-
यरूशलेममा पर्खेर बसिरहेका चेलाहरूबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा १०५
यरूशलेममा पर्खेर बसिरहेका चेलाहरू
तिमीले यहाँ चित्रमा देखेका मान्छेहरू येशूका चेलाहरू हुन्। येशूले भन्नुभएझैं उनीहरू यरूशलेमबाट कतै पनि गएका छैनन्। एकदिन यसरी सबै जना भेला भएर पर्खिरहेको बेला उनीहरूले घरै हल्लिने गरी जोडसित हुरुरुरु बतास चलेको आवाज सुन्छन्। त्यसपछि, हरेक चेलाको टाउको-टाउकोमा आगोका जिब्राहरू देखा पर्छन्। चित्रमा तिमीले पनि देख्यौ कि? यी सबै के भएको होला?
यो चमत्कार भएको हो! येशू अहिले स्वर्गमा आफ्नो बुबासित हुनुहुन्छ र उहाँले परमेश्वरको पवित्र आत्मा आफ्ना चेलाहरूमाथि खन्याउनुहुँदैछ। पवित्र आत्मा पाएपछि चेलाहरू के गर्छन्, तिमीलाई थाह छ? उनीहरू सबै बेग्लाबेग्लै भाषा बोल्न थाल्छन्।
यरूशलेममा बस्ने अरू थुप्रै मान्छेहरूले पनि जोडसित बतास चलेको जस्तो आवाज सुन्छन् र के भएछ भनेर हेर्न आउँछन्। यसरी हेर्न आउनेहरूमध्ये केही त पेन्तिकोसको चाड मान्न टाढा-टाढाबाट आएका अरू देशका मान्छेहरू पनि हुन्छन्। उनीहरू सबै जना तीनछक पर्छन्! किनभने चेलाहरूले परमेश्वरले गर्नुभएका ठूलठूला कामबारे उनीहरूकै भाषामा पो कुरा गरिरहेका हुन्छन्।
टाढाबाट आएका मान्छेहरू यसो भन्छन्: ‘हेर के यी सबै बोल्नेहरू गालीलकै मान्छेहरू होइनन् र? तर यिनीहरू त हाम्रै मातृभाषामा बोलेको पो हामी सुन्दैछौं।’
त्यसपछि उनीहरूलाई कुरा बुझाउन पत्रुस जुरुक्क उठ्छ। येशू कसरी मारिनुभयो भनेर बताउनुका साथै उहाँलाई यहोवाले कसरी बिउँताउनुभयो भनेर उसले ठूलो स्वरमा बताउँछ। पत्रुसले यसो पनि भन्छ: ‘अहिले येशू स्वर्गमा परमेश्वरको दाहिने हाततिर बसिरहनुभएको छ। उहाँले नै हामीमाथि पवित्र आत्मा खन्याउनुभएको हो। त्यसैकारण तपाईंहरूले यी चमत्कारहरू सुन्न र देख्न सक्नुभएको हो।’
पत्रुसको कुरा सुनेपछि येशूप्रति गरिएका सबै नराम्रा कुराहरू सम्झेर मान्छेहरू धेरै दुःखी हुन्छन्। ‘अब हामी के गरौं त?’ भनेर उनीहरू पत्रुसलाई सोध्छन्। पत्रुस यसो भन्छ: ‘तपाईंहरू आ-आफ्नो बानी-बेहोरा बदल्नुहोस् अनि बप्तिस्मा लिनुहोस्।’ त्यसै दिन ३,००० जनाले बप्तिस्मा लिन्छन् र येशूका चेला बन्छन्।
-
-
जेलबाट छुटेकाबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा १०६
जेलबाट छुटेका
लौ, यो चित्रमा त स्वर्गदूतले पो जेलको ढोका खोलिरहेका छन्! तर उनले जेलबाट बाहिर निकालिरहेका मान्छेहरू को हुन्, तिमीलाई थाह छ? उनीहरू येशूका प्रेरितहरू हुन्। तर उनीहरू कसरी जेलमा परे?
जेलमा पर्नुभन्दा केही समयअघि मात्र येशूका चेलाहरूले पवित्र आत्मा पाएका थिए। त्यसपछि एकदिन दिउँसोको कुरा हो, पत्रुस र यूहन्ना यरूशलेमको मन्दिर गइरहेका हुन्छन्। त्यहाँ उनीहरूले जन्मैदेखिको लंगडोले ढोकामा बसेर भीख मागिरहेको देख्छन्। उसले भीख मागोस् भनेर उसलाई अरूले सधैं यहाँ बोकेर ल्याइदिने गर्दा रहेछन्। पत्रुस र यूहन्नालाई देख्ने बित्तिकै त्यो माग्ने उनीहरूसँग पनि भीख माग्न थाल्छ। तिम्रो विचारमा प्रेरितहरूले अब के गर्छन् होला?
उनीहरू रोकिएर त्यो माग्नेलाई हेर्छन्। त्यसपछि पत्रुस यसो भन्छ: ‘पैसा त मसित छैन तर जे मसित छ, त्यही तँलाई दिनेछु। येशूको नाउँमा उठेर हिंड्!’ यसपछि पत्रुसले उसको दाहिने हात समातेर उठाउँछ र त्यो मान्छे जुरुक्क उठेर हिंड्न थाल्छ। यस्तो चमत्कार देखेर मान्छेहरू चकित हुन्छन् र असाध्यै खुसी पनि हुन्छन्।
अनि पत्रुस यसो भन्छ: ‘जुन परमेश्वरले येशूलाई बिउँताउनुभयो उहाँकै शक्तिले हामीले यो चमत्कार गरेका हौं।’ पत्रुस र यूहन्ना बोलिरहेकै बेला केही धर्मगुरुहरू त्यहाँ आइपुग्छन्। पत्रुस र यूहन्नाले येशू बिउँतनुभयो भनेर कुरा गरेको धर्मगुरुहरूलाई पटक्कै मन पर्दैन। उनीहरू रिसाउँछन् र दुवैलाई समातेर जेलमा हालिदिन्छन्।
भोलिपल्ट ती धर्मगुरुहरूको ठूलो सभा बस्छ। पत्रुस, यूहन्ना र उनीहरूले निको पारेको माग्नेलाई पनि त्यो सभामा ल्याइन्छ। त्यसपछि धर्मगुरुहरू सोध्छन्: ‘तिमीहरूले यो चमत्कार गर्ने शक्ति कहाँबाट पायौ?’
येशूलाई बिउँताउनुहुने परमेश्वरबाट भनेर पत्रुसले जवाफ दिन्छ। यो सुनेर पूजाहारीहरूलाई के गरौं, कसो गरौं हुन्छ। किनभने उनीहरूलाई पत्रुस र यूहन्नाले साँच्चै नै चमत्कार गरेको हो भनेर राम्ररी थाह थियो। यसकारण धर्मगुरुहरूले प्रेरितहरूलाई येशूको विषयमा अब फेरि कुरा नगर्नू भनी धम्काएर छाडिदिन्छन्।
तर प्रेरितहरूले येशूको विषयमा कुरा गर्न र बिरामीहरूलाई निको पार्न छाड्दैनन्। उनीहरूले गरेका चमत्कारहरूको खबर जताततै फैलिन्छ। त्यसपछि त यरूशलेम वरिपरिका सहरका मान्छेहरूले पनि प्रेरितहरूकहाँ बिरामीहरू ल्याउन थाल्छन्। यो देखेर धर्मगुरुहरूलाई डाह लाग्छ। उनीहरूले प्रेरितहरूलाई जबरजस्ती समातेर जेलमा हालिदिन्छन्। तर यी प्रेरितहरू धेरै बेरसम्म जेलमा बस्नु पर्दैन।
तिमीले चित्रमा देखेझैं, राती परमेश्वरको स्वर्गदूतले जेलको ढोका खोलिदिन्छन्। स्वर्गदूत त्यसपछि यसो भन्छन्: ‘जाओ, मन्दिरमा खडा भएर यो कुरा सबैलाई सुनाओ।’ भोलिपल्ट बिहान धर्मगुरुहरूले प्रेरितहरूलाई जेलबाट निकालेर ल्याउन मान्छेहरू पठाउँदा त जेल रित्तै हुन्छ। पछि ती मान्छेहरूले प्रेरितहरूलाई मन्दिरमा शिक्षा दिइरहेका पो भेट्टाउँछन्। त्यसपछि तिनीहरूले प्रेरितहरूलाई समातेर फेरि सभाघरमा लैजान्छन्।
‘हामीले तिमीहरूलाई येशूको विषयमा कुरा गर्दै नगर्नू भनेर कडा आज्ञा गरेका होइनौं? तर तिमीहरूले आफ्नो शिक्षाले सारा यरूशलेम भरिसक्यौ’ भनेर धर्मगुरुहरू प्रेरितहरूलाई हप्काउँछन्। तर प्रेरितहरू यस्तो जवाफ दिन्छन्: ‘हामीले मानिसको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।’ यसकारण येशूका चेलाहरूले “सुसमाचार” प्रचार गर्न छोड्दैनन्। हाम्रो लागि कत्ति राम्रो उदाहरण, हगि?
प्रेरित अध्याय ३ देखि ५ सम्म।
-