-
येशूको जन्मदेखि मृत्युसम्मबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
भाग ६
येशूको जन्मदेखि मृत्युसम्म
परमेश्वरले मरियम नाउँकी एउटी असल युवतीकहाँ गब्रिएल स्वर्गदूतलाई पठाउनुहुन्छ। मरियमले एउटा बालक जन्माउनेछे र त्यो बालक सधैंभरि शासन गर्ने राजा हुनेछ भनी स्वर्गदूतले मरियमलाई बताउँछन्। त्यो बालक येशू हुनुहुन्थ्यो। उहाँको जन्म गोठमा भयो। उहाँ जन्मनु हुँदा गोठालाहरू उहाँलाई भेट्न आएका थिए। केही समयपछि पूर्वका मान्छेहरूलाई एउटा ताराले डोऱ्याउँदै यो सानो बालक भएको ठाउँमा ल्याउँछ। तर वास्तवमा त्यो तारालाई चलाएर पूर्वका मान्छेहरूलाई येशूसम्म पुऱ्याउने को थियो? अनि येशूलाई मार्ने प्रयास कसरी विफल भयो? यी कुराहरू हामी यो भागमा सिक्नेछौं।
यसपछि १२ वर्षको उमेरमै येशूले मन्दिरका शिक्षकहरूसित कुरा गर्नुभएको विषयमा हामी पढ्नेछौं। यसको १८ वर्षपछि येशूले बप्तिस्मा लिनुहुन्छ। बप्तिस्मापछि, उहाँले परमेश्वरको राज्यको प्रचार गर्न र सिकाउन सुरु गर्नुहुन्छ। परमेश्वरले उहाँलाई यही काम गर्न पृथ्वीमा पठाउनुभएको थियो। यो काम पूरा गर्न येशूले १२ जनालाई छानेर आफ्ना प्रेरितहरू बनाउनुहुन्छ।
येशूले थुप्रै अचम्मलाग्दा कामहरू पनि गर्नुहुन्छ। उहाँले केही साना माछा र रोटीले हजारौंको पेट भर्नुहुन्छ। उहाँले बिरामीहरूलाई निको पार्नुहुन्छ र मरेकाहरूलाई समेत बिउँताउनुहुन्छ। अन्तमा, येशूले मर्नुभन्दा अगाडि के-के गर्नुभयो अनि उहाँ कसरी मारिनुभयो, त्यसबारे पनि हामी सिक्नेछौं। येशूले लगभग साढे तीन वर्षसम्म प्रचार गर्नुहुन्छ। भाग ६ मा लगभग ३४ वर्षमा भएका घटनाहरूबारे हामी पढ्नेछौं।
-
-
एउटा स्वर्गदूत मरियमलाई भेट्न आउँछन्बाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ८४
एउटा स्वर्गदूत मरियमलाई भेट्न आउँछन्
यो राम्री युवती मरियम हो। ऊ इस्राएली हो र नासरत सहरमा बस्छे। मरियम असल व्यक्ति हो भनेर परमेश्वरलाई थाह छ। यसैकारण उहाँले आफ्नो स्वर्गदूत गब्रिएललाई ऊसित कुरा गर्न पठाउनुहुन्छ। गब्रिएलले उसलाई के भन्छन्, तिमीलाई थाह छ?
गब्रिएल उसलाई यसो भन्छन्: ‘हे कृपाको पात्र, तिमीलाई सलाम। यहोवा तिमीसँग हुनुहुन्छ।’ तर मरियमले यस व्यक्तिलाई पहिले कहिल्यै देखेकी थिइन। गब्रिएलले के भन्न खोजेका हुन्, त्यो नबुझेर मरियम आत्तिन्छे। तर गब्रिएल उसलाई तुरुन्तै शान्त पार्छन्।
गब्रिएल यसो भन्छन्: ‘मरियम नडराऊ। यहोवा तिमीसित असाध्यै खुसी हुनुहुन्छ। उहाँले तिम्रो लागि अचम्मको काम गर्न लाग्नुभएको छ। अब तिमीले छिट्टै एउटा बालक जन्माउनेछ्यौ। तिमीले उसको नाउँ येशू राख्नू।’
गब्रिएल अझ यसो पनि भन्छन्: ‘यो बालक महान् हुनेछ। उहाँ परमप्रधान परमेश्वरको छोरा कहलाइनुहुनेछ। यहोवाले उहाँलाई दाऊदजस्तै राजा बनाउनुहुनेछ। येशू सधैंको निम्ति राजा हुनुहुनेछ। उहाँको राज्यको कहिल्यै अन्त हुनेछैन!’
गब्रिएलको कुरा सुनेर छक्क पर्दै मरियम सोध्छे: ‘यो कसरी हुन सक्छ र? मेरो बिहे नै भएको छैन। मैले कसरी बच्चा जन्माउन सक्छु र?’
गब्रिएल यस्तो जवाफ दिन्छन्: ‘तिमीले परमेश्वरको शक्ति पाउनेछौ। यसकारण तिमीले जन्माउने बालक परमेश्वरको छोरा कहलाइनेछ। तिम्रै नातेदार इलीशिबालाई सम्झ। उसको बच्चा जन्माउने उमेर गइसक्यो भनेर मान्छेहरू भन्थे। तर अहिले बुढेसकालमा उसको पेटमा छोरो छ। किनकि, परमेश्वरका लागि केही कुरा असम्भव छैन।’
ग्रब्रिएलको कुरा सुनेपछि मरियम तुरुन्तै यसो भन्छे: ‘हेर्नुहोस्, म यहोवाकी दासी हुँ! मलाई तपाईंको वचनअनुसार होस्।’ यसपछि स्वर्गदूत गइहाल्छन्।
त्यसपछि मरियम हतारिंदै इलीशिबालाई भेट्न जान्छे। इलीशिबाले मरियमको स्वर सुन्दा इलीशिबाको पेटमा भएको बच्चा खुसीले उफ्रन्छ। अनि इलीशिबा परमेश्वरको आत्माले भरिपूर्ण भएर यसो भन्छे: ‘तिमी आइमाईहरूमध्ये धन्यकी हौ।’ मरियम इलीशिबासित झन्डै तीन महिनासम्म बस्छे। त्यसपछि ऊ नासरतमा आफ्नो घर फर्कन्छे।
मरियमको यूसुफ नाउँ भएको युवकसित बिहे हुनै लागेको छ। तर मरियमले बच्चा जन्माउन लागेको कुरा सुनेपछि यूसुफले मरियमसित बिहे नगर्ने विचार गर्छ। तर परमेश्वरको स्वर्गदूत ऊकहाँ आएर यसो भन्छ: ‘मरियमलाई बिहे गरेर आफ्नी पत्नी बनाउन नडराऊ। किनभने परमेश्वरले नै उसलाई छोरा दिनुभएको हो।’ त्यसपछि यूसुफले मरियमलाई बिहे गर्छ। अनि उनीहरू दुवै जना येशू कहिले जन्मिन्छ भनेर पर्खेर बस्छन्।
-