-
जैतून डाँडामाबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ९८
जैतून डाँडामा
चित्रमा हेर त। येशू जैतून डाँडामा हुनुहुन्छ। उहाँसँगै बसिरहेका चार जना उहाँका प्रेरितहरू हुन्। अन्द्रियास र पत्रुस दाजुभाइ हुन् भने बाँकी दुई जना याकूब र यूहन्ना पनि दाजुभाइ नै हुन्। चित्रमा तिमी यरूशलेमको मन्दिर पनि देख्न सक्छौ।
गधाको बच्चामा चढेर येशू यरूशलेम जानुभएको भर्खर दुई दिन भएको छ। आजको दिनचाहिं मंगलबार हो। केही समयअघि आजकै दिन येशू मन्दिरमा हुनुहुन्थ्यो। त्यहाँ पूजाहारीहरूले येशूलाई समातेर मार्ने कोसिस गरेका थिए। तर मान्छेहरूले येशूलाई मन पराएको देखेर उनीहरू उहाँलाई मार्ने हिम्मत गर्दैनन्।
येशूले ती धर्मगुरुहरूलाई ‘सर्प र सर्पका सन्तान’ भन्नुहुन्छ! उनीहरूको खराब कामको लागि परमेश्वरले सजाय दिनुहुनेछ भनेर पनि येशू भन्नुहुन्छ। यसपछि, येशू जैतून डाँडामा उक्लनुहुन्छ। डाँडामा पुगेपछि चार जना प्रेरित उहाँलाई प्रश्न सोध्न थाल्छन्। उनीहरूले येशूलाई के सोधिरहेका छन्, तिमीलाई थाह छ?
प्रेरितहरूले भविष्यमा हुने कुराबारे सोधिरहेका छन्। येशूले पृथ्वीमा भएका सबै खराब कुरा हटाउनुहुनेछ भनेर उनीहरूलाई थाह थियो। तर कहिले, त्यो पनि उनीहरू जान्न चाहन्छन्। येशूले कहिले राज्य गर्नुहुनेछ भनेर उनीहरू थाह पाउन चाहन्छन्।
उहाँ राजा हुनुहुँदा चेलाहरूले उहाँलाई देख्न सक्ने छैनन् भनेर येशूलाई थाह छ। किनभने त्यतिखेर उहाँ स्वर्गमा हुनुहुनेछ। त्यसैकारण उनीहरूले उहाँलाई देख्न सक्ने छैनन्। उहाँ स्वर्गमा राजा हुनुभएपछि चेलाहरूले थाह पाऊन् भनेर येशूले त्यतिखेर पृथ्वीमा हुने घटनाहरू बताउनुहुन्छ। ती घटनाहरू के-के हुन्?
पृथ्वीमा त्यतिखेर ठूलठूला लडाइँहरू हुनेछन्, थुप्रै मान्छेहरू बिरामी अनि भोका हुनेछन्, जताततै अपराध हुनेछ र ठूलठूला भैंचालोहरू जानेछन्। साथै, पृथ्वीभरि परमेश्वरको राज्यको सुसमाचार प्रचार पनि गरिनेछ। अहिले यी सबै कुरा भइरहेको छ कि छैन, सोच त। हो, यी सबै कुरा अहिले भइरहेको छ। त्यसो भए येशूले अहिले स्वर्गमा राज्य गर्दै हुनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। अब उहाँले छिट्टै पृथ्वीबाट सबै खराब कुरा हटाउनुहुनेछ!
-
-
माथिल्लो तलाको कोठामाबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ९९
माथिल्लो तलाको कोठामा
यो घटना दुई दिनपछि, बिहीबार रातीको हो। येशू आफ्ना १२ प्रेरितसित निस्तार चाडको भोज खान माथिल्लो तलाको यो ठूलो कोठामा भेला हुनुभएको छ। कोठाबाट निस्कदैं गरेको मान्छे यहूदा इस्करयोती हो। अब ऊ येशूलाई कसरी पक्रने भनेर पूजाहारीहरूलाई बताउन जाँदैछ।
केही दिनअघि यहूदाले पूजाहारीहरूकहाँ गएर यो प्रश्न गरेको थियो: ‘येशूलाई पक्रन मदत गरें भने तपाईंहरू मलाई के दिनुहुन्छ?’ उनीहरूले चाँदीका तीस टुक्रा दिने वचन दिन्छन्। अब येशूलाई समात्न लगाउन यहूदा ती पूजाहारीहरूलाई लिन जाँदैछ। यहूदा कति दुष्ट रहेछ!
निस्तार चाडको भोज सकिएपछि येशूले अर्को विशेष भोज सुरु गर्नुहुन्छ। उहाँ आफ्ना प्रेरितहरूलाई रोटी दिंदै यसो भन्नुहुन्छ: ‘यो खाओ किनभने तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो।’ त्यसपछि उहाँले एक कचौरा दाखमद्य दिदैं यसो भन्नुहुन्छ: ‘यसलाई पिओ किनभने यो तिमीहरूको निम्ति बगेको मेरो रगत हो।’ येशूले सुरु गर्नुभएको यो भोजलाई बाइबलले ‘प्रभुको साँझको भोज’ अथवा ‘प्रभुको भोज’ भन्छ।
मिश्रमा परमेश्वरको स्वर्गदूतले इस्राएलीहरूको घरलाई ‘नाघेर’ मिश्रीहरूका परिवारका सबै जेठाहरूलाई मारेको दिनको सम्झना गर्न इस्राएलीहरू निस्तार भोज मनाउने गर्थे। तर अबदेखि येशू आफ्ना चेलाहरूले उहाँलाई अनि उहाँले उनीहरूका निम्ति कसरी जीवन दिनुभयो, त्यो सम्झेको चाहनुहुन्छ। यसैकारण उहाँ आफ्ना चेलाहरूलाई हरेक वर्ष यो विशेष भोज मनाउनू भन्नुहुन्छ।
प्रभुको साँझको भोज खाएपछि येशूले प्रेरितहरूलाई आफ्नो विश्वास बलियो बनाउनू अनि साहसी हुनू भन्नुहुन्छ। अन्तमा आफ्ना चेलाहरूसित परमेश्वरको भजन गाएपछि येशू त्यहाँबाट निस्कनुहुन्छ। उहाँहरू बाहिर निस्कँदा मध्य रात भइसकेको हुन्छ। हेरौं, उहाँहरू अब कहाँ जानुहुन्छ।
मत्ती २६:१४-३०; लूका २२:१-३९; यूहन्ना १३ देखि १७ अध्यायसम्म; १ कोरिन्थी ११:२०.
-