प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सुलेमानको राज्य टुक्रिन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
    • योराबामसित कुरा गर्दै गर्दा भविष्यवक्‍ता अहियाहले आफ्नो लुगा च्यात्छन्‌

      कथा ६५

      सुलेमानको राज्य टुक्रिन्छ

      यो मान्छेले किन आफ्नो लुगा च्यातेर टुक्रा-टुक्रा पार्दैछ, तिमीलाई थाह छ? यहोवाले नै उसलाई त्यसो गर्न लगाउनुभएको हो। यो मान्छे परमेश्‍वरको अगमवक्‍ता अहियाह हो। अगमवक्‍ता भनेको के हो, तिमीलाई थाह छ? अगमवक्‍ता भनेको त्यस्तो मान्छे हो, जसलाई परमेश्‍वरले पछि हुने कुराहरू पहिल्यै बताउनुहुन्छ।

      यहाँ अहियाह यारोबामसित कुरा गर्दैछ। सुलेमानले यारोबामलाई घरहरू बनाउने काम दिएको थियो। अहियाहले यारोबामलाई बाटोमा भेट्‌दा उसले एउटा अनौठो काम गर्छ। उसले आफूले लगाइराखेको नयाँ लुगा च्यातेर १२ टुक्रा पार्छ। अनि उसले यारोबामलाई यसो भन्छ: ‘यसबाट १० टुक्रा लैजाऊ।’ अहियाहले यारोबामलाई किन १० टुक्रा दिएको होला, तिमीलाई थाह छ?

      यहोवाले अब सुलेमानको हातबाट राज्य खोस्नुहुनेछ भनेर अहियाहले सुनाउँछ। यहोवाले १० वटा गोत्रचाहिं यारोबामलाई दिनुहुनेछ। सुलेमानको छोरा रहबामले दुई वटा गोत्रमाथि मात्र राज्य गर्न पाउनेछ।

      अहियाहले यारोबामलाई भनेको कुरा सुनेपछि सुलेमान धेरै रिसाउँछ। उसले यारोबामलाई मार्न खोज्छ। तर यारोबाम भागेर मिश्र जान्छ। केही समयपछि सुलेमानको मृत्यु हुन्छ। उसले ४० वर्षसम्म इस्राएलमा शासन गऱ्‍यो। अब उसको छोरा रहबाम राजा हुन्छ। सुलेमान मरेको खबर पाएपछि यारोबाम मिश्रबाट इस्राएल फर्केर आउँछ।

      रहबाम असल राजा होइन। उसले आफ्नो बुबा सुलेमानले भन्दा पनि क्रूर व्यवहार गर्छ। यो देखेर यारोबाम र अरू नाइकेहरू रहबामकहाँ जान्छन्‌ र प्रजासित राम्रो व्यवहार गर्नुपऱ्‍यो भन्छन्‌। तर रहबामले सुन्दैन। उसले पहिलेभन्दा झन्‌ निर्दयी व्यवहार गर्छ। यसकारण इस्राएलीहरूले यारोबामलाई १० कुलको राजा बनाउँछन्‌। तर बिन्यामीन र यहूदाका कुलले चाहिं रहबामलाई नै राजा मान्छ।

      यारोबाम आफ्नो प्रजाले यरूशलेममा गएर यहोवाको मन्दिरमा उपासना गरेको मन पराउँदैन। यसकारण उसले सुनको दुई वटा बाछा बनाउँछ र १० गोत्रे राज्यका मान्छेहरूलाई त्यही बाछाको पूजा गर्न लगाउँछ। यसले गर्दा चाँडै देशभरि अपराध र हिंसा फैलन्छ।

      दुई गोत्रे राज्यमा पनि गोलमाल हुन्छ। रहबाम राजा भएको पाँच वर्ष नबित्दै मिश्रको राजा लडाइँ गर्न यरूशलेम आइपुग्छ। उसले यहोवाको मन्दिरबाट थुप्रै बहुमूल्य सामानहरू लुटेर लैजान्छ। यसरी सुलेमानले बनाएको मन्दिर पछिसम्म त्यही अवस्थामा रहँदैन।

      १ राजा ११:२६-४३; १२:१-३३; १४:२१-३१.

      अध्ययनका लागि प्रश्‍नहरू

  • ईजेबेल—दुष्ट रानी ईजेबेल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
    • रानी ईजेबेललाई झ्यालबाट फ्याक्न लागिरहेका दरबारका मानिसहरू

      कथा ६६

      दुष्ट रानी ईजेबेल

      राजा यारोबाम मरेपछि उत्तरको १० गोत्रे इस्राएल राज्यको सबै राजा खराबै मात्र हुन्छन्‌। सबैभन्दा खराबचाहिं आहाब हुन्छ। किन, तिमीलाई थाह छ? आहाब खराब हुनुको मुख्य कारण, उसकी पत्नी दुष्ट रानी ईजेबेल हो।

      ईजेबेल इस्राएली थिइन। ऊ सिदोनको राजाकी छोरी थिई। अनि ऊ झूटो देवता बालको पूजा गर्थी। उसले आहाब र थुप्रै इस्राएलीहरूलाई पनि बालको पूजा गर्न लगाई। ईजेबेल यहोवालाई घृणा गर्थी। उसले यहोवाका थुप्रै अगमवक्‍ताहरूको हत्या गरी। अरू अगमवक्‍ताहरू चाहिं ज्यान जोगाउन गुफाहरूमा लुक्न गए। ईजेबेल आफूले चाहेको कुरा पाउन जसलाई मार्न पनि तयार हुन्थी।

      एकदिन राजा आहाब असाध्यै दुःखी हुन्छ। यसकारण ईजेबेलले उसलाई सोध्छे: ‘तपाईं किन यति उदास हुनुहुन्छ?’

      आहाबले यस्तो जवाफ दिन्छ: ‘मलाई नाबोतको दाखबारी किन्‍न मन लागेको थियो। तर नाबोत त्यो बेच्न चाहँदैन।’

      अनि ईजेबेल यसो भन्छे: ‘उदास नहुनुहोस्‌। म त्यो तपाईंलाई उपहार दिनेछु।’

      यसपछि ईजेबेलले नाबोत बस्ने सहरका केही नाइकेहरूलाई यसो भन्दै चिठी पठाउँछे: ‘नाबोतले परमेश्‍वर र राजालाई सराप्यो भनेर दोष लगाउन दुई-चार जना नीच मान्छेहरू खोज। अनि नाबोतलाई सहरबाहिर ढुंगाले हानेर मार।’

      नाबोत मरेको खबर पाउने बित्तिकै ईजेबेलले आहाबलाई यसो भन्छे: ‘अब जानुहोस्‌ र उसको दाखबारी लिनुहोस्‌।’ यस्तो दुष्ट काम गर्ने ईजेबेलले पक्कै पनि सजाय पाउनुपर्छ!

      यसकारण केही समयपछि ईजेबेललाई सजाय दिन यहोवाले येहू भन्‍ने मान्छे पठाउनुहुन्छ। येहू आउँदैछ भन्‍ने खबर पाउने बित्तिकै ईजेबेल गाजल लाउँछे र आफूलाई राम्री बनाउन खोज्छे। तर येहू आएर ईजेबेललाई झ्यालमा देखेपछि उसले दरबारभित्रका मान्छेहरूलाई तलबाट यसो भन्छ: ‘त्यसलाई तल झारिदेओ!’ उनीहरूले त्यसै गर्छन्‌। यो चित्रमा तिमीले देखेझैं उनीहरूले ईजेबेललाई तल फालिदिन्छन्‌ र ऊ मर्छे। दुष्ट रानी ईजेबेलको यसरी अन्त हुन्छ।

      १ राजा १६:२९-३३; १८:१-४; २१:१-१६; २ राजा ९:३०-३७.

      अध्ययनका लागि प्रश्‍नहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने