-
येशूको पुनरुत्थानदेखि पावलको कैदसम्मबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
भाग ७
येशूको पुनरुत्थानदेखि पावलको कैदसम्म
मृत्यु भएको तेस्रो दिनमा येशूको पुनरुत्थान भयो। त्यही दिन बेग्लाबेग्लै समयमा पाँच पटक उहाँ आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो। उहाँ ४० दिनसम्म आफ्ना चेलाहरूकहाँ देखा परिरहनुभयो। त्यसपछि उहाँका केही चेलाहरूले हेर्दाहेर्दै उहाँ स्वर्ग जानुभयो। यसको १० दिनपछि यरूशलेममा पर्खिरहेका येशूका चेलाहरूमाथि परमेश्वरले पवित्र आत्मा खन्याउनुभयो।
केही समयपछि, परमेश्वरका शत्रुहरूले प्रेरितहरूलाई पक्रेर जेलमा हाले। तर स्वर्गदूतले उनीहरूलाई जेलबाट मुक्त गरे। त्यतिखेरकै कुरा हो, येशूका चेला स्तिफनसलाई विरोधीहरूले ढुंगाले हानेर मारे। तर येशूले यिनै विरोधीहरूमध्ये एक जनालाई आफ्नो विशेष सेवक हुन रोज्नुभयो। त्यो विरोधी पछि गएर प्रेरित पावल बन्यो। येशूको मृत्यु भएको साढे तीन वर्षपछि परमेश्वरले प्रेरित पत्रुसलाई गैर-यहूदी कर्नीलियस र उसको परिवारकहाँ प्रचार गर्न पठाउनुभयो।
यसको लगभग १३ वर्षपछि पावलले आफ्नो प्रचार यात्रा सुरु गऱ्यो। दोस्रो चोटि यात्रामा निस्कँदा उसले तिमोथीलाई पनि सँगै लगेको थियो। पावल र ऊसित यात्रा गर्नेहरूले परमेश्वरको सेवा गर्दै कस्ता रमाइला अनुभवहरू बटुले, अब हामी सिक्नेछौं। अन्तमा पावललाई रोममा कैद गरेर राखिन्छ। दुई वर्षपछि ऊ मुक्त हुन्छ। तर उसलाई फेरि झ्यालखानमा हालिन्छ र अन्तमा ऊ मारिन्छ। लगभग ३२ वर्षभित्र भएका यी सबै घटनाहरू हामी भाग ७ मा पढ्नेछौं।
-
-
येशू जीवित हुनुहुन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा १०२
येशू जीवित हुनुहुन्छ
के तिमी यो आइमाई र ती दुई जना मान्छेलाई चिन्छौ? यो आइमाई येशूकी मित्र मरियम मग्दलिनी हो। सेतो कपडा लगाएका ती दुई जनाचाहिं स्वर्गदूतहरू हुन्। मरियमले भित्र पसेर हेर्न खोजेको सानो कोठालाई चिहान भनिन्छ। येशू मर्नुभएपछि उहाँको लासलाई यही सानो कोठामा राखिएको थियो। तर चिहानभित्र मरियमले येशूको लास भेट्टाउँदिन! त्यसोभए येशूको लास कहाँ गयो त? कसैले पो लगेछ कि?
येशू मर्नुभएपछि पूजाहारीहरूले पिलातसलाई यसो भन्छन्: ‘हजुर, हामीलाई याद छ, त्यो येशूले आफू जिउँदो हुँदा तीन दिनपछि फेरि बिउँतनेछु भनेको थियो। यसकारण त्यो चिहानलाई राम्ररी सुरक्षित राख्नलाई हुकुम होस्। नत्र त त्यसका चेलाहरूले लास चोरेर त्यो त मरेकोबाट जाग्यो भनेर अरूलाई भन्लान्!’ चिहान सुरक्षित राख्नका लागि सिपाहीहरू पठाउन पिलातसले पूजाहारीहरूलाई अह्राउँछ।
तर येशू मर्नुभएको तेस्रो दिन बिहानै यहोवाका एक जना स्वर्गदूत अचानक देखा पर्छन्। उनले चिहानभित्र पस्ने ठाउँमा राखेको ढुंगा गुडाइदिन्छन्। यो देखेर सिपाहीहरू असाध्यै डराउँछन्। डरले गर्दा उनीहरू अचल हुन्छन्। पछि उनीहरूले चिहानभित्र हेर्दा लास गायब भइसकेको हुन्छ! त्यसपछि केही सिपाहीहरूले पूजाहारीहरूलाई खबर गर्छन्। ती दुष्ट पूजाहारीहरू त्यसपछि के गर्छन्, तिमीलाई थाह छ? सिपाहीहरूलाई पैसा दिएर झूट बोल्न लगाउँछन्। उनीहरू सिपाहीहरूलाई यसो भन्न लगाउँछन्: ‘राती हामी निदाएको बेला त्यसका चेलाहरू आएर लास चोरेर लगेछन्।’
यस बीच येशूसित राम्रो चिनजान भएका केही आइमाईहरू पनि चिहानमा आइपुग्छन्। तर चिहान रित्तो देखेर उनीहरू पनि छक्क पर्छन्! अचानक चम्किलो लुगा लगाएका दुई जना स्वर्गदूत देखा पर्छन् र उनीहरूलाई यसो भनेर सोध्छन्: ‘तिमीहरू येशूलाई यहाँ किन खोज्छौ? उहाँ बिउँतिसक्नुभयो। अब छिट्टै गएर उहाँका चेलाहरूलाई भन।’ अनि ती आइमाईहरू दगुर्दै जान्छन्! तर उनीहरूलाई बाटोमा एक जना मान्छेले रोक्छ। त्यो मान्छे को होला, तिमी भन्न सक्छौ? हो, उहाँ येशू हुनुहुन्थ्यो! उहाँले पनि ‘जाऊ, मेरा चेलाहरूलाई भनिदेऊ’ भन्नुहुन्छ।
ती आइमाईहरूले येशू जीवित हुनुहुन्छ अनि उहाँलाई देख्यौं भन्दा चेलाहरू पत्याउनै गाह्रो मान्छन्। आइमाईहरूले ल्याएको खबर साँचो हो कि होइन भनी पक्का गर्न पत्रुस र यूहन्नाचाहिं चिहानतिर दौडँदै जान्छन्। उनीहरूले चिहान साँच्चै नै रित्तो भेट्छन्! पत्रुस र यूहन्ना त्यहाँबाट जान्छन्। तर मरियम मग्दलिनीचाहिं त्यहीं बसिरहन्छे। यसरी त्यहीं बसिरहेकै बेला उसले चिहानभित्र दुई जना स्वर्गदूतहरू देख्छे।
येशूको लासलाई के भयो, तिमीलाई थाह छ? परमेश्वरले त्यसलाई गायब पारिदिनुभयो। पहिले येशूको जुन शरीर थियो, त्यही शरीर दिएर परमेश्वरले येशूलाई बिउँताउनुभएन। परमेश्वरले उहाँलाई स्वर्गदूतहरूको जस्तै आत्मिक शरीर दिनुभयो। तर आफू जिउँदै छु भनेर चेलाहरूलाई देखाउन येशू अरूले देख्न सक्ने शरीर धारण गर्न सक्नुहुन्थ्यो। यसबारे अब हामी अर्को कथा पढेर हेरौं है त।
-