जिज्ञासु व्यक्तिहरूले अक्सर सोध्ने प्रश्नहरू
परमेश्वर प्रेम हुनुहुन्छ भने उहाँले किन दुष्टता रहिरहने अनुमति दिनुहुन्छ?
परमेश्वरले दुष्टता रहिरहने अनुमति दिनुभएको छ र पृथ्वीमा लाखौं मानिसहरूले जानाजानी दुष्ट कार्यहरू गर्छन्। उदाहरणका लागि, तिनीहरूले युद्धको घोषणा गर्छन्, केटाकेटीमाथि बम प्रहार गर्छन् अनि पृथ्वीको विनाश गर्छन् जसको कारण अनिकाल हुन्छ। लाखौंले धूम्रपान गर्छन् अनि तिनीहरूलाई फोक्सोको क्यान्सर हुन्छ, व्यभिचार गर्छन् अनि यौनजन्य रोगहरूको सिकार बन्छन्, अत्यधिक मद्यपान गर्छन् अनि तिनीहरूको कलेजोले काम गर्न छोड्छ र यस्तै-यस्तै। वास्तवमा भन्ने हो भने, त्यस्ता मानिसहरू दुष्टताको अन्त होस् भन्ने चाहँदैनन्। तिनीहरू त्यसबाट हुने दुःखबाट मात्र बच्न चाहन्छन्। आफूले जे रोपेका थिए, त्यसको कटनी गर्दा तिनीहरू यसो भन्छन्, “मलाई नै यस्तो किन हुनु परेको?” अनि तिनीहरू हितोपदेश १९:३ मा भनिएझैं परमेश्वरलाई यसरी दोष लाउँछन्: “मानिसको आफ्नै मूर्खताले आफ्नो जीवन नाश गर्छ, त्यसपछि त्यसले परमप्रभुको विरुद्धमा असन्तोष प्रकट गर्छ।” अनि परमेश्वरले तिनीहरूलाई दुष्कर्म गर्नबाट रोक्नुभएको खण्डमा तिनीहरूले आफ्नो स्वतन्त्रता हनन भयो भनी आवाज उठाउनेछन्!
यहोवाले दुष्टता रहिरहने अनुमति दिनुको प्रमुख कारण शैतानको चुनौतीको जवाफ दिन हो। शैतान अर्थात् दियाबलले परमेश्वरलाई परीक्षाको बेला उहाँप्रति वफादार रहने मानिसहरू पृथ्वीमा कोही पनि हुनेछैन भनी चुनौती दिएको थियो। (अय्यूब १:६-१२; २:१-१०) यहोवाले शैतानलाई त्यसको चुनौती प्रमाणित गर्ने मौका दिन त्यसलाई जीवित राख्नुभएको छ। (प्रस्थान ९:१६) शैतानले आफ्नो चुनौती प्रमाणित गर्न अहिले पनि मानिसहरूमाथि दुःख ल्याउँछ, मानिसहरूलाई परमेश्वरबाट तर्काउने प्रयास गर्छ। (प्रकाश १२:१२) तथापि, अय्यूबले आफ्नो निष्ठा कायम राखे। येशूले राख्नुभयो। अहिले साँचो मसीहीहरूले पनि निष्ठा कायम राखेका छन्।—अय्यूब २७:५; ३१:६; मत्ती ४:१-११; १ पत्रुस १:६, ७.
म मानिसहरू सधैंभरि बाँच्ने पार्थिव प्रमोदवनमा विश्वास गर्न चाहन्छु तर त्यो कुरा अलि असम्भव छैन र?
बाइबलअनुसार होइन। शताब्दीयौंदेखि मानिसहरूले खराब मात्र गरिरहेको हुँदा पत्याउन गाह्रो जस्तो देखिन्छ। यहोवाले पृथ्वी सृष्टि गर्नुभयो र यस पृथ्वीमा धर्मी पुरुष तथा स्त्रीहरूले आबाद गर्नु भनी मानिसजातिलाई आज्ञा दिनुभयो र तिनीहरूले यसका वनस्पति तथा जनावरको हेरचाह गर्नुका साथै पृथ्वीको सौन्दर्य जगेर्ना गर्नेथिए, विनाश होइन। (पृष्ठ १२ र १७ हेर्नुहोस्।) प्रतिज्ञा गरिएको त्यो प्रमोदवन पत्याउनै गाह्रो कुरा होइन तर वर्तमान दयनीय अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगिसकेको छ। त्यसको बदलामा प्रमोदवन हुनेछ।
बाइबल मिथ्या हो र विज्ञानसित मेल खाँदैन भनेर आलोचना गर्नेहरूलाई म कसरी जवाफ दिन सक्छु?
यी प्रतिज्ञाहरूमा विश्वास गर्नु अन्धाधुन्ध विश्वास मात्र होइन। “कुरा सुनेपछि मात्र विश्वास गर्न सकिन्छ।” परमेश्वरको वचन अध्ययन गरेपछि यसको विश्वसनीयता प्रस्ट हुन्छ र विश्वास बढ्छ।—रोमी १०:१७; हिब्रू ११:१.
बाइबलको पुरातात्त्विक विवरणले बाइबलको ऐतिहासिक सत्यता पुष्टि गर्छ। सही विज्ञान बाइबलसित मेल खान्छ। संसारका बुद्धिजीवीहरूले पत्ता लगाउनुभन्दा निकै अघि बाइबलमा यस्ता तथ्यहरू थिए: पृथ्वीको भूबनौटमा भएको क्रमबद्ध परिवर्तन, पृथ्वी गोलो छ, यो शून्यतामा अडेको छ अनि चराहरू स्थानान्तरण गर्छन्।—उत्पत्ति अध्याय १; यशैया ४०:२२; अय्यूब २६:७; यर्मिया ८:७.
पूरा भएका भविष्यवाणीहरूले बाइबल ईश्वर-प्रेरित पुस्तक हो भनेर देखाउँछ। दानियलले विश्वशक्तिहरूको उत्थान र पतन, मसीह कहिले देखा पर्नेछ अनि कहिले मारिनेछ भनी धेरै अघि अगमवाणी गरेका थिए। (दानियल अध्याय २, ८; ९:२४-२७) आज, अरू थुप्रै भविष्यवाणीहरू पूरा भइरहेका छन् र हामी साँच्चै “आखिरी दिनमा” बाँचिरहेका छौं भनेर यसले देखाउँछ। (२ तिमोथी ३:१-५; मत्ती अध्याय २४) त्यस्तो अग्रिम ज्ञान मानिसको क्षमताले भ्याउने कुरा होइन। (यशैया ४१:२३) थप प्रमाणको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित द बाइबल—गड्स वर्ड अर म्यान्स? र इज देर अ गड हु केयर्स अबाउट यु? पुस्तकहरू हेर्नुहोस्।
मैले कसरी बाइबलका प्रश्नहरूको जवाफ दिन सिक्न सक्छु?
तपाईंले बाइबल अध्ययन गर्नुपर्छ अनि त्यसमा मनन गर्नुपर्छ साथै निर्देशनको लागि परमेश्वरको आत्मा माग्नुपर्छ। (हितोपदेश १५:२८; लूका ११:९-१३) बाइबल यसो भन्छ, “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्वरसित त्यसले मागोस्, र त्यसलाई सो दिइनेछ।” (याकूब १:५) साथै, हामीले सरसल्लाह लिन सक्ने बाइबल सहायकहरू छन्। प्रायजसो अरूको मदत चाहिन्छ र फिलिपले एथियोपियालीसित अध्ययन गर्दा पनि यस्तै बाह्य मदत चाहिएको थियो। (प्रेरित ८:२६-३५) यहोवाका साक्षीहरूले इच्छुक व्यक्तिहरूसित तिनीहरूकै घरमा निश्शुल्क बाइबल अध्ययन गर्छन्। तपाईंले यस प्रबन्धको लागि नहिचकिचाइकन आग्रह गर्न सक्नुहुन्छ।
धेरैले किन यहोवाका साक्षीहरूको विरोध गर्छन् र मलाई तिनीहरूसित अध्ययन नगर्नू भन्छन्?
येशूले आफ्नो प्रचारकार्यमा निकै विरोध सहनुपरेको थियो अनि उहाँका चेलाहरू पनि सताइनेछन् भनेर भन्नुभएको थियो। कोही-कोही येशूको शिक्षाबाट प्रभावित हुँदा धार्मिक विरोधीहरूले यसो भने: “के तिमीहरू पनि भ्रममा पऱ्यौ? के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले त्यसलाई विश्वास गऱ्यो?” (यूहन्ना ७:४६-४८; १५:२०) तपाईंलाई साक्षीहरूसित अध्ययन नगर्नू भन्ने प्रायजसो मानिसहरूले या त सही जानकारी पाएका छैनन् वा पूर्वाग्रह राखेका हुन्छन्। साक्षीहरूसित अध्ययन गर्नुहोस् र बाइबलसम्बन्धी तपाईंको ज्ञान बढ्छ कि बढ्दैन, आफै पत्ता लगाउनुहोस्।—मत्ती ७:१७-२०.
आफ्नै धर्म भएका मानिसहरूलाई यहोवाका साक्षीहरूले किन प्रचार गर्छन्?
यसो गरेर तिनीहरूले येशूको उदाहरण अनुकरण गर्छन्। उहाँले यहूदीहरूलाई सिकाउनुभयो। यहूदीहरूको आफ्नै धर्म थियो तर तिनीहरू धेरै तरिकामा परमेश्वरको वचनको मार्गबाट तर्किसकेका थिए। (मत्ती १५:१-९) सबै राष्ट्रहरूको आ-आफ्नै किसिमको धर्म हुन्छ, चाहे त्यो मसीही धर्म होस् वा गैरमसीही। मानिसहरू परमेश्वरको वचनसित मेल खाने विश्वासअनुसार हिंड्नु अत्यन्तै महत्त्वपूर्ण छ अनि साक्षीहरूले अरूलाई मदत गर्ने प्रयास गर्दा आफ्नो छिमेकीलाई प्रेम देखाइरहेका हुन्छन्।
के यहोवाका साक्षीहरू आफ्नो धर्म मात्र साँचो हो भनेर विश्वास गर्छन्?
आफ्नो धर्मबारे गहिरो सोचविचार गर्ने मानिसले आफ्नो धर्म सही हो कि होइन भनेर विचार गर्नुपर्छ। अन्यथा, आफूलाई थाह नभएको कुरामा किन संलग्न हुने? मसीहीहरूलाई यस्तो सल्लाह दिइएको छ: “सबै कुराको जाँच गर, जुन असल छ, त्यसैमा लागिरहो।” (१ थिस्सलोनिकी ५:२१) धर्मशास्त्रले आफ्नो विश्वासलाई समर्थन गर्छ कि गर्दैन भनेर पक्का गर्नुपर्छ किनभने साँचो विश्वास एउटा मात्र छ। एफिसी ४:५ ले यसको पुष्टि गर्दै भन्छ, “एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा” छ। येशू थुप्रै बाटो, थुप्रै धर्म छन् तर सबैले मुक्तितर्फ पुऱ्याउँछ भन्ने आधुनिक, खुला धारणासित सहमत हुनुभएन। त्यसो नभई उहाँले यसो भन्नुभयो: “त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” यहोवाका साक्षीहरू आफूले त्यो बाटो भेट्टाएको विश्वास गर्छन्। अन्यथा, तिनीहरूले अर्कै धर्म खोज्नेथिए।—मत्ती ७:१४.
के तिनीहरू आफू मात्र बच्नेछन् भनी विश्वास गर्छन्?
गर्दैनन्। बितेका शताब्दीमा बाँचेका तथा यहोवाका साक्षी नभएका लाखौं मानिसहरूको पुनरुत्थान हुनेछ र फेरि बाँच्ने मौका पाउनेछन्। अहिले जीवित थुप्रैले “महा संकष्ट” आउनुअघि सत्य र धार्मिकताको पक्षमा अडान लिएर मुक्ति पाउन सक्नेछन्। यसबाहेक, हामीले एकअर्काको न्याय गर्नुहुँदैन भनी येशूले भन्नुभयो। हामी बाहिरी रूपरंग हेर्छौं तर परमेश्वरले हृदय हेर्नुहुन्छ। उहाँले ठीकसँग हेर्न सक्नुहुन्छ र दयालु व्यवहार गर्नुहुन्छ। उहाँले न्याय गर्ने काम हामीलाई होइन, येशूलाई सुम्पनुभएको छ।—मत्ती ७:१-५; २४:२१; २५:३१.
यहोवाका साक्षीहरूको सभामा उपस्थित हुनेहरूबाट कस्तो आर्थिक अनुदानको आशा गरिन्छ?
वित्तीय अनुदानबारे प्रेरित पावलले यसो भने: “हरेक मानिसले आफ्नो मनमा अड्कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरूरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) यहोवाका साक्षीहरूको राज्यभवन तथा अधिवेशन स्थलहरूमा कुनै पैसा संकलन गरिंदैन। बाकसहरू राखिएका हुन्छन् र अनुदान दिन चाहनेहरूले सजिलै दिन सक्छन्। कसले दियो र कति दियो भन्ने कुरा कसैलाई थाह हुँदैन। कसैले अरूभन्दा धेरै दिन सक्छन्; कतिले केही पनि दिन सक्दैनन्। यरूशलेमको मन्दिरको ढुकुटी र त्यसमा चन्दा खसाल्नेहरूप्रति येशूले सही दृष्टिकोण देखाउनुभयो: आफूले दिनसक्ने औकात र दिने मनोभाव महत्त्वपूर्ण कुरा हो, कति दिइन्छ त्यो होइन।—लूका २१:१-४.
म यहोवाको साक्षी भएँ भने के मैले पनि अरूले जस्तै प्रचार गर्नुपर्छ?
ख्रीष्टको राज्यअन्तर्गत प्रतिज्ञा गरिएको पार्थिव प्रमोदवनको ज्ञानले भरिएपछि अरूलाई भन्न आफै उत्प्रेरित हुन्छन्। तपाईं पनि हुनुहुनेछ। यो सुसमाचार हो!—प्रेरित ५:४१, ४२.
तपाईं येशू ख्रीष्टको चेला हुनुहुन्छ भनेर देखाउने यो एउटा महत्त्वपूर्ण तरिका हो। बाइबलमा येशूलाई “विश्वासयोग्य र साँचो साक्षी” भनिएको छ। पृथ्वीमा हुनुहुँदा उहाँले “स्वर्गको राज्य नजीकै आइपुगेको छ” भनेर प्रार्थना गर्नुभयो र आफ्ना चेलाहरूलाई पनि त्यही काम गर्न पठाउनुभयो। (प्रकाश ३:१४; मत्ती ४:१७; १०:७) पछि, येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . तिनीहरूलाई . . . सिकाओ।” अनि उहाँले अन्त आउनुअघि “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ” भनेर पनि भविष्यवाणी गर्नुभयो।—मत्ती २४:१४; २८:१९, २०.
सुसमाचार घोषणा गर्ने थुप्रै तरिकाहरू छन्। साथीभाइ तथा चिनजान भएका व्यक्तिहरूसित कुरा गर्दा अक्सर सुसमाचार सुनाउने बाटो खुल्छ। कसै-कसैले पत्र लेखेर वा टेलिफोनद्वारा गर्छन्। अरूले भने आफूले चिनेको व्यक्तिलाई खास चासो लाग्ने साहित्य हुलाकमार्फत पठाउँछन्। अनि कसैलाई पनि नछुटाउने मनसाय राखेर साक्षीहरू घर-घर गई सन्देश सुनाउँछन्।
बाइबलमा यस्तो न्यानो निमन्त्रणा दिइएको छ: “आत्मा र दुलही भन्नुहुन्छ, ‘आउनुहोस्।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्’ भनोस्। जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैमा लेओस्।” (प्रकाश २२:१७) अरूलाई प्रमोदवन र त्यसका आशिष्हरूबारे खुसीसाथ सुनाउनुपर्छ, अरूलाई सुसमाचार सुनाउने भित्री इच्छा राखेर बताउनुपर्छ।
तपाईंको मनमा यहोवाका साक्षीहरू तथा तिनीहरूको विश्वासबारे अरू थुप्रै प्रश्नहरू होलान्। शायद कुनै-कुनै प्रश्न विवादास्पद प्रकारका होलान्। हामी तपाईंका प्रश्नहरूको जवाफ दिन चाहन्छौं। यो पुस्तिकामा पर्याप्त ठाउँ नभएको हुँदा स्थानीय साक्षीहरूलाई ती प्रश्नहरू सोध्न आग्रह गर्छौं। तपाईंले राज्यभवनमा हुने सभामा वा तिनीहरू तपाईंको घरमा आउँदा सोध्न सक्नुहुन्छ। अथवा तल दिइएको ठेगानामध्ये तपाईंलाई अनुकूल पर्ने यहोवाका साक्षीहरूको ठेगानामा प्रश्न पठाउन सक्नुहुन्छ।