-
येशू मन्दिर सफा बनाउनुहुन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ८९
येशू मन्दिर सफा बनाउनुहुन्छ
येशू यहाँ रिसाउनुभएको जस्तो देखिन्छ नि। उहाँ किन त्यसरी रिसाउनुभएको, तिमीलाई थाह छ? यरूशलेममा भएको परमेश्वरको मन्दिरमा काम गर्ने मान्छेहरू असाध्यै लोभी भएकोले। यी लोभी मान्छेहरू मन्दिरमा परमेश्वरको उपासना गर्न आउने भक्तालुहरूलाई ठगेर थुप्रै पैसा कमाउन खोज्थे।
चित्रमा तिमीले साँढे, भेडा र ढुकुरहरू पनि देख्यौ कि? यी सबै जनावर ती लोभी मान्छेहरूले मन्दिरमा बेच्न ल्याएका हुन्। किन, तिमीलाई थाह छ? किनभने परमेश्वरको निम्ति बलिदान चढाउन इस्राएलीहरूलाई पशुपंक्षी चाहिन्थ्यो।
कुनै इस्राएलीले नराम्रो काम गऱ्यो भने उसले परमेश्वरलाई पशुपंक्षीको बलिदान चढाउनुपर्छ भनेर परमेश्वरले नियम दिनुभएको थियो। यसबाहेक अरू बेला पनि इस्राएलीहरूले बलिदान चढाउनुपर्थ्यो। तर बलिदान चढाउन इस्राएलीहरूले कहाँबाट पशुपंक्षी ल्याउँथे?
केही इस्राएलीहरू आफैले पशुपंक्षी पाल्थे। उनीहरूले त्यसैलाई बलिदान चढाउन सक्थे। तर धेरैजसो इस्राएलीहरूसित आफ्नै पशुपंक्षी हुँदैनथ्यो। कोही त टाढा-टाढाबाट यरूशलेम आउने भएकोले उनीहरूले घरबाटै पशुपंक्षी ल्याउन सक्दैनथे। यी इस्राएलीहरू यहाँ मन्दिरमै आएर आफूलाई चाहिएको पशुपंक्षी किन्ने गर्थे। तर ती लोभी व्यापारीहरूले उनीहरूलाई ठगेर बढ्ता पैसा लिने गरिरहेका थिए। यसबाहेक, परमेश्वरको मन्दिरभित्रै त्यसरी पशुपंक्षी बेच्न हुँदैनथ्यो।
त्यसैले येशू असाध्यै रिसाउनुहुन्छ। उहाँले तिनीहरूको पैसा राख्ने टेबुल पल्टाइदिनुहुन्छ र तिनीहरूको जम्मै पैसा हुऱ्याइदिनुहुन्छ। उहाँले डोरी बाटेर कोर्रा बनाउनुहुन्छ र सबै पशुलाई मन्दिरबाहिर लघार्नुहुन्छ। ढुकुर बेचिरहेका व्यापारीहरूलाई उहाँ यसो भन्नुहुन्छ: ‘यी सबै यहाँबाट लैजाओ! मेरो बुबाको घरलाई व्यापारको घर नबनाओ।’
येशूका केही चेलाहरू मन्दिरमा उहाँसित थिए। येशूले गर्नुभएको कुरा देखेर उनीहरू छक्क पर्छन्। अनि उनीहरू बाइबलमा परमेश्वरको छोराबारे लेखिएको यो कुरा सम्झन्छन्: ‘परमेश्वरको घरको जोसले उहाँलाई खाइहाल्नेछ।’
येशूले यरूशलेममा निस्तार चाड मनाउनुहुँदा थुप्रै चमत्कारहरू गर्नुहुन्छ। केही समयपछि उहाँ यहूदियाबाट निस्केर फेरि गालीलतिर जानुहुन्छ। तर बाटोमा उहाँ सामरिया पस्नुहुन्छ। त्यहाँ के हुन्छ, हामी अर्को कथा पढेर थाह लगाऔं।
-
-
येशू इनारमा आइमाईसित कुरा गर्नुहुन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ९०
येशू इनारमा आइमाईसित कुरा गर्नुहुन्छ
सामरिया पस्नुभएपछि येशू इनारनेर थकाइ मार्न बसिरहनुभएको थियो। त्यतिखेर उहाँका चेलाहरू चाहिं सहरमा खानेकुरा किन्न गएका थिए। येशू थकाइ मारिरहनुभएको बेला एउटी आइमाई इनारमा पानी लिन आउँछे। उहाँले त्यो आइमाईलाई यसो भन्नुहुन्छ: ‘मलाई अलिकता पानी पिउन देऊ।’
यो सुनेर आइमाई छक्क पर्छे। किन, तिमीलाई थाह छ? किनभने येशू यहूदी जातिको हुनुहुन्थ्यो र त्यो आइमाईचाहिं सामरी थिई। त्यतिखेर धेरैजसो यहूदीहरूले सामरीहरूलाई मन पराउँदैनथे। यहूदीहरू सामरीहरूसित कुरासमेत गर्दैनथे! तर येशू सबैलाई माया गर्नुहुन्छ। यसकारण उहाँ यसो भन्नुहुन्छ: ‘तिमीलाई पानी कसले मागिरहेछ, चिनेकी भए तिमीले बरु उसैसँग पानी माग्ने थियौ र उसले तिमीलाई जीवनको पानी दिने थियो।’
येशूको कुरा सुनेपछि सामरी आइमाई यसो भन्छे: ‘हजुर, इनार गहिरो छ र तपाईंसित पानी उघाउने भाँडो पनि छैन। तब कहाँबाट तपाईंसित त्यो जीवनको पानी आउँछ?’
येशूले यसरी जवाफ दिनुहुन्छ: ‘यो इनारको पानी पिउने मान्छे फेरि तिर्खाउनेछ। तर मैले दिने पानी जसले पिउला त्यो कहिल्यै तिर्खाउनेछैन।’
सामरी आइमाई भन्छे: ‘हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउनेछैन। यहाँ पानी भर्न पनि आउनुपर्नेछैन।’
सामरी आइमाई येशूले साँच्चैको पानीबारे कुरा गर्नु हुँदैछ भन्ठान्छे। तर येशूले परमेश्वर र उहाँको राज्यबारे सत्य कुरा गर्नु हुँदैथ्यो। यो सत्य, जीवन दिने पानीजस्तै छ। किनभने त्यसले अनन्त जीवन दिन सक्छ।
येशूले अब त्यो आइमाईलाई यसो भन्नुहुन्छ: ‘जाऊ, तिम्रो लोग्नेलाई बोलाएर ल्याऊ।’
‘मेरो लोग्ने छैन’ भनेर उसले जवाफ दिन्छे।
अनि येशूले यसो भन्नुहुन्छ: ‘मेरो लोग्ने छैन भनी तिमीले ठीकै भन्यौ। किनभने तिम्रा पाँच वटा लोग्ने भइसकेका छन् र जो अहिले तिमीसित छ, त्यो तिम्रो लोग्ने होइन।’
येशूको कुरा सुनेर सामरी आइमाई छक्क पर्छे। किनभने उहाँले भन्नुभएको सबै कुरा साँचो थियो। येशूलाई यी सबै कुरा कसरी थाह भयो? येशू, परमेश्वरले प्रतिज्ञा गर्नुभएको व्यक्ति हुनुहुन्छ। परमेश्वरले नै यी सबै कुरा बताउनुभएको हो। ठीक त्यति नै बेला येशूका चेलाहरू फर्केर आउँछन् र उहाँलाई सामरी आइमाईसित कुरा गरिरहनुभएको देखेर उनीहरू छक्क पर्छन्।
हामी यो घटनाबाट के सिक्न सक्छौं? येशू सबै जातका मान्छेहरूलाई दयालु व्यवहार गर्नुहुन्थ्यो। हामीले पनि त्यसै गर्नुपर्छ। अरूको जात फरक भयो भन्दैमा हामीले उनीहरूलाई खराब ठान्नु हुँदैन। येशू सबैले अनन्त जीवन दिने सत्य सिकून् भनी चाहनुहुन्छ। हामी पनि अरूलाई त्यस्तो सत्य सिकाउन इच्छुक हुनुपर्छ।
-