-
पृथ्वीमा नयाँ प्रमोदवनबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ११५
पृथ्वीमा नयाँ प्रमोदवन
ती अग्ला-अग्ला रूखहरू, राम्रा-राम्रा फूलहरू र ठूलठूला पहाडहरूलाई हेर त! आहा! यहाँ कत्ति मज्जा छ! लौ हेर, त्यो मृगले एउटा फुच्चे केटोको हातबाट के खाँदैछ? चौरमा बसिरहेका सिंह र घोडाहरूलाई पनि हेर त! तिमीलाई यस्तो ठाउँमा घर बनाएर बस्न मन लाग्छ?
पृथ्वीलाई सुन्दर बगैंचा बनाउनु भएपछि तिमी पनि सधैंभरि त्यहाँ बसोस् भनेर परमेश्वर चाहनुहुन्छ। अहिले मान्छेहरूले भोगिरहेको कुनै पनि दुःख तिमीले त्यतिखेर भोगोस् भनेर परमेश्वर चाहनुहुन्न। यो नयाँ बगैंचामा बस्ने मान्छेहरूलाई बाइबलले यो प्रतिज्ञा गरेको छ: ‘परमेश्वर तिमीहरूसित हुनुहुनेछ। त्यहाँ फेरि कोही पनि मर्नु पर्नेछैन, रुनु पर्नेछैन अनि कसैलाई पीडा पनि हुनेछैन। पहिलेका कुराहरू बितिसकेका हुनेछन्।’
यी सब अचम्मलाग्दा कामहरू येशूले गर्नुहुनेछ। तर कहिले, तिमीलाई थाह छ? पृथ्वीबाट सबै नराम्रो कुरा अनि खराब मान्छेहरूलाई हटाइसक्नुभएपछि। पृथ्वीमा हुनुहुँदा येशूले बिरामीहरूलाई निको पार्नुभएको थियो अनि मरेका मान्छेलाई समेत बिउँताउनुभएको थियो भनेर तिमीलाई याद छ? परमेश्वरको राज्यको राजा हुनुभएपछि पृथ्वीमा के गर्नुहुनेछ भनी देखाउन येशूले ती सबै चमत्कारहरू गर्नुभएको थियो।
यसो विचार गर त! पृथ्वी नयाँ प्रमोदवन बनेपछि कति रमाइलो हुनेछ! त्यसपछि येशू र उहाँले छान्नुभएका केही व्यक्तिहरू मिलेर स्वर्गबाट शासन गर्नुहुनेछ। उहाँहरूले पृथ्वीका सबै मान्छेको हेरविचार गर्नुहुनेछ र सबैलाई खुसी बनाउनुहुनेछ। तर नयाँ प्रमोदवनमा सधैंभरि बाँच्न हामीले के गर्नुपर्छ, अब अर्को कथा पढेर थाह लगाऔं है।
-
-
हामी कसरी सधैंभरि बाँच्न सक्छौं?बाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ११६
हामी कसरी सधैंभरि बाँच्न सक्छौं?
यो फुच्ची केटी अनि उसका साथीहरू के पढ्दैछन्, ल भन त! हो, उनीहरू तिमीले अहिले पढिरहेकै बाइबलका कथाहरू भएको मेरो पुस्तक पढ्दैछन्। अनि तिमी अहिले “हामी कसरी सधैंभरि बाँच्न सक्छौं?” भन्ने जुन कथा पढिरहेका छौ, उनीहरू पनि त्यही कथा पढ्दैछन्।
उनीहरू के सिक्दैछन्, तिमीलाई थाह छ? उनीहरू सधैंभरि बाँच्न हामीले सबैभन्दा पहिले यहोवा अनि उहाँको छोरा येशूको विषयमा सिक्नुपर्छ भनेर सिक्दैछन्। बाइबलले ‘सधैंभरि बाँच्न हामीले एक मात्र साँचो परमेश्वर र उहाँले पृथ्वीमा पठाउनुभएको उहाँको छोरा येशू ख्रीष्टको विषयमा सिक्नुपर्छ’ भनेको छ।
उसो भए हामी यहोवा परमेश्वर र उहाँको छोरा येशू ख्रीष्टको विषयमा कसरी सिक्न सक्छौं? एउटा तरिका, बाइबलका कथाहरू भएको मेरो पुस्तक भन्ने यो किताबको सबै कथा पढेर हो। हामीले यो किताबमा यहोवा र येशूको विषयमा कत्ति धेरै कुरा सिक्यौं नि हगि? त्यसबाहेक उहाँहरूले पहिले-पहिले के काम गर्नुभयो अनि पछि के गर्नुहुनेछ, त्यस विषयमा पनि धेरै कुरा सिक्यौं। तर हामीले यो किताब पढेर मात्र पुग्दैन।
त्यहाँ भुइँमा राखेको अर्को किताब हेर त। त्यो किताब बाइबल हो। सबै कथाको अन्तमा लेखिएका बाइबल पदहरू सुनाइदिनुस् भनेर तिमी पनि कसैलाई भन है। हामी कसरी राम्ररी यहोवाको सेवा गरेर सधैंभरि यो पृथ्वीमा बाँच्न सक्छौं, बाइबलले त्यसबारे सबै कुरा बताउँछ। त्यसैले त हामीले बाइबल पढिरहने बानी बसाल्नुपर्छ।
तर यहोवा र येशू ख्रीष्टको विषयमा सिकेर मात्र पुग्दैन। उहाँहरूको विषयमा धेरै सिके पनि सधैंभरि यो पृथ्वीमा बाँच्ने मौका नपाउन सक्छौं। उसो भए हामीले अरू के पनि गर्नुपर्छ?
सिकेको कुराअनुसार काम पनि गरेर देखाउनुपर्छ। के तिमीलाई यहूदा इस्करयोती भन्ने मान्छे याद छ? येशूले आफ्ना १२ जना प्रेरित छान्नुहुँदा उसलाई पनि छान्नुभएको थियो। यहूदालाई यहोवा र येशूको विषयमा धेरै कुरा थाह थियो। तर उसले के गऱ्यो? केही समयपछि ऊ लोभी भयो र चाँदीका ३० टुक्राका लागि उसले येशूलाई शत्रुहरूको हातमा बेचिदियो। हो, यहूदाले अनन्त जीवन पाउँदैन।
हामीले ६९ नम्बरको कथामा गेहजी भन्ने मान्छेको विषयमा पनि पढेको थियौं नि। उसले अरू मान्छेको कपडा र पैसाको लोभ गऱ्यो। ती कुराहरू पाउन उसले झूटसमेत बोल्यो। तर यहोवाले उसलाई सजाय दिनुभयो। हामीले पनि यहोवाको आज्ञा मानेनौं भने उहाँले सजाय दिनुहुनेछ।
तर सधैं विश्वासी भएर यहोवाको सेवा गर्ने मान्छेहरू पनि छन्। हामी उनीहरू जस्तै हुनपर्छ। हामी सानो शमूएलजस्तै ज्ञानी हुनुपर्छ। यहोवाको सेवा गर्न थाल्दा ऊ चार-पाँच वर्षको मात्र थियो भनेर हामीले ५५ नम्बरको कथामा पढ्यौं। यसकारण तिमी अहिले असाध्यै सानो भए पनि यहोवाको सेवा गर्न सक्छौ।
हामी सबैभन्दा धेरै येशू ख्रीष्टजस्तै हुन खोज्नुपर्छ। आफू ठिटो छँदै उहाँले आफ्नो बुबा यहोवाको विषयमा मन्दिरमा कुरा गर्नुभएको थियो भनेर हामीले ८७ नम्बरको कथामा पढेका थियौं। हामी उहाँजस्तै हुनपर्छ। येशूले जस्तै हामीले पनि सकेसम्म धेरै मान्छेसित हाम्रो असल परमेश्वर यहोवा अनि उहाँको छोरा येशू ख्रीष्टबारे कुरा गर्नुपर्छ। यी कुराहरू गऱ्यौं भने परमेश्वरले पृथ्वीलाई फेरि प्रमोदवन बनाउनुहुँदा त्यहाँ सधैंभरि बाँचिरहनेछौं।
-