-
इस्राएलको अन्तिम असल राजाबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ७३
इस्राएलको अन्तिम असल राजा
इस्राएलको दुई गोत्रे राज्यको राजा बन्दा योशियाह आठ वर्षको मात्र थियो। उसको उमेर धेरै कम भएकोले सुरुसुरुमा ठूलो उमेरका मान्छेहरूले उसलाई राज्य चलाउन मदत गर्छन्।
आफू राजा भएको सात वर्षपछि योशियाहले यहोवाको खोजी गर्न थाल्छ। उसले दाऊद, यहोशापात र हिजकियाहजस्ता असल राजाहरूको सिको गर्छ। किशोरावस्थामै छँदा योशियाहले एउटा साहसी काम गर्छ।
इस्राएलीहरूले खराब काम गर्न थालेको निकै लामो समय भइसकेको थियो। उनीहरू झूटा देवताहरूको उपासना गर्थे। उनीहरू मूर्तिलाई ढोग्थे। यसकारण योशियाहले आफ्नो देशबाट झूटो उपासना हटाउन सुरु गर्छ। यो चानचुने काम थिएन। किनभने झूटा देवताहरूको उपासना गर्ने थुप्रै मान्छेहरू थिए। चित्रमा हेर त। योशियाह र उसका मान्छेहरूले मूर्तिहरू फोड्दैछन्।
यसपछि यहोवाको मन्दिरको मर्मत गर्न योशियाहले तीन जना मान्छे खटाउँछ। मन्दिरको मर्मत गर्न मान्छेहरूबाट पैसा जम्मा गरिन्छ र त्यो पैसा ती तीन जनालाई दिइन्छ। मन्दिरमा काम गरिरहेको बेलामा प्रधान पूजाहारी हिल्कियाहले अत्यन्तै महत्त्वपूर्ण कुरा फेला पार्छ। उसले फेला पारेको त्यो कुरा यहोवाले धेरै वर्षअघि मोशालाई लेख्न लाउनुभएका नियमहरूको किताब थियो। यो किताब हराएको धेरै वर्ष भइसकेको थियो।
त्यसपछि त्यो किताबलाई योशियाहकहाँ लगिन्छ अनि उसले त्यसलाई पढ्न लगाउँछ। किताबमा भएका कुराहरू सुन्दै जाँदा मान्छेहरूले यहोवाका आज्ञाहरू पालन गरेका रहेनछन् भनी उसलाई थाह हुन्छ। ऊ असाध्यै दुःखी हुन्छ र आफूले लगाएको लुगासमेत च्यात्छ। चित्रमा हेर त। त्यसपछि उसले यसो भन्छ: ‘यहोवा हामीसित रिसाउनुभएको छ। किनभने हाम्रा पुर्खाहरूले यो किताबमा लेखिएका आज्ञाहरू पालन गरेनन्।’
अब यहोवाले के गर्नुहुनेछ भनेर पत्ता लगाउन योशियाहले हिल्कियाहलाई अह्राउँछ। हिल्कियाहले अगमवादिनी हुल्दाकहाँ गएर सोध्छ। ऊ योशियाहलाई यहोवाको यस्तो खबर पठाउँछे: ‘यरूशलेम र त्यहाँका जम्मै मान्छेहरूलाई दण्ड दिइनेछ। किनभने उनीहरूले झूटा देवताहरूको उपासना गरेका छन् र देशलाई नराम्रो कामले भरेका छन्। तर तिमी योशियाहले चाहिं असल काम गरेको हुनाले तिमी मरेपछि मात्र यो दण्ड दिइनेछ।’
-
-
निडर मान्छेबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ७४
निडर मान्छे
चित्रमा हेर त, मान्छेहरूले त्यो युवकलाई कस्तो ठट्टामा उडाइरहेका छन्। यो युवक को हो तिमी भन्न सक्छौ? ऊ यर्मिया हो। ऊ परमेश्वरको महत्त्वपूर्ण अगमवक्ताहरूमध्ये एक हो।
राजा योशियाहले आफ्नो देशबाट मूर्तिहरू हटाउन थालेको केही समयपछि नै यहोवाले यर्मियालाई आफ्नो अगमवक्ता बनाउनुहुन्छ। आफ्नो उमेर कम भएकोले सुरुमा त यर्मिया अगमवक्ता हुन मान्दैन। तर यहोवाले मदत गर्छु भन्नुभएपछि उसले मान्छ।
यर्मियाले इस्राएलीहरूलाई खराब काम गर्न छोड्न भन्छ। उसले यसो भन्छ: ‘अरू जातिको मान्छेले पूज्ने देवताहरू झूटा हुन्।’ तर थुप्रै इस्राएलीहरू साँचो परमेश्वर यहोवाको उपासना गर्नुको सट्टा मूर्तिहरूकै उपासना गर्न मन पराउँछन्। दुष्ट काम गरेकोले उनीहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ भन्दा मान्छेहरू यर्मियाको ठट्टा गर्दै हाँस्छन्।
वर्षौं बित्छ। योशियाह पनि मर्छ र ऊ मरेको तीन महिनापछि उसको छोरो यहोयाकीम राजा हुन्छ। ‘तिमीहरूले खराब काम गर्न छाडेनौ भने यरूशलेम नाश हुनेछ’ भनेर यर्मिया मान्छेहरूलाई भनिरहन्छन्। तर पूजाहारीहरू यर्मियालाई समातेर यसो भन्दै कराउँछन्: ‘यस्तो कुरा गर्ने मान्छेलाई त मार्नुपर्छ।’ पूजाहारीहरू इस्राएलका शासकहरूलाई यसो भन्छन्: ‘यर्मियालाई मार्नुपर्छ। किनभने त्यसले हाम्रो सहरको विरुद्धमा बोलेको छ।’
अब यर्मियाले के गर्ला? ऊ डराउँदैन! बरु उसले उनीहरू सबैलाई यसो भन्छ: ‘तिमीहरूलाई यो कुरा भन्न मलाई यहोवाले पठाउनुभएको हो। तिमीहरूले खराब काम छाडेनौ भने उहाँले यरूशलेमलाई नाश गर्नुहुनेछ। तिमीहरूले मलाई माऱ्यौ भने निर्दोष मान्छेलाई मारेको हुनेछ भनेर तिमीहरूले नबिर्स।’
शासकहरूले यर्मियालाई मार्दैनन्। इस्राएलीहरूले पनि नराम्रो काम गर्न छोड्दैन। पछि, बाबेलका राजा नबूकदनेसर आएर यरूशलेमसित लडाइँ गर्छ। अन्तमा, नबूकदनेसरले इस्राएलीहरूलाई आफ्नो कमारा बनाउँछ। उसले हजारौं इस्राएलीहरूलाई पक्रेर बाबेल लैजान्छ। कहिल्यै नचिनेको मान्छेले तिमीलाई घरबाट टाढा लग्यो भने तिमीलाई कस्तो लाग्ला, सोच त।
-