प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रमोदवन गुम्यो
    बाइबल—यसले दिने सन्देश के हो?
    • हव्वाले निषेध गरेको फल छोइन्‌

      भाग २

      प्रमोदवन गुम्यो

      एउटा विद्रोही स्वर्गदूत पहिलो पुरुष र स्त्री आदम अनि हव्वालाई परमेश्‍वरको शासन तिरस्कार गर्न लोभ्याउँछ। नतिजास्वरूप, संसारमा पाप र मृत्युको सुरुआत हुन्छ

      मानिसजाति सृष्टि गर्नुभन्दा धेरैअघि परमेश्‍वरले थुप्रै अदृश्‍य आत्मिक प्राणी—स्वर्गदूतहरू सृष्टि गर्नुभयो। अदनको बगैंचामा, एउटा विद्रोही स्वर्गदूतले परमेश्‍वरले नखानू भन्‍नुभएको रूखको फल खान धूर्ततापूर्वक हव्वालाई प्रलोभनमा पार्न खोज्यो। पछि त्यो विद्रोही स्वर्गदूत शैतान अर्थात्‌ दियाबल भनेर चिनियो।

      सर्पलाई माध्यमको रूपमा चलाउँदै शैतानले ती स्त्री तथा तिनका पतिबाट परमेश्‍वरले केही रहरलाग्दो कुरा वञ्चित गरिरहनुभएको संकेत गर्न खोज्यो। नखानू भनी आज्ञा गरिएको फल खाए पनि हव्वा र तिनका पति मर्ने छैनन्‌ भनेर त्यसले भन्यो। यसरी परमेश्‍वरले मानव सन्तानसँग झूट बोलिरहनुभएको छ भन्‍ने आरोप शैतानले लगायो। परमेश्‍वरप्रति अनाज्ञाकारी हुनुलाई त्यस धोकेबाजले विशेष ज्ञान पाइने र स्वतन्त्र भइने उत्तम मार्गको रूपमा प्रस्तुत गऱ्‍यो। तर यो झूट मात्र थियो—वास्तवमा, पृथ्वीमा बोलिएको पहिलो झूट। विवाद परमेश्‍वरको सार्वभौमिकता वा उहाँको शासनको सर्वोच्चताबारे थियो। मतलब, शासन गर्ने अधिकार परमेश्‍वरमा छ कि छैन अनि उहाँ उचित र मानिसहरूको हित हुने तरिकामा शासन गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने थियो।

      हव्वाले शैतानको झूट पत्याइन्‌। तिनले फलको लालसा गर्न थालिन्‌ र अलिकति खाइन्‌ पनि। पछि तिनले पतिलाई दिइन्‌ र तिनले पनि खाए। यसप्रकार तिनीहरू पापी भए। यसो हेर्दा त त्यो कुनै ठूलो गल्तीजस्तो नदेखिएला तर वास्तवमा तिनीहरूले विद्रोह गरिरहेका थिए। जानाजानी परमेश्‍वरको आज्ञा अवज्ञा गर्ने छनौट गरेर आदम र हव्वाले सिद्ध जीवन र अन्य सबै कुरा दिने सृष्टिकर्ताको शासन तिरस्कार गरे।

      सन्तानले “तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।”–उत्पत्ति ३:१५

      परमेश्‍वरले ती विद्रोहीहरूलाई न्यायदण्ड दिने कुरा बताउनुभयो। उहाँले एक जना सन्तान वा मुक्‍तिदाता आउनेबारे प्रतिज्ञा गर्नुभयो। तिनले सर्पले चित्रण गर्ने शैतानलाई नष्ट गर्ने थिए। आदम र हव्वालाई उतिखेरै मृत्युदण्ड नदिएर परमेश्‍वरले त्यसबेलासम्म नजन्मिएका तिनीहरूका सन्ततिप्रति दया देखाउनुभयो। ती छोराछोरीले आशा गर्न सक्ने आधार पाउने थिए किनभने परमेश्‍वरले पठाउन लाग्नुभएका ती व्यक्‍तिले अदनमा भएको विद्रोहले ल्याएको दुःखद्‌ नतिजालाई सुल्टाउने थिए। यसप्रकार भविष्यका यी उद्धारकको सम्बन्धमा परमेश्‍वरको उद्देश्‍य कसरी पूरा हुने थियो र पठाइने ती व्यक्‍ति को हुने थिए भन्‍ने कुरा बाइबल लेख्ने क्रम अघि बढ्‌दै जाँदा बिस्तारै प्रकाश पारिंदै गयो।

      परमेश्‍वरले आदम र हव्वालाई प्रमोदवनबाट लगार्नुभयो। अब जीवन धान्‍न तिनीहरूले अदनको बगैंचाबाहिर पसिना बगाउनुपर्ने भयो। त्यसपछि हव्वा गर्भवती भइन्‌ र जेठो सन्तान कयिनलाई जन्माइन्‌। आदम र हव्वाबाट अरू छोराहरू पनि भए, जस्तै: हाबिल अनि नूहका पुर्खा सेत।

      — उत्पत्ति अध्याय ३ देखि ५; प्रकाश १२:९ मा आधारित।

      • पहिलो झूट कुन थियो र त्यो कसले बोलेको थियो?

      • आदम र हव्वाले प्रमोदवन कसरी गुमाए?

      • विद्रोहीहरूलाई न्यायदण्ड दिने कुरा बताउँदा परमेश्‍वरले आशा गर्न सक्ने कस्तो आधारको प्रबन्ध मिलाउनुभयो?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. ३०९६ (लगभग ५,१०० वर्षअघि) आदमको मृत्यु

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने