बाइबलको दृष्टिकोण
प्रार्थनाहरूमा तपाईंको भूमिका
घेराऊमा परेका राजाले पहाडबाट आफ्नो वैभवशाली दरबार, अलपत्र परेको राजधानीलाई हेर्छन् र आफ्नो घरानाको दुःखदायी अवस्था सम्झन्छन्। एउटा ठूलो सैनिक दल दक्षिण दिशामा भेला भएर शहरतिर लम्किरहेका छन्। उच्च पदाधिकारीहरूले तिनलाई समर्थन गर्न छोडेर विरोधीहरूको समर्थक भएका छन्। दुःखी हुँदै राजाले परमेश्वरलाई प्रार्थना चढाउँछन्। तिनी असाध्यै धर्मी मानिस भएकोले परमेश्वरले तिनको बिन्ती सुन्नुहुनेछ र षडयन्त्रकारीहरूको षडयन्त्रलाई निष्फल तुल्याउनुहुनेछ भनेर निर्धक्क छन्। त्यसपछि त्यस भव्य शहरलाई हेर्न छोडेर तिनी पहाडबाट तल ओर्लन्छन् र नदी पारी उजाडस्थानतिर उत्तरी दिशामा लाग्छन्। यसबाहेक तिनले अरू के नै गर्न सक्छन् र? अब परिस्थिति परमेश्वरको हातमा छ।
त्यस्तैगरि नम्र मानिसहरूले अहिले कठिनाइ भोग्नुपर्दा परमेश्वरलाई प्रार्थना गर्छन्। बाइबलले कसरी प्रार्थना गर्ने भनेर स्पष्ट निर्देशनहरू प्रदान गर्नुको अलावा “प्रार्थना सुन्नुहुने” यहोवा परमेश्वरबारे बताएकोमा तिनीहरू ढुक्क छन्। (भजन ६५:२) निष्कपटतासाथ परमेश्वरको खोजी गर्ने सबै मानिसहरूको प्रार्थना सुनिनेछ भनेर हामी आश्वस्त हुनसक्छौं।
यद्यपि, के विश्वास र प्रार्थना मात्रै भए पुग्छ? प्रार्थनाहरूको परिणाममा हाम्रो भूमिका कस्तो हुन्छ?
हामीले कसरी योगदान पुऱ्याउन सक्छौं?
सुरुमा वर्णन गरिएको राजा, पुरातन इस्राएलका राजा दाऊद हुन्। छोरा अब्शालोम र कपटी सल्लाहकार, अहीतोपेलले आफू विरुद्ध षडयन्त्र रचेकोले राजा दाऊद यरूशलेमबाट भागेर यर्दन नदीको पूर्वी क्षेत्र, महनैमको उजाड शहरमा शरण लिन पुगे। सम्भवतः निरुत्साह, निराशा र चिन्ताले पिरोलिंदा तिनले यहोवालाई प्रार्थनामा यसो भन्दै बिन्ती गरे: “हे परमप्रभु, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।” (२ शमूएल १५:११-१५, ३०, ३१) तथापि, दाऊदले प्रार्थना मात्रै गरेनन्। आफ्नो प्रार्थनाको सफल परिणामको लागि तिनले सकारात्मक ढंगमा उल्लेखनीय भूमिका निर्वाह गरे। तर कसरी?
आफूले परीक्षाहरू सामना गर्नुभन्दा निकै अघिदेखि तिनले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका थिए। आफू राजा हुनुभन्दा वर्षौंअघि देखि दाऊदले आफूलाई यहोवाको निष्ठावान् उपासक साबित गरेका थिए। (१ शमूएल १६:१२, १३; प्रेरित १३:२२) तिनी परमेश्वरसित घनिष्ठ भए। तसर्थ, परीक्षामा पर्दा यहोवाले तिनको प्रार्थना सुन्नुहुनेछ र उचित ढंगमा प्रत्युत्तर दिनुहुनेछ भनी दाऊदलाई विश्वास थियो।
आज पनि त्यही लागू हुन्छ। हाम्रा प्रार्थनाहरूको सफल परिणाम प्राप्त गर्न योगदान पुऱ्याउने आधारभूत तरिका बाइबलको सल्लाहलाई जीवनको नियमित पद्धतिको रूपमा पालन गर्नु हो। ईश्वरप्रदत्त सिद्धान्तहरूलाई निष्ठावान् भएर पालन गर्दा उहाँसित घनिष्ठ सम्बन्ध विकास हुन्छ। परीक्षाहरू सुरु हुनु अघि नै परमेश्वरसित घनिष्ठता र विश्वासको पद्धति कायम भइसकेको हुन्छ। यो मजबूत जगमा बसालिएको घरजस्तै हुनेछ। र भवन निर्माण गर्दा जग तयार भइसकेको जस्तै हुन्छ। तसर्थ, परीक्षा आउनु अगावै हाम्रा प्रार्थनाहरूको सफल परिणामप्रति अहिले योगदान पुऱ्याउन सक्छौं।
सक्रिय भूमिका निर्वाह गर्नुहोस्!
हो, परमेश्वरसित दाऊदको सम्बन्धले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। तर आफ्नो प्रार्थना पूरा हुनको लागि निष्क्रिय भएर बस्नु मात्र पर्याप्त हुँदैन भनी तिनले बुझेका थिए। यसको विपरीत दाऊदले सक्रिय भूमिका निर्वाह गरे भन्ने कुरा प्रार्थनापश्चात् तिनले गरेका कार्यहरूबाट प्रष्ट हुन्छ।
दाऊदका निष्ठावान् साथीहरूमध्ये एरेकी हूशै पनि थिए। हूशैले भागिरहेका राजालाई जैतून डाँडामा भेटे। तिनी दाऊदसँगै निर्वासनमा बस्न चाहन्थे। तर दाऊदले आग्रह गरेपछि तिनी शहरमै बसे ताकि तिनले अब्शालोमप्रति निष्ठावान् भएको स्वांग रचेर धोखेबाज सल्लाहकार अहीतोपेलको सल्लाहलाई निष्फल तुल्याएर दाऊदलाई त्यहाँका घटनाक्रमबारे अवगत गराउन सक्थे। (२ शमूएल १५:३२-३७) आशा गरेझैं अब्शालोमको विश्वास जित्न हूशै सफल भए। अब यहोवाले हस्तक्षेप गर्नुहुने थियो।
अहीतोपेल चलाख तर धूर्त भएकोले एउटा बुद्धिमतापूर्ण योजनाको प्रस्ताव राखे। दाऊद भागिरहेको बेलामा तिनलाई आक्रमण गर्न १२,००० मानिसहरूको प्रबन्ध गरियोस् भनेर अहितोपेलले अब्शालोमलाई आग्रह गरे। त्यसरी अव्यवस्थित तथा निस्सहाय अवस्थामा सांघातिक प्रहार गर्दा एउटा सफल क्रान्ति हुनसक्ने सम्भावना थियो! तथापि, यस विषयमा अब्शालोमले हूशैको सल्लाह लिंदा थुप्रै मानिसहरू छक्क परे। तिनले अब्शालोमलाई हतार नगरिकन एउटा ठूलो सैनिक फौज जम्मा गर्ने र आफैले सेनाको नेतृत्व गर्ने सल्लाह दिए। यहोवाको निर्देशनअनुसार हूशैको सल्लाह स्वीकृत भयो। स्पष्टतः, हूशैको सल्लाह मानी लिंदा निस्सन्देह हार हुनेछ भनी बुझेकोले अहितोपेल घर फर्के अनि आत्महत्या गरे।—२ शमूएल १७:१-१४, २३.
निस्सन्देह, दाऊदले प्रार्थना गरेझैं यहोवाले तिनलाई जवाफ दिनुभयो। प्रार्थनाद्वारा यहोवाको मदत माग्नेहरूका लागि दाऊदले राम्रो उदाहरण प्रदान गर्छ किनभने तिनले आफ्नो प्रार्थनाअनुसार काम गरे।
यहोवाले आफ्नो काम पूरा गर्नुहुनेछ
हो, येशूले आफ्ना अनुयायीहरूलाई दैनिक भोजनको निम्ति प्रार्थना गर्न सिकाउनुभयो। साथै परमेश्वरको इच्छालाई प्राथमिकता दिएको खण्डमा तिनीहरूका आवश्यकताहरू परमेश्वरले पूरा गर्नुहुन्छ भन्ने वचन पनि दिनुभयो। (मत्ती ६:११, ३३) उदाहरणको लागि, एक व्यक्ति बेरोजगार छ भने तिनले आफूले प्रार्थना गरेअनुसार काम खोज्न यथासक्दो प्रयास गर्नुपर्छ।
हाम्रो प्रार्थनाको विषय जेसुकै भए तापनि परिणाममा योगदान पुऱ्याउन सक्ने हाम्रो क्षमता बेग्लाबेग्लै हुन्छ। कहिलेकाहीं हामीले निकै गर्न सक्छौं त कहिले भने कम वा केही गर्न सक्दैनौं। महत्त्वपूर्ण कुरा, हामीले केही गर्न सक्छौं वा सक्दैनौं त्यो होइन तर के हामीले यथासक्दो गरिरहेका छौं?
यहोवालाई हाम्रो परिस्थिति तथा योग्यताहरू थाह छ भनी हामी निर्धक्क हुनसक्छौं। हामीले के गर्नसक्छौं भनेर उहाँलाई राम्ररी थाह छ। हामीले गर्नै नसक्ने कुराहरू गरोस् भन्ने उहाँ कहिल्यै चाहनुहुन्न। हामीले चाहे धेरै वा थोरै गरौं यहोवाले हाम्रो अभावको क्षतिपूर्ति गर्नुहुनेछ। उहाँले हाम्रो प्रयासको मूल्यांकन गर्नुहुन्छ र सबैलाई फाइदाजनक हुने सर्वोत्तम परिणाम प्रदान गर्नुहुनेछ।—भजन ३:३-७.
कठिनाइहरूले घेरिंदा राजा दाऊदले ढुक्क भएर यो घोषणा गर्न सके: “उद्धार परमप्रभुमा छ। तपाईंको आशीर्वाद तपाईंको प्रजामाथि रहोस्।” (भजन ३:८) हामीले दिने योगदान धेरथोर जतिसुकै भए तापनि यहोवाको शक्तिले गर्दा हाम्रो प्रार्थनाको सफल परिणाम हुनेछ भनेर निर्धक्क होऔं।