प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येशू डाँडामा सिकाउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
    • डाँडामा बसेर येशू मानिसहरूलाई सिकाउनुहुन्छ

      कथा ९१

      येशू डाँडामा सिकाउनुहुन्छ

      येशूलाई हेर त। उहाँ गालीलको डाँडामा बसेर सिकाउँदै हुनुहुन्छ। उहाँनजिकै बसेका मान्छेहरू उहाँका चेलाहरू हुन्‌। उहाँले १२ जनालाई आफ्नो प्रेरित बनाउनुहुन्छ। प्रेरित भनेको येशूका खास चेलाहरू हुन्‌। के तिमीलाई उनीहरूको नाउँ थाह छ?

      त्यहाँ येशूसँग बसिरहेको एक जना प्रेरितको नाउँ शिमोन पत्रुस हो। उसको भाइ अन्द्रियास पनि येशूको प्रेरित हो। येशूसँगै याकूब र यूहन्‍ना पनि छन्‌। उनीहरू दाजुभाइ हुन्‌। अर्को प्रेरितको नाउँ याकूब हो। त्यसै गरी अर्कोको नाउँ पनि शिमोन हो। दुई जना प्रेरितको नाउँ यहूदा हो। तीमध्ये एक जना यहूदा इस्करयोती हो भने अर्को यहूदालाई थेदियस पनि भनिन्छ। यीबाहेक फिलिप, नथनेल (जसलाई बारथोलोमाइ पनि भनिन्छ), मत्ती र थोमा पनि येशूका प्रेरितहरू हुन्‌।

      सामरियाबाट फर्कनुभएपछि येशूले पहिलो चोटि प्रचार गर्न सुरु गर्नुहुन्छ। उहाँ यसो भन्दै प्रचार गर्नुहुन्छ: ‘स्वर्गको राज्य नजिकै छ।’ त्यो राज्य के हो, तिमीलाई थाह छ? त्यो परमेश्‍वरको सरकार हो। त्यो सरकारको राजा येशू हुनुहुन्छ। उहाँले स्वर्गबाट राज्य गर्नुहुनेछ र पृथ्वीमा शान्ति ल्याउनुहुनेछ। परमेश्‍वरको राज्यले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउनेछ।

      येशूले अहिले गालीलको डाँडामा बसेर मान्छेहरूलाई त्यही राज्यको विषयमा सिकाउँदै हुनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले यसरी प्रार्थना गर: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्‌।” ’ धेरैले यो प्रार्थनालाई ‘प्रभुको प्रार्थना’ भन्छन्‌। कसै-कसैले चाहिं यसलाई ‘हाम्रो पिताको’ प्रार्थना भन्छन्‌। के तिमीलाई यो प्रार्थना कण्ठ छ?

      येशूले दिनुभएको डाँडाको उपदेश सुनिरहेका मानिसहरूको भीड

      एकअर्कासित कसरी व्यवहार गर्नुपर्छ भनेर पनि येशूले सिकाउनुहुन्छ। ‘अरूले जे जसो गरून्‌ भनी तिमीहरू चाहन्छौ, तिमीहरूले पनि अरूलाई त्यस्तै गर’ भनेर उहाँलाई बताउनुहुन्छ। के तिमीलाई अरूले दयालु व्यवहार गरेको मन पर्छ? त्यसो भए हामीले पनि अरूसित दयालु व्यवहार गर्नुपर्छ। येशूले यही कुरा सिकाउँदै हुनुहुन्छ। सोच त, यो पृथ्वी प्रमोदवन हुँदा सबैले त्यसै गर्नेछन्‌ अनि त्यति बेला कत्ति रमाइलो हुनेछ!

      मत्ती अध्याय ५ देखि ७ सम्म; १०:१-४.

      अध्ययनका लागि प्रश्‍नहरू

  • येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
    • येशूले याइरसकी छोरीलाई बिउँताउनुहुन्छ

      कथा ९२

      येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ

      तिमीले चित्रमा देखेको यो केटी भर्खर १२ वर्षकी भई। येशूले उसको हात समातिरहनुभएको छ अनि उसका आमाबाबु छेवैमा उभिरहेका छन्‌। उनीहरू कत्ति खुसी देखिन्छन्‌। किन, तिमीलाई थाह छ?

      यो केटीको बुबा ठूलो मान्छे हो। उसको नाउँ याइरस हो। एकदिन उसकी छोरी असाध्यै बिरामी हुन्छे। निको हुनुको साटो ऊ झन्‌-झन्‌ बिरामी हुँदै जान्छे। आफ्नी छोरी मर्न लागी भनेर याइरस र उसकी पत्नी असाध्यै चिन्तित हुन्छन्‌। यो केटी उनीहरूको एक मात्र छोरी थिई। यसकारण याइरस येशूलाई खोज्न हिंड्‌छ। किनभने येशूले चमत्कारहरू गर्नुहुन्छ भनेर याइरसले सुनेको थियो।

      येशूलाई भेट्टाउँदा उहाँको वरिपरि ठूलो भीड जम्मा भएको हुन्छ। तर याइरस भीडको बीचबाट छिरेर येशूको खुट्टामा घोप्टो पर्छ। उसले यसो भन्दै बिन्ती गर्छ: ‘मेरी छोरी सिकिस्त छे। कृपया उसलाई निको पारिदिनुहोस्‌।’ येशू ऊसित जान तयार हुनुहुन्छ।

      उहाँहरू हिंड्‌दै गर्दा मान्छेको भीड उहाँको झन्‌-झन्‌ नजिक आउँछ। अचानक येशू रोकिनुहुन्छ। उहाँ सोध्नुहुन्छ: ‘मलाई कसले छोयो?’ येशूले आफूबाट शक्‍ति बाहिर निस्केको महसुस गर्नुहुन्छ। यसकारण उहाँलाई कसैले छोयो भनेर उहाँले थाह पाउनुहुन्छ। तर कसले? उहाँलाई १२ वर्षदेखि धेरै बिरामी परेकी एउटी आइमाईले छोएकी रहेछ। नजिकै आएर येशूको कपडा छुने बित्तिकै ऊ चट्टै निको भइहाल्छे!

      यो देखेर याइरस झन्‌ खुसी हुन्छ। किनकि येशूले सजिलैसित निको पार्न सक्नुहुँदोरहेछ भनेर उसले देख्छ। तर त्यतिकैमा एक जना मान्छे यो खबर लिएर आउँछ: ‘येशूलाई अब दुःख नदिनुहोस्‌। तपाईंकी छोरी मरिसकी।’ येशूले उसको कुरा सुन्‍नुहुन्छ अनि याइरसलाई यसो भन्‍नुहुन्छ: ‘दुःख नमान। तिम्री छोरी बाँच्नेछ।’

      येशू याइरसको घरमा पुग्दा त मान्छेहरू शोक मनाउँदै रोइरहेका हुन्छन्‌। मान्छेहरूको भीडलाई येशूले यसो भन्‍नुहुन्छ: ‘नरोओ, त्यो मरेकी छैन। तर निदाएकी छे।’ यो सुनेर सबै जना हाँस्दै येशूको ठट्टा गर्न थाल्छन्‌। किनभने केटी त मरिसकी भनेर उनीहरूलाई राम्ररी थाह थियो।

      त्यसपछि येशूले त्यो केटीका आमाबाबु र आफ्ना तीन जना प्रेरितलाई केटी भएको कोठामा लैजानुहुन्छ। उहाँले केटीको हात समातेर यसो भन्‍नुहुन्छ: ‘ए कन्या उठ!’ त्यो केटी त्यसपछि जीवित हुन्छे र तिमीले चित्रमा देखेझैं जुरुक्क उठ्‌छे। अनि त्यो केटी उठेर यताउता हिंड्‌न थाल्छे! यो देखेर उसका आमाबाबु असाध्यै खुसी हुन्छन्‌।

      तर येशूले यसअघि पनि मरेको मान्छेलाई जिउँदो पारिसक्नुभएको थियो। उहाँले पहिलो पटक जिउँदो बनाउनुभएको मान्छे नाइन सहरकी विधवाको छोरो थियो भनेर बाइबलले बताउँछ। केही समयपछि येशूले मरियम र मार्थाको मरिसकेको भाइ लाजरसलाई पनि बिउँताउनुहुन्छ। परमेश्‍वरले उहाँलाई राजा बनाउनुभएपछि येशूले थुप्रै मरेका मान्छेहरूलाई यसरी नै फेरि जिउँदो बनाउनुहुनेछ। कति खुसीको कुरा, हैन त?

      लूका ८:४०-५६; ७:११-१७; यूहन्‍ना ११:१७-४४.

      अध्ययनका लागि प्रश्‍नहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने