-
येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ९४
येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ
हेर, यहाँ येशूले कति माया गरेर सानो केटोलाई अँगालो हाल्नुभएको छ। येशूले साना केटाकेटीहरूलाई साँच्चै मन पराउनुहुन्छ। नजिकै उभिएर हेरिरहेका मान्छेहरू चाहिं उहाँका प्रेरितहरू हुन्। येशूले उनीहरूलाई के भन्दै हुनुहुन्छ?
येशू र उहाँका प्रेरितहरू लामो यात्राबाट भर्खरै फर्केका छन्। बाटोमा प्रेरितहरू आपसमा बहस गरिरहेका थिए। अब येशूले तिनीहरूलाई सोध्नुहुन्छ: ‘बाटोमा तिमीहरू के बहस गरिरहेका थियौ हँ?’ उनीहरूले के बहस गरिरहेका थिए, येशूलाई थाह थियो। तर प्रेरितहरूले बताउँछन् कि बताउँदैनन् भनेर येशू जान्न चाहनुहुन्थ्यो।
प्रेरितहरू जवाफै दिंदैनन्। किनभने सबैभन्दा ठूलो को हो भनेर उनीहरू बाटोमा बहस गरिरहेका थिए। केही प्रेरितहरू अरूभन्दा ठूलो हुन चाहन्छन्। तर सबैभन्दा ठूलो हुन खोज्नु ठीक होइन भनेर अब येशूले उनीहरूलाई कसरी भन्नुहुन्छ होला?
उहाँले एउटा सानो केटोलाई बोलाउनुहुन्छ र उसलाई उनीहरू सबैको बीचमा उभ्याउनुहुन्छ। त्यसपछि चेलाहरूलाई यसो भन्नुहुन्छ: ‘तिमीहरूले यो एउटा कुरा राम्ररी सिकिराख। तिमीहरू बद्लिएर यी साना केटाकेटीहरू जस्ता भएनौ भने परमेश्वरको राज्यमा कदापि पस्न पाउनेछैनौ। जो यो सानो बालकजस्तो बन्छ, त्यही परमेश्वरको राज्यमा सबैभन्दा ठूलो बन्नेछ।’ येशूले किन त्यसो भन्नुभएको, तिमीलाई थाह छ?
साना केटाकेटीहरू अरूभन्दा ठूलो हुन खोज्दैनन्। त्यसैले येशूका प्रेरितहरूले केटाकेटी जस्तै हुन सिक्नुपर्छ। उनीहरूले सबैभन्दा ठूलो को हो भनेर झगडा गर्नु हुँदैन।
अरू बेला पनि येशूले साना केटाकेटीहरूलाई माया देखाउनुहुन्छ। केही महिनापछिको कुरा हो, केही मान्छेले आफ्ना छोराछोरीहरू येशूकहाँ ल्याउँछन्। तर प्रेरितहरूले उनीहरूलाई परै राख्न खोज्छन्। तब येशू आफ्ना प्रेरितहरूलाई यसो भन्नुहुन्छ: ‘साना केटाकेटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।’ त्यसपछि येशूले केटाकेटीहरूलाई अँगालो हाल्नुहुन्छ र तिनीहरूलाई आशिष् दिनुहुन्छ। येशूले साना केटाकेटीहरूलाई धेरै माया गर्नुहुँदो रहेछ भन्ने जानेर के तिमीलाई खुसी लागेन?
-
-
येशू राम्ररी सिकाउनुहुन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ९५
येशू राम्ररी सिकाउनुहुन्छ
एकदिनको कुरा हो, येशूले एक जना मान्छेलाई छिमेकीलाई माया गर भन्नुहुन्छ। येशूको कुरा सुनेर त्यो मान्छेले सोध्छ: ‘मेरो छिमेकीचाहिं को हो नि?’ येशूलाई उसको मनको कुरा थाह थियो। त्यो मान्छे आफ्नै धर्म र जातका मान्छेहरूलाई मात्र आफ्नो छिमेकी सम्झन्थ्यो। अब येशूले के भन्नुहुन्छ, हामी हेरौं।
येशूले कहिलेकाहीं कथा पनि भन्ने गर्नुहुन्थ्यो। त्यो मान्छेलाई राम्रो पाठ सिकाउन येशूले अब त्यसै गर्नुहुन्छ। उहाँले यहूदी र सामरीको कथा भन्नुहुन्छ। धेरैजसो यहूदीहरू सामरीहरूलाई मन पराउँदैनन् भनेर हामीले पढिसक्यौं नि हगि! येशूले भन्नुभएको कथा सुन है त!
एकदिन एक जना यहूदी पहाडको बाटो हुँदै तल यरीहो झरिरहेको थियो। तर बाटैमा डाँकुहरूले उसलाई आक्रमण गर्छन्। उसको पैसा लुट्छन् र उसलाई बेहोस हुने गरी कुट्छन्।
केही समयपछि त्यही बाटो हुँदै एक जना यहूदी पूजाहारी आइपुग्छ। उसले पिटाइ खाएर लडिरहेको त्यो मान्छेलाई देख्छ। देखेर उसले के गर्छ? तर्केर आफ्नै सुरमा हिंड्छ। यसपछि त्यही बाटो हुँदै एक जना असाध्यै धर्मकर्म गर्नुपर्ने मान्छे पनि आउँछ। ऊ लेवी थियो। तर उसले रोकिएर त्यो मान्छेलाई हेर्दा पनि हेरेन। चित्रमा राम्ररी हेर त। तिमीले त्यो पूजाहारी र लेवीलाई टाढा गइसकेको देख्छौ।
त्यसो भए, त्यो घाइते मान्छेसँगै बस्ने को हो त? ऊ सामरी हो। उसैले त्यो घाइते यहूदीलाई मदत गर्दैछ। सामरीले उसका घाउहरूमा औषधी लगाइदिन्छ र आराम पाएर ऊ छिट्टै निको होस् भनेर उसलाई बोकेर अर्कै ठाउँमा पनि लैजान्छ।
यो कथा सुनाइसक्नुभएपछि येशू सुरुको मान्छेलाई सोध्नुहुन्छ: ‘तिम्रो विचारमा डाँकुको कुटाइ खाने मान्छेको छिमेकी यी तीन जनामध्ये कुनचाहिं होला? पूजाहारी, लेवी कि सामरी?’
त्यो मान्छेले जवाफ दिंदै भन्छ: ‘सामरी। किनकि उसैले त्यो घाइतेलाई दया देखायो।’
त्यसपछि येशूले उसलाई यसो भन्नुहुन्छ: ‘तिमीले ठीकै भन्यौ। जाऊ, तिमी पनि त्यसै गर।’
येशूले कत्ति राम्ररी त्यो मान्छेलाई सिकाउनुभयो। के तिमीलाई मन पऱ्यो? येशूले बाइबलमा भन्नुभएका कुराहरू राम्ररी सुन्यौं भने हामी थुप्रै असल कुराहरू सिक्न सक्नेछौं!
-