-
पाठकहरूका प्रश्नहरूप्रहरीधरहरा—२००४ | जून १५
-
-
पाठकहरूका प्रश्नहरू
के यहोवाका साक्षीहरूले रगतका कुनै पनि ससाना तत्त्वहरू स्वीकार्छन्?
यो जवाफ जून १५, २००० अंकबाट फेरि छापिएको हो।
मूलभूत जवाफ हो, यहोवाका साक्षीहरूले रगत लिंदैनन्। परमेश्वरले रगतसम्बन्धी दिनुभएको व्यवस्था बेग्लाबेग्लै धारणाअनुसार छाँटकाँट गर्न मिल्दैन भनेर हामी विश्वस्त छौं। तैपनि, नयाँ विवादहरू खडा हुन्छन् किनभने अहिले रगत प्रशोधन गरेर चारवटा मूलभुत तत्त्व अनि त्यसका पनि ससाना तत्त्वहरू छुट्याउन सकिन्छ। यी तत्त्वहरू स्वीकार्ने कि नस्वीकार्ने भनेर निर्णय गर्नुअघि यसका सम्भाव्य स्वास्थ्यलाभ र खतराहरूबारे मात्र विचार गरेर पुग्दैन। यसबारे बाइबलले के भन्छ र यसले सर्वशक्तिमान् परमेश्वरसितको सम्बन्धमा कस्तो असर पार्न सक्छ भनेर विचार गर्नुपर्छ।
मूल बुँदाहरू त स्पष्टै छन्। यसो हुनुको कारण के हो भनेर बुझ्न बाइबल, इतिहास र चिकित्सा क्षेत्रको पृष्ठभूमि केलाउनुहोस्।
यहोवा परमेश्वरले हामी सबैको पुर्खा नूहलाई रगत पवित्र कुरा हो भन्नुभयो। (उत्पत्ति ९:३, ४) पछि, परमेश्वरले इस्राएललाई दिनुभएको यो व्यवस्थाले रगतको पवित्रता झल्कायो: “इस्राएलीहरू वा . . . परदेशीहरू . . . कसैले रगत खायो भने, त्यो रगत खानेको म विरोध गर्नेछु।” परमेश्वरको व्यवस्था उल्लङ्घन गर्ने इस्राएलीले अरूलाई पनि बहकाउन सक्थ्यो। त्यसकारण, परमेश्वरले यसो पनि भन्नुभयो: “त्यसलाई आफ्ना मानिसहरूबाट वहिष्कृत गरिदिनेछु।” (लेवी १७:१०) पछि, यरूशलेममा बसेको सभामा प्रेरितहरू तथा धर्मगुरुहरूले हामी ‘रगतबाट अलग बस्नुपर्छ’ भन्ने घोषणा गरे। त्यसो गर्नु यौन अनैतिकता र मूर्तिपूजाबाट अलग बस्नु जत्तिकै महत्त्वपूर्ण छ।—प्रेरित १५:२८, २९.
त्यतिबेला ‘अलग बस्नुको’ अर्थ के हुन सक्थ्यो? मसीहीहरूले ताजा होस् वा जमेको, रगत खाँदैनथे नता रगत नबगाई मारिएको जनावरको मासु खान्थे। साथै, रगत मिसाएर बनाइएका खानेकुरा, जस्तै रक्त ससेजहरू पनि खाने थिएनन्। यीमध्ये कुनै पनि तरिकाले रगत लिनु भनेको परमेश्वरको व्यवस्था भङ्ग गर्नु बराबर हुन्थ्यो।—१ शमूएल १४:३२, ३३.
पुरातन समयका प्रायजसो मानिसहरूको लागि रगत खाने या नखाने भन्ने कुनै चिन्ताको विषय थिएन भनी हामी टर्टुलियनका (सा.यु. दोस्रो र तेस्रो शताब्दी) लेखोटहरूबाट थाह पाउँछौं। मसीहीहरूले रगत खान्थे भन्ने झूटो आरोपको खण्डन गर्दै रगत चाखेर सन्धि गर्ने जातिहरूबारे टर्टुलियनले उल्लेख गरे। साथै, तिनले भने, “रङ्गशालामा कुनै प्रदर्शन हुँदा [केही] रक्तपिपासुहरूले छारेरोगको उपचार भनी . . . दोषीहरूको आलो रगत पिएका छन्।”
त्यस्ता प्रचलनहरू (कोही कोही रोमीहरूले स्वास्थ्यको खातिर गर्ने गरे तापनि) मसीहीहरूको लागि गलत थियो: “हामी आफ्नो भोजनमा जनावरको रगतसमेत समावेश गर्दैनौं” भनी टर्टुलियनले लेखे। रोमीहरूले रगत लटपटिएको भोजन दिएर साँचो मसीहीहरूको निष्ठा जाँच्थे। टर्टुलियनले अझ यसो भने: “के हो यस्तो, [मसीहीहरू] जनावरको रगतबाट त अलग्गै बस्छन् भने मानिसको रगतको प्यासी होलान् त?”
आज, कुनै चिकित्सकले रगत लिने सुझाव दिए भने यसमा सर्वशक्तिमान् परमेश्वरको व्यवस्था मुछिएको छ भनेर कमैले मात्र सोच्नेछन्। हामी यहोवाका साक्षीहरू मर्न चाहँदैनौं तर रगतसम्बन्धी परमेश्वरको व्यवस्था पालन गर्न कटिबद्ध छौं। आधुनिक चिकित्सा प्रविधिहरूको दृष्टिकोणमा यसको अर्थ के हो?
दोस्रो विश्वयुद्धपछि रक्तक्षेपण सामान्य हुन थाल्यो र यहोवाका साक्षीहरूले यो प्रचलन परमेश्वरको व्यवस्था विपरीत हो भनेर बुझे अनि अहिले पनि हामी त्यही विश्वासमा अडिग छौं। यद्यपि, समयको दौडान औषधोपचार गर्ने तरिका एकदमै फरक भएको छ। अहिले प्रायजसो अप्रशोधित रगत होइन तर रगतका कुनै कुनै तत्त्वहरू रक्तक्षेपण गरिन्छ। ती तत्त्वहरू हुन्: (१) रातो रक्तकोष; (२) सेतो रक्तकोष; (३) प्लेट्लेट्स; (४) प्लाज्मा (सिरम), झोल पदार्थ। बिरामीको अवस्था हेरेर चिकित्सकहरूले रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेट्स वा प्लाज्मा लिने सल्लाह दिन सक्छन्। त्यसरी रगतका प्रमुख तत्त्वहरू अलग्गै दिंदा एक युनिट रगत पनि थुप्रै बिरामीहरूलाई भाग लगाउन सकिन्छ। यहोवाका साक्षीहरू अप्रशोधित रगत वा त्यसका चार तत्त्वहरूमध्ये कुनै एउटा स्वीकार्दा पनि परमेश्वरको व्यवस्था भङ्ग हुन्छ भन्ने सोचाइ राख्छन्। उल्लेखनीय कुरा त के हो भने, यस बाइबल आधारित अडान कायम राख्दा तिनीहरू रगतबाट सर्न सक्ने हेपाटाइटिस र एड्सजस्ता थुप्रै खतराहरूबाट बचेका छन्।
तथापि, रगत प्रशोधन गरेर आधारभूत तत्त्वहरू छुट्याउन सकिने भएकोले रगतका आधारभूत तत्त्वहरूबाट निकालिएका तत्त्वहरू लिने या नलिने भन्ने विषयमा प्रश्न उठ्छ। त्यस्ता तत्त्वहरू कसरी प्रयोग गरिन्छ र त्यसबारे निर्णय गर्दा मसीहीहरूले कुन कुरा विचार गर्नुपर्छ?
रगत एउटा जटिल मिश्रण हो। नब्बे प्रतिशत पानी भएको प्लाज्मामा समेत हर्मोन, अजैविक नुन, इन्जाइम, खनिज र चिनीजस्ता पोषक तत्त्वहरू हुन्छन्। प्लाज्मामा एल्ब्युमिन, रगत जमाउने तत्त्वहरू अनि रोग प्रतिरोधात्मक तत्त्वहरू पनि हुन्छन्। प्राविधिकहरूले थुप्रै प्लाज्मा प्रोटिनहरू अलग्गै छुट्याएर प्रयोग गर्छन्। उदाहरणका लागि, रगत जमाउने तत्त्व अर्थात् क्लटिङ फ्याक्टर आठ, रगत धेरै बग्ने हेमोफिलियाक रोगीहरूलाई दिने गरिन्छ। अथवा कसैलाई त्यस्ता केही विशेष प्रकारका रोगहरू लागेको छ भने पनि डाक्टरले गामा ग्लोब्युलिनको सुई लिने सल्लाह दिन सक्छन् र यो गामा ग्लोब्युलिन, रोग विरुद्ध लड्ने क्षमता भएका मानिसहरूको रगतको प्लाज्माबाट निकालिन्छ। अन्य प्लाज्मा प्रोटिनहरू औषधीको रूपमा सेवन गरिन्छ तर माथि उल्लिखित बुँदाले आधारभूत तत्त्वहरू (प्लाज्मा) प्रशोधन गरेर कसरी अरू तत्त्वहरू निकालिन्छ भनेर देखाउँछ।a
रगतको प्लाज्माबाट धेरै तत्त्वहरू निकाल्न सकिएझैं अरू आधारभूत तत्त्वहरू (रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेट्स) पनि प्रशोधन गरेर ससाना अंशहरू निकाल्न सकिन्छ। उदाहरणका लागि, सेता रक्तकोषहरू कुनै कुनै प्रकारका भाइरल इन्फेक्सन र क्यान्सरको उपचारमा प्रयोग गरिने इन्टरफेरोन र इन्टरल्युकिनको स्रोत हुन सक्छ। प्लेट्लेट्स प्रशोधन गरेर घाउ निको पार्ने तत्त्व बनाउन सकिन्छ। अनि अरू औषधी पनि बनाइँदैछन्, जसमा (प्रारम्भिक चरणमा भए पनि) रगतको कुनै न कुनै तत्त्व हुन्छ। त्यस्ता उपचारविधिहरू रगतका आधारभूत तत्त्वहरूको क्षेपण होइनन्; त्यसमा ती तत्त्वहरूको सानो अंश मात्र प्रयोग हुन्छ। के मसीहीहरूले उपचारको लागि यी तत्त्वहरू स्वीकार्नु उचित हो? हामी यसको जवाफ दिन सक्दैनौं। बाइबलले यसबारे विस्तृत वर्णन नगर्ने हुँदा हरेक मसीहीले परमेश्वरसामु आफ्नै अन्तस्करण अनुरूप निर्णय गर्नुपर्छ।
कसै कसैले रगतबाट लिइएका कुनै पनि पदार्थहरू लिंदैनन् (थोरै समयको लागि रोग प्रतिरोध क्षमता बढाउने तत्त्वहरूसमेत)। ‘रगतबाट अलग बस्नू’ भन्ने परमेश्वरको आज्ञा तिनीहरूले यसरी बुझेका छन्। उहाँले इस्राएललाई दिनुभएको व्यवस्थामा कुनै प्राणीबाट झिकेको रगत ‘भूइँमा पोखाइदिनू’ भन्नुभएको कुरा पनि तिनीहरूलाई थाह छ। (व्यवस्था १२:२२-२४) यो किन सान्दर्भिक छ? किनभने गामा ग्लोब्युलिन, रगतबाट बनाइएको रगत जमाउने तत्त्व इत्यादि बनाउन पनि रगतै सङ्कलन गरेर प्रशोधन गर्नुपर्छ। यसर्थ, कोही कोही मसीहीहरूले अप्रशोधित रगत वा त्यसका चार आधारभूत तत्त्वहरूको रक्तक्षेपण गर्न इन्कार गरेझैं यी तत्त्वहरू पनि स्वीकार्दैनन्। यस्तो निष्कपट अनि आफ्नो अन्तस्करणको अडान लिएकोमा तिनीहरूलाई आदर गर्नुपर्छ।
अरू कतिपय मसीहीहरूको निर्णय भने बेग्लै हुन्छ। तिनीहरू पनि अप्रशोधित रगत, रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेट्स वा प्लाज्मा क्षेपण गर्न इन्कार गर्छन्। यद्यपि, तिनीहरूले रगतको आधारभूत तत्त्वबाट निकालिएको सानो तत्त्व लिने डाक्टरको सुझावचाहिं स्वीकार्लान्। यो सन्दर्भमा पनि अवस्था बेग्लाबेग्लै हुन सक्छ। कुनै मसीहीले गामा ग्लोब्युलिन सुई लेलान् तर रातो वा सेतो रक्तकोषबाट तयार पारिएको सुई लिन मान्न पनि सक्छन्, नमान्न पनि सक्छन्। सबै कुरा विचार गर्दा कोही कोही मसीहीहरूले रगतको सानो तत्त्व स्वीकार्ने निष्कर्षमा पुग्नुको कारण के हुन सक्छ?
जून १, १९९० वाचटावर-को “पाठकहरूका प्रश्न[मा]” बताएअनुसार गर्भवती महिलाको रगतको प्लाज्मा प्रोटिन (साना तत्त्वहरू) तिनको पेटको बच्चाको रक्तप्रणालीमा सर्छ। यसरी आमाको इम्युनोग्लोब्युलिन बच्चामा सर्छ र यसले बच्चालाई रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ। बच्चालाई अलग्गै हेर्ने हो भने, बच्चाको राता रक्तकोषहरूको जीवनचक्र पूरा हुँदा, त्यसको अक्सिजन बोक्ने अंश पनि प्रशोधित हुन्छ। यसको केही अंश बाइलिरूब्यिन बन्छ र यो सालनाललाई पनि पार गरेर शरीरबाट निस्कने फोहोर पदार्थको रूपमा आमाको शरीरबाट निष्कासन हुन्छ। रगतका तत्त्वहरू यसरी एकबाट अर्को मानिसमा सर्न सक्ने हुँदा कोही कोही मसीहीहरू रक्त प्लाज्मा वा कोषहरूबाट निकालिएको रगतको तत्त्व स्वीकार्नु ठीकै हो भन्छन्।
यससम्बन्धी धारणा र अन्तस्करणको आधारमा गरिने निर्णयहरू फरक हुन्छन् भन्दैमा यो विवाद असान्दर्भिक छ भन्नु मिल्छ र? अहँ, मिल्दैन। यो गम्भीर कुरा हो। यद्यपि, एउटा कुरा सरल छ। माथिको विषयवस्तुले प्रस्ट पारेअनुसार यहोवाका साक्षीहरूले अप्रशोधित रगत र त्यसका आधारभूत तत्त्वहरू दुवैको क्षेपण गर्न इन्कार गर्छन्। बाइबलले मसीहीहरूलाई ‘मूर्तिहरूलाई बलि चढाएको प्रसाद, रगत र व्यभिचारबाट अलग बस्नू’ भन्ने निर्देशन दिएको छ। (प्रेरित १५:२९) त्यसबाहेक, ती आधारभूत तत्त्वहरूबाट लिइने साना तत्त्वहरू लिने या नलिने भन्ने सन्दर्भमा हरेक मसीहीले होसियारी र प्रार्थनापूर्वक मनन गरेर आफ्नो अन्तस्करण अनुरूप व्यक्तिगत निर्णय गर्नुपर्छ।
थुप्रै मानिसहरू स्वास्थ्यमा तुरुन्तै राम्रो प्रभाव पार्ने उपचार स्वीकार्न तयार हुन्छन्। रगतबाट बनाइएका पदार्थहरू प्रयोग गर्दा त्यसले स्वास्थ्यमा खतरा पुऱ्याउन सक्ने उपचारमा समेत त्यही कुरा लागू हुन्छ। साँचो मसीहीहरू स्वास्थ्यमा पार्ने असर मात्र नभई अझ खुला अनि सन्तुलित दृष्टिकोण राख्ने प्रयास गर्छन्। यहोवाका साक्षीहरू गुणस्तरीय स्वास्थ्यसेवाको मूल्याङ्कन गर्छन् र कुनै पनि उपचारविधिको खतरा र फाइदा विचार गर्छन्। तथापि, रगतबाट लिइएका पदार्थहरूको सन्दर्भमा भने तिनीहरू यसप्रति परमेश्वरको दृष्टिकोण कस्तो छ र हाम्रो जीवनदातासितको व्यक्तिगत सम्बन्धमा यसले कस्तो असर पार्छ, त्यसलाई प्राथमिकता दिन्छन्।—भजन ३६:९.
भजनहारले उद्गार गरेझैं यस्तो आश्वासन पाउनु मसीहीहरूको लागि कस्तो ठूलो आशिष्को कुरा हो: “परमप्रभु परमेश्वर, सूर्य र ढाल हुनुहुन्छ, परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ, इमान्दारीसँग हिंड़नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्न। हे . . . परमेश्वर, तपाईंमा भरोसा राख्ने मानिस धन्यको हो।”—भजन ८४:११, १२.
[फुटनोट]
a जून १५, १९७८ र अक्टोबर १, १९९४ वाचटावर-मा प्रकाशित “पाठकहरूका प्रश्न” हेर्नुहोस्। औषधी कम्पनीहरूले रगतको प्रयोगबिनै यस्ता कृत्रिम पदार्थहरू बनाएका छन् र रगतको कुनै तत्त्वको सट्टामा यो प्रयोग गर्ने सुझाव दिन सक्छन्।
[पृष्ठ ३१-मा भएको चित्र]
चिकित्सकलाई सोध्न सकिने प्रश्नहरू
शल्यक्रिया वा रगतबाट बनाइएको तत्त्वबाट उपचार गर्नुपर्ने अवस्था आइपर्दा, सोध्नुहोस्:
मेरो उपचारमा संलग्न चिकित्सा टोलीका सबै व्यक्तिहरूलाई म एक जना यहोवाको साक्षी भएको नाताले जस्तोसुकै अवस्था आइपरे तापनि म कुनै पनि प्रकारको रक्तक्षेपण (अप्रशोधित रगत, रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेट्स वा रक्त प्लाज्मा) गर्न चाहन्न भनेर थाह छ?
रक्त प्लाज्मा, रातो वा सेतो रक्तकोष वा प्लेट्लेट्सबाट तयार पारिएको औषधी लिने सुझाव दिइयो भने, सोध्नुहोस्:
के यो औषधी रगतका चार आधारभूत तत्त्वहरूमध्ये कुनै एउटाबाट बनाइएको हो? हो भने, यसमा कुन कुन तत्त्व छन्, मलाई बताउन सक्नुहुन्छ कि?
रगतबाट तयार पारिएको यो औषधीको कति मात्रा मलाई दिइनेछ र कसरी?
मेरो अन्तस्करणले मलाई रगतको यो तत्त्व लिने अनुमति दिन्छ भने यसका खतराहरू के-के हुन्?
मेरो अन्तस्करणले मलाई यो तत्त्व स्वीकार्न अनुमति दिंदैन भने, अर्को कुन उपचार गर्न सकिन्छ?
यस विषयमा मैले थप विचार गरिसकेपछि मेरो निर्णयबारे तपाईंलाई बताउन कहिले आए बेस होला?
-
-
पाठकहरूका प्रश्नहरूप्रहरीधरहरा—२००० | अक्टोबर १५
-
-
पाठकहरूका प्रश्नहरू
रगतको प्रयोगबारे बाइबलमा दिइएको आज्ञालाई ध्यानमा राख्दै यहोवाका साक्षीहरू आफ्नै रगत प्रयोग गर्ने सन्दर्भमा चाहिं कस्तो दृष्टिकोण राख्छन्?
व्यक्तिगत धारणा अथवा चिकित्सकको सुझाउहरूको आधारमा मात्र निर्णय गर्नुको साटो प्रत्येक मसीहीले बाइबलले रगतबारे के भन्छ, त्यसलाई गम्भीरतासाथ ध्यान दिनुपर्छ। यो एक जना मसीही र यहोवा बीचको कुरा हो।
हाम्रो प्राणदाता यहोवाले रगत नखानू भन्ने आदेश दिनुभएको थियो। (उत्पत्ति ९:३, ४) प्राचीन इस्राएलको व्यवस्थामा परमेश्वरले रगतको प्रयोगमाथि रोक लगाउनुभयो किनभने त्यसले जीवनको प्रतिनिधित्व गर्छ। उहाँले यस्तो आज्ञा दिनुभयो: “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्चित गर्नलाई दिएको छु।” अनि कुनै मानिसले भोजनको लागि जनावर माऱ्यो भने नि? परमेश्वरले भन्नुभयो: “त्यसले त्यसको सबै रगत निथारेर धूलोले पूरिदेओस्।”a (लेवी १७:११, १३) यहोवाले यो आज्ञा बारम्बार दोहऱ्याउनुभयो। (व्यवस्था १२:१६, २४; १५:२३) यहूदी सन्सीनो क्युमाश यस्तो उल्लेख गर्छ: “रगत पछि प्रयोग गर्ने हेतुले सञ्चय गरेर राख्नु हुँदैन तर प्रयोग गर्न अयोग्य ठानेर जमिनमा खन्याइदिनु पर्छ।” हर जीवधारी परमेश्वरकै भएको हुनाले कुनै पनि इस्राएलीले अरू जीवधारीको रगत विशेष कामको लागि सञ्चय गर्नुका साथै प्रयोग गर्नु हुँदैनथ्यो।
मसीहको मृत्युपछि मोशाको नियम पालन गर्नु परेन। तथापि, रगतको पवित्रतासम्बन्धी परमेश्वरको दृष्टिकोण भने कायमै छ। परमेश्वरको पवित्र आत्माबाट प्रेरित भएर प्रेरित पावलले ‘रगतबाट अलग रहनु’ भन्ने आज्ञा दिए। यो आज्ञालाई हल्कासित लिनुहुँदैनथ्यो। नैतिक तवरमा यो व्यभिचार अथवा मूर्तिपूजाबाट टाढारहनु जत्तिकै महत्त्वपूर्ण थियो। (प्रेरित १५:२८, २९; २१:२५) यस २० औं शताब्दीमा रक्तदान गर्ने र रक्तक्षेपण गर्ने प्रचलन बढ्न थालेपछि यहोवाका साक्षीहरूले यो कार्य परमेश्वरको वचन विपरीत हो भनेर बुझे।b
कहिलेकाहीं, डाक्टरले शल्यक्रिया गर्नुभन्दा एक हप्ताअगाडि आवश्यकता परेमा बिरामीको आफ्नै रगत क्षेपण गर्न सकियोस् भनेर बिरामीलाई तिनको रगत जम्मा गर्न (प्रिअपरेटिभ अटोलोगोस ब्लड डोनेशन, अथवा पि ए डि) आग्रह गर्नसक्छ। तथापि, त्यसरी रगत सञ्चय गर्नु अनि क्षेपण गर्नु लेवी र व्यवस्थामा भनिएका कुराहरूको ठीक विपरीत हो। रगत जम्मा गर्नु हुँदैन बरु जमिनमा खन्याइदिनु अर्थात् परमेश्वरलाई फिर्ता दिइनुपर्छ। हो, मोशाको व्यवस्था अहिले क्रियाशील छैन। तैपनि, यहोवाका साक्षीहरू परमेश्वरले यसमा समावेश गर्नुभएका सिद्धान्तहरूको आदर गर्छन् अनि ‘रगतबाट अलग रहने’ अठोट गरेका छन्। अतः हामी रक्तदान गर्दैनौं न त ‘खन्याइनु पर्ने’ रगत नै क्षेपण गर्छौं। यो कार्य परमेश्वरको व्यवस्थासित मेल खाँदैन।
आफ्नै रगत समावेश हुने अन्य कार्य र परीक्षणहरू स्पष्टतया परमेश्वरले तोक्नुभएको सिद्धान्तसित जुध्दैन। उदाहरणका लागि, थुप्रै मसीहीले परीक्षण अथवा विश्लेषणको लागि रगत निकाल्न दिन्छन् किनभने त्यो रगत पछि फ्याँकिन्छ। आफ्नै रगत प्रयोग गरिने अन्य केही जटिल प्रक्रियाहरू अपनाउने सुझाउ पनि दिइनसक्छ।
उदाहरणका लागि, कुनै विशेष शल्यक्रियाको दौडान केही रगत शरीरबाट बाहिर पठाइन्छ जुन प्रक्रियालाई हेमोडाइल्युशन भनिन्छ। रोगीको शरीरमा बाँकी रहेको रगतलाई तरल पदार्थ थपेर पातलो बनाइन्छ। पछि, शरीरबाट बाहिर पठाइएको रगतलाई शरीर भित्र पठाइन्छ जसले गर्दा रक्तकोषिकाहरू सामान्य अवस्थामा आउँछन्। त्यसै गरी, घाउ भएको ठाउँमा बग्ने रगतलाई छेकेर छानेपछि रातो रक्तकोषिका रोगीकै शरीरमा पठाइन्छ। यसलाई सेल साल्भेज भनिन्छ। त्यस्तै अर्को प्रक्रियामा रगतलाई शरीरकै अंगहरूको (जस्तै: मुटु, फोक्सो अथवा मृगौला) काम गर्ने मेशिनमा अस्थायी रूपमा पठाइन्छ। त्यसपछि, रगत मेशिनबाट रोगीकहाँ नै फिर्ता पठाइन्छ। अर्को विधिमा रगतमा भएको घातक अथवा खोटयुक्त भाग नाश गर्न छुट्टै ठाउँमा (सेन्ट्रिफ्युज) पठाइन्छ। अथवा रगतको केही भाग छुट्याएर शरीरको अरू कुनै ठाउँमा लगाउनु हुनसक्छ। साथै, शरीरको केही रगत निकालेर त्यसमा छाप लगाउने अर्थात् केही औषधी मिसाएर फेरि रोगीकै शरीरमा फिर्ता पठाउनेजस्ता अन्य परीक्षणहरू पनि गरिन्छ।
तरिकाहरू फरक फरक हुनसक्छ अनि नयाँ नयाँ विधि उपचार अनि जाँचहरू विकसित हुनसक्छ। हरेक भिन्नताहरूको विश्लेषण गर्दै निर्णय दिनु हाम्रो दायित्व होइन। एक जना मसीहीले आफैले आफ्नो रगत शल्यक्रिया, चिकित्सासम्बन्धी परीक्षण अथवा आधुनिक थेरापी गर्दा कसरी प्रयोग गरिने हो निर्णय गर्नुपर्छ। समय छँदै, उपचार गर्दा आफ्नो रगतलाई के कसो गरिने हो डाक्टर अथवा प्राविधिकसित सल्लाह गर्नुपर्छ। त्यसपछि, तिनले आफ्नो अन्तस्करण चलाएर निर्णय गर्नुपर्छ। (पेटी हेर्नुहोस्।)
मसीहीहरूले परमेश्वरप्रतिको आफ्नो समर्पणलाई अनि ‘आफ्नो सारा हृदयले, सारा प्राणले, सारा शक्तिले र आफ्नो सारा मनले उहाँलाई प्रेम’ गर्नुपर्ने जिम्मेवारी सम्झनुपर्छ। (लूका १०:२७) संसारका थुप्रै मानिसहरूजस्तो नभई यहोवाका साक्षीहरू परमेश्वरसितको आफ्नो सम्बन्धलाई निकै बहुमूल्य ठान्छन्। जीवनदाताले सबैलाई येशूले बगाउनुभएको रगतमा भरोसा गर्न आग्रह गर्नुहुन्छ। हामी यसरी पढ्छौं: “हामीलाई उहाँको [अर्थात् येशू ख्रीष्टको] रगतबाट उद्धार, अर्थात् उहाँको अनुग्रहको धनअनुसार अपराधहरूको क्षमा हुन्छ।”—एफिसी १:७.
[फुटनोटहरू]
a प्रोफेसर फ्रांक एच. गोर्मन यस्तो लेख्छन्: “रगत खन्याउनु भनेको त्यस जनावरको जीवनको आदर गर्नु हो भनेर बुझिन्छ भने त्यसो गर्दा त्यस जीवको सृष्टिकर्ता अनि रखवाला परमेश्वरको आदर हुन्छ।”
b प्रहरीधरहरा जुलाई १, १९५१ को अंग्रेजी अंकले रगत किन क्षेपण गर्नुहुँदैन भन्ने कुरा प्रस्ट पार्दै यस विषयमा आधारित मुख्य प्रश्नहरूको जवाफ दिएको थियो।
[पृष्ठ ३१-मा भएको पेटी/चित्रहरू]
आफैलाई सोध्नुपर्ने प्रश्नहरू
मेरो शरीरको रगत बाहिर पठाउँदा केही समयको लागि बहाव रोकियो भने ‘जमिनमा नखन्याईकन’ अझ पनि मेरै शरीरको भाग ठान्न मेरो अन्तस्करणले अनुमति दिन्छ?
रोग खुट्याउन अथवा उपचार गर्न मेरो शरीरको केही रगत निकालेर सुधार गरिसकेपछि फेरि मेरै शरीरमा राख्दा मेरो बाइबल प्रशिक्षित अन्तस्करण अन्यौलमा पो पर्छ कि?
-