प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हाम्रा ख्रिष्टियन सभाहरूमा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ ५

      हाम्रा ख्रिष्टियन सभाहरूमा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ?

      यहोवाका साक्षीहरू अर्जेन्टिनाको राज्यभवनमा

      अर्जेन्टिना

      सियरा लियोनमा यहोवाका साक्षीहरूको सभा

      सियरा लियोन

      बेल्जियममा यहोवाका साक्षीहरूको सभा

      बेल्जियम

      मलेसियामा यहोवाका साक्षीहरूको सभा

      मलेसिया

      मानिसहरू आजकल धार्मिक कार्यक्रमहरूमा उपस्थित हुन छोडेका छन्‌। किन? किनभने त्यहाँ जाँदा तिनीहरूले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ वा कुनै सान्त्वना पाएका छैनन्‌। तर यहोवाका साक्षीहरूले आयोजना गरेको सभामा जाँदा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ? त्यहाँ तपाईँले के पाउनुहुनेछ?

      एकअर्कालाई माया गर्ने र चासो देखाउने व्यक्‍तिहरूबीच हुन पाउँदाको आनन्द। प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई विभिन्‍न मण्डलीमा व्यवस्थित गरिएको थियो। तिनीहरू एकसाथ भेला भएर परमेश्‍वरको उपासना गर्थे, धर्मशास्त्रको अध्ययन गर्थे र एकअर्कालाई प्रोत्साहन दिन्थे। (हिब्रू १०:२४, २५) त्यसरी आफ्ना ख्रिष्टियन भाइबहिनीसित मायालु वातावरणमा एकसाथ भेला हुँदा तिनीहरूले साँचो मित्रहरूमाझ भएको महसुस गर्थे। (२ थिस्सलोनिकी १:३; ३ युहन्‍ना १४) आज हामी पनि तिनीहरूको उदाहरण अनुकरण गर्छौँ र त्यस्तै प्रकारको आनन्द अनुभव गर्छौँ।

      बाइबल सिद्धान्तहरू लागू गर्न सिक्दा हुने फाइदा। पहिले-पहिलेका व्यक्‍तिहरूजस्तै आज पनि पुरुष, स्त्री र केटाकेटीहरू एकसाथ भेला हुन्छन्‌। सिकाउन निपुण व्यक्‍तिहरूले बाइबलका सिद्धान्तहरू जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर बाइबलबाटै बुझाउँछन्‌। (व्यवस्था ३१:१२; नहेम्याह ८:८) श्रोताहरूसितको छलफल र गीतमा सबैले भाग लिन सक्छन्‌। यसरी हामी आफ्नो ख्रिष्टियन आशा व्यक्‍त गर्ने मौका पाउँछौँ।—हिब्रू १०:२३.

      परमेश्‍वरमाथिको विश्‍वास बलियो बनाउन पाउँदाको फाइदा। प्रेषित पावलले आफ्नो समयको एउटा मण्डलीलाई यस्तो लेखे: “म तिमीहरूलाई भेट्‌ने तीव्र इच्छा गर्दै छु, ताकि . . . मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्‍वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौँ।” (रोमी १:११, १२) सङ्‌गी ख्रिष्टियनहरूसित नियमित रूपमा भेला हुँदा यसले हाम्रो विश्‍वासलाई बलियो बनाउँछ अनि बाइबल सिद्धान्तअनुसारै जीवन बिताउन हामी अझ कटिबद्ध हुन्छौँ।

      हाम्रो मण्डलीको आउँदो सभामा उपस्थित भई यी कुराहरू आफैले अनुभव गर्नुभए कसो होला? तपाईँलाई सबैले न्यानो स्वागत गर्नेछन्‌। त्यहाँ उपस्थित हुन कुनै शुल्क लाग्दैन र त्यहाँ कुनै चन्दा पनि उठाइँदैन।

      • मण्डलीका सभाहरू सञ्चालन गर्दा हामी कुन नमुना पछ्याउँछौँ?

      • ख्रिष्टियन सभाहरूमा उपस्थित भएर हामी कसरी लाभ उठाउन सक्छौँ?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      सभामा उपस्थित हुनुअघि हाम्रो राज्यभवन कस्तो छ भनेर हेर्न चाहनुहुन्छ भने कोही एक जना यहोवाको साक्षीलाई अनुरोध गर्नुहोस्‌।

  • सङ्‌गी ख्रिष्टियनहरूसँगको सङ्‌गतिबाट हामीलाई कस्तो फाइदा हुन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ ६

      सङ्‌गी ख्रिष्टियनहरूसँगको सङ्‌गतिबाट हामीलाई कस्तो फाइदा हुन्छ?

      यहोवाका साक्षीहरू सङ्‌गी उपासकहरूसित सरसङ्‌गत गर्दै

      मडागास्कर

      एक जना यहोवाको साक्षी सङ्‌गी ख्रिष्टियनलाई मदत गर्दै

      नर्वे

      ख्रिष्टियन एल्डरहरू सङ्‌गी विश्‍वासीसित भेटघाट गर्दै

      लेबनान

      यहोवाका साक्षीहरू जमघटमा रमाउँदै

      इटाली

      घना जङ्‌गल पार गर्नुपरे पनि वा मौसम प्रतिकूल भए पनि हामी सधैँ ख्रिष्टियन सभाहरूमा जान्छौँ। जीवनका चुनौतीहरू अनि दिनभरिको कामपछि हुने थकानको बाबजुद यहोवाका साक्षीहरू सङ्‌गी ख्रिष्टियनहरूसित सङ्‌गत गर्न सक्दो प्रयास गर्छन्‌। किन?

      यो हाम्रै हितको लागि हो। पावलले मण्डलीका दाजुभाइ दिदीबहिनीबारे बताउँदै उनीहरूप्रति ‘गहिरो चासो राख्न’ सल्लाह दिए। (हिब्रू १०:२४) यस अभिव्यक्‍तिको अर्थ हामीले एकअर्कालाई राम्रोसँग चिन्‍नुपर्छ। पावलका उक्‍त शब्दहरूले हामीलाई अरूको ख्याल राख्न प्रोत्साहन दिन्छ। मण्डलीका अरू ख्रिष्टियन परिवारलाई राम्रोसँग चिन्दा तिनीहरूमध्ये कतिपयले हाम्रो जस्तै समस्याहरू भोगेर त्यसलाई सफलतापूर्वक पार गरेको कुरा थाह पाउन सक्छौँ। हामीले तिनीहरूबाट मदत पनि पाउन सक्छौँ।

      दिगो मित्रता गाँस्न मदत गर्छ। हाम्रा सभामा भेला हुने दाजुभाइ दिदीबहिनीहरू हामीसित सामान्य चिनजान भएका व्यक्‍तिहरू मात्र होइनन्‌ तर घनिष्ठ मित्रहरू हुन्‌। कहिलेकाहीँ हामी सँगै भेला भएर उत्थानदायी मनोरञ्जन पनि गर्छौँ। यसरी सरसङ्‌गत गर्दा कस्तो फाइदा हुन्छ? हामी एकअर्काको अझ कदर गर्न सिक्छौँ र हामीबीचको प्रेमको बन्धन पनि झन्‌ बलियो हुन्छ। साथै हामीले बलियो मित्रता गाँसिसकेकोले आफ्ना मित्रहरूलाई कुनै समस्या पर्दा मदत गर्न तुरुन्तै तयार हुनेछौँ। (हितोपदेश १७:१७) अनि मण्डलीका सबै सदस्यसित सङ्‌गत गरेर “एकअर्काको ख्याल” गरेको देखाउँछौँ।—१ कोरिन्थी १२:२५, २६.

      हामी तपाईँलाई परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउनेहरूलाई साथी बनाउन आग्रह गर्छौँ। यहोवाका साक्षीहरूमाझ तपाईँले त्यस्ता साथीहरू पाउनुहुनेछ। आशा छ, हामीसित सरसङ्‌गत गर्नदेखि तपाईँलाई कुनै पनि कुराले रोक्नेछैन।

      • सभामा एकसाथ भेला हुँदा कसरी हाम्रै फाइदा हुन्छ?

      • तपाईँ कहिले हाम्रो सभामा आएर त्यहाँ उपस्थित हुनेहरूसित चिनजान गर्न चाहनुहुन्छ?

  • हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्‌?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ ७

      हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्‌?

      न्युजिल्यान्डमा यहोवाका साक्षीहरूको सभा

      न्युजिल्यान्ड

      जापानमा यहोवाका साक्षीहरूको सभा

      जापान

      युगाण्डामा एक जना जवान साक्षी बाइबल पढ्‌दै

      युगाण्डा

      लिथुआनियामा दुई जना साक्षीहरू बाइबल छलफलमा भाग लिँदै

      लिथुआनिया

      सुरु-सुरुका ख्रिष्टियन सभाहरूमा मुख्यतया भजन, प्रार्थना अनि धर्मशास्त्रको अध्ययन र छलफल हुन्थ्यो। त्यहाँ कुनै धार्मिक रीतिथिति हुँदैनथ्यो। (१ कोरिन्थी १४:२६) आज हाम्रा सभाहरू पनि सुरु-सुरुका ती ख्रिष्टियन सभाहरूजस्तै छन्‌।

      सभामा दिइने निर्देशन बाइबलआधारित र व्यावहारिक हुन्छ। हरेक शनिबार वा आइतबार मण्डलीका सबै जना एक ठाउँमा भेला हुन्छन्‌। त्यहाँ सुरुमा ३० मिनेट लामो बाइबलआधारित भाषण दिइन्छ। त्यस भाषणमा बाइबलका शिक्षाहरू जीवनमा कसरी लागू गर्न सकिन्छ अनि हामी बाँचिरहेको समयबारे बाइबल के भन्छ भनेर बताइन्छ। हामी सबैलाई वक्‍तासँगसँगै आ-आफ्नो बाइबल पल्टाउन आग्रह गरिन्छ। भाषणपछि एक घण्टाको लागि अर्को सभा, प्रहरीधरहरा अध्ययन हुन्छ। यो सभामा प्रहरीधरहरा-को अध्ययन संस्करणबाट एउटा लेख छलफल गरिन्छ। यसमा मण्डलीका सबैले भाग लिन सक्छन्‌। यस्तो छलफलबाट हामी आफ्नो जीवनमा बाइबलका निर्देशनहरू लागू गर्न मदत पाउँछौँ। संसारभरिका १ लाख २० हजारभन्दा धेरै मण्डलीमा प्रहरीधरहरा-को एउटै लेख अध्ययन गरिन्छ।

      शिक्षण कला तिखार्ने मदत पाउँछौँ। हप्ताको बीचतिर कुनै एक साँझ हामी फेरि सभाको लागि एकसाथ भेला हुन्छौँ। त्यो सभा हो, हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य। यो सभामा हामी जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा दिइएका सामग्रीहरू छलफल गर्छौँ। ‘बाइबलमा पाइने अनमोल धन’ भन्‍ने पहिलो भागबाट हामी बाइबलको खास अंशबारे अझ राम्ररी बुझ्न सक्छौँ। यस भागबाट लाभ उठाउन पहिल्यै तयारी गर्नुपर्छ। ‘प्रचार गर्ने सीप तिखारौँ’ भन्‍ने भागबाट बाइबलको कुरा अरूसित कसरी बाँड्‌ने भनेर सिक्न सक्छौँ। यस भागमा सल्लाहकारले विद्यार्थीको पढ्‌ने र बोल्ने कला तिखार्न आवश्‍यक सल्लाह पनि दिन्छन्‌। (१ तिमोथि ४:१३) ‘ख्रिष्टियन जीवन’ भन्‍ने अन्तिम भागमा हामी बाइबलका सिद्धान्तहरू जीवनमा लागू गर्ने तरिका सिक्न सक्छौँ। साथै यस भागमा हुने प्रश्‍न-उत्तरमार्फत बाइबलका गहिरा-गहिरा कुराहरू सिक्न सक्छौँ।

      हाम्रा सभाहरूमा उपस्थित हुँदा त्यहाँ पाइने बाइबल शिक्षाको गुणस्तर देखेर तपाईँ पक्कै प्रभावित हुनुहुनेछ।—यसैया ५४:१३.

      • यहोवाका साक्षीहरूको सभामा कस्ता कुराहरू हुन्छन्‌?

      • हाम्रो कुनचाहिँ सभामा तपाईँ उपस्थित हुन चाहनुहुन्छ?

      अरू कुरा पनि जान्‍नुहोस्‌

      आउँदा सभाहरूमा प्रस्तुत गरिने केही विषयवस्तुबारे विचार गर्नुहोस्‌। अनि आफ्नो दैनिक जीवनमा उपयोगी हुने के-कस्ता कुराहरू बाइबलबाट सिक्न सकिन्छ, त्यसमा ध्यान दिनुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने