सबैभन्दा महान् पुरुष
के कुनै पनि मानिसलाई निर्विवाद रूपले सबैभन्दा महान् पुरुष भन्न सकिन्छ र? कुनै पनि मानिसको महानता तपाईं कसरी मापन गर्नुहुन्छ? तिनको सैन्य योग्यताको आधारमा? तिनको शक्तिको आधारमा? अथवा मानसिक कौशलताको आधारमा?
इतिहासकार एच.जी. वेल्सअनुसार मानिसको महानताको मापन ‘आफू गइसकेपछि मानिसले के छाडेर जान्छ र आफू गइसकेपछि पनि नयाँ विचारहरूबारे उसले अरूलाई उत्साहका साथ सोच्न बाध्य पार्न सक्यो वा सकेन भन्ने कुराको आधारमा गरिन्छ।’ वेल्सले आफू ख्रीष्टियन भएको दाबी नगरे तापनि “यसप्रकारको जाँच गरेर हेर्दा येशू प्रथम ठहरिनुहुन्छ” भनी स्वीकारे।
महान् सिकन्दर, चार्लमन (जसले आफ्नो जीवनकालमै “महान्” भन्ने पद पाए) र नेपोलियन बोनापार्ट शक्तिशाली शासकहरू थिए। तिनीहरूले आ-आफ्ना प्रबल उपस्थितिद्वारा आफ्नो अधीनमा हुनेहरूमाथि ठूलो प्रभाव पारे। भनिन्छ, नेपोलियनले यसो भनेका थिए: “आफ्नो दृश्य शारीरिक उपस्थितिबिना नै येशू ख्रीष्टले आफ्ना प्रजाहरूलाई प्रभाव पार्नुभएको छ र तिनीहरूलाई आफ्नो अधीनमा राख्नुभएको छ।”
आफ्नो प्रभावकारी शिक्षाहरूद्वारा र त्यसैअनुसार जीवन बिताएकोले करिब दुई हजार वर्षदेखि येशूले मानिसहरूको जीवनमाथि शक्तिशाली ढङ्गमा प्रभाव पार्दै आउनुभएको छ। यस कुरालाई एक जना लेखकले उपयुक्त ढङ्गमा यसरी व्यक्त गरे: “आजसम्म हिंडेका जम्मै फौजहरू, आजसम्म बनिएका सबै जलसेनाहरू, आजसम्म बसेका संसदका सबै बैठकहरू, आजसम्म सिंहासनमा बसेर राज्य गरेका जम्मै राजाहरू, सबै मिलेर पनि येशूले जतिको शक्तिशाली ढङ्गमा पृथ्वीका मानिसहरूमाथि प्रभाव पार्न सकेका छैनन्।”
एक जना ऐतिहासिक व्यक्ति
तैपनि आश्चर्यको कुरा के हो भने कसै-कसैको भनाइअनुसार येशू भन्ने व्यक्ति छँदै थिएन—उनी प्रथम शताब्दीका केही मानिसहरूको सृजना मात्र हुन्। यी शङ्कालुहरूलाई प्रत्युत्तर दिंदै प्रतिष्ठित इतिहासकार विल डुरान्टले यसप्रकार तर्क गरे: “एकै पुस्ताभित्र केही साधारण मानिसले यतिका शक्तिशाली र मन लोभ्याउने व्यक्तित्व, यतिका उच्च नैतिक स्तर र मानव भ्रातृत्वको यति प्रेरणादायी दर्शन आविष्कार गर्न सक्नु नै येशूको जीवनीमा उल्लिखित सबै चमत्कारमध्ये सबैभन्दा पत्याउन नसकिने चमत्कार हुनेछ।”
आफैलाई सोध्नुहोस्: अस्तित्वमै नभएको व्यक्तिले के यति असाधारण ढङ्गमा मानव इतिहासमाथि प्रभाव पार्न सक्थ्यो होला र? द हिस्टोरियन्स हिस्ट्री अफ द वर्ल्ड भन्ने पुस्तकमा यो विचार व्यक्त गरिएको छ: “एउटा निष्पक्ष दृष्टिकोणबाट हेर्दा पनि इतिहासको अरू कुनै पनि व्यक्तिको गतिविधिभन्दा येशूको गतिविधिको ऐतिहासिक परिणाम धेरै गहकिलो छ। संसारका मुख्य सभ्यताहरूले मान्यता दिएको एउटा नयाँ युगको सुरुवात उहाँ जन्मेको दिनदेखि हुन्छ।”
हो, यस विषयमा सोच्नुहोस्। जुन वर्षलाई येशू जन्मनुभएको वर्ष मानिन्छ, त्यही वर्षमै आजका धेरै तिथि-पात्रहरू आधारित छन्। द वर्ल्ड बुक एनसाइक्लोपिडिया अनुसार “त्यस वर्षभन्दा पहिलेका वर्षहरूलाई ई.पू. अर्थात् ईसापूर्व र त्यसपछिका वर्षहरूलाई इ.सं. अर्थात् इस्वी संवत् भनिन्छ।”
तथापि येशूबारे हामीलाई जे जति थाह छ, ती सबै बाइबलमा मात्र पाइन्छ भनी आलोचकहरू भन्छन्। तिनीहरूको भनाइअनुसार येशूको अस्तित्वबारे अरू कुनै पनि समकालीन अभिलेखहरू छैनन्। एच. जी. वेल्ससमेतले यसप्रकार लेखेका छन्: “पुराना रोमी इतिहासकारहरूले येशूको पूर्ण रूपमा उपेक्षा गरेका छन्; उहाँले आफ्नो समयका ऐतिहासिक अभिलेखहरूमा कुनै निसानी छाड्नु भएन।” तर के यो सत्य हो?
पहिलेका इतिहासकारहरूले येशूबारे धेरै पटक चर्चा गरेका नभए तापनि चर्चाचाहिं गरेका छन्। प्रथम शताब्दीका एक जना प्रतिष्ठित रोमी इतिहासकार कर्नीलियस ट्यासिटसले लेखेका छन्: “[ख्रीष्टियन] भन्ने नाम ख्रीष्टबाट सुरु भएको हो, जसलाई राज्यपाल पन्तियस पिलातसले टाइबेरियसको राज्यकालमा मृत्युदण्ड दिएका थिए।” त्यस समयका अरू रोमी लेखकहरू स्युटोनियस र प्लाइनी द यंगरले पनि ख्रीष्टको चर्चा गरेका छन्। साथै प्रथम शताब्दीका यहूदी इतिहासकार फ्लेबियस जोसेफसले याकूबका बारेमा लेख्दा, उनी “ख्रीष्ट कहलिने, येशूका भाइ” हुन् भनी परिचय दिएका छन्।
द न्यु एनसाइक्लोपिडिया ब्रिटानिका-ले यो निष्कर्ष प्रस्तुत गरेको छ: “यी बेग्ला-बेग्लै वृत्तान्तहरूबाट प्रमाणित हुन्छ कि प्राचीन समयमा ख्रीष्टियन धर्मका विरोधीहरूले पनि येशूको वास्तविकताबारे चाहिं शङ्का गर्दैन थिए। यस विषयमा कुनै ठोस आधारविना पहिलो विवाद १८ औं शताब्दीको अन्तमा र २० औं शताब्दीको सुरुमा मात्र उठाइएको थियो।”
तथापि येशूबारे थाह भएको जति पनि कुराहरू छन्, ती सबै प्रथम शताब्दीका उहाँका अनुयायीहरूले लेखेका हुन्। तिनीहरूका अभिलेखहरू सुसमाचारका पुस्तकहरूमा अर्थात् मत्ती, मर्कूस, लूका र यूहन्नाले लेखेका बाइबलका पुस्तकहरूमा सुरक्षित राखिएको छ। यी विवरणले येशूको परिचयबारे के भन्छन्?
वास्तवमा उहाँ को हुनुहुन्थ्यो?
येशूका प्रथम शताब्दीका सँगीहरू पनि यस प्रश्नलाई लिएर घोरिएका थिए। जोडसित चलेको बतासबाट उथलपुथल भएको समुद्रलाई येशूले चमत्कारी ढङ्गमा शान्त पारेको देख्दा तिनीहरूले अचम्म मान्दै सोधेका थिए: “यिनी साँच्चै को हुन्?” पछि अर्कै बेला येशूले आफ्ना प्रेषितहरूलाई यो प्रश्न गर्नुभयो: “तिमीहरूचाहिं म को हुँ भन्छौ?”—मर्कूस ४:४१; मत्ती १६:१५.
तपाईंलाई सोही प्रश्न सोधिएमा के जवाफ दिनुहुनेछ? के येशू वास्तवमा परमेश्वर हुनुहुन्थ्यो? धेरैले आज उहाँ परमेश्वर नै हुनुहुन्थ्यो भन्छन्। तैपनि उहाँका सँगीहरूले उहाँ परमेश्वर हुनुहुन्थ्यो भनी कहिल्यै विश्वास गरेनन्। येशूले सोध्नुभएको प्रश्नको उत्तर प्रेषित पत्रुसले यसरी दिएका थिए: “तपाईं जीवित परमेश्वरका छोरा, ख्रीष्ट हुनुहुन्छ।”—मत्ती १६:१६.
येशूले आफू परमेश्वर हुँ भनी कहिल्यै दाबी गर्नु भएन। तर आफू प्रतिज्ञा गरिएका मसीह अर्थात् ख्रीष्ट हुँ भनी उहाँले स्वीकार्नुभयो। साथै उहाँले आफूलाई परमेश्वर होइन तर “परमेश्वरको छोरा”-को रूपमा चिनाउनुभयो। (यूहन्ना ४:२५,२६; १०:३६) तथापि येशू साधारण मानिसजस्तै हुनुहुन्थ्यो भनेर बाइबलले भन्दैन। उहाँ अति नै विशेष व्यक्ति हुनुहुन्थ्यो किनभने अरू सबै कुराहरू सृजनुभन्दा अघि परमेश्वरले येशूलाई सृजनुभएको थियो। (कलस्सी १:१५) असङ्ख्य वर्षहरूसम्म, भौतिक ब्रह्माण्डको सृष्टि हुनुभन्दा पनि अघि, येशू स्वर्गमा एक जना अदृश्य व्यक्तिको रूपमा हुनुहुन्थ्यो र उहाँले आफ्ना बुबा अर्थात् महान् सृष्टिकर्ता यहोवा परमेश्वरसँग घनिष्ठ सङ्गतिको आनन्द उठाइरहनुभएको थियो।—हितोपदेश ८:२२, २७-३१.
अनि करिब दुई हजार वर्षअघि परमेश्वरले आफ्नो छोराको जीवन एउटी स्त्रीको कोखमा सारिदिनुभयो र येशू परमेश्वरको मानव छोराको रूपमा एउटी स्त्रीद्वारा साधारण प्रकियाअनुरूपै जन्मनुभयो। (गलाती ४:४) येशू गर्भमा बढ्दा र बालकको रूपमा हुर्कंदा परमेश्वरले उहाँका पार्थिव बुबाआमा हुनका निम्ति छान्नुभएका व्यक्तिहरूमाथि नै उहाँ भर पर्नुहुन्थ्यो। पछि येशू जवान हुनुभयो र पहिले स्वर्गमा हुँदा परमेश्वरसित बिताएको समयको उहाँलाई पूरा सम्झना भयो।—यूहन्ना ८:२३; १७:५.
उहाँलाई सबैभन्दा महान् बनाएको कुरा
स्वर्गमा हुनुहुने बुबाको दुरुस्त अनुकरण गरेकोले येशू सबैभन्दा महान् पुरुष हुनुभयो। एक जना विश्वासी छोराको हैसियतमा येशूले आफ्नो बुबाको यत्ति दुरुस्त नकल गर्नुभयो कि उहाँले आफ्ना अनुयायीहरूलाई यसो भन्न सक्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (यूहन्ना १४:९,१०) पृथ्वीमा हरेक परिस्थितिमा उहाँका बुबा, सर्वशक्तिमान् परमेश्वरले जसो गर्नुहुनेथियो, उहाँले पनि त्यसै गर्नुभयो। येशूले व्याख्या गर्नुभयो: “आफूखुसी म केही पनि गर्दिनँ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु।” (यूहन्ना ८:२८) अतः येशू ख्रीष्टको जीवनीको अध्ययन गर्दा हामीले यथार्थमा परमेश्वरको एउटा सफा चित्र प्राप्त गरिरहेका हुनेछौं।
यसकारण “परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन” भनी प्रेषित यूहन्नाले स्वीकारे तापनि “परमेश्वर प्रेम हुनुहुन्छ” भनी लेख्न सके। (यूहन्ना १:१८; १यूहन्ना ४:८) यूहन्नाले यसप्रकार लेख्न सके किनभने तिनले बुबाको दुरुस्त प्रतिरूप येशूलाई देखेर परमेश्वरको प्रेमबारे बुझ्न सकेका थिए। येशू अनुकम्पापूर्ण, दयालु, नम्र र उहाँसँग जो पनि सङ्कोच नमानी कुरा गर्न सक्ने प्रकारको व्यक्ति हुनुहुन्थ्यो। कमजोर र दबिएका साथै सबै प्रकारका मानिसहरू अर्थात् पुरुष, महिला, केटाकेटी, धनी, गरिब, शक्तिशाली र घोर पापीहरूसमेतले उहाँको सामीप्यमा सान्त्वना पाउँथे। दुष्ट मन भएका मानिसहरूले मात्र उहाँलाई मन पराउँदैनथे।
एकअर्कालाई प्रेम गर्नू भनी येशूले शिक्षा मात्र दिनु भएन। तर यो कसरी गर्नुपर्छ भनेर पनि देखाउनुभयो। उहाँले भन्नुभयो: “मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर।” (यूहन्ना १३:३४) उहाँका एक जना प्रेषितले व्याख्या गरे कि “ख्रीष्टको प्रेम . . . ज्ञानभन्दा पनि श्रेष्ठ छ।” (एफिसी ३:१९) हो, जुन प्रेम येशूले दर्साउनुभयो, त्यो प्रेम दिमागी शैक्षिक ज्ञानभन्दा धेरै श्रेष्ठ छ र त्यसले अरूलाई पनि यस्तै प्रेम देखाउन “बाध्य” पार्छ। (२ कोरिन्थी ५:१४) त्यसकारण खासगरि येशूको प्रेमको उत्कृष्ट उदाहरणले नै उहाँलाई सबैभन्दा महान् पुरुष बनाएको छ। शताब्दियौंदेखि उहाँको प्रेमले लाखौं मानिसहरूको मन छुन सकेको छ र आफू असल बाटोमा हिंड्न उत्प्रेरित गरेको छ।
तैपनि कसै-कसैले यसप्रकार आपत्ति गर्न सक्छन्: ‘ख्रीष्टको नाममा गरिएका ती सबै अपराधहरूलाई हेर्नुहोस् अर्थात् चर्चजगत्ले मुसलमानहरूसित लडेका लडाइँहरू (क्रूसेड), गैर-क्याथोलिकहरूमाथि क्रूर कारबाही गर्ने क्याथोलिक न्यायालयहरू र आफूलाई ख्रीष्टियन भन्नेहरूले युद्धमा आफ्ना विरोधीहरूको हत्या गरेको हेर्नुहोस्।’ तर सत्य कुरा के हो भने आफू येशूका अनुयायीहरू हौं भन्ने तिनीहरूको दाबी नै झूटा हो। उहाँको शिक्षा र जीवनशैलीले तिनीहरूको काम र व्यवहारको भर्त्सना गर्छ। एक जना हिन्दू, मोहनदास गान्धीसमेत यसो भन्न बाध्य भए: ‘म ख्रीष्टलाई प्रेम गर्छु तर ख्रीष्टियन भनाउँदाहरूलाई घृणा गर्छु किनभने तिनीहरू ख्रीष्टको जस्तो जीवन बिताउँदैनन्।’
उहाँबारे सिकेर लाभ उठाउनुहोस्
येशूको जीवन र उहाँको सेवाको कामसम्बन्धी अध्ययन गर्नुभन्दा महत्त्वपूर्ण अध्ययन अरू हुन सक्दैन। प्रेषित पावलले आग्रह गरे: “येशूलाई एकटक लगाएर हेरौं।” “उहाँलाई ध्यान दिएर हेर।” स्वयम् परमेश्वरले आफ्नो छोराबारे आज्ञा दिनुभयो: “उनको कुरा सुन।” सबैभन्दा महान् पुरुष शीर्षकको यो पुस्तकले तपाईंलाई सोही गर्न मदत दिनेछ।—हिब्रू १२:२, ३; मत्ती १७:५.
सुसमाचारका चारै वटा पुस्तकमा उल्लिखित येशूको पार्थिव जीवनसम्बन्धी घटनाहरू, उहाँले दिनुभएका भाषणहरू, उहाँका दृष्टान्तहरू र उहाँले गर्नुभएका चमत्कारहरू सबै नै यस पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। सम्भव भएसम्म घटनाहरूलाई शृङ्खलाबद्ध ढङ्गमा प्रस्तुत गर्ने कोसिस गरिएको छ। प्रत्येक अध्यायको अन्तमा बाइबल पदहरूको सूची दिइएको छ र त्यो अध्याय तिनै पदहरूमा आधारित छन्। ती पदहरू पढ्न र पुनरावलोकनका निम्ति दिइएका प्रश्नहरूको उत्तर दिन तपाईंलाई प्रोत्साहन दिन्छौं।
सिकागो विश्वविद्यालयका एक जना विज्ञले हालै यो दाबी गरे: “येशूका बारेमा बितेका २,००० वर्षभित्र जे-जति लेखियो, त्योभन्दा बढी त गएको २० वर्षभित्र लेखिएको छ।” तैपनि सुसमाचारका पुस्तकहरूमा दिइएको विवरणलाई व्यक्तिगत रूपमा ध्यान दिनु अति नै आवश्यक छ किनकि द एनसाइक्लोपिडिया ब्रिटानिका यसो भन्छ: “धेरैजसो आधुनिक विद्यार्थीहरू येशू र सुसमाचारका पुस्तकका विवरणबारे चलेको विवादास्पद तर्कहरूमा यति लीन भएका छन् कि यी आधारभूत स्रोतहरूलाई अध्ययन गर्नचाहिं तिनीहरूले हेलचेक्य्राइँ गरेका छन्।”
सुसमाचारका पुस्तकका विवरणहरूलाई ध्यान दिएर अनि कुनै पूर्वाग्रह नराखी विचार गरेपछि मानव इतिहासको सबैभन्दा ठूलो घटना रोमी सम्राट् अगस्तसको शासनकालमा घटेको थियो भनी तपाईं निश्चय नै सहमत हुनुहुनेछ। किनभने त्यहीबेला हाम्रा निम्ति आफ्नो ज्यान अर्पण गर्न नासरतका येशू पृथ्वीमा आउनुभएको थियो।