसा पाउन खोज्छे। ऊ शिमशोन अथवा परमेश्वरका जनहरूको असल साथी थिइन। यसकारण उसले शिमशोनलाई ऊ कसरी यत्ति बलियो भएको भनेर सोधिरहन्छे।
अन्तमा दलीलाले शिमशोनलाई उसको बलको रहस्य भन्न लगाइछाड्छे। शिमशोनले आफ्नो गुप्त कुरा यसरी बताउँछ: ‘मेरो कपाल कहिल्यै खौरिएको छैन। किनभने म जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुँ। मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ।’
यो थाह पाएपछि दलीलाले शिमशोनलाई आफ्नो काखमा सुताउँछे। त्यसपछि उसले एक जना मान्छेलाई भित्र बोलाएर शिमशोनको कपाल काट्न लगाउँछे। शिमशोन निद्राबाट उठ्दा त उसको बल गइसकेको हुन्छ। त्यसपछि पलिश्तीहरूले उसलाई पक्रेर लैजान्छन्। उनीहरूले उसका दुवै आँखा निकालिदिन्छन् र उसलाई आफ्नो दास बनाउँछन्।
एकदिन पलिश्तीहरूले दागोन देवताको पूजा गर्न ठूलो भोज लगाउँछन्। शिमशोनलाई गिज्याउन उनीहरूले उसलाई जेलबाट निकालेर ल्याउँछन्। यतिखेरसम्म शिमशोनको कपाल फेरि पलाइसकेको हुन्छ। उसले आफ्नो हात समातेर बाटो देखाइदिने केटोलाई यसो भन्छ: ‘यो घरलाई थाम्ने खम्बाहरू मलाई छाम्न देऊ।’ त्यसपछि शिमशोनले यहोवासित प्रार्थना गरेर बल माग्छ। अनि खम्बाहरूलाई समातेर ऊ यसो भन्दै कराउँछ: ‘मलाई पनि पलिश्तीहरूसँगै मर्न दिनुहोस्।’ त्यतिखेर भोज मनाउन भनेर ३,००० पलिश्तीहरू भेला भएका हुन्छन्। शिमशोनले घोप्टो परेर खम्बाहरूलाई ठेल्दा पूरै घर गर्ल्यामगुर्लुम ढल्छ र घरले थिचेर सबै खराब पलिश्तीहरू मर्छन्।
-